Tuesday, May 15, 2018

सपिङ सेलिब्रेसन

उज्ज्वल प्रसाईं / काठमाडौं चैत २५-

पेन्टिङः लियोनिद आफ्टरमुभ
 हालसालैको घटना हो। एउटा सपिङ सेन्टरको बाटो भएर पैदल हिँड्दै थिएँ। भर्खरै खरिद गरेका थुप्रै सामान सम्हाल्न खोज्दै एउटा जोडी सडकपेटीतिर आउँदै गरेको देखें। सम्भवतः उनीहरूकी सानी छोरी, ऊ पनि बाबुको झोला झुण्ड्याएकै हातमा समाएर सँगै हिँड्दै थिइ। चिटिक्क लुगा लगाइदिएर हिँडाएका साना नानीहरू हेरौं हेरौं लाग्ने हुन्छन्। म छोरीलाई हेरेर हाँसे। उसले मलाई चिन्न खोजेजस्तो गरेर हेरी। बाहिर सडकनेर आइपुगेपछि, बाबुको हात छोडेर छोरी फुत्किन खोजी। आमा आतिएर कराउन थालिन्, ‘समृद्धि, कहाँ कुदेको? बाबाको हात नछोड त।’ सम्भवतः उनीहरू कतै पार्क गरेको आफ्नो मोटरतर्फ जान खोज्दै थिए।


घटना यति नै हो, जुन कुनै सम्झन लायक थिएन। वा यसो भनौं, त्यहाँ केही भएकै थिएन, जसलाई घटना शब्दले इङ्गित गर्नु परोस्। यो सहर हो, यहाँ सपिङ सेन्टरहरू हुन्छन्, त्यस्ता सुखी परिवार खरिद गरिएका सामान बोकेर ती सेन्टरहरूबाट बाहिर निस्कन्छन्, केटाकेटीलाई राम्ररी सिँगारेका हुन्छन्, अनि पानीपुरीका स्टल देखेपछि बाबुका हात छोडेर फुत्किन खोज्छन् छोराछोरीहरू। यो भन्दा बढी सामान्य कुनै दृश्य हुन्छ र सहरमा? कसैले छोराको नाम समृद्ध राख्न सक्छ, छोरीलाई समृद्धि भनेर बोलाउन सक्छ। केही वर्षअघिसम्म विकास नाम गरेका थुप्रै छोराहरू जन्मे, हाम्रा गाउँ–सहरमा। यी सबै अति स्वाभाविक उपक्रम हुन्, कुनै घटना हैनन्।


जे स्वाभाविक छ, त्यसले हाम्रो मथिङ्गलमा खासै प्रश्न उब्जाउँदैन। कारण, जसको निरन्तरता अपेक्षित छ, सामान्य मानिसलाई त्यसबारेमा खासै सोच्नु पर्दैन। सोचेर बस्ने फुर्सद नै पनि नहुँदो हो। फुर्सद मिले, सोच्नुपर्ने आफ्नै जिन्दगीका उहापोहहरू होलान्। जिन्दगीका अप्ठ्यारा पनि नयाँ आइपरेका हुन् भने मात्रै सोच्ने विषय बन्लान्। नभए स्वाभाविकताको लहरमा मिसिएर ती कुनै उल्लेख गर्नुपर्ने विषय रहँदैनन्। अर्थात्, ती सोचिन्नन्, यसै भोगिन्छन्।

आज भने त्यही स्वाभाविक र अति सामान्य दृश्य जसबारे सोचिन्नन्, देखेर यसै बिर्सिइन्छन्, त्यसैलाई ‘प्रब्लमटाइज’ गर्न मन लाग्यो। भनौं, एक ऐयासी समय प्राप्त भयो ताकि म यति स्वाभाविक दृश्यलाई ओर्काई–फर्काई मथिङ्गलमा नचाउन सकुँ।

सामान टनाटन भरेका प्लास्टिकका ठूला झोला, सुकिला कपडा, एक अर्कासँग गफिँदै हिँडेको जोडी, सुकिली र चञ्चल छोरी जसको नाम समृद्धि हो। ती जोडी के गर्दा हुन्? सम्भवतः श्रीमान कुनै चल्तीको बैंकका जागिरे होलान्, व्यवस्थापन तहको। श्रीमती कुनै गैरसरकारी संस्थामा कार्यरत होलिन्। वा त्यसको ठीक विपरीत हुन सक्छ, श्रीमान् गैरसरकारी संस्थामा, श्रीमती बैंकमा। सरकारी अधिकृतहरू पनि हुन सक्छन्। औसतभन्दा माथि कमाइ होला, सुविस्ता साथ यति अन्दाज गर्न सकिन्छ। के सामान किने होलान्? हुन सक्छ, उनीहरू छोरीलाई गर्मी मौसममा लगाउने कपडा खरिद गर्न आएका हुन्। किन्दै जाँदा, बाबालाई एक जोर वुडल्यान्ड जुत्ता, आमाका सकिन लागेका एक्सेसरिज, घरमा भर्खरै ल्याएको एउटा सानो स्टुलमा सजाउने सानो एक्वाइरियम, घरमा पर्खेर बसेको छोरोलाई सन ग्लास, गर्मी चढ्न थालेकाले विभिन्न फ्लेबरका आइसक्रिम। छोराछोरी कहाँ पढाउँदै होलान्? अहिले खुलेको इन्टरनेसल ब्याकलौरिएट नामको उन्नत कोर्स बढाउने विद्यालयमा। छोरीको नाम समृद्धि किन राखेका होलान्? धेरै नाम सोचिसकेपछि सम्भवतः यो शब्दको झंकार उनीहरूलाई मन पर्‍यो। हुनसक्छ, छोरो पहिले जन्मेको हो, उसको नाम पहिल्यै समृद्ध राखिसके। छोराछोरीको नाम मिलाएर राख्ने नेपाली चलन अनुसार, छोरी समृद्धि भइन्। वा उनीहरूको बढ्दै गएको समृद्धि देखेर, कुनै शुभचिन्तकले अवस्थासँग मेल खाने राम्रो नाम जुराइदियो।

समृद्धि– कुन अवस्थालाई समृद्ध अवस्था भन्ने होला? त्यस्तो सुगठित सुखी परिवारको कल्पनाले मन रमाइरहेका बेला, यस्तो रूखो प्रश्न झ्वाट्ट आयो। जे सामान्य र स्वाभाविक थियो, त्यो खल्बलियो।

सामान्य दृश्यले एउटा असामान्य माथापच्चीको माग गर्न थाल्यो। अघिसम्म सबै घिसिपिटे प्रश्न उब्जँदै थिए, गाँठो यहाँ पर्‍यो। त्यस्ती फूलजस्ती नानीको नाम एउटा ठूलो फलामको खाँबो जस्तो कठोर प्रश्नमा परिणत भयो। ऐयासीका लागि छुट्याइएको समयको यति सानो चोक्टामा यो ‘प्रब्लमटाइज’ गर्ने काम सायद उचित होइन। तर, व्यवस्थाको एउटा चेपुवामा फँसेपछि, अब त्यसको सामना नगरी फुत्किन खोज्नु असम्भव छ, मेरा लागि। कठोर खाँबो हेर्न नखोजेर के गर्नु? तिखो शूल बनेर त्यही पस्छ दिमागको कुनै चेपमा र निरन्तर घोचिरहन्छ । यहाँ आएर थाहा पाउँछु, जे स्वाभाविक चलेको छ, त्यसले यस्ता प्रश्नको सामना गरेपछि, स्वाभाविकताको बोक्रा चरचरी चिरिँदो रहेछ। कति प्रश्न यस्ता हुँदा रहेछन्, तिनले स्वाभाविकतालाई सिंगो व्यवस्थासँग बेस्सरी ठोकाउँदो रहेछ।
०००
फ्रान्सेली दार्शनीक रेने डेकार्टेले सत्रौं शताब्दीतिर भने, ‘आई थिङ्क देयरफोर आई एम।’ अर्थात्, म सोच्न सक्छु त्यसैले मेरो अस्तित्व छ। बजारले भाका मिलाएर अहिले भन्दैछ, ‘आई सप देयरफोर आई एम।’ अर्थात्, म खरिद गर्न सक्छु त्यसैले म छु। पहिले पश्चिमा बजारको चरित्र यस्तो थियो, भूमण्डलीकरणको आशिर्वाद पाएर अहिले यो दुनियाँको यथार्थ बनेको छ। ठूलो गाउँ भन्न लायक यो शहरले समेत व्यग्रता साथ त्यही चरित्र अंगीकार गर्न खोज्नु भूमण्डलीकरण यथार्थ भएको प्रमाण हो। त्यसैले आफू हुनुको दसी स्वरूप यहाँका मध्यम वर्गीय परिवारले सपिङ अर्थात् खरिद गर्ने उपक्रमलाई एउटा खास कामका रूपमा ‘सेलिब्रेट’ गर्न थालेका छन्। यही सेलिब्रेसनमा खुल्छ समृद्धिको अर्थ। ‘ए समृद्धि, बाबाको हात नछोड, दह्रोसँग समाऊ।’

बजारले समाज डोहोर्‍याउन थालेको केही दशक भइसकेको छ। समाजले बजारलाई हिँडाउन थाले, समृद्धिले बाबाको हात फुत्त छोडेर हिँडिदिने नजानिँदो भय जम्न थालेको छ मान्छेमा। बजारले एक मात्र प्राधिकारका रूपमा परिभाषित गरिदिएका सामाजिक सम्बन्धहरू सहजै देखिनु, अरू सम्बन्धहरू गौण हुन थाल्नु त्यही भयको परिणाम हो। खासगरी मुद्रा र वस्तुको विनिमयको खास सम्बन्ध भन्दा अरू खाले सम्बन्धहरूलाई जीवन्त हुन नदिने यात्रा नै बजारको यात्रा हो। भावनात्मक र सामुहिक हितका सम्बन्धहरूको चरणबद्ध अन्त्येष्टि बजारको गन्तव्य हो। यही यात्राका विचारवान पथिक हुन खोज्ने दार्शनिक अहिलेका महान दार्शनिक हुन्, यो काफिलामा मिसिएर हिँड्न सक्ने लेखक सबभन्दा चल्तीको लेखक हुन्, र यसैको महिमा गाउने राजनीतिक नेता वर्तमानको सर्वमान्य नेता हो। अरू सबै ‘एबरेसन्स’ अर्थात अस्वाभाविक अवरोधक मात्र हुन्।

पेन्टिङः अलि एक्स्प्रेस डटकम
अस्पतालले बिरामीलाई बिरामीको रूपमा व्यवहार गरे, त्यो अस्वाभाविक हुन्छ। बिरामी ग्राहक हो। शिक्षालयले विद्यार्थीलाई विद्यार्थीको रूपमा हेरे, त्यो अबरेसन हुन्छ। विद्यार्थी ग्राहक हुन्। चुनावी उम्मेदवारले मतदातालाई मतदाताकै रूपमा हेरे, त्यो असामान्य हुन्छ। मतदाता ग्राहक हुन्। त्यसैले अस्पताल हुन् वा शिक्षालय वा राजनीतिक दल नै किन नहुन्, ती सबै कर्पोरेट हाउस् हुन्। शिक्षा, स्वास्थ्य, मानवीय श्रम सबै कमोडिटी हुन्। यो यति स्वाभाविक सत्य भइसकेको छ कि यहाँ दोहोर्‍याउनु मात्र पनि एउटा जोखिम मोल्नु सरह हो। त्यस्तो जोखिम जुन ‘घाम पूर्वबाट उदाउँछ’ भनेर कविताको सुरूवात गर्ने कविले भोग्छ। त्यसैले यहाँ पनि एउटा त्यस्तो प्रश्नको उदय हुन जरूरी छ जसले यो स्वाभाविकताको बोक्रा उप्काओस्। प्रश्न आँफैमा केवल एउटा काल्पनिक अवरोधक मात्रै हुन सक्छ।

एकछिनलाई मानौं, माथि चर्चा गरिएको परिवारको आयस्रोत ठप्प भयो। आय ठप्प हुने सम्भावना छ, त्यसैले यस्तो कल्पना गरिएको हो। मानौं, यो सहरमा रेमिटेन्स आउन बन्द भयो र बन्द गरियो विदेशी सहायता। के यो परिवार सपिङ सेन्टर धाउने अवस्थामा रहनेछ? के समृद्धिले बाबाको हात च्याप्प समाइरहन सम्भव हुन्छ? सम्भवतः उनीहरूको त्यो सपिङ सेलिब्रेसन रेमिटेन्स र विदेशी सहायतासँगै बन्द हुनेछ। सामान खरिद गर्दा पाउन सुखानुभूति हुन छोडेका दिन, उनीहरूलाई आफ्नो अस्तित्व नै संकटमा परेको महसुस हुनेछ। अपूर्णताको गहिरो अनुभूतिले एक खाले बेताबी निम्त्याउनेछ। त्यस्तो ‘एङ्ग्जाइटि’ बढ्दै गए, त्यसले मानसिक स्वास्थ्यमा समस्या उत्पन्न गर्न सक्नेछ। किनभने यहाँ जे स्वाभाविक थियो, त्यो स्वाभाविक रहेन। जे ‘अबरेसन’ मात्र हुनुपथ्र्यो, त्यो स्वाभाविक हुन पुग्यो। सुविस्तासँग उभिएको धरातल डगमगायो, समाउने सहारा केही फेला परेन।
०००

बजार सतहमा झिलिमिलि दृश्य हो, विनिमयको सङ्गठित आकार हो, उपभोगबाट प्राप्त हुने सुखानुभूतिको स्रोत पनि हो। त्यसो त यो बजार प्रेमको बिक्रीस्थल पनि हो। विचार, सिद्धान्त, आन्दोलन, विद्रोह, सबैलाई बजारले पसलमा सजाएर बेच्न सक्छ, बेचिरहेको छ। किनभने यो व्यवस्थामा समाज बजारको औंलो समाएर हिँड्न बाध्य छ। सन् १९६४ मै हर्बट मार्कुजले मान्छे ‘वान डाइमेन्सनल’ बन्दैछ भनेका थिए। बजारले परिभाषित गरेको सामाजिक सम्बन्धमा कैद हुँदै गएका मान्छेको समृद्धि पनि ठ्याक्कै ‘वान डाइमेन्सनल’ नै हुँदो रहेछ।

मलाई लाग्छ कहिल्यै देख्ने छैन मैले
रूख जतिकै राम्रो होर्डिङ बोर्ड।
सायद जबसम्म होर्डिङ बोर्डहरू ढल्दैनन्,
कहिल्यै देख्ने छैन मैल रूखहरू।
–ओग्डेन न्यास

प्रकाशित २५ चैत २०७३, शुक्रबार | 2017-04-07 14:33:48

नेपाल खबरमा प्रकाशित / https://nepalkhabar.com/np/news/opinion/13217/

0 comments:

Post a Comment