Wednesday, May 23, 2018

‘वाम एकता’ मा किन रोमाञ्चित ?

उज्ज्वल प्रसाई / ०८ जेठ २०७५-

सत्ताधारी दुई दल एमाले र माओवादी केन्द्रको ‘एकता’ भएको छ। एकीकृत पार्टीका नेता घनश्याम भुसालको शब्दमा भन्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सिद्धान्त र संगठनका प्रश्नलाई ‘टेन्टभित्रका तान्त्रिकले जसरी’ हल गरेर पार्टी एक भएको घोषणा गरे। यो एकतालाई धेरैले माओवादीको एमालेमा विलय भनेका छन्। कसैकसैले एकता होइन, माओवादीको एमालेकरण पनि भनेका छन्। जे होस्, पछिल्लो समय उठेका केही संशयलाई किनारा लगाएर दुई पार्टी एक भए, ‘नेपाल कम्युनिस्ट पार्टी’ भन्ने नाम पनि धारण गरे। औपचारिक दस्तावेजमा यो नाममा ‘अन्डरलाइन’ लगाउनुपर्ने बाध्यता सहेर भए पनि उनीहरू आफूलाई कम्युनिस्ट भनाउन सफल भए। ‘मार्क्सवादी तान्त्रिक’ हरूको यो सफलताको सर्वत्र प्रशंसा भएको छ।

पार्टी एकताका प्रशंसकहरूमा सबभन्दा अघिल्तिर नेपालका मूलधारका ठूला सञ्चारमाध्यमहरू छन्। सबैजसो ठूला पत्रिकाहरूले ‘इतिहासको सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी’ भनेर गरेको घोषणामा समाचार लेख्ने र छाप्नेहरूको अतिरिक्त हर्ष व्यक्त भएको बुझिन्छ। वामपन्थीको सार्वजनिक पहिचान बनाएका बुद्धिजीवी र विश्लेषकहरूले समेत ठूलो हर्षबढाईं गरेका छन्। साथै, हिजो दुई पार्टीका अध्यक्षहरूलाई आफ्ना घरमा बोलाएर वार्ता गर्न लगाउने ठूला व्यापारीको दर्जा पाएका माफिया र दलालहरू पनि उतिनै खुसी भएका छन्। दुई पार्टीका नेताकार्यकर्ता र यी पार्टीलाई विश्वास गरेर मत दिएका सामान्य नागरिक पनि हर्षित भएको अन्दाज लगाउन सकिन्छ। बेखुसी हुनेको संख्या कति होला ? ठ्याक्क यकिन गर्न गाह्रो छ।


सञ्चारमाध्यम र चल्तीका विश्लेषकहरू दुई पार्टीको एकताबाट आखिर किन यति धेरै रोमाञ्चित भए होलान् ? ती व्यापारी जसले दुई पार्टीका अध्यक्षका बीच सहजकर्ताको भूमिका निर्वाह गरे, के ती कम्युनिस्टहरू बलियो भएकामा खुसी भएका हुन् ? हिजो निर्वाचनमा मत हाल्ने आधारभूत तहका नागरिक र यी सतहमा देखिने गरी हर्षित भएका संस्था, व्यापारी र विश्लेषकहरूका हर्ष उस्तै हुन् ? सतहमा उत्रिएका यी प्रश्न रोचक मात्र छैनन्, दूरगामी महŒवका पनि छन्।

नेपालमा रहेको उल्लेख्य कम्युनिस्ट जनमत सम्भवतः कम्युनिस्ट पार्टीहरू एकढिक्का भएको हेर्न चाहन्थ्यो। कम्तिमा, कम्युनिस्ट भनिएका दुई ठूला राजनीतिक पार्टीको मिलन उनीहरूको चाहना भएको गठबन्धनप्रति निर्वाचनमा व्यक्त भएको विश्वासलाई हेरेर बुझ्न सकिन्छ। नेपाली समाजलाई गाँजेका गरिबी, अविकास, परनिर्भरता इत्यादिबाट मुक्तिका लागि यस्तो एकता जरुरी भएको उनीहरूको विश्वास हुन सक्छ। धेरै मतदाता त यी साँच्चिकै कम्युनिस्ट वा वामपन्थी पार्टी हुन् भन्नेमा पनि विश्वस्त हुन सक्छन्। नेताका ‘तान्त्रिक टेन्ट’ भित्रका कस्ता गठजोडले यो एकता सफल भएको हो भनेर खुट्याउने झन्झटमा उनीहरू लाग्दैनन्। त्यही विश्वासलाई उकेरा लगाउँदै निर्वाचनमा राष्ट्रवाद र विकासका प्रभावकारी भाष्यको निर्माण गरिएको थियो। आधारभूत तहका मतदाताले यो भाष्यमा भरोसा गरे। खाडीमा पसिना बगाइरहेको युवाले अब छिट्टै मुलुक फर्केर सजिलै गरिखान पाइने विश्वास गरेको छ भने, सामान्य मतदातामा सो भाष्य प्रभावकारी र वैध ठहरिएको मान्न सकिन्छ। यी मतदाताको हर्ष अशोभनीय होइन र त्यसलाई त्याज्य मान्न सकिँदैन। निर्वाचन मात्रले लोकतन्त्र धान्न नसक्ने भए पनि यो पद्धतिमा विश्वास भएकाले निर्वाचनमा व्यक्त मतलाई अस्वीकार गर्न मिल्दैन।

हिजो यी दुईमध्ये एक पार्टीनिकट रहेर वा सक्रिय कार्यकर्ताका रूपमा काम गरेर पछि स्वतन्त्र बुद्धिजीवीको पहिचान बनाएकाहरू पनि सामान्य मतदाता जस्तै विश्वस्त भएका हुन सक्छन्। त्यसैगरी स्वतन्त्र प्राज्ञिक कर्मबाट ‘प्रोग्रेसिभ’ राजनीतिका पक्षधर बन्न पुगेका केही चर्चित बुद्धिजीवीले उस्तै उत्साह व्यक्त गरेका छन्। अहिलेसम्म मुलुक समृद्ध बन्न नसकेको वामपन्थीहरूको फुटकै कारण हो भन्ने उनीहरूको मत छ। अहिले एक भएकामध्ये कुनै पनि पार्टी कम्युनिस्ट होइनन, यी न मार्क्सवादी हुन् न बन्न सक्छन् भन्ने यी विश्लेषकहरूले नबुझेका छैनन्। तर यो जमानामा कोही असली मार्क्सवादी बन्न सक्दैन र त्यस्ता शक्तिहरू बनिहाले पनि तिनको क्रान्तिबाट यहाँ समाजवाद स्थापना गर्ने कुनै सम्भावना नभएको ठम्याइले पनि उनीहरूलाई त्यता डो¥याएको हो। त्यसैले ठूलो जनमत भएको र आफूलाई कम्तिमा कम्युनिस्ट नै भनेर चिनाउन खोज्ने पार्टीलाई साथ दिनु उपयुक्त हो भन्ने उनीहरूको ठहर छ। कम्तिमा मौजुदा पार्टीहरूमा नेपाली कांग्रेस र मधेसवादी भन्दा नेकपा नै बढी ‘प्रगतिशील’ भएकोमा विश्वस्त होलान्। साथै, विकास र समृद्धिप्रति केपी ओली र उनको समूह प्रतिबद्ध रहेकोमा पनि उनीहरू ढुक्क देखिन्छन्।

धेरैजसो विश्लेषकहरू पार्टीबाहिरबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको आलोचना गर्नु आफ्नो व्यक्तिगत ऊर्जाको फजुल खर्च हो भन्ने निष्कर्षमा पुगेको भान हुन्छ। निर्वाचनको वैधताको उपयोगबाट केपी ओली असहिष्णु शासक बन्ने खतरालाई यी विश्लेषकले खारेज गरेका छन्। त्यसरी आलोचना गर्नेहरू ज्यादा पूर्वाग्रही भएको र वस्तुगत यथार्थ आत्मसात् गर्न नसकेको उनीहरूको निक्र्यौल छ। यीमध्ये कति वर्तमान राज्यसत्ता र पार्टीसत्ता दुवैलाई पूर्णतया सघाउने मुडमा छन् भने कतिपय शंकाको सुविधासम्म दिनुपर्छ भनेर समर्थनमा उत्रिएका छन्। त्यसैले यो मार्काका बुद्धिजीवीहरू केपी र प्रचण्डले गरेको पार्टी एकीकरणको घोषणाबाट उत्साहित र हर्षित छन्।

माथि उल्लेख गरिएका दुईथरी मानिसमा छाएको हर्षोल्लासका कारण बुझ्न सहज छ। स्वतन्त्र वाम बुद्धिजीवीले समेत विश्वास गरेका वामपन्थी पार्टीहरू मिलाउन स्वास्थ्य र शिक्षाका माफिया र दलाल व्यापारीहरू अग्रसर हुनु र त्यसरी एकता गराउन सफल भएकोमा खुसी हुनुको कारण के हुन सक्ला ? भूमि, शिक्षा, स्वास्थ्य, मुद्राका अवाञ्छित धन्दा गर्नेहरूको सेवाका खातिर कम्युनिस्ट पार्टीहरूलाई एकढिक्का बनाउनुपर्ने कस्तो नियति आइलागेको हो ? यी रहस्यहरू सतहमा दुरुस्त खुले भने सत्ताधारीले एकदसकमा बनाउने स्वर्गतुल्य नेपालको चित्र खिच्न सकिएला। भित्री रहस्यहरू सबै नखुले पनि सतहमा देखिएका संकेतहरूबाट बुझ्न सकिने के हो भने एक ढिक्का भएको कम्युनिस्ट पार्टीले विकासको नाममा माफियाहरूको धन्दा सञ्चालनलाई यथेष्ट सहयोग गर्नेछन्। निजी क्षेत्रलाई हौसला दिने भनेर शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताका क्षेत्रहरूमा अकण्टक नाफाखोरीलाई सदर गरिनेछ। एकातिर माफियागिरीलाई वैध तुल्याइने र अर्कातिर लोककल्याणका नाममा आना–सुका वितरण गरिने अनुमान लगाउन सकिन्छ। कम्युनिस्ट ब्यानरमा यसो गर्ने सुविधा सधैं प्राप्त नहुन सक्छ। त्यसैले जनमत बलियो भएको कम्युनिस्ट पार्टीको आडमा त्यस्ता काम गर्न पाइने मौकाले माफिया र दलालहरूमा हर्ष छाएको हुनुपर्छ।

आम नागरिकलाई सूचित तुल्याउने, सत्ताका नकामहरू उजागर गर्ने, स्वस्थ आलोचनाका लागि बुद्धिजीवी र विश्लेषकलाई ठाउँ बनाइदिने, पहरेदारका रूपमा उभिने नागरिक समाजका आवाज बन्ने दायित्व लिएर बसेको स्वतन्त्र सञ्चारमाध्यम पनि कम्युनिस्ट एकताबाट रोमाञ्चित देखिन्छ। के एमाले र माओवादीको एकताले सञ्चारमाध्यमलाई आफ्ना यी दायित्व पूरा गर्न सहज वातावरण निर्माण गरिदिन्छ ? अर्थात, लोकतान्त्रिक व्यवस्थाको चौथो अंगका रूपमा काम गर्न वामपन्थी भनिएका पार्टीहरू एकढिक्का र शक्तिशाली बन्नु उपयुक्त मानिएको हो ? सक्रिय र जिम्मेवार पत्रकारहरूको सहज तर्क छ, ‘यो सरकारसँग निर्वाचनबाट पाएको वैध म्यान्डेट छ। त्यसैले सरकारमा रहेका दुई दल एउटै पार्टी बनेर स्थिर सरकार सञ्चालन गर्दै त्यो म्यान्डेट पूरा गर्छु भन्छन् भने त्यसलाई सहर्ष स्वीकार्नुको विकल्प हुँदैन।’ यो तर्क पूर्णतया त्याज्य होइन तर यो आफैंमा पूर्ण सत्य नहुन सक्छ।

आलोचनात्मक ढंगले अहिले देखिएको हर्षोल्लासलाई मूल्यांकन गर्ने हो भने केही प्रश्नहरू उब्जन्छन्। कतै ‘वैश्य युग’ ले सिर्जना गर्ने वाध्यताहरूका सामना गर्न ठूलो जनमतसहितको सत्ताधारीको मिलन हर्षोल्लासको विषय बनेको त होइन ? मानौं कुनै विन्दुमा कांग्रेस र कुनै मधेसवादी दलको एकीकरण भयो भने त्यो एकीकरण यति नै हर्षोल्लासको विषय बन्न सक्ला ? जसका र जस्ता स्वार्थ पूरा गर्न यो एकता गरियो, ती व्यक्तिहरू र सञ्चारमाध्यमका स्वार्थमा केही समानताहरू त छैनन् ? कतै सत्ताधारीले देखाएका सपना आफैंमा खोटरहित छन् र नेपाली समाज हिँड्नुपर्ने बाटो यही मात्र हो भन्ने बुझाइबाट ग्रसित मानसिकताले यो हर्षोल्लास सिर्जना गरेको त होइन ? त्यसो गर्दा विविध र वैकल्पिक चिन्तनका लागि ठाउँ साँघुरो बन्ने सम्भावनाप्रति सचेत हुन नखोजेको त होइन ? वा केहीले लगाएको आरोप जस्तो माओवादीको एमालेमा विलय भएसँगै माओवादीले उठाएका समाज रुपान्तरणका कतिपय जटिल मुद्दाहरूको ‘अवसान’ लाई उत्सवको अवसर मानिएको हो ? सञ्चारमाध्यमले आफ्नो लोकतान्त्रिक अधिकारको उपयोग गर्दै देखाएको रोमाञ्चक हर्षोल्लास पूरै सही वा पूरै गलत ठह¥याउन होइन तर त्यो कसरी सम्भव भयो भनेर बुझ्न यस्ता प्रश्नहरू जरुरी ठानिएको हो।

एमाले र माओवादी केन्द्रको एकता भएकामा कोही खुसी हुनु र कोही दुखी हुनु सामान्य घटना हुन्। दुखी हुनेहरूबारे अरू कुनै मौकामा विमर्श गरौंला। अहिलेलाई सार्वजनिक रूपमा खुसी व्यक्त गर्नेहरूबारे बुझ्नु जरुरी ठानियो। समाजबारे बुझाइ गहिराउन यस्ता घटनाप्रति समाजका विभिन्न तप्काले देखाएको प्रतिक्रिया अवलोकन गर्न उपयुक्त हुन्छ। तर आफ्ना वरपर रहेका बहुसंख्यक मान्छेले व्यक्त गरिरहेको उत्साहमाथि सन्देह गर्नु सहज भने हुँदैन। त्यति मात्रै होइन, व्यक्त गरिएका प्रतिक्रिया पछिल्तिरका कारण खोतल्ने उद्यम उत्तिकै जोखिमपूर्ण पनि हुन्छ। जोखिम नमोल्दा आमवृत्तबाट प्रश्नहरू हराउन सक्छन्, सन्देहहरू विलुप्त हुनसक्छन्। परिणाममा राज्यसत्ता, पार्टीसत्ता र बजारसत्ता मैमत्त हुनसक्छन्। प्रश्न र सन्देहहरूबाट मुक्त भएपछि कसैले नचाहे पनि त्यस्तो परिणाम देखिनसक्छ। यी तीन सत्ताहरूको कुत्सित गठजोडले सिंगो समाजलाई नकारात्मक असर पु¥याउने सम्भावना बलियो हुन्छ।

त्यसैले सनकी सुनिने ‘कोही किन हर्षोल्लास मनाइरहेको छ ? ’ जस्ता प्रश्न पनि उठाउन सकिने मञ्चहरूको निर्माण लोकतन्त्रको स्वास्थ्यका लागि जरुरी छ। सबै अप्ठेरा र सनकी प्रश्नहरू ग्राह्य नहुन सक्छन् तर ती प्रश्न उठ्नुअघि नै तिनलाई निषेध गर्न खोज्नु लोकतान्त्रिक आचरण होइन। त्यसैले सबैखाले प्रश्नको सामना गर्ने ल्याकत र ठाउँ भएको लोकतन्त्र अहिलेको आवश्यकता हो। स्वतन्त्र सञ्चारमाध्यमहरू त्यस्ता प्रश्न उठाउन सकिने मञ्च बनेनन् भने वाम एकताप्रति अहिले देखिएको रोमाञ्चकता रहस्यमयी मान्नुपर्ने हुन्छ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित / http://annapurnapost.com/news/98612      

0 comments:

Post a Comment