Monday, March 10, 2014

जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ । यस्तो सवालको जवाफ खोज्नु शिजोफ्रेनियाबाट ग्रस्त हुने खतरा मोल्नु हो । जब मान्छे अक्कडा प्रश्नहरूको भारिले थिचिन थाल्छ, सायद त्यसै बखत ऊ शिजोफ्रेनिक बन्न थाल्छ । तर, आफू बाँचेको सिंगो समय नै जब सिजोपे|mनिक बनिदिन्छ, नचाहेरै हामी त्यसको सिकार हुन थाल्छौँ । सायद विद्यमान समय जहाँ म बाँचेको छु, त्यो नै उस्तो हो । समयले मलाई सपनाको गन्ध सुँघ्न बाध्य तुल्याएको छ । 

सपनाको गन्ध क्लोरमफेनिकल भन्ने औषधिको जस्तो हुँदो रहेछ । विस्मृतिमा पुगेको यो गन्ध ह्वास्स गन्हाउने गरी वर्तमानले मेरा वरिपरि फैल्याइदिएको छ । त्यो टर्रो तम्तम्याइलो क्लोरमफेनिकलको गन्ध अहिले आएर नाकमा मात्रै होइन जिब्रोमा पनि अम्लजस्तो भएर बसिरहेको छ । कि दिमागमा पनि जम्यो ? यकिन छैन तर त्यो कतै न कतै अटुट मसँगै छ । मेरा दैनन्दिनका सबै कर्मकाण्ड खुरुखुरु चलिरहेकै छन्, गन्धले ओछ्यानै पारेको होइन । तर, सोच्ने ढंगमा बढ्तै असर पार्दै छ । त्यो तीतो, अमिलो कस्तो कस्तो गन्धले गर्दा मैले दुनियाँलाई जस्तो देखिरहेको थिएँ, त्यस्तो देख्न छोडेँ । भविष्यलाई जसरी आँकलन गर्दै थिएँ, त्यो पनि पूर्णतया बदलिने छाँट छ । अहिले भने भविष्यको त्यो दृश्य अत्यन्तै धूमिल छ । कुनै वर्षौँदेखि भग्नावशेष बनेको घरमा बाँकी रहेको एउटा मात्र फ्रेम गरिएको फोटोजस्तो भएको छ भविष्यको अनुहार । गन्धको प्रभाव यति चर्को छ कि म चाहेर पनि त्यो फ्रेममा पत्रैपत्र भएर टाँसिएका धूलो पुछ्न सकिरहेको छैन । 

जब म सानो थिएँ, मैले सबभन्दा बढी सेवन गरेको औषधि नै क्लोरमफेनिकल हो । मेरो कलिलो रोगी काया अनेकन् ब्याक्टेरियाहरूको आक्रमणबाट घरीघरी थिलथिलो बन्थ्यो । ती आक्रमणहरूबाट जोगाउन मलाई डाक्टरले सारै धेरै क्लोरमफेनिकल ख्वाए । बुझ्ने हुन्जेलसम्म म क्लोरमफेनिकल सिरप पिउँथें । जब बिरामी पर्थेँ, त्यसैको गन्धले दिमाग कब्जा गर्न थाल्थ्यो । मैले कैयौँपटक त्यही गन्धका कारण भन्भनाएर बान्ता गरेको छु । मलाई क्लोरमफेनिकल प्रेसक्राइब गर्ने ती डाक्टरहरू थिए भारत पश्चिम बंगाल, नक्सलबारी बजारका ।

बिरामी परेपछि बा आमाले लैजाने नजिकको डाक्टरकहाँ हो । नजिक भन्नु नै सात किलोमिटर परको नक्सलबारी थियो । काँकरभिट्टाबाट चढेको टेम्पोभरि मलाई त्यही क्लोरमफेनिकलको गन्धले छोपिरहन्थ्यो । नक्सलबारीको शाह मेडिकलको सानो च्याम्बरमा पनि त्यही गन्ध फैलिएको हुन्थ्यो । च्याम्बरबाट निष्केपछि झन् चर्को हुन्थ्यो । चाहे आमाले तरकारी किन्ने सब्जी मन्डी होस् वा बाले मेरा लागि गन्जी किनिदिने प्रदीप क्लोथ स्टोर, सबैतिर क्लोरमफेनिकलकै गन्ध हुन्थ्यो । इलिस माछा होस् कि लालमोहन, जेमा पनि त्यही गन्ध । नक्सलबारी बजारभरि त्यही गन्ध फैलिएको हुन्थ्यो ।   

काँकरभिट्टामा हुर्केको मलाई आज आएर महसुस हुँदै छ, त्यस्तो गन्ध फैलिएको नक्सलबारीे मेचीपारिको सानो बजारको नाम मात्रै होइन रहेछ । त्यो शाह मेडिकलका गुप्ता डाक्टरको घर भएको ठाउँ मात्रै होइन रहेछ । वा हाम्रो घरमा हरेक हप्ता भित्रिने चिनी र भुजिया पाउने पसलहरू भएको ठाउँ मात्रै होइन रहेछ त्यो । बरु त्यो त कैयौँ किसानहरूका तुहिएका सपनाहरूको पनि नाम रहेछ । मलाई लाग्छ त्यो क्लोरमफेनिकलमा ती तुहिएका सपनाहरूको गन्ध पनि मिसिएको थियो । 

मलाई औषधि गर्न पुर्‍याइएको नक्सलबारीमा, त्यो उहिल्यैको भाकपा मालेकालीन १९६७ छिन्नभिन्न भइसकेको थियो । चारु मजुमदार मारिएको दशक बढी भइसकेको थियो । कानु सन्यालको गतिमा सुस्तता आइसकेको थियो । उनीहरूका हतियार सम्भवतः डकैतीमा प्रयोग भइरहेका थिए । गरिब किसानले जोत्ने खेत पाएनन् । हलो छोडेर बन्दुक समाएका उनीहरूसँग अर्को उपाय पनि केही थिएन । जसरी जाने, त्यसरी नै बन्दुकको प्रयोग गर्नु उनीहरूको बाध्यता थियो । पति मरेपछि आइमाईका चुरा ढुंगाले फुटालेर टुक्रा टुक्रा पारेजस्तो टुक्राहरूमा विभाजित बनिसकेको थियो नक्सलबारी । मसँग नक्सलबारीको सग्लो अनुहार खिच्न सक्ने सामथ्र्य थिएन उबेला । तर आज आएर लाग्छ फुंग उडेकी गरिब हिन्दु विधवाजस्ती बनेको हुँदो हो नक्सलबारी त्यसबेला । कुनै आदर्शको आभा, विद्रोहको राप, वा परिवर्तनको न्यानो, त्यहाँ केही थिएन । सायद त्यो ओसिलो नक्सलबारी तुहिएका सपनाहरूको थुप्रो बनेर बसेको थियो होला । किसान, मजदुर, महिला, पिछडिएका समुदाय, र आदिवासीका सपनाहरूको थुप्रो । परिवर्तनको खास्टो ओढ्न नपाएपछि तिनै तुहिएका सपनाहरूका कारण टाइफाइडले ग्रस्त बनेको हुँदो हो । ज्योति वसुले किसानलाई बाँडेको जग्गाले पनि त्यो टाइफाइड निको हुनेवाला थिएन । त्यसैले होला त्यहाँ चर्को गन्ध फैलिएको । सम्भवतः नन्दीग्राम र सिँगुरजस्ता ठाउँहरूबाट किसान लखेटिएपछिको समयमा त्यो गन्ध अझ विषाक्त बन्यो । अहिलेकी ममता बेनर्जीको घ्राण शक्ति कति छ, मलाई थाहा छैन । 

नक्सलबारी त्यही आन्दोलन हो जसबाट सन् ७० मा उडेका केही फिलिंगा झापामा खसे । तीनै फिलिंगा टिपेर कमरेडहरूले झापामा आगो बाले । ती सबै ब्राह्मण पुरुष थिए, पढेलेखेका जानिफकारहरू । मैनाली ब्रदर्स अर्थात् चन्द्रप्रकाश उर्फ सीपी र राधाकृष्ण उर्फ आरके, मोहनचन्द्र अधिकारी र अरू केही नेताहरूले टिपेका थिए ती फिलिंगा । रातो झन्डा बोक्ने वासु शाक्य, दंगाली समूहका नेत्र लाल अभागी, इलामका रत्नकुमार वान्तवा र अहिले हामीले नेताका रूपमा चिनेका धेरै तिनै फिलिंगाले तातेका भरमा नेता भएका हुन् । कमरेडहरूले बालेको आगोमा एक दर्जनको ज्यान गयो । कतिको धरपकड भयो । कतिले यातना भोगे । कतिका आङमा त्यसबेला लागेका घाउमा आजका मितिसम्म पनि पाप्रा नजमेर थिलथिलै छन् । 

त्यसबेला यी सबैको सपना उही थियो ः सामन्ती मालिकहरूबाट खोसेर जग्गा गरिब किसानको हातमा दिने, सामन्ती राज्यसत्ताको अन्त्य गर्ने, नेपाली जनतालाई मुक्ति दिने । उही विभेदरहित समाजको, उही समानताको सपना । उही मानिसको पूर्ण स्वतन्त्रताको खोजी । उही लोकतन्त्रको प्रगतिशील परिभाषा । 

कालान्तरमा सीपी मैनाली आफैं संसद्का पटके जागिरे बने । अरू केही नगरे पनि, उनी आफ्नो जागिर जोगाउन समानुपातिक उम्मेदवार बनिरहनेछन् धेरै पछिसम्म । राधाकृष्ण मैनाली दरो मेरुदण्ड नभएको जेली फिसजस्ता भए । चारतिर चिप्लिँदै हिँड्ने । राजाको खोपीदेखि माओवादीको पटांगिनीसम्म । मोहनचन्द्र अधिकारी गेरु वस्त्रधारी बैरागी बने । उनका समकालीनले धेरैअघि उनलाई नेल्सन मन्डेला भन्ने गर्थे । मन्डेलाको देहान्त हुँदा, कुनै नेपालीले मोहनचन्द्रको खोजखबर गरेको मलाई सम्झना छैन । नक्सलबारीमा जस्तै आजकल सुखानी जंगलको बतासमा पनि ती तुहिएका सपनाको गन्ध मिसिएको हुनुपर्छ । तर, सीपीको चाबहिलको महलसम्म त्यो बतास पुग्दैन । राधाकृष्णको जेली फिस अवतारलाई त्यो गन्धले छुँदैन । उनको आफ्नै गन्ध त्यसलाई परास्त गर्न काफी छ । मोहनचन्द्रको पवित्र चन्दन मगमगाउने गेरु वस्त्रमा त्यो गन्धको कुनै प्रभाव पर्दैन । झलनाथ र केपी ओलीहरू सुखानीतिर आउँदा अरबी अत्तर बेस्सरी छर्केर आउँदा हुन् ।

चालीस वर्ष नैराश्यको दलदलमा फँसेका कानु सन्यालले नक्सलबारी नजिकै हात्तीगिसाको झुपडीमा आत्महत्या गरे । झापाका योद्धा डिगेन्द्र राजवंशी एमालेको बल्खु दरबार अघिल्तिर पासो लागे । के तिनका सपनाहरूले पनि आत्महत्या नै गरेका हुन् ? इतिहासमा सपनाको निर्मम हत्या गर्ने प्रयास भएका छन् । सपना आफैं पासो लाग्न जान्दैन । 

माओवादीहरूले तिनै तुहिएका सपनालाई पुनःजीवन दिएको ऐलान गरे । हतियार बोके । उनीहरूको ऐलानमा महिला सामेल भए, दलित आए, जनजाति आए, र आए मधेसी । तिनले सबैका सपना माझेर एकै बनाए । बन्दुक भिरे, युद्धमा होमिए । तीनलाई पटक पटक झापा सम्झाइयो । सम्भवतः नक्सलबारी पनि सम्झाइयो । माक्र्स, लेनिन, माओहरू त सर्वव्यापी नै भइगए । 

यिनले थालेको युद्धमा हजारौँको ज्यान गयो । कतिका घाउ आलै छन् । कति शरीरभरि गोली बोकेर हिँडेकै छन् । त्यस्तै अवस्थामा युद्ध रोकेर उनीहरू राजनीतिको मूलधारमा आए । धेरै समय अल्मलिएर बिताए । त्यसपछि सत्ताको चास्नीमा भुलिए । नगर्नु पर्ने सम्झौता गरे । पहिले काठमाडौँका सुकिला मुकिलालाई लल्कारे । पछि तिनैलाई खुसी पार्ने अर्थहीन यत्न गरे । बुर्जुवा रवाफको धुनमा आफैं लट्ठिए । अनेकन् दबिएका प्रश्नहरू मूलधारको आकाशमा तरंगित तुल्याएका थिए । तर, तीनको हल खोज्ने कसरत गरेनन् । अन्ततः पार्टी फुट्यो । चुनावमा नमिठो हार बेहोरे । अहिले मुर्झाएका छन् । 

यही मौका छोपेर एकथरी मान्छे युद्धको आँधीबेहरीमा भएका यिनका गल्ती रिठ्ठो नबिराई खोज्दै छन् । पुराना फाइल खोतलेर यिनलाई अन्तर्राष्ट्रिय अदालत हेगको कठघरामा उभ्याउने प्रपञ्च बुन्दै छन् । यस्तो प्रपञ्च बुन्नेहरूले यिनलाई हाकाहाकी लल्कार्दै छन् । उताबाट प्रत्युत्तरमा निम्छरा तर्कहरू पेस हुँदै छन् । कोही भने सिँगो पार्टीको असामयिक निधनको खबर सुन्ने पर्खाइमा रमाएर बसेका छन् ।   

यसैबीच मैतीदेवीको तरकारी बजारमा भुइँमा पसल थापेर बसेको एक पूर्वछापामारले शरीरभरि गोलीका दाग देखाउँदै भने, 'मलाई टण्टलापुर घाममा पनि ठकठक काम छुट्छ । जस्तोसुकै गर्मीमा पनि ज्याकेट लगाएर हिँड्नुपर्छ ।' यी अयोग्य साबित बिरामी लडाकुको सपना फुलकोबीसँग रु. दुई र पाँचमा साटिंदै छन् । रोल्पाको हावामा तुहिएका सपनाको गन्ध कतिको बाक्लिएको छ हँ ? के लाजिम्पाट र सानेपाका महलहरूसम्म अझै यी हावाका झोँक्काहरू आइपुग्दै छन् ? 

ठीक यसैबेला नेपालमा सन् ९० को बाँसुरी बज्न थालेको छ । हिन्दुवादी पार्टीको समर्थनमा सिंगै राजधानी एकजुट भएको चुनावले देखाएको छ । पहिल्यै कमजोर राज्यका सबै अंगहरू झन् झन् कमजोर बन्दै गइरहेका छन् । शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा ठूला खेलबाडहरू भइरहेका छन् । चुरे नासिँदै गइरहेको छ । बिस्तारै बँचेखुचेका हरिया वन सकिएलान् । खोलानाला सुक्लान् । मुलुक नै बिल्कुल व्यक्तिगत बहीखाता मात्र बोकेका मान्छेहरूको कब्जामा छ । लोकतन्त्रको दुहाई दिने पार्टीहरू चुनाव जितेर सत्तामा पुगेका छन् । तर पुग्न नपाउँदै तिनले आफ्नो सनातनी विभेदको दौरा-सुरुवाल लगाए । भ्रष्टता र लापरबाहीको चुचे टोपी भिरे ।  

ठीक यसैबेला सशत्र क्रान्तिको ज्वाला दन्काउने झापा जिल्ला भारतीय मठाधीश श्री श्री रविशंकरको झन्डामुनि कथित नेपाली ढाका टोपी दिवस मनाउँछ । जग्गा प्लटिङ र बेचबिखनको दलालीमा रमाउँछ । म्यानपावर कम्पनीहरूमार्फत कमिसनको लुट मच्चाउँछ । स्कुल जाने नानीहरूको झोलामा राखेर सुपारी तस्करी गर्छ । छिटो पैसा कमाउने धन्दामा तस्करीको मोहताज पहिरिन लालायित छ मेरो झापा । नक्सलबारीको जस्तै ओसिलो गन्ध यहाँ पनि व्याप्त छ ।     

ठीक यसै बेला भारतमा हिन्दुवादीहरूको जगजगी बढ्छ । हिन्दुवादी दक्षिणपन्थी नेता नरेन्द्र मोदीले पब्लिक स्पिmयर कब्जा गर्दै छन् । जनताको काल्पनिकीको ठूलो हिस्सा उनैले लिँदै छन् । आम आदमी नामको एउटा मध्यम वर्गीय धिपधिपेले कतिको उज्यालो दिन्छ, थाहा छैन । वा त्यसको उज्यालो कतिको टिकाउ छ भन्ने यकिन पनि कसैले गर्न सक्दैन । यता आम आदमीको चर्चा चलेकै बेला उता लन्डनबाट प्रकाशित हुने नवउदारवादी पत्रिका इकोनोमिस्ट मोदीको प्रशंसामा गीत गाउँछ । उनले गुजरातमा गरेका जघन्य अपराध भुल्नुपर्छ भन्ने अर्ति बाँड्छ । हैदरावाद विश्वविद्यालयका प्रोफेसर हरगोपाल खुइय गर्दै भन्छन्, 'अब ग्लोबल नवउदारवादीहरूलाई मनमोहन सिँह र कांग्रेसले जति गर्नु थियो गरिसके भन्ने लागेको छ । उनीहरू एकपटक फासिस्ट नेतालाई प्रयोग गर्न चाहन्छन् ।' उडिसा, छत्तिसगढ र आन्द्र प्रदेशमा सीमित नक्सलवादीहरूको 'गाउँहरू कब्जा गर्दै अन्ततः दिल्ली घेर्ने' संकल्प दिनप्रतिदिन दिवास्वप्न हुँदै छ । बरु दिल्लीले नै उनीहरूलाई घेर्दै लगिरहेको खबर व्याप्त हुँदै छ । 

ठीक यसैबेला अमेरिका हरेक नागरिकको इमेल एकाउन्टको निगरानी गरिरहेको छ, फोन टेप गरिरहेको छ । शालीन राष्ट्रपति बाराक ओबामा यस्तो निगरानी बढाउनुपर्नेमा जोड दिँदै छन् । गैरकानुनी निगरानीको पोल खोलिदिने एडवार्ड स्नाउडेन उनको तारो बनेका छन् । भर्खरै टोरोन्टो एयरपोर्टको वाइफाईमार्फत क्यानडाले पनि आफ्ना जनतामाथि निगरानी बढाइरहेको खबर छापाहरूमा आएका छन् । सन् १९९२ मा रियो डि जेनेरियोमा आयोजित अर्थ समिटमा जर्ज डब्लु बुस सिनियरले छाती फुकाएर घोषणा गरेका थिए, 'अमेरिकी जीवनशैली परिवर्तन हुँदैन ।' अर्थात् अमेरिकीहरूले उपभोक्तावादलाई शिरोपर गरिरहनेछन् । त्यसमा सम्झौता गर्ने छैनन् । फलस्वरूप दुनियाँका लाखौँ मान्छेका मुखबाट हजारौँ केजी मकै खोसेर बायोग्यास बनाइयो । लेखक आदित्य निगमले गार्जियनको एक लेख उद्धृत गर्दै भनेका थिए, 'अहिले आफ्नो मोटर निर्बाध कुदाउन चाहने ८०० मिलियन मोटरधनीहरू र दुई छाक जुटाउन हम्मे पर्ने २ बिलियन मानिसहरूबीच सीमित अन्नमाथि प्रतिस्पर्धा छ ।' दुनियाँका आँखाका नानी बनेका ओबामा यो प्रतिस्पर्धामा निःसन्देह मोटर धनीको पक्षमा छन् । 

अहिलेको संसारको परिदृश्य यस्तो छ भन्ने तपाईँलाई थाहा छ  । तर पत्तो नपाएको गुह्यचाहिँ के भने यति थाहा पाइसकेपछि अब गर्ने के हो त ? कसको तरिका ठीक भन्ने ? कसका तर्कलाई सही मान्ने ? कसले गरेको राजनीतिमा भरोसा गर्ने ? बजार व्यवस्था ठीक वा समाजवादी व्यवस्था ? भएका बजारहरूले असमानता बढाउँदै छन् । बजार आफैं चरम संकटमा फँस्दै लाखौँ मानिसको ज्यान धरापमा पार्दै छ । अनि समाजवादी भनिएका मुलुकमा राज्यले के गर्दै छ ? मुठ्ठीभरको सेवा र अरूलाई हेलोहोँचो । राज्य र बजारको समदूरीमा भएको व्यवस्था कस्तो हुन्छ ? के त्यो सम्भव छ ? कि यो धर्ती अब कुनै गतिलो राजनीति र विचार नजन्माउने गरी बाँझो भइसक्यो ? प्रश्नहरू यसरी अक्करिला बन्दै छन् कि उत्तर नभेटेर सिंगो समय सिजोप|mेनिक बन्दै छ । 

यो दुनियाँमा अझ पनि देब्रे ढल्केका अर्थात् वामपन्थी विचार र आन्दोलनहरूले नै मानिसलाई स्वतन्त्र बनाउन सहयोग पुर्‍याउँछन् भन्ने विश्वास गर्नेको संख्या यथेष्ट छ । तर, विचार आफैंमा कुनै भौतिक शक्ति हुन सक्दैन जसले आफैं परिवर्तन ल्याइदेओस् । राजनीतिले विचारलाई भौतिक शक्तिमा बदल्ने हो । राजनीति गर्ने मानिसहरूले हो । के उचित विचारलाई परिवर्तनको भौतिक संवाहक बनाउने उचित मानिसहरू नजन्मने गरी यो धर्तीको बन्ध्याकरण भइसकेको हो ? मानिसले कसलाई पत्याउने, विचार भनिने कुनै अमूर्त चिजलाई वा त्यसलाई बोकेका मानिसहरूलाई ? कि त्यसरी विचार र राजनीति अथवा विचार र त्यो विचार मान्छु भन्ने मान्छेलाई छुट्याएर हेर्न मिल्दैन ? के ती एउटै हुन् ? वा तिनको छुटाछुटै अस्तित्व हुन्छ ? यदि होइनन् भने ठीक वैचारिक धरातलमा उभिएको मानिस किन उल्टो बाटो हिँड्दै छ ? सही सिद्धान्तबाट दीक्षित मानिस किन गलत काम गर्दै छ ? स्वर्गको म्याप बोकेर नर्कको बाटो नाप्दै छन् हाम्रा वामपन्थी पार्टीहरू । कि तिनले बोकेको म्याप नै नर्कको हो ? यकिन छैन, यदि यिनीहरू हिँडिरहेको बाटो नर्ककै हो भने, त्यो अहिले बाँचेको नर्कभन्दा अझ खराब हुनेछ वा राम्रो ? 

सिंगो समयको यस्तो शिजोफ्रेनियाले नराम्ररी गाँज्दै छ मान्छेलाई । त्यसैले तुहिएका सपनाको गन्ध सुँघ्न बाध्य छु म । जताततै क्लोरमफेनिकलको गन्ध व्याप्त छ, नक्सलबारी जताततै फैलिएको छ । 

अत्याचारीसँग हुने लगातारको मुठभेडले 
भरिएको छ हाम्रो अनुभव ।
यहीँ नेर एउटा बूढो माली 

हाम्रो मृत्युग्रस्त सपनामा 
फूल र आशा राखेर जान्छ । 

-गोरख पाण्डे
 

0 comments:

Post a Comment