पछिल्लो समय अखबारहरूमार्फत नयाँ शक्तिको खोजी शीर्षकमा भैरहेका विचार विनिमयको धेरै लेम्यान ग्राहकहरू छन् । जिन्दगीका आफ्नै उहापोहमा जेलिएका मान्छेलाई यो रमित हेर्ने फुर्सद कम हुन्छ, सहभागी हुने त ल्याकत नै हुँदैन । थोरै पढालिखा बेरोजगार वा कम रोजगारहरूको चिया गफमा भने यो बहस पुगेको हुनसक्छ । बुझाइका आआफ्ना सीमितताहरूमा जमेर नेपाली अखबार पढ्नेहरू नयाँ शक्तिबारे बहस गरिरहेका होलान् । तिनै लेम्यान ग्राहकका हजार सीमितताभित्र रहेर नयाँ शक्तिबारे केही टिप्पणी गर्ने नै जमर्को हो यो पनि ।
पंक्तिकारले बुझेको सपाट सत्य के हो भने राजनीतिको कुनै ग्रे ग्राउन्ड हुँदैन । अर्थात तपाईं राजनीतिक शक्तिको सवाल उठाउँदै हुनुहुन्छ भने त्यहाँ पक्षधरता अवश्यम्भावी हुन्छ । कसको समर्थनमा, कसका लागि राजनीतिक शक्ति निर्माण गर्ने ? 'जनता' भन्नुभो भने त्यो गोलमटोल उत्तर हुनेछ । जनता कुनै होमोजेनस इकाइ होइन । कुन जनता ? भन्ने स्पष्ट उत्तर दिन नसक्नु भनेको छलछाम गर्नु हो । म कसैको पक्षधर होइन, तर म राजनीतिक शक्ति हुँ, कसैले भन्छ भने बुझ्नस् कि उसले बतासमा कवाज खेल्न खोजिरहेछ कि उसको भनाइ कपटपूर्ण छ ।
सिंगो देशको आम्दानीको लगभग ५६ प्रतिशत माथिल्ला वर्गका २० प्रतिशत मानिसका हातमा जान्छ । त्यसको पनि ठूलो अंश १० प्रतिशतको कब्जामा छ । केही खास जाति, क्षेत्र, र समूहका मानिस अन्य जाति, क्षेत्र र समूहका भन्दा धेरै शक्तिशाली छन् र सुखसुविधामा छन् । नेपाली समाजको विभेदका भर्टिकल र होरिजोन्टल रेखाहरू कोरेर एउटा ग्राफ तयार गर्नुस्, तपाईंको नयाँ शक्ति कहाँनेर उभिन्छ भन्ने कोअर्डिनेट प्वाइन्ट त्यही ग्राफमा देखिन्छ । यो प्वाइन्ट नै तपाईंको सिद्धान्त वा विश्व दृष्टिकोण हुनेछ । जार्गन भनेकै सिद्धान्त हो भन्ने भ्रम कसैलाई भए, त्यो अर्कै कुरा । नत्र लोकतन्त्रवादीजस्तो गोलमटोल उत्तर दिनु त्यो ग्राफमा तपाईंको आफ्नो कोअर्डिनेट प्वाइन्ट देखाउन नखोज्नु हो । त्यसो त महेन्द्रदेखि ज्ञानेन्द्रसम्म सबैले आफूलाई लोकतन्त्रवादी नै हुँ भने । गाउँ-गाउँमा जनताका हातबाट तितेपातीका पात बटुल्दै हिँडेका ज्ञानेन्द्रले धारो र स्कुल बनाइदिने परोपकारवाद पनि देखाएकै हुन् । आफ्नो सक्कली पहिचान लुकाएर भ्रमकै खेती गर्ने हो भने लामो समयदेखि शक्तिमा रहेर हालिमुहाली गर्दै आएकाहरूले गरेको त्यही हो । यसर्थ यस्तो नयाँ शक्ति कुनै मानेमा फरक हुने छैन । निरपेक्ष विकासका एकोहोरो नारा दिएर छद्मभेषी खेल खेल्ने हो भने त्यस्तो नयाँ शक्ति नबनाएर दुःखी जनतालाई सहयोग गर्नु भलो हुनेछ ।
नयाँ शक्तिको बहसका एक जोदाहा लेखक रविन्द्र मिश्रले भारतीय नेता नरेन्द्र मोदीको दुहाइ दिएर उनले कुनै सिद्धान्तको गफ नगरी गुजरातलाई विकासको नमुना बनाएको उदाहरण दिए । 'सिद्धान्त चाहिँदैन, राम्रो मन भए पुग्छ' भन्ने दलिल पेस गर्न दिइएको वाक्य आफैंमा एउटा स्पष्ट विश्व दृष्टिकोण बोकेको सैद्धान्तिक वाक्य हो । मोदी सबभन्दा बढी सिद्धान्तको शुद्धताको पक्षधर हुन् । उनको सिद्धान्त भनेकै दक्षिणपन्थी हिन्दुवाद हो । भारतीय पत्रकार शंकरशन ठाकुरले मोदीको परिचय यसरी दिएका छन् ः 'तपाईं मोदीलाई साम्प्रदायिक कट्टरपन्थी धर्मान्ध भन्नुस्, उनी त्यसलाई प्रशंसाका रूपमा लिन्छन् । त्यही कट्टरपन्थ र साम्प्रदायिकताको ब्याज आफ्नो छातीमा टाँस्न चाहन्छन् उनी । शक्तिमा पुग्नका लागि उनको टिकट नै त्यही हो ।' मोदीको सिद्धान्तबारे योभन्दा सटिक व्याख्या अरु केही हुँदैन ।
अब मोदीले गरेको भनिएको विकासका केही पहेलीहरू पनि खुट्याउँ । गुजरातको विकास निजी कर्पोरेटले निजी कर्पोरेटका लागि र केही सय मानिसको सर्वोपरी हितका लागि खन्याएको पैसाको तुजुकमात्र हो । केही सहरकेन्दि्रत बाटाघाटा, ठूला महल र रेललाइनहरू विस्तार नभएका होइनन् । तर त्यो विकासले तल्ला वर्गको मान्छेको जीवनमा एकरत्ति परिवर्तन ल्याएको छैन । सेड्युल काष्ट र सेड्युल ट्राइब भनिने तल्लो जातिका मान्छेको स्थिति नाजुक बन्दै गएको पछिल्ला तथ्याङ्कहरूले देखाएका छन् । चुनावी सभाहरूमा मोदीले हात हल्लाइ-हल्लाइ दिएको भाषण विलकुल कपोलकल्पित गफ हुन् भन्ने प्रमाणित गरेर धेरैले लेखिसकेकै छन् । ती मध्येका एक विद्वान अनुसन्धाता क्रिस्टोफर जेफरलट यसो भन्छन् ः 'मोदीका नीतिले पछिल्लो दस वर्षमा सबभन्दा बढी फाइदा सहरिया मध्यम वर्गलाई पुर्यायो । सामाजिक ध्रुवीकरणको नमुनाका रूपमा गुजरातको विकास भएको छ । गुजरातका गाउँमा सन् २००२ मा २३.३९ लाख मानिस गरिबीको रेखामुनि थिए भने सन् २०१२ मा आइपुग्दा गरिबीको रेखामुनि भएका मानिसहरूको संख्या ३०.४९ लाख पुगेको छ । गाउँका ११ लाख घरधुरीमा ९ लाख घरधुरी बिजुलीको वाइरिङविहीन छन् ।' यी त केही फुटकर तथ्याङ्क भए । विकासको आततायी अनुहार देखाउन यो लेखमा सम्भव छैन । गुजरातको विकासको दारुण कथा थाहा पाउन अतुल सुदले सम्पादन गरेको 'पोभर्टी एमिड्स्ट प्रोस्पेरिटी ः एसेज अन द ट्रेजेक्टरी अफ डेभलपमेन्ट इन गुजरात' पढे पनि पुग्छ । त्यति फुर्सद नभए यो किताबको नाम नै गुजरातमा भएको विकासको चरित्र कस्तो थियो भन्ने अनुमान लगाउन काफी छ ।
यदि नेपालमा बनाउन खोजिएको यो नयाँ शक्तिले गुजरातको विकासको मोडल पछ्याउने हो वा मोदीलाई उदाहरण मान्ने हो भने यो शक्ति बन्नु अगावै यसको क्रूरता अनुमान गर्न सकिन्छ । यो शक्तिका अवधारणा प्रस्तुत गर्नेले सिद्धान्त नचाहिने दलिल दिए पनि तिनको दक्षिणपन्थी सिद्धान्तको खुट्टी स्पष्ट देखिएको छ । यदि त्यसलाई 'सिद्धान्त' होइन 'नीति' भन्ने हो भने पनि सहजै बुझ्न सकिन्छ, त्यो सुखसुविधामा बसेका केही सहरिया मध्यम वर्गको सेवा गर्ने र गरिबलाई अझ गरिब बनाउने र सिमान्तका जनतालाई त्यसभन्दा पर धकेल्ने नीति नै हो ।
ठीक हो, समाजवादको डिङ हाँकेर नवउदारवादी बाटो हिँड्नेको सक्दो आलोचना हुनुपर्छ । वा कम्युनिष्ट भनेर धक्कु लगाउनेले सिमान्तका जनताको अहित हुने काम गर्छन् र नीति तर्जुमा गर्छन् भने तिनलाई पनि नाङ्गो बनाउनैपर्छ । तर यसो गर्न पनि सैद्धान्तिक स्पष्टता चाहिन्छ । विश्व बैंकको सक डक्टि्रन वा अन्तर्राष्ट्रिय मुद्राकोषको संरचनागत समायोजनजस्ता घातक नीतिका पृष्ठपोषण गर्ने वा नगर्ने ? तिनका नीति नसमाती आफंै विकास गर्ने हो भने त्यसको रूपरेखा के हुने ? यस्ता अनेक जटिल प्रश्नहरूको उत्तर खोज्नलाई सैद्धान्तिक स्पष्टता नै चाहिन्छ । यस मानेमा पनि मोदी स्पष्ट थिए । उनले विश्व बैंक र आईएमएफलाई खुला छोडिदिए । कर्पोरेटलाई मनपरी गर्न छुट दिए । नयाँ शक्तिले मोदीलाई उदाहरण मान्ने हो भने माथि भनिएका अन्तर्राष्ट्रिय वित्तीय संस्थाका सबै सर्त खुरुखुरु मानेर विकासको नाममा ठूलो दलाली अकण्टक चलाउनेछ भन्नेमा दुईमत हुने छैन ।
नयाँ शक्तिका प्रबर्तकले एमालेलाई सैद्धान्तिक गफमा भुलिएको र माओवादीले सिद्धान्तको रंग पत्ता नलगाएको भन्नलाई मोदीको दक्षिणपन्थभन्दा अरु कुनै सिद्धान्त सहायक नठानेको आभाष हुन्छ । एकातिर मोदीको उदाहरण दिने र अर्कातिर नेपाली कांग्रेसले उदारवाद भित्र्याएको चिन्ता व्यक्त गर्नेहरू बरु आफंै सैद्धान्तिक भुलभुलैयामा नराम्ररी फँसेको देखिन्छ । यस्तो भुलभुलैयाबाट उत्पत्ति हुने नयाँ शक्तिले सबभन्दा बढी जनतालाई गुमराहमा राख्नेछ । यदि यस्तो शक्तिको उदय भयोे भने पनि त्यो कर्पोरेटहरूले देखावाका लागि गर्ने कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटीको नाटकभन्दा बढ्ता केही हुने छैन । अर्थात सत्तामा नपुगुन्जेल चिल्ला कुरा गर्ने, रामराज्यको सपना बाँड्ने, भ्रष्टाचार गर्नु हुँदैन भन्ने मन्त्रोच्चारण गर्न लगाउने, विकासको गफ अहोरात्र गरिरहने र केही चर्चित अनुहारहरू स्टेजमा राखेर प्रहसनहरू मञ्चन गर्ने । यदि केही गरी सत्तामा पुगिहाल्यो भने माथि भनिएको जस्तो सुकिलो दलाल हुने । यसभन्दा फरक हो भने नेपाली समाजको विभेदको ग्राफमा आफ्नो कोअर्डिनेट प्वाइन्ट तय गर्नुस् र स्पष्ट बताउनुस् । तर अप्ठ्यारो त फेरि यहींनेर पर्न आउँछ, त्यसो गर्नलाई सिद्धान्त चाहिन्छ, जो यो शक्तिको प्रबर्तकको शब्दकोशमा छँदै छैन ।
ekantipur.com/np/2071/1/1