Sunday, May 13, 2018

मुक्ति र दासताबीचको यात्रा

उज्ज्वल प्रसाईं / पुस २६ -

उपनिवेशवाद भनेको दासता हो । ठीक । तर, त्यति मात्रै होइन । यसका अनेकन् आयाम छन् । ती सबै छिचोल्न गहिरो अध्ययन चाहिन्छ । फ्रान्ज फ्यानन् र एड्वर्ड सइद, रणजित गुहा र होमी के भाभा । यी नामहरू उच्चारण गरेर सैद्धान्तिक गफ धेरै गर्न सकिन्छ । हाबि्रडाइजेसन, क्रियोलाइजेसन । अनेक जार्गनहरूले गफ सिँगार्न पनि सकिन्छ । तर, उपनिवेशिताका पत्रहरू उक्काएर हेर्नु, हरेक पत्र घमासान पहेली हुन्छ । इतिहास सजिलै बुझिँदैन ।

दुई वर्षअघि 'द स्लाई कम्पनी अफ पिपल हु केयर' पढेँ । उपनिवेशवाद बुझ्नै भनेर राहुल भट्टाचार्यको सो उपन्यास पढेको थिइनँ । बजारमा नयाँ आएको फिक्सन पढेर आनन्दित हुन चाहन्थेँ, बस् । तर पढिसकेपछि भने आनन्दित कम, व्यग्र बढी भएँ । उपन्यासबाट गयाना भन्ने मुलुकका बारे थोरबहुत थाहा पाएँ । अंग्रेजको उपनिवेश बनेको त्यहाँ तिनका हर्कतका केही नयाँ पाटाहरू खुले । अंग्रेजी शब्दहरू मिसिएको पिड्गिन भन्ने छुट्टै भाषाको स्वाद पाएँ । त्यसैले, गयानाको इतिहास बुझ्ने हुटहुटी बढ्यो ।

अंग्रेजले उखु खेती र चिनी उद्योगमा काम गर्न गयाना पुर्याएका हजारौँ भारतीय मजदुरका बारे मलाई बुझाउने कुनै सामग्री उपलब्ध थिएन । विकिपिडियामा टुक्राटुक्री तथ्यहरू फेला पारेँ । गफ गर्नलाई पनि अपुग हुने । गुगल गरेर बुझेँ भन्नु तीन रात लस एन्जलस बसेर फर्केपछि अमेरिकाको अर्थ राजनीतिमाथि 'गम्भीर' आलेख लेख्नुजस्तो मात्र हो । उपबुज्रुग्याइँ गर्नु थिएन, त्यसैले सारसंग्रहतिर लागिनँ ।

अहिले 'कुली वुमन ः द ओडीसी अफ इन्डेन्चर' फेला पर्यो । यस पुस्तकको मुख्य विषय नै गयाना लगिएका भारतीय मजदुर महिला हुन् । अमेरिकी पत्रकार गायत्रा बहादुर यो किताबकी लेखक हुन् । अलिअलि अमेरिकी अखबार पढ्ने भए पनि मैले यी लेखकबारे थाहा पाएको थिइनँ । दिल्लीको मे डे बुकस्टोरमा 'कुली वुमन' र 'स्लाई कम्पनी'का लेखकद्वयका बीच वार्तालाप हुने खबर पाएपछि भने म गायत्राबारे जान्न इच्छुक भएँ । उनी खासगरी ग्लोबल माइग्रेन्टहरूबारे रिपोर्टिङ गर्ने पत्रकार रहिछन् । अमेरिका-इराक युद्धका बेला उनले जमेर रिपोर्टिङ गरेको तथ्य पनि फेला पारेँ । मेरा लागि त्योभन्दा पनि रोचक तथ्य के थियो भने, उनको जन्म गयानामा भएको रहेछ । ९ वर्षसम्मको उनको बाल्यकाल त्यहीँ बितेको रहेछ । उनी गयाना पुर्याइएका भारतीय मजदुरकै सन्तान रहिछन् ।

'कुली वुमन' पढेर उपनिवेशवादका सबै पहेली खुले भन्ने मेरो दाबी होइन । तर, महिलालाई केन्द्रमा राखेर लेखिएको यो किताबमा धेरैले वास्ता नगरेका पक्ष उजागर गर्यो । यसले उपनिवेशिता र त्यसका प्रभावहरूलाई जसरी उधिनेको छ, त्यो नै मेरा लागि नयाँ भयो ।

के छ त 'कुली वुमन' मा ? धेरै भारतीय महिलालाई अंग्रेजको भाडाका मजदुर भएर गयाना पुग्नुपछाडि मुक्तिको चाहना थियो । धेरैजसो स्वेच्छाले गयाना गएका थिए । एकैसाथ उनीहरूले मुक्ति पनि पाए र बँधुवा पनि भए । सुन्दा अप्ठ्यारो लाग्छ । दासता र मुक्ति कसरी एकैसाथ अनुभूत हुन्छ ? गायत्रा भन्छिन्, हो त्यस्तै भएको छ । वेस्ट इन्डिजतर्फ जान जहाजमा चढ्दा सयौँ महिलालाई आफ्ना घर नामका बन्दीगृहबाट मुक्ति मिलेको थियो । कतिले शोषणयुक्त वेश्यावृत्तिबाट छुट्कारा पाएका थिए । कति संस्कारको साङ्लो छिनाएर हिँडेका थिए । हजारौँ माइलको समुद्र यात्रा थाल्नु कतिका लागि जीवनमै पहिलोपटक गरेको स्वनिर्णय थियो । 
सन् १९०३ मा सुजरिया नामकी एक ब्राह्मण महिलाले गयानातर्फ लम्कन लागेको पानीजहाज चढिन् । जहाज चढ्नुअघि उनको नाममा आप्रवासन फारम भरियो । अंग्रेजी लेख्न नजान्ने ती महिलाको नाम अंग्रजले सुनेअनुसारको उच्चारणमा लेखियो । फारममा लेखिएअनुसार त्यस बेला २७ वर्ष उमेर पुगेकी उनी गर्भवती थिइन् । द क्लाइडे नामको जहाजमा महिनौँसम्म यात्रा गर्दा उनले समुद्रमै छोरो जन्माइन् । प्यारो गरेर छोरोलाई उनले लाल भनिन् । उनको छोरोको पूरा नाम लाल बहादुर राखियो । त्यसपछिका सन्तानको स्थायी नाम बन्न पुग्यो बहादुर ।

तिनै सुजरियाकी सन्तान हुन् गायत्रा बहादुर । अर्थात् सुजरिया गायत्राकी बूढी हजुरआमा हुन् । आखिर आफ्नी बूढी हजुरआमा गर्भवती अवस्थामा किन गयानामा मजदुर बन्न हिँडिन् ? गायत्राको खोजी यहीँबाट सुरु हुन्छ । कोलम्बिया र येलजस्ता विश्वविद्यालयमा अध्ययन गरेकी र आफूलाई तीक्ष्ण पत्रकारका रूपमा ट्रेन गरेकी गायत्राका लागि बूढी हजुरआमाको इतिहास खोज्नु आफ्नो जरो खोज्नु थियो । बेनेडिक्ट एन्डर्सनको शब्दमा भन्दा उनलाई आफ्नो 'इम्याजिन्ड कम्युनिटी' खोज्नु थियो ।

गयाना छोडेर गएको धेरै वर्षपछि उनी इतिहास खोतल्न फेरि गयाना फर्किइन् । त्यहाँका अर्काइभ खोजिन् । लन्डन पुगेर उपनिवेशकालीन अनेक कागजपत्र पल्टाइन् । त्यसताका खटिएका गोरा साहेबहरूका डायरीका भेटेसम्मका थाकहरू पढिन् । पुलिस रेकर्डहरू पहिल्याइन् । त्यहाँ पुगेका इन्डेन्चर्ड मजदुरहरूले कतै कतै लेखेका कविताका टुक्राहरू खोजिन् । तिनले कथेका गीतहरू संकलीन गरिन् । जसै इतिहासका एक एक पत्र पल्टाएर हेर्न थालिन्, उनका अघिल्तिर रहस्यका अनेक गाँठा फुक्दै गए ।

सुजरियाले रेकर्डमा लेखाएअनुसार उनी विहारको छाप्रा भन्ने ठाउँबाट कोलकाताको डिपो पुगेकी थिइन् । गायत्रा छाप्रा पुगिन् । छाप्रामा भेटिएको दुबे परिवारले आफूले पूजाअर्चना गर्ने क्रममा पुर्खाहरूको नाम लिँदा सुजरियाको पनि नाम लिने गरेको बताए । उनीहरूले सुजरियाका बारे अनेक किस्सा सुनाए । उनको छाप्रामै देहान्त भएको पनि उनीहरूले बताए । तर, गायत्राले आफ्ना अग्रजबाट सुनेको परिवारको इतिहाससँग तिनले बताएका तथ्यहरू बाजिए । सुजरियाको गयानामै अन्त्येष्टि गरिएको थियो । उनका छोरा लाल बहादुरले उनको नामांकित चिहान पनि बनाएका छन् । यसरी तथ्यहरू बाजिए पनि गायत्राले सो दुबे परिवारलाई आफ्नै परिवार मानिन् । उनीहरूसँग नातो पनि गाँसिन् ।

भारत आउनु उनका लागि आफ्नो खोजको पृष्ठभूमि तयार गर्ने राम्रो अवसर बन्यो । एक शताब्दीअघिको इतिहास खोज्दै अहिलेको आधुनिक युगको भारत आएकी थिइन् उनी । तर, भारत महिलाका लागि अहिले पनि उदार बन्न नसकेको उनले पाइन् । यहाँ उनलाई महिला भएकै कारण अनेक समस्या झेल्नुपर्यो । उनलाई एकलै घुमेको देखेर यहाँका धेरै मान्छे छक्क परे । ट्रेन र बसहरूमा महिलाका लागि अलग कम्पार्टमेन्टहरू राखिएको देखेर उनी अक्क न बक्क भइन् । सानो मौका पाउनासाथ पुरुषहरूले अनेकखाले इसारा गरेको र अनावश्यक नजिक हुन खोजेको थाहा पाएर उनी सोचमग्न बनिन् । केरलाको समुद्र किनारमा किताब पढेर बस्दा एक हूल स्थानीयहरू उनका वरिपरि उभिएर क्वारक्वार्ती हेर्न थाले  । एक्ली केटीले समुद्र किनारमा बसेर टोलाउनुको अर्थ आत्महत्या गर्न खोज्नु वा केही अनर्गल कर्म गर्नु हो । यो सूचना पाउनु उनको खोजमा सहयोगी बन्यो । विहारमा भेटिएका एक वृद्ध भलाद्मीले उनको हावभाव र पहिरन नियालेपछि भने, 'तिमीले बस्नुपर्ने भारतमै हो ।' अर्थात्, उनी अमेरिकामा हुर्केको कारण संस्कारित भइनन् । भलाद्मीको सो भनाइलाई गायत्राले सुजरियासँग जोडेर बुझ्न खोजिन् । ती भलाद्मीका अनुसार सुजरियाले भारत छोडेर जानु नै गल्ती गर्नु हो । 

यस्ता मसिना टिपोटहरूले उनको किताबको पृष्ठभूमि बनाएको छ । अर्थात्, संसारका शक्तिशाली अर्थतन्त्र बन्न तम्सेको आधुनिक भारतमा महिलाको यस्तो हालत नै महिलाका लागि उन्नाईसौँ शताब्दी कति कहालीलाग्दो थियो भनेर अनुमान गर्ने राम्रो आधार हो । १९०३ मा सुजरिया किन लोग्ने वा लोग्नेको परिवारलाई विहारको छाप्रामै छाडेर गयाना हिँडिन् भनेर बुझ्न पनि यो पृष्ठभूमिले सघाउ पुर्याएको छ ।

श्रीमान् मरेपछि जिउँदै पोलिएर सती जानुपर्नेदेखि आफू बुझ्ने नहुँदै विवाह गर्नुपर्ने अनेक संस्कारका कारण महिलाको स्थिति कहालीलाग्दो बनेको हुन्थ्यो । घरमा अनेक समस्यासँग जुध्न नसकेर फुत्केका धेरै महिला नचाहेरै वेश्यावृत्तिमा लाग्ने वा बेचिने गरेको तथ्य पनि इतिहास खोतल्दै जाँदा गायत्राले फेला पारिन् ।
धर्म, संस्कार, र परिवारका नाममा अनेक ताडनाबाट फुत्किन हिँडेका महिला के गयानाजस्ता टापुमा पुगेर सुखी भए त ? यो प्रश्नको उत्तर पनि उनले उधिनेका रेकर्डहरूमा फेला पर्छन् । सबै रेकर्डहरूको अध्ययनबाट थाहा लागेको एउटा रोचक तथ्य के हो भने गयानाको सुगर प्लान्टेसनमा पुरुषका तुलनामा महिला एकदमै कम संख्यामा पुर्याइएका थिए । त्यसैले हरेक तीन वा त्योभन्दा बढी पुरुषहरूका लागि एकजना मात्रै महिला त्यहाँ थिए । अर्थात्, महिला सुलभ थिएनन् । सजिलै प्राप्त नहुनु भनेको मूल्यवान हुनु हो । यसले पनि महिलालाई केही हदसम्म चुन्ने अवसर दियो । उनीहरूको जीवन अलि खुकुलो हुनुको अर्को कारण त्यहाँ जात र धर्मको त्यति विधि चिन्ता थिएन । ठूलो सानो जातको भेद धेरै नभएपछि जात सँगै जोडिएर आउने अनेकन् संस्कारगत मान्यताहरू पनि खुकुलो हुने नै भए । फेरि भएन कतिपय प्रसंगमा अंग्रेज अफिसरहरूले नै महिला र पुरुषको जोडी बाधिदिन थालेपछि जातपातको धेरै अर्थ त्यहाँ रहेन ।

तर महिलाहरू पूर्ण स्वतन्त्र भने थिएनन् । एउटी महिलामाथि धेरैका आँखा पर्नुले पुरुषहरूमाझ स्पर्धाको आवेग ज्यादा भयो । त्यसले उनीहरूलाई कुण्ठित बनायो । आरिसको मात्रा बढ्दै गएपछि उनीहरू हिंस्रक बन्दै गए । यसको असर सोझै महिलाको शरीरमा पर्न गयो । महिलाहरू दिनहुँ कुटिने, काटिने र मारिने क्रम बढ्दै गयो । कतिसम्म भने, महिलाहरूलाई अंगभंग हुने गरी कुट्ने परम्परा नै बस्यो । आजका दिनसम्म त्यो जारी छ ।
हिँसा बढ्न थालेपछि अंग्रेज सरकारले कडा कानुन ल्यायो । श्रीमतीको हत्या गर्ने मानिसहरूलाई मृत्युदण्ड दिइयो । तर, फैसला गर्नेले धेरैजसो महिलाकै टाउकामा दोष थोपरे । महिला धेरै दोषी देखिएको खण्डमा हत्यारा लोग्नेहरूलाई कम सजाय भयो । त्यति मात्रै होइन, भारतीय मूलका मजदुर महिलाहरूमाथि गोरा साहेबहरूको समेत आँखा गढेपछि समस्या अझ बढ्दै गयो । महिलाको संख्या झन् अपुग भयो, स्पर्धा अझ तीव्र भयो । 
अंग्रेजहरू मजदुरका समस्या समाधान गर्न कहिल्यै गम्भीर भएनन् । त्यसैले हिंसा हुनुका कारण नखोतली, समस्याको क्षणिक निदान मात्रै अंग्रेजहरूको प्राथमिकतामा पर्यो । उनीहरूका लागि मजदुरको श्रम मात्रै महत्त्वपूर्ण थियो । करारनामा -इन्डेन्चर) गरेर लगिएका मजदुरहरूका सम्झौतापत्रमा जेसुकै लेखेको भए पनि उनीहरूबाट जतिसक्दो बढी श्रम लिने नै उपनिवेशिक मालिकहरूको ध्याउन्न थियो । दासताको उन्मूलन भएको बेला भएकाले उनीहरूले करारनामाको औपचारिकता पूरा गरेका मात्रै थिए । सम्झौतामा ५ वर्ष लेखिएर लगिएका भए पनि जीवनभर बँधुवा हुनु त्यहाँ पुगेका भारतीय मजदुरहरूको नियति बन्यो ।

इन्डेन्चर लेबरका रूपमा भारतीय गरिबहरूलाई लैजान थालेको ११२ वर्षपछि त्यसको विरोधमा भारतमा आन्दोलन भयो । बि्रटिस सरकारले आन्दोलन थेग्न सकेन । भारतीयहरूलाई गयानाजस्ता टापुहरूमा लैजान बन्द गरियो । र्फकन चाहनेहरूलाई पनि र्फकने व्यवस्था गरियो । तर, र्फकनेमध्ये अधिकांशले यहाँ टेक्ने समाउने ठाउँ पाएनन् । खासगरी महिलाहरूलाई सबभन्दा बढी अप्ठ्यारो पर्यो । घर छाडेर गएका महिलाहरूलाई कसले स्विकार्ने ? तिनीहरूबाट जन्म भएका सन्तानलाई यता भारतमा कसले आफ्नो मान्ने ? यता आएर निराश भएका धेरै महिला फर्केर फेरि गयाना नै पुगे । अहिले त धेरैजसो भारतीय मूलका मानिसहरू अमेरिका, क्यानडा, बेलायतजस्ता ठाउँहरूमा छरिएर रहेका छन् ।      

अर्काइभमा भेटिएका तथ्यहरूका आधारमा अनेकन् घटनाहरूको सनसनीपूर्ण विवरण उल्लेख गरेर उपनिवेशकालको सग्लो चित्रण गरिएको छ 'कुली वुमन'मा । आफ्नी बूढी हजुरआमाको इतिहास खोतल्ने क्रममा गायत्राले हजारौँ महिलाको इतिहास धूलो टक्टक्याएर बाहिर निकालिन् । दुनियाँको विस्मृतिमा जान लागेका उनीहरूका अनुभवहरूलाई सम्मान गरिन् । सुजरियाजस्ता महिलाहरूले पार गरेका मुक्तिका सपना र दासताको यन्त्रणाबीचको दूरी गायत्राले राम्रोसँग खिचेकी छन् किताबमा । इतिहास सजिलै बुझिँदैन । उपनिवेशवाद र महिलाको सम्बन्धको इतिहास बुझ्न चाहनेलाई गायत्राको कृति सहयोगी हुनेछ ।

प्रकाशित मिति: २०७० पुस २७ ११:२९

कान्तिपुर दैनिक / https://www.kantipurdaily.com/koseli/2014/01/10/312449.html

0 comments:

Post a Comment