Sunday, May 13, 2018

'लेख्छु, बोल्छु, प्लेकार्ड बोक्छु'

उज्ज्वल प्रसाईं कुनै ठूलो नाम होइन। उनी अखबारमा लेख्छन्, अनुवाद गर्छन्, सार्वजनिक मञ्चहरूमा बोल्छन्, प्लेकार्ड लिएर सडकमा पुग्छन्। उनी मूलतः परिवर्तनलाई सघाउन  प्रयत्नरत लेखक हुन्, जो आफ्ना कुरा निर्भीकता, स्पष्टता र आत्मविश्वासका साथ राख्छन्। इतिहास, समाज र राजनीतिदेखि समग्र चिजहरूलाई प्रचलितभन्दा भिन्न 'अर्काे एंगल'बाट हेर्ने कोसिसमा सर्वदा रहने युवा लेखक प्रसाईंको भर्खरै अनुवाद कृति 'गणतन्त्रको संघर्ष' बजारमा आएको छ। अनलाइन म्यागजिन 'रेकर्ड नेपाल' का सम्पादक उनीसँग विनोदविक्रम केसीले बिलकुल अनौपचारिक संवाद गरेका छन्।

अवस्था त गम्भीरतम बन्यो नि ब्रो। तिमीलाई, युग पाठकलाई, राजेन्द्र महर्जन दाइलाई साथी भन्न पनि अब जोखिम मोल्नुपर्ने पो भो त?

अवस्था गम्भीर नै हो क्यारे। त्यस्तो जोखिम नउठाउने तर हामीलाई माया गर्नेले अब मनमनै माया गर्नुपर्ने भयो। सार्वजनिक स्नेह वा आदर व्यक्त गर्नेलाई पनि 'प्रोग्रेसिभ ब्रिगेड' भनेर बित्यास पार्ने छनक देखिन थालेको छ। तर, विडम्बना कस्तो छ भने हामीलाई लिएर अवस्था गम्भीर बनाइदिनेहरू यसै आत्तिएका जस्ता देखिन्छन्। आफ्ना कुरा भन्ने अधिकार सबैलाई छ। तर, भनिएका कुरा के हुन् भन्ने बुझ्नतिर कोही लाग्दैन। कहिले माओवादी भो भन्दिन्छन्, कहिले अराजक हुन् भन्दिन्छन्, अनि कहिले यी मुलुककै दुश्मन हुन् भन्न भ्याउँछन्। एकजना विद्वानले त देशनिकाला नै गर्नुपर्छ भनेछन्। कति डराएका, आफू डराएर हाम्रै साथीभाइलाई समेत हामीसँग डराउने बनाइदिए।

यहाँ बुझ्नुपर्ने के छ भने, त्यसरी हतारिएर वा डराएर लेबल लगाइदिनेले हाम्रा तर्क वा हाम्रा मतलाई यी लेबलभित्र छोपेर अवैध बनाइदिन खोजेका हुन्। हामीलाई स्नेह गर्ने साथीभाइले हामीले व्यक्त गरेका मतलाई त्यो 'डिलेजिटिमाइज' गर्ने दुष्प्रयासबाट जोगाएर बुझ्न सक्नुपर्छ।
तिमीलाई ट्वीटरमा क्या खेद्छन् है?

खूब खेद्छन्। मखुन्डो भिरेका हुल्लडबाजले स्यालहुइँया मच्चाएर हैरान पार्छन्। अहिलेसम्म लैनचौरको भारतीय दूतावास नदेखेको मान्छेलाई लैनचौरबाट पैसा ल्याउँदै गरेको देखेँसम्म भन्न भ्याउँछन्। व्यक्तिगत लाञ्छना लगाउने, धम्की दिने त कति हो कति। यस्तो लाग्छ, केही मखुन्डोधारी डरछेरुवाहरू हमेसा मेरा र केही साथीका नै ट्वीट पर्खेर बसेका छन्। जसै हामीले केही लेख्छौँ हुरुहुरु आउँछन्, हातमा हिलो बोकेर।

हुन त दीनदुःखीका लेखक, साँचो अर्थमा जनताको लेखक, शाही सत्तासँग ज्यानै हत्केलामा राखेर लड्ने लेखक, कुनै दूतावासको एक गिलास पानीसम्म नखाएको लेखक खगेन्द्र संग्रौलालाई त दलाल भनिदिए उनीहरूले। तिमीहरू त को हौ र?

त्यही त। जो मानिस जीवनभर वामपन्थी र राष्ट्रवादी नै रह्यो र जो आजसम्म कुनै दूतावासको दुले निम्तो मान्न गएको छैन, ठूलो सार्वजनिक कार्यक्रममा बाहेक सम्भवतः लैनचौर पुगेको पनि छैन, त्यस्तो मानिसलाई दलालको पगरी गुथाउन दलालहरू नै अघि सरे। अचम्म! हो, यही हो वागी आवाजलाई कुनै बेतुकको लेबल लगाएर दबाउन खोज्ने भनेको। संसारका सामु उसका फरक मतलाइ 'डिलेजिटिमाइज' गरेर, त्यसको अर्थको अनर्थ बनाइदिने दुष्प्रयास हो यो। त्यसो त यहाँ डा. देवेन्द्रराज पाण्डे, कृष्ण खनाल, कृष्ण हाछेथुजस्ता परिवर्तनलाई सघाउने डेमोक्य्राटलाई समेत माओवादी भनेर 'डिलेजिटिमाइज' गर्ने हरसम्भव प्रयास भयो। तर, कति मण्डलेहरूलाई सुनपानी छर्केर तटस्थको पगरी गुथाइयो र महिमा मण्डन गरियो। अरू त अरू, महेन्द्रलाई त एमाले भन्ने पार्टीका महान मार्क्सवादी विद्वानहरूले नै आफ्नो खोपीको देवता बनाए र मैले माथि लिएका नामहरूलाई लाञ्छित गर्ने प्रयत्न गरे। हामीलाई त कतिले खगेन्दाइको मित्र भएकै कारण मात्र पनि खेदो गर्छन्। हामीले आफ्नो तर्फबाट 'डिस्सेन्ट' गर्न गरेको सानो र सामान्य प्रयासलाई पचाउन सकेका छैनन्।

'ब्याटल्स अफ द न्यू रिपब्लिक'लाई नेपालीमा अनुवाद गर्नैपर्ने त्यस्तो के आइपर्यो?

प्रशान्त झालाई मैले लामो समयदेखि पढिरहेको छु। उनले हिमाल साउथ एसिया, नेपाली टाइम्समा लेख्दैदेखि मैले पढ्दै आएको हुँ। पछि म 'द काठमान्डू पोस्ट'मा काम गर्न थालेपछि, उनले पनि पोस्टमै लेख्न थाले। तिनताक हाम्रो कहिलेकाहीँ भेट हुने गर्थ्यो। उनी मुलुकमा माओवादी र मधेशवादीले राम्रो काम गर्न सके राज्यको पुनर्संरचना उचित ढंगले हुन्छ र यहाँ न्याय स्थापित हुन्छ भन्ने मत राख्थे। यद्यपि, उनको माओवादसँग एक हात परको साइनो पनि थिएन। मेरो 'राजनीतिक' पोजिसन पनि उनकै जस्तो थियो। म कांग्रेसीको संगतमा हुर्केको युवा थिएँ तर कांग्रेसजस्ता पार्टीका सीमितताबारे अवगत पनि हुँदै आएको। त्यसैले नयाँ ढंगले सोच्ने र राज्य पुनर्संरचनाको नयाँ मुद्दा स्थापित गर्ने पार्टीहरूकै कमान्डमा मात्रै परिवर्तन सम्भव छ भन्ने बुझाइ गहिरिँदै थियो। यसबीच थुप्रै रस्साकस्सीहरू देखियो, कति घटनालाई बुझ्न कठिन पनि हुन्थ्यो। मैले नेपालको समकालीन राजनीतिमाथि लेखिएका अरू केही पुस्तक पढेँ। तर, कति किताबको मूल थेसिस नै मलाई चित्त बुझेन। 'ब्याटल्स अफ द न्यू रिपब्लिक' भने फरक थियो। उनी माओवादी र मधेशवादीप्रति केही झुकाव राख्ने जस्तो देखिए पनि एउटा खास दूरीमा उभिएर घटनाहरूलाई व्याख्या गरेका छन्। साथै, आफ्नो व्यक्तिगत जीवनका केही पहेलीहरू समेत जोडेर लेख्दा त्यो स्वादिलो बनेको छ। उनको लेखन शिल्प र सूचनाको पहुँचले पनि मलाई लोभ्यायो। त्यसैले मलाई लाग्यो, अंग्रेजी भाषामा पढ्न सहज नमान्ने पाठकले पनि यो किताब पढ्नुपर्छ। उहाँहरूकै लागि मैले यो अनुवाद गरेको हुँ।

उसै त प्रशान्त झालाई सीधै 'रअ'को एजेन्ट भनिदिन्छ एउटा तप्का। उनैको किताब अनुवाद गर्यौज। अब तिमीलाई झन् खेद्छन् होला?

यहाँ बीपी कोइरालालाई त बाँचुन्जेल भारतकै दलाल भनिरहे। अरूलाई के छोड्थे? बीपीसम्म पनि पुग्नु पर्दैन, बाँचुन्जेल गिरिजाप्रसाद कोइराला टनकपुर बेचुवा बने। पछि तिनै पात्र नोबल शान्ति पुरस्कारका लागि उपयुक्त ठानिए। उनी मरेपछि त उनका नाममा जडिएका प्रशंसाका शब्द जम्मै भेला पार्ने हो भने दुइटा महाभारत बन्छ। यहाँ त अचम्मै पो हुन्छ त। अस्तिसम्म खड्गप्रसाद ओलीज्यू महाकाली सन्धिका खलनायक, भारतको दलाल नै मानिनुहुन्थ्यो। अहिले आफूलाई अनुकूल हुने भए पछि, यहाँका स्थायी शासकले उहाँलाई पृथ्वीनारायण र महेन्द्रपछिका सबभन्दा असली राष्ट्रवादी भनेर पूजा गर्दै छन्। अरू त अरू अर्का महान् राष्ट्रवादी र अखण्डताप्रेमी चित्रबहादुर केसी र सीपी मैनालीका इष्टदेवता पनि प्रम ओली नै हुनुभएको छ। सिन्को नभाँची महान् प्रधानमन्त्रीको पगरी गुथाइँदै छ। तिनका पिताम चल्थ्यो भने गिरिजाले नपाएको नोबल शान्ति पुरस्कार ओलीलाई दिन्थे। यहाँ सधैँ गाइजात्रा चल्छ। कसलाई कति इन्चको, कस्तो र कुन मुकुट भिराउने भन्ने निधो गर्ने जिम्मा काठमान्डूको स्थायी शासक, तिनका नन्दीभृंगी र अचेल सामाजिक सञ्जालमा आउने तिनका अवैतनिक चौकीदारहरूलाई दिइएको छ। तिनीहरू प्रशान्तलाई र मलाई मात्रै होइन, हेरिराख, यो अन्तर्वार्ता छापेकामा तिमीलाई समेत कुनै मखुन्डो भिराउन ठीक परिसकेका हुने छन्।

तराई–मधेश आन्दोलनभित्रका जटिलता र समस्याप्रति तिमीलगायत लेखकले आँखा चिम्लिदिएको आरोप छ नि?

'गणतन्त्रको संघर्ष' भन्ने किताबकै सन्दर्भमा सोधेको हो भने, के दाबी गर्न सकिन्छ भने, तराई–मधेशभित्र भएका जटिल सामाजिक सम्बन्ध र त्योसँग जोडिएर आउने समस्यालाई यहाँ राम्रैसँग उठाइएको छ। त्यसो त तराईका नेता पनि कुनै सुनपानी छर्केर सधैँ शुद्ध छन् भन्ने हाम्रो दाबी कहिल्यै हुँदै होइन। मधेश आन्दोलनलाई कुनै अमुक नेताको मखुन्डो भिराएर बुझ्न सकिँदैन। त्यहाँ समस्या छैनन् भन्ने पनि होइन, तर उनीहरूको अधिकारको माग जायज भएकाले तत्काल त्यसको उचित राजनीतिक सम्बोधन हुनुपर्छ भन्ने हाम्रो सधैँको दाबी हो।

एकदुई चोटि त तिमीले जीवनभय नै अनुभव गर्यौस है?

गरेँ। कसैले गोली हान्छु भनेपछि डर लाग्नु स्वाभाविक नै हो। फेरि बोलेको वा लेखेको कारणले नै मारिनुपर्ने ठूलो क्रान्तिकारी लेखक म होइन। त्यस्तो रोमाञ्चकतामा रम्ने मन पनि छैन। तर, डराएर पछि हट्ने कुरा पनि छैन। समतामूलक समाजको सपना त सधैँ ज्युँदै रहन्छ नि।

युग पाठक भन्थे, 'मान्छेहरू आ–आफ्ना 'न्यारेटिभ' लिएर बाँचिरहेका हुन्छन्। तिनका न्यारेटिभमा हस्तक्षेप गर्ने अर्काे न्यारेटिभ आयो भने त्यो उनीहरूलाई असह्य हुन्छ।' युगसँग सहमत छौ?

ठीक हो। मानिस बाँचेको यथास्थितिले र त्यो अवस्थिति ठीक छ भनेर प्रमाणित गर्न त्यस्ता खास न्यारेटिभहरू तय गरिएका हुन्छन् होला। तर, यथास्थिति बदल्ने कुरा गरेपछि त्यसले त धेरैको निद्रा बिगार्छ। ठीकठाक चल्दै थियो, अब बिग्रियो भन्ने सोच्न थालेपछि, त्यो हस्तक्षेप नै ठानिने भयो। समस्या त्यसरी नै सुरु हुन्छ।

हामी एकथरी छौँ– तराई–मधेश आन्दोलनलाई मूलतः अधिकारको लडाइँ र सारतः उत्पीडनविरुद्धको संघर्ष मान्ने र सहानुभूति राख्ने। तर, दुई शब्द नबोल्ने, दुई अक्षर नलेख्ने! हामीजस्ता तोर्पेहरूका नाममा केही भन त।

तिमीहरू पनि उही दलाल भन्देलान् भनेर डराएका हौ। भूराजनीति चल्दै गर्छ, त्यो सत्तामा बस्नेको खेल हो। त्यो सधैँ चल्छ। मोदी र ओलीको खोपीमा सीमित त्यो लडाइँको प्रभाव पक्कै हामीलाई पनि पर्छ। तर, तिम्रो र हाम्रो ठाउँबाट गर्न सकिने भनेको त सामान्य मानिसको जीवनलाई कसरी सम्मानजनक बनाउन सकिन्छ भनेर सोच्ने नै हो। त्यस्तो सम्मानित जीवन बाँच्न नपाउने ठूलो समूह छ भने त्यहाँ परिवर्तन आवश्यक छ भनेर कराउने हो। सक्दा हस्तक्षेप गर्ने हो। अब हामीले अहिले गर्न सक्ने भनेको लेख्ने, बोल्ने, कहिलकाहीँ सडकमा प्लेकार्ड लिएर उभिने र कहिलेकाहीँ शक्ति अभ्यास गर्नेहरूलाई झक्झक्याउने हो। त्यो त निरन्तर गरिरहनुपर्छ। भूराजनीतिक भारी आफ्नै टाउकोमो बोकेर कसले मलाई कसको दलाल भन्दिने हो भनेर डरायौ र बोलेनौ भने सुविस्तासाथ तिमीले परिवर्तनविरोधीलाई सघाइरहेका हुनेछौ।

अहिले बौद्धिक बजारमा राष्ट्रवादको हाट लागेको छ। महेन्द्रीय राष्ट्रवाद, पहाडे राष्ट्रवाद, साइकल राष्ट्रवाद, अरू के–के जाति राष्ट्रवाद चर्चामा छन्। तिमीले विरोध गर्ने राष्ट्रवाद र समर्थन गर्न खोजेको राष्ट्रवादलाई 'डिस्टिंक्टली' चिनाऊ त।

मैले विरोध गर्ने राष्ट्रवाद त्यो हो, जो असमावेशी छ। जसले मधेशीलाई माखो सम्भि्कन्छ र सजिलै बोटबाट चुँडिएर झर्ने आँप सम्भि्कन्छ। दलितलाई हेप्छ र जनजातिलाई ल्वाँठ सम्भि्कन्छ। त्यस्तो राष्ट्रवादको साँघुरो कथ्य खासगरी महेन्द्रले नै तयार पारेका हुन् र त्यसले नेपाली समाजमा र खासगरी पढेलेखेका मानिसहरूमा गहिरो जरो गाडेर बसेको छ। त्यसलाई 'अनलर्न' नगरी, हामीले आफ्नै समाजको पहेली खुट्याउन सक्दैनौँ। मैले पूरै 'अनलर्न' गरेर त्यो फ्याँकिसके भन्ने दाबी गरेको छैन। म त्यसो गर्ने प्रक्रियामा चाहिँ छु, परिवर्तन हुँदै छ। तर, अहिले शासन सत्तामा बस्नेलाई बिस्तारै परिवर्तन हुन्छु, त्यतिन्जेल असमावेशी महेन्द्रीय राष्ट्रवाद नै फलाकिरहन्छु भन्ने छुट हुँदैन। त्यो छुट लिएकै कारण अहिले वितण्डा मच्चिएको हो।

अब एउटा घरेलु प्रश्न। छाक टार्ने धन्दाका लागि के गर्छाै तिमी? अखबारी लेखन, अनुवादबाट भात/रोटी खान पुग्छ?

खासगरी अनुवाद नै गर्छु। एनजीओका बित्थाका रिपोर्टदेखि किताबसम्म। अर्को एउटा किताब अनुवाद गर्दै छु अहिले। अनि, एउटा कलेजमा हप्ताको दुई दिन पढाउँछु। भात खानसम्म पुगेको छ। पुगेस् पुगेस्कै स्थिति छ।

अध्ययनशील युवामा गनिन्छौ तिमी। युवा पुस्ताले देश, समाज र इतिहास बुझ्न पढ्नैपर्ने केही किताब सिफारिस गर त।

पाउलो फ्रेरेको 'द पेडागोजी अफ द अप्रेस्ड', मोहम्मद माम्दानीको 'सिटिजन एन्ड सब्जेक्ट', कार्ल मार्क्सको 'कम्युनिस्ट मेनिफेस्टो', महेशचन्द्र रेग्मीका सबै किताब, थोमस ह्वेल्पटनको 'अ हिस्ट्री अफ नेपाल', जेम्स एफ स्कटको 'सिइङ लाइक अ स्टेट', निवेदिता मेननको 'सिइङ लाइक अ फेमिनिस्ट', आदित्य निगमको 'आफ्टर युटोपिया' र 'डिजायर नेम्ड डेभलोपमेन्ट', एडुवार्डो ग्यलियानोको 'ओपन भाइन्स अफ ल्याटिन अमेरिका', एडवर्ड सइदको 'रिप्रिजेन्टेसन्स अफ इन्टेलेक्चुअल' लगायत। उपन्यास र कथाहरूबाट पनि समाज र दुनियाँ बुझ्न सकिन्छ। जस्तो बीपी कोइरालाको 'दोषी चस्मा', धच गोतामेको 'घामका पाइला', खगेन्द्र संग्रौलाको 'जूनकीरीको संगीत', गुस्ताभ फ्लबर्टको 'सेन्टिमेन्टल एजुकेसन', फ्योदर दोस्तोएब्स्कीको 'ब्रदर कार्माजोभ', रविन्द्रनाथ टेगोरको 'गोरा', टोनी मोरिसन र जे एम क्वेट्जीका किताबहरू। राम्रा साहित्य खोजेर निरन्तर पढ्न सके उचित।

तिमीलाई लाग्दैन– यहाँ कोही भोगिआएको यथार्थ र रटिआएको इतिहासमा प्रश्नवाचक चिन्ह लगाउनै चाहँदैन? कोही सत्यको सामना गर्ने साहसै राख्दैन। विपरीत विचारलाई ढिम्किनै नदिने रूढ र खतरनाक शैलीले हामीलाई कता पुर्याउला?

हो, धेरै मान्छे अररा लाग्छन्। अग्राखको काठजस्तो ट्वाक्क भाँचिने। तर, मान्छेप्रति पूरै अविश्वास छैन ममा। परिवर्तन अवश्यम्भावी छ। बिस्तारै 'अनलर्न' नगरी र नयाँ ढंगले सोच्न नथाली सुखै छैन। हो, कसैको ढिलो हुन्छ, कोही कोही चाँडै त्यो प्रक्रियामा सामेल हुन सक्छन्। तर, कोही कोही त त्यसै सकिन्छन् पनि होला हौ।

यो आधुनिक समाजमा खुला हुन सकिएन भने त डुबिन्छ। विपरीत विचारलाई सुन्ने बानी र सामर्थ्य बढाउनैपर्छ। गलतको प्रतिकार पनि गर्नैपर्छ तर विपरीत विचारलाई पहिले स्वागत नै गर्नुपर्छ। मलाई समाज पछि धकेलिएर जान्छ भन्नेमा विश्वास लाग्दैन। त्यसैले सधैँभरि एकथरीको उफ्रीपाफ्री मात्रै चलिरहन्छ भन्ने पनि लाग्दैन। चरम अकर्मण्य र लहडी शासक र तिनका पाखण्डी एजेन्टहरूलाई टाउकामा बोकिरहनुपर्ने हाम्रो सधैँको नियति हुन्छ जस्तो त पटक्कै लाग्दैन। हो, उकुसमुकुस हुने अवस्था आउँछ। अहिले त्यस्तै छ। कहिलेकाहीँ त चुपचाप पन्ध्रौँ दिन पनि बिताएको छु मैले, बोल्नै मन नलागेर। निसासिएर भागौँ कि जस्तो पनि नलाग्ने होइन। तर, मान्छेमाथिको विश्वास भएकै कारण, फेरि फर्केर भिड्न थाल्छु।

तिमी चौतर्फी खतरामा छौ यार। तिम्रो करिअर लठाबज्र छ (लेखक त हौ तर लेखेरै खान पुग्ने टाइपका होइनौ)। त्यसमाथि उग्र राष्ट्रवादी, खाइपाइ आएको गुम्ने भयले कुनै पनि परिवर्तनलाई स्विकार्नै नचाहने बलियो तप्का, संघीयताविरोधी सबैसँग 'पंगा' लिएका छौ। अब लिइ त हाल्यौ। टिकिरहन के गर्छाै?

आफूलाई खुला राख्छु। मभन्दा विपरीत ध्रुवमा उभिएर बोलिरहेकालाई राम्रोसँग सुन्छु। तल्लो स्तरको गालीसमेत सुन्ने धैर्य बढाउँदै लगेको छु। पढाउँछु, अनुवाद गर्छु, लेख्छु– यो सबै जोड्दा खान, लाउन र किताब किन्न पुग्छ। बिरामी परियो भने नर्भिक गइँदैन, टिचिङमा लाइन लाग्न पुगिन्छ। समस्याहरू भए पनि अहिलेसम्म सहुलियतमै उपचार पाइएको छ भन्ने सुनेको छु। अध्ययन गर्छु, मित्रहरूसँग अन्तरक्रिया सदैव गर्छु। त्यसले मलाई बाँच्ने र कर्म गरिरहने ऊर्जा दिन्छ।


01 Jan 2016 / शुक्रबार १७ पुष, २०७२

शुक्रबार साप्ताहिकमा प्रकाशित / http://archive.nagariknews.com/friday/story/51641.html

0 comments:

Post a Comment