जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ ।

आक्रोशले उमालेको कफी

कम्तीमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा किताब र कफीलाई दिने सुबिस्ता सबैलाई पुगोस् भन्नका लागि मसँग नेपाली र अंग्रेजी दुईटा भाषा छन् । शासकहरूसँग कति नाले बन्दुक छन् ?

Friday, March 21, 2014

स्थानीय चुनावको जाल

नेपाली राजनीतिका अनेक ओली किस्सा बोकेर आउने अखबारहरू अचेल स्थानीय निकायका निर्वाचनका कथा-कुथुंग्री लिएर आउन थालेका छन्। सरकारमा रहेका नेपाली कांग्रेस र एमाले चुनाव गराउनका निम्ति तयार रहेको र सरकारले पनि तयारी गररिहेको खबर छापिएका छन्। चुनावमा सहभागी हुनुपर्ने अनेक दलमध्ये नेकपा-माओवादी, एकीकृत नेकपा माओवादी र मधेसवादीहरू पनि हुन्।

नेकपा-माओवादीले आफ्नो बहिष्कारवादी छविलाई कायम राख्ने बताइसकेको छ। एमाओवादी र मधेसवादीहरू पनि स्थानीय निर्वाचनमा जाने मुडमा छैनन्। ढिलो नै सही, स्थानीय निर्वाचनका सम्बन्धमा उनीहरूले मुख खोल्न थालेका छन्। तर, भर्खरै नमीठो हार खाएका उनीहरूलाई निर्वाचनमा लघारेर अर्को हार चखाइदिन उनीहरूबाहेकका अरू सबै शक्ति पाखुरा सुर्किंदै छन्, सरकारदेखि कथित नागरकि समाजसम्म।

एमाओवादी चुनाव परण्िाामपछि भुलभुलैयामा हराइरहेको छ। एकपटक विभाजन खेपिसकेको र फेर िअरू चिरामा विभाजित हुनलाई नै ऊ भुलभुलैयामा हराइरहेको छ। अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईबीचको फाटो नयाँ होइन। तर, चुनावपछि धाँजा अझ फराकिला बन्दै गएका छन्। प्रचण्ड विद्रोहको कार्यतालिका बनाउन कस्सिएका छन्। बाबुराम पुँजीवादी क्रान्ति समापन गरेको ब्याजको जोहो गर्दै 'नयाँ शक्ति' खोज्नमा तल्लीन छन्। फाटोका विषयमा सतहमा उठेका तर्क हेर्दा सैद्धान्तिक समस्या नै हो भन्ने लाग्छ। त्यो सत्य पनि होला किनभने कुन कम्युनिस्ट पार्टीले आफ्नो विभाजनको सैद्धान्तिक व्याख्या गरेको छैन र? फेर िएकपटक केही सैद्धान्तिकजस्ता देखिने बुँदाका आधारमा एमाओवादीबाट अर्को एक चोइटो उछिट्टयिो भने त्यो अनौठो हुने छैन।

विभाजित हुने दौडमा आफूलाई गैरकम्युनिस्ट बताउने मधेसवादी पनि उत्पात अग्रगामी देखिएकै हुन्। मधेस आन्दोलन सुरु गर्दा कति दल थिए र आजका मितिसम्म आइपुग्दा ती कति टुक्रामा विभाजित भए भन्ने लेखाजोखा गर्न खाता, कलम लिएरै बस्नुपर्छ। केही समयअघि उनीहरूमध्ये केही मिल्न लागे भन्ने गाइँगुइँ चल्दै थियो। तर, अहिले त्यो एकताको अपूरो कथा पनि कतै छापिन छोडेको छ। दोस्रो संविधानसभा निर्वाचनपछि सबभन्दा बढी खतरामा परेको मधेसवादीहरूको मुद्दाले पनि उनीहरूलाईर् एउटा साझा धरातलमा ल्याउन नसक्नुको अर्थ के हुन्छ? मधेसको मुद्दा जति गम्भीर छ, मधेसवादी दल त्यति नै फितला र कमजोर हुँदै छन्। बिलकुल व्यक्तिगत लाभहानिको हिसाबमा अल्भिmनु मधेसी नेताको दिनचर्या हो। आफ्नो मुद्दाप्रति अलिकति पनि गम्भीरता उनीहरूसँग हुन्थ्यो भने अहिलेसम्म सबै एक ठाउँ आइसकेका हुन्थे। त्यति मात्रै होइन, आफूलाई दह्रो राजनीतिक शक्तिका रूपमा दर्ज गरेर नेपाली राजनीतिक आकाशमा आफ्ना हुँकार तरंगित तुल्याइसकेका हुन्थे। तर, संविधानसभाभित्र ककस बनाउन नदिने धम्की आइरहेका बेला मधेसीहरूका स्वर कतै सुनिँदैन, मानौँ उनीहरू राजनीतिक वृत्तबाटै बाहिरसिके। उसो भए के त, मधेस मुक्तिको नारा ठट्टा मात्र थियो?

मधेसवादी र एमाओवादीको हालत यसरी पतला हुँदै गएकै बेला स्थानीय निकायको निर्वाचन गरनिुपर्ने माग चर्किंदै छ। चुनाव नगराई नछोड्ने सरकारी हठले जित्यो भने के हालत हुन्छ, एमाओवादी र मधेसवादीहरूको? यति भन्न कुरा चपाउनुपर्दैन, उनीहरू नराम्ररी हार्नेछन्। कदाचित् उनीहरूले जित्ने अवस्था बन्यो भने सत्ताले आफ्नो असली रूप देखाउनेछ। जतिसुकै लोकतान्त्रिक भनिए पनि सत्ता दमनकै हतियार हो। त्यसपछि उनीहरूको अवस्था कस्तो हुन्छ? त्यो भन्न सकिन्न तर हालसम्म मुलुकमा रजाइँ गर्दै आएका कुलीनहरूलाई भने बम्पर उपहार पर्नेछ। जे पाउन उनीहरू उद्विग्न बनिरहेका थिए, त्यही उनीहरूको हातमा सजिलै प्राप्त हुनेछ। सन् '९० को नेपालमा पुग्नलाई उनीहरूलाई मलमलको रातो कार्पेट हुनेछ, त्यो अवस्था।

सरकारमा पुगेका दल मात्रै होइन, मुलुकका धेरैमध्येका एक नागरकि समाजले पनि अहिले आफ्नो ताजा एजेन्डा स्थानीय निर्वाचनलाई बनाइसकेको छ। आफूलाई लोकतन्त्रको घगडान संरक्षक ठान्ने विद्वान्हरू सम्मिलित सो नागरकि समाजले एउटा घोषणापत्र नै सार्वजनिक गर्न भ्याइसकेको छ। उनीहरूको सोझो तर्क छ, लोकतन्त्रलाई जीवन्त बनाउन जनताद्वारा अनुमोदित स्थानीय सरकार अनिवार्य छ। सपाट तर्कले छोप्न खोजेको भए पनि राम्रैसँग उदांगिएको तथ्य के हो भने एमाओवादी र मधेसवादीहरूले तुरुन्तै अर्को लाजमर्दो हार बेहोर्नु नै स्थानीय निर्वाचनको सार्थकता हो भन्ने यो ख्यातिप्राप्त नागरकि समाजको बुझाइ हो।

उनीहरूको तर्कमा मात्रै होइन, नियतमा पनि दम छ। कारण, अहिले शक्तिमा भएका सबैले सहजै स्वीकार्न सक्ने लोकतान्त्रिक तर्क हो यो। यसै पनि लोकतन्त्रमा निर्वाचन कसरी नकार्न सकिन्छ? उनीहरूको प्रश्नलाई दिन सकिने एक मात्र उत्तर भनेको पहिले संविधान बनाऊ, त्यसपछि स्थानीय निर्वाचन भन्ने हो। जवाफ आउनेछ, स्थानीय निकाय रत्तिm रहेको एक जुग भइसक्यो, अझै कति पर्खने?

यस्तो लोकतान्त्रिक प्रश्नको जवाफ दिन खोज्नु भनेकै उनीहरूको नियतमाथि शंका गर्नु हो। तर, शक्तिशालीहरूको नियतमाथि लोकतान्त्रिक तवरले शंका गर्न पनि अप्ठ्यारो हुन्छ। यसो गर्दा अलोकतान्त्रिक भइने डर हुन्छ। आवधिक निर्वाचन जसले मान्दैन, ऊ लोकतन्त्रको विरोधी हो भन्ने 'न्यारेटिभ' सजिलै पत्याउन सकिने खालको हुन्छ। त्यसैले उनीहरूका नियतका अन्तरकुन्तरका जटिल अर्थहरू खुलाउने हिम्मत जोसुकैले गर्दैन।

कुरोको चुरो के भने एमाओवादी र मधेसवादीहरू स्थानीय निर्वाचनको जालमा फस्न बाध्य हुनुपर्ने दिन लगभग सँघारमा आइसकेको छ। न उनीहरू त्यसको तयारीमा देखिएका छन्, न डटेर त्यसको विरोध नै गररिहेका छन्। उनीहरू यता लागे भने गुटवादी लडाइँ कसले लडिदिने? डटेर विरोध गर्नलाई तागत चाहिन्छ। गुटमा चिरा नपरेको सबल दलका रूपमा मात्र एमाओवादीले त्यसो गर्न सक्छ। एक ठाउँमा उभिँदा मात्रै मधेसवादीहरूले पनि त्यसो भन्ने नैतिक आधार र शक्ति हासिल गर्छन्। हारले झोक्राएका र अनेक स्वार्थका मेहेरोमा फसेका यी दुईथरी दलसँग संविधान बनेपछि मात्रै स्थानीय चुनाव गर्नुपर्ने कारण स्पष्ट पार्न र जनतालाई विश्वस्त तुल्याउन सक्ने हुति नै देखिँदैन । नेपाली राजनीतिका अनेक ओली किस्सा बोकेर आउने अखबारहरू अचेल स्थानीय निकायका निर्वाचनका कथा-कुथुंग्री लिएर आउन थालेका छन्। सरकारमा रहेका नेपाली कांग्रेस र एमाले चुनाव गराउनका निम्ति तयार रहेको र सरकारले पनि तयारी गररिहेको खबर छापिएका छन्। चुनावमा सहभागी हुनुपर्ने अनेक दलमध्ये नेकपा-माओवादी, एकीकृत नेकपा माओवादी र मधेसवादीहरू पनि हुन्।

Monday, March 10, 2014

जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ । यस्तो सवालको जवाफ खोज्नु शिजोफ्रेनियाबाट ग्रस्त हुने खतरा मोल्नु हो । जब मान्छे अक्कडा प्रश्नहरूको भारिले थिचिन थाल्छ, सायद त्यसै बखत ऊ शिजोफ्रेनिक बन्न थाल्छ । तर, आफू बाँचेको सिंगो समय नै जब सिजोपे|mनिक बनिदिन्छ, नचाहेरै हामी त्यसको सिकार हुन थाल्छौँ । सायद विद्यमान समय जहाँ म बाँचेको छु, त्यो नै उस्तो हो । समयले मलाई सपनाको गन्ध सुँघ्न बाध्य तुल्याएको छ । 

सपनाको गन्ध क्लोरमफेनिकल भन्ने औषधिको जस्तो हुँदो रहेछ । विस्मृतिमा पुगेको यो गन्ध ह्वास्स गन्हाउने गरी वर्तमानले मेरा वरिपरि फैल्याइदिएको छ । त्यो टर्रो तम्तम्याइलो क्लोरमफेनिकलको गन्ध अहिले आएर नाकमा मात्रै होइन जिब्रोमा पनि अम्लजस्तो भएर बसिरहेको छ । कि दिमागमा पनि जम्यो ? यकिन छैन तर त्यो कतै न कतै अटुट मसँगै छ । मेरा दैनन्दिनका सबै कर्मकाण्ड खुरुखुरु चलिरहेकै छन्, गन्धले ओछ्यानै पारेको होइन । तर, सोच्ने ढंगमा बढ्तै असर पार्दै छ । त्यो तीतो, अमिलो कस्तो कस्तो गन्धले गर्दा मैले दुनियाँलाई जस्तो देखिरहेको थिएँ, त्यस्तो देख्न छोडेँ । भविष्यलाई जसरी आँकलन गर्दै थिएँ, त्यो पनि पूर्णतया बदलिने छाँट छ । अहिले भने भविष्यको त्यो दृश्य अत्यन्तै धूमिल छ । कुनै वर्षौँदेखि भग्नावशेष बनेको घरमा बाँकी रहेको एउटा मात्र फ्रेम गरिएको फोटोजस्तो भएको छ भविष्यको अनुहार । गन्धको प्रभाव यति चर्को छ कि म चाहेर पनि त्यो फ्रेममा पत्रैपत्र भएर टाँसिएका धूलो पुछ्न सकिरहेको छैन । 

जब म सानो थिएँ, मैले सबभन्दा बढी सेवन गरेको औषधि नै क्लोरमफेनिकल हो । मेरो कलिलो रोगी काया अनेकन् ब्याक्टेरियाहरूको आक्रमणबाट घरीघरी थिलथिलो बन्थ्यो । ती आक्रमणहरूबाट जोगाउन मलाई डाक्टरले सारै धेरै क्लोरमफेनिकल ख्वाए । बुझ्ने हुन्जेलसम्म म क्लोरमफेनिकल सिरप पिउँथें । जब बिरामी पर्थेँ, त्यसैको गन्धले दिमाग कब्जा गर्न थाल्थ्यो । मैले कैयौँपटक त्यही गन्धका कारण भन्भनाएर बान्ता गरेको छु । मलाई क्लोरमफेनिकल प्रेसक्राइब गर्ने ती डाक्टरहरू थिए भारत पश्चिम बंगाल, नक्सलबारी बजारका ।

बिरामी परेपछि बा आमाले लैजाने नजिकको डाक्टरकहाँ हो । नजिक भन्नु नै सात किलोमिटर परको नक्सलबारी थियो । काँकरभिट्टाबाट चढेको टेम्पोभरि मलाई त्यही क्लोरमफेनिकलको गन्धले छोपिरहन्थ्यो । नक्सलबारीको शाह मेडिकलको सानो च्याम्बरमा पनि त्यही गन्ध फैलिएको हुन्थ्यो । च्याम्बरबाट निष्केपछि झन् चर्को हुन्थ्यो । चाहे आमाले तरकारी किन्ने सब्जी मन्डी होस् वा बाले मेरा लागि गन्जी किनिदिने प्रदीप क्लोथ स्टोर, सबैतिर क्लोरमफेनिकलकै गन्ध हुन्थ्यो । इलिस माछा होस् कि लालमोहन, जेमा पनि त्यही गन्ध । नक्सलबारी बजारभरि त्यही गन्ध फैलिएको हुन्थ्यो ।   

काँकरभिट्टामा हुर्केको मलाई आज आएर महसुस हुँदै छ, त्यस्तो गन्ध फैलिएको नक्सलबारीे मेचीपारिको सानो बजारको नाम मात्रै होइन रहेछ । त्यो शाह मेडिकलका गुप्ता डाक्टरको घर भएको ठाउँ मात्रै होइन रहेछ । वा हाम्रो घरमा हरेक हप्ता भित्रिने चिनी र भुजिया पाउने पसलहरू भएको ठाउँ मात्रै होइन रहेछ त्यो । बरु त्यो त कैयौँ किसानहरूका तुहिएका सपनाहरूको पनि नाम रहेछ । मलाई लाग्छ त्यो क्लोरमफेनिकलमा ती तुहिएका सपनाहरूको गन्ध पनि मिसिएको थियो । 

मलाई औषधि गर्न पुर्‍याइएको नक्सलबारीमा, त्यो उहिल्यैको भाकपा मालेकालीन १९६७ छिन्नभिन्न भइसकेको थियो । चारु मजुमदार मारिएको दशक बढी भइसकेको थियो । कानु सन्यालको गतिमा सुस्तता आइसकेको थियो । उनीहरूका हतियार सम्भवतः डकैतीमा प्रयोग भइरहेका थिए । गरिब किसानले जोत्ने खेत पाएनन् । हलो छोडेर बन्दुक समाएका उनीहरूसँग अर्को उपाय पनि केही थिएन । जसरी जाने, त्यसरी नै बन्दुकको प्रयोग गर्नु उनीहरूको बाध्यता थियो । पति मरेपछि आइमाईका चुरा ढुंगाले फुटालेर टुक्रा टुक्रा पारेजस्तो टुक्राहरूमा विभाजित बनिसकेको थियो नक्सलबारी । मसँग नक्सलबारीको सग्लो अनुहार खिच्न सक्ने सामथ्र्य थिएन उबेला । तर आज आएर लाग्छ फुंग उडेकी गरिब हिन्दु विधवाजस्ती बनेको हुँदो हो नक्सलबारी त्यसबेला । कुनै आदर्शको आभा, विद्रोहको राप, वा परिवर्तनको न्यानो, त्यहाँ केही थिएन । सायद त्यो ओसिलो नक्सलबारी तुहिएका सपनाहरूको थुप्रो बनेर बसेको थियो होला । किसान, मजदुर, महिला, पिछडिएका समुदाय, र आदिवासीका सपनाहरूको थुप्रो । परिवर्तनको खास्टो ओढ्न नपाएपछि तिनै तुहिएका सपनाहरूका कारण टाइफाइडले ग्रस्त बनेको हुँदो हो । ज्योति वसुले किसानलाई बाँडेको जग्गाले पनि त्यो टाइफाइड निको हुनेवाला थिएन । त्यसैले होला त्यहाँ चर्को गन्ध फैलिएको । सम्भवतः नन्दीग्राम र सिँगुरजस्ता ठाउँहरूबाट किसान लखेटिएपछिको समयमा त्यो गन्ध अझ विषाक्त बन्यो । अहिलेकी ममता बेनर्जीको घ्राण शक्ति कति छ, मलाई थाहा छैन । 

नक्सलबारी त्यही आन्दोलन हो जसबाट सन् ७० मा उडेका केही फिलिंगा झापामा खसे । तीनै फिलिंगा टिपेर कमरेडहरूले झापामा आगो बाले । ती सबै ब्राह्मण पुरुष थिए, पढेलेखेका जानिफकारहरू । मैनाली ब्रदर्स अर्थात् चन्द्रप्रकाश उर्फ सीपी र राधाकृष्ण उर्फ आरके, मोहनचन्द्र अधिकारी र अरू केही नेताहरूले टिपेका थिए ती फिलिंगा । रातो झन्डा बोक्ने वासु शाक्य, दंगाली समूहका नेत्र लाल अभागी, इलामका रत्नकुमार वान्तवा र अहिले हामीले नेताका रूपमा चिनेका धेरै तिनै फिलिंगाले तातेका भरमा नेता भएका हुन् । कमरेडहरूले बालेको आगोमा एक दर्जनको ज्यान गयो । कतिको धरपकड भयो । कतिले यातना भोगे । कतिका आङमा त्यसबेला लागेका घाउमा आजका मितिसम्म पनि पाप्रा नजमेर थिलथिलै छन् । 

त्यसबेला यी सबैको सपना उही थियो ः सामन्ती मालिकहरूबाट खोसेर जग्गा गरिब किसानको हातमा दिने, सामन्ती राज्यसत्ताको अन्त्य गर्ने, नेपाली जनतालाई मुक्ति दिने । उही विभेदरहित समाजको, उही समानताको सपना । उही मानिसको पूर्ण स्वतन्त्रताको खोजी । उही लोकतन्त्रको प्रगतिशील परिभाषा । 

कालान्तरमा सीपी मैनाली आफैं संसद्का पटके जागिरे बने । अरू केही नगरे पनि, उनी आफ्नो जागिर जोगाउन समानुपातिक उम्मेदवार बनिरहनेछन् धेरै पछिसम्म । राधाकृष्ण मैनाली दरो मेरुदण्ड नभएको जेली फिसजस्ता भए । चारतिर चिप्लिँदै हिँड्ने । राजाको खोपीदेखि माओवादीको पटांगिनीसम्म । मोहनचन्द्र अधिकारी गेरु वस्त्रधारी बैरागी बने । उनका समकालीनले धेरैअघि उनलाई नेल्सन मन्डेला भन्ने गर्थे । मन्डेलाको देहान्त हुँदा, कुनै नेपालीले मोहनचन्द्रको खोजखबर गरेको मलाई सम्झना छैन । नक्सलबारीमा जस्तै आजकल सुखानी जंगलको बतासमा पनि ती तुहिएका सपनाको गन्ध मिसिएको हुनुपर्छ । तर, सीपीको चाबहिलको महलसम्म त्यो बतास पुग्दैन । राधाकृष्णको जेली फिस अवतारलाई त्यो गन्धले छुँदैन । उनको आफ्नै गन्ध त्यसलाई परास्त गर्न काफी छ । मोहनचन्द्रको पवित्र चन्दन मगमगाउने गेरु वस्त्रमा त्यो गन्धको कुनै प्रभाव पर्दैन । झलनाथ र केपी ओलीहरू सुखानीतिर आउँदा अरबी अत्तर बेस्सरी छर्केर आउँदा हुन् ।

चालीस वर्ष नैराश्यको दलदलमा फँसेका कानु सन्यालले नक्सलबारी नजिकै हात्तीगिसाको झुपडीमा आत्महत्या गरे । झापाका योद्धा डिगेन्द्र राजवंशी एमालेको बल्खु दरबार अघिल्तिर पासो लागे । के तिनका सपनाहरूले पनि आत्महत्या नै गरेका हुन् ? इतिहासमा सपनाको निर्मम हत्या गर्ने प्रयास भएका छन् । सपना आफैं पासो लाग्न जान्दैन । 

माओवादीहरूले तिनै तुहिएका सपनालाई पुनःजीवन दिएको ऐलान गरे । हतियार बोके । उनीहरूको ऐलानमा महिला सामेल भए, दलित आए, जनजाति आए, र आए मधेसी । तिनले सबैका सपना माझेर एकै बनाए । बन्दुक भिरे, युद्धमा होमिए । तीनलाई पटक पटक झापा सम्झाइयो । सम्भवतः नक्सलबारी पनि सम्झाइयो । माक्र्स, लेनिन, माओहरू त सर्वव्यापी नै भइगए । 

यिनले थालेको युद्धमा हजारौँको ज्यान गयो । कतिका घाउ आलै छन् । कति शरीरभरि गोली बोकेर हिँडेकै छन् । त्यस्तै अवस्थामा युद्ध रोकेर उनीहरू राजनीतिको मूलधारमा आए । धेरै समय अल्मलिएर बिताए । त्यसपछि सत्ताको चास्नीमा भुलिए । नगर्नु पर्ने सम्झौता गरे । पहिले काठमाडौँका सुकिला मुकिलालाई लल्कारे । पछि तिनैलाई खुसी पार्ने अर्थहीन यत्न गरे । बुर्जुवा रवाफको धुनमा आफैं लट्ठिए । अनेकन् दबिएका प्रश्नहरू मूलधारको आकाशमा तरंगित तुल्याएका थिए । तर, तीनको हल खोज्ने कसरत गरेनन् । अन्ततः पार्टी फुट्यो । चुनावमा नमिठो हार बेहोरे । अहिले मुर्झाएका छन् । 

यही मौका छोपेर एकथरी मान्छे युद्धको आँधीबेहरीमा भएका यिनका गल्ती रिठ्ठो नबिराई खोज्दै छन् । पुराना फाइल खोतलेर यिनलाई अन्तर्राष्ट्रिय अदालत हेगको कठघरामा उभ्याउने प्रपञ्च बुन्दै छन् । यस्तो प्रपञ्च बुन्नेहरूले यिनलाई हाकाहाकी लल्कार्दै छन् । उताबाट प्रत्युत्तरमा निम्छरा तर्कहरू पेस हुँदै छन् । कोही भने सिँगो पार्टीको असामयिक निधनको खबर सुन्ने पर्खाइमा रमाएर बसेका छन् ।   

यसैबीच मैतीदेवीको तरकारी बजारमा भुइँमा पसल थापेर बसेको एक पूर्वछापामारले शरीरभरि गोलीका दाग देखाउँदै भने, 'मलाई टण्टलापुर घाममा पनि ठकठक काम छुट्छ । जस्तोसुकै गर्मीमा पनि ज्याकेट लगाएर हिँड्नुपर्छ ।' यी अयोग्य साबित बिरामी लडाकुको सपना फुलकोबीसँग रु. दुई र पाँचमा साटिंदै छन् । रोल्पाको हावामा तुहिएका सपनाको गन्ध कतिको बाक्लिएको छ हँ ? के लाजिम्पाट र सानेपाका महलहरूसम्म अझै यी हावाका झोँक्काहरू आइपुग्दै छन् ? 

ठीक यसैबेला नेपालमा सन् ९० को बाँसुरी बज्न थालेको छ । हिन्दुवादी पार्टीको समर्थनमा सिंगै राजधानी एकजुट भएको चुनावले देखाएको छ । पहिल्यै कमजोर राज्यका सबै अंगहरू झन् झन् कमजोर बन्दै गइरहेका छन् । शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा ठूला खेलबाडहरू भइरहेका छन् । चुरे नासिँदै गइरहेको छ । बिस्तारै बँचेखुचेका हरिया वन सकिएलान् । खोलानाला सुक्लान् । मुलुक नै बिल्कुल व्यक्तिगत बहीखाता मात्र बोकेका मान्छेहरूको कब्जामा छ । लोकतन्त्रको दुहाई दिने पार्टीहरू चुनाव जितेर सत्तामा पुगेका छन् । तर पुग्न नपाउँदै तिनले आफ्नो सनातनी विभेदको दौरा-सुरुवाल लगाए । भ्रष्टता र लापरबाहीको चुचे टोपी भिरे ।  

ठीक यसैबेला सशत्र क्रान्तिको ज्वाला दन्काउने झापा जिल्ला भारतीय मठाधीश श्री श्री रविशंकरको झन्डामुनि कथित नेपाली ढाका टोपी दिवस मनाउँछ । जग्गा प्लटिङ र बेचबिखनको दलालीमा रमाउँछ । म्यानपावर कम्पनीहरूमार्फत कमिसनको लुट मच्चाउँछ । स्कुल जाने नानीहरूको झोलामा राखेर सुपारी तस्करी गर्छ । छिटो पैसा कमाउने धन्दामा तस्करीको मोहताज पहिरिन लालायित छ मेरो झापा । नक्सलबारीको जस्तै ओसिलो गन्ध यहाँ पनि व्याप्त छ ।     

ठीक यसै बेला भारतमा हिन्दुवादीहरूको जगजगी बढ्छ । हिन्दुवादी दक्षिणपन्थी नेता नरेन्द्र मोदीले पब्लिक स्पिmयर कब्जा गर्दै छन् । जनताको काल्पनिकीको ठूलो हिस्सा उनैले लिँदै छन् । आम आदमी नामको एउटा मध्यम वर्गीय धिपधिपेले कतिको उज्यालो दिन्छ, थाहा छैन । वा त्यसको उज्यालो कतिको टिकाउ छ भन्ने यकिन पनि कसैले गर्न सक्दैन । यता आम आदमीको चर्चा चलेकै बेला उता लन्डनबाट प्रकाशित हुने नवउदारवादी पत्रिका इकोनोमिस्ट मोदीको प्रशंसामा गीत गाउँछ । उनले गुजरातमा गरेका जघन्य अपराध भुल्नुपर्छ भन्ने अर्ति बाँड्छ । हैदरावाद विश्वविद्यालयका प्रोफेसर हरगोपाल खुइय गर्दै भन्छन्, 'अब ग्लोबल नवउदारवादीहरूलाई मनमोहन सिँह र कांग्रेसले जति गर्नु थियो गरिसके भन्ने लागेको छ । उनीहरू एकपटक फासिस्ट नेतालाई प्रयोग गर्न चाहन्छन् ।' उडिसा, छत्तिसगढ र आन्द्र प्रदेशमा सीमित नक्सलवादीहरूको 'गाउँहरू कब्जा गर्दै अन्ततः दिल्ली घेर्ने' संकल्प दिनप्रतिदिन दिवास्वप्न हुँदै छ । बरु दिल्लीले नै उनीहरूलाई घेर्दै लगिरहेको खबर व्याप्त हुँदै छ । 

ठीक यसैबेला अमेरिका हरेक नागरिकको इमेल एकाउन्टको निगरानी गरिरहेको छ, फोन टेप गरिरहेको छ । शालीन राष्ट्रपति बाराक ओबामा यस्तो निगरानी बढाउनुपर्नेमा जोड दिँदै छन् । गैरकानुनी निगरानीको पोल खोलिदिने एडवार्ड स्नाउडेन उनको तारो बनेका छन् । भर्खरै टोरोन्टो एयरपोर्टको वाइफाईमार्फत क्यानडाले पनि आफ्ना जनतामाथि निगरानी बढाइरहेको खबर छापाहरूमा आएका छन् । सन् १९९२ मा रियो डि जेनेरियोमा आयोजित अर्थ समिटमा जर्ज डब्लु बुस सिनियरले छाती फुकाएर घोषणा गरेका थिए, 'अमेरिकी जीवनशैली परिवर्तन हुँदैन ।' अर्थात् अमेरिकीहरूले उपभोक्तावादलाई शिरोपर गरिरहनेछन् । त्यसमा सम्झौता गर्ने छैनन् । फलस्वरूप दुनियाँका लाखौँ मान्छेका मुखबाट हजारौँ केजी मकै खोसेर बायोग्यास बनाइयो । लेखक आदित्य निगमले गार्जियनको एक लेख उद्धृत गर्दै भनेका थिए, 'अहिले आफ्नो मोटर निर्बाध कुदाउन चाहने ८०० मिलियन मोटरधनीहरू र दुई छाक जुटाउन हम्मे पर्ने २ बिलियन मानिसहरूबीच सीमित अन्नमाथि प्रतिस्पर्धा छ ।' दुनियाँका आँखाका नानी बनेका ओबामा यो प्रतिस्पर्धामा निःसन्देह मोटर धनीको पक्षमा छन् । 

अहिलेको संसारको परिदृश्य यस्तो छ भन्ने तपाईँलाई थाहा छ  । तर पत्तो नपाएको गुह्यचाहिँ के भने यति थाहा पाइसकेपछि अब गर्ने के हो त ? कसको तरिका ठीक भन्ने ? कसका तर्कलाई सही मान्ने ? कसले गरेको राजनीतिमा भरोसा गर्ने ? बजार व्यवस्था ठीक वा समाजवादी व्यवस्था ? भएका बजारहरूले असमानता बढाउँदै छन् । बजार आफैं चरम संकटमा फँस्दै लाखौँ मानिसको ज्यान धरापमा पार्दै छ । अनि समाजवादी भनिएका मुलुकमा राज्यले के गर्दै छ ? मुठ्ठीभरको सेवा र अरूलाई हेलोहोँचो । राज्य र बजारको समदूरीमा भएको व्यवस्था कस्तो हुन्छ ? के त्यो सम्भव छ ? कि यो धर्ती अब कुनै गतिलो राजनीति र विचार नजन्माउने गरी बाँझो भइसक्यो ? प्रश्नहरू यसरी अक्करिला बन्दै छन् कि उत्तर नभेटेर सिंगो समय सिजोप|mेनिक बन्दै छ । 

यो दुनियाँमा अझ पनि देब्रे ढल्केका अर्थात् वामपन्थी विचार र आन्दोलनहरूले नै मानिसलाई स्वतन्त्र बनाउन सहयोग पुर्‍याउँछन् भन्ने विश्वास गर्नेको संख्या यथेष्ट छ । तर, विचार आफैंमा कुनै भौतिक शक्ति हुन सक्दैन जसले आफैं परिवर्तन ल्याइदेओस् । राजनीतिले विचारलाई भौतिक शक्तिमा बदल्ने हो । राजनीति गर्ने मानिसहरूले हो । के उचित विचारलाई परिवर्तनको भौतिक संवाहक बनाउने उचित मानिसहरू नजन्मने गरी यो धर्तीको बन्ध्याकरण भइसकेको हो ? मानिसले कसलाई पत्याउने, विचार भनिने कुनै अमूर्त चिजलाई वा त्यसलाई बोकेका मानिसहरूलाई ? कि त्यसरी विचार र राजनीति अथवा विचार र त्यो विचार मान्छु भन्ने मान्छेलाई छुट्याएर हेर्न मिल्दैन ? के ती एउटै हुन् ? वा तिनको छुटाछुटै अस्तित्व हुन्छ ? यदि होइनन् भने ठीक वैचारिक धरातलमा उभिएको मानिस किन उल्टो बाटो हिँड्दै छ ? सही सिद्धान्तबाट दीक्षित मानिस किन गलत काम गर्दै छ ? स्वर्गको म्याप बोकेर नर्कको बाटो नाप्दै छन् हाम्रा वामपन्थी पार्टीहरू । कि तिनले बोकेको म्याप नै नर्कको हो ? यकिन छैन, यदि यिनीहरू हिँडिरहेको बाटो नर्ककै हो भने, त्यो अहिले बाँचेको नर्कभन्दा अझ खराब हुनेछ वा राम्रो ? 

सिंगो समयको यस्तो शिजोफ्रेनियाले नराम्ररी गाँज्दै छ मान्छेलाई । त्यसैले तुहिएका सपनाको गन्ध सुँघ्न बाध्य छु म । जताततै क्लोरमफेनिकलको गन्ध व्याप्त छ, नक्सलबारी जताततै फैलिएको छ । 

अत्याचारीसँग हुने लगातारको मुठभेडले 
भरिएको छ हाम्रो अनुभव ।
यहीँ नेर एउटा बूढो माली 

हाम्रो मृत्युग्रस्त सपनामा 
फूल र आशा राखेर जान्छ । 

-गोरख पाण्डे
 

Thursday, March 6, 2014

को हुन् आम आदमी ?

आम आदमीबारे लेख्नु छ। आम आदमीको ठ्याक्कै नेपाली अनुवाद के होला? नेपाली अनुवाद नभई नहुने स्थिति छ। कारण, नेपालमा धेरैलाई तुरुन्त आम आदमीजस्तो राजनीतिक दल चाहिएको छ। कतिसम्म भने अरविन्द केजरीवालको 'क्लोन' खत्रुक्क काठमाडाँै उतार्न पाए, फूलमाला लिएर स्वागत गर्नेको जुलुस ठूलै हुने थियो। र, नेपाली अनुवाद नै किन चाहियो भने भारतको अरू सबै थोक चले पनि यहाँ हिन्दी भाषा वर्जित छ। जसै हिन्दी भाषा सुनिन्छ, तसै राष्ट्रवादको प्रेत जाग्छ। प्रेत न हो, जागेपछि अधिक क्षति नपुर्‍याई त्यो मुर्झाउँदैन। त्यसैले राष्ट्रवादी प्रेतसँग पहिल्यै माफी मागेर यो पंक्तिकार हिन्दी नाम नै चलाउँदै छ। किनभने, आम आदमीको साटो आम मानिस वा सर्वसाधारण भन्दा त्यति स्वाद आएन, आउँदैन।

आम आदमीबारे लेख्नै पर्ने अन्य कारण पनि छन्। विद्वान् नेतादेखि खुंखार ट्वीटरकर्मीसम्म आम आदमीको जपनामा लागेको याम जो छ। त्यसमाथि हाम्रा नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालामा आम आदमीका नेता अर्थात् अरविन्द केजरीवाल बन्न सक्ने सम्भावनाबारे विमर्श नै सुरु भएको छ। धेरैले त उनी केजरीवाल नबने अर्को चुनावमा उनको खैरयित नभएको बताउन पनि भ्याइसके।

तर, यो नारा उराल्नेहरूले बुझेको आम आदमी भनेका को हुन्? केजरीवालले परकिल्पना गरेको आम आदमी नै हाम्रा पनि आम आदमी हुन् त? वा, नेपाली आम आदमीको चरत्रि फरक छ? आम आदमी को हुन् त, काठमाडौँमा चौडा पारिएको सडक देखेर खुसी हुने वा सडक ठूलो वा सानो हुनुसँग चासो नभएकाहरू? वामपन्थी सरकारको आँखाको कसिंगर बनेका वाग्मती किनारका सुकुमबासी या हरेक बिहान आइफोन बोकेर मृगस्थली विचरण गर्ने मधुमेहका रोगीहरू? बिजुलीको वायरङि् देख्न नपाएका झुप्रामा बस्नेहरू हुन् कि घरमा इन्भर्टर जडान गर्नेहरू? खुला दिसा मुक्त नभइसकेका गाविसका बासिन्दा हुन् या भर्खरै खुला दिसा मुक्त क्षेत्र घोषणा गरेर सगर्व उभिएका एनजीओकर्मीहरू? अनि, श्रम गर्न विदेश जानेहरू जो लासमा परिणत भएर बाकसमा फर्किन्छन्, को हुन्?

भारतको टाइम्स अफ इन्डिया पत्रिकामा व्यंग्यचित्रकार आरके लक्ष्मणले 'कमन म्यान' अर्थात् आम आदमी शीर्षकमा कार्टुन शृंखला कोरे। उनको आम आदमी हरेक बिहान उठेर पत्रिका हेर्ने सहरयिा सर्वसाधारण थियो। लक्ष्मणकै शब्दमा, जो हरेक बिहान महँगी बढेको, कर वृद्धि भएको, आतंकवाद फैलिएको, भ्रष्टाचार सल्केको, खानेपानी अभाव भएको र विद्युत्मा लोडसेडिङ् बढेको जस्ता हेडलाइनहरूको अभिवादन चुपचाप स्वीकार्न बाध्य छ, ऊ आम आदमी हो। भारतका प्रभावशाली सञ्चारमाध्यमले व्याख्या गरेको आम आदमी लक्ष्मणले भनेजस्तै हो। अर्थात्, ती मानिस नै आम मानिस हुन्, जसको बस्ने बन्दोबस्ती भइसकेको छ तर सुविधा पुगेको छैन। उनीहरूले भनेजति अनुपातमा सडकको प्रयोग गर्न पाएका छैनन्, घरमा धारो छ तर पानी प्रशस्त खस्दैन, बिजुली जडान गरेको भए पनि पुग्दो बिजुली उपभोग गर्न पाएका छैनन्।

लक्ष्मणका आम आदमी ती होइनन्, जो मुकेश अम्बानीको गगनचुम्बी घर अघिल्तिर उभिएर 'रोटी, कपडा, और मकान'को नारा लगाइरहेका छन्। ती पनि होइनन्, जो कुनै समुदायको सदस्य भएकै कारण आफ्नो थातथलोबाट खेदिएका छन्। कार्टुनको आम आदमीमा ती आदिवासीको छायाँ छैन, जसका जग्गा कर्पोरेट जमातले खोसेको छ। जसले पेटभरि खान, आङ छोप्ने गरी लगाउन र राम्ररी ओत लाग्ने छानोसम्म पाएको छैन, उसले टाइम्स अफ इन्डिया के पढोस्? लक्ष्मणका धेरैजसो पाठक उनले कार्टुनमा कोर्ने गरेका खान-लगाउन पाएका सुकिला आम आदमी हुन्। र, तिनैका प्रतिनिधि हुन् केजरीवाल। उनलाई सघाइरहेकाहरूको दाबी के छ भने 'रोटी कपडा और मकान' नपाएर छटपटाएका जनताका पनि आशाका केन्द्र बनेका छन् केजरीवाल।

के यी दुई खाले आम आदमी एकै ठाउँमा अटाउन सम्भव हुन्छ? तर, सुरुआतका संकेतहरू त्यति सकारात्मक छैनन्। दिल्ली राज्य जसोतसो आफ्नो हातमा लिएपछि उनले सुकिला आम आदमीका लागि पानी र बिजुलीको तत्काल बन्दोबस्त गरेका छन्। तर दोषी पाइएका केही थान प्रहरीलाई निलम्बन गर्न नसक्दा उनकै सडकको बास भयो। यद्यपि, उनको त्याग र उत्साह सलाम योग्य नै थियो। तर, बिर्सन नहुने तथ्य के हो भने उनको सडक बास लामो नाटकको एक सामान्य 'प्रोलग' मात्रै हो। अब कर्पोरेट जगतसँगको लडाइँ बिस्तारै सुरु हुँदै छ। वालमार्टजस्ता बहुराष्ट्रिय कम्पनी वा भित्रैका टाटा वा अम्बानीसँग सोझो लडाइँ जसै सुरु हुन्छ, केजरीवालका सामुन्ने मात्र दुई बाटा देखा पर्नेछन्। पहिलो मैदान छोडेर भाग्ने, दोस्रो सम्झौता गर्ने। मैदान छोड्नुको परण्िााम केजरीवालको ठाउँ कि नरेन्द्र मोदीले लिन्छन् कि राहुल गान्धीले। मोदी चर्का विकासवादी, जसलाई रोटी कपडावाला आम आदमीको कुनै पर्बाह छैन। राहुलको वर्ग चरत्रिको व्याख्या गररिहन जरुरी छैन। राहुल र मोदीबीच धेरै भिन्नता खोज्ने उद्यम गर्नु नै पनि फजुल हुन्छ। र, केजरीवालले सम्झौता गरेर अघि बढ्छु भन्नु नेपालका माओवादी हुनु हो, असफल र परत्ियक्त।

नेपालमा केजरीवालको क्लोन खोजिरहेकाले आफूजस्तै आम आदमीहरूको नेताको परकिल्पना गरेका हुन्। उनीहरूले सुशील र रामशरण महतहरूमा केजरीवाल बन्ने सम्भावना देख्नु स्वाभाविक हो। सीमित मान्छेको पहुँचमा पुग्ने गरी केही विकासका कार्यक्रम ल्याउन र काठमाडौँका लागि थप केही सुविधा उपलब्ध गराउन उनीहरूलाई केजरीवाललाई जति हम्मे पनि पर्ने छैन। सुशील, केपी ओली वा महतहरूलाई प्रस्ट देखिने र सानोतिनो भ्रष्टाचार गर्नुपर्ने उति आवश्यकता पनि छैन। किनभने, पुगिसरि आउनु पनि 'लोकतान्त्रिक' नेतामा चाहिने गुण नै हो। त्यसैले यो भन्न सकिन्छ कि सुकिलाहरूको केजरीवाल बन्न उनीहरूलाई मार्ग प्रशस्त भएको छ।

तर, प्रश्न हामीलाई कस्तो केजरीवालको आवश्यकता छ भन्ने हो। वर्षौंदेखि गरबिीको मारमा पिल्सेका जनता, हस्ताक्षर गर्नसम्म नजानेर त्रिभुवन विमानस्थलमा अलमलिएका श्रमिक, जन्मबाटै अलगाव र असम्मान भोग्दै आएका, कुनै खास क्षेत्र र जातकै कारण पछि परेका दुःखीजन हाम्रा आम आदमी हुन्। तिनको आवाज बोल्ने केजरीवालहरूको उपस्थिति कति छ, संविधानसभामा? के उनीहरूको संविधान लेखनमा प्रभाव पार्न सक्ने सामथ्र्य छ? यी प्रश्न गम्भीर किन हुन् भने अहिलेलाई संसद्भन्दा संविधानसभा हाम्रा लागि बढ्ता महत्त्वको ठाउँ हो। तर, नोबेल पुरस्कार विजेता विख्यात पोलिस कवयत्री विस्लावा सिम्बोस्र्काले लेखेकी छन् ः

जस्तो कि तपाईंले देखिसक्नुभएको छ

त्यही हुन्छ,

प्रत्येकपटक त्यही हुन्छ,

सबभन्दा महत्त्वपूर्ण प्रश्नलाई

सबभन्दा निरर्थक साबित गरिन्छ । 

Wednesday, March 5, 2014

फलेन सिद्धान्त

धानको विऊ होइन रहेछ सिद्धान्त ।
मैले गलत बुझेँ कि 
तिमीले गलत सिकायौ कमरेड,
अहँ, फलेन सिद्धान्त ।

फल्छ भनेकै हुनुपर्छ तिमीले
नत्र त्यस्तो कसरी सुनेँ मैले ?
मलाई अन्पढ नसम्झ
तिम्रै सिद्धान्त बुझ्नलाई
फुटाएँ मैले अक्षर
तर,
फुटेन मेरो दुःख ।

पत्याएनौ होला तिमीले मेरा कुरा ?
स्वाभाविक हो,
आजकाल
कि तिमी पत्याउँछौ नाँग्ले पत्रिका,
कि पत्याउँछौ टेलिभीजनलाई ।

तिमीले मलाई चिनेनौ ?
फुर्सद भए ३६ सालमा तिमीलाई उपहार दिएको
"पागलको डायरी" भन्ने किताब हेर,
त्यहाँ लेखेको छु मैले मेरो नामः
उर्गेन लामा
सुम्निमा लिम्बु
पारुहांग राई
तुर्सा उराव
चक्रु राजवंशी ।

'एउटै मान्छेका यति धेरै नाम हुन्छन् ?'
अहिले यस्तै प्रश्न गरिरहेछौ ।

उसबेला त्यो किताब हेर्ने फुर्सद थिएन तिमीलाई,
माक्र्स र एँगेल्सका सँकलित रचना मात्र पढ्थ्यौ
र पढ्थ्यौ भुमिगत प्रेमीकाले लेखेको प्रेमपत्र ।
क्रान्ति अधुरै थियो कमरेड,
तिमी त्यतै व्यस्त भयौ होला ।

४६ सालमा जब तिम्रो क्रान्ति पूरा भयो,
तिम्री प्रेमीका तिम्रै श्रीमति भइन् ।
पढ्न थाल्यौ गोरखापत्र जहाँ
तिम्रै फोटा छापिएका हुन्थे र हुन्थे
तिम्रै नाममा लेखिएका भजनहरु ।

त्यसपछि "पागलको डायरी" सायद कतै हरायौ,
अहिले मलाई नै पागल करार गर्यौ ।
तर,
यो पागलले साँचो बोलिरहेछ कमरेड
अहँ, फल्दै फलेन तिम्रो सिद्धान्त ।

Monday, March 3, 2014

ओलीलाई सन्चो, लोकतन्त्र बिरामी

नेकपा एमालेले पठाएका १० मन्त्रीमध्ये ६ जनप्रतिनिधि होइनन्। चुनाव जितेर फुरुंग परेका एमालेजन मुख आँ गरेर बसिरहेका बेला, गुटको हिसाब-किताब मिलाउन जनताले चुन्न नपाएका भाग्यमानीहरू मन्त्री बन्न पुगे। अंग्रेजीमा एउटा प्रचलित भनाइ छ ः 'रब पिटर टू पे पल' (पललाई पोस्न पिटरलाई लुट)। अर्थात्, एउटालाई पोस्न अर्काको सर्वस्व सिध्याऊ। संसदीय व्यवस्थाबाट जनताको मुक्ति खोजिरहेका 'माक्र्सवादी' केपी ओली र उनको पार्टीले आफूहरूलाई भोट हालेका जनतालाई बेवकुफ बनाए, आफ्नो गुटको उद्धार गरे। द्रौपदीको सारी फुकाले, दुर्योधनको आङ छोपे। कृष्ण बन्नुपर्ने एमालेका 'समाजवादी' बुद्धिजीवीहरू निरीह रमिते भए। देश बनाउने उनीहरूको संसदीय संकल्पमा ओलीको गुटवादी कारगिरी सायद सहयोगी नै भयो। 

आफूलाई कम्युनिस्ट भन्ने पार्टीहरूले पिटर लुटेर पलको सेवा गरेको यो पहिलो घटना होइन। र, यो घटना धेरैलाई अनौठो नलागेको पनि हुन सक्छ। तर, राज्यका संस्थाहरू दिनप्रतिदिन कमजोर बन्दै गइरहेका बेला सरकार निर्माणमा अपनाइएको शैलीलाई गम्भीरतापूर्वक लिनैपर्छ। लोकतन्त्रको मेरुदण्ड भनेर व्याख्या गरिएको चुनावकै उपहास गरिएको यस्तो निर्णयलाई सजिलै बिर्सन मिल्दैन। मन्त्री बन्न पुगेका भाग्यमानीहरूले सरकारमा बसेर पुण्य गर्लान् भन्ने विश्वास गर्ने आधार छैन। कारण, उनीहरूलाई कसैप्रति उत्तरदायी बन्नुपर्ने दबाब छैन। धमिलो मुहानबाट निःसृत पानी सङ्लो होला भन्ने आश्चर्यको पर्खाइमा बस्नु बेकार छ।

सरकारमा पुगेका ग्रे कोट र दौरा-सुरुवालधारी समाजवादी, माक्र्सवादीहरू धेरैका लागि राष्ट्रिय एकताका प्रतीक होलान्। सन् '९० मै क्रान्ति पूरा भएको ठान्नेहरूलाई ग्रे कोटधारीहरूको अनुहारमा कार्ल माक्र्स र बीपी कोइरालाकै छायाँ देखा पर्दो हो। तर, २१ मध्येमा आफ्नो प्रतिनिधि खोज्ने दलितले के देख्छन् ? महिलाले के देख्छन् ? अझ महिला उम्मेदवारलाई भोट हालेर जिताउनेले के देख्छन् ? राधा ज्ञवाली नेपाली महिलाकी प्रतिनिधि हुन् कि एमाले गुटकी ? लालबाबु पण्डितलाई मधेसीको प्रतिनिधि मान्ने कि कुनै एमाले मठाधीशको भक्त ?

ग्रयान्डी अस्पतालमा उपचार गराएका ओलीलाई त सन्चो भो, जनता बिरामी भए। किनभने, सरकार निर्माणकै शैली संविधान निर्माणमा पनि दोहोरनिे डर बढ्यो। कारण, एमाले रोमन मिथक जेनसको आधुनिक नेपाली संस्करण हो। यो मिथकीय पात्र दुईमुखे हुन्छ। यसलाई ढोकाहरूको देवता पनि मानिन्छ। जताबाट पसे पनि हुने वा पसेपछि तुरुन्तै अर्को ढोकाबाट निस्केर हिँडे पनि हुने। विकासको समाजवादी मोडल अघि सार्ने एमाले राष्ट्रिय पुँजीको विस्तारमा जोड दिन्छ। तर, करोडौँ रुपियाँ कर छल्ने ठालूहरूको सेवामा दिनरात धुनष्टंकारति रहन्छ। समानुपातिक उम्मेदवारका लागि उपयुक्त पात्रहरू तिनै कर छलेर अर्बपति भएकाहरू मात्रै देख्छ। कमिसनखोर र बेइमान ठेकेदारका सुरक्षाकवच प्रायः उसैका समाजवादी नेताहरू छन्। पस्दा समाजवादी ढोकाबाट, निस्कँदाचाहिँ ऊ पत्रु पँुजीवादी ढोका सगर्व प्रयोग गर्छ। 

उसले पैरवी गर्ने आर्थिक क्रियाकलाप हेर्‍यो भने लाग्छ ऊ 'टि्रकल डाउन' सिद्धान्तमा विश्वास गर्छ। पुँजीपतिहरू मज्जाले पोसेर उब्रेको थोरै आनासुका चुहिएर तल पुग्छ र त्यही सोहोरेर जनता धनी बनिहाल्छन्। जोन केन्नेथ गेलब्रेइथले यस्तो सिद्धान्तलाई व्यंग्य गर्दै भनेका थिए, 'घोडालाई टन्न जौ देऊ, अलि अलि छरिएर बाटामा पुगेका जौका दाना खाएर अघाउँछन् भँगेराहरू।' ठीक त्यसै गरी एमाले अर्थशास्त्रीहरू अहिले अर्बपतिहरूलाई टन्न जौ दिन चाहन्छन् ताकि छरिएर रहेका थोरै जौ गरबि नेपालीले पाऊन्। उनीहरूलाई लाग्छ, छरिएर आएका जौ हात लागेपछि दुःखी नेपाली मनुवाले अरब गएर लास बनेर फर्किनु पर्दैन। 

जेनस मुखे एमाले आफूलाई संघीयताप्रति प्रतिबद्ध बताउँछ। तर, संघीयताको माग जुन पृष्ठभूमिबाट उठ्यो, त्यो पृष्ठभूमि उसको माक्र्सवाद र वर्ग संघर्षमा कतै मेल खाँदैन। त्यो माग उठाउनेहरूलाई वर्ग संघर्षका 'जार्गन'हरू थाहा नभएकामा ऊ खिसी गर्छ। गैरवर्गीय आन्दोलनहरूसँग उसले कुनै सैद्धान्तिक अन्तरक्रिया गर्नुपर्ने आवश्यकता देख्दैन। भोलि कसैले वातावरणीय भाष्यमा चुरे जोगाऊ आन्दोलन सुरु गरहिाल्यो भने ऊ त्यसलाई वर्ग संघर्ष मास्ने आन्दोलनका रूपमा व्याख्या गर्न तल्लीन हुन्छ। जस्तो ः भारतमा नर्मदा बचाऊ आन्दोलनमा लागेका मेधा पाटकरहरूलाई भाकपा माक्र्सवादीले जहिल्यै पराइ ठानिरह्यो। कुनै दिन हाम्रोमा पाटकरहरूको जन्म भयो भने हाम्रो जेनस मुखे एमालेको कुनै मुखले पनि तिनलाई स्वीकार्न सक्दैन। त्यसैले अहिले एउटा ढोकाबाट संघीयतामा पसेको एमाले अर्कोबाट निस्कन खोज्दै एक दिन 'संघीयता भनेको केवल प्रशासनिक विकेन्द्रीकरण हो, यसमा पहिचान जोड्नु भनेको विखण्डनको तानाबाना बुन्नु हो' भन्ने टुंगोमा पुग्नेछ। महेन्द्र माला पढेर हुर्केका उसका युवा नेताहरू जेनसको यो मुखमा मुख मिलाएर 'श्रीमान् गम्भीर नेपाली' गुनगुनाइरहन्छन्। गुटवादमा ओलीसँग परास्त यी निरीहजन वैकल्पिक राजनीतिको कुनै गुन्जायस देख्दैनन्। 

एमालेको हविगत यस्तो भइरहेका बेला अन्य वामपन्थीहरूले गाइरहेको गीत पनि कत्ति सुन्दर छैन। एक बार सत्तामा पुगेको एमाओवादी पनि टि्रकल डाउनको मेहेरोमा फसेर आफैँ सत्ताबाट नराम्ररी चुहियो। चुनावमा पाएको धक्काले मुर्झाएको ऊ कहिले मोहन वैद्यलाई फकाउन पुग्छ त कहिले सुशील कोइरालाको फेर समाउन। उसका विद्वान् नेता बेकामे गनगनमा व्यस्त छन्। तिनका झीँझोलाग्दा गनगन पनि बजारका 'पपुलर' ठट्टामा परण्िात भएका छन्। आफूलाई संसदीय भासबाट अलग्ग देख्नेहरू अनेक खाले भासमा डुब्दै जान थालेको विद्रुप अवस्था हेर्नु परेको छ। कुलिन सत्ता र संस्थापनलाई चुनौती दिन सक्ने वैकल्पिक शक्ति बन्ने सपना सायद त्यही एकोहोरो गनगनमा कतै हराउन थालिसक्यो। ओलीलाई सन्चो भएका बखत बाबुराम भट्टराई र प्रचण्डहरूलाई गनगने रोग लागेको छ। 

हाम्रा राजनीतिक दलले अहिलेसम्म निरन्तर गरेको एक मात्र कर्म मुलुक हाँक्ने सबै संस्थाहरूलाई तन्नम तुल्याउनु हो। लोकतन्त्रमा जनताको वृहत्तर हितमा काम गर्नुपर्ने संस्थाहरूलाई धराशयी बनाउनु भनेको जनताकै मतलाई तिरष्कार गर्नु पनि हो। खासमा यही नै उनीहरूको मुख्य उद्यम बन्दै छ। गैरसांसदलाई मन्त्रीको उपहार सुम्पनु त्यही उद्यमको सग्लो उदाहरण हो। ओली र उनको पार्टी एमाले यसैमा सन्चो मानिरहेको छ।