Wednesday, March 5, 2014

फलेन सिद्धान्त

धानको विऊ होइन रहेछ सिद्धान्त ।
मैले गलत बुझेँ कि 
तिमीले गलत सिकायौ कमरेड,
अहँ, फलेन सिद्धान्त ।

फल्छ भनेकै हुनुपर्छ तिमीले
नत्र त्यस्तो कसरी सुनेँ मैले ?
मलाई अन्पढ नसम्झ
तिम्रै सिद्धान्त बुझ्नलाई
फुटाएँ मैले अक्षर
तर,
फुटेन मेरो दुःख ।

पत्याएनौ होला तिमीले मेरा कुरा ?
स्वाभाविक हो,
आजकाल
कि तिमी पत्याउँछौ नाँग्ले पत्रिका,
कि पत्याउँछौ टेलिभीजनलाई ।

तिमीले मलाई चिनेनौ ?
फुर्सद भए ३६ सालमा तिमीलाई उपहार दिएको
"पागलको डायरी" भन्ने किताब हेर,
त्यहाँ लेखेको छु मैले मेरो नामः
उर्गेन लामा
सुम्निमा लिम्बु
पारुहांग राई
तुर्सा उराव
चक्रु राजवंशी ।

'एउटै मान्छेका यति धेरै नाम हुन्छन् ?'
अहिले यस्तै प्रश्न गरिरहेछौ ।

उसबेला त्यो किताब हेर्ने फुर्सद थिएन तिमीलाई,
माक्र्स र एँगेल्सका सँकलित रचना मात्र पढ्थ्यौ
र पढ्थ्यौ भुमिगत प्रेमीकाले लेखेको प्रेमपत्र ।
क्रान्ति अधुरै थियो कमरेड,
तिमी त्यतै व्यस्त भयौ होला ।

४६ सालमा जब तिम्रो क्रान्ति पूरा भयो,
तिम्री प्रेमीका तिम्रै श्रीमति भइन् ।
पढ्न थाल्यौ गोरखापत्र जहाँ
तिम्रै फोटा छापिएका हुन्थे र हुन्थे
तिम्रै नाममा लेखिएका भजनहरु ।

त्यसपछि "पागलको डायरी" सायद कतै हरायौ,
अहिले मलाई नै पागल करार गर्यौ ।
तर,
यो पागलले साँचो बोलिरहेछ कमरेड
अहँ, फल्दै फलेन तिम्रो सिद्धान्त ।

0 comments:

Post a Comment