Sunday, May 13, 2018

चटपटेवालको बोदीबट्टा

उज्ज्वल प्रसाईं   /     काठमाडौ, आश्विन ६ -
'काँकड्भिट्टा ः मेड इन जापान' यो शीर्षकमा खगेन्द्र संग्रौलाले निबन्ध लेखेका छन् । उनको कलमले सिंगो काँकड्भिट्टालाई धूलोपीठो बनाएको छ । निबन्धको सार यत्ति हो ः 'काँकड्भिट्टा पत्रु सहर हो । त्यहाँका पसलहरूमा बेचिने मेड इन जापानको स्टिकर टाँसेका नक्कली सामानहरूमा सम्पूर्ण सहरको चरित्र चित्रित छ । भेषभूषा र भाषा पनि त्यस्तै नक्कली छन् । मान्छेहरूमाझ बन्ने सम्बन्धहरूसमेत नक्कली सामानजस्तै निर्बलिया छन् काँकड्भिट्टामा ।'

झापा जिल्लामा पर्ने नेपालको यो पूर्वीद्वारको त्यही धूलोपीठोमा लडीबुडी खेल्दै मैले अक्षरहरू चिनेँ, कलम चलाउन सिकेँ । तिनै निर्बलिया सम्बन्धहरूले मलाई आजसम्म उतै तानिइरहन्छन् । संग्रौलाको सो निबन्ध छापामा आएका बेला साहित्यमा मेरो भर्खरै रुचि बढ्न थालेको थियो । त्यसैले उनका तर्कहरूप्रति उत्ति ठूलो समर्थन वा विरोध केही थिएन उसबेला । तर, अहिले आएर गम्दा संग्रौलाका केही तर्कहरूसँग सहमत भए पनि काँकड्भिट्टावासी हुनुका नाताले मेरा असहमतिहरू पनि छन् ।

काँकड्भिट्टाका तन्नेरीहरूलाई पात्र बनाएर एउटा कथा लेख्ने जमर्को गर्दा आज फेरि उक्त निबन्ध मस्तिष्कमा ताजा बनेर आउँछ । जबजब मेरा पात्रहरू बोल्न थाल्छन् तबतब म अप्ठ्यारोमा पर्छु । कारण, मेरा पात्रहरूले बोल्ने अधिकांश कुरा गैरकाँकड्भिट्टेले नबुझ्न सक्छ भन्नेमा म सचेत हुन थाल्छु । कथाको बहाव र गाम्भीर्यलाई पनि तीनले बोल्ने भाषाले बोक्न सक्छन् जस्तो लाग्दैन । त्यसैले म काँकडभिट्टाप्रतिको संग्रौलाको रोषलाई सम्झन्छु । किन हो कुन्नि त्यहाँका अधिकांश युवाहरूले बोल्ने भाषा बडो अप्ठ्यारो किसिमको छ । त्यहाँको भाषामा पनि कतै 'मेड इन जापान'को नक्कली स्टिकर नै टाँसेको त छैन ?

काँकड्भिट्टाका युवाले रिसाउँदा, झगडा गर्दा, कुटाकुट गर्दा र खुसी हुँदासमेत अक्सर बोल्ने आमाचकारीलगायतका शब्दहरू त नेपालका जुनसुकै सहरकाले पनि सजिलै बुझ्न सक्छन् । काठमाडौँका सडकमा पनि मनपरि बोल्नेहरू बग्रेल्ती भेटेको छु । यी राष्ट्रिय ख्याति पाएका 'मनपरि'हरू बाहेकका कुरा भने बुझ्न गाह्रै पर्ला । यस देशको हैकमवादी खस भाषामा काँकड्भिट्टाले गरेको प्रयोग निकै घगडान हुँ भन्ने भाषाशास्त्रीहरूलाई समेत रिंग्याउने खालको छ । दुई-चार उदाहरणहरू हेरौँ ।

'साले सेना हुन खोज्दैथ्यो, उल्टै धुर बनाएर फाँडी ख्वाइदेँ ।' तपाईँ कुनै दिन काँकड्भिट्टा पुग्नुभएका बेला गफैगफमा कसैले तपाईसँग यसो भन्न सक्छ । सो वाक्यको अर्थ गैरकाँकड्भिट्टेलाई बुझ्न हम्मे पर्छ । कारण, सो वाक्यमा प्रयुक्त 'सेना' र 'धुर' जस्ता शब्दलाई सामान्यतया प्रयोग गरिनेभन्दा बेग्लै अर्थमा यहाँ प्रयोग गरिएको छ । र, 'फाँडी' भन्ने शब्द खस भाषामा हुन्छ जस्तो लाग्दैन । यस वाक्यमा सेना भन्नाले राज्यको पहरा गर्ने सिपाही होइन । बरु, धेरै बाठो हुँ भन्ने भाव कसैले देखायो भने त्यसलाई सेना भन्ने चलन छ हाम्रा काँकडभिट्टे साथीहरूमा । त्यस्तै धुर भनेको जग्गा नपाइमा प्रयोग हुने इकाई नभई लाटो भन्ने अर्थमा प्रयोग गरिन्छ । र, फाँडी भन्ने बिल्कुल नयाँ र सम्भवतः काँकड्भिट्टामा आविष्कार गरिएको यस शब्दको अर्थ भाग्नु वा भगाउनु हुने गरेको छ । समग्रमा माथिको वाक्यलाई सबैले बुझ्ने भाषामा यसो भन्न सकिन्छ ः 'साले धेरै जान्ने हुन खोज्दै थियो, उल्टै अवाक बनाएर भगाइदिएँ ।'

दुई तीन वर्षअघिको घटना सुनाउँछु । एकजना काँकडभिट्टे पत्रकार साथीले मध्यरातमा बिर्तामोडतिरका अर्का पत्रकारलाई फोन गरेर आफूलाई सहयोग गर्ने आग्रह गर्दै भनेछन्, 'हाम्रो संगठनबाट तुरुन्त एउटा विज्ञप्ति निकाल्नुपर्यो यार । मलाई एउटा चटपटेवालले बोदीबट्टा गर्यो ।' निद्राले चुर ती अर्का पत्रकारले फोन गर्नेको कुरो बुझेनन् र दोहोर्याउन आग्रह गरे । सोही वाक्य काँकडभिट्टे पत्रकारले तेहेर्याउँदा पनि बिर्तामोडवालाले नबुझेपछि अन्तिममा पूरापूरी खस भाषामा काँकटभिट्टेले भनेछन्, 'मलाई चट्पटेवालाले अनाहकमा कुट्यो । यसको विरोधमा एउटा विज्ञप्ति जारी गर्नुपर्यो भनेको ।' काँकडभिट्टाको भाषासँग परिचित हुन नपाएका काँकडभिट्टाभन्दा १७ किलोमिटर टाढाका ती अर्का पत्रकारले बल्ल मात्रै कुरो बुझेछन् । साथीले कुटाइ खाएकामा भन्दा उनले भनेको 'बोदीबट्टा' शब्दमा बढ्ता ध्यान केन्दि्रत गरेका ती पत्रकार अहिले पनि सो घटना बरोबर सम्झेर हाँस्ने गर्छन् ।

आफू जन्मेको काँकड्भिट्टा मध्यबजारको सेटिङमा त्यहीँका पात्रहरू उभ्याउँदा ती पात्रहरूबाट मैले काठमाडौँमा वा कणर्ालीतिर बोलीने भाषा बोलाउन सक्छु र ? मजस्तो काँचो कथाकारलाई मसँगै हुर्केका मेरा दौँतरीहरूका भाषाले अप्ठ्यारोमा पारिदिएको छ । अग्रजले गरेका काम हेर्छु र झन् त्रसित हुन्छु । नारायण ढकालको प्रेतकल्पमा काँठमा बस्ने धनवीरे चमारे यसरी बोल्छ ः 'मालिक काँ हुन्थ्यो र त्यसो ? ठूला मालिक मेरा भगुमान हुनुहुन्छ । वाँले मर् भन्नुहुन्छ भने मर्चु, बाँच् भन्नुहुन्छ भने बाँच्चु ।' त्यसैगरी लेखक पुण्यप्रसाद खरेल -जो काँकड्भिट्टावासी नै हुनुहुन्छ) को 'त्रिवेणी आमा' उपन्यासकी ताप्लेजुङकी साइँली सुब्बेनीको भाषा यस्तो छ ः 'को हो हौ तिदी त्यस्तो कुरा फन्ने ? आन्त तीँ फेजा खुकुरीले स्याप्तुंग छिनांगछुंग फन्नु नि । को हौ त्यत्रो आँट कर्ने ?'

यी माथिका उदाहरणमा त उच्चारण मात्रै भिन्दै छ । त्यसैले यी फरक पृष्ठभूमिका दुई पात्रले बोलेका भाषा सबैतिरका पाठकले सहजै बुझ्छन् । अब मेरा पात्रका त शब्दै नौला । जाने सुनेकै शब्दका अर्थहरू पनि के हुन् के हुन् ? मेरो एउटा आवारा शैलीको छिल्लिएको पात्रले राम्री तरुनीलाई देख्नेबित्तिकै भन्छ, 'आँच् ! छप्की त प्वाँट रछ नि । तर, धेर मेकअपले होला सैँठु नै देखियो यार ।'  अर्थात्, उसले देखेकी केटी धेरै मेकअप गरेर हिँड्ने कुनै बजारु किसिमकी लाग्छे उसलाई ।

पछिल्लोपटक काँकड्भिट्टा पुग्दा लगभग ४ वर्षअघि काठमाडौं आउँदासम्म नसुनेका केही शब्दहरू सुन्ने मौका पाइयो । स्थानीय दैनिकमा काम गर्ने एक पत्रकार साथीले नै भेट भएको केही मिनेटहरूभित्रै दुई बिल्कुल नयाँ शब्दहरू बोले ः ल्यांगल्यांग र गाँडेगर्चे । उनैलाई यी दुई शब्दका अर्थहरू सोधेँ । उनले बताएअनुसार ल्यांगल्यांग गर्नु भनेको धेरै किचकिच गर्नु भनेको रहेछ भने गाँडेगर्चेले अप्ठ्यारो स्थितिको सिर्जना भयो भन्ने बुझाउँदो रहेछ ।

मसँगसँगै वा मभन्दा दुई चार वर्षअघि काँकड्भिट्टामा जन्मेर हुर्केकाहरू अहिले कोही पत्रकार, कोही अलपत्रकार, कोही कन्डक्टर, कोही खलाँसी, कोही ड्राइभर, कोही व्यापारी र कोही शिक्षक भएका छन् । तीमध्ये अधिकांशको भाषा माथि भनिएजस्तै छ । एकोहोरो हेर्नुलाई कप्नु, तनाव भो भन्नुपर्यो भने गिदी भो, कोही बेकामे छ भन्दा त्यो गैँचे हो, र कसैलाई चोर भन्नुपर्यो भने टिन्वा भनेर आफ्ना दैनन्दिनको सञ्चार चलाउँछन् उनीहरू ।
मेरा दौँतरी र सहपाठी यी युवा साथीहरूमा सबभन्दा बढ्ता छिमेकमा पर्ने दार्जिलिङको प्रभाव छ ।

दार्जिलिङतिरका पुराना मान्छेका त प्रायः तुलसी घिमिरेले सिनेमामा बोल्ने संवाद जत्तिकै मीठो सुनिन्छ । तर, सन् ८० को दशकदेखि यता जन्मेकाहरूको 'याँच' वाला लवजचाहिँ हाम्रामा बढ्ता सुनिन्छ । दार्जिलिङको प्रसंग जसै निस्कन्छ, म पुराना कवि सुवास घिसिङलाई सम्झन्छु । उपन्यासकारका रूपमा 'नीलो चोली'का लेखक र नेताका रूपमा विमल गुरुङका बैरी भनेर बढ्ता चिनिने घिसिङभित्रको कविलाई भने साह्रै थोरैले मात्रै चिन्छन् । घिसिङको एक पुरानो कविताले उनको मौलिक भाषाको छनक दिन्छ । उक्त कविताको एक पंक्ति गुनगुनाउँदै म गम खान्छु, मेरा 'बोदीबट्टा'वाला पत्रकार साथीले आफ्नो मौलिक लवजमा कविता लेखे भने कस्तो होला ः             
बिन्दुली टीका के टीका ?
सिन्दुरको टीका के टीका ?
माटोको टीका राजा टीका,
माटोको टीका रानी टीका ।
       -सुवास घिसिङ                                                                                                                               

प्रकाशित मिति: २०६८ आश्विन ७ ०९:५१

कान्तिपुर दैनिक / https://www.kantipurdaily.com/koseli/2011/09/23/252955.html

0 comments:

Post a Comment