Saturday, May 19, 2018

लोकरिझ्याईंमा फसेको कांग्रेसी प्रतिपक्ष

उज्ज्वल प्रसाई /  ११ बैशाख २०७५

नेपाली कांग्रेसमा रचनात्मकता शून्य छ। जसले कुनै रचनात्मक काम गर्न सक्दैन, ऊ विल्कुल प्रतिक्रियात्मक हुन्छ। ‘वाम’ सरकारका अर्थमन्त्री स्वेतपत्र जारी गर्छन्, एउटा कांग्रेसी अघि सरेर भन्छ- यो पीतपत्र हो। विद्वान अर्थमन्त्रीका इमान्दार अभिव्यक्तिका रूपमा जब स्वेतपत्रको व्याख्या हुन थाल्छ, अरू कांग्रेसी भेला हुन्छन् र भन्छन्- खासमा यो पीतपत्र होइन, लालपत्र हो।

नेपाली कांग्रेसका धेरै कार्यकर्ता एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी ओलीबाट मोहित छन्। कारण, उनी विकासप्रेमी र सवर्ण राष्ट्रवादी नेता हुन्। ती कांग्रेसी जो ओली कांग्रेस नभएर एमालेको अध्यक्ष भएकामा नाखुश छन्, उनीहरू सोच्दा हुन्- कम्युनिस्ट भनेको लाल हुनु हो, लालमन्त्रीले ‘लालपत्र’ ल्याए त के बिगारे ?

त्यसो त स्वेतपत्रमाथि कांग्रेसी नेताले गरेका टिप्पणी गहन छैनन्, ती केवल हतारका प्रतिक्रिया मात्र हुन्। त्यसअघि चुनावभरि कांग्रेस आफैं अघि सरेर वामपन्थ समेत छोडिसकेका गठबन्धनलाई खाँटी कम्युनिस्ट हुन् भनेर प्रचार गरिरहे। कडा चुनौती पेस गर्नुपर्ने प्रतिस्पर्धी पार्टीबाट पाएको यस्तो प्रचारले वामपन्थी भनिएको गठबन्धनमा थप बल प्रदान ग¥यो। सित्तैमा प्रभावकारी ब्रान्डिङ गरिदिएकोमा सम्भवतः एमाले र माओवादी खुसी नै भए।


नेपालले अहिले सामना गरिरहेका असंख्य चुनौतीमध्ये चार विषय मुख्य छन्ः विकास र समृद्धिको दक्षिणपन्थी ज्वरो, संघीयता अभ्यासका जटिलता, समावेशिताको अर्थपूर्ण उपयोग र धर्मनिरपेक्षताका जटिल सवाल। नवउदारवादको दाम्लो समातेर उछालिएको समृद्धिको अराजनीतिक रटानलाई राजनीतिक सम्बोधन गर्ने क्षमता कांग्रेससँग छैन। संघीयता कहिल्यै नरुचाएको पार्टीमा ‘संघीयता टिकाउन सकिँदैन’ भन्ने मत बलियो बन्दै गएको छ। समावेशितालाई अर्थहीन बनाउने यत्नमा कांग्रेसीहरूको लगन कहिल्यै कमजोर भएको छैन।

धर्मनिरपेक्षता भनेको राज्यले सनातन धर्म अर्थात हिन्दु धर्मको रक्षा गर्नु हो भन्ने अवधारणामा वर्तमान कांग्रेसी ढुक्क छन्। हिन्दु राज्यको पक्षमा खुलेयाम बोलेरै कांग्रेसको सर्वोच्च नेता भइरहन पाउने सुविधा छ। नेपाली राजनीतिको वर्तमान विडम्बना यही हो कि यी कुनै पनि विषयमा कांग्रेसले आफ्नो प्रतिपक्षी तेवर प्रस्तुत गर्न सक्दैन। बरु सत्ताधारीलाई बढ्ता दक्षिणपन्थी बनाउनमा सहयोगी भूमिका खेल्नेछ।

विकासको लहरोमा कांग्रेस

कांग्रेस आफूलाई विकासप्रेमी राजनीतिक दल ठान्छ। अहिले जेजति विकास भएका छन्, ती सबै आफैंले गरेको उसको दाबी छ। चाहे जति विकास गर्न नसक्नुमा आफ्नो नेतृत्व होइन, माओवादी र अन्य राजनीतिक द्वन्द्व मुख्य दोषी हो भन्ने उसको ठम्याई छ। देशभरि खुलेका निजी विद्यालयले प्रदान गरेका ‘गुणस्तरीय’ शिक्षा आफ्नो उदार नीतिको प्रतिफल हो भन्छ। नेपालीले गोजीमा बोकेर हिँडेका स्मार्ट फोन र फाइदामा भएका नेपाल टेलिकम जस्ता संस्था आफ्नै बुद्धिमताको उपज ठान्छ। जति स्वास्थ्य सेवा उपलब्ध छ, त्यति हुनुमा आफ्नै योगदान ज्यादा छ भन्ने उसको दाबी छ। यति गरेकै

कारण विकासका बाँकी कार्यभार आफ्नै हातबाट सञ्चालित हुनुपथ्र्यो भन्नेमा उसको विशेष जोड थियो। यी सबै दाबीलाई लत्याउँदै जनताले ‘विकास’ को बाँकी जिम्मा वामपन्थी गठबन्धन र खासगरी एमाले अध्यक्ष केपी ओलीलाई दिए।

आफूले ल्याउनुपर्ने आधुनिक रेल र पानीजहाज, बनाउनुपर्ने अन्तर्राष्ट्रिय विमानस्थल र स्टेडियम, निकाल्नुपर्ने हावाबाट बिजुली र पाइपबाट ग्यास, ओलीमातहत हुने भयो भन्नेमा कांग्रेस चरम क्षुब्ध छ। यी सबै कामका लागि चीन मात्र होइन भारतसमेत सहयोगी बन्ने बुझेपछि कांग्रेसको निराशा अझ सघन भएको छ। त्यसमाथि विश्व बैंक र एसियाली विकास बैंक जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्था पनि ओलीतर्फ ढल्कने छन्। अर्कैले ल्याइदिने रेल चढेर आगामी चुनावमा भोट माग्न हिँड्नुपर्ने विषादपूर्ण क्षणको कल्पना गरेर कांग्रेस दिक्क भएको छ।

कांग्रेससँग विकासको कुनै वैकल्पिक परिकल्पना छैन। ओली र उनका सहयोगीका लागि विकास भनेको जे हो, कांग्रेसका लागि विकासको त्यो भन्दा फरक कुनै परिभाषा छैन। कदाचित ओली सरकारले सामाजिक सुरक्षामा थप कामको थालनी गर्न खोज्यो भने सिंगो कांग्रेसका लागि एक मात्र भरपर्दा वैचारिक नेता रामशरण महत हुनेछन्। महतमार्फत त्यस्ता प्रयत्नको उछित्तो काढिनेछ। यो भन्दा ठूलो र फरक काल्पनिकी कांग्रेससँग नहुनु नै कांग्रेसको सग्लो परिचय भएको छ।             

बुद्धि र ज्ञानको यति ठूलो अल्पता नहुँदो हो त, कांग्रेसले अहिले चलिरहेका विकासको प्रभुत्वशाली भाष्यबारे विमर्श थाल्ने जाँगर चलाउँथ्यो। खोकना र रानीपोखरीका मुद्दामा चासो दिएर तिनलाई सघाउने यत्न गथ्र्यो। उपभोक्तावादी विकासको विकल्पबारे विमर्श गर्न कम्तिमा आफ्नै नेता प्रदिप गिरीलाई अघि सारेर वैचारिक छलफल चलाउन सक्थ्यो। हिजो आफ्ना संस्थापक नेताहरूले मानेका मोहनदास करमचन्द गान्धी र जयप्रकाश नारायणका विकाससम्बन्धी विचारमा नयाँ सिराबाट अन्तक्र्रिया गथ्र्यो। अरू केही नसके, अहिले भइरहेका आलोचना सुन्ने र बुझ्ने प्रयत्न थाल्ने थियो। सत्ताधारी पार्टीका घनश्याम भुसाल जस्ता नेताले खुलेर मोदीवाद र ट्रम्पवादको सम्भावना औंल्याइसक्दा पनि प्रतिपक्षीमा कुनै तरंग उत्पन्न नहुनु भनेको विचारशून्यता नै हो। कांग्रेसभित्रको प्रतिपक्ष हुँ भन्नेमा यति पनि सचेतना नआउनु झन् दुखद् छ।

कांग्रेसी कुलिनता

कुलको बर्कतका कारण वर्तमानमा आफूले इज्जतिलो जिन्दगी पाएकोमा कुलीनहरू गर्व गर्छन्। बाबुबाजेले टुप्पी कसेर पढेका थिए र त्यही संस्कार आफूमा थपक्क सारिदिएकाले आफू सफल भएको भाष्यमा विश्वास गर्नेहरू धेरै छन्। आरक्षण मागिरहेका समुदायमा जाँड खाने, नपढ्ने र फजुल खर्च गर्ने चलन भएकाले कहिल्यै उन्नती नगरेको हो भन्ने सत्य स्थापित गर्न कुलीनहरू यस्ता कुतर्क गर्ने गर्छन्।

आरक्षणको खाँचो औंल्याएर गरिएका आन्दोलनका अघिल्तिर भने यस्ता कुतर्कले काम गरेनन्, बहिष्कृतहरू बलिया हुन थाले। उनीहरू संविधानमा आरक्षण कायम गराउन सफल भए। आन्दोलनको यो सफलताबाट दिक्क कुलीनहरूले नयाँ प्रपञ्च रचे। समावेशीको मुद्दा अर्थहीन बनाउन प्रभुत्वशाली समुदायलाई ३१ प्रतिशत आरक्षण व्यवस्था गरे। आरक्षणको अर्थ र महत्व बुझाउने सामथ्र्य कांग्रेसले राखेन, बरु सामान्य बाहुनक्षेत्री समुदायमा रहेका भयलाई दोहन गरेर सामाजिक न्यायका उपयोगी व्यवस्थाको खिल्ली उडायो।

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदनविरुद्ध प्रभुत्वशाली समुदायको कुलीन तप्काले देखाएको अभूतपूर्व एकतामा कांग्रेस पनि मिसियो। प्रतिवेदनमा उल्लेख गरिएका बुँदाको विरोध गर्ने क्रममा कांग्रेसभित्र प्रतिपक्षी भनेर चिनिने नेताहरूले समेत उही कुलीन-एकताप्रति प्रतिबद्धता जनाए। प्रतिपक्षी दलभित्रको प्रतिपक्षी नेतासमेत ईयू प्रतिवेदनमा उल्लेख भएको भाषामा होइन, उसले इंगित गरेको सही समस्यालाई समस्या नै होइन भन्ने तहमा उत्रिए। अर्थात, आरक्षणको धज्जी उडाएकामा केही नबोल्ने कथित फरक धारका प्रतिनिधिले राष्ट्रवादको छारो उडाउने मौका छोडेनन्।

कृष्ण सिटौला जस्ता नेताले नेतृत्व गरेको फरक धारमा धर्मनिरपेक्षतासम्बन्धी बुझाइमा समेत उही हिन्दु कुलिनता झल्किन्छ। संविधान निर्माण हुँदै गर्दा राष्ट्रिय जनावरमा गाई नै कसरी प¥यो भनेर प्रश्न गर्दा मस्यौदाकार सिटौलाको जवाफ थियो- ‘हरेक दिन घर जाँदा आमाले संविधानमा गाई राखिस् त भनेर सोध्नुहुन्थ्यो, त्यही भएर थपें।’ कुनै मुस्लिम वा किरात समुदायको आफ्नो पहिचानप्रति सचेत मानिस मस्यौदाकार हुन्थ्यो भने उसलाई सिटौलाले जस्तै आफ्नी आमा वा बाबुको सुझाव सुन्ने र मस्यौदामा थप्ने अधिकार हुन्थ्यो वा हुँदैन थियो ? सिटौलाको गुटमा भएका कुनै ‘युवा’ नेताले यति सामान्य प्रश्न गर्न सकेको देखिँदैन। त्यसको अर्थ के हो भने, सिटौलाले नेतृत्व गरेको गुट कांग्रेसभित्र कुनै विचार समूह होइन, त्यहाँ वैचारिक र सैद्धान्तिक छलफलको कुनै गुञ्जायस छैन।

यसले के देखाउँछ भने कांग्रेसभित्रको पुस्ताको लडाईं वैचारिक लडाईं कम र कुर्सी हत्याउने लडाईं बढी हो। लोकरिझ्याईंका लागि वर्तमान नेतृत्वलाई थोरबहुत गाली गर्नु वैचारिक र सैद्धान्तिक लडाईं लड्नु होइन। वैचारिक र सैद्धान्तिक रूपमा उस्तै दक्षिणपन्थी भएपछि नेतृत्वबाट देउवा गएर सिटौला वा थापा आउनुले मात्रै कुनै तात्विक फरक पार्नेछैन।

विचारशून्य प्रतिपक्षीको दुष्प्रभाव

कांग्रेस कमजोर भएकोमा थुप्रै चिन्ता व्यक्त गरिएका छन्। कार्यकर्ता पंक्ति र बुद्धिजीवीहरूमा चल्ने नेतृत्व हस्तान्तरणको निष्प्रभावी गफ धेरै सुनिसकिएको छ। कांग्रेसको वैचारिक र सैद्धान्तिक धरातलबारे भने कसैले चिन्ता गर्न रुचाउँदैन। जतिलाई विचारवान नेताका रूपमा चिनाइन्छ, ती लोकरिझ्याईंमा लिप्त औसत चुनावी खेलाडी मात्र हुन्। यस्तो लाग्छ मानौं वस्तुपरक रूपमा सिद्धान्त र विचारको कुरा गर्ने कोही कांग्रेसी हुनै सक्दैन।

इतिहासको कुनै विन्दुमा कुनै आवश्यकताले सुरु गरिएको राजनीतिक दल अर्को कुनै विन्दुमा पुगेर अवसान हुनु अनौठो घटना होइन। माओवादीजस्तो अन्यत्र कतै विलय भएर हराउनु पनि सामान्य नै मान्न सकिन्छ। अवसान भएका त्यस्ता दलका उदाहरण नेपालमा प्रशस्त छन्। ठूलो प्रभाव जमाएको भारतीय कांग्रेसको यो विजोग हालत हुनु नै पतनको एउटा उदाहरण हो। नेपाली कांग्रेसको त्यस्तो पतन हुँदा पनि अनौठो मान्नुपर्ने वा विरक्तिनु पर्ने होइन। तर संसदीय अभ्यास गरिरहेको मुलुकमा प्रतिपक्षी पार्टी यति कमजोर र दिशाहीन हुनु सुखद् होइन। भारतमा मोदीको फासीवाद त्यसरी सफलतापूर्वक प्रयोग हुनुका पछिल्तिर कांग्रेसको वैचारिक र सांगठनिक पतन मुख्य कारण हो।

प्रतिपक्षी दलको यस्तो कमजोरीको आडमा सत्तालाई फासिवादी बन्ने सुविधाप्राप्त हुन्छ। अहिलेको कांग्रेसमा फासिवादलाई चिर्न सक्ने सामथ्र्यभन्दा त्यसलाई थप मलजल गर्नसक्ने सम्भावना बढी देखिन्छ। कम्तिमा, सत्ताधारीले गरेका नकामबारे वैचारिक र नीतिगतरूपमा कडा प्रतिवाद गर्न सक्ने क्षमता हुन्थ्यो भने विकासको ज्वरोले चरम उपभोक्तावादको दलदलमा फस्नबाट जोगाउन सक्थ्यो। वातावरणीय विनाश न्यून बनाउन भूमिका खेल्थ्यो। जनमुखी बन्न नसकेको सत्ताविरुद्ध जनमत सिर्जना गर्न सक्थ्यो। कांग्रेसको वैचारिक पतनले यस्तो केही हुने सम्भव छैन। लोकरिझ्याईंको मेहेरोमा फसेका युवा भनिएका नेताबाट पनि रुपान्तरणको कुनै छनक पाइएको छैन।

कसैले कांग्रेसको रुपान्तरणको सम्भावना देखिरहेको छ भने यस्ता पेचिला सवालमा प्रवेश गर्नु आवश्यक छ। लोकतन्त्र बलियो बनाउने सवालमा र फासिवादको फँडा उठ्न नदिने प्रश्नमा कहिलेकाहीं लोकरिझ्याईं लत्याउने र अलोकप्रिय कदम चाल्ने आँट पनि देखाउनुपर्छ। त्यति गर्न सक्ने मात्र सही मानेमा बागी नेता हुन्छ। के कुनै कांग्रेसीसँग होला यति हिम्मत ?     

अन्नपूर्ओ पोस्टमा प्रकाशित / http://annapurnapost.com/news/96354

0 comments:

Post a Comment