Saturday, December 22, 2018

मोदी पछ्याउँदै ओली

उज्ज्वल प्रसाईं /

काठमाडौँ — उभ्याउन खोज्यौ सबैभन्दा अग्लो सालिक, त्यो सबैभन्दा एक्लो ठहरियो ।– मानस फिराक भट्टचार्जी सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) भारतको इतिहासलाई हिन्दुवादी संकथनका रूपमा पुनर्लेखन गर्न चाहन्छ ।

आफ्नो राजनीतिक विचारधारा अनुकूल हुने नायकको खोजी गर्दा उसले सरदार बल्लभभाइ पटेल फेला पार्‍यो । मोहनदास करमचन्द गान्धी, जवाहरलाल नेहरू र भीमराव अम्बेडकर जस्ता हिजो स्थापित नायकलाई पुड्को देखाउन उसले पटेललाई १८२ मिटर अग्लो बनाइदियो ।

संसारको सबैभन्दा अग्लो शालिक भनिएको पटेलको सो मूर्तिलाई ‘द स्ट्याचु अफ युनिटी’ अर्थात ‘एकताको प्रतीक’ भनियो । खासमा त्यो भाजपाको राष्ट्रवादी अहंकार हो । मोदीले सन् २०१० मा शिलान्यास गरेको सो मूर्तिको अनावरण भाजपा अनुकूल रचिएको खर्चिलो राजनीतिक तमासा हो । ठूला स्पेक्टेल (तमासा) रचेर जनता भुलाउन माहिर नेता हुन्, मोदी । पटेलको मूर्ति त्यही भुलभुलैया–राजनीतिको पछिल्लो कडी हो ।

ह्यामानको त्यो फलामे पटेलको छायामा ७५ हजार जीवित आदिवासी किसान छन् । नर्मदा नदी किनारमा ठडिएको त्यो कृत्रिम मान्छेले आफ्नो जमिन, पानी एवं प्राकृतिक सम्पदा नष्ट गरेकामा उनीहरू रुष्ट छन् । गरिब किसानका हजारौं दु:खलाई नजरअन्दाज गर्दै गुजरात सरकारले त्यो फलामे मूर्तिमा २,३८९ करोड भारु लगानी गर्‍यो । अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा त्यहाँका गरिब किसान आन्दोलित छन् ।

आधारभूत तहका जनताबाट पटेललाई खोसेर हिन्दुवादी खोपीको नेता बनाउन खोजियो । सामान्य नागरिकबाट कटेर बतासमा कवाज खेल्न खोज्ने शासकहरू अन्तत: एक्ला हुन्छन् । कवि भट्टचार्जीले इंगित गरेझैं त्यो अग्लो शालिक हजारौं किसान र सिमान्तकृत आदिवासीबाट कटेर विलकुल एक्लो उभिनेछ । जसको काँध चढेर सत्तामा पुग्यो, उसैलाई बिर्सेर अकाशिने शासक अन्तत: कतै शून्यमा एक्लो र परित्यक्त घुम्नेछ । जनताबाट खोसिएका पटेलसँगै कुनै दिन मोदीहरू पनि पक्कै एक्लिनेछन् ।


उस्तै संकथन
नरेन्द्र मोदी र खड्गप्रसाद ओलीको राजनीतिक हुर्काइमा धेरै समानता छैन । सम्भवत: लहैलहैमा वा उमेरजन्य कोरा आदर्शले तानिएर ओली सशस्त्र कम्युनिष्ट क्रान्तिको बाटो हुँदै मूलधारको राजनीतिमा खुट्टो घुमाउन सफल नेता हुन् ।

राष्ट्रिय स्वयंसेवक संघजस्तो संगठनले कट्टर हिन्दुवादीका रूपमा दीक्षित गरेका महत्त्वाकांक्षी नेता हुन्, मोदी । यता ओली कथित जमिनदार–सफाया अभियानमा लागे, उता मोदी मुस्लिम खेद्ने मेसोमा लहरिए । पछिल्लो समय ‘जिंगोइजम’ भन्न मिल्ने राष्ट्रवाद उनीहरूको समान सिद्धान्त बन्यो । प्रधानमन्त्रीमा निर्वाचित हुँदै गर्दा दुवैले निर्माण गरेको संकथन एकैखाले थियो ।

मोदीका लागि पाकिस्तान एवं मुस्लिम विरोधी राष्ट्रवाद टेक्ने भूमि थियो, विकासका रंगीन सपना पुग्ने गन्तव्य थियो । कांग्रेसको भ्रष्ट शासनबाट दिक्दार ठूलो जनसंख्या शासनमा नयाँ अनुहार देख्न चाहन्थ्यो, विकल्पमा मोदी बाहेक अरू कोही थिएन ।

नवउदारवादको जग बलियो बनाउन ठूला व्यापारीहरू मनमोहनभन्दा बलशाली एवं महत्त्वाकांक्षी नेतृत्व चाहन्थे, मोदी नै उचित विकल्प थिए । बहुसंख्यक हिन्दुलाई मुस्लिम तह लगाउने शासक चाहिएको थियो, मोदीको चौडा छातीले तिनलाई लोभ्यायो ।

ओलीका लागि भारत एवं मधेस विरोधी राष्ट्रवाद वैचारिक धरातल बन्यो, समृद्धिको सपना बिकाउ पुडिया ठहरियो । भारतले लगाएको नाकाबन्दीलाई मधेस केन्द्रित दलले मधेस आन्दोलनको हितमा प्रयोग गर्न खोजे । नागरिकको जीवन नराम्ररी प्रभावित भयो, उनीहरू चिडिए ।

सामान्य अवस्थामा समेत भारतबाट त्रसित रहने पहाडे समुदायमा राष्ट्रवादको ज्वरो उत्रिनु स्वाभाविक थियो । काठमाडौंमा तयार गरिने मूलधारको संकथनमा मधेस आन्दोलन यसै फजुल बिझ्याइँ मात्र थियो । त्यसैले बहुसंख्यक पहाडेले बलियो राष्ट्रवादी शासक खोजे, जसले त्यस्तो बिझ्याइँ परास्त गरोस् । विचार शून्य कांग्रेस पत्याइएन, चर्को राष्ट्रवादी देखिन जान्ने खड्गप्रसाद ओली चुनिए ।

राजनीतिक आन्दोलन सकिएको उद्घोष गर्दै माओवादीसमेत ओलीसँग मिसिएपछि समृद्धिको कथानक सहजै बिक्यो । अघि–अघि मोदी हिँडेको बाटो पहिल्याउँदै पछि–पछि ओली उदाए ।

उता नरेन्द्र मोदी नेहरू पन्छाउन पटेल खोज्छन्, यता खड्गप्रसाद आइज्याक न्युटनको ठाउँमा भाष्काराचार्य ल्याउँछन् । उता भगवान कृष्णले इन्टरनेट चलाउँथे भनिन्छ, यता हिमालका ऋषिमुनी ठूला वैज्ञानिक बताइन्छन् । पटेललाई सबैभन्दा ठूला राष्ट्रवादी नेताका रूपमा चित्रण गरिएको कथानक लिएर सबै मूलधारका पत्रिकामा एकैदिन मोदी छाउँछन् । यता ओली आफ्ना फोटो बिजुलीका पोल र अखबारका ज्याकेटमा सजाउँछन् ।

उता सामाजिक सञ्जाल कब्जा गर्न आईटी–सेल नामक झुन्ड निर्माण गरिन्छ, यता विरोधी तह लगाउन गुटका पत्रकार एवं तिनले खोलेका न्युजपोर्टललाई मैदानमा उतारिन्छ । त्यतिले नपुगे सरकारको प्रवक्तालाई पाखुरा सुर्किन अह्राइन्छ । कतिलाई फेक न्युजको निहुँमा खोरमा हालिन्छ । सत्तामा उक्लेदेखि दुवैले एउटै काम निरन्तर गरिरहे– खर्चिला तामझामसहित तमासा रचिरहे ।

ओलीका शब्दातीत तमासा
मोदीलाई पछ्याउँदै सानातिना कार्यक्रमलाई ठूलो तमासा बनाउने उपक्रमले सीमा नाघ्न थाल्यो । सामाजिक सुरक्षा कोष स्थापना गर्नु, त्यसको चुस्त वित्तीय व्यवस्थापन गरेर मजदुरको हित गर्नु असल काम हो । एक दशकको प्रयासपछि कोष स्थापना हुनु खुसीको खबर थियो ।

सामान्य खबरलाईभड्किलो प्रोपोगान्डा बनाइयो । एउटा कार्यक्रमलाई युग बदल्ने अभियान भन्नु अनि सो कार्यक्रमबाट हजारौं मजदुरलाई मुक्त गर्ने मसिहा हुँ भनेर चोकमा फोटो टाँग्नु अशोभनीय थियो ।

दोस्रो पटक प्रधानमन्त्री बनेदेखि ओलीले रचेका सबै तमासा असफल भए । रारा पुगेर सुनाएका ३१ बुँदा सम्भवत: उनले नै विस्मृतिमा धकेलिसके । उहिलेका राष्ट्रवादी महेन्द्रको नक्कल गर्न सरकारी तामझामसहित गरिएको सो कार्यक्रमको उपादेयता सम्भवत: तामझाम मात्र थियो । नागरिकका भान्सामै प्रोपोगान्डा पुर्‍याउनसके लोकप्रिय भइएला भनेर रचेको ‘पाइपमार्फत चुला–चुलामा ग्यास’ प्रहसन सावित भयो ।

आगामी पुस १७ गते पानीजहाज ल्याउने सपना पनि बतासे ठट्टामा रूपान्तरण हुनेछ । यसै बीच संघीयता अलपत्र पर्‍यो । सुशासनको अनुभूत कसैले गर्न पाएन । भ्रष्टाचारको आयातन ह्वात्तै बढेको यसै थाहा पाइन्छ ।

पटक–पटक असफल भएका तमासा छोप्न थप तमासाहरू सिर्जना गर्नु ओलीको नियति बनेको छ । सामाजिक सुरक्षा कोष घोषणामा रचिएको तमासा त्यही उपक्रम थियो । पोलमा चढाइएका ओलीका तस्बीर धुलामा खस्न नपाउँदै युनिभर्सल पिस फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको एसिया प्यासिफिक समिट अर्को बेस्वादे तमासा बन्यो ।

धर्मसँग जोडिएको एउटा विवादित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले काठमाडौंको कार्यक्रम सञ्चालन गर्ने काममा ओली–सरकारलाई ‘आउटसोर्सिङ’ गर्‍यो । अर्थात हायात रिजेन्सीमा सञ्चालन हुने कार्यक्रम सफल बनाउन सुरक्षा व्यवस्था गर्ने, पाहुन स्वागत गर्ने लगायत कामको जिम्मा नेपाल सरकारले लियो ।

पाहुनालाई आतिथ्य गर्न प्रधानमन्त्री ओली सबै काम छाडेर सोल्टी होटलमा बसे । सूचना अनुसार समिटका लागि नेपाल सरकारले पचास लाख खर्च गर्‍यो । आयोजना सफल भएकामा सरकार प्रमुखले एक लाख अमेरिकि डलर भुक्तानी लिए ।

जनतालेआफ्नो मतद्वारा निर्वाचित गरेको सरकार माधव नेपाल र ओलीको तमासा–लोभका कारण एउटा गैससले सहजै ‘आउटसोर्स’ गर्न सक्ने एजेन्सीमा पतीत भयो ।

ठूला नेताले रचेका तमासा शब्दातीत छन्, त्यसैले पार्टीका केही निष्ठावान नेतालाई ‘ऐंँठन’ भयो । उनीहरूको संकट एउटै छ, नराम्ररी एक्सपोज भइसकेका कोही एकलाई गणेश स्थापना नगरी आफै पार्टी हाँक्ने हिम्मत गर्दैनन् ।

अन्त्यमा,
जनतालाई प्रोपोगान्डाका उपभोक्ताभन्दा बढ्ता नठान्ने शासक आफू सबैभन्दा अग्लो भएको भ्रममा हुन्छन् । ती पटेलको मूर्तिजस्तै हुन् । तिनले नदेखेको सत्य कविहरूले देखेका हुन्छन् । अन्तत: ती कतै शून्यमा एक्ला र परित्यक्त हुनेछन् ।

प्रकाशित : मंसिर २१, २०७५ ०८:०३

https://www.kantipurdaily.com/opinion/2018/12/07/154414912559431556.html

0 comments:

Post a Comment