Sunday, May 13, 2018

देशप्रेमको आह्वान

उज्ज्वल प्रसाईं / काठमाडौ, मंसिर २१ -

पारस प्रकाश नेपाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा परिचित नाम हो । पत्रकारिता र पुस्तक सम्पादनमा लामो समय लगानी गरेका पारसले कुनै दिन आफ्नै सिर्जना लिएर नेपाली पाठकमाझ आउँछन् भन्ने अपेक्षा थियो । सो अपेक्षा उनले पूरा गरेका छन् तर अलि अनौठो पाराले । भाषा सम्पादनबारे वा साहित्यकै कुनै विधाको पुस्तक लिएर आएका भए अनौठो हुने थिएन । उनी त गायक बनेर पेस भए । आफैंले रचेको गीतमा स्वर दिएर उनले गाए 'नालापानी कालापानी' । पारसको स्वरमा उनकै गीत सुन्न पाउनु मेरा लागि सुखद आश्चर्य हो ।
उनको एक थान जागरण गीत रेकर्ड भएर एल्बमका रूपमा बजारमा आएको समाचार छापामा पढ्दा कतै पारसले बित्थामा गाउने रहर त गरेनन् भन्ने लागेको थियो । धेरैले कनेर गायक बन्न खोजेको थाहा पाइएको छ । संगीतको आधारभूत ज्ञान नभएकाले भुत्ते स्वर बजाएर जबर्जस्ती बनाएका गीतको बाढी छ बजारमा । त्यही बाढीको एक छाल बन्ने उपक्रम दोहोर्याका पो हुन् कि हाम्रा सम्पादकले भन्ने ठूलो डर थियो मलाई । तर, गीत सुनेपछि भने म ढुक्क भएँ । उनले बडो स्वाभाविक ढंगले गाएका छन् गीत । कतै पनि सिकारुको जबर्जस्तीजस्तो लाग्दैन । जुगल डंगोलले बनाएको मेलोडीमा उनको स्वर गजबले सुहाएको छ ।

पारसका केही गजलका टुक्राहरू सुन्ने अवसर पाइएकै हो । गीत भने पहिलोपटक सुनियो । उनका डायरीमा प्रशस्त गीतहरू रहेछन् । अहिले भने उनको एउटा मात्रै गीत रेकर्ड भएर बाहिर आएको छ । जम्मा एक थान गीतको एल्बम बनाउनुका पछाडि उनको तर्क छ, 'यो एल्बममा भएको गीत जागरण गीत हो । अरू प्रेम र विछोडका गीत मीसाएर प्रकाशन गर्दा सो गीतको मूल्य घट्ने डर भएर यही एउटा मात्रै गीत राखिएको हो ।'
बनारसमा विद्यार्थी छँदा भारतले नेपाली भूभाग -कालापानी) मिच्यो भन्ने गाइँगुइँ खुब सुनेका रहेछन् पारसले । त्यही भारतमा विद्यार्थी जीवन बिताइरहेको नेपाली ठिटाको मनमा राष्ट्रियताको आँधी उठ्यो । वीर बलभद्र कुँवरजस्ता पुर्खालाई सम्झँदै पारसले कुनै एक दिन लेखे ः

'नसोध यी आँखाबाट कतिचोटि बग्यो पानी
पैले नालापानी बग्यो ऐले फेरि कालापानी'

वर्षौंअघि एउटा प्रसंगमा लेखेको गीत अहिले आएर रेकर्ड गर्न किन जाँगर चल्यो त पारसलाई ? हिजोआज नेपालीहरूमाझ 'राष्ट्रवाद'को पारो ह्वात्तै बढेको छ । भारतको बलमिच्याइँ बढ्तै भएको सबैले चर्चा गरिरहेका छन् । सञ्चार माध्यममा भारतले नेपाली राजनीतिलाई 'माइक्रो म्यानेज' गर्छ भन्ने प्रसंग पटक-पटक दोहोरीने गरेको छ । हुन सक्छ, यी सब चर्चा चलेपछि पारसले आफ्नो पुरानो डायरी पल्टाएर सो गीत पढे । कसैले संगीत भरेर गाइदिए उनको गीत यस बेला नेपालीहरूले मन पराउनेछन् । आफ्नो सिर्जना अरूले मन पराइदिउन् भन्ने कुन स्रष्टालाई नलाग्दो हो ?

उनले गीत दिए जुगल डंगोललाई । संगीतकार डंगोलले पारसकै स्वरमा सुहाउँदो संगीत भरे र उनैलाई गाउन फर्माए । साथीभाइले उनको गीत सुनेपछि भनेछन्, 'चिज त बन्यो, प्रकाशन किन नगर्ने ?' त्यसै राष्ट्रियताले ओतप्रोत केटौले पारसको गीत उनको वयस्क बनिसकेको स्वरमा सजिएर हाम्रासामु आयो । धेरैले मन पराए । खासगरी विदेशमा बस्ने नेपालीले खोजी खोजी यो गीत सुनिरहेको फेसबुक र ट्विटरमा देख्न सकिन्छ । 
उनले 'नालापानी कालापानी' रेकर्ड गर्नुअघि त्यस्ता दुइटा पुस्तकको भाषा सम्पादन गरे जसको केन्द्रमा भारतले नेपाली राजनीतिमा खेलेका रहस्यमयी खेलका विस्तृत कथाहरू थिए । आफ्नै सहकर्मीहरू सरोजराज अधिकारीको 'चक्रव्यूहमा चन्द्रसूर्य' र सुधीर शर्माको 'प्रयोगशाला' । यी दुई पुस्तक सम्पादन गर्दै गर्दा पनि उनले नेपाल र भारतबीचको समस्याग्रस्त सम्बन्धबारे धेरैपटक गमेको हुनुपर्छ । छिमेकमा रहेको ठूलो देशको ह्याँकुलोले आफ्नो सानो मुलुकलाई मिचेका अनेकन् किस्सा पढेपछि उनलाई आफ्नो पुरानो गीत आजका दिनसम्म उत्तिकै सान्दर्भिक लागेको हुन सक्छ । भारतको पेलानमा ऊ मात्रै दोषी नभएर हाम्रा आफ्नै कमजोरी रहेका तथ्य पनि ती पुस्तकभरि उल्लेख छन् । त्यसैले उनले आफ्नो गीतको यस्तो हरफ सबै नेपालीलाई सुनाउन चाहे ः 

'भयो लाचारीले आफ्नै आँगनी यो परदेश
आफैंलाई भारी हुन्छ साँझबिहान जिन्दगानी
कैले हात जोड्थ्यो कैले पाउ पथ्र्यो रमाउँथ्यो
मनपेट पाई चढ्यो छातीमाथी बेइमानी' 

पारसले यो गीत लेख्नु, गाउनु, र प्रकाशन गर्नुको अभिष्ट नेपालीहरूमाझ राष्ट्रियता जागृत गर्नु हो भन्ने बुझिन्छ । तर, यस्तो राष्ट्रियता जागृत गर्नु कति जरुरी छ ? वा राष्ट्रियताको यस्तो परिभाषा अब कति काम लाग्नेछ भन्ने प्रश्न बौद्धिक विमर्शको विषय भने हो । व्यक्तिगत रूपमा यी माथिका शब्दको निहितार्थ र त्यसले जगेर्ना गर्न खोजेको 'राष्ट्रवाद' सँग म धेरै सहमत छैन । असहमत भएरै गीत मन पराउनुको पनि एउटा मजा रहेछ । जस्तो भगवान्मा कुनै विश्वास नभए पनि मलाई अनुप जलौटा र जगजित सिंहका भजन मन पर्छन् । त्यसो त घगडान नेपाली गायकहरूले गाएका साइबाबाका भजन पनि मन पराएरै सुनिएको हो । साइबाबासँग सहमत किन हुनुपर्यो र ?
तर, गीतलाई पारसकै अभिष्टअनुसार बुझ्नुपर्छ भन्ने पनि छैन । जस्तो यो गीतलाई आफ्ना व्यक्तिगत जीवनका अप्ठ्याराहरू सम्झेर सुन्ने हो भने पनि अर्थपूर्ण लाग्छ । आफू लाचार हुँदा आफ्ना सम्भिmएकाहरू कसरी वैरी हुन्छन् वा मनपेट पाएपछि कसरी नमज्जाले फँसाइदिन्छन्, गीतले त्यो बताइदिन्छ । यस्ता तीता घटनाहरू हाम्रा व्यक्तिगत जीवनमै पनि बग्रेल्ती घटेका हुन सक्छन् । त्यस्ता घटनाको सम्झना गराउन सफल छ यो गीत । 

'बारबेर गरे हुन्छ झ्यालढोका थुने हुन्छ
कसलाई थाहा कता पल्किने हो अभिमानी'

मलाई अब पारसले लेखेका अन्य गीतहरू सुन्ने इच्छा छ । जीवनका अनेक आयामलाई लिएर उनले पक्कै अरू धेरै गीतहरू लेखेका होलान् । ती गीतहरू सुनाउन धेरै विलम्ब जरुरी छैन । तर, यति एउटा गीत गाएर हराइरहने हो भने, हामी श्रोतालाई अन्याय हुनेछ ।

प्रकाशित मिति: २०७० मंसिर २२ १०:३७

कान्तिपुर दैनिक / https://www.kantipurdaily.com/koseli/2013/12/06/310206.html

0 comments:

Post a Comment