उज्ज्वल प्रसाईं साहित्य
र समाजशास्त्रका अध्येता हुन् । पत्रकार र राजनीतिक टिप्पणीकारका रुपमा
परिचित उनले अनुवाद पनि गरेका छन् । उनले गरेको प्रशान्त झाद्वारा लिखित
‘ब्याटल्स अफ द न्यू रिपब्लिक’को नेपाली अनुवाद ‘गणतन्त्रको सङ्घर्ष’ नाममा
प्रकाशित छ भने अहिले मञ्जुश्री थापाको उपन्यास ‘अल अफ अस इन आवर ओन
लाइभ्स्’को अनुवाद गर्दैछन् । अध्येता उज्ज्वल प्रसाईंसँग रातोपाटीका लागि नरेश ज्ञवालीले सामाजिक आन्दोलनमा अध्ययनको भूमिका विषयमा लामो कुराकानी गरेका छन्, त्यसको सम्पादित अंश ।
सामाजिक आन्दोलनलाई सजिलो शब्दमा कसरी व्याख्या गर्न सकिएला ?
समाजमा मौजुदा सामाजिक सम्बन्धहरु बदल्ने
कुरा नै मूलतः सामाजिक आन्दोलन हो । जस्तैः मानिस जाति, वर्ग, लिङ्गहरुमा
विभाजित छ र त्यसैले असमानताहरु छन् । यो असमान सम्बन्धलाई पुनरपरिभाषित
गर्ने, विद्यमान सामाजिक सम्बन्धलाई मानवीय बनाउने काम सामाजिक आन्दोलनले
गर्छ ।
जस्तैः महिला र पुरुषबीच जुन असमान
सम्बन्ध छ, त्यसलाई समान र मानवीय बनाउन त्यसलाई पुनरपरिभाषित गर्नु जरुरी छ
। यसरी पुनरपरिभाषित गर्ने काम सहज हुँदैन; त्यसका लागि सङ्घर्ष नै
गर्नुपर्छ । यो यस्तो क्रियाकलाप, पहल, चिन्तन र सङ्घर्ष हो, जसले
मानिसहरुबीच स्थापित सम्बन्धलाई मानवीय बनाउँछ, हिंसात्मक सम्बन्धको अन्त्य
गर्छ ।
सामाजिक आन्दोलनमा समाजका बौद्धिक तथा मिडियाले कस्तो भूमिका खेलेका हुन्छन् ?
बौद्धिकहरु सामाजिक आन्दोलनको पक्षधर
हुन्छन् । त्यो समाजिक आन्दोलनमा मान्छेको एउटा समूह सङ्घर्षरत छ, असमान
सम्बन्धलाई पुनरपरिभाषित गर्न र अमानवीय सम्बन्धलाई बदल्न जुन समूह
सङ्घर्षरत छ, त्यो सङ्घर्षमा सघाउने काम बौद्धिकले गर्छन् । कहिलेकाहीँ
बौद्धिक स्वयं सम्लग्न हुन्छ, आफै त्यसका कर्ता हुन्छन्, आफै त्यसको
कार्यकर्ता हुन्छन् र सामाजिक आन्दोलनको अभियन्ता बन्छन् ।
कहिलेकाहीँ अभियन्ताहरुलाई सघाउने काम
गरिरहेको हुन्छ । अध्ययन गरेर, अनुसन्धान गरेर, ती सङ्घर्ष गरिरहेका
मान्छेहरुका लािग डिस्कोर्स निर्माण गरिदिएर, उनीहरुका आफ्ना सङ्घर्षबारे
आर्टिकुलेट गर्ने भाषा निर्माण गरिदिएर, आन्दोलनका मुद्दालाई सम्प्रेषणीय
बनाउनमा बौद्धिकहरुले सहयोग गरेका हुन्छन् । बौद्धिकहरुले जटिल र अप्ठ्यारा
प्रश्न गर्न सक्छन्, समाज बदल्न सकिन्छ भन्नेमा उनीहरुको विश्वास हुन्छ;
त्यसैले उनीहरु सामाजिक आन्दोलनका पक्षधर नै हुन्छन् ।
अब मिडियाको कुरा गरौँ । मिडिया अहिलेको पुँजीवादी दुनियाँमा नाफामुखी कर्पोरेट हो । मिडियाभनेको नाफाखोर संस्था हो । उसले आफ्नो अस्तित्व नै त्यस्तोखालको आधारभूमिमा चलायमान बनाएको हुन्छ । त्यस्तो खालको ल्यान्डस्केपमा उसले आफूलाई अपरेट गर्छ । जहाँ नाफा र लेनदेनको कुरा हुन्छ, त्यस्तो ठाउँमा अपरेट गरेको मिडियाले चाहेर पनि सजिलोसँग सामाजिक आन्दोलनहरुलाई धेरै सघाउन सक्दैन ।
एउटा विन्दुसम्म सघाउन सक्छ, उनीहरुको
आवाज मुखरित गर्ने कुरासम्म सामाजिक आन्दोलनका अभियन्ताहरुले गर्ने गरेका
क्रियाकलाप, कार्यक्रम र कतै देखिने गरी ठूला सङ्घर्ष गरे भने त्यसको
इम्प्याक्टलाई कभर गर्ने हदसम्ममिडियाले सघाउन सक्छ । तर त्यसका सीमितता
हुन्छन् । अहिलेकै हामीले जुन मिडिया भनेर बुझ्छौँ, विद्यमान संसारमा
पुँजीवादी दुनियाँमा, त्यो मिडियाको सीमितताबीच पनि कामै नभएको होइनन् ।
मिडिया सधैँभरि सामाजिक आन्दोलनको विपक्षमै छ; त्यस्तो बुझ्नु हुँदैन ।
किनभने सबैतिरको मिहिन ढङ्गले अध्ययन नै गरियो भने मिडियाले सत्ताको विरोध
नै गरिरहेको देखिन्छ ।
तर एउटा खास विन्दुसम्म मात्रै हुन्छ; जो
आँफैमा टुङ्गोमा पुर्याउने खालको योगदान होइन । सञ्चार माध्यमहरुकै कारण
सामाजिक आन्दोलन सफल भएको उदाहरण कमै होलान् । बरु ठूला सामाजिक
आन्दोलनहरुलाई फैल्याउनभन्दा तिनको तेब्बर घटाउन नै नाफामुखी
सञ्चारमाध्यमले भूमिका खेले होलान् । बौद्धिकहरुबाट आशा गर्न सकिन्छ,
सञ्चार माध्यमसँग सतर्क हुनुपर्छ ।
वैकल्पिक मिडियालाई हेर्ने पनि त खास दृष्टिकोण चाहिएला नि ? अनि प्रत्यक्ष संलग्न नभएका बौद्धिकहरुको कस्तो योगदान हुन्छ ?
जहाँ मूलधारको मिडियाले एक हिसाबले काम
गर्छ वा सूचना उसले चाहे जति मात्रै दिएर, कर्पोरेटको अनुकूल सूचना दिएर,
सत्ताको अनुकूल सूचना मात्रै दिएर वा पुँजी र सत्ता अनुकूलको कथ्य निर्माण
गरेर मिडियाले प्रभुत्वलाई सहयोग गरेको हुन्छ । त्यस्तो स्थितिमा वैकल्पिक
मिडियाहरु आउन थालेको सत्य हो । साधारणतया हामीले मिडिया भनेर जे बुझ्छौँ,
हामीले प्रभावलाई इङ्गित गरिरहेका हुन्छौँ । हामीले टेलिभिजन बुझछौँ,
नेपालकै हकमा ठूला मिडिया बुझ्छौँ; जसले लेखेर ठूलो प्रभाव सृजना हुन्छ,
त्यस्ता मिडिया बुझ्छौँ । तिनीहरुले कामै नगरेको होइनन् ।
उनीहरुले सामाजिक आन्दोलनलाई सहयोगै
नगरेको होइन । मैले अघि भने उनीहरुले आफ्ना सयौं सिमिततामा बसेर काम गरेका
छन् । हो, मौजुदा नाफाखोर मिडियामा सामाजिक आन्दोलनलाई सघाउन चाहाने
व्यक्ति वा समूह नभएका होइनन् तर त्यही सीमितताले उनीहरुलाई खास
विन्दुभन्दा अघि बढ्न दिँदैन । त्यही बुझेर नेपालमै पनि वैकल्पिक प्रयासहरु
भएकै हुन् । पहिले महिलाका मुद्दा उठाउने ‘अस्मिता’ जस्ता पत्रिका नचलेका
होइनन्; तिनले प्रभाव नपारेका हैनन् । तर, क्रमैसँग ती पेसिफाइड भए, भुत्ते
बनाइए ।
नारीवादी आन्दोलन भनौँ, मधेस, दलित,
किसानको आन्दोलन भनौँ वा मजदुरको, प्रत्यक्ष रुपमा संलग्न नभएका बौद्धिहरु
कसरी सघाउन सकिएला भनेर चिन्तनरत रहन्छन् । सङ्र्घष गरिरहेका मान्छेहरुलाई
हाम्रो सङ्घर्ष ठीक छ है भन्नेमा विश्वस्त बनाउँछन् । त्यसमा उनीहरु
आत्मविश्वासी भए भने त्यो सङ्घर्षले आकार लिन्छ । त्यो विश्वासै भएन भने
अप्ठेरो हुन्छ । तर, अभियन्ताहरुले गरेका क्रियाकलापमा ठूला गढबढी वा
भ्रमहरु छन् । आन्दोलनको गरिमा कायम राखेरै त्यस्ता कमजोरी औंल्याउने काम
पनि बौद्धिकले गर्न सक्छन् । सङ्घर्षरत मानिसहरुलाई भाष्य पनि चाहिन्छ;
त्यो बौद्धिकहरुले निर्माण गर्न सहयोग गर्छन् ।
सामाजिक आन्दोलनका अभियन्ताहरुले जानेका
हुँदैनन् भनेको होइन । आफ्ना मुद्दा बुझेर नै उनीहरु सङ्घर्ष गरिरहेका
हुन्छन् । तर राम्रोसँग आर्टिकुलेट भैरहेको हुँदैन । त्यसकारण त्यो
आर्टिकुलेट गर्न पनि बौद्धिक र लेखकहरुले निर्माण गरेका साहित्य र सृजनाको
सहयोग लिने गरेको पाइन्छ । भारतको उदाहरण लिऊँ न, बन्दना शिवा भन्ने एक जना
हुनुहुन्छ, जो जेनेटिकल्ली मोडिफाइड सिडका विरुद्धमा अभियान चलाउनु हुन्छ ।
उहाँ आफै ठूलो लेखक र राम्रो अनुसन्धानदाता पनि हो । उहाँका बग्रेल्ती
किताब छन् ।
उहाँले लगातार यो विषयमा लेखिरहनुभएको छ ।
थुप्रो किताब लेख्नुभएको छ, ठाउँ ठाउँमा गएर बोल्नुभएको छ, एकपटक सोसल
साइन्स बाहाको कार्यक्रममा काठमान्डु आएर बोल्नुभएको छ । भूमण्डलीकरण र
नवउदारवादले गरिब किसानहरुलाई झनै गरिब कसरी बनाउँछ ? त्यसले पर्यावरणमा के
असर पार्छ ? धनी र गरिबबीचको खाडल निर्माण गर्न त्यसले कस्तो भूमिका खेल्छ
? सीमान्तकृत जनता झनै सीमान्तमा कसरी धकेलिएका छन् । वालमार्ट जस्तो ठूला
सपिङ सेन्टर खोल्दा स–साना इन्टरप्राइजर्सलाई वा साना उद्यमबाट गुजारा
चलाउनेलाई कसरी असर गरेको छ भन्नेबारे लामा–लामा व्याख्या र अध्ययनहरु
गर्नुभएको छ ।
उहाँको जीवनको ठूलो भाग नै उहाँ स्वयं
फिल्डमा उत्रेर अभियान चलाएर बिताउनुभएको छ । आफू नै एक्टिभिस्टका रुपमा
देखिनुहुन्छ । तर एक्टिभिजम सँगसँगै उहाँको मुख्य काम भनेको लेखन र
अनुसन्धान पनि हो । रोमिला थापर, निवेदिता मेनन, उहाँहरुको मुख्य काम भनेको
अनुसन्धान गर्ने, लेख्ने र पढाउने हो । उहाँहरुले पढाउने र रिसर्च गर्ने
काम त गरि नै रहनुहुन्छ । तर उहाँहरुले परेको बेलामा जस्तै विद्यार्थीहरुको
आन्दोलनमा प्रत्यक्ष सहभागी भएर काम गर्नुभएको छ । एकपटक कपिराइटवालाले
चर्को कुरा उठाए, विद्यार्थीले किताब फोटोकपी गर्न पाउँदैनन्, यो अवैध हो
भने । किताब फोटोकपी पनि गर्न नपाउने स्थिति बन्यो ।
ठूला पब्लिकेसनले गरिब विद्यार्थीलाई
किताब उपलब्ध हुने सामान्य माध्यम नै रोकिदिने खतरा भयो । भारत र
नेपालजस्ता देशका गरिब विद्यार्थीहरुले महँगा किताब किनेर एमए, एमफील,
पीएचडी गर्दा धेरै आर्थिक व्ययभार बहन गर्नुपर्ने हुन्छ । छात्रवृत्ति नै
पाउँदा पनि त्यो जीवन धान्ने गरिएको आर्थिक साहायता हुँदैन ।
विद्यार्थीहरुले आन्दोलन चलाए । विद्यार्थीहरुको माग भनेको फोटोकपी गर्न
पाउनु पर्छ भन्ने थियो ।
त्यो माग पढ्न पाउने अधिकारसँग सम्बन्धित
थियो । पुस्तक लेख्ने प्रोफेसरहरुले विद्यार्थीको आन्दोलनालई सहयोग गरे ।
यिनै निवेदित मेनन जस्ता लेखक र प्राध्यापकहरुले त्यसमा ठूलो भूमिका खेलेका
थिए । उनीहरुले ‘कपिराइट’ हैन, ‘कपिलेफ्ट मुभमेन्ट’ भने । हामीले लेखेको
कुरा सबैसँग पुग्नुपर्छ भन्ने उनीहरुको भनाइ थियो । बौद्धिकहरु परेको
बेलामा अन्यायको प्रतिरोधमा उभिन्छन् । उनीहरुले बोलिदिँदा मात्रै पनि
त्यसले ठूलो सहयोग पुगेको हुन्छ ।
समाजमा हुने विभिन्न बहस; त्यसलाई सघाउ पुर्याउने आन्दोलन र अध्ययनबीचको सम्बन्ध कस्तो हुनुपर्छ ?
मलाईं के लाग्छ भने सामाजिक आन्दोलनलाई
मान्छेले भोगेका कुराले ट्रिगर गर्ने हो । तपाईंले म शोषणमा छु भनेर
रियलाइज गर्नु भयो भने हामी बीचको सम्बन्ध असमान छ । एउटा ठूलो समूह आफ्नो
छालाको रङ्गका कारणले, कुनै खास क्षेत्रमा जन्मिएका कारणले, असमान छ भने
तपाईंले महशुस गरेको दिनदेखि त्यो आन्दोलन ट्रिगर गर्नै हो । तपाईं जस्तै
अरु धेरै मानिसले महसुस गरे भने त्यसले सामाजिक आन्दोलनलाई ट्रिगर गर्ने हो
।
तर त्यसपछि आन्दोलनलाई अगाडि बढाउन भरथेग
गर्न आन्दोलनलाई एउटा निष्कर्षसम्म पुर्याउन, अध्ययन अनुसन्धान र बौद्धिक
कृयाकलापको ठूलो जरुरत हुन्छ । संसारभरि हेर्नुस्, आन्दोलनका बारेमा कति
किताब लेखिएका छन् । किन लेखिन्छन त ? जरुरी भएर लेखिएको हो । कसैले
बुद्धिविलास गर्न मात्र लेख्ने होइन । आन्दोलनलाई आफ्नो बुद्धिविलासको
माध्यम बनाउनका लागि त्यो किताब लेख्ने होइन । दलितका विषयमा कविता किन
लेखिन्छन्, बुद्धिविलास गर्न लेखिने होइन ।
भर्खर एउटा ‘आफर’ नामको कविता सङ्ग्रह किन
प्रकाशित गरियो त नेपालमा ? मान्छेहरुको हातहातमा किन पुर्याइयो त्यो
सङ्ग्रह ? त्यो दलित जिन्दगीलाई चित्रण गर्ने कविताहरु मात्र एक ठाउँमा किन
सङ्ग्रह गरियो ? आन्दोलनलाई भरथेग गर्न र सङ्घर्ष गरिरहेको मान्छेलाई
आत्मविश्वास र आडभरोसा दिन त्यो सङ्ग्रह उपयोगी हुन्छ । बुझ्न चाहनेका लागि
पनि उपयोगी हुन्छ । सङ्घर्षको मर्मवृहत्तर समाजसम्म पुर्याउन र त्यसलाई
भाषा दिन पनि हो । ‘गहुँगोरो अफ्रिका’ भन्ने कविता मलाई सबभन्दा मनपर्ने
कविता हो ।
आहुतिको त्यो कविता पढेपछि मैले दलित
जिन्दगीको बारेमा, दलितले गरेको सङ्घर्षको बारेमा, दलितको जेन्युन मुद्दाको
बारेमा म बढी सचेत भएँ र मैले अब त्यो भाषालाई प्रयोग गरेँ । आहुतिले मलाई
भाषा र विम्ब दिए; दह्रो संवेदनशीलता दिए । हेर्दा त सानो कविता हो नि तर
त्यतिले मात्र पनि मलाई सङ्घर्षको भाषा र त्यसप्रतिको संवेदनशीलता दियो ।
तर अब आन्दोेलन गर्ने समय सकियो; विकास गर्नुपर्छ भन्छन् नि ?
आन्दोलन थन्क्याउनुपर्छ र धमाधम विकास
गर्नुपर्छ भनेर जसले भन्दैछ त्यसले कहिल्यै पनि सुत्न पाउने छैन । किनभने
आन्दोलन रोकिँदैन । सामाजिक आन्दोलनहरु ज्हिल्यै पनि जारी रहन्छन् । कहिले
सुस्त गतिमा हुन्छ होला, कहिले मुखर हुन्छ होला । त्यो सडकमै कहिले प्रष्ट
देखिन्छ होला, कहिले प्रष्ट नदेखिने गरी चलिरहेको हुन्छ । समाजमा ऊँचनीच
रहेसम्म, समाजमा शक्ति संरचना रहेसम्म, विभेदहरु रहेसम्म, समाजमा सामाजिक
सम्बन्धहरु असमान रहेसम्म यो आन्दोलन चलिरहन्छ ।
हामी कस्तो दुनियामा प्रवेश गर्दैछौँ ?
हाम्रो समाज त बाजरले चलाउन थाल्यो भने असमान सम्बन्ध त यसै बन्यो । यहाँ त
अस्पताल र विद्यालयहरु दुई थरी छन् । यहाँ मान्छे बस्ने घरहरु नै दुई थरी
छन् । अहिले विकासको डिस्कोर्स जुन आएको छ नि, हाम्रा नेताहरुले अब आन्दोलन
सकियो अब समृद्धि भन्दैछन् नी, तिनले परिकल्पना गरेको विकासले अझै
असमानताहरु बढाउन थाल्नेछन्, वातावरणीय विनास निम्त्याउन थाल्नेछन् ।
त्यसैले त्यो विकासको झिल्के गफ आफैमा एउटा ठूलो राजनीति हो ।
असन्तुष्टिहरु एक समयसम्म सुसुप्त रहलान्
तर एउटा समयपछि त त्यहाँ खलबल आइहाल्छ । अमेरिकामा ठूलो सुख समृद्धि छ
भनेको हो । विकसित सुपरपावर र सबैभन्दा उन्नत लोकतन्त्र भनेको ठाउँमा
वर्किङ क्लास रिसाएर के भयो ? लिवरल डेमोक्रेसीले वर्किङ क्लासलाई फाइदा
पुर्याउन नसकेको कारणले त्यो आक्रोस आज डोनाल्ड ट्रम्प जस्ता दक्षिणपन्थीले
पुँजीकृत गरे । मोदीको हेर्नुस्, मनमोहन र सोनिया गान्धीबाट अपेक्षा गरेको
कुरा नपाएपछि, त्यहाँ असमानता बढ्दै गएपछि, मोदीको विकासको गफ विकेको हो ।
मनमोहन सिंहको एउटा प्रसङ्ग कतै पढेको थिएँ । मनमोहन सिंहले
उद्योगपतिहरुको क्लबमा गएर ठूलोठूलो कम्पनीहरुका सीईओहरुको तलब अति नै भयो,
अब तपाईंहरुको तलबलाई यसरी नबढाऊँ, किनभने यहाँ कन्जम्पसनको प्याटर्न
हेर्दा सामान्य मजदुरले गर्ने उपभोग र तपाईंहरुले गर्ने उपभोगमा ठूलो
भिन्नता देखियो । ठूलो खाडल देखिन थाल्यो र त्यसले समाजमा राम्रो गर्दैन
भन्दा उनलाई भोलिपल्टका सबै पत्रिकाहरुले सम्पादकीय लेखेर उडाउनु उडाए । जब
कि मनमोहन सिंह त्यही मान्छे हुन्; जसले नवउदारवादी अर्थतन्त्र भित्र्याउन
सबैभन्दा ठूलो भूमिका खेलेका हुन् । उनले त खासमा ती सीईओहरुलाई आफन्त
सम्झेर यसो सम्झाउन खोजेका थिए । मैले जोड्न खोजेको कुरा के भने असमानता
रहन्छ भने सामाजिक आन्दोलनहरु पनि त रहिरहन्छ । जो मान्छेलाई अब आन्दोलन
सकियो अब विकासतर्फ लागौँ भन्ने छ नि, त्यसले कि त झुठ कुरा गर्दैछ कि
त्यसको बुझाइमा अल्पत्ता छ । आन्दोलन भनेको उसले सडकमा बलेको टायरलाई
मात्रै बुझ्दछ । त्यसै ऊ कहिलै निदाउनेवाला छैन ।
हामीले पढ्ने किताब र गर्नुपर्ने
अध्ययनको बीचमा ठूलो खाडल छ भन्ने गरिन्छ । के वास्तवमै त्यस्तो छ अथवा
एउटै सिक्काका यी दुई पाटा हुन् ?
अध्ययनभित्रको सामान्य उपक्रम हो पढाइ ।
अध्ययन भनेको अलिक फराकिलो अवधारणा भयो । अध्ययन धेरै किसिमले गर्न सकिन्छ ।
आन्दोलनमा प्रत्यक्ष सहभागी भइरहँदा पनि अध्ययन त भइरहेको हुन्छ ।
अनुभवहरु सँगालिएको हुन्छ; त्यसलाई विश्लेषण संश्लेषण गर्ने हो । मान्छे
सोच्ने प्राणी हो । त्यसैले सोच्ने चिन्तन गर्नै काम त जहिले पनि मान्छेले
गरिरहेकै हुन्छ । पढाइ भनेको त्यसलाई सघाउने सहायक कुरा हो । तर पढाइ भनेको
आफ्नो रुचिको कुरा पनि हो । अब कसैले एक ढङ्गको पढाइ मात्र गर्न सक्छ ।
चेतन भगतको किताब ल्याएर मस्त मनोरन्जन लिन सक्छ ।
त्यो आफैमा गलत होइन होला तर त्यस्तो खाले
पढाइले सामाजिक परिवर्तनलाई सहयोग नपुर्याउन सक्छ । सबैले पढ्दा यो
दुनियाँ राम्रो भइहाल्थ्यो नि, त्यो भन्न सकिन्थ्यो । पढेका महान
विद्ववानहरुले मात्र दुनियाँलाई राम्रो बनाउने त होइन । त्यो पढाइ सामाजिक
आन्दोलनको पृष्ठभूमि तयार पार्न आन्दोलनलाई सघाउने किसिमको हुन्छ भने
त्यसको सम्बन्ध हुन्छ । त्यो उपयोगी हुन्छ भनेर देखिन्छ, होइन भने पढाइ
डिग्री र मनोरञ्जन लिने उपक्रम मात्रै पनि हुन सक्छ ।
सामाजिक आन्दोलनका लागि पनि पढाइ जरुरी छ ।
आन्दोलनलाई ट्रिगर गर्ने भनेको त भोगाइले नै हो । तर भोगाइले मात्र
पुग्दैन । नपुग्ने भएपछि त्यहाँ विचार सिद्धान्त, वैचारिक बहस र छलफलको
आवश्यकता भयो । हाम्रो मूल सङ्घर्ष कोसँग हो भनेर छुट्याउनुपर्ने भयो ।
त्यो सङ्घर्षलाई मानवीय कसरी बनाउने, असरल्ल हुन नदिन के गर्ने ? त्यसैले
साहित्य, सिद्धान्त, दर्शन सबै जरुरी हुन्छ ।
राजनीतिक नेतृत्वबाट के सुन्ने गरिन्छ भने समाज बिगार्नमा बुद्धिजीवीकै हात छ । के प्रश्न गरिदिएकै भरमा समाज बिग्रने हुन्छ ?
राजनीतिको मूलधारमा बनिसकेका, शक्ति
अभ्यास गर्न थालिसकेका, सुखसुविधामा पुगिसकेका राजनीतिक दलका नेताले यो
भन्नु समान्य हो । बौद्धिकका प्रश्नले उनीहरु उभिएको धरातल कमजोर बनाउँछ ।
तपाईं जहाँ उभिनुभएको छ, त्यहाँको धर्तीमा कम्पन्न पैदा भयो भने तपाईं
सङ्कटमा पर्नु हुन्छ । बौद्धिकहरुको पश्न अथवा सामाजिक आन्दोलन आफैमा
प्रश्न हो । सामाजिक आन्दोलन अथवा बौद्धिकहरुले गरेको प्रश्नले ऊ उभिएको
धरातललाई समस्यामा पार्छ; त्यसपछि उसमा आउने बेचैनीको अभिव्यक्ति हो त्यो ।
यो नयाँ कुरा होइन ।
भारतमा हेर्नुभयो भने तीन चारजनालाई त
मारी नै दिए । कलबुर्गी, पानसारे लगायतलाई मारे । जीएन साई बाबालाई भर्खरै
जेल हालिएको छ । उनी ह्विल चेयरमा हिँड्ने प्राध्यापक हुन्, निहत्था छन् ।
उनको अपराध भनेको भारतीय संस्थापनले राख्ने बुझाइभन्दा उनको फरक बुझाइ हुनु
हो । नक्सलाइटले उठाएका केही मुद्दाप्रति उनी सहानुभूति राख्छन्, के त्यो
अपराध हो ? त्यसलाई अपराध मानियो किनभने उनले गरेको प्रश्नले शक्तिशाली
मोदीको सरकारले आफूलाई असुरक्षित महशुस गर्यो । बेचैन हुन्छन् शासकहरु अनि
त्यो बेचैनी कहिलेकाहीँ बौद्धिकहरुलाई गोली हान्ने हदसम्म पुग्छ । त्यस्तो
केही गर्न सकेनन् भने हाम्रो खड्गप्रसाद ओलीले झैँ बौद्धिकहरुको खिल्ली
उडाउने गर्छन्, त्यो डराएर गरेको हो ।
हाम्रो सामाजिक आन्दोलनहरु सबै कमजोर
छैनन् । तर हाम्रो आन्दोलनहरुले जुन अपेक्षा गरेको परिवर्तन थियो; असमान
सम्बन्धलाई जसरी बदल्न पर्ने थियो; त्यो बदलाव आएको छैन । त्यो किन आएन
भन्ने खोजको विषय हो । त्यो तपाईंलाई अहिले नै उत्तर दिएर चित्त बुझ्नेवाला
छैन । आज दलित समुदाय भारतमा निकै असुरक्षित छ, दिनदहाडैमा रिएका छन् ।
त्यो प्रत्यक्ष यहाँ त देखिँदैन तर हिजो अस्तिको कुरा हो नि बोक्सी भनेर
आरोप लगाएर दिसापिसाब खुवाउने, पिट्ने हरेक कुराबाट वञ्चित गर्ने गरेको ।
अहिले पनि काठमाडौँका घर मालिकहरुले दलित
भएकै आधारमा डेरा नदिने गरेका छन् । त्यस्ता अनेक खालका असमान सम्बन्धहरु
अहिले पनि मौजुद छन् । आन्दोलनले कति प्रभाव पार्यो भनेर खोज्न र अध्ययन
गर्न चुक्यौ भनेर ‘आफर’हरु प्रकाश नगर्न छोड्यौँ भने अलिअलि भएको बदलिएका
सम्बन्धहरु फेरि उही ठाउँमा पुग्न सक्छन् । पछिल्लो समय धेरै एजेन्डा उठेका
थिए नि, संविधान बनाउने बेला, ती सबै मुद्दालाई डाइल्युट गर्ने बलजफ्त
प्रयत्न भयो । अङ्कगणितका बलमा परिवर्तनलाई रोकिएकै हो । यो रोक्ने क्रम
जहिले पनि रहन्छ । लेफ्ट आन्दोलन कमजोर किन भयो ? नेपाली समाजकै अध्ययन कम
भयो कि ?
कम्युनिस्ट आन्दोलनमा लागेकाले नेपाली
समाजको विभेदहरुलाई हटाउन यहाँको जात–व्यवस्थादेखि लिएर अध्ययन गर्नुपर्ने
थुप्रै विषयप्रति उदासिन बनेर हो कि ? नेपाली समाजकै चरित्रलाई राम्ररी
बुझेर कम्युनिस्ट आन्दोलन अगाडि बढेको भए अर्कै रुप लिन्थ्यो कि ? यो खोज र
अध्ययनको विषय हो । भारतमा लेफ्ट मुभमेन्ट कहाँ पुग्यो ? अहिले एकदमै
शुष्क देखिन्छ । किनभने भारतीय समाजका जटिलताहरुमा लेफ्ट मुभमेन्ट फँस्न
चाहेन ।
आफ्नै अगाडि भएको दलदलमा खास चासो नदिने भएकाले भारतीय लेफ्ट मुभमेन्ट कमजोर भएको हो । रसिया र चीनको शुद्धताको कसीमा आफ्नो आन्दोलन नापेर बसिबियाँलो गर्ने ब्राह्मणहरुको हातमा बिलाएको छ भारतको लेफ्ट मुभमेन्ट । त्यही असफलताको परिणाम स्वरुप मोदी र हिन्दुवादको उदय भएको हो ।
सामाजिक आन्दोलन कमजोर हुँदा दक्षिणपन्थ हावी हुन्छ भन्न खोज्नुभएको ?
असमान सम्बन्धलाई कायम राख्ने कसले हो ?
त्यसको सबैभन्दा ठूलो शक्ति भनेको दक्षिणपन्थ हो । त्यो कहिले राजनीतिक
रुपमा मुखर भएको देखिन्छ, कहिले समाजमा विद्यमान रहे पनि ठोस राजनीतिक आकार
ग्रहण नगरेको हुन सक्छ । त्यो असमान सम्बन्धमा प्रहार गरिरहने आन्दोलनले
नै हो । त्यसकारण आन्दोलन एक हिसाबले सक्रिय भइरहन्छ; सक्रिय रहिरहनुपर्छ ।
त्यसो भनेर आन्दोलन मात्रै गर्ने अनि आफ्नो अरु काम नगर्ने भनेर प्रश्न
गर्छन् । घरमा भात पकाउने काम छोडेर जहिले पनि हल्ला गर्न हिँड्ने भन्ने
हुन्छ मान्छेको बुझाइ ।
आन्दोलनको स्वरुप भनेको हल्ला गरेर
हिँड्ने मात्र हुँदैन । आफना दैनन्दिन गर्ने काम त मान्छेहरुले गरेकै
हुन्छन् । त्यो सबै सँगसँगै जाने हो आन्दोलन । आन्दोलन भनेको अग्र्यानिक
प्रक्रिया पनि हो । आन्दोलन भन्नाले सबै कुरा छोडेर झण्डा मात्र बोक्ने हो
भन्ने होइन । सामाजिक आन्दोलन भनेको मान्छेको जीवनसँग जोडिएको हुन्छ ।
सामाजिक आन्दोलनलाई अलिक अग्र्यानिक प्रक्रियाका रुपमा बुझिनुपर्छ ।
सामाजिक आन्दोलन नै के हो भन्ने कुराको बुझाइ अलिक फराकिलो बनाउँदा हामीलाई
अलिक सजिलो हुन्छ । त्यसो भयो भने समाजमा सधैँ विद्यमान रहने दक्षिणपन्थी
शक्तिले मुन्टो उठाएर जथाभावी गर्न पाउँदैन ।
एनजीओ/आईएनजीओले उत्पादन गरेको ज्ञान र त्यसको जगमा खडा गरिएका सामाजिक आन्दोलनले हामीलाई कुन ठाउँमा पुर्याउला ?
एनजीओहरु नै किन आए भन्ने नै पहिलो प्रश्न
हो । निकै सोचे–सम्झेर ल्याइएको हो कि ? आफै उत्पादन भएको हो ? अथवा यसको
अब जरुरी पर्छ भनेर कतैबाट भित्र्याइएको हो कि ? शीतयुद्धभन्दा अघि दुई
धु्रव थिए । दुवैले संसारका विभिन्न मुलुकहरुलाई आफ्नो पक्षमा पार्न खोज्ने
। त्यही समय नै एउटाको प्रभाव कम गर्न भनेर विकास गर्ने नाममा सुख सुविधा
दिने, मानिसलाई उपभोक्ता बनाउने र समाजमा भएको विद्रोहीपनलाई भुत्ते बनाउन
एनजीओ ल्याइयो भन्ने बुझाइ छ ।
खासगरी सोभियत सङ्घको दबदबा दक्षिण
एसियामा समाजवादी प्रभाव देखिएपछि त्यस अवधारणामा प्रहार गर्न केही काम
गरेजस्तो गर्ने तर ठोस केही पनि नगर्ने संस्थाका रुपमा गैसस बनाइयो भनिन्छ ।
सामाजिक आन्दोलनहरुको एनजीओकरण भएको छ । दाताहरुले आएर आन्दोलनहरुमा पैसा
लगानी गर्ने, त्यो आन्दोलनको साहित्य उत्पादन गर्ने, विद्यार्थीहरुलाई
छात्रवृत्ति दिने । कार्यक्रमहरु चलाउन पैसा दिने । तर एनजीओकरण भयो
भन्दैमा सबै सकियो भन्ने होइन । ठ्याम्मै परिवर्तन ल्याएकै छैन भन्ने होइन ।
नेपालमा महिला, दलित, जनजाति, धेरै आन्दोलनहरुको एनजीओकरण भयो । सन्देह
गर्ने ठाउँहरु प्रशस्त छन्– ती आन्दोलनमा एनजीओ सहभागी भएर उनीहरुले आफ्नो
तेवर गुमाए ।
मानिसको जीवनमा प्रत्यक्ष अनुभूत गर्न सक्ने परिवर्तन नल्याएपछि यो गफै गर्ने र केही सीमित मान्छे धनी हुने धन्दा हो भन्ने भयो । एनजीओलाई देखाएर आन्दोलनलाई बद्नाम गर्ने खेती चलाइएको छ नेपालमा । जनजाति आन्दोलन पूरै आईएनजीओले चलाएको हो भनेर स्थापित गरियो, अहिले मधेस आन्दोलनलाई त्यसै भनिएको छ । दलित, महिला आन्दोलन पनि पूरै एनजीओको कमाल हो भनेर आन्दोलनको वैधतालाई सिध्याउने डरलाग्दो प्रचार गरिँदैछ । यसरी निर्माण गरिएको कथ्यले सामाजिक आन्दोलनलाई निष्क्रिय बनाउँछ । त्यसैले अहिलेसम्म उत्पादन गरिएका ज्ञानलाई दुत्कार्न जरुरी छैन तर आन्दोलनको प्रभाव बढाउन दाताको सहयोगको भरमा मात्रै पर्नु प्रतिउत्पादक हुन्छ ।
तपाईं आफैले पनि आईएनजीओमा काम गर्नुभएको छ नि ?
म व्यक्तिगत रुपमा एनजीओमा काम गर्न गएँ
तर यो प्रश्न मेरा अगाडि मात्र उभिएको प्रश्न होइन । मैले छोटो समय
आईएनजीओमा काम गरेँ । त्योभन्दा अगाडि स्वतन्त्र रुपमा वैकल्पिक मिडिया
फोरम बनाएर काम गर्न सकिन्छ कि भन्ने प्रयास पनि गरेको हो । त्यसअघि
कर्पोरेट मिडियामा काम गरेकै हो । मुख्य प्रश्न के हो भने यतिका वर्ष एनजीओ
र आइएनजीओको खेती कसको हितमा गरियो ? त्यसबाट सबैभन्दा बढी फाइदा उठाउने
समूह कुन हो ? नेपालका सबैभन्दा ठूला एनजीओहरु कतिवटा परिवारको कब्जामा छ र
तिनले वृहत्तर नेपाली समाजमा कस्तो असर पारेका छन् ? प्रश्न यो हो ।
आईएनजीओहरु मूलतः कम्फोर्ट जोनमा बसेर काम
गर्ने हो त्यसैले उनीहरुलाई शक्ति र सत्तासँग दह्रो पहुँच राख्ने मानिसहरु
वरपर चाहिन्छ । त्यस्ता मानिसलाई पोस्ने धन्दा नै नेपालमा बढी भएको छ ।
बाँकी रहेका आनासुका ‘अन्य’हरुले पाउने हुन् । सुविस्ताको घेरा कटाएर अथवा
त्यहाँभन्दा अगाडि बढ्न कोही खोज्यो भने शक्ति र सत्तामा पहुँच भएका
सुकिलाहरुका तीन नेत्र बल्छन् । उनीहरु आफै डलरखेती भन्दै बडो राष्ट्रवादी
भाषण छाट्न थाल्छन् । अत्यन्तै प्रतिभाशाली प्राज्ञिक व्यक्तित्वहरुको
ज्ञान पनि एनजीओको कम्फोर्ट जोनबाट बाहिर आउन नसकेको सत्य हो । उहाँहरुले
थुप्रै गतिला कामहरु गरेर नेपाली समाजलाई ठूलै गुन लगाउन सक्नुहुन्थ्यो तर
अपेक्षा अनुसारको काम हुन सकेन ।
रातोपाटी अनलाइन पत्रिकामा प्रकाशित
0 comments:
Post a Comment