Sunday, May 13, 2018

उपभोगको स्वर्गमा आक्रोशको आगो

उज्ज्वल प्रसाईं / वैशाख १६, २०७४

के आक्रोशलाई पूर्णतया मानसिक वा शारीरिक कोणबाट बुझ्न सकिन्छ ? यो खास मानसिक संवेदना हो भने यसले अभिव्यक्त हुने बाटो खोज्छ । अभिव्यक्त हुन सकेन भने सम्भवत: यो मस्तिष्कमा थिग्रिएर बस्छ । के सयौं वर्षको समय ढुंगामा सेडिमेन्ट बनेर बसेझैं थुप्रिँदै जान्छन् आक्रोशका अवसादहरू ? वा मान्छेका दिमागभित्रै विस्फोट हुन्छ आक्रोश ?

मस्तिष्कमा सञ्चित आक्रोश समयसँगै बिलाउन पनि सक्छ । के त्यसरी बिलाएन भने आक्रोश खास मौकामा ज्वालामुखीजस्तो उम्लिएर सतहमा पोखिन्छ ? के आक्रोशका भिन्न रूप र चरित्र हुन्छन् ? व्यक्तिगत तहमा मात्रै अभिव्यक्त हुन्छ वा त्यसको सामूहिक प्रस्फुटन पनि हुन्छ ? आक्रोशको सामाजिक आयाम कस्तो हुन्छ ? सामुदायिक संस्कारमा लेप भएर बसिरहन्छ कि आक्रोश ?
प्रश्नहरू जति पनि छन् । उत्तर सहज भए यो कुनै लेखिनुपर्ने विषय बन्ने थिएन । जताततै आक्रोश अनुभूत गरिन्छ । आक्रोशबाट वशीभूत भएर अनेक कृत्य गरिन्छ । भूपि शेरचनले यो सहरका ‘घरका जग खनेर हेर, त्यहाँ हल्लैहल्ला भेटिन्छन्’ भनेर कविता लेखे । घरका जगमा आक्रोश पनि भेटिन सक्छन् । चनाखो भए कोठा, चोटा सबै आक्रोशले भरिएको अनुभूत गर्न सकिन्छ । शासकमा आक्रोशको मात्रा कति हुन्छ कुन्नि, शासितहरू धेरैजसो आक्रोशित नै हुन्छन् । लोकतन्त्रप्रति आक्रोश छ, समाजवादप्रति आक्रोश छ, पुँजीवाद भनौं वा भूमण्डलीकरण, त्यसका विरुद्ध पनि आक्रोश नै गोचर हुन्छ । न बजारप्रतिको आक्रोश सकिएको छ, न राज्यसत्ताप्रतिको आक्रोश कम हुनेवाला छ ।
सार्वजनिक यातायातमा पेलिएर हिँडेकाहरू निधारका मुजामा आक्रोशका पत्र लिएर हिँडेका हुन्छन् । सानदार निजी गाडीमा हुइँकनेहरू पनि नाकका पोरामा आक्रोश नै बोकेर हिँडेका झैं देखिन्छन् । पहाडमा ‘राष्ट्रवाद’ आक्रोशको भाषा बोल्छ, मधेसमा अधिकार आक्रोशकै राप फैल्याउँछ । सामाजिक सञ्जाल आक्रोशको संग्रह हो । गरिबी कहिले आक्रोश भएर सत्तासँग जोरी खोज्छ, कहिले सत्ताको मारमा परेर झन् कुरूप हुन्छ । संघर्षको घर्षणमा होस् वा हारको विषादमा, जताततै आक्रोश नै देखिन्छ । कविता आक्रोशकै लेखिन्छ ।

बिर्सेजस्तो नगर
को हुँ म, चिन !
तिम्रो कुण्ठित मनभित्र हजार फन्को बेरिएको छु
तिम्रो अछन्डी लिंगभित्र बेस्सरी उम्लिरहेछु
यो राज्यको सीमान्त–सीमान्तबाट तोरण सोहोरेर
यो राज्यको ओढार–ओढारबाट
मेरा पुर्खाहरूको पुलिक बटुलेर
कतिन्जेल हुन्छौ तिमी अधिनायक ?
                              –स्वप्निल स्मृति

जर्मन दार्शनिक फ्रेड्रिक नित्सेले रुसी उपन्यासकार फ्योदोर दोस्तोएब्स्कीका पात्रको क्षुब्धतालाई एक खास मानसिक अवस्था मानेका छन् जो आक्रोशको स्रोत हो । ‘द ल्यान्डलेडी’ र ‘अन्डरग्राउन्ड नोट्स’ दुई भिन्न उपन्यासहरूलाई मिसमास पारेर फ्रान्सेलीहरूले एउटा उपन्यासको रूपमा फ्रेन्च भाषामा अनुवाद गरेका रहेछन् । सो उपन्यासमा प्रयोग भएको शब्द ‘रिस्सेन्टिमेन्ट’ लाई नित्सेले आक्रोशको स्रोत मात्रै मानेनन् बरु एक सैद्धान्तिक पडाव बनाए । नित्सेले ‘जेनियोलोजी अफ मोरल्स’ मा सो उपन्यासको एक पादरीको आक्रोशबारे लेखेका छन् । पादरीले अभिजातीय शासकलाई देखेर व्यक्त गरेको आक्रोश भनेको अरूको रूप, सफलता र मेधा देखेर अनुभूत गरेको लघुताभास र आफू अपूरो हुनुको क्षुब्धता हो भन्ने नित्सेको ठम्याइ छ । आक्रोशको यो खास तहले राम्रो/नराम्रो, सही/गलत, आचार/व्यभिचारजस्ता द्विगुणीय नैतिक मूल्यहरूको निर्माण गर्छ । आफूलाई एकापट्टि राखेपछि आफू र अन्यको भेद निर्माण हुन्छ । त्यही भेदले बेताबी बढाउँछ र आक्रोशलाई जन्म दिन्छ । आक्रोशको यो तहलाई उनले ‘रिस्सेन्टिमेन्ट’ भनेका हुन् । त्यस्तो आक्रोश दासत्वले निर्माण गर्ने मानसिकता हो भन्ने पनि उनले संकेत गरेका छन् ।

नित्सेले भौतिक र ऐतिहासिक पृष्ठभूमि उधिन्नुभन्दा मनोवैज्ञानिक तहमा मात्रै सो सिद्धान्तको व्याख्या गर्न रुचाएका छन् । ‘बियोन्ड गुड एन्ड एभिल’ पुस्तकमा उनले लेखे, ‘मनोविज्ञानलाई फेरि एकपटक विज्ञानहरूकी रानी मान्नुपर्ने भएको छ । आधारभूत समस्याहरू सम्बोधन गर्ने बाटो नै मनोविज्ञान हो ।’ तर, मनोविज्ञानबाट नैतिकताको लेप उक्काउनुपर्ने पनि उनले जोडदार आग्रह गरेका छन् । नैतिक बोक्रोले मान्छेको अन्तर्य उजागर हुन दिँदैन भन्ने उनको मत छ । त्यसैले नित्से भनौं वा म्याक्स सेलर, उन्नाईसौं शताब्दीको दार्शनिक चिन्तनमा आक्रोशको मनोवैज्ञानिक आयाम बढी उधिनियो । त्यसअघि अठारौं शताब्दीमै एडम स्मिथले ‘थियोरी अफ मोरल सेन्टिमेन्ट्स’ लेखे, जसमा उनले आक्रोशको सामूहिक आयाम उजागर गरेका छन् । कुनै किसिमको हिंसा भोगेको पीडितप्रतिको सहानुभूतिबाट आक्रोशको जन्म हुन सक्छ भनेर उनले आक्रोशको व्यापक आयामतिर संकेत गरेका थिए ।

अहिलेको आक्रोश बुझ्न स्मिथको सामूहिक आयाम र नित्सेको बिल्कुल मनोवैज्ञानिक व्याख्या, दुवै एकअर्काका पूरक हुन सक्छन् । तर, के यी दुई भिन्न सैद्धान्तिक टुलको फ्युजन मात्रै वर्तमानको आक्रोश बुझ्न पर्याप्त होलान् ? माथि उद्धृत कवितामा कवि स्वयं आक्रोशित हुन सक्छ तर के त्यो आक्रोश उसको व्यक्तिगत क्षुब्धता वा आह्रिसको अभिव्यक्ति मात्रै हो ? सीमान्तमा धकेलिएका शासितहरूका झोंक नै कविता बन्नुले आक्रोशको खास ऐतिहासिक, सामाजिक र सांस्कृतिक पृष्ठभूमि भएको पुष्टि गर्छ ।

सामाजिक संरचना बदल्न खोज्ने र यथास्थिति कायम गर्न खोज्ने शक्तिहरूबीचको द्वन्द्व, ती शक्तिहरूमा देखिने हिंसाको मोह, संरचना बदल्ने दाबीसहित सतहमा देखिएका शक्तिहरूमा बढ्दै जाने संकीर्णता र जडसूत्रता र यो घर्षणबाट अनेक फाइदा उठाउन खोज्ने प्रत्यक्ष संलग्न वा असंलग्न व्यक्ति र समूहको स्वार्थहरूको टकराव, सबैले आक्रोशकै झिल्का पार्छन् । यस्तो जटिल भौतिक र मनोवैज्ञानिक सम्बन्धले उत्पन्न गर्ने अनेक किसिमका भय र आक्रोशको जालो पहिल्याउनु वर्तमानको सबैभन्दा ठूलो चुनौती हो ।

बहुसंस्कृतिवाद र जिहादी आक्रोश

फ्रान्सेली राजनीतिशास्त्री ओलिभियर रोयले सय जना पुरुष ‘जिहादी ’हरूमाथि खोज गरेर किताब लेखेका छन् । युरोपका विभिन्न सहरमा अन्धाधुन्द गोली चलाएर सामान्य नागरिकका ज्यान लिने जिहादीले किन त्यसो गरे भनेर जान्ने मनसुबाले रोयले सो खोज गरेका हुन् । उनको पुस्तक ‘जिहाद एन्ड डेथ : ग्लोबल अपिल अफ इस्लामिक स्टेट’ को एक लामो अंश गार्जियन पत्रिकाले हाल सालै छापेका थियो । ती सय जिहादीमध्ये प्राय:ले सर्वशक्तिमान खलिफाले राज्य गर्ने आदर्श खिलाफतको स्थापनार्थ लडेका हौं भनेर दाबी गरेका छन् । त्यसैका निम्ति उनीहरूले आफ्नो ज्यान माया मारे । उनीहरूले आत्मघाती आक्रमणलाई मुख्य तकनिकीको रूपमा प्रयोग गरे । यस्ता आत्मघाती जिहादीमध्ये कसैले पनि युरोपमा आफू स्वयंले व्यक्तिगत रूपमा भोगेका असमानताबाट पिल्सिएर जिहादी बनेको खुलाएका छैनन् । बरु व्यक्तिगत जीवनमा उनीहरू सानातिना अपराधहरूमा संलग्न रहेको भेटिएको छ । धेरैजसो यी जिहादी इस्लामको सांस्कृतिक मान्यताविपरीतका आचरणमा लिप्त थिए । रोयले निष्कर्ष निकालेका छन्, ‘यी जिहादीहरू धार्मिक कट्टरपन्थी होइनन्, हिंस्रक शून्यवादी हुन् ।’ केले जन्माउँछ यस्तो हिँस्रक शून्यवाद ?

सन् २००९ मा केनान मलिकले ‘फ्रम फतवा टु जिहाद’ भन्ने किताब लेखे । सन् १९८९ मा इरानका शासक अयोतल्ला खोमेनीले लेखक सल्मान रुस्दीले ‘सटनिक भर्सेज’ पुस्तक लेखेर इस्लाम धर्मको खिल्ली उडाएको दाबी गरे । रुस्दीको सो ‘अपराध’ विरुद्ध फतवा जारी गरेपछि बेलायतका विभिन्न ठाउँमा इस्लाम धर्मावलम्बी हौं भनेर दाबी गर्नेहरूले रुस्दीविरोधी जुलुस निकाले । ठूला प्रदर्शनहरू भए । ती प्रदर्शनहरूमा सयौं मुस्लिम युवाले भाग लिए । ब्राडफोर्डका सडकमा आक्रोश व्यक्त गर्ने ती युवाले रुस्दीको विवादास्पद भनिएको उपन्यास सम्भवत: पढेका थिएनन् । तिनको व्यक्तिगत जीवनमा सो उपन्यासले कुनै ठूलो समस्या सिर्जना गरेको थिएन, न भविष्यमा कुनै अप्ठ्यारो सिर्जना गर्ने थियो । तर, ती सबै रुस्दीको फतवाको समर्थनमा जिहादी बन्न तम्सिए । मलिकले पश्चिममा उदाएको मल्टिकल्चरलिज्म (बहुसंस्कृतिवाद) को आलोचना गर्न लेखेको यो किताबमा सामान्य मान्छे किन जिहादी बन्न पुग्छन् भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन् । सन् १९८९ को जनवरी महिनामा ब्राडफोर्डमा रुस्दीविरोधी प्रदर्शन भएको थियो । त्यसपछि पनि त्यहाँ थुप्रै प्रदर्शन आयोजना गरिए । त्यस्ता विरोध कार्यक्रमहरू बाक्लै हुन थालेपछि ब्राडफोर्डलाई ‘सिटी अफ इस्लाम’ भनेर चिनिन थाल्यो । ती प्रदर्शनहरूबारे पत्रपत्रिकामा रिपोर्टिङ गर्ने क्रममा मलिकले एक जना पुराना चिनारुलाई भेट्छन् । ती युवा कुनै समयमा सोसलिस्ट वर्कर्स् पार्टी नामको वामपन्थी संगठनका सक्रिय सदस्य थिए । लन्डनमा नश्लवादविरोधी प्रदर्शन भएका बेला, उनी र मलिकले सँगै काँध मिलाएर हिँडेका थिए । उनी फुटबल खेलको ठूलो फ्यान थिए, सदर्न कम्फर्ट भन्ने ह्विस्कीका पारखी थिए र यौनमा ठूलो चाख राख्थे । तर हस्सन नामका यी युवा एक्कासि जिहादीहरूको सहयोगी बनेर ब्राडफोर्ड पुगे । केही वर्षको अन्तरालमा उनले एक ध्रुवबाट अर्को ध्रुवमा छलाङ मारे । एकातिर उनी वामपन्थी संगठनको अत्यन्त यान्त्रिक जीवनबाट दिक्क भइसकेका थिए भने आफू पहिचानविहीन भएको महसुस गर्न थालेका थिए । उनले भने, ‘मुस्लिमका रूपमा मलाई आफ्नो प्रतिष्ठा बचाउन जरुरी छ भन्ने लाग्यो । साम्प्रदायिक जीवनको अर्थबोध भयो ।’ त्यसैका लागि उनी ‘सिटी अफ इस्लाम’ मा आइपुगेका थिए ।

जिहादी बनेर हिंसात्मक क्रियाकलापमा संलग्न हस्सनजस्ता युवाहरूलाई लक्षित गरेर ‘इन्लाइटनमेन्ट’ का मूल्यबाट दीक्षित धेरै पश्चिमा गोराहरूले सिंगो मुस्लिम समुदायलाई लाञ्छित गरे । हस्सनहरू उदाउन थालेपछि पश्चिमी आधुनिकता र सभ्यतामाथिको आक्रमणको कारण खोज्दै ‘क्ल्यास अफ सिभिलाइजेसन’ जस्ता पुस्तकहरू लेखिए । साम्युल पी हन्टिङ्टनको भविष्यवाणी गैरपश्चिमा सभ्यतालाई बर्बर सावित गर्ने ठूलो बौद्धिक हतियार बन्यो । यद्यपि, अल्पसंख्यक समुदाय र व्यक्तिको धार्मिक र सामुदायिक पहिचान जगेर्नाका निम्ति कानुनहरू बनेका थिए । सन् ८० को दशकमा ह्वात्तै बढेका साम्प्रदायिक दंगाहरू कम हुन थालेका थिए । तर, रुस्दीविरुद्धको फतवा जारी भएसँगै बहुसंस्कृतिवादलाई जगेर्ना गर्न बनाइएको कानुनको आडमा धार्मिक कट्टरपन्थीहरूले अतिवादी क्रियाकलाप गर्न थाले । यसै सन्दर्भमा, बेलायतमा थालिएको बहुसंस्कृतिवादी अभ्यासले संकट बेहोर्‍यो । यस्तो संकटकै कारण भारतीय मूलका केनान मलिकहरूले ‘मल्टिकल्चरलिजम’ माथि प्रश्न उठाए ।

नश्लवादी गोरा विद्वान्हरूले गरेको बहुसंस्कृतिवादको आलोचनाभन्दा आफ्नो चिन्तन गुणात्मक रूपमा भिन्न छ भन्ने मलिकको दाबी छ । सो दाबीको पुष्टि गर्दै उनले सन् २०१४ मा अर्को पुस्तक लेखे, ‘मल्टिकल्चरलिज्म एन्ड इट्स डिसकन्टेन्ट्स : रिथिंकिङ डाइभर्सिटी आफ्टर ९–११’ । दक्षिणपन्थी आलोचनाले एउटै नश्लको वर्चस्व हुनुपर्ने मत राख्छ भने आफूले सबै समुदायको सहअस्तित्वमा विश्वास गर्ने मलिकको दाबी छ । तर, एउटा खास भूगोलमा बहुल सम्प्रदायको सहअस्तित्व कसरी सम्भव छ भन्ने प्रश्नको कुनै ठोस उत्तर दिएका छैनन् मलिकले । बहुलवाद स्विकार्दैमा वा बहुसंस्कृतिवाद त्याग्दैमा सामान्य अल्पसंख्यक समुदायका पढे–लेखेका युवाहरूको आक्रोश र क्षोभ मत्थर हुने संकेत देखिँदैन । वर्गीय कोणबाट चलेका अनेकन विमर्श र संघर्षले समेत यो प्रश्नको उचित समाधान खोज्न सकेका छैनन् ।

संकट र आलोचना बेहोरेको बहुसंस्कृतिवादी अवधारणा पूर्णतया त्यागिएको छैन, न युरोपेली जिहादी उदाउने क्रम नै रोकिएको छ । सन् १९८९ देखि २०१६ सम्म आइपुग्दा जिहादीहरूले अनगिन्ती हिंस्रक आक्रमण गरे, सामान्य र निहत्था मानिसको थोकमा ज्यान लिए । के जिहादी हिंसाको मुख्य कारण बहुसंस्कृतिवादको असफलताले बढाएको आक्रोश नै हो ? ठूला शक्तिराष्ट्रदेखि कमजोर र साना देशहरूमा समेत लगभग उही समयमा उदाएको दक्षिणपन्थी राजनीतिको मुख्य कारण पनि बहुसंस्कृतिवादको असफलता नै हो ? मलिकका तर्कहरू बलिया छन् तर अहिले सतहमा उर्लेको आक्रोश र सो आक्रोशको दक्षिणपन्थी बहकाउले अझ गहिरो चिन्तनको माग गर्छ ।

जिहाद भर्सेज म्याकवल्र्ड
सन् १८५१ मा लन्डनमा फलाम र सिसा मोहोरेर भीमकाय प्रदर्शनी सभागृह ‘क्रिस्टल प्यालेस’ को निर्माण गरिएको थियो । सो भव्यतम सभागृह देखेर फर्केको बीस वर्षपछि ‘ब्रदर्स कारमाजोभ’ उपन्यासमा दोस्तोएब्स्की लेख्छन् : ‘क्रिस्टल प्यालेस–पश्चिमा प्रगतिको चिह्न हो । यत्रो पर्वताकार घर निर्माण गर्ने त्यो पराक्रमी आत्माको घमण्ड देख्यौ भने र आफ्नो जित र सफलतामा त्यो आत्मा घमण्डसाथ विश्वस्त भएको देख्यौ भने, तिमीलाई कम्पन छुट्नेछ । उसको घमण्ड, हठ र उसको अन्धताले तिमीलाई थरथर कमाउनेछ । र तिनलाई देख्यौ भने पनि तिमी काँप्नेछौ जसमाथि यो घमण्डी आत्मा सवार भएर शासन गरिरहेको छ ।’ औद्योगिक पुँजीवादलाई उनले पराक्रमी आत्मा भनेका छन् भने ‘क्रिस्टल प्यालेस’ लाई पुँजीवादको मन्दिर । सन् १८६२ मा युरोप भ्रमण सकेर फर्केपछि उनले एक पत्रिकामा लेखे : ‘किन सबैथोक जे हामीसँग छ, भनौं विकास, विज्ञान, कला, नागरिक चेतना, मानवता, किन यी सब त्यही पवित्र करामती भूमिबाट आउँछ ? किन हाम्रो बाल्यकालदेखिको सिंगो जीवन युरोपेली ढाँचामा ढालिएको छ ?’

दोस्तोएब्स्कीले ऊबेला नै सचेत भएर गरेको प्रश्न अहिलेका लेखकले दोहोर्‍याउँदै छन् । पंकज मिश्राले यिनै प्रश्नहरूको सान्दर्भिकता खोज्दै भर्खरै ‘एज अफ एंगर’ भन्ने पुस्तक लेखे । सिसमहलको सपना भनेको आधुनिकताले बाँडेको एकरूप सपना हो । संसारभर रहेका यति विविध मानिस र संस्कृतिलाई एकैखाले पश्चिमा ढपढाँचामा ढाल्ने ‘होमोजिनाइजेसन’ को अटुट प्रक्रियाहरूले डरलाग्दा ‘एबरेसन्स’ हरू जन्मायो । ठूला दुई विश्वयुद्ध लडिए, वातावरणीय विनाशले हजारौं मानिसका जीवन संकटमा पार्‍यो । सिसमहलले देखाएका सपना पूरा गर्न नसक्ने लाखौं मानिसका मनमा ठूला भ्वाङ परे, गहिरो अतृप्ति, र बेताबी पैदा भयो । आधुनिक बन्ने लालच उपभोगको लालचमा परिणत भयो । एकातिर उपभोगको चरम रूपले स्रोतको अटुट दोहन गर्‍यो भने, अर्कातिर लाखौं मानिसलाई ती स्रोत प्रयोग गर्नबाट वञ्चित गर्दै लग्यो । वञ्चितीकरणमा परेका मानिसले सँगसँगै आफू अपूरो भएको महसुस गरे । जति गरे पनि, पुग्दो उपभोग गर्न नपाएका कारण जीवन अपूरो हुन गएको महसुस भयो, आफूले पाउने जति सम्मान नपाएकोमा क्षुब्धता बढ्दै गयो । एकातिर गरिबी बढ्दै गयो, अर्कातिर सांस्कृतिक पहिचान नामेट हुँदै गयो । दुवैखाले वञ्चितीकरणले आक्रोशको मात्रा बढाउँदै लग्यो ।
मिश्राले जँ ज्याक्स रुसोका लेखनीको सहारा लिएर यस्ता आक्रोशका मनोवैज्ञानिक र सामाजिक कारणहरू खोतल्ने प्रयास गरेका छन् । रुसोले मान्छेको आधारभूत चाहना भनेको ‘एमोर ड सुवा’ अर्थात् आत्मरक्षा हो भनेका छन् भने बिस्तारै समुदायगत बसाइ बढ्दै गएपछि मान्छेले आफूमा हुर्काएको अर्को आधारभूत गुण भनेको ‘अरूभन्दा राम्रो’ बन्ने अभिलाषा हो । आफूप्रति अरूको सम्मान बढ्दै जाओस् भन्ने लोभ मान्छेको आधारभूत गुण हो भन्ने रुसोको मत छ । अरूको सम्मान नपाउन्जेल आफू अपूरो भएको सम्झने सामान्य मानवीय चरित्रका रूपमा स्थापित भएको छ । रुसोले यस्तो मानवीय चरित्रलाई ‘एमोर प्रोप :’ भनेका छन् । आफ्नो अस्तित्व सुरक्षित गर्ने र अरूलाई पछि पारेर अघि बढ्ने यी दुवै गुणलाई पुँजीवादले आफ्नो निरन्तरताका लागि उपयोग गरेको छ । सामाजिक सञ्जालमा छताछुल्ल अरूभन्दा राम्रो देखिने स्पर्धा यसैको अभिव्यक्ति हो । उपभोगको बढ्दो क्रम पनि त्यही अरूबाट राम्रो भनिने अभिलाषाको परिणाम हो ।

सिसमहल आफू राम्रो छु भन्ने अभिमानको अभिव्यक्ति त हुँदै हो, त्यसले शासन गर्ने लाखौं मान्छेका मनमा अपूर्णताको ढ्वाङ पार्ने प्रभावशाली हतियार पनि हो । नवउदारवादी अर्थतन्त्रमार्फत भूमण्डलीकरणको विस्तारका लागि माथि भनिएका आधारभूत मानवीय चरित्रको उपयोग गर्न खोजिएको देखिन्छ । अमेरिकी राजनीतिशास्त्री बेन्जामिन आर बार्बरले सन् १९९५ मा ‘जिहाद भर्सेज म्याकवल्र्ड’ शीर्षकको किताबमा उपभोगको स्वर्ग निर्माण गरेर आफ्नो सान्दर्भिकता र निरन्तरता कायम राखेको पुँजीवादलाई ‘म्याकवल्र्ड’ भनेका छन् । संसारभर एउटै उपभोक्तावादी संस्कृति स्थापित गर्ने यो प्रक्रियाले कृत्रिम आवश्यकताहरूको निर्माण गर्छ र आम उपभोगको रफ्तारलाई बढाउँछ । लाखौं मानसिको एकैखाले वस्तुप्रतिको आकर्षण बढाउँछ, त्यो प्राप्त गर्ने लालसाको दोहन गरेर पुँजीको वर्चस्वलाई कायम राख्छ । यस्तो वर्चस्व जोगाउन अनुकूल राजनीतिक व्यवस्था पनि जरुरी भएकाले संसारभर उदारवादी राजनीतिक व्यवस्थाको प्रादुर्भाव गरियो । आधुनिक हुन उदारवादी व्यवस्था कायम गर्नुपर्ने अवस्था आइलाग्यो । अर्थात् राजनीतिक व्यवस्थाको पनि ‘होमोजेनाइजेसन’ नै भयो ।

एकातिर त्यस्तो एकरूप व्यवस्था लाद्ने प्रक्रियालाई अत्यन्त प्राकृतिक र स्वाभाविक प्रक्रियाका रूपमा स्थापित गरिँदै छ भने अर्कातिर दुनियाँलाई धर्म र जातिका स–साना र जड घेराहरूमा विभाजित गर्दै मान्छे उभिने साझा धरातलको निर्माणमा भाँजो हालिँदै छ । उपभोगको स्वर्गमा हुर्केको क्षोभ, आक्रोश, अपूर्णताको अनुभूतिलाई मथेर सयौं ‘इको– च्याम्बर’ हरूको निर्माण गर्ने क्रम जारी छ । अर्थात्, ‘म्याकवल्र्ड’ मा परेका अनेकन छिद्रहरूबाट किसिम–किसिमका ‘जिहादी लहड’ को उत्तेजना बढेका छन् । कतै त्यो इस्लामको नाममा धर्मान्धता भएको छ भने कतै राजनीतिक हिन्दुत्वका रूपमा उदाएको छ । त्यही जिहादी लहडको एउटा रूप हो साँघुरो र असमावेशी ‘राष्ट्रवाद’ जसले सांस्कृतिक भिन्नतासहितको सामूहिक अस्तित्व स्विकार्न सक्दैन ।
धार्मिक कट्टरता बढ्दै गए के हुन्छ ? त्यो आत्मघाती बन्छ, अरूसँगै आफंैलाई पनि सिध्याउँछ । राष्ट्रवादले अल्ट्रा स्वरूप ग्रहण गर्दै के हुन्छ ? चरम ‘अन्य’ घृणा बढ्दै जान्छ र त्यो आवेगले हिंसात्मक रूप धारण गर्छ । खास क्षेत्रका वा खास रंग भएका तर सोझो र व्यक्तिगत दुश्मनी नभएका सामान्य मानिसहरूबीचको सम्बन्ध हिंसात्मक बन्दै जान्छ । ओलिभियर रोयले दाबी गरेजस्ता जीवनद्वेषी शून्यवादीहरूको संख्यामा वृद्धि हुँदै जान्छ । ती सबै सधैं खिलाफतको सपना देख्ने हुँदैनन्, ती रामराज्यको परिकल्पना गर्नेहरू पनि हुन सक्छन्, वा कुनै ‘सेक्युलर स्वर्ग’ को परिकल्पनामा रम्नेहरू पनि हुन सक्छन् ।

दोस्तोएब्स्कीले आफ्ना पछिल्ला रचनाहरूमा उदारवादी भनिएको पुस्ताले कसरी निहिलिस्ट अर्थात् शून्यवादीहरू जन्मायो भन्ने देखाएका छन् । खासगरी उनले सन् १८७१ मा लेखेको ‘डेमोन्स’ उपन्यासमा दिवास्वप्नमा रम्ने चरम व्यक्तिवादी बाबु र उसको घातक उपयोगितावादी छोराको सम्बन्धमा उदारवाददेखि शून्यवादसम्मको यात्रा व्यक्त भएको छ ।

नयाँ परिकल्पना ?

पश्चिममा उदाएको ‘इन्लाइटनमेन्ट’ र त्यसले निर्माण गरेका मूल्यहरू सबै संकटग्रस्त भए । आधुनिकताका नाममा चलाइएको ‘होमोजिनाइजेसन’ को प्रक्रियाले पनि थुप्रै चुनौतीहरू तेस्र्याएको छ । लोकतन्त्रले भनेजस्तो सफलता हात पारेन, साम्यवादको सपना रगतपच्छे भयो, कतै त्यो दुस्वप्न भयो, बहुसंस्कृतिवादले न म्याकवल्र्डको छिद्र पुर्न सक्यो, न जिहादी उन्मादलाई मत्थर पार्न सक्यो । अहिले आएर पृथ्वी र जीवजन्तुकै भविष्य संकटग्रस्त बन्दै गएको छ । 

मान्छेले बनाएका व्यवस्थाले नै यी संकट निम्त्याएका हुन्, मान्छेकै आक्रोशले जीवनमुखी आकार नपाउँदा यी चुनौतीहरू अघिल्तिर आएका हुन्, त्यसैले तिनको सामना गरेर यो दुनियाँलाई अझै बाँच्नयोग्य बनाउने जिम्मा पनि मान्छेकै हो । तर, संसारभरका सबै मानिसलाई उत्तिकै उपयोगी हुने र सबैले मान्ने कुनै खास एउटा ‘मेटान्यारेटिभ’ ले यो संकटको सामना गर्न र पार लगाउन सघाउला ? के उत्तरआधुनिकहरूले भनेजस्तो स–साना र खण्डित न्यारेटिभहरूले संसारभरका मानिसले लगभग सँगसँगै बेहोरेका ठूला र मिल्दाजुल्दा संकटहरूको निदान गर्ला ? कुनै ठोस प्रेस्क्रिप्सन फेला नपार्दा पनि झोंक नै चल्छ ।

प्रकाशित : वैशाख १६, २०७४ ०९:३७

कान्तिपुर दैनिक / https://www.kantipurdaily.com/koseli/2017/04/29/20170429093711.html

0 comments:

Post a Comment