Sunday, May 13, 2018

ल्हासा डायरी

उज्ज्वल प्रसाईं  /     काठमाडौ, भाद्र २३ -

तिमीले लु सुन पढेकी छौ ?' भर्खरै सुरु भएको कुराकानीलाई बलजफ्ती आफ्नैखाले बनाउन साहित्यतिर मोड्छु । ऊ नजिकै आइपुगेको नोर्बुलिंगका दरबार अघिल्तिर फुलेका फूलहरूलाई एकटक नियालिरहेकी छ । मेरो प्रश्न नबुझेको भाव अनुहारमा पोतेर ऊ सोध्छे, 'को भन्यौ ?' म फेरि दोहोर्याउँछु, 'तिमीहरूका एकजना घगडान क्लासिक लेखक छन् नी लु सुन, तिनका कथाहरू कत्तिको पढेकी छौ ?' हाँस्दै ऊ मैले लु सुनको गलत उच्चारण गरेको प्रस्ट्याउँछे र चाइनिज पाराले उच्चारण गर्छे । माने हल्लाउँदै मन्त्रोच्चारण गरिरहेका लामाहरूको गुनगुनका बीचबाट उसले 'ल्हु जुन' भनेको जस्तो सुन्छु ।

लु सुनका कथा नेपालीमा अनुवाद गर्ने खगेन्द्र संग्रौलाले जसरी उनको नाम लेखेका थिए, त्यसरी नै उच्चारण गरेको हुँ । अब उच्चारण सुधार्ने पक्षमा छैन म । दरबारको प्रांगणमा प्रवेश गरिसकेका छौं, मान्छेको भीड र हल्ला बढी नै छ । त्यसैले अलि ठूलो स्वरमा उसलाई भन्छु, 'तिमेरले जेसुकै भने पनि 'अ म्याड म्यान्स डायरी' लेख्ने ती बूढा हाम्रा लागि लु सुन नै हुन् ।' मैले यसो भन्दा ऊ बेपत्ता हाँस्छे । हामी नोर्बुलिंगका अर्थात् दलाई लामाको समर प्यालेसभित्र पस्छौं । उसको ठूलो हाँसो हलुका मुस्कानमा खुम्चिँदै बिस्तारै विलीन हुन्छ ।

जुली राम्री छे । ल्हासाको पाँच दिन बसाइमा देखिएका तिब्बती र चाइनिज केटीहरूमध्येकी राम्री । साना आँखा -चाइनिजहरूकै लागि त उसका आँखा औसतभन्दा ठूला होलान्) गोलाकार अनुहारमा मजैले सुहाएको थेप्चो नाक र हाँस्दा देखिने अघिल्तिरका दुई दाँत, जो नाक र आँखाका तुलनामा लामा र ठूला छन् । तर नसुहाएका भने छैनन् । जुलीको चाइनिज नाम अर्कै छ जो म राम्रोसँग उच्चारण गर्न जान्दिनँ । त्यसैले मेरो सजिलोका लागि एउटा अंग्रेजी फिल्मकी पात्रको नाम टिपेर ऊ भन्छे, 'मलाई अबदेखि जुली भन ।' त्यसपश्चात् ऊ जुली बोलाइन्छे हाम्रो यात्रा अवधिभर ।

अँ, लु सुनबारे ऊ यति नै भन्छे, 'बूढाका कथाहरू इनसाइटफुल छन्, मैले सानैमा पढेकी ।' सबैले थोरबहुत सुनेका यी क्लासिक लेखकका बारे एउटा साधारण धारणा राखेर ऊ उम्किन खोजेको प्रतीत हुन्छ । व्यापारमा क्रान्तिकारी छलाङ मारेको म्यानल्यान्ड चीनकी यो खास्सा नागरिकलाई साहित्यमा उति रुचि रहेनछ भन्ने अनुमान लगाउँछु । मेरो अनुमानसँगसँगै यत्ति फरासिली केटीसँग भर्खरै सुरु भएको वार्तालाप असमयमै टुंगिने खतरा पनि बढेर आउँछ । म कुराकानीलाई निरन्तरता दिन मस्तिष्कमा केही नयाँ विषयहरू हुँडल्न थाल्छु । के विषयमा चाहिँ जम्ला त गफ ? धेरै ढिलो नगरी बाईसवर्षे तरुनीलाई फ्याट्ट सोध्छु, 'तिम्रो बिहे त भएको छैन नि ?' यसो भन्दा हामी दरबारछेउको चौरमा टाँगेको एउटा पालभित्र पसिसकेका हुन्छौं । त्यहाँ हाम्रा लागि दही, बियर, वाइन र अन्य विभिन्न मिष्ठान्नहरू सजिइसकेका छन् ।

मेरा लागि एउटा सानो गिलासमा बियर हाल्छे र आफूले दही राखिएको बाँसको गिलास उठाउँछे । चियर्स गर्दै मेरो प्रश्नको जवाफमा ऊ भन्छे, 'बिहे भएको छैन । बरु तिमीले अगस्ट २० को 'इकोनोमिस्ट' पत्रिका पढ्यौ ?' -के उसलाई बिहेवाला कुरो पनि निको लागेन ?) सकेसम्म र भेटेसम्म पढ्ने पत्रिका हो 'इकोनोमिस्ट' । मैलै झट्ट सो अंक सम्झिहालेँ । उसको आशय बुझ्न बेर लागेन । उक्त अंकको कभर स्टोरीको शीर्षक सम्झें, 'एक्ला एसियालीहरू : एसियाली केटीहरू विवाह गर्न किन मानिरहेका छैनन् ?' -ए, उसलाई बिहेवाला कुरो झिँझो लागेको होइन रहेछ ।)

चीनमा १९७९ देखि लागू भएको एक बच्चा नीतिका कारण जन्मिन सक्ने ४० करोड बच्चाहरू जन्मिन पाएनन् । यो नीतिको सफलताको नराम्रो असर यसबेला आएर चीन सरकारलाई महसुस भइरहेको छ । गर्भ जाँच गराएर अधिकांशले छोरा भए जन्म दिने नत्र गर्भ तुहाउने गरेका कारण केटाको जनसंख्या ह्वात्तै बढ्यो । केटाको तुलनामा केटीको संख्या न्यून हुँदै गयो । उक्त पत्रिकाले २०३० सम्ममा लगभग ६ करोड केटाहरूले बिहे गर्नलाई केटी नपाउने खतरा रहेको डरलाग्दो तथ्यांक अघि सारेको छ । कोकाकोला र अत्तरजस्ता वस्तु आयात गरेजस्तै केटीहरूको पनि आयात गर्नुपर्ने दिन आउने अनुमान पनि उक्त आलेखमा गरिएको छ । त्यसमाथि दिनप्रतिदिन केटीहरूले परम्परावादी विवाहप्रति गहिरो अरुचि देखाइरहेको पनि त्यहाँ भनिएको छ ।

यो प्रसंग टुङ्गिन नपाउँदै हामी हलुका खानेकुरा खाएर गाडी चढ्छौं र र्फकन्छौं होटल टिबेट । कोठामा पुगेर सोच्छु, जुलीका बाबुआमा धन्य हुन् । सन् १९८९ मा गर्भ जाँच गराउनतिर नलागी छोरीलाई जन्म दिएछन् । नत्र, ऊ तुहिन सक्थी । ऊ तुहिएकी हुन्थी भने २०११ को यो मेरो पहिलो -अन्तिम पनि हुन सक्छ) ल्हासा यात्रा नीरस हुने थियो ।
आज हामी एउटा तिब्बती गाउँमा आइपुगेका छौं । वरिपरि हरिया पहाड छन् र बीचमा उपत्यकाजस्तो ठूलो चौर
छ । केही गधाहरू घामको न्यानो रापमा ढाड सेकाएर चर्दै छन् । आफैंतिर लम्किरहेको एउटा गधालाई हेर्दै म जुलीलाई प्रश्न गर्छु, 'केटीहरूको सप्लाई कम भयो भनेर आफ्नो भाउ बढाउनलाई तिमीले पनि बिहे गर्न अटेर गरेकी हौ ?' ऊ आफ्ना लाम्चा दाँत देखाउँदै फिस्स हाँस्छे तर गम्भीर भएर बोल्छे, 'मेरो ब्वाइफ्रेन्डसँग भर्खरै ब्रेक भयो । अब त थाहा छैन कुनै दिन कसैप्रति म आकषिर्त हुन्छु कि हुन्नँ ।' गम्छु, उसले पूर्वप्रेमीलाई मनमनै गधा भनिरहेकी होली । 
'कसरी ब्रेक भयो त ?'
'मेरो निजी जीवनमा उसले बढी नै हस्तक्षेप गर्यो ।' किन त्यस्तो गर्यो होला त ?
'ऊ आत्मविश्वास नभएको मान्छे थियो । त्यसैले उसले अरू कसैलाई विश्वास गर्न सक्ने कुरै आएन । सम्बन्ध त विश्वासको झिनो धागोले उनेको हुन्छ नि । उसको आत्मविश्वासको कमीले कमलो धागो छिन्यो ।'
'तिमीलाई पहिलोपल्ट देख्दा सानी बच्चीजस्तो देखेको थिएँ । तर, अहिले कुरा सुन्दा त तिमी त दार्शनिकजस्ती पो लाग्न थालेको छ ।' उसका लामा दाँत फेरि दृश्यमा आउँछन् ।

दार्शनिक शब्दले किन हो माओको सम्झना दिलाउँछ । हाम्रातिर जुलीका कमरेड चेयरम्यान माओबाट माओवादमा रूपान्तरित भई हाम्रा दैनिकीमा हस्तक्षेप गर्न आइपुगेका छन् । तर, कसैले चाहेर पनि जुलीले झैं यी हस्तक्षेपकारीलाई 'ब्रेक' दिन नसक्ने अवस्थामा पुगेको छ हाम्रो देश । उता चीनमा जुलीसँग यी कुराहरू गर्दैगर्दा यता माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्रीको शपथ खाइरहेका थिए ।

कुरा सांस्कृतिक क्रान्तितिर मोडिन्छ । ऊ भन्छे, 'तिमीलाई सांस्कृतिक क्रान्तिबारे बताउने मेरो हैसियत छैन ।' म अचम्भित हुन्छु । कारण, नेपालको माओवादी जनयुद्धबारे बताउने मेरो हैसियत छ कि छैन भन्नेतर्फ मैले कहिल्यै ध्यान दिएको छैन । त्यसरी सोच्नुपर्ला भन्ने पनि लागेको छैन । ऊ प्रस्ट्याउँछे, 'मैले सांस्कृतिक क्रान्तिबारे पढेकी छु । तर, मलाई ती इतिहासका किताबमाथि त्यति विश्वास लाग्दैन । जुन कुराप्रति म आफैं विश्वस्त छैन, त्यही कुरा मैले तिमीलाई कसरी व्याख्या गर्न सक्छु ?'

एउटा सङ्लो खोला हाम्रा पछिल्तिरबाट सुसाउँदै बगिरहेको छ । अघिल्तिर साना-साना हरिया पोथ्राले ढाकेका डाँडाहरू छन् । पर केही तिब्बती शैलीका साना घरहरू छन् । यस्तो परिवेशमा उठेको सांस्कृतिक क्रान्तिको विषयले मलाई यांग मोको उपन्यास 'युवाहरूको गीत'को सम्झना आउँछ । जुलीले यसपटक पनि मेरो उच्चारण सच्याउन चाही तर मैले मानिनँ । उसले यो उपन्यास पढेको कुरा जाहेर गरेपछि भनी, 'तिमीले यो कालो चस्मा लगाएर पहाड हेर्दा र नलगाई हेर्दा केही फरक पाउँछौ ?' -गम्छु, किताबको प्रसंग आउनासाथ कुरा मोड्ने कस्ती केटी रहिछे यो ?) 'केही न केही फरक हुन्छ त्यसैले त चस्मा लगाइन्छ । चस्माको कालोले घामको चर्को अलिकति घटाइदिन्छ, आँखालाई शीतल पनि हुन्छ । तिमीले भनेजस्तो दृश्यको रंगमा थोरै फरक पनि आउँछ ।'

आफ्नो रातो रंगको चस्मा मलाई दिँदै जुली भन्छे, 'अब यसबाट हेर त, अझै फरक देख्छौ होला ।' यी चस्माका विम्बहरूबाट ऊ मलाई यो प्रस्ट्याउन खोज्छे कि उपन्यासहरूले इतिहासबारे चस्माले जस्तै थोरै भ्रमहरू दिन्छन् । ऊ यसभन्दा बढ्ता केही भन्दिन । सायद, उसले भन्न खोजेकी थिई होला 'युवाहरूको गीत' पढेका आधारमा सांस्कृतिक क्रान्ति बुझेको छु भन्ने भ्रम नपाले हुन्छ ।

चौरमा जौका केही रोटी, उसिनेका आलु र स्टबेरी खाएपछि हामी मोटरतर्फ लाग्छौंं । मोटर चढ्नुअघि म उसलाई भन्छु, 'मैले तिम्रा मेटाफोरस् बुझें ।' ऊ तुरुन्त जवाफ दिन्छे, 'त्यसो भए तिमी पनि दार्शनिक हुँदै रहेछौ ।' म उसलाई ठट्टा गर्दै सम्झाउँछु, 'दार्शनिक हुनका लागि फिला -तिघ्रा) दुख्न थाल्नुपर्छ । मेरा तिघ्राहरू दुख्न थालेका छैनन् । अर्थात् म बूढो भएको छैन र म दार्शनिक होइन ।'

अब छुट्टनिे बेलामा भने ऊ प्याउलिन थाल्छे, 'तिमीले मलाई बूढी भइस् भन्न खोजेको ? अँ, म कति सानी छु ।'
'अनुहार हेर्दा त ओठ निचोर्दा दूध आउला जत्तिकै छ नि । कुरा सुन्दा त मेरी बास्सै !'

ओठ निचोर्दा दूध आउँछ भन्ने उखान उसका लागि बिल्कुल नयाँ भएछ । मसँग अर्थ सोधेपछि हाम्रातिर खुइलिसकेको उक्त उखानलाई उसले नयाँ विम्बस्वरूप प्रयोग गर्ने अठोट गर्छे । र, आफ्ना छोटा हातहरू हल्लाउँदै बिदा हुन्छे ।

म मोटरको सिसाबाट देखिने क्षितिजतर्फ हेर्छु र खै कसरी हो गुनगुनाउन पुग्छु :

जाते जाते वो मुझे
अच्छी निसानी दे गया
उम्र भर दोहोराउँगा
ऐसी कहानी दे गया ।                         

प्रकाशित मिति: २०६८ भाद्र २४ ०४:००

कान्तिपुर दैनिक / https://www.kantipurdaily.com/koseli/2011/09/09/251891.html

0 comments:

Post a Comment