Friday, May 18, 2018

भयग्रस्त काठमाण्डौं

उज्ज्वल प्रसाईं / २५ कार्तिक, २०७१-

नरेन्द्र मोदी भारतको प्रधानमन्त्री नियुक्त भए लगत्तै नेपाली अखबारका ठुलै अंश उनको प्रशंसामा समर्पण गरिएको थियो । प्रधानमन्त्री भए पश्चात पहिलो पटक गत श्रावणमा उनले नेपाल भ्रमण गरे । त्यसवेला मोदीले संसद भवनमा दिएको भाषणको सर्वत्र चर्चा भयो । सो भाषणको सबभन्दा बढी प्रभाव नेपालका ठूला राजनीतिक दलका शीर्ष नेता र राजनीतिक विश्लेषकमा नै पर्यो । भोलिपल्टका अखबारमा त्यसदिन संसद भवनमा बजेको तालीकै गडगडाहट सुनिन्थ्यो । त्यसपछिका धेरै दिनसम्म पनि मोदी जपनाको लामा फेहरिस्त छापिए । उनको प्रधानमन्त्रीत्व नेपालका लागि कति फाइदाजनक छ भन्ने वस्तुनिष्ठ विश्लेषण भन्दा अतिरञ्जित प्रशंसा काठमाण्डौका नाम चलेका विश्लेषकहरुको दिनचर्या बन्यो । आसन्न सार्क सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी दोश्रो पटक नेपाल आउँदैछन् । पहिलो पटक उनको आगमनमा आह्लादित बनेको काठमाण्डौ, यस पटक भने भयग्रस्त छ ।

सत्ताधारी भयग्रस्त हुने दुई कारण छन्ः सार्क सम्मेलनमा सहभागी हुन जमिनबाट जनकपुर हुँदै काठमाण्डौ आउने मोदीको योजना र त्यहाँ हुने सभालाई उनले गर्न चाहेको सम्बोधन ।

मोदी अतिवादी हिन्दु पृष्ठभूमिबाट राजनीति सुरु गरेर त्यसैको बलमा सफल हुँदै आएका नेता हुन् । त्यसैले उनी पशुपतिदेखि मुक्तिनाथ सम्मको यात्रा गर्न चाहान्छन् । यी दुवै तिर्थस्थलको बीचमा पर्ने जनकपुर छुटाउन मनासिब नहुने ठहर गरेर मोदी जनकपुर जान लागेका हुन् । यसो गर्दा उनले भारतीय हिन्दु समर्थककै बढ्ता ताली पाउनेछन् भन्नेमा उनी विश्वस्त छन् । नेपाल भन्दा बढ्ता भारत लक्षित राजनीतिक र धार्मिक स्टन्ट नै हुनसक्छ जनकपुरको रोड यात्रा । तर, नेपाली राजनीतिमा यसरी लगाईएको अर्थ उति काम लाग्दैन । खासगरी, काठमाण्डौको पहाडे नेतृत्वमा जनकपुरको जानकी मन्दिरलाई पशुपति जस्तो ‘अराजनीतिक’ अर्थमा बुझ्ने ‘सदिच्छा’ देखिँदैन । बरु, जनकपुर आफैमा वागी राजनीतिक विम्बका रुपमा प्रचलित छ काठमाण्डौमा । त्यसैले मोदीप्रति चरम आशाका नजरले एकोहोरो हेरिरहेका काठमाण्डौको स्थायी सत्ता र त्यसका रखवाला चाहान्छन्, मोदी जनकपुर नजाऊन् । उनीहरुको बुझाईमा मोदीको जनकपुर भ्रमणले मधेसलाई राजनीतिक बल प्रदान गर्छ । मधेसीहरुमा मोदीको जनकपुर भ्रमणप्रति जति उत्साह छ, त्यसको दोब्बर उदासीनता काठमण्डौका सत्ताधारीमा छ । त्यसैले मोदीको जनकपुर भ्रमण रोक्ने हरसम्भव प्रयास भएका छन् । पंक्तिकारले पाएको सूचना अनुसार नेपाल सरकारको परराष्ट्र मन्त्रालयले मोदीलाई जनकपुरमा सुरक्षा दिन नसक्ने बताएर उनलाई रोक्न खोजेको छ ।

मोदीले सभालाई गर्ने भनिएको सम्बोधन अर्को टाउको दुखाईको विषय भएको छ, काठमाण्डौलाई । संसद भवनमा चुनावी शैलीको उनको भाषणको प्रशंसा गरेर नथाक्नेहरुलाई मधेसीका अघिल्तिर उभिएर मोदीले मधेसीको पहिचान र अधिकारको मुद्दा उठाइदेलान् भन्ने ठूलो पिर छ । कथं त्यसो गरे भने सत्ताधारीलाई मूलतः दुई किसिमका समस्या पर्न जान्छ । पहिलो, जो प्रति उनीहरु अत्यन्त वफादार छन्, उसैको भाषणको विरोध गर्ने हिम्मत उनीहरुसँग हुँदैन । दोश्रो, मोदीको भाषणको बलमा मधेसवादी पार्टी संसद भवनभित्र गर्जिन्छन् र मधेसमा सुस्ताएको आन्दोलन एक्कासि तात्न सक्छ । यस खाले असुरक्षाको भाव नहुँदो हो त, संसद भवनमै चुनावी शैलीको उनको भाषण बढो मुग्ध भएर सुनेको सरकारले, जनकपुरको सानो सभामा बोल्छु भन्दा अनेक बहाना पक्कै बनाउने थिएन ।

एकातिर नेपालका सत्ताधारी मोदीको जनकपुर भ्रमणप्रति सशंकित छन् भने अर्कातिर मोदीलाई जसरी पनि सो भ्रमण गराउनमा उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) र उनको समर्थक संस्था राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) भरमग्दुर प्रयास गरिरहेका छन् । जनकपुर र मुक्तिनाथसम्मको यात्राका लागि योजना बनाउने हेतु एक भारतीय निरीक्षण टोली आएर जाँचपड्ताल गरिसकेको खबर बाहिर आएको छ । माथि भनिए जस्तो, जनकपुरको भ्रमणलाई उनको पार्टीले हिन्दुवादसँग जोडेर आफ्नो राजनीतिक अभिष्ट अझ बलियोसँग पेश गर्ने मौका पाउँछ । साथै, भारतका मुस्लिम विरोधी हिन्दुहरुको अझ ठूलो समर्थन जुटाउन सफल हुन्छ । अर्थात, यो रोड यात्रालाई मोदीको धर्मनिष्ठाको प्रमाण बनाउँदै, दक्षिणपन्थी राजनीतिलाई थप प्रभावकारी बनाउन उनको पार्टी सक्षम हुन्छ ।

सत्य के हो भने, मोदीले जनकपुरमा केवल जानकी माताको पूजा अर्चना गर्नेछन् ।  मधेसी उचालेर आन्दोलन चर्काउन वा मधेसीलाई उनीहरुको पहिचान र अधिकारप्रति सचेत गराउन उनी त्यहाँ जान चाहेकै होइनन् । बरु भाषण गर्ने मेसो मिल्यो भने उनले मधेसी पनि नेपालकै नागरिक भएकाले पहाडीयासँग मिलेर काम गर्न र देश बनाउन उनीहरुलाई सल्लाह दिन सक्ने प्रचुर सम्भावना छ । मोदीप्रति आशावादी भएर मधेसी समुदाय बसेको छ भने, त्यो भ्रम मात्रै साबित हुनेछ ।

संविधान सभामा आफ्नो अनुकूल अंकगणित भएका बेला पेलेर नै प्रशासनिक विकेन्द्रिकरण टाइपको संघीयताको मोडल पारित गर्ने मुडमा कांग्रेस एमाले पुगेको बेला, मधेसवादी दल मोदीको जनकपुर भ्रमणबाट थोरै भए पनि आशा संचारित गराउन चाहान्छन् । यस भ्रमणले कांग्रेस एमालेमा मनोवैज्ञानिक दवाव नै दिन सफल हुँदा पनि आफूले शक्ति आर्जन गर्ने भ्रमपूर्ण विश्वास उनीहरुमा पलाएको हुन सक्छ । तर, तिनले चाहे जस्तो मोदीले नबोलिदिएको वा त्यस्तो संकेत सम्म नगरेको खण्डमा मोदी भ्रमण प्रत्युत्पादक बन्न सक्छ भन्नेमा उनीहरु सचेत छैनन् । हिन्दुवादलाई उकेरा लगाउने गरी मोदी प्रस्तुत भए भने, मधेसका अन्य महत्वपूर्ण राजनीतिक एजेण्डा समेत धुमिल हुने सम्भावना बढेर जान्छ । साथै, धर्म निरपेक्षता चाहिँदैन भनिरहेका अतिवादीलाई बल पुग्न सक्ने सम्भावना हुन्छ । आन्दोलन बलियो र रापिलो हुँदो हो त, मोदीको केही मिनेटको भाषणले कुनै खास असर पु¥याउने थिएन । तर, मधेसमा आन्दोलन नै छिन्न भिन्न र कमजोर भएका बेला, मोदीको धार्मिक स्टन्टबाजी प्रभावकारी बन्न सक्छ ।

अर्को पेचिलो विषय के हो भने मधेस र भारतको सम्बन्धलाई जसरी बुझ्ने र व्याख्या गर्ने गरिएको छ, राजनीतिक कोर्ष त्यो भन्दा फरक ढंगले हिंडेको छ । विश्लेषक सीके लालको शब्दमा भन्ने हो भने, भारतले जहिल्यै पनि नेपालको स्थायी सत्तालाई नै सहयोग गरेको छ । बरु, मधेसवादी पार्टीलाई अनेकन् राजनीतिक समीकरण बनाउन र जोड्न मात्रै प्रयोग गर्ने गरेको छ भारतले । इतिहासको विश्लेषण गरेर हे¥यो भने, मोदीले मधेसी राजनीतिलाई बल पुर्याउने उद्देश्यले जनकपुरको रोड यात्रा गर्लान् भन्न सकिने कुनै आधार भेटिने छैन । न त उनले आफ्नो भाषणमा नै त्यस्तो आशय व्यक्त गर्नेछन् भन्ने अनुमान गर्ने कुनै ठोस आधार नै छ । यति हुँदा हुँदै पनि काठमाण्डौ मोदीको जनकपुर भ्रमणबाट पुरै सशंकित भएको छ । परोक्ष रुपमा सुरक्षा आदि कारण देखाएर भ्रमण रोक्न खोजेबाट के बुझिन्छ भने वर्तमानका सत्ताधारी र स्थायी सत्ताका ठेकेदारहरु मधेससँग हदैसम्म डराउँछन् ।
रेकर्ड नेपालमा प्रकाशित / http://www.np.recordnepal.com/perspective/51

0 comments:

Post a Comment