Friday, May 18, 2018

एक थान लाल सलाम चढाइदेऊ

उज्ज्वल प्रसाई / १३ असोज २०७४-

प्रिय नाद्या,

तिम्रा हस्तलिखित अक्षर देख्न पाएको छैन । त्यसो त तिमीले मातृभाषामा लेखेको पढ्न सकेको पनि त होइन । अनुदित तिम्रा पत्रहरू छापिएर आए, मेरो मस्तिष्कमा तिनै पत्रहरूले एउटा आकृति कोरिदिए । तिम्रो सक्कली अनुहार खिचिएको तस्बिरले त्यो आकृतिको न्यास्रो मेटाउँदैन । आज यो पत्र लेखिरहँदा, त्यही कृत्रिम आकृतिसँग संवाद गरिरहेको छु । सम्बोधन भने तिमीले पत्रमा लेख्ने गरेको नामलाई नै गर्न मन लाग्यो । नादेझ्दा तोलोकोन्निकोभा, यो नामको उच्चारण नेपाली जिब्रोमा रत्तिन समय लाग्छ ।

साथीहरूसँग मिलेर तिमीले एउटा साहस गर्‍यौ । त्यसो गरेबापत जे हुनु थियो, त्यही भयो । तिमीहरू श्रम शिविरमा थुनियौ, साइबेरियामा प्रहरीका कपडा बुनेर बस्यौ । उहिले नै फ्योदोर दोस्तोएभ्स्किलाई पनि त्यसैगरी श्रम शिविरमा पठाएको थियो राज्यले । फर्केर उनले साइबेरियाको कहरलाई 'द हाउस अफ द डेड'नामको उपन्यासमा उतारे । तिमी पनि कम सिर्जनशील भएनौ त्यहाँ, दार्शनिक चिन्तन नै गर्‍यौ । खैर, रसियाको सबैभन्दा पवित्र मानिने गिर्जाघरमा नाच्दै र गाउँदै भ्लादिमिर पुटिनलाई सराप्नु सहज काम थिएन । कारण, ऊ शासक हो, एकदम तन्दुरुस्त राष्ट्रपति । उसका बलवान् प्रहरीले तिमीहरूलाई थुनेर कुनै अनौठो काम गरेको होइन । फेरि भएन तिमीहरूले गाएको गीत नै यस्तो छ, स्याबासीको आशा गर्नु अर्थहीन हुन्थ्यो ः
'भर्जिन मेरी, मदर अफ गड, पुट पुटिन अवे ...
भर्जिन मेरी, मदर अफ गड, बिकम अ फेमिनिस्ट'


 'पुटिनलाई भगाउने, भर्जिन मेरीलाई नारीवादी बनाउने ।' तिमीहरूले कुनै पुरस्कारको लोभले यस्तो दुस्साहस गरेका थिएनौ । मलाई लाग्छ, तिमीहरूले सजाय पाएर नराम्रो भएन । कहिलेकाहीँ बेवास्ताको सिकार हुनुभन्दा, प्रहरीको फन्दामा पर्नुले बढी अर्थ राख्छ । 'पंक प्रे' भनिने यो गीत दुनियाँभर पुग्यो, 'पुस्सी रायट' भनिएको त्यो आन्दोलन रसियामा मात्रै सीमित भएन । अराजकतावादी तिमीहरूको त्यो आन्दोलनले शक्तिशाली मुलुकको गर्भमा गढेर बसेको पितृसत्ता र अरू त्यस्ता अनेक सत्ताहरूमा सानै सही, एउटा कम्पन ल्याएको थियो । हाताहाती क्रान्ति सम्पन्न गर्ने सपनाले वर्षौंदेखि गाँजेर अत्यासलाग्दो गरी सुस्त बनेका अनेकन् क्रान्तिकारीलाई उनीहरूको अकर्मण्यता सम्झाएका थियो त्यो आन्दोलनले । पुँजीवादका उपासकहरू तिमीहरूको आन्दोलनको बजारभाउ तोक्न नसकेर घोर अलमलमा परेका थिए ।

केही दिनअघि यताका हाम्रा भव्य क्रान्तिकारीहरूले लेखेको संविधानको एउटा धारा पढ्दै गर्दा तिम्रो सम्झना भएको थियो । 'यस धाराको प्रयोजनको लागि 'धर्मनिरपेक्ष' भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्नेछ ।' तिमीले त्यस्तो उफ्रीउफ्री गीत गाएर विद्रोह गरेको गिर्जाघर राज्यको संरक्षणमा थियो वा थिएन, थाहा छैन । तर हाम्रा सबै सनातनी मन्दिरहरूको संरक्षण गर्ने दायित्व राज्यले लिएको छ । संविधानतः उसले त्यो कार्यभार निर्वाह गर्नेछ । त्यसैले होला 'राज्य संरक्षित मन्दिरकी देवीलाई नारीवादी बनिदेऊ र हाम्रा पुटिनहरूलाई भगाइदेऊ', यहाँ कसैले भन्दैन । त्यसो गर्नु क्रान्तिको विपक्षमा हुन्छ, हुर्किँदै गरेको पुँजीवादको खिलाफमा हुन्छ, असंवैधानिक हुन्छ । सडकमा आन्दोलनको उपादेयता सिध्याउने हरदम प्रयत्न भइरहेको छ, मन्दिरको आन्दोलनबारे यहाँ कल्पना गर्नेहरू बेवकुफ ठहरिनेछन् ।

यता हाम्रोमा क्रान्ति एकथरी कम्युनिस्टको जिम्मामा छ, जो आफूलाई हरदम असान्दर्भिक तुल्याउने उद्यममा छन् । पुँजीवादको बलियो संरक्षण गर्ने एक मात्र एजेन्डा अर्काथरी कम्युनिस्टले आफ्नो काँधमा उठाएका छन् । यी दुवै मिलेर धर्मनिरपेक्षताको एकदमै मौलिक परिभाषा तय गरेका छन् । बाँकी मौजुद क्रान्तिकारीहरू 'सबैभन्दा माथि उठेर' सामाजिक भनिने सञ्जालमा बेस्सरी जेलिन्छन्, त्यही सञ्जालमा क्रान्तिका कति फोका उठाउँदै र निभाउँदै गरिरहन्छन् । तिम्रो अराजकतावाद उनीहरूका लागि बिल्कुल असान्दर्भिक छ । यता कसैले कुनै मन्दिरमा तिम्रो हर्कत दोहोर्‍याउने जाँगर गर्दैन किनभने यहाँ कसैलाई त्यो हर्कतबाट प्रभावित हुने फुर्सद छैन । उतै तिम्रो पश्चिमतिरबाट आएको बजार यहाँ शक्तिशाली छ, त्यसैको संरक्षणमा सबै क्रान्तिकारीहरू एकजुट भएका छन् ।

पुटिनले तोकेको सजाय भोग्दा तिमीले पाएका दुःख सबै पढेको छु, तिनै पत्रहरूमा । त्यो सम्झँदा सुखानुभूति किन हुन्थ्यो र ! अर्को ढंगले सोच्यो भने, ठीकै भयो भने झैं पनि लाग्छ । दुःख नहुँदो हो त, जेलभित्र त्यस्ता अनेक समस्या नहुँदो हो त, तिमीले आमरण अनशन बस्ने ठहर गर्ने थिएनौ । तिम्रो अनशनको समर्थनमा संवेदना भएका मानिसहरू जुट्ने थिएनन् ।

तिमीलगायत अरू आन्दोलनकारीलाई रिहा गर भन्ने मागसहित त्यतिका मान्छेबाहिर आन्दोलित हुने थिएनन् । जसै आन्दोलन सुरु भयो, स्लोभेनियाली दार्शनिक स्लाभो जिजेक र तिम्राबीचमा त्यति पत्रहरू आदानप्रदान भए । तिमीले सजाय नपाउँदी हौ त सके त्यस्तो केही हुने थिएन । तिनै पत्रहरूको सँगालो 'कमरेड्ली ग्रिटिंग्स' अर्थात् कमरेडी अभिवादन प्रकाशित हुने थिएन । मेरा एक हितैषीले दूर देशदेखि मेरो नाममा यो खिरिलो पुस्तक बोकेर यहाँ आइपुग्ने थिएनन् । सम्भवतः मैले तिमीलाई चिन्ने आवश्यकता पर्ने नै थिएन । स्लाभो जिजेकलाई त्यति सजिलै बुझेर पढेको पनि त तिमीलाई सम्बोधन गरेर लेखेका पत्रमा त हो !

तिमीलाई लेखेको एक पत्रमा जिजेकले वैश्विक पुँजीवाद, उदारवाद र तिम्रो विद्रोहबारे रोचक एक वाक्य भनेका छन् । 'उदारवादी हेराइमा 'पुस्सी रायट' यति विष्मयकारी हुनुको कारण, यो विद्रोहले स्टालिनवाद र वैश्विक पुँजीवादबीच रहेको अदृश्य निरन्तरता प्रकट गरिदिएको छ ।' हिजो स्टालिनवादको प्रभावमा लछ्याप्रै भिजेका कमरेडहरू आज वैश्विक पुँजीवादको प्रभावबाट बशिभुत हुन थाल्नु र त्यसको संरक्षण गर्नु बाहेकका सारा विकल्पहरूको खारेजीमा उत्रिनु उही निरन्तरता हो कि ! जिजेकले सोच्नका लागि एउटा खुराक दिएका छन् । तर, नेपाली पुँजीवादमा कसैलाई त्यसरी सोच्ने जाँगर छैन।

त्यसो त वरपर भारत र चीनमा समेत यस्ता प्रश्नहरूले कसैलाई छुँदैन । एकातिर भारतीय नवउदारवादीहरू गौमाताको कृपामा हिन्दुराजको परिकल्पनामा व्यस्त छन्, अर्कातिर चिनियाँ फ्रायन्केस्टाइनहरू 'ओबोर' नामको 'मोन्स्टर' निर्माणमा जुटेका छन् । दुईमध्ये कुनै एकबाट प्रभावित क्रान्तिकारीहरूलाई यस्ता प्रश्नहरूले झिँझो लगाउनु हुँदैन । यी दुवैबाट अप्रभावित रहन प्रयत्नरत म फुर्सदमा छु । आऊ तिमीलाई स-साना पुँजीवादी र उत्तरआधुनिकतावादी केही मौलिक कथाहरू सुनाउँछु ।

सबैभन्दा पहिले एक व्यापारीको सानो कथा सुनाउँछु । नेपाली पुँजीवादमा यस्ता व्यापारीको संरक्षण प्राथमिकतामा राखिएको छ । त्यसैले कम्युनिस्ट पार्टीको सदस्यता उनीहरूको दैलामा पुर्‍याइन्छ । यो कथाका पात्र यस्ता जन्ड व्यापारी हुन् जो एक हजार मोलमा किनेको सामान बाइस हजारमा बेच्छन् । बाइस गुनामात्रै नाफा खाएकोमा बेलाबेला उनी क्षुब्ध पनि हुन्छन् । बाइस गुना नाफा खाएर एक सय बाइसवटा सामान बेच्न सक्दामात्रै उनी अलि शान्त हुन्छन् । नत्र उनको अधिरता अधिक बढ्छ । त्यस्तो अवस्थामा सबै औंलामा टपक्क बसेका सुनका औंठी एकअर्कासँग घनघोर घर्षणमा उत्रन्छन् । गलामा झुन्डिएको दाम्लो आकारको सुनको सिक्री थरथराउन थाल्छ । हुत्त बढेको भुँडीलाई छोप्न सक्ने राम्रा कपडा चरक्क चर्कन थाल्छन् । तर, आजभोलि उनका पसलहरू मनग्गे चलेका छन् । उनका वैध र अवैध पैसाको चाङ बढ्दै गएको छ । कथा यतिमा टुं्गिएको भए नेपाली पुँजीवादमा कुनै मौलिकता रहने थिएन । त्यसैले ध्यानसँग सुन नाद्या, कथा अझ रोचक छ ।

माथि भने झैं, उनी एउटा कम्युनिस्ट पार्टीका सदस्य हुन् । उनका अनेक पसलहरूमध्ये, एउटा पसल जग्गाको पनि छ । अर्थात् आकार आकारका जग्गाका अनेक टुक्राहरू उनले बिक्रीमा राखेका छन् । साना, मझौला, र यामानका घरहरू बनाउन मिल्ने गरी ट्याक्क मिलाएर काटिएका कित्ताका अनेक दाम छन् । यहाँ एक सय गुनासम्म फाइदा लिन मिल्ने नियम छ ।

अर्को एउटा पसल शिक्षाको छ । अनेकन् रंगीन डिग्रीहरू बिक्रीमा छन् । स्वदेशी तथा विदेशी ब्रान्डेड विश्वविद्यालयका डिग्रीहरूका बिक्री फस्टाउँदै गएको उनका मुन्सीहरूले उनलाई खबर दिने गरेका छन् । यसरी एक कम्युनिस्ट व्यापारी नेपाली मार्काको पुँजीवादको संरक्षणमा दत्तचित्त भएर लागेका छन् । नाद्या, उनको नाममा एक थान लालसलाम चढाइदेऊ ।

अर्को उत्तिकै रोचक कथा छ । यो उत्तरआधुनिकतावादी मार्का कथाका धेरै पत्रहरू छन्, तीमध्ये एक दुईमात्र यहाँ उजागर गर्नु उचित हुन्छ । नेपाली उत्तरआधुनिकता पश्चिमेलीभन्दा कता हो कता अप्ठ्यारो छ । तिमीलाई बुझ्न हम्मे होला भनेर अलि सहज बनाएर भन्दैछु ।

करिब दुई दशकदेखि एक लगनशील प्राध्यापक दिनैपिच्छे उत्तरआधुनिकतावाद गरेर बसिरहेको खबर छापाहरूमा पढ्न पाइन्छ । अरूले लेखेका आख्यान र कविताहरूमा उनी त्यो गरेर घोटिएका छन् । दुनियाँका केन्द्रहरू धमाधम भत्केको देखेर उनी महिनौं सोचमग्न बने । विधा भञ्जनका अनेक दृष्टान्तमा घोत्लिएर उनले लगभग आधा वर्ष बिताए । कथामय निबन्ध र निबन्धमय कथा, कवितामय उपन्यास र उपन्यासमय कथा, छन्दमय इतिहास र गद्यमय खण्डकाव्य, यस्ता अनेक 'मय'हरूमा उनले महिनौं चिन्तन गरे । खासमा उनले गर्नुपर्ने अरू थुप्रै कामहरू थिए, आफ्नै सिर्जनात्मक कृतिका बगालहरू आधाउधी लेखिएर यसै छोडिएका थिए । ती सबै काम एकातिर पन्छाएर, इतिहासले दिएको जिम्मेवारी सम्झेर उनले धमाधम उत्तरआधुनिकता गरे ।

त्यसका लागि उनलाई असंख्य किताबहरू पढ्नुपरेको थियो, कति महिना उनले पढेर मात्र बिताएका छन् । त्यसरी उनले चिन्तन र पढाइमा बिताएका दिनहरूको गणना गर्न कसैले जिम्मा लिएको त छैन । तर, उनी कहिलेकाहीँ आफ्नो जीवनलाई यसो फर्केर हेर्छन् र सम्झन्छन्, उत्तरआधुनिकताको यो चक्करमा गरेका त्यागहरू कति हुन् कति !

यसरी जीवनलाई पछि फर्केर हेर्ने क्रममा एकदिन उनलाई झल्याँस्स आफ्नी एक सन्तानको सम्झना भएको थियो । उत्तरआधुनिकता सुरु गरेको केही समयपछि उनकी छोरीले अन्तरजातीय विवाह गरिन् । सो विवाहमा उत्तरआधुनिकउन्मुख बाबुको सहमति थिएन । लगभग डेढ दशक बितिसकेछन्, उनले छोरीलाई नबोलाएको । नाति-नातिना भइसेकका छन् । छोरीको परिवारले औसत जिन्दगीयापन गरेका छन्, सुखी छन् । तर, आफूभन्दा कथित तल्लो जातसँग आफ्नै रुचिले विवाह गरेका कारण, छोरीको बेलाबेला सम्झना हुने भए पनि बोलाइहाल्ने जाँगर उनलाई कहिल्यै भएन । श्रीमतीले बाहिर कतै भेटघाट गर्ने गरेको उनले सुईंको नपाएका होइनन् । तर, ऊ बेला छोरीले दिएको 'चोट' अहिले पनि बिझाइरहेको छ । अन्तरजातीय चोट । उत्तरआधुनिकताको मानचित्रमा यो 'चोट'लाई लोकेट गरे कस्तो देखिँदो हो ?

अरूका कृतिमा उत्तरआधुनिकताका अनेक पत्र उप्काएर देखाउन डटेर लागेका यी प्राध्यापक आफ्नै व्यक्तित्वमा रोबर्ट लुई स्टेभेन्सन्का गैर उत्तरआधुनिक पात्रहरू सवार भएको थाहा नपाई बसेका छन् । सन् १८८६ मा 'अ स्ट्रेन्ज केस अफ डा. जेकिल एन्ड मिस्टर हाइड'जस्ता द्वैध चरित्र एउटै मानिसमा आरोपित गरेर देखाइदिने स्टेभेन्सन्को सम्झना गर्न उनलाई गाह्रो लाग्छ । कारण, त्यसबेला उत्तरआधुनिक चेतना थिएन । आधुनिक चेतनामात्रै त उनको विषयविज्ञता भित्र नपर्ने भएकोले उनले त्यता खासै ध्यान दिन सक्दैनन् । नाद्या, हाम्रा प्रोफेसर साहबलाई एक उत्तरवर्ती नमस्कार गरिदेऊ।

हाम्रो समाजका यी दुईथरी पात्र तिमीलाई कस्ता लागे ? तिमीले फेरि स्लाभो जिजेकलाई पत्र लेख्यौ भने अलि बुझिने भाषामा यस्ता चरित्र उत्पादनका कारण खोज्ने विधि पनि सोध्नु है । के यी पनि स्टालिनवादको खरानी निधारमा टाँसेको ग्लोबल क्यापटिलज्मकै उपज हो ? हो भने, त्यसका विकल्प खोज्ने उद्यम कस्तो हुन्छ होला ? अनि तिम्रो अराजकतावादी विद्रोहले यस्ता पात्रहरूलाई कसरी बुझ्छ ? यतातिर यस्ता प्रश्नहरू फजुल साबित गरिएका छन् । यहाँ त आन्दोलन र विद्रोह गरेर थाक्यौं, अब धमाधम गाडी र महल किनौं भन्नेहरूको ठूलो जमात खडा हुँदैछ । यही बेला, उत्तरआधुनिकताले विधा भञ्जन गरेर बजारमयी राजनीतिशास्त्रको प्रतिपादन गरेको छ । त्यसका प्रतिरक्षामा बजारमा प्रशस्त दस्ताहरू खडा भएका छन् ।

अन्त्यमा, म तिमीलाई यो पत्रसँगै केही अनुदित कविताहरू पनि पठाउँदैछु । उदाहरणका लागि हाम्रा एक प्रिय साथी जो अहिले आफ्नो समुदायले गरेको पहिचान र अधिकारको आन्दोलनको असफलतामा गम खाएर बसेको होलान्, उनले लेखेको एक टुक्रा कविताः

अलिकति हार्दा पनि हुन्छ जिन्दगीलाई भनुम् भने
हजुर मेरो जम्मै पानी सुकाउने आगो तयार पार्नुहुन्छ
दार्जिलिङको फुलेको केशमाथि बसेर
कागले समेत सुली दलेर भाग्छ
म टोपीले कतिदिन छोपेर राखुमयो ऐतिहासिक लोदरलाई ?
-मनोज बोगटी

अन्नपूर्ण पोस्ट् 'फुर्सद' प्रकाशित / http://annapurnapost.com/news/81158

0 comments:

Post a Comment