जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ ।

आक्रोशले उमालेको कफी

कम्तीमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा किताब र कफीलाई दिने सुबिस्ता सबैलाई पुगोस् भन्नका लागि मसँग नेपाली र अंग्रेजी दुईटा भाषा छन् । शासकहरूसँग कति नाले बन्दुक छन् ?

Wednesday, October 31, 2018

मधुशाला













नीकोटीनले पहेँलीएका ती औँलाहरु
कसका हुन ?
नशाले झुमेर सन्नीपात बरबराईरहने
ती को हुन ?
कसको आयोजना हो यो धुमधामको ?
कसको मदिरालय हो यो बेहिसाबको ?

‘पीडा मेँ आनन्द जिसे हो,
आए मेरी मधुशाला ।’*
कविको गीत यस्तो थियो,
प्यारोडी बनाउने त्यो को हो,
जो गाईरहेछ,
‘दुस्रों की पीडा मेँ आनन्द जिसे हो,
आए मेरी मधुशाला ।’

बाक्लो धुवाँ र प्यारोडी गीतमा मुग्ध
एकथरी कुर्सीमा ढसमस्स झुम्दैछन्
अर्काथरी भुईँमा लडेर एकोहोरो बर्बराउँदैछन् ।

कुर्सीमा बसेर तीनले जपीरहेको इष्टदेवताको अनुहार
के जोसेफ स्टालिनसंग मील्दोजुल्दो छ ?
भुईँमा लडेकाहरु तन्द्रामा कोसँग बात मार्दैछन्,
के त्यो महेन्द्र शाह नै हो ?

के यो डढेको सुर्ती र रक्सीकै गन्ध हो ?

छर्लंग छ,
यो धुमधामको मधुशालामा
एक दर्जन रकमीहरु,
हजारौंका सपना डढाएर बेहिसाब फुक्दैछन्
लाखौंका संवेदना नीचोरेर एकोहोरो पसिना र आँसु पीउँदैछन् ।

तर, यो दुनियाँ पत्तो नपाएको ढोंग गर्छ,
म यो के लेखिरहेछु,
कल्पना वा तथ्य ?
कविता वा ईतिहास ?

Saturday, October 6, 2018

स्टालिनवादी अरिंगाल

उज्ज्वल प्रसाई / सन् २००७ को घटना हो । तिनताक भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) अर्थात सीपीआईएम पश्चिम बंगालको शासक पार्टी थियो । पार्टी सञ्चालन एवं राजनीतिक चीन्तनमा ऊ स्टालिनवादी थियो । नवउदारवाद उसको आर्थिक नीति थियो ।

‘विकास’का लागि उसले इन्डोनेसियाली कम्पनी सलिम ग्रुपलाई चौध सय एकड जमिन दिने सम्झौता गर्‍यो । स्पेसल इकोनोमिक जोन (एसईजेड) बनाएर सो जमिनमा सलिम ग्रुपलाई व्यापार गर्ने बन्दोबस्त मिलाउन मेदिनीपुर जिल्लाको नन्दीग्राम ब्लक उसको छनोटमा पर्‍यो ।

गरिब मुसलमान किसानको बाहुल्य भएको नन्दीग्राममा सलिम ग्रुप केमिकल हब निर्माण गर्न चाहन्थ्यो । त्यसका लागि ठूलो संख्यामा नन्दीग्रामबासीलाई विस्थापित गर्नुपर्ने भयो । किसानको भूमि कर्पोरेटको जिम्मा लगाउने तत्कालीन राज्य सरकारको एकलौटी निर्णय थियो । सो निर्णयमा पुग्नुअघि नन्दीग्रामबासीसँग कुनै परामर्श गरेन । भूमिमा आधारित भएर जीवन निर्वाह गरिरहेकाबाट सम्मति लिएन । किसान र मजदुरको पार्टी भएको दाबी गर्ने सीपीआईएम नेतृत्वले आफ्नो निर्णय स्वत: किसानको निर्णय हुने निक्र्योल गर्‍यो ।

बंगाल सरकारले कर्पोरेटसँग गरेको साँठगाँठबारे सूचना फैलिएपछि नन्दीग्रामका किसान भूमि बचाउन आन्दोलित भए । ‘भूमि उच्छेद प्रतिरोध कमिटी’ गठन गरे । सो कमिटीमा नक्सलवादी नेता–कार्यकर्ताको सहभागिता थियो भने कतिपय सक्रिय आन्दोलनकारी तृणमूल कांग्रेस निकट थिए । आन्दोलनलाई स्वतन्त्र वामपन्थी बुद्धिजीवी, लेखक तथा अभियन्ताले समर्थन गरे ।

मजाक होइन संसद्

उज्ज्वल प्रसाई / संसद ठट्टा गर्ने मञ्च होइन । सबैभन्दा जिम्मेवार मानिएको एवं मुलुक हाँक्ने अख्तियारी पाएको नेताले संसद्लाई मजाक बनाउनु शोभनीय हुँदैन । तर गम्भीर मञ्चबाट सिंगो मुलुकलाई सम्बोधन गर्न उभिएको जिम्मेवार मान्छेले हरेक सवाललाई रेला बनाइरहेको छ ।

जीवनमा ठट्टा जरुरी हुन्छ, तर त्यसका लागि उपयुक्त ठाउँ र समय हुन्छ । स्थान, समय र परिस्थिति बुझेर काम नगर्ने मानिसलाई गम्भीर जिम्मेवारी सुम्पिनु खतरनाक हुन्छ । नेपाल अहिले त्यही खतराको सामना गरिरहेको छ ।

आज मौजुद संसदीय गणतन्त्र हिजो सपनामात्र थियो । हिजोको असम्भवप्राय: लाग्ने सपनालाई आजको यथार्थमा बदल्न धेरै नागरिकले आफ्नो समय, बुद्धि र ज्यान लगानी गरे । असंख्य चुनौती सामना गरेर ल्याएको व्यवस्थामा सार्वभौम भनिएका नागरिक आफ्ना छोरी बलात्कृत भएर मारिएकामा सडकमा न्यायको याचना गर्दैछन् ।

सामाजिक विभेद भोगेका कतिले बलात्कृत हुँदै मारिएका आफ्ना सन्तानका लागि सडकसम्म पुग्ने हिम्मत जुटाउनसकेका छैनन् । विरोध गर्न साहस जुटाएकालाई कि गोली दागिएको छ, कि थुनिएको छ । थुनिएकै ठाउँमा ज्यान अल्पिँदै गर्दासमेत बेवास्ता गरिएको छ । बोल्न र लेख्न पाउने अधिकारका लागि लडेकाहरू बोलेकै कारण कैद भुक्तान गरिरहेका छन् । प्रकोपका मारमा परेका आधारभूत तहका नागरिक परित्यक्त छन् ।