जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ ।

आक्रोशले उमालेको कफी

कम्तीमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा किताब र कफीलाई दिने सुबिस्ता सबैलाई पुगोस् भन्नका लागि मसँग नेपाली र अंग्रेजी दुईटा भाषा छन् । शासकहरूसँग कति नाले बन्दुक छन् ?

Tuesday, June 5, 2018

सपिङ्ग सेन्टर










सपिङ्ग सेन्टर भूमरी हो,
पस्न सजिलो, निस्कन अप्ठ्यारो ।

केही वर्षअघि,
खाँटी नेपाली कम्युनिष्ट पार्टीका
एक हुल कमरेडहरु
भूमरीको ‘सब्लाइम’ आनन्द लिन
पसे शहरमा भर्खरै खुलेको सपिङ्ग सेन्टर,
त्यसपछि उनीहरु फर्केर आएका छैनन् ।

भूमरीमा हराइरहेका कमरेडलाई खोज्न
केही महिनाअघि गोताखोरहरु ल्याइयो
उद्धार गर्न चाहिने औजार जुटाइयो
कार्ल माक्र्सको ‘कम्युनिष्ट मेनिफेष्टो’ र
माओको 'रेड बुक' ।

उपयुक्त औजारले सुसज्जित गोताखोरहरु
जसै पसे भूमरिमा,
उनीहरुको क्षमतामा विश्वस्त खाँटी कम्युनिष्टहरु
हराएका आफ्ना कमरेडहरु भेटिने आशामा
गाढा निद्रा सुते ।

गोडा दुइएक महिना बिते,
निदाएका खाँटीहरु आँग तान्दै उठे र नियाले वरपर,
फर्केका छैनन् कमरेडहरु
उतै हराए गोताखोरहरु पनि ।

नयाँ औजार––
वर्ग संघर्षको नयाँ मोडल––
भिराएर फेरि एकपटक खाँटीहरुले
खटाए गोताखोरको थप एउटा टोली,
र फेरि एकपटक सुते गाढा निद्रा ।

दिनहरु बिते, रातहरु सकिए,
फर्केनन्, कोही फर्केनन् ।

बिउँझिएपछि खाँटीहरुले आँफै गोताखोर बन्ने निर्णय गरे,
भिरे नयाँ पूराना सबै औजार
र
सुस्तरी खुट्टा चाल्दै पसे सपिङ्ग सेन्टर ।
जसै पसे भूमरीमा,
विचारको बोझले थिचिएको भारी खत्रक्क खस्यो,
चंगा भयो शरिर, हलुका भयो मन
‘
भूमरी पनि यस्तो ?’ छक्क परे कमरेडहरु ।

हराएका आफ्ना स्वजनलाई भित्रै भेटेपछि
कसोकसो रमायो जम्मैथोक–
ओंठ, यौनांग, खुट्टा, र मस्तिष्क ।
ताता दिनका सम्झना हराए, चिसा रातका ऐंठन हराए
लामा सडक विस्मृतिमा पुगे, अप्ठ्यारा गोरेटाका कुनै डोब रहेनन्
प्रतिबद्धताहरु ?
भूमरीका आफ्नै नियम हुन्छन् ।

आफूसँगै ल्याएका औजारको
लाफिंग बुद्धकै मोल पाए,
तिनका थुप्रै प्रतिकृति बने, शोकेसमा सजिए ।
आजकल,
क्युरियो हँसिया हथौडा बेच्छन् र
ताजा ‘बेस्टसेलर’ उपन्यास पढ्छन् खाँटीहरु ।

‘पढ्नु मस्तिष्कमैथुन हो, छोटो र आनन्दमयी,’
त्यसैले
एकदम सजिलो र हलुका लुगा लगाउन जरुरी छ,
चे ग्वेभारा गन्जी र जापाटिस्टा कट्टु ।