Sunday, May 13, 2018

प्रेम र ढोंगबीचको काँडेतार

उज्ज्वल प्रसाई / जेष्ठ २०, २०७४

रकमी भेडियाधसान छलेर एक छिन सुस्ताउन मुस्किल छ । जहाँ मोलमोलाइको हल्ला व्याप्त हुन्छ, त्यहाँ चुपचाप सुस्ताउन खोज्नु मनासिब मानिँदैन ।

त्यसमाथि मौसमी खैलाबैलाले वातावरण निसासलाग्दो भएको छ । पैसा र भोटको विनिमयले हल्लाखोरहरूको स्वर ऊँचो छ । पुरस्कार, पद, सम्मान, अभिनन्दन इत्यादिको हाटबजार यही बेला भरिने रहेछ । कारोबारीहरूका हातबाट सम्पन्न गरिने लेनदेनका यस्ता कर्मकाण्ड शान्त मनोदशामा सम्भव हुँदैन ।
सत्ता र शक्तिले मैमत्त राजधानीको अशान्त मनोदशा आजकल डिजिटाइज भएर जताततै फैलिन्छ । सहरका यथानाम चिच्याहटहरू बोकेर मान्छेका हात–हातमा सामाजिक सञ्जाल पुगेका छन् । आफूबाहेक संसारलाई इमानको महत्त्व बुझाउन व्यस्त भद्रलोक च्याँठिएर बोलिरहेका भेटिन्छन् त्यहाँ ।


यी सबैबाट जोगिएर एक छिन मन बहलाउनु छ । दिमागमा थोपरिएका टुक्राटुक्रा सूचना, एकोहोरो कुरा कटनीले बजाएको कर्कश धुन, विश्लेषणका नाममा कोचिने काँचोकचिलो पाण्डित्याइँ, यी सबै नसुन्ने यत्न गर्नु छ ।
बासस्थान नजिकैको पार्क भन्न मिल्ने सानो बगैँचामा पुग्छु । फलामका मेचमा दिनभरि बसेको घामले गाढा सम्झना छोडेर गएको रहेछ । तातेको फलाममा बस्नु आनन्दमयी हुँदैन । तर, यो दुखिया सहरमा मेचसहितको बगैंचा भेटिनुको दुर्लभता आफंैमा रोमाञ्चकारी अनुभव हो । कम्तीमा वरपर धूलोको बाक्लो पर्दा छैन । सुन्दर देखिनुपर्ने उहापोहमा नफँसेको कुनै तन्नेरीको गालामा अलपत्र उम्रेका दारी जस्तोगुजुमुज्ज झाडी छ । कताकति फुलेका दारीजस्ता राता पहेंला फूलहरू देखिन्छन् । वरपर काँडेतार हो वा भ्रम, त्यसले बेरेर खाली जग्गाको सुरक्षा गर्न खोजिएको छ । ती काँडेतारलाई फूलका हरिया लहराले च्याप्प समाएका छन् मानौं उनीहरूले छोडिदिँदा काँडेतार भुइँमा लत्रिन्छ ।

झोलामा बोकेर ल्याएका एकान्तका साथीहरू पालैपालो निकालेर मेचमा राख्छु । यी मलाई प्रेम र जीवनको महत्ता बुझाउने मित्र हुन् । हुन सक्छ झोला खोलेको सुइँको पायो, सानो कदको एउटा निख्खर सेतो रंगको कुकुर छेउमा आएर याचक मुद्रामा मलाई हेर्छ । म उसलाई बोलाउँछु, ‘हलो गोरे, के छ खबर ?’ गोरेले झोलाबाट खान मिल्ने कुनै वस्तु निस्केला भन्ने आशा गरेको बुझ्छु ।

झोलाबाट सबभन्दा पहिले निस्किन्छ राइनर मारिया रिल्के, ऊ फ्रेन्च भाषामा कविता लेख्छ । उसलाई एक छिन सुमसुम्याएर मेचमा राख्छु । गोरे मुन्टो उठाएर रिल्केलाई सुँघ्छ । आख्यान र गैरआख्यानका चेपमा वर्षौं बिताएर बल्ल कोठाबाहिर निस्केको कवि रिल्केसँग गोरेलाई आकर्षण गर्ने कुनै गन्ध थिएन । गोरेको उत्साह घट्छ । केही मेसो नपाएपछि याचनाको उही भाका दोहोर्‍याएर मतिर हेर्छ । त्यसपछि म महमुद डार्बिसलाई निकाल्छु, ऊ अरबी भाषामा लेख्ने प्यालेस्टाइनी कवि हो । गोरे फेरि मुन्टो उठाउँछ र निराश ऊ मेरा पाइतला सुँघ्न थाल्छ । येभ्गेनी यभ्तुसेन्को पनि निस्कन्छ, रसियाको जण्ड कवि रहेछ ऊ । यो सानो पुस्तिका आकारको संग्रहले कुनै गन्ध फालेन सायद, गोरेको घ्राणशक्ति परिचालित भएन । बम्बैया कवि अरभिन्द कृष्ण मरहोत्राले अंग्रेजीमा अनुवाद गरेको कविरका कविता निकाल्छु, गोरे तन्किन्छ । मसँग भएका भारतीय कविजीत थाइल र अर्काप्यालेस्टाइनी कवि समि अल कासिम झोलामै छन् ।

गोरेलाई सोध्छु, ‘कविता सुन्छस् गोरे ?’

ऊ अपलक मलाई हेर्छ । म औंलोले इसारा गरेरे भन्छु, ‘यहाँ छेऊमा बस्, म कविता सुनाउँछु ।’ ऊ एक छिन भुक्छ अनि मुन्टो बटारेर हिँड्छ ।

गोरेसँग माग्ने कौशल छ । भुकेर आफ्नो आक्रोश वा विवशता व्यक्त गर्ने सीप छ । उसले अरूका कुरा सुन्न जानेको रहेनछ । भर्खरै भेट भएको गोरेलाई मैले कसरी चिन्नु ? मान्छेको राम्रो संगत पाएर होला गोरे मोलमोलाइमा पारंगत भइसकेछ ।

ऊ बाटो लागेपछि, मलाई खालीपनजस्तो महसुस हुन्छ । सुनिदिने श्रोता नहुनुको खालीपन हो वा आफैंभित्र बढ्दै गएको रिक्ततता हो, त्यस्तो केही आभास हुन्छ । रिल्केका कविताबारे समालोचकले भनेका रहेछन्, कलामा उनको उद्देश्य मान्छेको रिक्तता, जो मानवीय अभिलाषामा अन्तरनीहित कमजोरी हो, त्यसलाई अर्थोक केही चीजमा रूपान्तरण गर्नु हो । दुनियाँ बुझ्ने मेरो अभिलाषासँगै हुर्किन थालेको रिक्ततालाई सन्त कबिरले सम्बोधन गरेको भान हुन्छ । गोरेलाई यो कविता सुनाउन खोज्नु त्यही रिक्तता चिर्ने प्रयत्न थियो :
भाइ, मैले केही अद्भुत दृश्यहरू देखेको छु :

चरिरहेका गाइको रखवारी गर्दै गरेको
एउटा सिँह देखेको छु,
छोरो जन्मेको धेरैपछि
आमाको जन्म भएको देखेको छु,
आफ्नो शिष्यका अघिल्तिर
लम्पसार परेको गुरु देखेको छु,
रूखका टुप्पा–टुप्पामा अण्डा पार्दै गरेका
माछाहरू देखेको छु,
कुकुर च्यापेर हिँडिरहेको
बिरालो देखेको छु... ।

धुलाम्मे कोलाहलमा निमग्न सहरबीच किञ्चित शान्त यो बगैंचामा चलिरहेको दृश्य देख्न पाएको भए सन्त कबिरले सम्भवत: आफ्नो कविता यसरी टुंग्याउँथे :

कुकुरलाई कविता सुनाउन खोजेर
छटपटाएको एउटा रिक्त मान्छे देखेको छु ।

यस्तो लाग्छ, दुनियाँले हिसाबकिताब ठीकसँग राख्दैन । लाखौं विश्वविद्यालयहरूमा करोडौं मानिस मुन्सी बन्ने प्रयत्नमा लिन छन् । बहीखाताहरू चुस्त राख्न सकियोस्, जोडघटाउमा कुनै सिकायत नहोस् भनेर नै यतिबिघ्न विधि र शास्त्रका खात तयार पारिएको छ । तथापि हिसाब मिलाउन नसकेर यो दुनियाँ छटपटीमा छ । खासमा गुणनभागा नमिलेको इतिहास लामो रहेछ । कबिरले समाजको असंगति सतहमा छताछुल्ल भएको देखेका रहेछन् । उनले कवितामा भनेका छन्, ‘भाइ, मैले घोडामा बसेर चर्न हिँडेको भैंसी देखेको छु ।’ संगति मिलेको दुनियाँको चित्र यस्तो हुँदैन ।

समाजको पिँधमा बस्न बाध्य बनाइएका हजारौं मानिसहरूले डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीहरूलाई काँधमा बोकेर हिँडेको अद्भुत दृश्यले विसंगत हिसाबको जटिलतम रूप देखाउँदैन र ?

कुनै संगति प्राप्त गर्न नसकेका हिसाबका फेहरिस्त मधुर बोलीमा सुनाउन आएका महमुद डार्विस आज मसँग छन्, यो बगैंचामा । डार्विसलाई पहिलोपटक मैले अरुन्धती रोयको ‘लिसनिङ टु ग्रासहोपर्स’ नामको किताबको पहिलो पानामा भेटेको थिएँ । उनका करिब तीन पंक्तिले दुनियाँको उलटफेर बेजोडसँग खिँचेको थियो ।

अन्तिम सीमा छिचोलेपछि कहाँ जान्छौं हामी ?
आकाशको अन्तमा पुगेपछि कहाँ उड्छन् पन्छीहरू ?
हावाको अन्तिम श्वासपछि कहाँ सुत्छन् वनस्पतिहरू ?

मैले यी हरफहरू कहिल्यै बिर्सन सकिनँ, डार्विसलाई भने चटक्कै भुलेंछु । हुन सक्छ, कविताको बलियो संवेदनाले कविको नाम, थर, वतन गौण बनाइदियो । उनका हरफमा प्रयुक्त ‘अन्तिम’ शब्दले मलाई जहिल्यै कोपरिरहयो । अनन्तको मीमांसामा रमाउन सजिलो छ, अन्त्यको सामना गर्न मुस्किल हुन्छ । जटिलतम दुनियाँको रहस्य खोतल्न खोज्दाखोज्दै दुनियाँले आफ्नो अन्तिम श्वास नफेरोस् । खोजको पहिलो खुड्किलो टेक्न नपाउँदै आफंैलाई खर्लप्प ननिलोस् ।

डार्विसलाई पहिलोपटक पढ्नु नै झन्डै अन्तिम भेट भएछ । संयोग भन्ने शब्दको बलियो अर्थ छ भन्ने मलाई यस्तो बेला आभास हुन्छ । संयोगवश, उनका ती पंक्तिहरू सम्झन पुगें । असरल्ल किताबका थुप्रोमा खोजेर रोयको किताब फेला पारेपछि ती तीन हरफमुन्तिर उनको नाम देख्दा मलाई ‘अन्तिम’ शब्दको त्रासदीले केही बेर छोडेको थियो । यही कविताको शीर्षक ‘द अर्थ इज क्लोजिङ अन अस’ ले उनलाई पहिल्याउन सजिलो भयो ।
डार्विसले जीवनको लामो खण्ड निर्वासनमा बिताए । प्यालेस्टाइनी जनताको आवाज बोल्ने उनले हिसाब नमिलेको दुनियाँको चित्र यति राम्रोसँग कोरे, अन्तत: उनी आफंै प्यालेस्टाइनका परिचय बने । जेलनेल र यातना भोग्दै र इजरेली राज्यका सिकारी पञ्जाबाट जोगिँदै उनले चार दशक कविता लेखे । उनको शैलीमा सरलता थियो, भाषामा माधुर्य । पहिचान र अधिकारका लागि लडिरहेका मान्छेले उनका शब्द अनवरत गाएका छन् । नगाउन् पनि कसरी ? ए गोरे, सुन् न, प्यालेस्टाइनीमाथि गोली दाग्न खटिएका सिपाहीलाई सम्बोधन गर्दै डार्विसले कस्तो मीठो कविता लेखेका छन् :

ओ, संघारमा उभिएका तिमी, आऊ भित्र पस,
हामीसँग बसेर अरबी कफी खाऊ
(आफूलाई हामीजस्तै मान्छे सम्झनेछौ तिमीले)
ओ, घरका संघारमा उभिएकाहरू,
बिहानबिहानै हाम्रा अघिल्तिर नपर
हामी पनि तिमीहरूजस्तै मान्छे हौं भन्ने
महसुस हुन जरुरी छ हामीलाई ।

ज्यान लिन आएका हिंस्रक सिपाहीलाई कफी पिउन आमन्त्रण गरेर उसको मानवता जगाउन सजिलो छैन । असहिष्णु राज्यको बन्दुक बोकेका मान्छेका अघिल्तिर उभिएर आफू मान्छे बनिरहन उति नै गाह्रो छ । मान्छेलाई यस्तो नियति भोग्न बाध्य बनाउने यो दुनियाँको नमिलेको हिसाब बुझ्ने ल्याकत रकमीहरूसँग हुँदैन । तिनका अत्याधुनिक विधि र शास्त्र यहाँनेर अर्थहिन साबित हुन्छ । सम्भवत: कविहरू यही कामका लागि पैदा भएका हुन् । डार्विसले ‘मेरो परिचयपत्र’ शीर्षकको कवितामा आफ्नो परिचय दिँदै भनेका छन् :

पहिलो पानाको शिरमा लेख,
म मानिसलाई हेलाँ गर्दिनँ
म कसैको केही चोर्दिनँ
तर, म भोको परें भने
ममाथि शोषण गर्नेको मासु खानेछु,
मेरो भोकसँग र मेरो आक्रोशसँग,
होसियार रहनु ।

गोरेलाई बगैँचाको पल्लो कुनामा झुम्मिएका गफीहरूमध्ये एउटाले लात लगायो । ऊ कुदेर मनेर आइपुग्यो । उर्दूभाषी लेखक सादत हसन मन्टोले दुई राष्ट्रवादी बन्दुकको चेपुवामा मिचिएको एउटा निर्दोष कुकुरको कहानी भनेका छन्, ‘डग अफ टिटवाल’ कथामा । खासमा त्यो निहत्था र निर्दोष मान्छेको कथा हो । गोरे भने गफाडी र मुडीहरूको अराजक सनकका बीचमा सिकार भएको छ यस बेला । मनेर आइपुग्दा उसले अघिको आफ्नो अर्थहीन प्रयत्न बिर्सिसकेछ, फेरि त्यसरी नै याचक नजरले मलाई हेर्न थालेको छ । खासमा यो पनि मान्छेकै कथा हो ।

गोरेलाई म भन्छु, ‘मान्छेले जस्तो बिजोग नियति नभोगेको राम्रो हो केटा । आइज, म तँलाई रसियाली कवि येभ्तुसेन्कोकाएक हरफ सुनाउँछु ।’

‘सादगी मरणोपरान्त दिइने आभूषण हो ...’

गोरे कुनै प्रतिक्रिया जनाउँदैन । ऊ अब चुपचाप मेचको एकापट्टिको खुट्टामा अढेस लागेर बस्छ । सादगीको कुनै माने हुन्छ भन्ने बुझेर बसेझैं, ऊ धीर गम्भीर मुद्रा धारण गर्छ । रसियामा स्टालिनवादको जडताले मानवीयताको बाटो छेकेपछि के भयो भनेर बुझ्न यस्ता कविता पढ्नुपर्छ भन्छु, गोरे सुनेझैं गरिरहन्छ ।

कसरी कुन सालदेखि चलनमा आयो,
जीवितप्रतिको यो सोद्देश्य उदासीनता,
र मृत्युको यो सुविचारित खेती ?...

जुन बेलादेखि यस्तो चलन सुरु भयो, दुनियाँको हिसाब समस्यामा फँसेको हो । जीवनप्रतिको योजनाबद्ध उदासीनताले हिंसाको सुविचारित खेती थाल्न उद्यत गराउँछ । सामाजिक र आर्थिक संरचना नै यस्तो खडा भएको छ, चाहे संरचनाको टुप्पामा बस्नेहरू हुन् वा पिँधमा, दुवै हिंसाग्रस्त जिन्दगी बाँच्छन् । यस्तो संरचनामा सादगीपूर्ण जिन्दगीको गुन्जायस हुँदैन । एकातिर तडकभडक, छलकपट, र लुट हुन्छ । अर्कातिर अभाव, क्षुब्धता, बेताबी, आक्रोश, र हिंसा हुन्छ ।

गोरे चुपचाप सुनिरहेको भान पारिरहेको थियो । केही बेरपछि झिँझो मानेजस्तो गरेर आँग तान्यो । शरीर झट्कार्‍यो, नंग्राले हलुका भुइँ कोपर्‍यो । यति नजिकबाट मैले कुनै कुकुरको गतिविधि नियालेको थिइनँ । मलाई लाग्यो, उसको तलतल अब भोकमा परिणत भयो । भोक र आक्रोशसँग होसियार रहनु, डार्विसले भनेका छन् । गोरेमाथि मैले शोषण गरेको छैन तर भोकले जन्माउने आक्रोश जता पनि पोखिन सक्छ । त्यसैले नजिकैको पसलतिर हिँड्न थालें, गोरे पछि लाग्यो । कुकिजको एक प्याकेट किनेर उसले र मैले बाँडेर खायौं । कुकिज सकिएपछि केही बेर आशाका नजरले हेरिरह्यो । मैले सोचें, गोरे अब सुइत्त भाग्छ । तर, ऊ ठीक मेरो अघिल्तिर गफ गर्न बसेझैं आसन जमायो ।

त्यसपछि गोरेलाई मन्टोको कुकुरले आफ्नो नागरिकता प्रमाणित गर्न नसक्दा मारिएको कहानी सुनाएँ । तर, उसले त्यो अनागरिक कुकुरप्रति कुनै सहानुभूति राखेको छनक दिएन । बिनाकुनै संकोच सुनिरहेझैं गरिरह्यो । कुकिजसँगै उसको बफादारीको चिरन्तन गुण फर्केर आएको छ । यो बगैंचामा कुनै राष्ट्रवादी सर्भिलियन्स वा कुनै हतियार प्रवेश गरेको छैन, त्यसैले उसको नागरिकता यहाँ कसैले खोज्दैन । त्यसो त रंगको पनि अर्थ हुन्छ । गोरो हुनुका नाताले उसलाई सितिमिति कसैले शंका गर्दैन । बगैंचामा मोलमोलाइ गर्न मिल्ने अरू कोही दृश्यमा नभएकाले ऊ केही बेर कविता सुन्ने मुडमा देखिन्छ । अर्का प्यालेस्टाइनी कवि अल कासिमको एउटा छोटो कविता पढ्छु :

मेरो हत्या गरेको दिन,
मेरो गोजीमा तिमीले
केही गन्तव्यमा पुग्ने टिकटहरू भेट्नेछौ
शान्तिसम्म पुग्ने,
खेतहरू र वर्षासम्म पुग्ने,
मान्छेको चैतन्यसम्म पुग्ने,
ती टिकटहरू खेर नफाल्नु ।

गोरे आकाशतिर हेरेर भुक्छ । यस्तो लाग्छ मानौं ऊ आकाशमा बस्ने कुनै अदृश्य देवताको सहारा खोज्दै छ । संसारका त्रासदीहरू झेल्न लेखिएका कविता सुनेर मानौं ऊ आतंकित भयो । भागेर कतै जाँदैन, बरु केही बेर रोकिन्छ र भुक्न थाल्छ । मान्छेले जस्तै उसले पनि आफ्नै आकृतिको भगवान् कतै शून्यमा टाँगेको हुन सक्छ ।
म भन्छु, ‘यो बेहिसाबको दुनियाँ निर्माण गर्ने मान्छे हो । सुधारे मान्छेले सुधार्छ । अझै बिगारे, त्यसको असर सिंगो पृथ्वीले भोग्नुपर्छ । बिचरा त्यो भगवान्लाई के पुकार्छस् ?’ ऊ नपत्याएजस्तो गरेर मलाई हेर्छ र फेरि भुक्छ ।
म उसलाई सुनील गांगुली भन्ने बंगाली उपन्यासकारले उहिल्यै भनेको एउटा प्रसंग सुनाउँछु । गांगुलीले भनेका थिए, ‘भगवान् भनेको मान्छेले सिर्जना गरेको सबभन्दा रमाइलो र सबभन्दा क्रूर हल्ला हो ।’ गोरे एक छिन अडिन्छ, मुन्टो उँभो फर्काएर उसको घाँटी मेरो पिँडुलामा पसार्छ । लाडिन आइपुगेको बालकजस्तो यत्तिकै बसिरहन्छ ऊ मानौं मलाई कुकिज ख्वाएकोमा धन्यवाद दिन चाहन्छ । अथवा, अदृश्य देवताको भ्रम सकिएपछि ऊ कुनै अर्को सहाराको खोजीमा छ । म उसको त्यस्तो सहारा बन्ने हिम्मत गर्न सक्दिनँ । दुनियाँका दु:खी आत्माहरू आफूभन्दा अग्लो महात्मा स्थापना गर्न चाहन्छन्, आस्था चाहिन्छ भन्छन् । महात्मा बनाइएका मानिसहरूले मरणोपरान्त पनि जोखिम मोलिरहन्छन् । उसलाई जित थाइलको ‘सन्त गान्धी’ कविता सुनाएर मनाउने कोसिस गर्छु :

पोरबन्दर सहरको यो मनुवाले,
अँध्यारो दक्षिण अफ्रिकामा
रेलबाट यात्रा गर्दा देख्यो उज्यालो,
घरबुना कपडा मात्रै लगायो,
नुन खाएन, हाप्यो यौनसुख,
यो दु:खी मनुवा, जसले एउटा देश तोडेर
दुइटा बनायो, प्रलयसँग मित्रता गाँस्यो,
भगवान्को नाम जपेर मर्‍यो,
नाममा भगवान् भएको मान्छेबाट मारियो ।

गोरे फुत्त हिँड्यो । आफ्नो स्वास्थ्यको अतिरिक्त चिन्ता गर्ने एक हूल मानिसहरू सन्ध्याकालीन भ्रमण खातिर बगैंचामा पसिसकेका थिए । कदाचित गोरेलाई कविता सुनाएको थाहा पाए भने, उनीहरू आफ्नो स्वास्थ्यको भन्दा मेरो स्वास्थ्यको चिन्ता ज्यादा गर्न थाल्नेछन् । सो चिन्तालाई यत्रतत्र फिँजाउनेछन् । त्यसैले एकान्तका मेरा साथीलाई गुटमुटयाएर म हिँड्न थाल्छु ।

कसोकसो बगैँचा उन्मुख यो झोडीले मलाई आकर्षित गर्‍यो । रकमी मान्छेजस्तै मोलमोलाइ गर्ने भए पनि हिँड्ने बेलामा गोरेको माया लागेर आयो । मैले रिल्केलाई सम्झें :

केही गलत छ भने, यो त्यही हो कि
सके जति सबै आन्तरिक स्वतन्त्रताहरूलाई सम्बोधन गर्दै
प्रेमको स्वतन्त्रतालाई फैलन नदिनु ।
प्रेममा हामीले गर्नुपर्ने यति नै हो :
एक अर्कालाई मुक्त छोडिदिने अभ्यास ।
जकडेर राखिरहनु सजिलो काम हो,
यसका लागि कुनै अभ्यास चाहिँदैन ।

मुक्तिको सपना देख्ने महमुद र रिल्केहरू, कबिर र थाइलहरू प्रेमका असली उपासक हुन् । ढोंग र प्रेमबीच फरक छुटयाउने काँडेतार सख्त जरुरी छ ।

प्रकाशित : जेष्ठ २०, २०७४ ०९:३७

कान्तिपुर दैनिक / https://www.kantipurdaily.com/koseli/2017/06/03/20170603093716.html

0 comments:

Post a Comment