Friday, May 18, 2018

सुझावका रित्ता फारम

उज्ज्वल प्रसाई / जनकपुर ५ श्रावन, २०७२-

जनकपुर शहर । पसलहरु सबै बन्द छन् । फाट्टफुट्ट गाडी चलेका छन् । संविधानको पहिलो मस्यौदामा जनताको सुझाव लिने कार्यक्रम तय गरिएकाले सार्वजनिक छुट्टी छ आज । मधेसी अधिकार संघर्ष समितिले बन्दको आह्वान समेत गरेकाले सडकमा चहलपहल घटेको हो । शहरको मध्यभागमा रहेको उद्योग वाणिज्य संघको भवनमा मस्यौदाबारे जनताको सुझाव संकलन कार्यक्रम राखिएको छ । ११ बज्नै लाग्दा मूल सडकबाट अलिकति मोडिएर सानो गल्ली हुँदै पुग्नुपर्ने भवनको गेट अघिल्तिर केही मानिसहरु जम्मा हुन थाल्छन् । जसै सुझाव संकलनका लागि तोकिएको समय नजिकिन थाल्छ, भवनको गेटमा जम्मा भएका मानिसलाई प्रहरीले छेक्न थाल्छ । लगभग २५ जना जति मानिसहरु भवनमा प्रवेश पाउनका लागि ५० प्रहरीसँग अनुरोध गर्न थाल्छन् । प्रहरी मान्दैनन् । सुझाव संकलन गर्न निम्ता दिने अनि भवनमा प्रवेश नदिने ? अचम्मको दृश्य देखिन्छ । सोधपुछ गरेपछि थाहा हुन्छ, प्रहरीले भेला भएका ती मानिसलाई मस्यौदा विरोधी दलका राजनीतिक कार्यकर्ता भनेर पहिल्यै पहिचान गरेकाले भित्र प्रवेश गर्न रोक लगाएका रहेछन् ।


भवनभित्र सुझाव संकलनको जिम्मेवारी पाएका सभासदहरु बसिरहेको सूचना पाइन्छ । प्रहरीसँग बाहिर रस्साकस्सी चलिरहन्छ, घन्टौंसम्म । भित्र सभासदहरु खाता कलम लिएर सुझाव कुरिरहन्छन्, घन्टौंसम्म । दिउँसोको घाम रापिलो हुँदै गएपछि मानिसहरु तातिंदै जान्छन् । मस्यौदा विरोधी भीड उद्योग भवनको गेटमा बढ्दै जान्छ । त्यो भीड घरि वरको गेट तोड्न आइपुग्छ घरि परको गेटमा ठेलम्ठेल गर्न पुग्छ । प्रहरी जवान पनि थपिन थाल्छन् । आक्रोश बढ्दै गएपछि युवाहरु भवनको पर्खाल तोड्ने मनसायले, पर्खालमा लगाइएको फलामे डन्डी समाएर हल्लाउन थाल्छन् । अलि पर उभिएका मानिस कति खेर त्यो पर्खाल ढलेर ती युवालाई किच्ने हो भन्दै सास रोकेर हेरिरहन्छन् । रस्साकस्सी निकै बढेपछि प्रहरीले धैर्य र संयम गुमाउँछ, लाठी चार्ज सुरु हुन्छ । धेरैको टाउकै ताकेको हुन्छ प्रहरीको लाठीले । मान्छेका टाउका फुट्छन्, खुट्टा भाँचिन्छन्, पातो खुस्किन्छन् ।

रंगीविरंगी ज्याकेटधारी कुनै मानवअधिकारवादी यहाँ गोचर हुँदैनन् ।

सुझाव दिन आएका र मस्यौदा संविधानप्रति असहमत हुँदै मस्यौदाका केही प्रति जलाएर आफ्नो विरोध दर्ज गर्न आएका विभिन्न दलका नेता, कार्यकर्ता, र सर्वसाधारण दिनभर प्रहरीसँग ढुंगामुढामै व्यस्त रहन्छन् । साँझ अँध्यारो नहुन्जेल, प्रहरी लाठी लिएर सर्वसाधारण युवाहरुसँग जुधिरहन्छ । अन्ततः सुझाव संकलन नै नभई श्रावण ४ बित्छ ।

........

जनकपुर शहरबाट आधा घन्टा जति गाडीको यात्रा गरेपछि धनुषा निर्वाचन क्षेत्र नं ३ पुगिन्छ । यो ठाउँको नाम नगराइन हो । यहाँस्थित राजेश्वर निधि उच्च माध्यमिक विद्यालयमा सुझाव संकलनको तयारी गरिएको छ । विद्यालयको भुईंतल्लाको अघिल्लो भागमा ‘सुझाव संकलन’ को ब्यानर झुण्ड्याइएको छ । केही सोफा र टेबल राखिएको छ । सोफा र टेबल राखेको ठाउँबाट लगभग ३० मिटरको दुरीमा दर्शक अर्थात सुझाव दाताहरु बस्ने ठाउँ बनाइएको छ । त्यहाँ खटिएका कर्मचारी यस निर्वाचन क्षेत्रबाट विजेता बनेका विमलेन्द्र निधि आउन लागेको बताउँछन् । उनको स्वागतका लागि बनाइएको तुल र गेट तयार पार्ने ध्याउन्नमा व्यस्त देखिन्छन् केही मानिस् । प्रहरीहरु तैनाथ गरिएका छन् । सुझाव दिन आएका लगभग ८० नगराइनबासी विद्यालयको मूल गेटबाहिर रहेकापान र चिया पसलमा गफिएका भेटिन्छन् । तीमध्ये लगभग तीन जनाको हातमा संविधान मस्यौदा देखिन्छ, एक जना धमाधम सुझाव लेख्दैछन् ।

सुझाव लेख्दै गरेका ती मान्छे हामीसँग एकछिन गफिन्छन् । उनले मस्यौदा हिजो बेलुका पाएकाले राम्रोसँग पढ्न पाएका रहेनछन् । तर, पढेका अंशमा उनलाई चित्त नबुझेका केही छन् । तिनलाई सुधार्न सुझाव दिँदै उनी फारम भर्न थाल्छन् । फारममा उनका कुरा नअटेपछि उनी दिक्क हुन्छन् । उनलाई चित्त नबुझेका धाराबारे उनले हामीलाई केही बताउँछन् । तर, न उनले लेखेका सुझाव नै हामी बुझ्न सक्छौं, न उनको व्याख्या राम्रोसँग बुझ्छौं । मन्त्रीका हातमा थमाउन लागिएको सुझाव फारम लिएर उनी यता उता हिंडिरहन्छन् । निधिजीले बुझ्लान् उनको सुझाव ? हामी निधिको पर्खाईमा छौं ।

मस्यौदा संविधानका केही पाना पढेर आएका अन्य दुई जना भेटिन्छन् । एक जनालाई शिक्षासम्बन्धी केही धारामा चित्त बुझेको छैन भने अर्का एकलाई सशस्त्र प्रहरीलाई ‘प्रहरी’ भनिएकोमा आपत्ति छ । उनीहरु नागरिकतासम्बन्धी दफामा पुगेका छैनन् । मस्यौदा संविधानमा गरिएको खस आर्यको परिभाषा पनि उनीहरुले पढ्न भ्याएका छैनन् । त्यहाँ भेला भएका अरु कसैले मस्यौदा संविधान पाएकै छैनन् ।
बिहान ११ बजेदेखि मन्त्री कुरेर बसेका मानिसलाई २ बज्न लाग्दा मन्त्री आउन नसक्ने जानकारी दिइन्छ । मन्त्री नै नआउने भएपछि अन्य दुई सभासद पनि नआउने खबर त्यहाँ फैलिन्छ । बाँकी रहेका एक सभासदलाई सुझाव संकलन गर्ने थलोको सोफामा बसाएपछि औपचारिक रुपमा कार्यक्रम सुरु हुने जानकारी दिइन्छ माइकमार्फत । सर्वसाधारण भित्र आउन खोज्छन् । प्रहरीले गेटबाट छिर्नुअघि नै शरीर खानतलाशी गर्छन् र भित्रिन दिन्छन् । अघिल्तिर एक सभासद सोफामा बसेका छन् । उनको ठीक अघिल्तिर ३० मिटरको दुरीमा पुगनपुग सय जना सुझावदाताहरु भुईंमा बसेका छन् । यी दुईका बीचमा लगभग ७० जना प्रहरी तैनाथ गरिएको छ । उद्घोषकले कार्यक्रम सुरु गर्न थाल्दा अर्का एक कर्मचारीले सुझाव फारम बाँड्न थाल्छन् । अघिल्तिर बसेका मानिसहरु सेता फारम हल्लाउँदै मञ्चतर्फ एकत्रित हुन्छन् । मस्यौदा संविधानबारे बोल्न सभासद माइक अघिल्तिर पुगेपछि, यता बसेका सुझाव दाताहरु मध्ये ४० जना जति मानिस उठेर नाराबाजी गर्न थाल्छन् । ‘पहिलो मस्यौदा खारेज गर, मस्यौदा संविधान धोका हो, मधेसविरोधी संविधान मुर्दावाद ।’ केहीले गोजीमा बोकेका कालो झण्डा निकालेर हल्लाउन थाल्छन् । त्यहाँ तैनाथ प्रहरीले ती मानिसलाई लघारेर गेट बाहिर निकाल्छ । गेट बाहिर नाराबाजी जारी रहन्छ । बाँकी मानिसमध्ये थोरै मानिसले सुझाव फारम कर्मचारीलाई बुझाउँछन् ।

........

यी दुई क्षेत्रमा सुझाव संकलन कार्यक्रम अवलोकन गरेर चिया पिउन लाग्दा, टुईटरमा सत्ताधारी दलका प्रभावशाली नेता रामचन्द्र पौडेलको महानवाणी फैलिइसकेको हुन्छ । उनले भनेछन्, ‘पहिलो मस्यौदा सुधार्न गरिएको यो सुझाव संकलन कार्यक्रम नौटंकी हो ।’ जनकपुरमा सुझाव संकलन कार्यक्रम हेर्न आइपुगेका हामीलाई पौडेलवाणीमा कुनै सन्देह भएन ।

रेकर्ड नेपालमा प्रकाशित / http://np.recordnepal.com/wire/119

0 comments:

Post a Comment