Monday, March 3, 2014

ओलीलाई सन्चो, लोकतन्त्र बिरामी

नेकपा एमालेले पठाएका १० मन्त्रीमध्ये ६ जनप्रतिनिधि होइनन्। चुनाव जितेर फुरुंग परेका एमालेजन मुख आँ गरेर बसिरहेका बेला, गुटको हिसाब-किताब मिलाउन जनताले चुन्न नपाएका भाग्यमानीहरू मन्त्री बन्न पुगे। अंग्रेजीमा एउटा प्रचलित भनाइ छ ः 'रब पिटर टू पे पल' (पललाई पोस्न पिटरलाई लुट)। अर्थात्, एउटालाई पोस्न अर्काको सर्वस्व सिध्याऊ। संसदीय व्यवस्थाबाट जनताको मुक्ति खोजिरहेका 'माक्र्सवादी' केपी ओली र उनको पार्टीले आफूहरूलाई भोट हालेका जनतालाई बेवकुफ बनाए, आफ्नो गुटको उद्धार गरे। द्रौपदीको सारी फुकाले, दुर्योधनको आङ छोपे। कृष्ण बन्नुपर्ने एमालेका 'समाजवादी' बुद्धिजीवीहरू निरीह रमिते भए। देश बनाउने उनीहरूको संसदीय संकल्पमा ओलीको गुटवादी कारगिरी सायद सहयोगी नै भयो। 

आफूलाई कम्युनिस्ट भन्ने पार्टीहरूले पिटर लुटेर पलको सेवा गरेको यो पहिलो घटना होइन। र, यो घटना धेरैलाई अनौठो नलागेको पनि हुन सक्छ। तर, राज्यका संस्थाहरू दिनप्रतिदिन कमजोर बन्दै गइरहेका बेला सरकार निर्माणमा अपनाइएको शैलीलाई गम्भीरतापूर्वक लिनैपर्छ। लोकतन्त्रको मेरुदण्ड भनेर व्याख्या गरिएको चुनावकै उपहास गरिएको यस्तो निर्णयलाई सजिलै बिर्सन मिल्दैन। मन्त्री बन्न पुगेका भाग्यमानीहरूले सरकारमा बसेर पुण्य गर्लान् भन्ने विश्वास गर्ने आधार छैन। कारण, उनीहरूलाई कसैप्रति उत्तरदायी बन्नुपर्ने दबाब छैन। धमिलो मुहानबाट निःसृत पानी सङ्लो होला भन्ने आश्चर्यको पर्खाइमा बस्नु बेकार छ।

सरकारमा पुगेका ग्रे कोट र दौरा-सुरुवालधारी समाजवादी, माक्र्सवादीहरू धेरैका लागि राष्ट्रिय एकताका प्रतीक होलान्। सन् '९० मै क्रान्ति पूरा भएको ठान्नेहरूलाई ग्रे कोटधारीहरूको अनुहारमा कार्ल माक्र्स र बीपी कोइरालाकै छायाँ देखा पर्दो हो। तर, २१ मध्येमा आफ्नो प्रतिनिधि खोज्ने दलितले के देख्छन् ? महिलाले के देख्छन् ? अझ महिला उम्मेदवारलाई भोट हालेर जिताउनेले के देख्छन् ? राधा ज्ञवाली नेपाली महिलाकी प्रतिनिधि हुन् कि एमाले गुटकी ? लालबाबु पण्डितलाई मधेसीको प्रतिनिधि मान्ने कि कुनै एमाले मठाधीशको भक्त ?

ग्रयान्डी अस्पतालमा उपचार गराएका ओलीलाई त सन्चो भो, जनता बिरामी भए। किनभने, सरकार निर्माणकै शैली संविधान निर्माणमा पनि दोहोरनिे डर बढ्यो। कारण, एमाले रोमन मिथक जेनसको आधुनिक नेपाली संस्करण हो। यो मिथकीय पात्र दुईमुखे हुन्छ। यसलाई ढोकाहरूको देवता पनि मानिन्छ। जताबाट पसे पनि हुने वा पसेपछि तुरुन्तै अर्को ढोकाबाट निस्केर हिँडे पनि हुने। विकासको समाजवादी मोडल अघि सार्ने एमाले राष्ट्रिय पुँजीको विस्तारमा जोड दिन्छ। तर, करोडौँ रुपियाँ कर छल्ने ठालूहरूको सेवामा दिनरात धुनष्टंकारति रहन्छ। समानुपातिक उम्मेदवारका लागि उपयुक्त पात्रहरू तिनै कर छलेर अर्बपति भएकाहरू मात्रै देख्छ। कमिसनखोर र बेइमान ठेकेदारका सुरक्षाकवच प्रायः उसैका समाजवादी नेताहरू छन्। पस्दा समाजवादी ढोकाबाट, निस्कँदाचाहिँ ऊ पत्रु पँुजीवादी ढोका सगर्व प्रयोग गर्छ। 

उसले पैरवी गर्ने आर्थिक क्रियाकलाप हेर्‍यो भने लाग्छ ऊ 'टि्रकल डाउन' सिद्धान्तमा विश्वास गर्छ। पुँजीपतिहरू मज्जाले पोसेर उब्रेको थोरै आनासुका चुहिएर तल पुग्छ र त्यही सोहोरेर जनता धनी बनिहाल्छन्। जोन केन्नेथ गेलब्रेइथले यस्तो सिद्धान्तलाई व्यंग्य गर्दै भनेका थिए, 'घोडालाई टन्न जौ देऊ, अलि अलि छरिएर बाटामा पुगेका जौका दाना खाएर अघाउँछन् भँगेराहरू।' ठीक त्यसै गरी एमाले अर्थशास्त्रीहरू अहिले अर्बपतिहरूलाई टन्न जौ दिन चाहन्छन् ताकि छरिएर रहेका थोरै जौ गरबि नेपालीले पाऊन्। उनीहरूलाई लाग्छ, छरिएर आएका जौ हात लागेपछि दुःखी नेपाली मनुवाले अरब गएर लास बनेर फर्किनु पर्दैन। 

जेनस मुखे एमाले आफूलाई संघीयताप्रति प्रतिबद्ध बताउँछ। तर, संघीयताको माग जुन पृष्ठभूमिबाट उठ्यो, त्यो पृष्ठभूमि उसको माक्र्सवाद र वर्ग संघर्षमा कतै मेल खाँदैन। त्यो माग उठाउनेहरूलाई वर्ग संघर्षका 'जार्गन'हरू थाहा नभएकामा ऊ खिसी गर्छ। गैरवर्गीय आन्दोलनहरूसँग उसले कुनै सैद्धान्तिक अन्तरक्रिया गर्नुपर्ने आवश्यकता देख्दैन। भोलि कसैले वातावरणीय भाष्यमा चुरे जोगाऊ आन्दोलन सुरु गरहिाल्यो भने ऊ त्यसलाई वर्ग संघर्ष मास्ने आन्दोलनका रूपमा व्याख्या गर्न तल्लीन हुन्छ। जस्तो ः भारतमा नर्मदा बचाऊ आन्दोलनमा लागेका मेधा पाटकरहरूलाई भाकपा माक्र्सवादीले जहिल्यै पराइ ठानिरह्यो। कुनै दिन हाम्रोमा पाटकरहरूको जन्म भयो भने हाम्रो जेनस मुखे एमालेको कुनै मुखले पनि तिनलाई स्वीकार्न सक्दैन। त्यसैले अहिले एउटा ढोकाबाट संघीयतामा पसेको एमाले अर्कोबाट निस्कन खोज्दै एक दिन 'संघीयता भनेको केवल प्रशासनिक विकेन्द्रीकरण हो, यसमा पहिचान जोड्नु भनेको विखण्डनको तानाबाना बुन्नु हो' भन्ने टुंगोमा पुग्नेछ। महेन्द्र माला पढेर हुर्केका उसका युवा नेताहरू जेनसको यो मुखमा मुख मिलाएर 'श्रीमान् गम्भीर नेपाली' गुनगुनाइरहन्छन्। गुटवादमा ओलीसँग परास्त यी निरीहजन वैकल्पिक राजनीतिको कुनै गुन्जायस देख्दैनन्। 

एमालेको हविगत यस्तो भइरहेका बेला अन्य वामपन्थीहरूले गाइरहेको गीत पनि कत्ति सुन्दर छैन। एक बार सत्तामा पुगेको एमाओवादी पनि टि्रकल डाउनको मेहेरोमा फसेर आफैँ सत्ताबाट नराम्ररी चुहियो। चुनावमा पाएको धक्काले मुर्झाएको ऊ कहिले मोहन वैद्यलाई फकाउन पुग्छ त कहिले सुशील कोइरालाको फेर समाउन। उसका विद्वान् नेता बेकामे गनगनमा व्यस्त छन्। तिनका झीँझोलाग्दा गनगन पनि बजारका 'पपुलर' ठट्टामा परण्िात भएका छन्। आफूलाई संसदीय भासबाट अलग्ग देख्नेहरू अनेक खाले भासमा डुब्दै जान थालेको विद्रुप अवस्था हेर्नु परेको छ। कुलिन सत्ता र संस्थापनलाई चुनौती दिन सक्ने वैकल्पिक शक्ति बन्ने सपना सायद त्यही एकोहोरो गनगनमा कतै हराउन थालिसक्यो। ओलीलाई सन्चो भएका बखत बाबुराम भट्टराई र प्रचण्डहरूलाई गनगने रोग लागेको छ। 

हाम्रा राजनीतिक दलले अहिलेसम्म निरन्तर गरेको एक मात्र कर्म मुलुक हाँक्ने सबै संस्थाहरूलाई तन्नम तुल्याउनु हो। लोकतन्त्रमा जनताको वृहत्तर हितमा काम गर्नुपर्ने संस्थाहरूलाई धराशयी बनाउनु भनेको जनताकै मतलाई तिरष्कार गर्नु पनि हो। खासमा यही नै उनीहरूको मुख्य उद्यम बन्दै छ। गैरसांसदलाई मन्त्रीको उपहार सुम्पनु त्यही उद्यमको सग्लो उदाहरण हो। ओली र उनको पार्टी एमाले यसैमा सन्चो मानिरहेको छ।

0 comments:

Post a Comment