जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ ।

आक्रोशले उमालेको कफी

कम्तीमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा किताब र कफीलाई दिने सुबिस्ता सबैलाई पुगोस् भन्नका लागि मसँग नेपाली र अंग्रेजी दुईटा भाषा छन् । शासकहरूसँग कति नाले बन्दुक छन् ?

Wednesday, May 23, 2018

‘वाम एकता’ मा किन रोमाञ्चित ?

उज्ज्वल प्रसाई / ०८ जेठ २०७५-

सत्ताधारी दुई दल एमाले र माओवादी केन्द्रको ‘एकता’ भएको छ। एकीकृत पार्टीका नेता घनश्याम भुसालको शब्दमा भन्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सिद्धान्त र संगठनका प्रश्नलाई ‘टेन्टभित्रका तान्त्रिकले जसरी’ हल गरेर पार्टी एक भएको घोषणा गरे। यो एकतालाई धेरैले माओवादीको एमालेमा विलय भनेका छन्। कसैकसैले एकता होइन, माओवादीको एमालेकरण पनि भनेका छन्। जे होस्, पछिल्लो समय उठेका केही संशयलाई किनारा लगाएर दुई पार्टी एक भए, ‘नेपाल कम्युनिस्ट पार्टी’ भन्ने नाम पनि धारण गरे। औपचारिक दस्तावेजमा यो नाममा ‘अन्डरलाइन’ लगाउनुपर्ने बाध्यता सहेर भए पनि उनीहरू आफूलाई कम्युनिस्ट भनाउन सफल भए। ‘मार्क्सवादी तान्त्रिक’ हरूको यो सफलताको सर्वत्र प्रशंसा भएको छ।

पार्टी एकताका प्रशंसकहरूमा सबभन्दा अघिल्तिर नेपालका मूलधारका ठूला सञ्चारमाध्यमहरू छन्। सबैजसो ठूला पत्रिकाहरूले ‘इतिहासको सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी’ भनेर गरेको घोषणामा समाचार लेख्ने र छाप्नेहरूको अतिरिक्त हर्ष व्यक्त भएको बुझिन्छ। वामपन्थीको सार्वजनिक पहिचान बनाएका बुद्धिजीवी र विश्लेषकहरूले समेत ठूलो हर्षबढाईं गरेका छन्। साथै, हिजो दुई पार्टीका अध्यक्षहरूलाई आफ्ना घरमा बोलाएर वार्ता गर्न लगाउने ठूला व्यापारीको दर्जा पाएका माफिया र दलालहरू पनि उतिनै खुसी भएका छन्। दुई पार्टीका नेताकार्यकर्ता र यी पार्टीलाई विश्वास गरेर मत दिएका सामान्य नागरिक पनि हर्षित भएको अन्दाज लगाउन सकिन्छ। बेखुसी हुनेको संख्या कति होला ? ठ्याक्क यकिन गर्न गाह्रो छ।

भयग्रस्त जनता, असंवेदनशील प्रहरी

उज्ज्वल प्रसाई / २५ बैशाख २०७५-

सामान्य मानिस अनेक भयहरूबाट आक्रान्त हुन्छ। प्राकृतिक रौद्रताको सामना गर्ने क्रममा मान्छेले विविध संस्कृतिको निर्माण गर्छ र सधैं निर्भयी हुने यत्न गरिरहन्छ। युद्ध र हिंसाका विभिषिका छिचोलेर पनि मान्छे सधैं भयमुक्त हुन खोजिरहेको हुन्छ। आधुनिक समाजमा मानव अधिकारलगायतका अवधारणा यसै सिलसिलामा सिर्जित भएका हुन्। वर्तमान नेपाली समाज र यहाँ निर्माण भएका संस्कृतिमा यहाँका मानिसले त्यस्ता अनेक भयहरूविरुद्ध गरेका संघर्ष र भोगेका जीवनका स्मृतिहरू छन्। ‘कल्चर्स अफ फियर’ बारे विशद् समाजशास्त्रीय र मानवशास्त्रीय विमर्श भएका छन्, नेपाली सन्दर्भमा पनि त्यसो गर्न सकिन्छ। अहिलेलाई हामीले वर्तमानमा भोगिरहेका अनेकन् भय र ती भयलाई सम्बोधन गर्न चुकेका हाम्रा सुरक्षा संयन्त्रबारे छोटो विमर्श गरौं।

व्यक्तिगत सुरक्षा चुनौतीपूर्ण हुने, समयमा र सहुलियतमा उपचार नपाएर दुःख पाइने, ठूलो दुःखले जोहो गरेको थोरै सम्पत्ति नासिने वा खोसिने, साना नानीहरूको उचित स्याहार गर्न नसकिने, प्रकोपहरूमा फस्ने र उद्धार नगरिने, अन्धविश्वासको सिकार भइने, धुर्तहरूबाट ठगिने, सडक र हवाई दुर्घटनामा परिने, शक्तिशाली तप्काले गर्ने प्रहारको सिकार भइने, नियतवस चलाइने बद्नामीका उद्यमबाट आक्रान्त भइने। भयका यस्ता असंख्य स्रोत छन्। खास वर्ग, जात, लिंग, भाषा, धर्म वा समुदायको सदस्य भएकाले नै भोग्नुपर्ने कहर बिर्सन मिल्दैन। सत्ता र शक्तिमा पहुँच नभएकाले भोग्नुपर्ने असंख्य हैरानीले पनि नागरिकका मनमा भयको सञ्चार गरिरहेको हुन्छ।

Saturday, May 19, 2018

लोकरिझ्याईंमा फसेको कांग्रेसी प्रतिपक्ष

उज्ज्वल प्रसाई /  ११ बैशाख २०७५

नेपाली कांग्रेसमा रचनात्मकता शून्य छ। जसले कुनै रचनात्मक काम गर्न सक्दैन, ऊ विल्कुल प्रतिक्रियात्मक हुन्छ। ‘वाम’ सरकारका अर्थमन्त्री स्वेतपत्र जारी गर्छन्, एउटा कांग्रेसी अघि सरेर भन्छ- यो पीतपत्र हो। विद्वान अर्थमन्त्रीका इमान्दार अभिव्यक्तिका रूपमा जब स्वेतपत्रको व्याख्या हुन थाल्छ, अरू कांग्रेसी भेला हुन्छन् र भन्छन्- खासमा यो पीतपत्र होइन, लालपत्र हो।

नेपाली कांग्रेसका धेरै कार्यकर्ता एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी ओलीबाट मोहित छन्। कारण, उनी विकासप्रेमी र सवर्ण राष्ट्रवादी नेता हुन्। ती कांग्रेसी जो ओली कांग्रेस नभएर एमालेको अध्यक्ष भएकामा नाखुश छन्, उनीहरू सोच्दा हुन्- कम्युनिस्ट भनेको लाल हुनु हो, लालमन्त्रीले ‘लालपत्र’ ल्याए त के बिगारे ?

त्यसो त स्वेतपत्रमाथि कांग्रेसी नेताले गरेका टिप्पणी गहन छैनन्, ती केवल हतारका प्रतिक्रिया मात्र हुन्। त्यसअघि चुनावभरि कांग्रेस आफैं अघि सरेर वामपन्थ समेत छोडिसकेका गठबन्धनलाई खाँटी कम्युनिस्ट हुन् भनेर प्रचार गरिरहे। कडा चुनौती पेस गर्नुपर्ने प्रतिस्पर्धी पार्टीबाट पाएको यस्तो प्रचारले वामपन्थी भनिएको गठबन्धनमा थप बल प्रदान ग¥यो। सित्तैमा प्रभावकारी ब्रान्डिङ गरिदिएकोमा सम्भवतः एमाले र माओवादी खुसी नै भए।

अन्धभक्तिले जन्माउँछ फासीवाद

उज्ज्वल प्रसाई / २७ चैत २०७४

प्रधानमन्त्री खड्गप्रसाद ओलीले भारत भ्रमणअघि दिएको एक अन्तर्वार्तामा भने, ‘उत्तर–दक्षिण रेल, रक्सौल–काठमाडौं रेल, केरुङ–काठमाडौं रेल, काठमाडौं–पोखरा रेलमार्ग बन्ने पक्का छ। काठमाडौंमा मेट्रो रेल अनि पूर्व–पश्चिम रेल गुड्छ, त्यो पनि निकट भविष्यमै।’ यसो भन्दा उनले अन्तर्वार्ता लिने पत्रकारलाई आफूले बोलेको यो वाक्य नकाटिदिन सजग गराएका छन्। सो खबरदारीले उनको रेल–आशक्ति मात्रै देखाउँदैन बरु आफ्ना योजना सफल हुनेमा सन्देह नगर्न उर्दी पनि दिन्छ। ‘गफ ज्यादा गर्ने, काम नगर्ने’ भन्नेहरूको नाम टिपेर राख्ने र रेल गुडेपछि उनीहरूलाई एकपटक निःशुल्क रेल–सयर गराउने उनको ओठे जवाफ अर्को सोचनीय विषय हो। कारण, उनी जस्तोसुकै आलोचनालाई अस्वीकार गर्ने धुनमा छन्।

ओली र उनका सहयात्रीले स्थापित गरेको समृद्धि–कथ्यको आलोचना ‘गफ मात्रै गर्ने, काम नगर्ने’ मा सीमित छैन। बरु शक्ति सम्पन्न प्रधानमन्त्री र वाम गठबन्धनले फत्ते गर्ने ती ‘काम’ हरू कति जनमुखी हुन्छन् भन्नेमा आलोचकहरूले चासो व्यक्त गरेका छन्। विकासका सपना विपनामा बदलिँदा कतै त्यो विपना आफैंमा कहालीलाग्दो हुने त होइन भनेर प्रश्न गरिरहेका छन्। रेल गुड्न असम्भव छ भनेर कसैले ठोकुवा गरेका छैनन्। ती भविष्यमा गुड्ने रेलका लिकमा सामान्य मान्छेका शिक्षा, स्वास्थ्य र सम्मानजनक जिन्दगीका सपनाहरू चकनाचुर हुने त होइनन् भनेर सोधिरहेका छन्। ‘ठूला’ सपनाको गलपासोमा फसेर पर्यावरणमा कल्पनै नगरेका दुःख थुप्रिन थाले के गर्ने भनेर सोच्न झक्झक्याउँदैछन्। रानीपोखरी र खोकनाका अनेक संस्करणहरू दोहोरिँदै जाने सम्भावना कत्तिको छ भनेर आकलन गर्दैछन्।

गैससमा वर्चश्व कसको ?

उज्ज्वल प्रसाई / १३ चैत २०७४

गैरसरकारी संस्था (गैसस) को आलोचना गर्नुपर्ने धेरै कारण छन्। अन्तर्राष्ट्रिय गैसस र ती संस्थाका सहयोगमा सञ्चालित घरेलु गैससका कामकारबाही सबै प्रशंसनीय छैनन्। एकथरिको बुझाइमा यस्ता संस्था मूलतः साम्यवादी आन्दोलनको तेजोबध गर्न पश्चिमा पुँजीवादी मुलुकहरूले सिर्जना गरेका हुन्। खासगरी अविकसित र तेस्रो विश्वका भनिने मुलुकमा विकासका नाममा विभिन्न क्रियाकलाप गरेर सोभियत रसियाको दबदबा कम गराउन गैसस अवधारणा ल्याइएको हो भन्ने मत बलियो छ। सो दाबी पूर्ण असत्य नहुन सक्छ।

नेपाली समाजमा पछिल्ला केही दशकमा गैससमार्फत गरिएका काम गतिलो नभएका धेरै उदाहरण छन्। त्यसैले गैसस भनेका ठोस काम कम गर्ने र गफ ज्यादा गर्ने संस्था हुन् भन्ने बुझाइ व्याप्त छ। कागजमा विकास र प्रगतिको रंगीन चित्र कोरेर रकम पचाउनेहरूको लर्को लामो छ भन्ने अनुमान गरिन्छ। गैससमार्फत हुने भ्रष्टाचारका उदाहरण प्रशस्त होलान्। यस्ता भ्रष्टाचारका गतिला अध्ययन पढ्न पाइएको छैन। यद्यपि यसबारे पंक्तिकारको अल्पज्ञान पनि दोषी हुनसक्छ।

अजब गजब स्कुल

उज्ज्वल प्रसाई / १० चैत २०७४-

बिहान ५ नबज्दै म मोहन सरको कोठामा पुगिसक्थेँ। त्यसका लागि कम्तीमा साढे ४ बजे निद्राबाट मलाई ब्यूँझाइन्थ्यो। नित्यकर्म इत्यादि सकेपछि स्टिलको सानो ग्लासमा तातो चिया दिइन्थ्यो। तिनताक लाल्टिन भनिने मट्टितेल हालेर जलाउने ल्यान्टर्नको उज्यालोमा मोहन सर मलाई पर्खिबसेका हुन्थे। उज्यालो भइनसकेकाले सडकपारि छिमेकमा बस्ने उनको कोठासम्म मलाई पुर्‍याउन आमा जानुहुन्थ्यो। किताबमा घोटाएर विद्वान् बनाउने आमाको धोको हुँदो हो। कुनै गनगन र गुनासोबिना म उहाँको पछि लाग्थेँ, मानौं मैले उहाँको 'सदिच्छा' बुझेको छु।

काठका खाँबामा उभ्याइएको घरमा बस्थे मोहन सर। बाँसका भाटा बुनेर बीचबीचमा साना बटम आदिले अड्याएर बनाइएको देवालमा बाहिरबाट भने सिमेन्टको लेपन हुन्थ्यो। झापा बाहुन्डाँगीको स्थानीय बोलीमा त्यस्ता घरलाई इक्रा सिमेन्टको टाँडे घर भन्थे। माथिल्लो तलाका केही कोठामध्ये एउटामा उनी बस्थे, भुइँतलाका कोठाहरूमा विद्यालय सञ्चालन गरिएको थियो। कहिले अंग्रेजी र कहिले नेपालीका वाक्य बनाउन सिकाउँथे, कहिले जोडघटाउ र गुणन-भागा गराउँथे। अक्सर के-के आउँदो पार्न लगाइरहन्थे। म रटेर आउँदो पार्थें र कापीमा नहेरी लेख्थेँ। बिहानको लगभग ८ बजेसम्म त्यसरी पढेपछि १० बजेको नियमित कक्षाको तयारीका लागि म घर फर्कन्थेँ।

राजनीतिले नबदलेका मानिस

उज्ज्वल प्रसाई / २९ फागुन २०७४

‘सबै आन्दोलन सकिए, अब विकास र आर्थिक समृद्धि।’ ठूला राजनीतिक दलहरू यो नारामा एकमत छन्। काठमाडौं र प्रदेश राजधानीहरूमा यसो भनेर मुख मिठ्याउँदै गर्दा महिला र दलित लगातार हिंसाका सिकार हुँदैछन्। दलित र महिला कुटिएका, बलात्कृत भएका र मारिएका खबर सहरीयामाझ आइपुग्छन्। घोडाघोडीमा देवताको दूत दाबी गर्ने यौनपिपासु पुरुषबाट मरणासन्न हुनेगरी कुटिएकी राधा चौधरी हाम्रा सामाजिक र राजनीतिक आन्दोलन अघिल्तिर उभिएकी दर्दनाक प्रश्न हुन्। फेरिएको व्यवस्थाले नसुल्झाएका हजार दुःखकी मूर्तरुप हुन्।

घोडाघोडीमा बोक्सीको आरोपमा निर्घात कुटिएकी राधा गाउँलेका लागि रमिता बनिन्। प्रहरीले पीडितलाई सहयोग गर्न मानेनन्, जाहेरी लिनसमेत इन्कार गरे। स्थानीय सरकारका प्रमुख ममताप्रसाद चौधरीले पूर्णतया बेवास्ता गरे। राधाका दुःखलाई हिंस्रक रमिता बनाउन प्रहरी प्रमुख र स्थानीय सरकार प्रमुखमार्फत राज्य आफैं उत्रिएको जस्तो देखियो।

यो खबरसँग केही प्रश्न जोडिएर आए। के ती रमिता हेर्ने मानिस सबै अन्धविश्वासी र अशिक्षित थिए ? सामाजिक आन्दोलनमा लागेका कोही मानिस थिएनन् त्यहाँ ? कुनै राजनीतिक दलका नेता वा अगुवा कार्यकर्ता थिएनन् ? कुनै शिक्षक, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी थिएनन् ? त्यो बर्बर हिंसा रोक्नका लागि आवाज उठाउन सक्ने कोही एकजना हिम्मतिलो किन निस्किएन ? के मेयर चौधरीले राजनीतिक दलका ‘बुद्धिजीवी नेता’ का रूपमा जनताप्रति संवेदनशील हुन कहिल्यै सिकेनन् ? एमालेको बुद्धिजीवी परिषद्मा काम गर्दा उनलाई जनताप्रतिको जिम्मेवारी कहिल्यै सम्झाइएन ? के उनी कुनै आन्दोलनसँग कहिल्यै नजोडिएर नै कम्युनिस्ट भनिने पार्टीका सदस्य र मेयर पदमा निर्वाचित भए ? के चौधरी मेयर पदसँग आउने सुखसुविधा र शक्ति अभ्यासको मोहले डोरिएर मात्रै जनप्रतिनिधि बनेका हुन् ? के चौधरी राजनीतिक दलका लोभी नेता तथा कार्यकर्ताका प्रतिनिधि पात्र हुन् ?

प्रतिरोधी सूचना

उज्ज्वल प्रसाई / १५ फागुन २०७४

नोम चोम्स्कीले सन् २००१ मा दिल्ली स्कुल अफ इकोनोमिक्समा सैन्यवाद, लोकतन्त्र र सूचनाको हकबारे भाषण दिएका थिए। सो भाषणमा अमेरिकी सत्ता र सञ्चारमाध्यमले नागरिकको सूचनाको हकमा कसरी अंकुश लगाउँछन् भनेर बताए। ‘डेमोक्रोसी एन्ड पावरः द दिल्ली लेक्चर्स’ नामको पुस्तकमा संग्रहित भाषणमा लुकाइएका वा प्रकाशन नगरिएका सूचनासम्बन्धी केही महत्वपूर्ण दृष्टान्त छन्।

सन् २००० को सेप्टेम्बर ११ मा भएको आतंकवादी हमलापछि अमेरिकाले अफगानिस्तानमा बम बर्साउन थाल्यो। सेप्टेम्बर १६ मा पाकिस्तानमाथिको उसको प्रभाव उपयोग गर्दै अफगानिस्तान जाने खाद्यान्न रोक्न लगायो। अत्यावश्यक खाद्यान्न रोकेर हजारौं अफगानीलाई भोकमरीको सिकार बनाउने उसको योजना थियो। अमेरिकी सत्ताको यो हर्कतबारे सामान्य अमेरिकी बेखबर थिए। अमेरिकाका सहरहरूमा सो अमानवीय निर्णयले कुनै प्रतिक्रिया सिर्जना गरेन।

संयुक्त राष्ट्रसंघीय तात्कालिन मानव अधिकार उच्चायुक्त मेरी रोबिन्सनले अफगानिस्तानमा भइरहेका ज्यादती रोक्न अमेरिकी सरकारलाई आग्रह गरिन्। लाखौं मान्छे भोकमरीको सिकार हुँदा रुवान्डाको जस्तो हिंसा दोहोरिन सक्ने भनेर सचेत गराइन्। रोबिन्सनको सो अपिल सुनिएन। चोम्स्कीका अनुसार अपिलको रेकर्डसमेत राखिएन। अमेरिकी प्रेसमा रोबिन्सनको भनाइलाई महत्व दिइएन। ‘केवल तीन छरिएका पंक्तिहरूमा सो अपिल छापियो।’ अर्थात प्रकाशन गरेजस्तो भान पारेर महत्वपूर्ण सूचना लुकाउन खोजियो।

Friday, May 18, 2018

जंगली मुला होइन सारामागो

उज्ज्वल प्रसाई / १२ फागुन २०७४

मृत्युले हडताल गरे के हुन्छ ? अर्थात्, कुनै एउटा मुलुकको परिधिभित्र कसैको पनि मृत्यु हुन छोड्यो भने के हुन्छ ? एउटा बेनामे देशमा त्यस्तो समय आयो। मृत्युशय्यामा घिटिघिटी भएका मान्छे बौरिन थाले। बुढ्यौलीले थलिएर ‘आज हो कि भोलि’ भनिएका मान्छेको मृत्यु टर्‍यो।

मान्छे मर्न छोडेपछि सबभन्दा पहिले त्यो मुलुकको महत्वपूर्ण धार्मिक संस्था चिन्तित बन्यो। मान्छेले धर्ती छोड्नु नपरेपछि परलोकको कथा बेकार भयो। स्वर्ग र नर्कका परिकल्पना अर्थहीन भए। मरेपछि स्वर्ग पुगिने आशामा मान्छेले भगवान्को अर्चना गर्न छोडे। गिर्जाघरहरूको धन्दा सबै चौपट भयो। त्यसैले सबभन्दा ठूलो चिन्ता गिर्जाघरका मालिकहरूलाई भयो। भगवान्का दूत दाबी गर्ने पुजारीहरूले परमात्मालाई यसबारेमा जिज्ञासा राखेको र यसको छिट्टै समाधान खोजिने बताउन थाले।

बुढ्यौलीले कुँजिएका मानिसको सेवामा हाजिर परिवारका सदस्यलाई पनि उस्तै हैरानी थपियो। स्याहार गर्नुपर्ने दिन थपिँदै गएपछि उनीहरूलाई झिँझो लाग्न थाल्यो। उमेर पुगेका मानिस र रोगले थलिएका आफन्त बोकेर सयौं परिवार मुलुकको सिमाना काटेर अन्यत्र दौडन थाले। छिमेकी मुलुकमा कालले आफ्नो धर्म छोडेको थिएन। त्यहाँ मानिसको मृत्यु भइरहेको थियो। मर्नुपर्ने तर मर्न नसकेका सयौं मान्छे लिएर उनीहरू छिमेकी देशको शरणमा पुगे। त्यहाँ लगेका मानिसले मृत्युवरण गर्लान् भन्ने उनीहरूको आशा थियो।

बाटोको वैकल्पिक विमर्श

उज्ज्वल प्रसार्इं / ०१ फागुन २०७४

अहिलेसम्म भएका सडकले कति फाइदा गरे र कस्ता बेफाइदा निम्त्याए स्पष्ट लेखाजोखा भएको छैन।

नेपालमा विकास र सडक एकअर्काका पर्याय मानिन्छन्। हाम्रो सरल बुझाइ छ – सडक बनेपछि मोटर गुड्छ, मोटरले विकास र समृद्धि लिएर आउँछ। भर्खरै सडक पुगेका गाउँलाई गएर सोध्ने हो भने तिनले सडकमार्फत आइपुगेका सुखका फेहरिस्त बताउनेछन्। सडकमा दगुर्ने मोटर चढेर केटाकेटीले पढ्ने किताब आयो, पढाउने शिक्षक आइपुगे, बिरामी जाँच्ने स्वास्थ्यकर्मी आए, रोगीका ओखती सहजै पुगे, परिवार नियोजनका साधन पुगे, चाउचाउका प्याकेट र बियरका बोतल पनि आइपुगे। त्यसैले जहाँ सडक छैन त्यहाँ सडक खन्ने, जहाँ साँघुरा सडक छन् तिनलाई चौडा बनाउने र कच्ची छन् भने कालोपत्रे गर्ने। ठूला पर्वत खनेर सडक निकाल्ने, कुलोपैनी मासेर भए पनि सडक कुदाउने, वनजंगल सिध्याएर भए पनि सडक नै छिराउने। पहाडभरि जताततै नाक जोतिरहेका पहेँला स्काभेटर त्यसै देखिएका होइनन्। विकासका यी नौला नेपाली पौरख हुन्।

पढ्दै नपढी प्रचण्ड ?

उज्ज्वल प्रसाई  / १६ माघ २०७४

‘धेरै पढ्यो भने मान्छेको दिमाग खराब हुन्छ ...।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो दलीय सहयात्राबाट अलग भएका बाबुराम भट्टराई र आहुतिबारे टिप्पणी गर्दै यसो भने। यी दुई नेता धेरै पढेका कारण आफ्नो नेतृत्वको दलबाट बाहिरिएका हुन् भन्ने आशय व्यक्त गरे। शक्ति र सत्ताको सहज बाटो नरोजेर नयाँ बाटो खोज्ने दुष्कर यात्रामा निस्केका हुन् भनेर तिनलाई गिज्याए। उनले यसो भन्दैगर्दा सभाहलमा कहिले ताली बजे, कहिले खित्का छुटे। माओवादी केन्दसम्बद्ध लेखक, कलाकार र संस्कृतिकर्मीहरूको भेलामा अध्यक्षले सो भाषण गरेका थिए। डरलाग्दो आइरोनी यही हो कि उनले अध्ययनविरोधी भाषण गर्दा स्वयं चिन्तक र लेखकहरू खित्का छोडेर बसिरहे।

प्रचण्डले हलुका ढंगले गरेको भाषणबाट मूलतः दुई गम्भीर अर्थ निकाल्न सकिन्छ। पहिलो, आफ्ना अघिल्तिर भेला भएका ती संस्कृतिकर्मीलाई उनले कुनै महत्व दिँदैनन्। तिनका कुरा गम्भीरता साथ सुन्नुपर्ने र तिनले उठाएका प्रश्नमाथि चिन्तन गर्नुपर्ने ठान्दैनन्। तिनले नेता मानेका आहुतिले पार्टीसत्तालाई चुनौती दिनु ‘हुटिट्याउँले सगर थाम्न’ खोज्नु हो भन्ने ठान्छन्। नजिकका आसेपासे र आफूले अह्रनखटन गर्न सकिने मान्छेहरूको झुण्डलाई हेपेर बोलेको जस्तो आभास हुने गरी उनी बोलेका थिए।

झेलम ३४७

उज्ज्वल प्रसाई / १३ माघ २०७४

एकसरो झरी परेर रहेपछि भदौरे घाम आफ्नो विराट रूप प्रदर्शन गर्ने तरखरमा छ। इन्दिरा गान्धी एअरपोर्टको ३ नम्बर टर्मिनलबाट बाहिर निस्कँदा सामना गरेको पहिलो चुनौती घामको उही विराट रूप हो।

एअरपोर्टभित्रको वातानुकुलित कक्षबाट बाहिरिँदा झरी भर्खरै रहेको छ। तापमान अनुमान गर्न लाग्ने समयभित्र सर्वांग शरीर पसिनाले भिजिसक्छ। भिजेको कमेज यसो छामेर मनमनै भन्छु, ‘बादल च्यातेर धमाधम पचासवटा घाम निस्के कि कसो !’

पसिनाले भिजेका हातले झोला तान्दै प्रिपेड ट्याक्सी खोज्छु। केही सय भारु एउटा सानो झ्यालबाट भित्र छिराएपछि कालो रङको ट्याक्सी अघिल्तिर आइपुग्छ। एअरपोर्ट छोडेर बाहिर निस्कँदा ट्याक्सीको झ्यालबाट हावा होइन तातो बाफ पसेर न्याक्न खोज्छ। झापाको गर्मी पचाएको शरीर दिल्लीको घामले फतक्क गलाउँछ।

पहिचान राजनीतिका संकट

उज्ज्वल प्रसाई / ०२ माघ २०७४

पहिचान राजनीतिले वि श्राम लिएकोमा एकथरी ढुक्क छन्। लामो समय पहिचानलाई मुख्य राजनीतिक मुद्दा बनाएको माओवादीका लागि पछिल्लो समय पहिचान आफैंमा पन्छाउनुपर्ने झन्झट बनिसकेको थियो। एमालेसँगको सहकार्य सुरु भएसँगै त्यो झन्झट आफैं बिलुप्त भएको छ। त्यसो त पहिचान समाएर बसेको भए संविधान जारी गर्ने सोह्रबुँदे सहमति नै सम्भव नहुन सक्थ्यो। ऐतिहासिक रूपमा सीमान्तमा धकेलिएका समुदायको पहिचानजन्य संघर्ष जरुरी छ भन्नेमा अद्यापी विश्वस्त संस्था र व्यक्ति भने क्षुब्ध भएका हुन सक्छन्।

संविधान कार्यान्वयन गर्दै तीन तहका निर्वाचन सम्पन्न भएसँगै आर्थिक समृद्धिको एकल कार्यसूचीमा सबै राजनीतिक शक्ति आबद्ध भएका छन्। बिजेता दुई वाम पार्टीका विकास-सपनामा पहिचानको गुन्जायस छैन। मधेसकेन्द्रित दलहरूले प्रदेश—२ मा आफ्नो बलियो उपस्थिति स्थापित गरे पनि उनीहरूले पहिचानका थाती मुद्दालाई राष्ट्रिय बहसको विषय बनाउन सक्नेमा विश्वस्त हुन सकिँदैन। उपेन्द्र यादवले अशोक राईलाई सँगै हिँडाउने प्रयत्न जारी राख्दासमेत जनजाति र मधेसीको बलियो सहकार्य हुनेमा प्रशस्त सन्देह छ।

विकासको गुजराती रवैया ?

उज्ज्वल प्रसाई /  १८ पुष २०७४-

बाहिर आइरहेका खबरहरू सही हुन् भने केही दिनमा एमालेनेता केपी ओली नेतृत्वको सरकार बन्नेछ। माओवादी केन्द्र पार्टी एकताको प्रक्रिया सुचारु रहेको विश्वासमा सरकारमा सामेल हुनेछ। यसरी बनेको सरकार स्थिर हुने दलिल स्थापित छ। पाँच वर्ष सत्ता समीकरणको चाकाचुली धेरै नमच्चाई विकास र समृद्धिको एकसूत्रीय एजेन्डामा दत्तचित्त हुने बाचाकसम सार्वजनिक छ। नेपाली राजनीतिमा स्थापित यो मोहक कार्यसूचीमा अडिग रहन एमाले र माओवादीलाई सञ्चारमाध्यम र चल्तीका बुद्धिजीवीको ठूलो जोड छ।

एकछिनलाई मानौं यी सबै आश्वासन पूरा हुन थाले। एमाले र माओवादीले सरकार बनाए, त्यसलाई स्थिरता दिए। यसैबीच पार्टी एकताको प्रक्रिया दाबीअनुरूप अघि बढ्यो र केही समयमा सत्तासीन दुई पार्टी एक बने। अब प्रश्न उठ्छ, उनीहरूले जनमतबाट अनुमोदन गराएको विकास र समृद्धिको एजेन्डा कसरी अघि बढ्छ ? सरकार बनेको कति समयमा उनीहरूले सो कार्यसूचीलाई ठोस आकार दिनेछन् ? नेपाललाई विकसित र समृद्ध बनाउन के के गर्नेछन् ? के कुनै खास विकास मोडलको आविष्कार गर्नेछन् वा कतै प्रचलित मोडलको अनुशरण ? त्यो मोडलले नेपाली समाजका विशिष्टतालाई कति सम्बोधन गर्नेछ ?

यी प्रश्नहरूका उत्तर दिइएका छैनन्।

एमालेनिकट अर्थशास्त्री तथा पूर्व गभर्नर युवराज खतिवडालाई समृद्धिसम्बन्धी केही प्रश्न सोध्नुबाहेक कुनै ठोस उत्तर खोज्ने प्रयत्न भएका छैनन्। पत्रपत्रिकाका विचारपृष्ठ र सम्पादकीय मूलतः कमजोर बनेको कांग्रेसलाई सुध्रिन उपदेश दिने तथा ‘वाम एकता’ को दीर्घायू र सुस्वास्थ्यको कामना गर्नेमा सीमित छन्। काठमाडौंमा हुने गोष्ठी र साँझेभेलामा भेट भएका नेतालाई कसैले सोध्यो भने, उनीहरू विकासका लागि कुल गाहस्र्थ उत्पादन बढाउनमा लागिपर्ने बताउँछन्। बिजुली उत्पादन र विदेशी लगानीका लागि उचित वातावरणका कथा पनि हाल्छन्। चिनियाँ सहयोगका आशा भरोसाप्रति मुस्कुराउँछन्। बस्।

आर्थिक वृद्धिको मोहजाल

एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयले शिक्षा र स्वास्थ्यमा निजी लगानी र कर्पोरेट बजारको प्रवेशलाई सकारात्मक मानेका छन्। यी दुई क्षेत्रको समग्र जिम्मा राज्यले लिन नसक्ने भएकाले बजारको प्रवेशलाई अनिवार्य मानिएको अन्दाज गर्न सकिन्छ। मुनाफालाई केन्द्रमा राखेर गरिने शिक्षा र स्वास्थ्यका निजी उद्यमलाई कडाइका साथ नियमन गर्ने सवालप्रति उनीहरूको उदासीनता प्रष्ट छ। निर्वाचनताका दुवै शक्तिशाली अध्यक्षहरूले आवश्यक मापदण्ड नपुगेका निजी स्वास्थ्य शिक्षण केन्द्रहरूका सम्बन्धनका मागप्रति देखाएको ऐक्यबद्धता नै पर्याप्त सन्देश हो। शिक्षा र स्वास्थ्यमा कर्पोरेट बजारलाई नियमनको उल्झनमा नपार्ने उनीहरूको उद्देश्यले विकासको गुजराती रवैयाको झल्को दिन्छ।

नरेन्द्र मोदी नेतृत्वमा भारतको गुजरात राज्यले विकासमा ठूलो फड्को मारेको कथा भारतमा जतिकै नेपालमा पनि चर्चित छ। मोदीले गरेका विकासे तरक्की हेर्न गुजरात पुग्ने नेपाली व्यापारी र उद्यमीहरूको संख्या ठूलो छ। अहमदाबाद, सुरत, बरोदा र राजकोट जस्ता सहर पुगेर त्यहाँका ठूला बाटा, उद्योग, बजार र अग्ला घरका फोटा खिचेर आउनेहरूको संख्या उति नै। नेपाली राष्ट्रवादले मोदी–मायाको जालो नच्यातेसम्म धनाढ्य नेपालीबाट गुजराती विकासका कथा सामाजिक सञ्जालमा छाउने क्रम द्रुत थियो। वाद र सिद्धान्तमा फसेकाले विकास गर्न नसकेको भनेर नेपालका पार्टीको आलोचना गर्नेहरूले समेत गुजरातलाई नै मोडल बनाउने सल्लाह दिने गर्थे।

भारतको प्रधानमन्त्रीका रूपमा मोदीको उदय हुँदै गर्दा सिंगो भारतमा गुजराती मोडल अपनाइने खबरले यहाँका ठूला व्यापारीलाई हौस्याएको थियो। विकास र समृद्धिका कोरा सपनामा विश्वास गर्ने राजनीतिक दलका नेताकार्यकर्ता पनि मोदीबाट हदैसम्म प्रभावित थिए। प्रधानमन्त्री निर्वाचित भएर पहिलोपटक नेपाली संसद्मा आइपुगेका मोदीको ‘पानी र जवानी’ भाषणबाट भावविह्वल भएर पत्रपत्रिकामा उनलाई जवाहरलाल नेहरू जतिकै उच्च व्यक्तित्व भएको भनेर प्रशंसा गर्न थालियो। भारतमा विकास–पुरुषको रूपमा उनको जसरी आक्रामक प्रचार गरियो, त्यसको प्रभाव नेपालका नेता, कार्यकर्ता, नीतिनिर्माता तथा अर्थशास्त्रीहरूमा समेत पर्‍यो।

प्रभावितहरू सबै उनले गुजरातमा गरेको ‘ग्रोथ’ का आँकडा सुनाउँथे। सन् २००३–२००४ देखि २०११–२०१२ सम्म आइपुग्दा गुजरातको आर्थिक वृद्धिमा उल्लेख्य फरक आएको सत्य हो। तर त्यसले गुजरातका बहुसंख्यक जनतामा के फरक पारेको छ भनेर नहेर्दा विकासको कथा अपूरो हुन्छ। अर्ध–सत्यको झन्डा हल्लाएर नेपालमा गुजराती मोडल दोहोर्‍याउने सपना बाँड्नेहरू अहिले मोदीको नाम लिन अन्कनाउँछन्। तर समृद्धिको सपनामा आर्थिक वृद्धिको मोदी छाया मडारिएको स्पष्ट देख्न सकिन्छ। स्मार्ट सिटीका गफ, मेट्रो रेलका किस्सा आदिले गुजराती शैलीकै छनक ल्याउँछ। मोदाीको पदचिन्ह पछ्याउँदै विकास–पुरुषको रूपमा नेपालमा उदाउन खोजेका भावी प्रधानमन्त्री ओलीको विकास–कथ्य कत्ति पनि फरक छैन।

गुजराती विकासका बाइप्रोडक्ट

गुजराती विकासको सम्यक अध्ययन गरेकी अर्थशास्त्री इन्दिरा हिर्वेका अनुसार गुजरातमा मूलतः तीन पक्षमा पर्याप्त ध्यान पु¥याइएको थियो। कर्पोरेट लगानी भित्र्याउनका लागि चाहिने पूर्वाधारको द्रुत विकास, कर्पोरेट एकाइहरूको सहज सञ्चालनका लागि शासन प्रणालीमा ठूलो फेरबदल, लगानीको आयतन बढाउन इतिहासमा सबैभन्दा बढी कर्पोरेटलाई सरकारी सहुलियत र सुविधा। सडक, एयरपोर्ट र ऊर्जाजस्ता पूर्वाधार वृद्धिमा विशेष जोड दिइएको थियो। लगानी प्रस्तावहरू सहजै पास गराउन औपचारिक झन्झटहरू घटाइयो, बैंकको ऋण सहज बनाउन हरसम्भव प्रयत्न गरियो। सामान र सेवा बिक्रीमा लगाइने करको दायरा पनि घटाइयो। जल, जंगल, जमिन जस्ता प्राकृतिक स्रोत दोहनमा निजी कर्पोरेट कम्पनीहरूलाई काफी सहुलियत दिइयो।

यसरी कर्पोरेटलाई प्रसस्त सहुलियत दिएका कारण शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा राज्य सरकारको लगानी न्यून बन्न पुग्यो। साधारणतया कुल आयको ५ देखि ६ प्रतिशत शिक्षामा लगानी हुने गरेकोमा २ प्रतिशतमा झर्‍यो, स्वास्थ्यमा ४ देखि ६ प्रतिशत लगानी हुने गरेकोमा त्यो घटेर ०.८ प्रतिशतमा पुग्यो। यही दौरान गुजरात राज्यका ४५ प्रतिशत बालबालिका कुपोषणका सिकार भए भने मातृ मृत्युदर घट्नुपर्नेमा दिनदिनै बढ्न थाल्यो। नब्बे प्रतिशत बढी मजदुर अनौपचारिक क्षेत्रमा कार्यरत छन्। गुजरात राज्यका आदिवासीहरूको अवस्था झनै चिन्ताजनक छ। धेरैजसो काम पाइने आशामा सहर पस्न थालेका छन् जहाँ आधारभूत आवश्यकताहरूबाट समेत वञ्चित भएर उनीहरूले सडकमा जीवन गुजार्नु परेको छ।

उत्पादनमा ह्रास आएसँगै रोजगारी घट्न थालेको छ। उद्योगहरूमा नयाँ र किफायती प्रविधिको प्रयोग बढ्न थालेपछि थोरै मानवीय श्रमबाट धेरै उत्पादन गर्न थालियो। फलस्वरूप, रोजगारीको मात्रा वृद्धि भएन। बजारमा बढ्दै गएका रोजगार–आकांक्षीहरूको संख्यालाई सम्बोधन गर्न निर्माण कम्पनी, सेवा क्षेत्र र यातायत मात्रै रहे। अर्थशास्त्री हिर्वेलगायतले सम्पादन गरेको पुस्तक ‘ग्रोथ अर डिभेलोपमेन्टः ह्वीच वे इज गुजरात गोइङ’ मा उल्लेख गरेअनुसार यी क्षेत्रमा पाइने रोजगारी नियमित रोजगारी थिएन, बरु थोरै वेतनमा केही समयका लागि दिइने जागिर थियो। यस्ता रोजगारीमा सामाजिक सुरक्षाका प्रावधान हुँदैनन् र मजदुरका आधारभूत माग राख्नलाई कुनै बलियो संगठन निर्माणको गुन्जायस पनि हुँदैन। त्यसैले विज्ञान र प्रविधि पढ्न हौस्याएका युवा पढाइ सकेपछि दिगो कामको खोजीमा भौंतारिएका छन्। तिनै बेरोजगार युवा सरकारप्रतिको आफ्नो रोषलाई विभिन्न माध्यममार्फत व्यक्त गरिरहेका छन्। पटेल जातिका लागि आरक्षणको माग गर्दै सडकमा उर्लिएका युवा मूलतः मिहिनेतले पढेलेखेर रोजगारी नपाएका युवा हुन्।

हिर्वेलगायत अनुसन्धाताहरूको निश्कर्ष छ, ‘वृद्धि माथिल्लो वर्गका लागि मात्रै भएको छ, आधारभूत तहका जनतामा पुगेको छैन। केन्द्र र राज्य सरकारले बनाएका गरिबमुखी कार्यक्रम कुनै पनि लागू भएका छैनन्। त्यसैले गुजरात मोडलबारे गरिएका हल्ला निराधार र झुटा हुन्।’

नवउदारवादको बाटो समाजवाद ?

सतहमा देखिएका प्रारम्भिक संकेत हेर्दा, अहिले लगाइएको विकास र समृद्धिको नारा गुजराती शैलीको नवउदारवादी अर्थव्यवस्था बलियो बनाउने यत्न हो। रेमिटेन्सका भरमा चलेका केही सहरबजारबाहेक अन्यत्र मध्यम वर्गसमेत राम्रोसँग हुर्कन नसकेको मुलुकमा नवउदारवादी विकासको प्रभाव कस्तो पर्नेछ भन्नेमा कसैले ठोस अध्ययन गरेको थाहा पाइएको छैन। अन्यत्रका अनुभव हेर्दा, नवउदारवादमा समान वितरणको सवाल असान्दर्भिक हुन्छ भने राज्य पनि आफ्ना मुख्य दायित्वबाट विस्तारै पछि हट्दै जान थाल्छ। गुजरात नै दोहोरियो भने त रोजगारीका सम्भावना अझ क्षीण हुँदै जान्छन्।

त्यसउपर ‘पेट्रोन–क्लाइन्ट’ सम्बन्धमा जेलिएको भीमकाय पार्टी संगठनको प्रभाव थेग्नुपर्ने समस्या छ। यस्तो सम्बन्धमा अडिएको बलियो संगठनले प्रगतिशील काम गर्नमा होइन, भएका स्रोत दोहन गर्नमा पार्टीमाथि बढी दबाब दिन्छ। दक्षता र सीपभन्दा बढी हिजो पार्टीका नेतालाई चुनाव जिताउन काम गरेका वा पैसा उठाएका कार्यकर्तालाई जागिर लगाउने संयन्त्रका रूपमा पार्टीले सरकार चलाउँछ। साथै, निर्वाचन जित्न पैसाको थैलो नेताका दैलामा पुर्‍याएका ठग ठेकेदार, भ्रष्ट व्यापारी र जागिरेका कब्जामा सिंगो सरकार फस्ने सम्भावना पनि उत्तिकै हुन्छ। ‘क्रोनि क्यापिटलिज्म’ को कचल्टिएको सुपथ उदाहरण नै नेपाल बन्न सक्छ।

नवउदारवादी विकासे मोडलबारे भारतमा लामो समयदेखि बहस हुँदै आएको छ। साथै, ‘क्रोनि क्यापिटलिज्म’ का अभ्यासले निम्त्याएका ठूला समस्या पनि त्यहाँ देख्न पाइन्छ। अहिले नेपालमा विकास र समृद्धिका हल्ला गर्नेले समेत ती बहसको अध्ययन गरे फाइदा हुन्छ। समाजवादका उडन्ते गफ गर्नुभन्दा बढी हितकर अमत्र्य सेन र जगदीश भगवती जस्ता विद्वानका बीचमा भएका विकाससम्बन्धी विमर्श खोजेर पढ्नु वेश हुन्छ। सेन यहाँका कथित वामले आफूलाई दाबी गरेका जस्ता वाम होइनन् तर उनका तर्क ध्यानसँग मनन गर्दा मात्रै पनि अब बन्ने भनिएको स्थिर सरकारले ठूला नकाम गर्नबाट आफूलाई जोगाउन सक्दो हो। नत्र उही पुरानो ‘वृद्ध भत्ता’ लाई नै समाजवादी भ्रुण भनेर जनता झुक्यारहनुपर्ने दुःख बेहोर्नुपर्ने हुन्छ।

अन्नपूर्ण पोस्टमा प्रकाशित / http://annapurnapost.com/news/87336

किताबी प्रतिरोधको वर्ष - २०१७

उज्ज्वल प्रसाई /  १५ पुष २०७४-

सन् २०१७ झुटले विजयोत्सव मनाएको वर्ष हो। अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको उदय र बेलायतको युरोपियन युनियनबाट बिदाइ अर्थात् ‘ब्रेक्जिट’ झुटको बौछारले सम्भव तुल्याएको हो। भारत र नेपालमा सम्पन्न निर्वाचनहरूमा समेत झुटका ठूला गंगा बगाइए। यी सामान्य झुट थिएनन् बरु सत्यजस्तो सुनिने र देखिने झुटहरू थिए। लाखौं मानिसले विश्वास गरेका नक्कली, बनावटी सूचना र समाचार थिए। त्यसैले बितेको एक वर्ष ‘पोस्ट–ट्रुथ’ अर्थात् ‘उत्तर–सत्य’को वर्ष थियो। आगामी कति वर्षहरू यो २०१७ को भूतले लखेटेर बित्नेछन्, थाहा छैन।

त्यसो त झुटको धरातलमा उभ्याइएका अमानवीय अट्टालिकालाई चुनौती दिने ससाना प्रयासका लागि पनि २०१७ को स्मरण हुनेछ। शक्ति र सत्ताका अघिल्तिर निर्भयी भएर सत्य बोल्नेले ती साना प्रयास गरे। थोरै पत्रकार, केही प्राज्ञिक मानिस र लेखकले हिम्मत जुटाएर सत्य उजागर गरेका हुन्।

नो इज नट इनफ

‘सशस्त्र इस्लामी जिहादीलाई परास्त गर्ने हतियार गोरो राष्ट्रवाद हो, काला र कलेजी रंगका मानिसका कारण असली अमेरिकीले बेरोजगारी र गरिबी भोग्नु परेको हो।’ यस्ता अनेक झुट र बनावटी कथा हालेर ट्रम्पले गरिखाने वर्गका गोरा अमेरिकीका भोट लिए। जसै उनी उदाए, ठूला कर्पोरेट कम्पनीका मानिसलाई आफ्नो क्याबिनेटका सदस्य बनाए। दुनियाँमा सबैभन्दा शक्तिशाली दाबी गरिएको मुलुक अमेरिकाको राष्ट्रपतिजस्तो सर्वोच्च कार्यकारी पदलाई नै आफ्नो व्यापारिक ब्रान्डको रूपमा विकास गरेको छनक पाएपछि नाओमी क्लिनले ‘नो इज नट इनँफ’ नामको किताब लेखिन्।

क्लिन क्यानडेली लेखक, सामाजिक अभियन्ता र फिल्ममेकर हुन्। उनले यसअघि ‘नो लोगो’, ‘द सक डक्ट्रिन’, ‘दिस चेन्जेस एभ्रिथिङ’जस्ता महत्वपूर्ण किताब लेखिसकेकी छन्। नवउदारवादी अर्थतन्त्रको आडमा एउटा सानो समूहले संसारभरका सम्पत्ति आफूमा केन्द्रित गर्ने व्यवस्थाको उनले पोल खोलेकी छन्। प्राकृतिक स्रोतको निरन्तर दोहन र उपभोक्तावादको जगजगीबाट सृजित पर्यावरणीय समस्या संसारका हरेक मानिसका लागि सचेत हुनुपर्ने विषय हो भन्ने गहिरो बोधसहित लेख्ने गर्छिन् क्लिन। पर्यावरणका सवाललाई सामाजिक आन्दोलनका विषय बनाएर उनले अभियानसमेत सञ्चालन गरेकी छन्।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको केही महिनामा उनले ‘नो इज नट इनफ’ लेखेकी हुन्। ट्रम्प कुनै व्यक्तिमात्रै होइनन् र उनी एकाएक अमेरिकाको त्यो सर्वोच्च पदमा निर्वाचित भएका पनि होइनन्। बरु उनी विगत आधा शताब्दीमा भएका अनेक गल्तीका समष्टी अभिव्यक्ति मात्र हुन्। क्लिनको निष्कर्ष यति नै हो। अघिल्ला कृतिहरू लेख्न उनले लामो अध्ययन, आवश्यक सूचना र तथ्यांकको गहिरो प्रशोधन र लेखनका लागि पनि उति नै मेहनत गर्ने गरेकी थिइन्। यो किताब भने उनले अत्यन्त छोटो समयमा लेखिन्। यही किताबका लागि भनेर ठूलो खोज अनुसन्धान केही नगरेको उनले परिचय खण्डमा उल्लेख गरेकी छन्। अर्थात् अमेरिकामा ह्वात्त उदाएजस्तो देखिएको नश्लवादी दक्षिणपन्थ खासमा हिजोको बजारवाद र लोकतन्त्रको घुम्टोमा लुकेर गरिएका ‘अन्य घृणा’ र पर्यावरणका विषयप्रति देखाइएका चरम उदासीनताको परिणामका रूपमा बुझाउन उनले जानीबुझी हतार गरेकी छन्। कारण, ट्रम्पका सबै हर्कतलाई एकएक गर्दै हेर्ने र तिनको समीक्षा गर्दै उनलाई पूरा अवधि नकाम गर्ने छुट दिँदा सारा दुनियाँको भविष्य अन्धकार हुनेछ।

पहिले कस्ता गल्ती गरिए त ? दुनियाँमा देखा परेका हरेक नयाँ संकटलाई उपयोग गर्दै कर्पोरेटका निजी स्वार्थहरू सार्वजनिक नीति र कार्यक्रमका रूपमा लागू गराइए। बिन लादेनजस्ता जिहादीले सिर्जना गरेको आतंकलाई उपयोग गरेर ‘वार अन टेरर’ अर्थात् आतंकवाद विरुद्धको युद्ध सञ्चालन गरियो। निरन्तर युद्धले निर्माण गरेको युद्ध अर्थतन्त्रले हतियार बनाउने बहुराष्ट्रिय निजी कम्पनीलाई मुनाफा थुपारिदियो। हजारौंको बलिदानीको मूल्यमा मुठ्ठीभर कम्पनीका मालिकले युद्ध अर्थतन्त्र खडा गरे र स्रोतको निरन्तर दोहन गरिरहे। आधारभूत तहका मान्छेले रातदिन खटेर तिरेका सबै तिरो उही युद्धको अर्थशास्त्र ठीकठाक राख्न दुरुपयोग गरियो।

पछिल्लो किताबमा उनले ‘सक डक्ट्रिन’ लेख्न गरेका अनुसन्धानका निचोडसमेत जोडेर डोनाल्ड ट्रम्प आफैंमा एउटा सक् अर्थात् आघातका रूपमा उदाएको बताएकी छन्। ट्रम्पसँगै निर्णायक ठाउँमा पुगेका मानिसका अनुहार हेर्दा अमेरिकी नेतृत्व आफैंमा एउटा आघातका रूपमा दुनियाँभर बज्रनसक्ने देखिन्छ। सन् २००८ को आर्थिक मन्दीका बेला हजारौं मानिसलाई घरबाट खेदेर घरबारविहीन बनाइदिने वानवेस्ट नामक कम्पनीका मुख्य लगानीकर्ता तथा ब्यांकर स्टिभ मन्चिन निर्णायक ठाउँमा छन्। त्यस्तै एक्जनमोबिल नामको संसारकै ठूलो इन्धन कम्पनीका सीईओ रेक्स टिलर्सन पनि ट्रम्प समूहका सदस्य हुन्। क्लिनका अनुसार पर्यावरण जोगाउन थालिएका सबै कदम अर्थहीन छ भनेर प्रमाणित गराउन करोडौं खर्च गरेर झुटको खेती गर्ने कम्पनी हो एक्जनमोबिल। यो कम्पनीले पर्यावरण विज्ञानका नाममा अनेक अनुसन्धान छाप्थ्यो जसको एक मात्र उद्देश्य पर्यावरण बचाउन गरिएका सबै आन्दोलन अर्थहीन छन् भनेर पुष्टि गर्नु थियो। अध्ययन र विज्ञानका नाममा यस्ता झुटका पुलिन्दा प्रचार गर्दा मात्रै कम्पनीलाई निर्बाध प्रकृतिको दोहन गर्न छुट हुन्थ्यो। अनियन्त्रित रूपमा सञ्चालित हुने छुट पाएपछि एक्जोनमोबिलले पृथ्वीको तापक्रम बढाउनमा ठूलो भूमिका खेलिरह्यो।

त्यसैले क्लिन भन्छिन्, अब ट्रम्पको हलुका विरोध मात्रै गरेर पुग्दैन। अमेरिकी नीतिलाई ‘नो’ भनेर मात्रै दुनियाँलाई बाँच्नयोग्य बनाउन सकिने छैन। त्यसका लागि संगठित र सुझबुझपूर्ण हस्तक्षेप जरुरी छ। नयाँ दुनियाँको निर्माण सम्भव छ भनेर वैकल्पिक चिन्तनको विस्तार गर्न जरुरी छ। नयाँ विकल्प देखाउन नसक्दा र आधारभूत तहका मानिसलाई त्यसमा गोलबद्ध बनाउन नसक्दा, ट्रम्प आफैंमा दुःखदायी विनाशको बलियो कडी बन्नेछन्। सन् २०१७ ले मनाइरहेको झुटको उत्सवमा सत्यको राँको यसरी बोकेर हिँडिन्, नाओमी क्लिन।

उत्तरआधुनिक जमानाको उत्तर–सत्य

इन्टरनेटको सहज उपलब्धताका कारण लाखौं मानिस हातहातमा सूचना र तथ्यांकका स्रोत बोकेर हिँडेका छन्। एउटा सानो डिभाइसमा हजारौं तथ्यांक, श्रव्यदृश्य सामग्री, पुस्तक र निरन्तर सूचनाको बहाव कायम राख्न सकिन्छ। सामाजिक सञ्जालको बढ्दो प्रयोग र ख्यातिले गर्दा पनि सामान्य मान्छेलाई सूचनाको कुनै खाँचो हुँदैन। ठूलो पुँजी र धेरै कामदारको जोहो नगरी समाचार र विचार उत्पादन र प्रसारण गर्न सम्भव भएको छ। यसरी हेर्दा इन्टरनेटले ज्ञान र सूचना उत्पादन र प्रकाशनलाई लोकतन्त्रीकरण गरेको छ। सुखको यो पाटोले दुःखका अनेक पक्षलाई ओझेल पारिरहेको पनि उत्तिकै सत्य हो।

जसले जुनसुकै बेला जहाँसुकैबाट सूचनाका नाममा झुट र अफवाहहरू फैलाउन सक्छ। त्यसरी फैलिएको एउटा अफवाहले लाखौंको नोक्सान गरेपछि वा हजारौंलाई नराम्ररी प्रभावित पारिसकेपछि वा कहिलेकाहीँ सयौं मानिसको संहार गरिसकेपछि मात्रै असलियत खुल्ने गरेको छ। १० मिनटमा तयार भएर केही घन्टामा संसारभरि बबन्डर मच्चाउने एउटा हल्लाको प्रभाव मेटाउन १० वर्ष अपुग हुन सक्छ। इन्टरनेट र सामाजिक सञ्जालका यस्तो सामथ्र्यलाई उपयोग गरेर थुप्रै दुर्घटना घटाइएका छन्। यस्ता घटनासम्बन्धी अनेक अध्ययन पनि भएका छन्। हाम्रो नजिकै भारतमा चलेको ‘लभ जिहाद’को हल्ला र त्यसले निम्त्याएको हिंसा कहालीलाग्दो थियो। उत्तर प्रदेशको मुजफ्फरनगरका हजारौं गरिब मुस्लिमलाई विस्थापित गराउन ह्वाट्सयापमार्फत चलाइएको ‘लभ जिहाद’को एउटा झुटो हल्ला काफी भयो।

फोटो, भिडियो र झट्ट हेर्दा विश्वास गर्न सकिने खालका दृश्य वा सूचना उत्पादन गरेर फैलाउन ठूलो मेहनत गर्नुपर्दैन। त्यसरी असत्य, नक्कली, कपोलकल्पित सूचनाको बाढी उरालेर राजनीतिक नेताहरूले चुनावी सफलता हात पार्ने गरेका छन्। सीधा झुटो बोलेर, भ्रमका ठूला पर्खाल खडा गरेर मतदातालाई एकोहोर्‍याउने काम भएका छन्। मिथ्यांकहरू फैलाएर, बनावटी घटनाका वर्णन गरेर र भविष्यको कपोलकल्पित अनुहार सिर्जना गरेर शक्तिशाली मुलुकका सर्वोच्च पदहरू हत्याइयो, दूरगामी असर पार्ने निर्णयहरू गराइयो।

उत्तरआधुनिकताले सत्यका हजार रूप हुन्छन् र कुनै एउटा व्याख्या अन्तिम हुँदैन भन्ने दलिल पेस गरेको थियो। मानौं यही गुह्य बुझे सत्ता र शक्तिमा भएकाले र फ्याँके हजार अनुहारधारी ‘सत्य’को पासो। यस्ता झुटका तीव्र प्रसार प्रत्यक्ष देखेपछि र तिनका प्रभाव समेत भोगेपछि सन् २०१७ मा केही अनुसन्धाताले ‘उत्तर–सत्य’बारे पुस्तकहरू तयार पारे।

म्याथ्यु डी एन्कोना नामका एक पत्रकार तथा अनुसन्धाताले ‘पोस्ट ट्रुथः द न्यु वार अन ट्रुथ एन्ड हाउ टु फाइट ब्याक’ लेखे। त्यसैगरी अर्का खोज पत्रकार जेम्स बलले ‘पोस्ट ट्रुथः हाउ बुलसिट कन्कर्ड द वर्ल्ड' नामको किताबमार्फत असत्यले संसार कसरी कज्याउँदैछ भनेर व्याख्या गरे। उस्तै नामको किताब लेख्नेमा एक अर्थशास्त्रीसमेत छन्। बीबीसी रेडियोमा केही प्रख्यात कार्यक्रम सञ्चालन गर्ने अर्थशास्त्री इभान डेभिसले लेखेको किताबको नाम हो ‘पोस्ट ट्रुथ : ह्वाई वी ह्याभ रिच्ड पिक बुलसिट।’

म्याथ्यु डी एन्कोनाले ब्रेक्जिट, ट्रम्पोदय, मौसम परिवर्तनप्रतिको शक्तिशालीहरूको चरम उदासीनता र आप्रवासीप्रतिको दुराग्रह, यी सबै झुटका आधारमा उछालिएका भावनात्मक आवेग हुन्, तथ्यका आधारमा निकालिएका परिणाम होइनन् भनेका छन्। जेम्स बलले उनको किताबमा सामान्य मानिसका लागि झुटा कथ्य कति मोहक र आकर्षक सुनिन सक्छन् भनेर देखाएका छन्। साथै गम्भीर समाचार उत्पादन र सत्यप्रति इमानदार भएर गरिने खोज पत्रकारितामा लगानी नहुनुका कारण पहिल्याएका छन्।

इन्टरनेट अर्थशास्त्रले पत्रकारिताको अभ्यासमा पारेका प्रभाव उनको किताबमा पढ्न पाइन्छ। इभान डेभिसको किताब पंक्तिकारको हात परेको छैन तर छापामा आएका समीक्षाका अनुसार उनले मिथ्यांकको प्रभाव उधिनेका छन्। उदाहरणका लागि डोनाल्ड ट्रम्पले देखाएको बेरोजगारको आँकडा गलत थियो तर त्यही गलत आँकडा पत्यारिलो तथ्यका रूपमा स्थापित भयो। अझै मानिसहरू त्यही मिथ्यांकबाट प्रभावित छन्। किन ? यसको कारण खोतल्न डेभिसले मनोविज्ञानको सहायता लिएको समीक्षकहरूले बताएका छन्। इन्टरनेटको प्रयोगमार्फत वैकल्पिक पत्रकारिता र वैकल्पिक चिन्तनका मञ्चहरू पनि सृजना गरिएको छ। डेमोक्रेसी नाव, ज्याकोबिन, काफिलाजस्ता वेब म्यागजिन र ब्लगहरूले वैकल्पिक चिन्तनका लागि उत्साहजनक काम गरेका छन्। भारतमा अभ्यास भइरहेका वेब समाचार पोर्टलहरू वायर र स्क्रोलले पनि सामान्य पाठकमा गहिरो प्रभाव पार्न थालेको बुझिन्छ। त्यसो त यस्ता सबै प्रयास सत्ताको आँखाको तारो पनि बनेकै छन्।

राष्ट्रवाद र पुँजीवादको आलोचना

विगत केही वर्षदेखि जुर्मुराएको दक्षिणपन्थलाई चुनौती दिएर तत्काल किताबहरू प्रकाशन गर्नेमा भारतीय विद्वान्हरू अघिल्लो पंक्तिमा छन्। केही महिनाअघि भारतकी निर्भीक पत्रकार गौरी लंकेशको हत्या गरियो। सम्भवतः हिन्दुवादी दक्षिणपन्थीहरूले उनको हत्या गरेका हुन्। सो हत्याको विरोधमा भारतका स्वतन्त्र विद्वान्हरूले आवाज बुलन्द गरेका थिए। हत्याको प्रतिरोधस्वरूप उनका महत्वपूर्ण आलेखहरूको संकलन गरेर ‘द वे आइ सी इट : अ गौरी लंकेश रिडर’ नामको पुस्तक भर्खरै प्रकाशन गरिएको छ। स्वतन्त्र प्रकाशन संस्था नभयना बुक्सले लंकेश रिडर बजारमा ल्याएको हो।

यसअघि २०१६ मा यु.जी अनन्थमुर्थी, रोमिला थापर, ए.जी नुरानी, के सत्चिानन्दन, निवेदिता मेनन लगायतले मोदी–सत्ताका ज्यादतीहरू विरुद्ध लेखेका आलेखहरूका थुप्रै संकलन प्रकाशनमा आएका छन्। यी सबै आलेखले मूलतः मोदीले उछालेको हिन्दुवादी राष्ट्रवादको प्राज्ञिक चिरफार गरेका छन्।

सन् २०१७ अक्टोबर क्रान्तिको सय वर्ष पुगेको वर्ष पनि हो। त्यसैले अक्टोबर क्रान्तिको स्मरण गर्दै थुप्रै वैचारिक बहस भएका छन् भने क्रान्तिबारे केही किताब पनि लेखिएका छन्। अक्टोबर क्रान्तिबारे थप व्याख्या वा त्यो ऐतिहासिक घटनाको आलोचनात्मक चिन्तनलाई नै पुँजीवादी व्यवस्थामाथि प्रश्न उठाउने बिन्दु बनाएर किताब लेखिएका छन्। प्रख्यात मार्क्सवादी विद्वान् तारिक अलीले ‘द डिलेम्माज अफ लेनिन : टेरोरिज्म, वार, एम्पायर, लभ, रेभोलुसन’ भन्ने किताब लेखे भने अक्टोबर क्रान्तिबारे ‘अक्टोबर’ नामकै उपन्यास लेखेका छन् चाइना माइभिल्लेले। पुँजीवादको आलोचनासहित यो व्यवस्थाको अन्त्यको परिकल्पना गर्दै जर्मन समाजशास्त्री वल्फग्यांग स्ट्रिकले लेखेको ‘हाउ विल क्यापटिलज्म इन्ड ?’ भर्खरै बजारमा आएको छ।

अन्त्यमा

माथि उल्लेख गरिएका सबै पुस्तक हाम्रा लागि उपयुक्त पठन सामग्री हुन सक्छन्। संसारमा भइरहेका बौद्धिक बहससँग साक्षात्कार हुनु वा त्यसमा आफू पनि सहभागी हुन खोज्नु जरुरी छ। त्यसउपर अन्यत्र घटेका घटनाका प्रत्यक्ष वा परोक्ष प्रभाव हामीलाई पर्ने भएकाले ती घटनाबारे छलफल चलाउनु हाम्रा लागि हितकर हुन्छ। नेपालमा चलेका विकास र समृद्धिका हल्लाखल्लाका अन्तर्य बुझ्न पनि माथि चर्चा गरिएका पुस्तक सहयोगी बन्न सक्छन्।

बुकर र नोबेल पुरस्कारका हल्लाखल्लाले नछोएका धेरै महत्वपूर्ण पुस्तक हुन्छन्। पश्चिमा र भारतीय सञ्चारमाध्यमले सिर्जना गरेका हाइपमार्फत काठमान्डुका पुस्तक पसलमा आइपुग्ने पुरस्कारवाला किताबको घेरामा मात्रै सीमित हुन खोज्दा अरू महत्वका प्रकाशनतर्फ ध्यान नपुग्न सक्छ। पत्रकारिता वा साहित्यका पपुलर तर गहकिला किताब खोज्न वा प्राज्ञिक महत्वका महत्वपूर्ण कृति भेट्टाउन पुरस्कारको लेबल हटाएर चियाउन जरुरी हुन्छ।

अन्नपूर्ण पोस्ट 'फुर्सद' मा प्रकाशित / http://annapurnapost.com/news/87136

अधिकार र सम्मानको अपुरो यात्रा

उज्ज्वल प्रसाई / ०४ चैत २०७४

जम्मा एकपटक पाइने जिन्दगी सम्मानजनक ढंगले जिउन केही आवश्यकता तय छन् । आधुनिक शिक्षा र स्वास्थ्यमा सहज पहुँच सबैभन्दा मुख्य हो । जात, लिंग, धर्म, नश्ल वा रंगका आधारमा कुनै विभेद र अपमान भोग्न नपर्ने अवस्थाले इज्जतिलो जिन्दगी सुनिश्चित गर्छ । व्यक्तिमा निहित विशिष्ट क्षमता प्रकट हुन पाउने वातावरण र सो क्षमताको विस्तार गर्ने सम्भावनाको सुनिश्चितताले सम्मानजनक बँचाइ सम्भव तुल्याउँछ । शिक्षित र स्वस्थ प्रत्येक नागरिकले कुनै विभेद नभोगी वा अपमानित महसुस नगरी श्रम गर्न र आफ्नो क्षमता विस्तार गर्न पाए भने मात्रै आर्थिक र सांस्कृतिकरूपमा समाज गतिशील बन्छ । यी आधारभूत आवश्यकता पूरा गर्न नसक्दा विकास र समृद्धिका नारा फजुल साबित हुन्छन् ।

चुनावी स्पर्धाको साँघुरो घेरामा बन्धक नेपाली राजनीतिले विकास र समृद्धिको छारो बहुत उडायो, ठोस प्रश्नमा प्रवेश गर्न रूची देखाएन । अत्याधुनिक रेल र युरेनियम खानीका गफ राम्ररी चुट्यो, आधारभूत तहका मान्छेको पहुँचमा भएका शिक्षा र स्वास्थ्य सेवाको मात्रा र गुणबारे चिन्तन गरेन । दलीय अर्थशास्त्रले कुल गार्हस्थ उत्पादन बढाउने जटिल सूत्र सुनाइरह्यो, कति नेपाली नागरिक सामाजिक र राजनीतिक विभेदका सिकार भएका छन् भनेर सोचेन । विभेदबारे उठाइने हरेक सवाललाई पहिचान-राजनीतिको ओरालो यात्रासँग जोडेर बेवास्ता गर्न खोजिरह्यो ।

गणतन्त्रका अनेक राजदण्ड

उज्ज्वल प्रसाई / १९ मङि्सर २०७४

ज्ञानेन्द्र शाहले नारायणहिटीबाट बिदा हुँदै गर्दा भनेका थिए, ‘राजदण्ड सुरक्षित राखिदिनु ।’ नेपाली समाज हिङ नभए पनि ‘हिङ बाँधेको टालो’ बोकेर बस्ने समाज हो । यसो वरपर नियालेर हेर्‍यो भने लाग्छ, राजा नभए पनि त्यही राजदण्ड प्रत्येक नेपालीले आफ्नो मस्तिष्कमा बोकेर हिँडेको छ ।

हुनसक्छ त्यही राजदण्डको भयले हामीमा गणतान्त्रिक चेतना हुर्कन नसकेको हो । एउटा खास व्यक्तिलाई संरक्षक, शासक र आफ्नो व्यक्तित्वको नियन्त्रक मान्ने चेतना गणतान्त्रिक चेतना हुन सक्दैन । आफ्नो बलबुताले नभ्याउँदासम्म शक्तिशाली व्यक्ति वा सो व्यक्तिका नाममा ‘हिङ बाँधेको टालो’ लाई सर्वेसर्वा ठान्ने, आफूले सकेका दिन आफैं राजा बन्न खोज्ने चेतना मूलतः गणतन्त्रविरोधी चेतना हो ।

व्यावहारिक तवरले त्यो राजतन्त्र नै हो । जनताले चुनेको सार्वभौम संविधानसभाले गणतन्त्र घोषणा गरेको एकदसक बढी भइसक्दा पनि हामीमा गणतान्त्रिक चेतना हुर्कन सकेन ।प्रश्न र सन्देह निषेधी त्यो चेतनाले आफूले नसकेसम्म कसैलाई राजा मानिरहेको छ र हरपल आफैं अरू सबैका राजा बन्न खोजिरहेको छ।

सांसद बन्ने कि सेल्सम्यान ?

उज्ज्वल प्रसाई / ०४ मङि्सर २०७४-

राजनीतिबारे शास्त्रार्थ गर्नेहरूको राय छ- निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । बेल्जियमका सांस्कृतिक इतिहासकार डेभिड भ्यान रेब्रुक त्यस्ता अपवाद हुन्, जसले लोकतन्त्रका लागि निर्वाचन हानिकारक छ भन्ने निचोड प्रस्तुत गरेका छन् । आफ्ना दाबीलाई सहयोग गर्ने यथेष्ट तथ्यसहित उनले ‘अगेन्स्ट इलेक्सन्स् : द केस फर डेमोक्रेसी’ अर्थात् ‘निर्वाचनको विरुद्धमा’ नामको पुस्तक लेखेका छन् ।

उनको मुख्य तर्क छ, ‘निर्वाचन आफैंमा अलोकतान्त्रिक विधि भएकाले फ्रान्सेली र अमेरिकीहरूले सो विधि रोजेका हुन् । अहिलेसम्म सम्पन्न भएका निर्वाचन नागरिकको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न नभई लोकतन्त्र कुण्ठित गराउन मात्र प्रयोग भएका छन् ।’ लोकतान्त्रिक प्रक्रियाप्रतिको विश्वास डग्मगाउनमा सबैभन्दा बढी भूमिका नै निर्वाचनको छ भन्ने उनको अर्को दलील छ । नेपालमा जारी निर्वाचनका सबै रबैया नियालेर हेर्न भ्याएका भए रेब्रुकले आफ्नो दलीलमा बढी विश्वस्त हुने मौका पाउने थिए ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार बनेर जनताका घरदैलोमा पुगिरहेका अधिकांश नेता-कार्यकर्ता झूटो बोल्दैछन् । सहरमा पुगेकाहरूले कुनै लेखाजोखाविना बाहिरी र भित्री चक्रपथको आश्वासन बेच्दैछन् । धनी छिमेकी चीनको उदारता कल्पना गरेर पूर्वपश्चिम रेल गुडाउने सपना कोरल्दैछन् । पहाड र मधेसका दुर्गम ठाउँहरूमा पुगेर युरेनियम, फलाम र पेट्रोल खानीका अनेक किस्सा सुनाएर प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य बन्ने दौडमा लागेका छन् । राजनीतिमा झूटो बोल्नु अनिवार्य सत्यका रूपमा स्थापित गरिएको छ ।

जरुरी छ पुँजीवादको आलोचना

उज्ज्वल प्रसाई / १८ कार्तिक २०७४-

गत भदौ ३१ गते अन्नपूर्ण पोस्ट्को ‘फुर्सद'का यिनै पृष्ठहरूमा प्राध्यापक चैतन्य मि श्रको अन्तर्वार्तामा आधारित लेख छापियो । सो लेखको शीर्षक नेपाली वामपन्थीहरूमा उत्तेजना सञ्चार गर्ने खालको थियो । कम्युनिस्ट पार्टी नचाहिने एउटा कडा दलिल शीर्षक भएर आएको थियो । त्यति मात्रै होइन, शीर्षकको अर्को अंशमा उत्तिकै ठाडो टिप्पणी थियो- संसारभरका कम्युनिस्टहरूले चिन्तक र नेताका रूपमा श्रद्धा गर्ने लेनिनले नै माक्र्सवाद बुझेनन् ।

लेख छापिएपछि सामाजिक भनिने सञ्जालहरूमा अनेक टिकाटिप्पणी लेखिए । कोही चर्को विरोधमा उत्रिए भने कोही बचाउमा । केही अध्येताले भने यसलाई गहन बहसको प्रस्थानबिन्दु मानेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । कम्युनिस्ट आन्दोलन, वामपन्थी शक्तिहरू र नेपाली समाजमा तिनको उपस्थितिबारे सहरका थुप्रै गल्लीमा चर्चा हुनु यो लेखको सफलता मान्नुपर्छ ।

खासगरी वामपन्थबारे रुचि राखेर अध्ययन गर्ने र कम्युनिस्ट भनिने पार्टीहरूमा संलग्न भएकाले मि श्रका लेखबारे चर्चा गरे । वैश्विक परस्थिति र त्यसबारे गरिने सैद्धान्तिक र वैचारिक विमर्शमा सदैव अद्यावधिक रहेर नेपाली समाजसम्बन्धी लामो समय अध्ययन, चिन्तन र अध्यापन गरेका बुज्रुग प्राध्यापकले दिएको मन्तव्यको चर्चा हुनु सामान्य हो र त्यो आवश्यक थियो । यसैबीच राजेन्द्र महर्जन, विभूषित विष्ट र रामचन्द्र श्रेष्ठका लेखहरू मि श्रले उठाएका बहस वरपर केन्द्रित भएर आए । बहसका लागि अझ काफी सवालहरू ज्यूँदै छन् । यो लेख त्यही बहसमा जोडिने सामान्य प्रयत्न हो । गम्भीर र प्राज्ञिक तहको बहसका लागि अखबारको एउटा लेख पर्याप्त भने हुँदैन ।

एक थान लाल सलाम चढाइदेऊ

उज्ज्वल प्रसाई / १३ असोज २०७४-

प्रिय नाद्या,

तिम्रा हस्तलिखित अक्षर देख्न पाएको छैन । त्यसो त तिमीले मातृभाषामा लेखेको पढ्न सकेको पनि त होइन । अनुदित तिम्रा पत्रहरू छापिएर आए, मेरो मस्तिष्कमा तिनै पत्रहरूले एउटा आकृति कोरिदिए । तिम्रो सक्कली अनुहार खिचिएको तस्बिरले त्यो आकृतिको न्यास्रो मेटाउँदैन । आज यो पत्र लेखिरहँदा, त्यही कृत्रिम आकृतिसँग संवाद गरिरहेको छु । सम्बोधन भने तिमीले पत्रमा लेख्ने गरेको नामलाई नै गर्न मन लाग्यो । नादेझ्दा तोलोकोन्निकोभा, यो नामको उच्चारण नेपाली जिब्रोमा रत्तिन समय लाग्छ ।

साथीहरूसँग मिलेर तिमीले एउटा साहस गर्‍यौ । त्यसो गरेबापत जे हुनु थियो, त्यही भयो । तिमीहरू श्रम शिविरमा थुनियौ, साइबेरियामा प्रहरीका कपडा बुनेर बस्यौ । उहिले नै फ्योदोर दोस्तोएभ्स्किलाई पनि त्यसैगरी श्रम शिविरमा पठाएको थियो राज्यले । फर्केर उनले साइबेरियाको कहरलाई 'द हाउस अफ द डेड'नामको उपन्यासमा उतारे । तिमी पनि कम सिर्जनशील भएनौ त्यहाँ, दार्शनिक चिन्तन नै गर्‍यौ । खैर, रसियाको सबैभन्दा पवित्र मानिने गिर्जाघरमा नाच्दै र गाउँदै भ्लादिमिर पुटिनलाई सराप्नु सहज काम थिएन । कारण, ऊ शासक हो, एकदम तन्दुरुस्त राष्ट्रपति । उसका बलवान् प्रहरीले तिमीहरूलाई थुनेर कुनै अनौठो काम गरेको होइन । फेरि भएन तिमीहरूले गाएको गीत नै यस्तो छ, स्याबासीको आशा गर्नु अर्थहीन हुन्थ्यो ः
'भर्जिन मेरी, मदर अफ गड, पुट पुटिन अवे ...
भर्जिन मेरी, मदर अफ गड, बिकम अ फेमिनिस्ट'

ढोंग र असफलताको स्मृति स्तम्भ

उज्ज्वल प्रसाईं /

आज वि.सं २०७३, वैशाख १२ गते । यो मितिले इंगित गर्ने निराशा, विषाद, आक्रोश, र वेदना, र विस्मृतिमा विस्तारै विलिन हुँदै गएका सपनालाई नियमित लेखको सपाट भाषाले व्यक्त गर्न सक्दैन । यी सबै एकैसाथ व्यक्त गर्न सायद कवितामा मात्रै सम्भव छ । अहिले लेखिने शक्तिशाली कविताले समयको त्यस्तो अभिलेख राख्ने थियो जसले शासकले रच्ने इतिहासको झुठलाई उजागर गथ्र्यो र जनताको भग्न सपनाको हिसाब राख्थ्यो ।

भूकम्पको बबन्डर र राजनीतिक बेइमानीले क्षतविक्षत बनाएका जनताका अघिल्तिर बसेर करोडौंको भोज गर्ने बेसरम शासकबारे ठाडो भाषामा लेख्नु आफ्नै बेइज्जती हो । ठाडो अभिव्यक्तिले यो निशासलाग्दो वर्तमान भोगिरहेका जनतालाई थप निराशा दिनेछ भने त्यस्तो सपाट लेखनले नांगो उभिएका शासकलाई थप हौसला प्रदान गर्ने सम्भावना रहन्छ । सम्भवत शक्तिशाली कविताको विम्वले जनतालाई थप संघर्षका लागि प्रेरित गर्नेछ भने शासकलाई इतिहासमा अंकित हुने उसको सग्लो चित्र देखाइदिन सक्नेछ । प्रतिभासम्पन्न मानिसहरुले त्यो उद्यम गरिरहेका हुनसक्छन् भन्ने अनुमानले मात्रै पनि झिनो आशा दिन्छ ।

चन्दका विप्लवी जटिलता

उज्ज्वल प्रसाईं /

दिल्लीमा भेट भएकी एक पेरुभियन साथीलाई साइनिंग पाथबारे प्रश्न गरें । उनले जिब्रो टोक्दै भनिन्, ‘ती त आतंकवादी हुन् ।’ उनको भनाई कति गम्भिर थियो वा उनले साइनिंग पाथ नामको पेरुभियन कम्युनिष्ट क्रान्तिकारीबारे कति नजिकबाट अध्ययन गरेकी छन्, थाहा छैन । तर, उनले झट्ट जे जवाफ दिइन्, त्यो पेरुको पछिल्लो पुस्ताको बुझाई हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । प्रोट्रयाक्ट्रेड वार अर्थात वर्षौंसम्म लम्बिएको युद्धले अन्ततः युद्ध छेंड्ने सबैलाई आतंकवादी नै बनाउने हो । दशकौं लम्बिएको युद्ध ‘क्रान्तिकारी’ बनिरहन सक्दैन ।

कानु सन्याल जीवित छँदै नक्सलवारी छेऊको हात्तीगिस्सा भन्ने ठाउँमा पुगेर केही साथीहरुले उनीसंग भेटघाट गरे । सन्यालले दिक्दार भएर एक सानो झुपडीको आयतनमा आफ्नो राजनीति र चिन्तनलाई सिमित राखेका थिए । धेरै वर्ष अघि राज्यविरुद्ध युद्ध छेंड्न उनीहरुले भेला पारेका हतियारबारे उनलाई प्रश्न गरियो । ती हतियारहरु त्यही नक्सलबारी वरपर लुटपाट मच्चाउन प्रयोग भइरहेको उनले जवाफ दिएका थिए । त्यसको केही समयपछि उनले आत्महत्या गरे । युद्ध विश्रंखलित भयो भने, नेता नैराश्यको दलदलमा फँस्छन् । कति कार्यकर्ता नेताको नैराश्यपथका निकम्मा पथिक हुन्छन् । कति लुटेरामा परिणत हुन्छन् ।

पहाडलाई झुक्याउँदै खड्गप्रसाद

उज्ज्वल प्रसाई / १९ पौष, २०७२

निर्वाचित संविधानसभाबाट लेखिने संविधानले त्यस्तो राजनीतिक संरचनाको निर्माण गरोस् जसले नेपालको सामाजिक र साँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्न सकोस् । नयाँ बन्ने संरचनाले सामाजिक न्याय स्थापना गर्नेछ र लोकतन्त्र सबल हुनेछ । सपना यस्तो थियो । रक्तरंजित र निशासलाग्दो विपनामा त्यो सपनालाई दोहोर्याएर देख्न जोखिमपूर्ण हुन्छ । सुखद पक्ष यति मात्रै हो, त्यस्तो जोखिम मोल्न चाहनेहरुले हिम्मत हारेका छैनन् ।

पहिलो संविधानसभामा माओवादी र मधेसवादी बलिया थिए । खासगरी माओवादीका कारण भारत डराएको थियो । तिनताक भारतीय संस्थापन माओवादीले चाहे जस्तो संविधान बन्न सफल हुनु भनेको माओवादी अझ बलियो हुनु हो भन्ने भयबाट ग्रसित थियो । आफ्नो ‘करेसाबारी’मा माओवादी नाम झुण्डिएको विद्रोही दस्ताले निर्वाचन त जित्यो नै, संविधान पनि सहजै बनायो भने त्यसले आफ्ना घरेलु विद्रोहीहरुलाई बल पुग्नेछ भन्ने बुझाईका कारण पनि ऊ सकसपूर्ण अवस्थामा थियो । हरसम्भव माओवादीलाई साइजमा ल्याउने र भरसक उसले क्रेडिट लिन सक्ने गरी संविधान निर्माण हुन नदिने मनसाय भारतका गतिविधिहरुमा प्रष्ट देखिन्थ्यो । तिनताक भारतको सो ईच्छालाई बलियोसँग काँधमा बोक्ने नेपाली पात्र थिए अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओली ।

हराउनेछन् पूर्णसिंह राजवंशीहरु

उज्ज्वल प्रसाई / २५ श्रावन, २०७२

जनयुद्धमा सबैभन्दा बढी मानिस मारिएका जिल्लाहरुमध्ये पर्छन् कैलाली र बर्दिया । सबैभन्दा बढी मानिस बेपत्ता पारिएको जिल्ला पनि बर्दिया नै हो । मारिने र बेपत्ता हुनेमा यो क्षेत्रका थारु जातिका मानिस बढी थिए अर्थात थरुवानका धेरै थारुहरुको बलिदानले सिंचेको हो माओवादी जनयुद्ध । तिनको बलिदानीको मूल्य के रह्यो ? यो प्रश्न नेपाली समाजको दलिनमा कतिञ्जेल अनुत्तरित झुण्डिने हो, थाहा छैन ।

वर्षौंसम्म थारुहरु बँधुवा मजदुर बने । सिंगो मुलुकका ‘उत्पीडितहरुको मुक्तिका निम्ति’ रचिएको युद्धमा पनि उनीहरुले ठूलो मूल्य चुकाए । आफ्नो जंगल दिए, जमिन दिए, श्रम दिए, जवानी दिए, पसिना दिए, र ज्यान त थोकमै दिए । उनीहरुकै रगत र पसिनाको जगमा खडा संविधानसभाले अहिले आएर उनीहरुको सम्पूर्ण अधिकार खोसेको छ । थरुवान नामेट भएको छ । संविधानसभामा पेश गरिएको ६ प्रदेशको संघीयताले निःसन्देह सबभन्दा पिँधमा धकेलेको थारुलाई नै हो ।

प्रचण्डको प्रेम र धोका

उज्ज्वल प्रसाई / जनकपुर ६ श्रावन, २०७२

प्रचण्ड एक ताका मधेससँग प्रेममा परेको बताउँथे । प्रचण्डले बोलेर प्रेम (?) व्यक्त गरे । मधेसले उनलाई विश्वास गर्यो, कर्मले नै उनीप्रतिको प्रेम दर्शायो । वामपन्थी किल्ला भनिएको कीर्तिपुरले माओवादी सुप्रिमोसँग ‘बदला’ लिइरहँदा, सिराहाले उनलाई चुनावमा जिताएर प्रेम प्रदर्शन गरेको थियो । तर, प्रचण्डले धोका दिए । अर्कोपटक फेरि प्रेम परेको यदि प्रचण्डले बताए भने, सिराहा मात्र होइन, सायद सिंगो मधेसले उनलाई सपाट भाषामा भन्नेछः ‘केपी ओलीको प्रतिच्छायाँप्रति हामीलाई कुनै अनुराग छैन ।’ संविधानको पहिलो मस्यौदामा सुझाव संकलन गर्न जाँदा उनीप्रति देखाइएको आक्रोशलाई बुझ्न टाउको दुखाइरहनुपर्दैन ।

भोलि सीमांकन गरेर नै संविधान जारी गरिएछ भने पनि मधेसलाई सर्वथा कमजोर बनाउने तय गरेर नै त्यो सम्भव तुल्याइनेछप्रचण्डले ‘केपी डक्ट्रिन’लाई नै आफ्नो राजनीतिक रोडम्याप बनाएको सचेत मधेसी नागरिकहरुको बुझाइ छ । मधेसको कुनै अस्तित्व नै नभएको बताउने केपी ओलीलाई मधेसले आफ्नो मित्र मान्दैन, प्रचण्डलाई पनि मित्र मानिरहन उनीहरुको कुनै बाध्यता छैन । १६ बुँदे त्यस्तो महेन्द्रीय धागो हो जसले केपी र प्रचण्डलाई कसेर बाँधेको छ । महेन्द्रको प्रेतले मधेसलाई सदैव परचक्री देख्छ भन्ने बुझ्न मधेसीको आजपर्यन्तको अलगाव भोगाइ नै काफी छ । अब अर्को मौका दिने शंकाको सुविधा समेत रहेन मधेसीसँग । कारण, मस्यौदाले मधेसलाई अहिलेभन्दा कमजोर बनाएको छ ।भोलि सीमांकन गरेर नै संविधान जारी गरिएछ भने पनि मधेसलाई सर्वथा कमजोर बनाउने तय गरेर नै त्यो सम्भव तुल्याइनेछ । केपी डक्ट्रिनमा यो भन्दा फरक केही आशा गर्न सकिने ठाउँ छैन ।

सुझावका रित्ता फारम

उज्ज्वल प्रसाई / जनकपुर ५ श्रावन, २०७२-

जनकपुर शहर । पसलहरु सबै बन्द छन् । फाट्टफुट्ट गाडी चलेका छन् । संविधानको पहिलो मस्यौदामा जनताको सुझाव लिने कार्यक्रम तय गरिएकाले सार्वजनिक छुट्टी छ आज । मधेसी अधिकार संघर्ष समितिले बन्दको आह्वान समेत गरेकाले सडकमा चहलपहल घटेको हो । शहरको मध्यभागमा रहेको उद्योग वाणिज्य संघको भवनमा मस्यौदाबारे जनताको सुझाव संकलन कार्यक्रम राखिएको छ । ११ बज्नै लाग्दा मूल सडकबाट अलिकति मोडिएर सानो गल्ली हुँदै पुग्नुपर्ने भवनको गेट अघिल्तिर केही मानिसहरु जम्मा हुन थाल्छन् । जसै सुझाव संकलनका लागि तोकिएको समय नजिकिन थाल्छ, भवनको गेटमा जम्मा भएका मानिसलाई प्रहरीले छेक्न थाल्छ । लगभग २५ जना जति मानिसहरु भवनमा प्रवेश पाउनका लागि ५० प्रहरीसँग अनुरोध गर्न थाल्छन् । प्रहरी मान्दैनन् । सुझाव संकलन गर्न निम्ता दिने अनि भवनमा प्रवेश नदिने ? अचम्मको दृश्य देखिन्छ । सोधपुछ गरेपछि थाहा हुन्छ, प्रहरीले भेला भएका ती मानिसलाई मस्यौदा विरोधी दलका राजनीतिक कार्यकर्ता भनेर पहिल्यै पहिचान गरेकाले भित्र प्रवेश गर्न रोक लगाएका रहेछन् ।

मस्यौदा नै प्यान्डोराज बक्स बन्न सक्छ: प्रदीप गिरी

उज्ज्वल प्रसाई / २१ आषाढ, २०७२-

संविधानसभाका चार दलबीच भएको सोह्र बुँदे सहमति, सर्वोच्च अदालतको परमादेश र अहिले बाहिर ल्याइएको संविधानको मस्यौदाबारे प्रसिद्ध चिन्तक तथा नेपाली कांग्रेसका सभासद प्रदीप गिरीसँग उज्ज्वल प्रसाईले गरेको कुराकानीको संपादित अंश:

रेकर्ड: संविधानसभाका चार मुख्य दलबीचको सोह्र बुँदे सहमति र सर्वोच्च अदालतको परमादेशलाई कसरी मुल्यांकन गर्नुभएको छ ?  

वैशाख १२ गते नेपालमा आएको भूकम्पका नराम्रा पहलु सबैलाई थाहा नै छ । तर, भूकम्पले हाम्रा राजनीतिक दलका शीर्ष नेताहरुमा चेत आए झैं देखियो । सबै दलका नेताहरुलाई यो संविधान सभाको साँघुरो सुरुंगबाट निष्किने बहाना चाहिएको रहेछ । सबै लागेर फटाफट सर्टकट बाटोबाट संविधान ल्याउने जमर्को गरे । दलका नेताको यो हतारो बुझ्दा बुझ्दै हठात सर्वोच्च अदालतबाट गिरिश लाल कर्णको एकल इजलासले सिमांकन र नामांकनलाई छुटाएर तपाईंहरुले संविधान घोषणा गर्न पाउनुहुन्न भन्ने आदेश गर्यो । त्यो निर्णयले सिंगो मुलुकभरि नै तरंग आयो । केही अवाञ्छित टिप्पणीहरु पनि आए । यो मधेशको वितण्डा हो किनभने निवेदक, न्यायधिस, राष्ट्रपति सबै मधेसी छन् भन्ने जस्ता अवाञ्छित टिप्पणी आए । यस सिलसिलामा कतिपय सांसदहरुले मलाई समेत आमन्त्रण गरेर संविधान सभाको बैठक अघि संविधानसभाकै परिसरमा एउटा बेग्लै बैठक गरे । उनीहरु मधेशको पिंडा बोलिरहेका थिए । तर, उनीहरुको चासोलाई सम्बोधन गर्ने क्रममा मैले भनें, अहिले मधेश र जनजातीका पिंडाका कुरा छाडिदिनुस् । सिंगो मुलुक अहिले चाँडो भन्दा चाँडो संविधान जारी होस् भन्ने चाहान्छ । तर, सर्वोच्च अदालतको परमादेश उतिकै महत्वपूर्ण छ । त्यसलाई बेवास्ता गरेर अघि बढ्न सकिंदैन । 

एमाओवादीको आत्मस्वीकृति

उज्ज्वल प्रसाई / १७ आषाढ, २०७२-

एनेकपा माओवादीले आफू अरु संसदवादी पार्टीभन्दा अलग रहेनौं भन्ने इमान्दार आत्मस्वीकृति पेश गरेको छ । आखिर उसले लाञ्छित गर्ने गरेका संसदवादी पार्टीहरु जस्तै रुपरंग र गुदीको हुनका लागि उसले ठूलो यत्न गर्यो  । अर्थात्, सो पार्टीका नेताले त्यस गन्तव्यमा पुग्न गरेको योगदान चानचुने छैन ।

पुँजीवादी बजारमा पाइने सबै सुखसुविधा उपभोग गर्नका लागि जे जे गर्नु पर्ने थियो, माओवादी नेताले त्यो सबै गरे । वर्षौंसम्म परिवर्तन गर्न चाहँदा अरुले घेराबन्दी गरे भन्ने रोइलो मात्रै गरिरहे । ठोस परिवर्तन गरेनन् । बरु, आँफै परिवर्तित भए । सबभन्दा बढी आफ्नो राजनीतिक शक्ति र सत्तालाई आफू मात्रको सर्वोपरी हितका लागि प्रयोग गर्ने दौडमा एकआपसमा प्रतिष्पर्धा गरे । कमिसनको मेहेरोमा पूर्णतया समाहित भए । माथि केन्द्रदेखि तल जिल्लासम्म सम्पूर्ण नेता पंक्तिको ध्यान भागबण्डा र ठेकापट्टामा हुनुको कारण अरु के हुन सक्छ ? आफ्नै पार्टी कार्यालय बिक्रि गरेर दाम बाँड्ने सम्मको हर्कतलाई केन्द्रकै स्खलनको छायाँका रुपमा बुझ्नु पर्छ । केन्द्रमा हुने यस्तो स्पर्धामा निःसन्देह एनेकपा माओवादीमा हाल दोस्रो पंक्तिमा रहेका झरझराउँदा नेता अब्बल थिए । शीर्षस्थले आफ्ना उत्तराधिकारीको बिल्कुल संसदवादी ‘करियरिष्ट’ दौडमा साथ दिए, हौसला बने । यसलाई सानो योगदान मान्नु हुँदैन । यति ‘ठूलो दुःखले अज्र्या’को ढुकुटीमा सुतेर उत्पिडितका मुक्तिको सपना देख्न सम्भव थिएन ।

एमाले महात्म्य

उज्ज्वल प्रसाई  / २४ माघ, २०७१

यो एमाले–याम हो । मुलुकमा निष्पक्षता कायम राख्नुपर्ने दुई मुख्य पदहरुमा समेत अहिले एमाले–प्रभाव परेको छ । सभामुख पदमा आसिन सम्माननीय सुवास नेम्वांग पूर्णतया ओली गुटका इमान्दार कार्यकर्ता बनेका छन् । राष्ट्रपति पदमा विराजमान सम्माननीय रामवरण यादवलाई नचाहेर नै एमाले भन्दा फरक बन्नु परिरहेको छ । कटुवाल काण्डमा उनको भूमिका सम्झने हो भने यो भन्दा अर्को निश्कर्ष निकाल्न सकिंदैन । त्यसैले एमालेको चर्चा नगर्दा वर्तमान राजनीतिमाथि टिप्पणी गर्न असम्भव छ । 

एमालेको डिएनए 

नेकपा एमाले आजका दिनसम्म आफूलाई वामपन्थी प्रगतिशील पार्टी बताउँछ । आफूलाई वामपन्थी नै दावी गर्ने माओवादीले ‘जात’को नारा उरालेकोले ‘वर्ग’को राजनीतिमा आफ्नो सर्वाधिकार भएको उसको दावी छ । कसैले दक्षिणपन्थी भनिदिए अत्यन्त क्रुद्ध हुन्छन् एमालेजन । वामपन्थप्रतिको उनीहरुको भावुकता बुझ्न सकिन्छ । ‘वर्ग’प्रतिको उनीहरुको अतिशय प्रेम पनि त्यति अवोधगम्य छैन । केवल ‘वर्ग’ र ‘वामपन्थ’ जस्ता शब्दका चलायमान अर्थको सर्कसमा एमालेले आफूलाई कहाँ उभ्याएको छ, त्यो निरुपण गर्नुपर्छ ।
एमालेको परिभाषामा वामपन्थ भनेको मदन भण्डारीको फ्रेम गरिएको फोटो हो, वस् । त्यो हरेक निष्ठावान एमालेका मस्तिष्कमा उनिएको छ । उनीहरुले रक्षा गर्ने वर्गीय स्वार्थ भनेको त्यो समुहको स्वार्थ हो जसले हिन्दुवाद मात्रलाई आफ्नो जीवन दर्शन मानेको छ, लोग्ने मानिस मात्रलाई शासक हुन लायक ‘नागरिक’ ठानेको छ, बजार मात्रलाई नियमक निकाय मानेको छ, शुद्ध खस नेपाली भाषा बोल्ने र दौरा सुरुवाल लगाउने मात्रमा शासन गर्ने ‘डीएनए’ रहेको ठानेको छ ।

यो निष्कर्षमा अर्को एउटा सपाट सत्य जोडिएन भने नेपाली राजनीतिको बुझाइ अपुरो हुन्छ– एमालेको पूर्व वैरी नेपाली कांग्रेस पार्टी अहिले एमालेकै भक्तजनहरुको झुण्ड बनेको छ । पर्खेर हेर्नुमात्र पर्छ, दुनियाँमा गाइजात्राका सयौं संस्करणहरु देख्न पाइन्छ । 

पार्टी बुद्धिजीवीको भविष्यवाणी 

श्रीमान खिलराज रेग्मीले सफलतापूर्वक गराएको निर्वाचन अघिसम्म एमालेभित्रको ठूलो पंक्तिलाई निर्वाचन जितिएला भन्ने आत्मविश्वास थिएन । पार्टी नेतृत्व र शिर्ष भनिने नेतागण आफूले जित्नेमा निकै आशावादी भएपनि त्यो आशा तलसम्म सञ्चार भएको थिएन । शिर्ष तहमा बसेर उनीहरुले गर्ने अनेकन चलखेलका सूचनाबाट वञ्चित पार्टीका एकथरी बुद्धिजीवी नेताहरु भारतलाई भूत करार गर्दै ‘यो हुनेछ र त्यो हुनेछ’ भनेर पत्रिकामा हावादारी भविष्यवाणी गर्थे । अर्थात्, निर्वाचनमा माओवादीले नै जित्ने र मुलुक विखण्डनतिर गएर एक अंश भारततिर मिसिन सक्ने आशय व्यक्त गर्थे । माओवादी आँफैलाई जित्न हम्मे भएपनि विखण्डन सम्भव तुल्याउन भारतले जादुको छडी चलाएर उसलाई र मधेसवादीलाई जिताउने उनीहरुको जीरह रहन्थ्यो । चुनाव परिणाम उनीहरुको मनको डर भन्दा ठीक विपरित आयो ।

राष्ट्रवादी ती भविष्यवेत्ता बुद्धिजीवीले त्यसबेला कथेका कथ्यहरु पत्रिकाको अर्काइभमा गएर हेर्नुस्, तिनको ‘वर्गीय ज्योतिषशास्त्र’ कति कमजोर रहेछ भन्ने थाहा हुनेछ ।

बौद्धिकहरु जरा हुन् भने बुद्धिजीवी पात: सिके लाल

उज्ज्वल प्रसाई / १५ पौष, २०७१-
 
चिन्तक, राजनीतिक विश्लेषक, र चर्चित स्तम्भकार सिके लालसँग नेपाली बुद्धिजीवी र बौद्धिकबारे रेकर्ड नेपालका उज्ज्वल प्रसाईले लिएको अन्तरवार्ताको संपादित अंश:

रेकर्ड: इन्टिलेक्चुअल र इन्टेलिजेन्सियाबीच कति फरक छ ? हामीले नेपाली भाषामा यस्ता अवधाराणालाई कसरी बुझ्छौं ? 
 

एकजना समाजशास्त्री टि.वी बोटोमोरले के भनेका छन् भने आफ्नो पेशामार्फत समाजमा कुनै प्रकारको सेवा दिइरहेका शिक्षित व्यक्ति इन्टेलिजेन्सिया हुन । जस्तो कि चार्टड एकाउन्टेट, वकिल, प्रोफेसर, डाक्टर, पत्रकार, यिनीहरुलाई बुझाउने शब्द हो इन्टेलिजेन्सिया । इन्टेलिजेन्सिया यो अर्थमा कि यिनीहरुसँग ज्ञानको एउटा आधार छ । प्रोफेसनल कोर्ड अफ इथिक्स भित्र रहेर समाजको हितको लागि काम गर्छन । त्यो भनेको ज्ञानको व्यवहारिक प्रयोग हो । इन्टेलिजेन्सिया सामान्यतया समाजका मूल्यमान्यताका परिधिहरु भित्र रहेर काम गर्ने । तर इन्टिलेक्चुअलको काम नै ती मूल्य र मान्यताका परिधिलाई चुनौती दिने हो । मुक्तिबोधको एउटा कविता छ, ‘जो है, उससे बेहतर सही है ।’ जहिले पनि प्रश्न गरिरहने । जे छ, त्यो भन्दा राम्रो हुनुपर्छ भन्ने । आफ्नो क्षेत्रमा सामाजिक एवं राजनीतिक मूल्यमान्यताका परिधिहरु भित्र रहेर, कति गर्न सकिन्छ, त्यो गर्ने हो भन्ने मानसिकता इन्टेलिजेन्सियाको हो । नेपालीमा एकदम मिल्ने शब्द छः बुद्धिजीवी र बौद्धिक । बुद्धिजीवी भनेको बुद्धिबाट जीविका चलाउने । बौद्धिक भनेको बुद्धिको प्रयोग गरेर भइरहेकोलाई परिवर्तन गर्न प्रश्न गर्ने । 

दक्षिणपन्थी भासमा एमाले

उज्ज्वल प्रसाई / ८ पौष, २०७१-

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का अध्यक्ष हुन् खड्ग प्रसाद उर्फ के.पी. ओली । उनका पछिल्ला मन्तव्य सुन्दा उनको पार्टीको नाम आँफैमा एउटा ‘मिसनोमर’ हो भन्ने अनुभूत हुन्छ । अर्थात्, सो पार्टीका नाममा उल्लिखित ‘वाद’हरुलाई थोरै पनि प्रगतिशील मान्ने हो भने ओली अध्यक्ष हुन सुहाउँदो पार्टीको नाम एमाले नभएर अरु नै केही हुनु पर्नेछ । त्यसैले होला पछिल्लो समयमा केही विश्लेषकहरुले ओलीलाई नै सम्बोधन गरेर चिठी शैलीमा लेखहरु लेखे । उनीहरुले ओलीलाई समयको पदचाप सुनाउने प्रयत्न गरे । सन् १९९० मै आफूलाई राजनीतिक रुपमा ‘इन्सुलेट’ गरेका ओली त्यस्तो धुन सुन्नै सक्दैनन् । सुनेर बुझ्न सक्दैनन् । ओली मात्रै इन्सुलेट भएका हुँदा हुन् त अवस्था किञ्चित फरक हुन्थ्यो । त्यसबेला सिंगो एमाले पार्टी नै इन्सुलेटेड भएको थियो त्यसैले त्यहाँ कुनै पनि नयाँ धुन पस्नै सक्दैन । केवल १९९० मा रेकर्ड गरिएको पुरानो टेप एकोहोरो बजिरहन्छ ।

श्रममा टेकेर मस्तिष्कमा हान्ने

उज्ज्वल प्रसाई र चिरन मानन्धर / ९ मंसिर, २०७१-

हिजो हातमा बन्दुक थियो, आज कोदालो छ । हिजो रणमैदानमा दगुर्थे, आज तरकारीबारी र गोठमा पसिना चुहाउँछन् । हिजो सपना थियो, आज अप्ठ्यारो यथार्थ मात्र छ । तर, पूर्व माओवादी लडाकु रेखा र भगवती बदलिएको समयलाई यसरी बुझ्छन्, ‘हिजो पनि संघर्ष गर्यौं, आज पनि त्यही बाटोमा छौं । संघर्षको रुप मात्रै बदलिएको हो ।’ हिजो देखेको सपना नि ? रेखाले फ्याट्ट जवाफ दिइन्, ‘श्रमको सम्मान भएन भनेर युद्धमा लाग्यौं । श्रमले उचित सम्मान अझै पाएको छैन । तर, युद्ध पनि सधैं सम्भव छैन ।’

पाएको कति र गुमाएको कति ? ढक तराजुमा आफ्नो र मुलुकको भाग्य हरदम जोखेर समयलाई सराप्दै बस्ने फुर्सद उनीहरुलाई छैन । नत्र पोख्नका लागि उनीहरुसँग पर्याप्त छन्, दुःखका कथा कहानी । रेखाको पति वि.सं २०६० देखि बेपत्ता छन्, भगवतीले पनि युद्धकै क्रममा आफ्नो पति गुमाइसकेकी छन् । युद्धकै बेला गोली पचाएको भगवतीको शरीरमा चोटका असरहरु अहिले पनि देखिन्छन् । त्यसमाथि, उनीहरुले एकसाथ लडेको युद्ध निष्कर्षमा पुगेन । भन्छन्, ‘भएका उपलब्धि जति हुन्, तिनमा हामीले पनि योगदान गर्न सकेकामा खुशी छौं । तर, हाम्रा अगुवाहरुले नै बाटो बिराए, अहिले आएर पार्टीलाई कमजोर बनाए ।’ श्रमप्रतिको सम्मान कम भएकाले र धेरैले राजनीतिलाई व्यक्तिगत स्वार्थको बगलीमा कैद गरेकाले उनीहरु संगठित भएको पार्टी एनेकपा माओवादी विग्रन थालेको टिप्पणी गर्छन् ।

भयग्रस्त काठमाण्डौं

उज्ज्वल प्रसाईं / २५ कार्तिक, २०७१-

नरेन्द्र मोदी भारतको प्रधानमन्त्री नियुक्त भए लगत्तै नेपाली अखबारका ठुलै अंश उनको प्रशंसामा समर्पण गरिएको थियो । प्रधानमन्त्री भए पश्चात पहिलो पटक गत श्रावणमा उनले नेपाल भ्रमण गरे । त्यसवेला मोदीले संसद भवनमा दिएको भाषणको सर्वत्र चर्चा भयो । सो भाषणको सबभन्दा बढी प्रभाव नेपालका ठूला राजनीतिक दलका शीर्ष नेता र राजनीतिक विश्लेषकमा नै पर्यो । भोलिपल्टका अखबारमा त्यसदिन संसद भवनमा बजेको तालीकै गडगडाहट सुनिन्थ्यो । त्यसपछिका धेरै दिनसम्म पनि मोदी जपनाको लामा फेहरिस्त छापिए । उनको प्रधानमन्त्रीत्व नेपालका लागि कति फाइदाजनक छ भन्ने वस्तुनिष्ठ विश्लेषण भन्दा अतिरञ्जित प्रशंसा काठमाण्डौका नाम चलेका विश्लेषकहरुको दिनचर्या बन्यो । आसन्न सार्क सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी दोश्रो पटक नेपाल आउँदैछन् । पहिलो पटक उनको आगमनमा आह्लादित बनेको काठमाण्डौ, यस पटक भने भयग्रस्त छ ।

सत्ताधारी भयग्रस्त हुने दुई कारण छन्ः सार्क सम्मेलनमा सहभागी हुन जमिनबाट जनकपुर हुँदै काठमाण्डौ आउने मोदीको योजना र त्यहाँ हुने सभालाई उनले गर्न चाहेको सम्बोधन ।

Tuesday, May 15, 2018

बेचैन बोधनाथ

उज्ज्वल प्रसाईं/ १६ असार

डेभिएन्टआर्ट
सिंगो प्रजातन्त्रले संकट बेहोरेका बेला, बोधनाथ शर्मा चैनले बस्न सक्ने कुरै भएन। देशका अन्य प्रजातन्त्रप्रेमीहरूको तुलनामा उनको व्यग्रता बढी छ। त्यसो त प्रजातन्त्रप्रतिको प्रेमको हिसाब किताबमा उनी जतिको अब्बल अरू कोही हुन पनि सक्दैन। मुलुकको राजनीतिबारे सबैभन्दा बढी बुझेको मान्छे हुनु र प्रजातन्त्रको गुरूत्तर जिम्मेवारीबारे गहिरो बोध हुनु गाह्रो रहेछ भन्ने उनलाई महसुस हुन थालेको छ।

बेचैनीले गाँजेर उनको दैनिकी बदलियो। आफ्नो स्वामित्वमा भएको मानव अधिकारवादी गैरसरकारी संस्थाको कार्यालय जाने उनको समय अहिले राजदुत र प्रजातन्त्रको रक्षा खातिर काठमाण्डुमा तैनाथ दाताहरूका कार्यालयमा राजनीतिक छलफल गरेर बित्न थाल्यो। कार्यालयमा धेरैबेर बस्नु खतरा महसुस गर्न थाले। बरू, विदेशी मित्रहरूका डेरामा अलमलिए, प्रहरीले समात्नै खोज्यो भने पनि सहजै फेला पार्दैन। राजाले प्रतिनिधि सभा विघटन गर्दा उनी यसरी नै व्यग्र भएका थिए। केही समयपछि राजाले प्रतिगमन आधा जति सच्याए, उनको अशान्त मनोदशा आधा जति नै कम भयो। त्यसले उनको दैनिकीमा धेरै हेरफेर ल्याएको थिएन। अहिले आएर राजाले पूरै सत्ता आफ्नो हातमा लिए। जसै प्रजातन्त्र र मानव अधिकार संकटग्रस्त बन्यो, उनका ब्रेकफास्ट र लन्च मिटिङहरूको संख्या ह्वात्तै बढ्यो। बोधनाथ शर्मा जतिको यथार्थबोध भएका मानिसको छटपटी यसै बढ्दैन।

भारतीय (अ)लोकतन्त्रको कोलाज

उज्ज्वल प्रसाईं / २ असार-

एक हाथ में पेप्सी कोला 
दुजे में कंडोम 
तीजे में रामपुरिया चाकु
चौथे में हरिओम 
कितना ललित ललाम यार है
भारत घोडे पे सवार है 
–अष्टभुजा शुक्ल

यो समीक्षा होइन। उपन्यासका तत्त्व र विषय, पात्रहरूका स्वाभाविकता र विकास, कथ्यको खुकुलोपना वा खँदिलोपना, द्वन्द्वको उठान र बैठान, संवादको संगति र असंगति, मानवीय संवेगको स्थुलता वा सुक्ष्मता। यी सबै उधिन्ने प्रयास होइन यो। त्यसो त उपन्यासको गुणवत्ताको ठाडो छ्यानविचार पनि होइन। बरू, उपन्याससँग संवाद गर्ने अति सामान्य प्रयत्न मात्र हो।

भारत भन्ने भीमकाय मुलुक मलाई विष्मयकारी लाग्छ। रोयले बीस वर्षको अन्तरालमा लेखेकी दोस्रो उपन्यास पनि उस्तै विष्मयकारी छ। भारत जति कोमल छ, त्यति नै क्रुर पनि छ। भारतमा जति अहिंसाको चर्चा अन्यत्र कहीँ हुँदैन, महात्मा बनाइएका गान्धी त्यही समाजका उत्पादन हुन्। गान्धी व्यक्तिबाट सैद्धान्तिक स्कूल ‘गान्धीवाद’मा परिणत भइसक्दा हिंसाको विद्रुपतम घटना कति घटे होलान् भारतमा? अभिलेख राखेर साध्य छैन। अध्यात्मको ओढनीले ढाकेर भौतिकताको चरम उपभोग गर्छ भारत। सधैंजसो धर्मको नांगो ताण्डव पनि उसैले देखाउँछ। कहिलेकाहीँ अत्यन्त मृदुभाषी सुनिन्छ भारत, अक्सर कर्कश र दुर्मुखा जस्तो सुनिन्छ त्यही भारत। यो आफैमा सुललित र जीवनमुखी काव्य हो, उतिकै जर्जर र शुन्यवादी गद्य पनि हो। आकारको विशालता यो समाजले सिर्जना गरेका विज्ञान र कला, विचार र दर्शनमा समाहित भएका छन्। यी विशालतम सिर्जना र संरचनाले दुनियाँलाई कायल बनाएको छ। अनेक सभ्यताको मिश्रण बनेर भारतले संसारभरका हजारौं अध्येताहरूलाई अद्यापि चकित पारिरहेको छ। साथै, अमानवीय विभेद र असभ्यताको द्योतकका रूपमा संवेदनशील मस्तिष्कलाई उत्तिकै जिरिङजिरिङ पनि बनाइरहेकै छ। द मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस उपन्यास त्यही भारतको कोलाज चित्र हो।

कोलाहल सहरको घण्टाघर

उज्ज्वल प्रसाईं/ काठमाडौं ३१ जेठ


काठमाडौं घण्टाघर            अल मक्तोम फाउन्डेसन
यो निर्जन टापु होइन, सहर हो। त्यसैले वरिपरि मान्छे छन्। छन् दुःखहरू। त्यसो त खुशीका क्षणहरू पनि नभएका होइनन्। हरेक दुःखका सीमा होलान्। तर, सुखका सीमितताबारे मान्छे बढता जानकार छन्। विश्वासका झीना त्यान्द्राहरू छन्। ती कहिले च्वाट्ट चुँडिन्छन्। चुँडिएका त्यान्द्रा हावामा कति दिनसम्म त्यसै तैरिइरहन्छन्। त्यस्ता अधुरा त्यान्द्रा कुनै बेला नयाँ सम्बन्धमा पुगेर जोडिन्छन् पनि। अविश्वासको धारमा परेर जुनसुकै बेला ती फेरि चुँडिन सक्छन्। पूरै रोडम्याप पहिल्यै कोरेर कुनै सम्बन्ध बनेको हुँदैन। जिन्दगीको गुगल म्याप बनाउने कोशिसमा ज्योतिषिकोमा धाउनेहरु आँफैमाथि विश्वास नभएका दुःखीहरू हुन्। सहरमा यस्ता दुखीयाहरूको कमी छैन।

सहरमा घण्टाघर छ। घण्टाघरले आफ्नो घण्टे घडी बजाइरहेकै होला। कोलाहल बढेपछि सहरमा त्यसको आवाज कतै नपुगी नै बिलाउन थालेको छ। एकथरि मानिस घण्टी सुन्ने अभिलाषा बोकेरै बसेका छन्। तर, न उनीहरू कोलाहल घटाउने साहस गर्छन्, न घण्टाघरको भोल्युम बढाउने चेष्टा नै। घण्टीको आवाज नसुनिएकामा तीनले गरेको बिलौनाले सहरमा थप कोलाहल बढेको भने पत्तो पाउँदैनन्। अस्ति भर्खरकै घटना त हो, कसैले चाहेर पनि नजिकै रहेको नारायणहिटिमा फेरिन लागेको समयको पूर्व सूचना घण्टाघरले पुर्‍याउन सकेन। आजकल त्रिचन्द्र कलेजको आँगनमा छरिने घण्टीको आवाज ‘डिस्टोर्टेड’ छ भन्छन् बुझक्कड तन्नेरीहरू। घण्टाघर नजिकैको पुस्तक पसलमा भेटिएका एक युवाकवि भन्दै थिए, ‘मध्यरातको नीरवतामा पनि घण्टाघर सुनिँदैन आजकल।’

सपिङ सेलिब्रेसन

उज्ज्वल प्रसाईं / काठमाडौं चैत २५-

पेन्टिङः लियोनिद आफ्टरमुभ
 हालसालैको घटना हो। एउटा सपिङ सेन्टरको बाटो भएर पैदल हिँड्दै थिएँ। भर्खरै खरिद गरेका थुप्रै सामान सम्हाल्न खोज्दै एउटा जोडी सडकपेटीतिर आउँदै गरेको देखें। सम्भवतः उनीहरूकी सानी छोरी, ऊ पनि बाबुको झोला झुण्ड्याएकै हातमा समाएर सँगै हिँड्दै थिइ। चिटिक्क लुगा लगाइदिएर हिँडाएका साना नानीहरू हेरौं हेरौं लाग्ने हुन्छन्। म छोरीलाई हेरेर हाँसे। उसले मलाई चिन्न खोजेजस्तो गरेर हेरी। बाहिर सडकनेर आइपुगेपछि, बाबुको हात छोडेर छोरी फुत्किन खोजी। आमा आतिएर कराउन थालिन्, ‘समृद्धि, कहाँ कुदेको? बाबाको हात नछोड त।’ सम्भवतः उनीहरू कतै पार्क गरेको आफ्नो मोटरतर्फ जान खोज्दै थिए।


घटना यति नै हो, जुन कुनै सम्झन लायक थिएन। वा यसो भनौं, त्यहाँ केही भएकै थिएन, जसलाई घटना शब्दले इङ्गित गर्नु परोस्। यो सहर हो, यहाँ सपिङ सेन्टरहरू हुन्छन्, त्यस्ता सुखी परिवार खरिद गरिएका सामान बोकेर ती सेन्टरहरूबाट बाहिर निस्कन्छन्, केटाकेटीलाई राम्ररी सिँगारेका हुन्छन्, अनि पानीपुरीका स्टल देखेपछि बाबुका हात छोडेर फुत्किन खोज्छन् छोराछोरीहरू। यो भन्दा बढी सामान्य कुनै दृश्य हुन्छ र सहरमा? कसैले छोराको नाम समृद्ध राख्न सक्छ, छोरीलाई समृद्धि भनेर बोलाउन सक्छ। केही वर्षअघिसम्म विकास नाम गरेका थुप्रै छोराहरू जन्मे, हाम्रा गाउँ–सहरमा। यी सबै अति स्वाभाविक उपक्रम हुन्, कुनै घटना हैनन्।

Sunday, May 13, 2018

'निर्भयी भएकैले लंकेश हिन्दुत्ववादको सिकार भइन्'

भारतको बेङ्लुरुमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानेर हत्या गरिएको छ। केही अपरिचितले घरमा प्रवेश गरी उनको गोली हानी हत्या गरेका हुन्। उनको छवि निर्भीक र स्पष्ट लेख्ने पत्रकारको थियो। उनी वामपन्थी विचारधाराबाट प्रभावित र हिन्दु अतिवादी विचारको कट्टर आलोचक पनि थिइन्।

उनको हत्याको विरोधका काठमाडौंमा पनि आज दिउँसो लेखक, साहित्यकार, पत्रकारहरुले विरोध प्रदर्शन गर्दैछन्। यही सन्दर्भमा विश्लेषक उज्ज्वल प्रसाईंसँग नेपाल लाइभका किशोर दहालले छोटो कुरा गरेका छन्:


सम्पादक गौरी लंकेश को हुन्? उनी किन निसानामा परिन् होला?

गौरी लंकेश हिन्दुत्ववादी र दक्षिणपन्थी भारतीय सत्ताको असहिष्णु राजनीतिको पछिल्लो सिकार हुन्। फरक मतप्रति असहिष्णु शक्ति र तिनलाई सघाउने उन्मादी समूहद्वारा दबाउन खोजिएको आवाज हुन् उनी। नरेन्द्र दभोल्कर, गोविन्द पन्सारे, एमएम कल्बुर्गी जस्तै भारतीय हिन्दुत्ववादको आँखामा कसिंगर बनेकी निहत्था लेखक हुन्। अबको उनको परिचय नै त्यही हो।

यसअघि मैले उनको खास केही पढेको थिइनँ। उनको हत्यापश्चात् उनीबारे गरिएका रिपोर्टिङबाट थाहा लाग्यो- उनी पछिल्लो समय कन्नड भाषामा पत्रकारिता गर्थिन्। आफैले सम्पादन गर्ने ‘गौरी लंकेश पत्रिके’ नामको ट्याब्लोइड मार्फत भुइँतहका जनताको आवाज बनेकी थिइन्। उनी मारिनुको एउटै कारण छ, उनी हिन्दुवादी राजनीति र राष्ट्रवादी संकीर्णताको विरोधी थिइन्। उनी निडर थिइन्, उनलाई चुप लगाउने सबभन्दा सजिलो उपाय उनको ज्यान लिनु थियो। उनी मारिइन्।

उनको हत्या मार्फत व्यक्त भएको भारतीय शासनको चरित्र के हो?
आजको भारत नवउदारवादी अर्थतन्त्र र मुस्लिमविरोधी राष्ट्रवादको मिश्रण भएको व्यवस्था हो। यस्तो व्यवस्था अमानवीय हुन्छ। यो व्यवस्थामा गरिबीको सबभन्दा ठूलो कारण स्वयं गरिबलाई तोकिन्छ। सिमान्तमा धकेलिएका निहत्था मानिसहरुको समूहलाई व्यवस्थाको कलंक मानिन्छ। त्यस्तो व्यवस्थाको अगुवाइ गरेकाहरुले ठहर गरेको यो सत्यलाई प्रश्न गर्ने जोकोही पनि व्यवस्थाको सिकार बन्न सक्छ। खासगरी तिनीहरु नै तारो बन्छन् जो निर्भयी छन् र जो अन्यायका विरुद्ध खुलेर बोल्ने हिम्मत गर्छन्। त्यस्ताहरु नै सबभन्दा पहिले व्यवस्थाका ठूला दुस्मन तोकिन्छन्, जो बद्नामी वा मृत्युको डरले पुच्छर लुकाएर भाग्दैनन्। र, त्यस्ताहरु मारिन्छन् जसले स्वतन्त्र ढंगले सोच्ने छुट लिन खोज्छन्।

हत्याको शृंखला नै चलेको छ। यसको सम्भावित असर के हुन सक्छ?
यसको सबभन्दा गहिरो असर भारतीय लोकतन्त्र कति कच्चा छ भनेर उजागर हुनेछ। ठूलो लोकतन्त्र भनेर गरिएको व्याख्यामा खोट छ भन्ने प्रमाणित हुनेछ। स्वतन्त्रतापूर्वक सोच्ने र निर्धक्क बोल्ने मानिसहरुको संख्यामा केही समयलाई ह्रास आउनेछ। यसरी दिनहुँ मारिएका स्वतन्त्र लेखक र पत्रकारहरु, दलित र आदिवासीहरुका लास गनेर निरीह बसेका मार्क्सवादी र वामपन्थी भनौंदा पार्टीहरुलाई आफ्नो अकर्मण्यता र अक्षमतामाथि सरम लाग्नेछ। आफ्ना साना स्वार्थ र जडसूत्रवादी संकीर्णताले अनुहार छोपेर ती एकपटक फेरि दुला पस्नेछन्। त्यसो नगरेर संगठित हुने प्रयत्न गरे र अहिलेका ज्वलन्त समस्याहरु माथि सान्दर्भिक चिन्तन गर्ने र त्यसै अनुसार आफ्नो राजनीति सोझ्याउने काम गरे भने त्यो उचित हुनेछ। स्वर दबेको उदारवादी कांग्रेस आई जस्तो शक्तिले विरोधमा उत्रेका लंकेशका सहयात्रीहरुका अघिल्तिर अर्थहीन दुई थोपा आँसु चुहाउनेछ।

नेपालमा यो घटनाको केही असर हुन्छ? वा हाम्रा लागि यो कति चिन्तित हुनुपर्ने विषय हो?
छिमेकी भएका नाताले र हाम्राबीच केही सांस्कृतिक समानता पनि भएका नाताले, त्यहाँका घटनाले हामी अप्रभावित रहन सक्दैनौं। जिन्गोइज्मको हदमा बढेको राष्ट्रवादी उन्माद अन्ततः यसरी नै हिंस्रक बन्छ भन्ने शिक्षा हामीले बेलैमा पाए, यताका राष्ट्रवादीलाई श्रेयस्कर हुनेछ। उनीहरुले त्यति क्रुर र हिंस्रक बन्नबाट आफूलाई जोगाउनेछन्। आफ्नो सामाजिक संरचनामा दोष खोज्न छोडेर फरक विचार राख्ने, फरक धर्म मान्ने, र फरक रङ भएका मानिसहरुप्रति गरिने विष वमनको चरित्र भारतीय होस् वा नेपाली, त्यहाँ समानताहरु छन् भनेर बुझ्न सकिन्छ। संसारको जुनसुकै कुनामा बस्ने न्यायको पक्षधरलाई यो चिन्ताको विषय हो। 

अब हामीले के गर्ने?
हामीले सचेततापूर्वक जातिवादी र राष्ट्रवादी उन्मादका असरहरुबारे बुझ्ने, अध्ययन गर्ने, र बेलैमा खुला बहस गर्ने। न्यायका लागि आवाज बुलन्द गर्ने। जहाँसुकै भएका किन नहुन्, अन्यायविरुद्ध बोल्ने र लेख्ने। यताका जिहादी चरित्रका राष्ट्रवादीलाई आफ्नो वर्चस्व कायम राख्न प्रदर्शन गरिने घातक अहंकारको परिणति बुझाउन कोसिस गर्ने। लोकतन्त्रका लागि त्यस्तो चरित्र कति अफापसिद्ध हुन्छ भनेर बताउने। आफ्नो बुद्धि खियाएर लेख्ने र बोल्ने मानिसहरुप्रति शासकहरुलाई संवेदनशील बनाउने प्रयत्न गर्ने।

भदौ २१, २०७४| प्रकाशित १९:५४

नेपाल लाइभमा प्रकाशित / http://www.nepallive.com/news-details/577/2017-09-06

'लेख्छु, बोल्छु, प्लेकार्ड बोक्छु'

उज्ज्वल प्रसाईं कुनै ठूलो नाम होइन। उनी अखबारमा लेख्छन्, अनुवाद गर्छन्, सार्वजनिक मञ्चहरूमा बोल्छन्, प्लेकार्ड लिएर सडकमा पुग्छन्। उनी मूलतः परिवर्तनलाई सघाउन  प्रयत्नरत लेखक हुन्, जो आफ्ना कुरा निर्भीकता, स्पष्टता र आत्मविश्वासका साथ राख्छन्। इतिहास, समाज र राजनीतिदेखि समग्र चिजहरूलाई प्रचलितभन्दा भिन्न 'अर्काे एंगल'बाट हेर्ने कोसिसमा सर्वदा रहने युवा लेखक प्रसाईंको भर्खरै अनुवाद कृति 'गणतन्त्रको संघर्ष' बजारमा आएको छ। अनलाइन म्यागजिन 'रेकर्ड नेपाल' का सम्पादक उनीसँग विनोदविक्रम केसीले बिलकुल अनौपचारिक संवाद गरेका छन्।

अवस्था त गम्भीरतम बन्यो नि ब्रो। तिमीलाई, युग पाठकलाई, राजेन्द्र महर्जन दाइलाई साथी भन्न पनि अब जोखिम मोल्नुपर्ने पो भो त?

अवस्था गम्भीर नै हो क्यारे। त्यस्तो जोखिम नउठाउने तर हामीलाई माया गर्नेले अब मनमनै माया गर्नुपर्ने भयो। सार्वजनिक स्नेह वा आदर व्यक्त गर्नेलाई पनि 'प्रोग्रेसिभ ब्रिगेड' भनेर बित्यास पार्ने छनक देखिन थालेको छ। तर, विडम्बना कस्तो छ भने हामीलाई लिएर अवस्था गम्भीर बनाइदिनेहरू यसै आत्तिएका जस्ता देखिन्छन्। आफ्ना कुरा भन्ने अधिकार सबैलाई छ। तर, भनिएका कुरा के हुन् भन्ने बुझ्नतिर कोही लाग्दैन। कहिले माओवादी भो भन्दिन्छन्, कहिले अराजक हुन् भन्दिन्छन्, अनि कहिले यी मुलुककै दुश्मन हुन् भन्न भ्याउँछन्। एकजना विद्वानले त देशनिकाला नै गर्नुपर्छ भनेछन्। कति डराएका, आफू डराएर हाम्रै साथीभाइलाई समेत हामीसँग डराउने बनाइदिए।

यहाँ बुझ्नुपर्ने के छ भने, त्यसरी हतारिएर वा डराएर लेबल लगाइदिनेले हाम्रा तर्क वा हाम्रा मतलाई यी लेबलभित्र छोपेर अवैध बनाइदिन खोजेका हुन्। हामीलाई स्नेह गर्ने साथीभाइले हामीले व्यक्त गरेका मतलाई त्यो 'डिलेजिटिमाइज' गर्ने दुष्प्रयासबाट जोगाएर बुझ्न सक्नुपर्छ।

आन्दोलन सकियो भन्नेहरु सुत्न पाउने छैनन् : उज्ज्वल प्रसाईंसँगको अन्तर्वार्ता

उज्ज्वल प्रसाईं साहित्य र समाजशास्त्रका अध्येता हुन् । पत्रकार र राजनीतिक टिप्पणीकारका रुपमा परिचित उनले अनुवाद पनि गरेका छन् । उनले गरेको प्रशान्त झाद्वारा लिखित ‘ब्याटल्स अफ द न्यू रिपब्लिक’को नेपाली अनुवाद ‘गणतन्त्रको सङ्घर्ष’ नाममा प्रकाशित छ भने अहिले मञ्जुश्री थापाको उपन्यास ‘अल अफ अस इन आवर ओन लाइभ्स्’को अनुवाद गर्दैछन् । अध्येता उज्ज्वल प्रसाईंसँग रातोपाटीका लागि नरेश ज्ञवालीले सामाजिक आन्दोलनमा अध्ययनको भूमिका विषयमा लामो कुराकानी गरेका छन्, त्यसको सम्पादित अंश ।
 
सामाजिक आन्दोलनलाई सजिलो शब्दमा कसरी व्याख्या गर्न सकिएला ?
समाजमा मौजुदा सामाजिक सम्बन्धहरु बदल्ने कुरा नै मूलतः सामाजिक आन्दोलन हो । जस्तैः मानिस जाति, वर्ग, लिङ्गहरुमा विभाजित छ र त्यसैले असमानताहरु छन् । यो असमान सम्बन्धलाई पुनरपरिभाषित गर्ने, विद्यमान सामाजिक सम्बन्धलाई मानवीय बनाउने काम सामाजिक आन्दोलनले गर्छ ।
जस्तैः महिला र पुरुषबीच जुन असमान सम्बन्ध छ, त्यसलाई समान र मानवीय बनाउन त्यसलाई पुनरपरिभाषित गर्नु जरुरी छ । यसरी पुनरपरिभाषित गर्ने काम सहज हुँदैन; त्यसका लागि सङ्घर्ष नै गर्नुपर्छ । यो यस्तो क्रियाकलाप, पहल, चिन्तन र सङ्घर्ष हो, जसले मानिसहरुबीच स्थापित सम्बन्धलाई मानवीय बनाउँछ, हिंसात्मक सम्बन्धको अन्त्य गर्छ ।

सपनाको जीवन्त क्यानभास

उज्ज्वल प्रसाईं / असार २४, २०७४-

तुहिएका सपनाहरू सजाउने कुनै संग्रहालय हुन्छ भने काठमान्डु आफैंमा त्यो संग्रहालय हो । त्यसो त हरेक सहरमा पूरा नभएका सपनाहरूका अग्ला मिनार ठडिएका हुन्छन् । अनेक सपना सजाएर यो सहर भित्रिने सयौं मानिसहरू आफ्नै सपनाको घाटमा कलाविहीन नृत्य नाचिरहन्छन् ।

किरेडाँडाबाट हिंडेर
म काठमाडौं आइपुगें कमरेड ।
अरू त तपसिलका कुरा
सुरुमा तिमीलाई नै हेर्नुछ मैले
साँच्चै,
कस्तो देखिन्छौ हँ तिमी यहाँ ?
–सङ्गीतश्रोता

प्रेम र ढोंगबीचको काँडेतार

उज्ज्वल प्रसाई / जेष्ठ २०, २०७४

रकमी भेडियाधसान छलेर एक छिन सुस्ताउन मुस्किल छ । जहाँ मोलमोलाइको हल्ला व्याप्त हुन्छ, त्यहाँ चुपचाप सुस्ताउन खोज्नु मनासिब मानिँदैन ।

त्यसमाथि मौसमी खैलाबैलाले वातावरण निसासलाग्दो भएको छ । पैसा र भोटको विनिमयले हल्लाखोरहरूको स्वर ऊँचो छ । पुरस्कार, पद, सम्मान, अभिनन्दन इत्यादिको हाटबजार यही बेला भरिने रहेछ । कारोबारीहरूका हातबाट सम्पन्न गरिने लेनदेनका यस्ता कर्मकाण्ड शान्त मनोदशामा सम्भव हुँदैन ।
सत्ता र शक्तिले मैमत्त राजधानीको अशान्त मनोदशा आजकल डिजिटाइज भएर जताततै फैलिन्छ । सहरका यथानाम चिच्याहटहरू बोकेर मान्छेका हात–हातमा सामाजिक सञ्जाल पुगेका छन् । आफूबाहेक संसारलाई इमानको महत्त्व बुझाउन व्यस्त भद्रलोक च्याँठिएर बोलिरहेका भेटिन्छन् त्यहाँ ।

उपभोगको स्वर्गमा आक्रोशको आगो

उज्ज्वल प्रसाईं / वैशाख १६, २०७४

के आक्रोशलाई पूर्णतया मानसिक वा शारीरिक कोणबाट बुझ्न सकिन्छ ? यो खास मानसिक संवेदना हो भने यसले अभिव्यक्त हुने बाटो खोज्छ । अभिव्यक्त हुन सकेन भने सम्भवत: यो मस्तिष्कमा थिग्रिएर बस्छ । के सयौं वर्षको समय ढुंगामा सेडिमेन्ट बनेर बसेझैं थुप्रिँदै जान्छन् आक्रोशका अवसादहरू ? वा मान्छेका दिमागभित्रै विस्फोट हुन्छ आक्रोश ?

मस्तिष्कमा सञ्चित आक्रोश समयसँगै बिलाउन पनि सक्छ । के त्यसरी बिलाएन भने आक्रोश खास मौकामा ज्वालामुखीजस्तो उम्लिएर सतहमा पोखिन्छ ? के आक्रोशका भिन्न रूप र चरित्र हुन्छन् ? व्यक्तिगत तहमा मात्रै अभिव्यक्त हुन्छ वा त्यसको सामूहिक प्रस्फुटन पनि हुन्छ ? आक्रोशको सामाजिक आयाम कस्तो हुन्छ ? सामुदायिक संस्कारमा लेप भएर बसिरहन्छ कि आक्रोश ?

चिहानमा गेरुवा झन्डा

उज्ज्वल प्रसाईं / चैत्र ५, २०७३-

जवाहरलाल नेहरू विश्वविद्यालयका एक छात्रले भर्खरै आत्महत्या गरे । छात्रवासको सिलिंग फ्यानमा आफूलाई झुन्ड्याउनुअघि उनले फेसबुकमा लेखेछन् : ‘जहाँ समानता स्विकारिँदैन, त्यहाँ केही पनि स्वीकार्य हुँदैन ।

ये दाग–दाग उजाला, ये शब गजीदा सहर
वो इन्तजार था जिसका, ये वो सहर तो नहीं
–फैज अहमद फैज

विश्वविद्यालय चिहान, स्वतन्त्र चिन्तक राष्ट्रघाती

एमफिल/पीएचडी भर्नामा समानता छैन, मौखिक परीक्षाहरूमा समानता रहेन, प्रोफेसर सुखदेव थोरटको सिफारिस स्विकारिएन, प्रशासन भवनमा हुँदै आएको विद्यार्थीको विरोध कार्यक्रममा बन्देज लगाइयो, सीमान्तकृतका लागि शिक्षा स्वीकार्य मानिएन ।’ पहिले रोहिथ भेमुलाले दलित विद्यार्थीमाथि भएको विभेद सहन नसकेर आत्महत्या गरे, अहिले मुथुक्रिस्नन् जीवानन्थम झुन्डिए । पहिले हैदरावाद केन्द्रीय विश्वविद्यालय, अहिले जवाहरलाल नेहरू विश्वविद्यालय ।

डुलुवा पत्रकारिताको उपलब्धि

उज्ज्वल प्रसाईं / माघ ९, २०७१-

पुस्तकालयमा बसेर गरिने अनुसन्धानलाई आर्मचेयर रिसर्च भनिन्छ । आराम कुर्सीमा ढल्केर पनि दुनियाँमा अनुसन्धान भएका छन् । त्यसरी गरिएका सैद्धान्तिक अनुसन्धानले महत्त्वपूर्ण निष्कर्ष निकालेका होलान्, कति नयाँ सिद्धान्तकै प्रतिपादन गरिएका होलान् । कुर्सीमा टाक्सिए पनि अनुसन्धानकर्मीलाई स्वैरकल्पनामा उडेर काल्पनिक कथा कथुर्ने छुट हुँदैन । काल्पनिकी अवश्य बलियो चाहिन्छ तर त्यसका जरा जमिनमै हुनुपर्छ । फिल्ड मा पुगेर, विषयका अनेकन् आयामलाई प्रत्यक्ष अनुभूत गरेर निकालिएका निष्कर्षहरू भने बढी विश्वसनीय हुन्छन् । प्राज्ञिक अनुसन्धान मात्रै होइन पत्रकारितामा पनि यी दुवै तरिका अपनाउन सकिन्छ । दुनियाँमा धेरैले कुर्सीबाट विरलै उठेर पत्रकारिता गरेका छन् । रोभिंग एडिटर भनिने एकथरी जहिल्यै डुलिहिँड्छन्, पत्रिकाको कार्यालयमा नआएरै अखबारमा सदैव नयाँ खबर र विश्लेषण लेख्छन् । यहाँ समीक्षा गरिएको पुस्तकका लेखक जनकराज सापकोटा कुर्सीमा कम, फिल्डमा बढी भेटिने पत्रकार हुन् ।

'महाएलिट'को आत्मश्लाघा

उज्ज्वल प्रसाईं / भाद्र १३ -

रुकमाङ्गद कटवाल व्यवसायीक भनिएको नेपाली सेनाको त्यस्ता प्रधान सेनापति थिए जो खुलेर राजनीति गर्थे । उनले सेवामा रहुन्जेल अत्यन्त चातुर्र्याईंपुर्वक तर देखिने गरि राजनीति गरे । सेवा निवृत्त भएपछि पनि राजनीति गर्ने उनको लालसा कम भएको छैन । भर्खरै प्रकाशित आत्मकथा उनको राजनीतिक स्टन्ट नै हो । कारण, यस पुस्तकको ठूलो राजनीतिक अभिष्ट छ । परिवर्तीत समयमा काठमाडौंका एलीटहरुको नायक बन्ने उनको अभिष्ट किताबमा छर्लंग छ । कुलीनहरु जो पछिल्ला राजनीतिक परिवर्तनले स्थापीत गर्न खोजिरहेका एजेण्डाहरु प्रति असन्तुष्ट छन्, तीनले कटवालको आत्मकथालाई आफ्नो मेनिफेष्टो सम्झे भने उनको यो अभिष्ट पूरा हुनेछ । आफ्नो अभिष्ट पूरा गर्न उनले हरसम्भव प्रयास गरेका छन् ।

जताततै नक्सलबारी

उज्ज्वल प्रसाईं  / फाल्गुन २३ -

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ । यस्तो सवालको जवाफ खोज्नु सिजोप|mेनियाबाट ग्रस्त हुने खतरा मोल्नु हो । जब मान्छे अक्कडा प्रश्नहरूको भारिले थिचिन थाल्छ, सायद त्यसै बखत ऊ सिजोप|mेनिक बन्न थाल्छ । तर, आफू बाँचेको सिंगो समय नै जब सिजोपे|mनिक बनिदिन्छ, नचाहेरै हामी त्यसको सिकार हुन थाल्छौँ । सायद विद्यमान समय जहाँ म बाँचेको छु, त्यो नै उस्तो हो । समयले मलाई सपनाको गन्ध सुँघ्न बाध्य तुल्याएको छ । 

मुक्ति र दासताबीचको यात्रा

उज्ज्वल प्रसाईं / पुस २६ -

उपनिवेशवाद भनेको दासता हो । ठीक । तर, त्यति मात्रै होइन । यसका अनेकन् आयाम छन् । ती सबै छिचोल्न गहिरो अध्ययन चाहिन्छ । फ्रान्ज फ्यानन् र एड्वर्ड सइद, रणजित गुहा र होमी के भाभा । यी नामहरू उच्चारण गरेर सैद्धान्तिक गफ धेरै गर्न सकिन्छ । हाबि्रडाइजेसन, क्रियोलाइजेसन । अनेक जार्गनहरूले गफ सिँगार्न पनि सकिन्छ । तर, उपनिवेशिताका पत्रहरू उक्काएर हेर्नु, हरेक पत्र घमासान पहेली हुन्छ । इतिहास सजिलै बुझिँदैन ।

दुई वर्षअघि 'द स्लाई कम्पनी अफ पिपल हु केयर' पढेँ । उपनिवेशवाद बुझ्नै भनेर राहुल भट्टाचार्यको सो उपन्यास पढेको थिइनँ । बजारमा नयाँ आएको फिक्सन पढेर आनन्दित हुन चाहन्थेँ, बस् । तर पढिसकेपछि भने आनन्दित कम, व्यग्र बढी भएँ । उपन्यासबाट गयाना भन्ने मुलुकका बारे थोरबहुत थाहा पाएँ । अंग्रेजको उपनिवेश बनेको त्यहाँ तिनका हर्कतका केही नयाँ पाटाहरू खुले । अंग्रेजी शब्दहरू मिसिएको पिड्गिन भन्ने छुट्टै भाषाको स्वाद पाएँ । त्यसैले, गयानाको इतिहास बुझ्ने हुटहुटी बढ्यो ।

देशप्रेमको आह्वान

उज्ज्वल प्रसाईं / काठमाडौ, मंसिर २१ -

पारस प्रकाश नेपाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा परिचित नाम हो । पत्रकारिता र पुस्तक सम्पादनमा लामो समय लगानी गरेका पारसले कुनै दिन आफ्नै सिर्जना लिएर नेपाली पाठकमाझ आउँछन् भन्ने अपेक्षा थियो । सो अपेक्षा उनले पूरा गरेका छन् तर अलि अनौठो पाराले । भाषा सम्पादनबारे वा साहित्यकै कुनै विधाको पुस्तक लिएर आएका भए अनौठो हुने थिएन । उनी त गायक बनेर पेस भए । आफैंले रचेको गीतमा स्वर दिएर उनले गाए 'नालापानी कालापानी' । पारसको स्वरमा उनकै गीत सुन्न पाउनु मेरा लागि सुखद आश्चर्य हो ।
उनको एक थान जागरण गीत रेकर्ड भएर एल्बमका रूपमा बजारमा आएको समाचार छापामा पढ्दा कतै पारसले बित्थामा गाउने रहर त गरेनन् भन्ने लागेको थियो । धेरैले कनेर गायक बन्न खोजेको थाहा पाइएको छ । संगीतको आधारभूत ज्ञान नभएकाले भुत्ते स्वर बजाएर जबर्जस्ती बनाएका गीतको बाढी छ बजारमा । त्यही बाढीको एक छाल बन्ने उपक्रम दोहोर्याका पो हुन् कि हाम्रा सम्पादकले भन्ने ठूलो डर थियो मलाई । तर, गीत सुनेपछि भने म ढुक्क भएँ । उनले बडो स्वाभाविक ढंगले गाएका छन् गीत । कतै पनि सिकारुको जबर्जस्तीजस्तो लाग्दैन । जुगल डंगोलले बनाएको मेलोडीमा उनको स्वर गजबले सुहाएको छ ।

व्यवस्थाका चोट सुम्सुम्याउँदै

उज्ज्वल प्रसाईं      / फाल्गुन ४ -

केही दिनअघि नरेन्द्र मोदीले दिल्ली विश्वविद्यालयका विद्यार्थीहरूका अघिल्तिर उभिएर विकासको मन्त्र जपे । विकास भन्ने शब्दको पूर्णतया मोदीमय व्याख्या दिए । उनका परिभाषामा छुटेका थिए, भारतका करोडौं गरिबहरू । तिनै छुटेका मान्छेप्रतिको सद्भाव लिएर जेएनयुका सहपाठीहरू मोदीका विरुद्ध प्रदर्शन गर्न दिल्लीका सडकमा पुगे । उता मेरा साथीहरू भुइँमान्छेका आवाज बोलिदिन हिँड्दै गर्दा म उदय प्रकाशले लेखेका लघु उपन्यासको संग्रह 'वाल्स अफ दिल्ली' पढ्न थालेको थिएा । तीन लघु उपन्यासहरू 'वाल्स अफ दिल्ली', 'मोहनदास' र 'मंगोसिल'का अंग्रेजी अनुवादको यो संग्रहमा पनि तिनै मोदीको विकासवादमा नपरेका मान्छेहरू थिए । सिकागो विश्वविद्यालयमा हिन्दी भाषा साहित्य अध्यापन गर्ने ज्यासन ग्रुनेबाउमले यी तीन लघु उपन्यासहरूको अंग्रेजी अनुवाद गरेका हुन् ।

व्यक्ति : सिक्किमको नयाँ लेखक

उज्ज्वल प्रसाईं      /   मंसिर १५ -

योजनाका ठोस बुँदाहरू पछ्याउँदै हिँड्दैन जिन्दगी । जिन्दगीका योजनाहरूको त्यस्तो फाइल पनि हम्मेसी राखिँदैन जसलाई घरी घरी पल्टाएर हेरिरहुँ । प्रज्वल पराजुलीको जिन्दगीले पनि अनिश्चित र बांगोटिंगो बाटो समाएर हिँड्नुपर्ने नियति भोग्यो । सोझो रेखामा खुरुखुरु हिँड्थ्यो भने यी पराजुली ठिटाकोे कथा लेख्ने जाँगर सायद हुँदैन थियो । भारतमा चलेका सबैजसो ठूला पत्रिकाले उनका फोटो टाँस्ने र उनले बोलेका शब्दलाई छाप्ने लेठो सायदै गर्थे । तर आज भने यी सिक्किमेली ठिटालाई भ्याइनभ्याइ छ । कति पत्रकारलाई अन्तरवार्ता दिन भ्याउँदिन भन्नुपर्दा उनी चुकचुकाउँदैछन् । उनैलाई सुन्न कार्यक्रम आयोजना गर्छु भन्ने शुभेच्छुकहरूलाई समय छैन भन्नुपर्दा खल्लो महसुस गरिरहेका छन् । पराजुली भर्खरै प्रकाशित कथासंग्रह 'गुर्खाज डटर'का लेखक हुन् । लन्डनमा कोर्कसले र भारतमा पेन्गुइनले सो संग्रहको प्रकाशन गरेका हुन् ।

पुस्तक लोकार्पण गर्न दिल्ली आएका पराजुलीलाई भेट्न मित्र दिनेश काफ्ले र म सिक्किम हाउस पुग्दा पनि उनी फोनमा व्यस्त थिए । मीठो सिक्किमे लवजमा उनले हामीसँग भने, 'मलाई नो भन्न कस्तो अप्ठ्यारो लाग्छ कि, तर टाइम मिलाउनु पनि त सक्दिन हो !' फरासिलो स्वभावका पराजुलीले शुद्ध नेपाली भाषामा बोल्ने ठूलो यत्न गर्दै हामीसँग लगभग डेढ घन्टा बिताए । अस्ति अक्टोबर २४ मा २८ वर्ष पुगेका उनले सिक्किमदेखि लन्डनसम्मका घटनापूर्ण यात्राको कथा हाले । अलिकति लेग्रो मिसिएको सिक्किमेली भाका र बीच बीचमा घुस्ने अंग्रेजी वाक्यहरूमा सुनिने खास्सा बि्रटिस लवजमा भनिएको उनका कथा सिक्किम हाउसको प्रख्यात प|mाइड मोमोभन्दा मीठो थियो ।   

अनौठा तन्नेरीका अमूर्त कथा

उज्ज्वल प्रसाईं   / कार्तिक ३ -

बाबु ओसेप चाको असफल लेखक हो, अहिले मध्यम स्तरको स्थानीय पत्रिकामा कार्यरत छ । हाम्रा कवि भूपी शेरचनको शब्दमा भन्ने हो भने हरेक दिन ओसेपको घाम रक्सीको गिलासमा अस्ताउँछ । आमा मारिआम्माले अर्थशास्त्र पढेकी छ तर बेरोजगार, घरधन्दामा व्यस्त । उसका हर्कत कुनै अर्धपागलको भन्दा कम छैन । आफ्नो रक्स्याहा श्रीमान् मरेको कल्पनामा उसको जिन्दगीको ठूलै हिस्सा बितेको छ । सानो छोरो थोमा हरबखत डराएको छ र उमेरले आफूभन्दा जेठी केटीलाई मन पराउँछ ।

ठूलो छोरो हो उन्नी । ऊ सत्य भनेको मान्छेले आ-आफूमा भाग लगाएको भ्रम मात्र हो भन्नेमा विश्वास गथ्र्याे, कमिक बनाउँथ्यो । उसले आजभन्दा तीन वर्षअघि, १७ वर्षको उमेरमा, आफू बस्ने अग्लो घरको बरन्डाबाट भुइँमा हामफालेर आत्महत्या गर्यो । अहिले आएर उसले बनाएको अन्तिम तर अपूरो कमिक फेला परेको छ । त्यसमा आत्महत्याको कारण हुन सक्ने अनुमानका आधारमा बाबु ओसेप उन्नीका सबै साथीहरूसँग भेट्ने र लामो कुराकानी गर्ने ध्याउन्नमा लागेको छ । ओसेपले छोराको आत्महत्याको रहस्य उधिन्न गरेेको यात्रा नै मुख्य कथा हो उपन्यास 'द इलिसिट ह्यापिनेस अफ अदर पिपल'को ।

जेएनयुको भित्तो

उज्ज्वल प्रसाईं    / काठमाडौ, भाद्र १५ -

अर्को भित्तामा टाँसिएको पुस्तकको पोस्टरमा मेरा आँखा धेरै बेरसम्म अडिए ।

लेखकको नाम पढें- समी अहमद खान । अर्थात् उही समी जो 'रेड जिहाद'को लेखक हो । जेएनयुको होस्टलमा मेरो पार्टनर यही लेखक हुनेछ ।

भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय -जेएनयु) घुम्न आउने पाहुना सायद सबभन्दा बढी यहाँका रंगीन भित्ताहरूतर्फ आकषिर्त हुन्छन् । अनेक किसिमका नारा र कविता लेखिएका पेन्टिङ र पम्पलेट पढ्दै हिँड्दा नवागुन्तकलाई रमाइलै हुन्छ । यस्तो लाग्छ मानौं विद्यार्थीहरू नोटबुकमा भन्दा भित्तामा बढी लेख्छन् । यहाँ के भइरहेको छ भन्ने जान्न पनि भित्तामा जताततै टाँसिएका सूचनांकित सेता पोस्टर हेरे पुग्छ । यी भित्ताहरूमा सिंगो विश्वविद्यालयको जीवन्तता छचल्केको हुन्छ । कुनै एक  बिहान यी सबै भित्ता सपाट बने भने, त्यो जेएनयु, जेएनयु रहँदैन । लगभग सबै विद्यार्थीको दैनिकीको एउटा अंश भित्ता हेर्नमा बित्छ अर्थात् यो यहाँका विद्यार्थी जीवनको अभिन्न अंग बनिसकेको छ ।

भ्रम र तनावको क्याराभान

उज्ज्वल प्रसाईं   /   काठमाडौ, असार ८ -

सीमित स्रोतहरू छन्, अवसरहरू कतै देखा पर्दैनन् । आकांक्षा भने चुलिँदै जान्छन् । आर्थिक समृद्धि र भौतिक सुख सुविधाप्रतिका आसक्ति बढ्दै जान्छन् । आफ्ना उपलब्धिहरू र यथास्थिति महत्त्वाकांक्षाहरू अघिल्तिर पुड्का देखिन्छन् । निम्न मध्यम वर्गका सामान्य युवाको नियति यही नै हो सायद ।

यी जटिलताहरूबाट म पनि अछुतो छैन । यी सबलाई अलग्ग राखेर कुनै क्रान्ति गर्न अहिलेसम्म तम्सिएको पनि छैन । बरु बेलाकुबेला तिनैले पैदा गर्ने अनेक खुद्रा उल्झनहरूमाझ कैद भएर दिनौं बिताएको छु । कैयौंपटक निसासलाग्दो अकर्मण्यताको सिकार पनि भएको छु । यस्ता बेलामा अरूलाई केले त्राण दिन्छ मैले उति हेक्का राख्न भ्याएको छैन, मलाई भने लेखनमा बसेको अलिकति चाख र पत्रकारिताप्रतिको थोरै लगावले त्यो निसास बढ्न दिँदैन । नत्र कतिपटक डीभी भरिसकेको हुन्थें वा विद्यार्थी भिसाको बाटो गरी अमेरिका, अस्ट्रेलिया, वा क्यानडातिर लहसिइसकेको हुने थिएँ । तर जब जब यस्ता विचार मनमा खेल्न आइपुग्थे, असल पत्रकार र जिम्मेवार लेखक बन्ने सपनाका सिरानी लगाएर ती हलक्क बढी जाने आकांक्षाहरूलाई लठ्ठ सुताइदिन्थें । यसको गर्न मिल्ने केही स्पष्ट आधारहरू थिए, जस्तो देशमा राजनीतिक परिवर्तन द्रुततर गतिमा भइरहेको थियो, संविधानसभाको निर्वाचन भएर समावेशी चरित्रको आशालाग्दो संविधानसभा गठन भएको थियो । स्वतन्त्रता र सामाजिक न्यायका सुगन्धित फूलहरू फुलाएर नयाँ नेपालको स्वागत गर्ने दिन नजिकै देखापरेको भान थियो । संविधानसभा विघटित भयो, त्यो नजिकै देखिएको सुनौलो दिन मिराज भइदियो ।

बनारस, वाराणसी र काशी

देवेन्द्र भट्टराई, उज्ज्वल प्रसाईं    /    कार्तिक १८ -

बीपी कोइरालाको 'आफ्नो कथा' र 'आत्मवृत्तान्त'बाट जानिएको बनारस । ताना शर्मा र बालकृष्ण पोख्रेलहरूका झर्रोवादको किल्ला भनी सुनिएको बनारस । कमरेड पुष्पलालहरूका जनवादी सूर्यको झुल्के उदाएको बनारस । बीएचयू अर्थात् बनारस हिन्दु विश्वविद्यालयमा संस्कृत पढ्दै गरेका साथीहरूले सुनाउने काशीगाथा । घरका ढोकामा बेलाकुबेला झुल्किने गेरुवस्त्रधारी साधुहरूका संस्कृत उच्चारणमा सुन्दै आएको वाराणसी । र, भारतीय उपन्यासकार पंकज मिश्राले आफ्नो उपन्यास 'रोमान्टिक्स'मा वर्णन गरेको बनारस । यी सबै कहावत र लिखतहरूले बनाएको कोलाज चित्र मस्तिष्कमा बोकेर काशी पुग्नु एउटा विचित्र अनुभव सँगाल्नु रहेछ ।
मिश्राको उपन्यासको मुख्य पात्रले बनारसबारे यसो भनेको छ, 'हिन्दुहरूले पुनर्जन्मको अटुट चक्रबाट मुक्ति पाएर स्वर्गमा आराम गर्ने मनसुवा राखेर सदियौंदेखि धाउँदै आएको यो तीर्थस्थल आजकल व्यापारिक कोलाहलले गुन्जायमान रहने सहरमा परिणत भएको छ ।' यद्यपि भारतीय नवउदारवादी आर्थिक नीतिबाट निःसृत नाफामुखी हल्ला र बाटाका छेउछाउमा पाक्ने बिरयानी सुगन्धका बीच पनि यो पुरानो तीर्थस्थल आफ्ना सबै मौलिक बान्कीहरू सजाएर अहिले पनि उत्तिकै भाइब्रेन्ट छ । साँघुरा गल्ली, पुराना घर र मोहल्ला, साँढेको ताँती, पान, चिया र मिठाई पाइने असंख्य कुनाहरू । सेता, पहेंला र राता धोतीकुर्तामा बेरिएर हिँड्ने पण्डा, पण्डित, पुरेत र धर्मगुरुहरू । यी सबैको निर्बाध यात्रा अहिले पनि उसरी नै जारी छ, जसरी हामीले वषौं पहिलेदेखि जनश्रुतिझैं सुन्दै आएका छौं ।

चटपटेवालको बोदीबट्टा

उज्ज्वल प्रसाईं   /     काठमाडौ, आश्विन ६ -
'काँकड्भिट्टा ः मेड इन जापान' यो शीर्षकमा खगेन्द्र संग्रौलाले निबन्ध लेखेका छन् । उनको कलमले सिंगो काँकड्भिट्टालाई धूलोपीठो बनाएको छ । निबन्धको सार यत्ति हो ः 'काँकड्भिट्टा पत्रु सहर हो । त्यहाँका पसलहरूमा बेचिने मेड इन जापानको स्टिकर टाँसेका नक्कली सामानहरूमा सम्पूर्ण सहरको चरित्र चित्रित छ । भेषभूषा र भाषा पनि त्यस्तै नक्कली छन् । मान्छेहरूमाझ बन्ने सम्बन्धहरूसमेत नक्कली सामानजस्तै निर्बलिया छन् काँकड्भिट्टामा ।'

झापा जिल्लामा पर्ने नेपालको यो पूर्वीद्वारको त्यही धूलोपीठोमा लडीबुडी खेल्दै मैले अक्षरहरू चिनेँ, कलम चलाउन सिकेँ । तिनै निर्बलिया सम्बन्धहरूले मलाई आजसम्म उतै तानिइरहन्छन् । संग्रौलाको सो निबन्ध छापामा आएका बेला साहित्यमा मेरो भर्खरै रुचि बढ्न थालेको थियो । त्यसैले उनका तर्कहरूप्रति उत्ति ठूलो समर्थन वा विरोध केही थिएन उसबेला । तर, अहिले आएर गम्दा संग्रौलाका केही तर्कहरूसँग सहमत भए पनि काँकड्भिट्टावासी हुनुका नाताले मेरा असहमतिहरू पनि छन् ।

ल्हासा डायरी

उज्ज्वल प्रसाईं  /     काठमाडौ, भाद्र २३ -

तिमीले लु सुन पढेकी छौ ?' भर्खरै सुरु भएको कुराकानीलाई बलजफ्ती आफ्नैखाले बनाउन साहित्यतिर मोड्छु । ऊ नजिकै आइपुगेको नोर्बुलिंगका दरबार अघिल्तिर फुलेका फूलहरूलाई एकटक नियालिरहेकी छ । मेरो प्रश्न नबुझेको भाव अनुहारमा पोतेर ऊ सोध्छे, 'को भन्यौ ?' म फेरि दोहोर्याउँछु, 'तिमीहरूका एकजना घगडान क्लासिक लेखक छन् नी लु सुन, तिनका कथाहरू कत्तिको पढेकी छौ ?' हाँस्दै ऊ मैले लु सुनको गलत उच्चारण गरेको प्रस्ट्याउँछे र चाइनिज पाराले उच्चारण गर्छे । माने हल्लाउँदै मन्त्रोच्चारण गरिरहेका लामाहरूको गुनगुनका बीचबाट उसले 'ल्हु जुन' भनेको जस्तो सुन्छु ।

लु सुनका कथा नेपालीमा अनुवाद गर्ने खगेन्द्र संग्रौलाले जसरी उनको नाम लेखेका थिए, त्यसरी नै उच्चारण गरेको हुँ । अब उच्चारण सुधार्ने पक्षमा छैन म । दरबारको प्रांगणमा प्रवेश गरिसकेका छौं, मान्छेको भीड र हल्ला बढी नै छ । त्यसैले अलि ठूलो स्वरमा उसलाई भन्छु, 'तिमेरले जेसुकै भने पनि 'अ म्याड म्यान्स डायरी' लेख्ने ती बूढा हाम्रा लागि लु सुन नै हुन् ।' मैले यसो भन्दा ऊ बेपत्ता हाँस्छे । हामी नोर्बुलिंगका अर्थात् दलाई लामाको समर प्यालेसभित्र पस्छौं । उसको ठूलो हाँसो हलुका मुस्कानमा खुम्चिँदै बिस्तारै विलीन हुन्छ ।

सिद्धान्तका सजिला अप्ठ्यारा

उज्ज्वल प्रसाईं /  काठमाडौ, श्रावण १३ -

अंग्रेजी साहित्य तथा सांस्कृतिक सिद्धान्तका प्राध्यापक सञ्जीव उप्रेतीको पछिल्लो कृति 'सिद्धान्तका कुरा'को विमोचन कार्यक्रममा गुरुकुलको रिमाल नाटकघर त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभाग सम्बद्ध विद्यार्थी र प्राध्यापकहरूले खचाखच भरिएको थियो । अन्य विश्वविद्यालयमा पढ्ने अंग्रेजी साहित्यका विद्यार्थीको पनि राम्रै उपस्थिति थियो । यसले के संकेत गर्छ भने यो पुस्तक अंग्रेजी विभागमा अध्ययन-अध्यापन गर्नेले नै सबभन्दा बढी पढ्नेछन् । यो पंक्तिकार चाहन्छ, तिनीहरूले यो पुस्तक दोहोर्याएर पढुन् । कारण, अधिकांश विद्यार्थी र प्राध्यापकहरूका दैनिकीको ठूलै अंश यी सिद्धान्तका पहेलीमा जेलिएर बित्ने गर्छ । तर,  सिद्धान्तको पढाइले उनीहरूको दृष्टिकोण स्पष्ट बनाउनुको सट्टा मानव जीवन र दुनियाँलाई बुझ्ने कर्म अझ अस्पष्ट र समस्याग्रस्त बनाइदिन्छ । परिणामस्वरूप उनीहरूका मस्तिष्क जार्गनहरूको गुदीहीन हाडे ओखरहरूले अतिक्रमित हुन्छन् । त्यसैले गहिरो बुझाइ र गतिलो विश्लेषणको ठाउँ छिपछिपे र सतही सिद्धान्तका गफले लिन्छ । रमरम बौद्धिकता छाँट्न यत्तिको विश्वविद्यालयीय ज्ञान काफी हुन्छ तर सो अवस्थाभन्दा एक कदम अगाडि बढ्ने हो भने उप्रेतीको पछिल्लो पुस्तक पढ्न जरुरी छ ।

सिद्धान्तको हाडे ओखर

उज्ज्वल प्रसाईं /  काठमाडौ, असार १७ -

प्रजातन्त्रमा भोट हिँड्यो, जनता छुटे । समाजवादमा सिद्धान्त हिँड्यो, मान्छे छुटे,' एक असल राजनीतिकर्मीले अनौपचारिक गफगाफमा यो पंक्तिकारसित भनेका थिए । यो कथनमाथि प्रशस्त बहस हुनसक्छ । तथापि हिँड्नु र छुट्नुको विरोधाभास जीवन्त यथार्थ भने हो । यो छुटने मामलो शतप्रतिशत सही प्रतीत हुने ठाउँ र घटनाहरू धेरै छन् । तिनीहरूमध्ये त्रिभुवन विश्वविद्यालयमा सधैँ चर्चामा रहने र आफ्नो बेग्लै इतिहास बनाइसकेकोे अंग्रेजी विभागमा हिँड्ने र छुट्ने कथा आफ्नै खालको छ । उसो भए त्यहाँ के हिँड्यो र के छुट्यो त ? यो प्रश्नले परीक्षणको माग गर्छ र यो आलेखमा अंग्रेजी विभागमा महत्त्वका साथ पढाइने थ्योरी अर्थात् सिद्धान्तको व्यावहारिक पाटोको परीक्षण गर्ने प्रयत्न गरिनेछ ।  

"मोफसलमा लेखक हुन गाह्रो"

उज्ज्वल प्रसाई-
फाल्गुन ३०, २०६७
झापा — सन् १९७६ मा उनले उत्तर बंगाल विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमए उत्तीर्ण गर्दा अहिले उनले एमएमा पढाउँदै गरेका अधिकांश विद्यार्थी जन्मिएकै थिएनन्।

मधुकर सुवेदीका जीवनका ३४ वर्ष अंग्रेजी साहित्य पढाएरै बितेको छ । तीन दशक चक र डस्टरसँग बितेपछि मात्रै सुवेदीले आफैं अंग्रेजी भाषामा केही लेख्ने सुर कसे । यसो केही लेखिहेरूँ न त भनेर सुरु गर्दा स-सानो उपन्यास तयार भयो । तर लेख्नुभन्दा अप्ठ््यारो किताब छपाएर पाठकहरूसमक्ष पुर्‍याउनु रहेछ भन्ने कुरो उनलाई तब मात्रै ज्ञात भयो, जब उक्त पान्डुलिपि धेरै दिनसम्म टेबलमै थन्किइरह्यो ।

'मैले भुँडीपुराण प्रकाशनका एक जना साथीको बाल उपन्यास अंग्रेजीमा अनुवाद गरेको थिएँ, त्यसै बेला उहाँले पाण्डुलिपि लिएर जानुभएको थियो,' सुवेदीले सुनाए, 'धेरै पछि छापेर पठाइदिनुभएछ ।'