Wednesday, October 31, 2018

मधुशाला













नीकोटीनले पहेँलीएका ती औँलाहरु
कसका हुन ?
नशाले झुमेर सन्नीपात बरबराईरहने
ती को हुन ?
कसको आयोजना हो यो धुमधामको ?
कसको मदिरालय हो यो बेहिसाबको ?

‘पीडा मेँ आनन्द जिसे हो,
आए मेरी मधुशाला ।’*
कविको गीत यस्तो थियो,
प्यारोडी बनाउने त्यो को हो,
जो गाईरहेछ,
‘दुस्रों की पीडा मेँ आनन्द जिसे हो,
आए मेरी मधुशाला ।’

बाक्लो धुवाँ र प्यारोडी गीतमा मुग्ध
एकथरी कुर्सीमा ढसमस्स झुम्दैछन्
अर्काथरी भुईँमा लडेर एकोहोरो बर्बराउँदैछन् ।

कुर्सीमा बसेर तीनले जपीरहेको इष्टदेवताको अनुहार
के जोसेफ स्टालिनसंग मील्दोजुल्दो छ ?
भुईँमा लडेकाहरु तन्द्रामा कोसँग बात मार्दैछन्,
के त्यो महेन्द्र शाह नै हो ?

के यो डढेको सुर्ती र रक्सीकै गन्ध हो ?

छर्लंग छ,
यो धुमधामको मधुशालामा
एक दर्जन रकमीहरु,
हजारौंका सपना डढाएर बेहिसाब फुक्दैछन्
लाखौंका संवेदना नीचोरेर एकोहोरो पसिना र आँसु पीउँदैछन् ।

तर, यो दुनियाँ पत्तो नपाएको ढोंग गर्छ,
म यो के लेखिरहेछु,
कल्पना वा तथ्य ?
कविता वा ईतिहास ?

0 comments:

Post a Comment