जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ ।

आक्रोशले उमालेको कफी

कम्तीमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा किताब र कफीलाई दिने सुबिस्ता सबैलाई पुगोस् भन्नका लागि मसँग नेपाली र अंग्रेजी दुईटा भाषा छन् । शासकहरूसँग कति नाले बन्दुक छन् ?

Saturday, December 22, 2018

बौद्धिकताको बोन्साई

उज्ज्वल प्रसाईं /

काठमाडौँ — भीमराव अम्बेडकरको भाषण ‘एन्हाइलिएसन अफ कास्ट’ पुस्तकका रूपमा प्रकाशित छ । पुस्तकको पछिल्लो संस्करणको भूमिकामा अरून्धती रोयको घतलाग्दो वाक्य छ, ‘धेरैजसो क्रान्तिको सुरुवात अध्ययनबाट भएको छ ।’

गणतन्त्र नेपालको उदय क्रान्तिको परिणाम मान्ने हो भने त्यस क्रान्तिको जगमा अध्ययनको भूमिका देखिन्छ । वैचारिक एवं सैद्धान्तिक अध्ययनको त्यस्तो महत्तालाई नगन्य तुल्याउने प्रयत्न भइरहनु वर्तमानको त्रासदी हो । त्यो सम्भवत: प्रतिक्रान्तिको द्योतक पनि हो ।

गणतन्त्रलाई संस्थागत गर्न गणतान्त्रिक चेतनाको सम्बद्र्धन जरुरी हुन्छ । कुनै कुल, क्षेत्र, सम्प्रदाय वा परिवारमा खास लिङ्गसहित जन्मेका कारण श्रेष्ठता दाबी गर्नु राजतन्त्र स्वीकार्नु हो । नश्लीय राष्ट्रवाद पनि गणतन्त्र विरोधी विचारधारा हो । कुनै व्यक्ति राजा हुनु वा नहुनु मात्रले गणतन्त्र सुनिश्चित गर्दैन ।

राजतन्त्रीय मूल्य एवं सो चेतनाबाट वशिभुत कर्मप्रधान रहेसम्म कुनै पनि व्यवस्था गणतन्त्र हुनसक्दैन । क्रान्तिको उपलब्धिका रूपमा संस्थागत गर्न खोजिएको यो व्यवस्थाको चुरो नष्ट गरेपछि के संस्थागत हुन्छ ? प्रतिक्रान्ति ।

नेपालको सार्वजनिक चासोमा आएका तीन विषयले गणतन्त्रको मर्ममा घात भएको पुष्टि हुन्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले स्थायी कमिटीमा पेस गरेको प्रतिवेदन, नेपाली कांग्रेसको महासमितिमा प्रदर्शित प्रहसन र नेपाल प्रज्ञा प्रतिष्ठानका पछिल्ला निर्णयले गणतान्त्रिक मूल्य विघटन गर्न खोजेका छन् । साथै ती सबैमा बौद्धिकताको विरोध छ ।

मोदी पछ्याउँदै ओली

उज्ज्वल प्रसाईं /

काठमाडौँ — उभ्याउन खोज्यौ सबैभन्दा अग्लो सालिक, त्यो सबैभन्दा एक्लो ठहरियो ।– मानस फिराक भट्टचार्जी सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) भारतको इतिहासलाई हिन्दुवादी संकथनका रूपमा पुनर्लेखन गर्न चाहन्छ ।

आफ्नो राजनीतिक विचारधारा अनुकूल हुने नायकको खोजी गर्दा उसले सरदार बल्लभभाइ पटेल फेला पार्‍यो । मोहनदास करमचन्द गान्धी, जवाहरलाल नेहरू र भीमराव अम्बेडकर जस्ता हिजो स्थापित नायकलाई पुड्को देखाउन उसले पटेललाई १८२ मिटर अग्लो बनाइदियो ।

संसारको सबैभन्दा अग्लो शालिक भनिएको पटेलको सो मूर्तिलाई ‘द स्ट्याचु अफ युनिटी’ अर्थात ‘एकताको प्रतीक’ भनियो । खासमा त्यो भाजपाको राष्ट्रवादी अहंकार हो । मोदीले सन् २०१० मा शिलान्यास गरेको सो मूर्तिको अनावरण भाजपा अनुकूल रचिएको खर्चिलो राजनीतिक तमासा हो । ठूला स्पेक्टेल (तमासा) रचेर जनता भुलाउन माहिर नेता हुन्, मोदी । पटेलको मूर्ति त्यही भुलभुलैया–राजनीतिको पछिल्लो कडी हो ।

ह्यामानको त्यो फलामे पटेलको छायामा ७५ हजार जीवित आदिवासी किसान छन् । नर्मदा नदी किनारमा ठडिएको त्यो कृत्रिम मान्छेले आफ्नो जमिन, पानी एवं प्राकृतिक सम्पदा नष्ट गरेकामा उनीहरू रुष्ट छन् । गरिब किसानका हजारौं दु:खलाई नजरअन्दाज गर्दै गुजरात सरकारले त्यो फलामे मूर्तिमा २,३८९ करोड भारु लगानी गर्‍यो । अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा त्यहाँका गरिब किसान आन्दोलित छन् ।

आधारभूत तहका जनताबाट पटेललाई खोसेर हिन्दुवादी खोपीको नेता बनाउन खोजियो । सामान्य नागरिकबाट कटेर बतासमा कवाज खेल्न खोज्ने शासकहरू अन्तत: एक्ला हुन्छन् । कवि भट्टचार्जीले इंगित गरेझैं त्यो अग्लो शालिक हजारौं किसान र सिमान्तकृत आदिवासीबाट कटेर विलकुल एक्लो उभिनेछ । जसको काँध चढेर सत्तामा पुग्यो, उसैलाई बिर्सेर अकाशिने शासक अन्तत: कतै शून्यमा एक्लो र परित्यक्त घुम्नेछ । जनताबाट खोसिएका पटेलसँगै कुनै दिन मोदीहरू पनि पक्कै एक्लिनेछन् ।

पत्रुले काम चलाउने कि नयाँ बनाउने ?

उज्ज्वल प्रसाई /

शिक्षक–विद्यार्थी सम्बन्धलाई निरस व्यापारिक लेनदेनमा रुपान्तरण गर्नु पत्रु चीजबीज बेच्ने पसलको दलालीका लागि ठीकै होला, शिक्षाको मूल्य भने जोगिदैंन – शिव विश्वनाथन, भारतीय समाजशास्त्री  ।

अर्काले बनाएको बाटो छिचोल्न तयार हुने वा आँफैले नयाँ बाटो पहिल्याउने ? मौजुद संसारमा मिसिएर यथास्थितिको पहरेदारी गर्ने वा आँफै परिवर्तनको अभियन्ता बन्ने ? यी प्रश्नहरु सतहमा सामान्य देखिन्छन् । धेरै मन्थन नगरी यसै भन्दिन सकिन्छ, ‘नयाँ बाटो पहिल्याउने ।’ वा फिस्स हाँस्दै कोही जवाफी बन्न सक्छ, ‘अरुले गरेकै काम त किन दोहो¥याउने ? जीवनलाई नयाँ आयाम दिने !’ भन्न जति सजिलो छ, प्रमाणित गर्न त्यो भन्दा दोब्बर हम्मे ।

यी प्रश्नहरु हाम्रो विश्व दृष्टिकोण एवं सो अनुसार हाम्रो बचाईसँग सम्बन्धित छन् । यी प्रश्नमा गहिरो चिन्तन गर्नेले हाम्रो हुर्काई साथै हामीले आर्जन गरेको शिक्षाबारे सोच्नु पर्नेछ । आँफू बाँचेको समाज, सो समाजको आर्थिक एवं साँस्कृतिक संरचना लगायत प्रश्नका ठूलो लहरो सँगै तानिएर अघिल्तिर आउनेछन् । सहजै जवाफ दिइएका प्रश्नहरु अन्ततः प्रश्नकै भूमरी सृजना गर्ने औजार बन्नेछन् ।

हामी कसरी हुर्कियौं वा अहिले हाम्रा बालबालिका कसरी हुर्किँदैछन् भन्ने प्रश्नबारे अरु कुनै मौकामा छलफल गरौंला । अहिले भने हाम्रो औपचारिक शिक्षा सम्बन्धी छलफलका लागि केही अवधारणागत प्रश्न उठाउन मनासिव होला ।

मेरो ठम्याइमा हाम्रो औपचारिक शिक्षाले लिएको सबैभन्दा ठूलो उद्देश्य नै मौजुद संसारको सामना गर्ने सामथ्र्य भएका मानिसको निर्माण हो । पहिल्यै कसैले खनिदिएका बाटामा दह्रोसँग उभिएर पाइला चाल्न सक्ने बनाउनुलाई शिक्षाको ठूलो सफलता मानिन्छ । कारण, हाम्रो शिक्षा उत्तरको ठेली हो, प्रश्न उब्जाउने ब्याड होइन । सतहमा नदेखिएका वा पत्ता नलागेका समस्याको पहिचान गर्ने शिल्प होइन, अरुले नै औँल्याएको समस्या र समाधानका भारी बोक्ने भरिया हो । शन्देह होइन, आस्थाको खेती गर्नु शिक्षाको उच्चतम सफलता मानिन्छ । यथास्थिति माथि आस्था, स्थापित शक्ति–संरचना माथि आस्था । चाहे ति जतिसुकै समस्याग्रस्त किन नहुन् स्थापित सत्यलाई बलियो बनाउने अनुसारक (कन्फर्मिष्ट) हरु निर्माण गर्छ हाम्रो शिक्षाले । केही अपवाद भने अवश्य होलान् ।

ओलीपन्थको अपूरो आलोचना

उज्ज्वल प्रसाईं/ 

काठमाडौँ — कान्तिपुरको यही पृष्ठमा गत बुधबार नेकपा नेता घनश्याम भुसालले ‘कसरी बाँच्छ, कम्युनिष्ट पार्टी ?’ शीर्षकमा लेख लेखे । पार्टी नेतृत्वले धारण गरेको नर्सिसस्को बेजोड आलोचना लेखको सबभन्दा बलियो पक्ष हो । स्टालिनवादी नेतृत्वको आलोचना गर्नसक्ने हिम्मत देखाउनु सानो उपलब्धि होइन ।

त्यति हिम्मत गरेकामा सरकार एवं पार्टी नेतृत्वबाट दिक्दार भएका सबैले भूसाललाई धन्यवाद दिए । लेखन शिल्पको तारिफ गर्नेहरू पनि कम छैनन् ।

प्रचण्ड नेतृत्वको माओवादी एमालेमा विलय भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वामपन्थी पार्टी होइन । तर कतिपय कमजोरी सच्याए यो असल बन्न सक्छ भन्ने भूसालको दाबी छ । त्यसका लागि अहिले धारण गरेको नर्सिसस्को रूप परिवर्तन गरेर फिनिक्स बन्नुपर्नेमा उनले जोड दिएका छन् ।

भूसालको यो फिनिक्समय कल्पना सुन्दा आनन्दमयी लाग्छ । यथार्थको कटुता कल्पनाभन्दा जब्बर छ । त्यो जब्बरपना बुझाउन नर्सिसस्को विम्बले पुग्दैन । उनको मिठो कल्पनालाई वास्तविकतामा बदल्न नदिन नेकपा अध्यक्षद्वय हदैसम्म कटिबद्ध छन् । ती अध्यक्षलाई साथ दिन पेट्रन–क्लाइन्ट सम्बन्धमा जेलिएको विशाल पार्टी–संरचना उत्तिकै प्रतिबद्ध छ ।

त्यो सपना, यो यथार्थ

 उज्ज्वल प्रसाईं / 

सपना समताको थियो । आश्वासन गणतान्त्रिक मूल्य स्थापनाको थियो । बदलिएको राज्य संरचनामा कोही कसैको मालिक हुँदैन भनियो । नेपाल अब पुरानो रहँदैन भनियो । नयाँ नेपालका महागाथा रचियो । संविधान जारी गर्दा दाबी थियो, यो जनताले लेखेको संविधान हो । संविधानको कार्यान्वयन गर्दाको जिरह थियो, नयाँ नेपाल हिँड्ने लोकतान्त्रिक गोरेटो यही हो । सपना र यथार्थको फरक भयानक देखियो ।

शासक र शासितको बलियो श्रेणी रचियो । शासक उँचो स्थानमा बसेको छ, शासित घुँडा टेकेर याचक मुद्रामा छ । सत्तासीन विजित छ, शासित लाचार देखिन्छ । संविधानत: संघीय गणतन्त्र नेपाल भनिएको मुलुकमा गणतान्त्रिक मूल्यको निर्मम स्खलन प्रदर्शित गरियो । स्खलनको यो रूप खुलस्त देखाउने अवसर दसैँ रोजियो ।

असत्यमाथि सत्यको विजय भनेर दसैँको महिमामण्डन गरिन्छ । सत्ताले मञ्चन गरेको दसैँ–तमासालाई सत्यको विजय मान्ने हो भने पञ्चायती मूल्य सत्य ठहरिन्छ । एक भेष, एक भूषा, एक भाषा एवं एक संस्कृतिको राइँदाइँ चल्ने शासन पञ्चायती व्यवस्था हो । सत्ताको पटांगिनीमा दसैँभरि उही एक भेष, एक भाषा, एक संस्कृतिको भड्किलो रवाफ प्रदर्शित गरियो । अर्थात्, सोही एकलाई विजित सत्य ठहर गरियो ।

यो समयको त्रासदी यति हो– आधारभूत तहका जनताका प्रतिनिधि दाबी गर्ने कम्युनिस्ट स्कुलमा हुर्किएका गणतन्त्र नेपालका राष्ट्रपति एवं प्रधानमन्त्री दुवैले पञ्चायती मूल्यलाई औपचारिक घोषणा एवं व्यवहारबाट सदर गरे ।

ओ दार्जिलिङ !

उज्जवल प्रसाई / 

काठमाडौँ — दार्जिलिंगे साहित्यकार रामलाल अधिकारीले झापाको बाहुनडाँगीमा आयोजित साहित्यिक कार्यक्रममा भने, ‘हामीलाई पारिका लेखक नभन्नु  । हिउँदमा स्याप्पै सुकिजाने मेची खोलोले हामीलाई कसरी छुट्याउन सक्छ ? हामी सबै नेपाली लेखक हौं  ।

अधिकारी रहेनन्, मेची खोलो छँदैछ । बगरमा धमिला सीमास्तम्भ उभिएकै छन् । ती स्तम्भहरू बेलाकुबेला हाम्रा राजनीतिक विवादका अप्ठ्यारा विम्ब बनिरहेकै छन् । सिमानावारिको कञ्चनजंघा एफएममा दार्जिलिङ लक्षित कार्यक्रमको नाम ‘सिमानापारि’ छँदैछ ।

राजनीतिक सिमानाले ठूलो अर्थ राख्छ । सुदूर भविष्यमा सबै सिमाना नामेट भए अर्कै कुरा, नत्र सिमानाले मान्छेका पहिचान निर्माण गर्छन्, आपसी सम्बन्ध परिभाषित गर्छन् । सिमाना राजनीतिक हो र त्यो कृत्रिम हो । त्यसको प्रभाव भने यति गहिरो छ कि हामीलाई त्यो कुनै स्वयम्भू संरचना प्रतित हुन्छ । सिमाना बेगरको दुनियाँको परिकल्पना बरु दुरुह र अप्राकृतिक भान हुन्छ ।

साहित्यिक माहोलले निबन्धकार अधिकारीलाई भावुक बनायो । कम्तीमा नेपाली साहित्यमा कृत्रिम सिमानाको उपादेयता धेरै नखोजौं भन्न चाहे । कल्पना सुखद थियो, यथार्थका आफ्नै दु:ख छन् ।

भोको मान्छे, किताब समाऊ

- उज्ज्वल प्रसाईं / 

पढन्तेहरु असल हुन्छन् । कसैले यस्तो ठोकुवा गरोस्, उसलाई गलत साबित गर्न खराब पढन्तेहरुको लामो सूची बनाउन बेर लाग्दैन । खराब र असल सापेक्षित अवधारणा हुन् । यहाँ त निर्दोष रंगसमेत खराब र असलमा विभाजित छन् । मोहनदास करमचन्द गान्धी पढन्ते थिए, सधैँ असल भएनन् । खास राजनीतिक संकथन निर्माणका लागि उनी महात्मा बनाइएका हुन् । एडोल्फ हिटलरले जे गरे, आर्जित ‘ज्ञान’ मा आधारित हिंस्रक दुस्साहस गरे । उनका असल पक्ष खोज्नेहरु अझै छन् । असल वा खराबको सर्वमान्य परिभाषा बनेको छैन ।

हिटलरबारे किताब पढेका वा होलोकस्टसम्बन्धी सिनेमा हेरेकाले उनलाई खराब देखेका हुन सक्छन् । मैले त्यस्ता धेरै पढालेखा पनि भेटेँ, जसले उँचो स्वरमा भने, ‘यहाँ हिटलरजस्तो शासक चाहिएको छ । नत्र यो समाज कहिल्यै बन्दैन ।’ आफूमाथि शासन गर्न सन् १९४५ मै आत्महत्या गरेको तानाशाहको पुनरागमन होस् भन्ने मान्छेको उपस्थिति भइन्जेल हिटलर खराब मानिसको सर्वमान्य मानक हुँदैन । त्यसो त, स्टालिनका खराब मात्रै देख्ने वा उनको आलोचना सहन नसक्ने दुवै थरी समूह छँदैछन् । हिटलरको आवश्यकता महसुस गर्ने ‘बौद्धिक’ नेता, सरकारी अधिकृत, सक्रिय पत्रकार साथै नाम चलेका लेखक ठाउँठाउँमा भेटेपछि इमान्सिपेसन (मुक्ति) र पठनबारे सोच्न जरुरी लाग्यो ।

तमासे राज्य

उज्ज्वल प्रसाईं / 

काठमाडौँ — अमेरिकी मानवशास्त्री क्लिफोर्ड गिर्जले उन्नाइसौं शताब्दीको बाली राज्यलाई ‘थिएटर स्टेट’ अर्थात् तमासे राज्य भने । उस्तै चरित्र भएका अरू राज्यबारे अध्ययन गर्नसमेत सो अवधारणा काम लाग्ने गिर्जको दाबी थियो । त्यस्ता राज्य जसले शक्ति अभ्यासको आधार ठोस भौतिक परिस्थितिलाई नभई सांस्कृतिक तामझाम एवं कर्मकाण्डलाई बनाउँछ ।

समाजको चुस्त व्यवस्थापन गर्दैन, बरु बहुविध तमासा रचेर बहुसंख्यक प्रजा भुल्याउँदै उनीहरूमाथि शासन गर्छ ।

अनेक राजनीतिक उथल–पुथलपश्चात् नेपाल अहिले गिर्ज–अवधारणाभन्दा केही फरक तर तमासे राज्यमा रूपान्तरित भएको छ । पछिल्ला दस वर्षमा रचिएका सयौं राजनीतिक तमासाबारे थुप्रै ठेली लेख्न सकिँदो हो । पहिलो संविधानसभा फजुल तमासामा पतित भएको दु:ख दोहोर्‍याउन जरुरी छैन । दोस्रो संविधानसभाबाट संविधान जारी गर्न अपनाइएको अदूरदर्शी प्रक्रिया अर्को तमासा थियो । सो तमासाले निम्त्याउने हजार दु:खका भोक्ता हुन अझै कति वर्षसम्म अभिशप्त हुनुपर्ने हो, ठेगान छैन । यो स्तम्भमा हालसालै रचिएका केही तमासामार्फत वर्तमान राज्यसत्ताको चरित्र बुझ्न खोजिनेछ ।