Friday, May 18, 2018

श्रममा टेकेर मस्तिष्कमा हान्ने

उज्ज्वल प्रसाई र चिरन मानन्धर / ९ मंसिर, २०७१-

हिजो हातमा बन्दुक थियो, आज कोदालो छ । हिजो रणमैदानमा दगुर्थे, आज तरकारीबारी र गोठमा पसिना चुहाउँछन् । हिजो सपना थियो, आज अप्ठ्यारो यथार्थ मात्र छ । तर, पूर्व माओवादी लडाकु रेखा र भगवती बदलिएको समयलाई यसरी बुझ्छन्, ‘हिजो पनि संघर्ष गर्यौं, आज पनि त्यही बाटोमा छौं । संघर्षको रुप मात्रै बदलिएको हो ।’ हिजो देखेको सपना नि ? रेखाले फ्याट्ट जवाफ दिइन्, ‘श्रमको सम्मान भएन भनेर युद्धमा लाग्यौं । श्रमले उचित सम्मान अझै पाएको छैन । तर, युद्ध पनि सधैं सम्भव छैन ।’

पाएको कति र गुमाएको कति ? ढक तराजुमा आफ्नो र मुलुकको भाग्य हरदम जोखेर समयलाई सराप्दै बस्ने फुर्सद उनीहरुलाई छैन । नत्र पोख्नका लागि उनीहरुसँग पर्याप्त छन्, दुःखका कथा कहानी । रेखाको पति वि.सं २०६० देखि बेपत्ता छन्, भगवतीले पनि युद्धकै क्रममा आफ्नो पति गुमाइसकेकी छन् । युद्धकै बेला गोली पचाएको भगवतीको शरीरमा चोटका असरहरु अहिले पनि देखिन्छन् । त्यसमाथि, उनीहरुले एकसाथ लडेको युद्ध निष्कर्षमा पुगेन । भन्छन्, ‘भएका उपलब्धि जति हुन्, तिनमा हामीले पनि योगदान गर्न सकेकामा खुशी छौं । तर, हाम्रा अगुवाहरुले नै बाटो बिराए, अहिले आएर पार्टीलाई कमजोर बनाए ।’ श्रमप्रतिको सम्मान कम भएकाले र धेरैले राजनीतिलाई व्यक्तिगत स्वार्थको बगलीमा कैद गरेकाले उनीहरु संगठित भएको पार्टी एनेकपा माओवादी विग्रन थालेको टिप्पणी गर्छन् ।
श्रम गर्ने निधो गरेर ललितपुर जिल्लाको नागपोखरी डाँडोमा छाप्रो हालेर बसेका रेखा र भगवती तरकारी बेमौसमी लगाउँछन् र मौसमी योजनाहरु बुन्छन् । जस्तो, अब काउली फुलाउनलाई प्लाष्टिकको टनेल बनाउनुछ, स्कुटरमा बन्दाका बोरा बाँधेर लगनखेलको तरकारी बजार पुर्याउनुछ । ‘अस्तिसम्म यही बाटो हो हामीले हजारौंको जुलुस लिएर हिंडेको’ अलि तलको बाटो औंल्याउँदै भगवती बोलिन्, ‘अहिले त्यही बाटो तरकारी बोकेर दगुर्छौं ।’ ललितपुरको सह सेक्रेरटरीको जिम्मेवारी सम्हालिसकेकी रेखा र उनले अग्रज मान्ने भगवतीलाई यो भेगका जनताले छोटो समयको अन्तरालमै दुई फरक अवतारमा देखे । पहिले पूर्णकालिन नेता, अहिले पूर्णकालिन किसान ।
समयको गतिमा जिन्दगीको ताल मिलाउन खोज्दा, मान्छे छिटो छिटो बदलिन्छन् । सोलुखुम्वुका विष्णु प्रसाद बाँस्तोला नेपाली सेनाको जागिरबाट सेवा निवृत्त भएपछि वामपन्थी राजनीतिमा लागे । पहिले नेकपा एमालेमा संगठित भए । एमाले फुटेर दुई टुक्रा हुँदा, उनी नेकपा माले बने र आजपर्यन्त उनी त्यही पार्टीमा छन् । उनैको वामपन्थी रुझानले छोरीलाई पनि त्यतै डोर्यायो । सोलुबाट राजनीतिक झुकाव लिएर काठमाण्डु कलेज पढ्न आएकी विष्णुप्रसादकी छोरीले बाबुको भन्दा बढी जोखिमपूर्ण बाटो रोजिन् । गाउँबाट आउँदा परिवारले दिएको अर्कै कुनै नाम लिएर आएकी उनकी छोरी २०५६ देखि माओवादी पार्टीकी कमरेड रेखा बनिन् । युद्धकालमा काठमाण्डुमै स्क्वाड कमाण्डरसम्म भइन् । गत निर्वाचनमा मालेबाट बा विष्णुप्रसाद सोलुमा प्रत्यक्षको उमेदवार हुँदा यता ललितपुर जिल्लामा बस्ने छोरी रेखा समानुपातिकको सूचीमा थिइन् । तर, दुवै सभासद बनेनन् ।
  
दोलखाको सामान्य किसान परिवारमा जन्मेकी भगवती प्रधान विद्यालयमा छँदै पार्टी सदस्य बनिन् । विद्यालयकै एक शिक्षकबाट माक्र्सवादी शिक्षा पाएकी उनले अन्याय सहेर बस्नु उचित हुँदैन भन्ने बेलैमा महसुस गरेकी थिइन् । समाजमा अन्याय छ, विभेद छ, पछौटेपन छ । उनी सम्पर्कमा आएको पार्टीका मान्छेले सुझाए, ‘समाज बदल्न सकिन्छ तर त्यसका लागि संगठित हुनुपर्छ र संघर्ष गर्नुपर्छ ।’ समयक्रममा उनी बन्दुक समाउन पुगिन् । थुप्रै लडाईंमा सहभागी बनिन्, घाइते भइन् । ‘चल्नी छेऊबाट पार भएका धेरै गोली मध्ये एउटाले बाटो बिराएको भए, अरु हजारौं जस्तै म पनि सहिद हुने थिएँ,’ भगवतीले भनिन् । युद्ध झेलेर फर्केकी उनी शान्ति प्रक्रिया सुरु हुँदा अन्तरिम विधायीकाकी सदस्य बन्ने मौका पाइन् । ‘हामी सिंहदरबारको फोर्टीफिकेसन हेर्न आएका थियौं । भौतिक फोर्टिफिकेसन बलियो थियो तर भत्काउन नसकिने थिएन । सिंहदरबारको मस्तिष्कलाई चाहिं भत्काउनै नसकिने गरी घेराबारा गरिएको रहेछ ।’ अर्थात शान्तिकालमा उनीसंगै सिंहदरबार जस्ता अड्डा पसेका पूर्व लडाकु, ति अड्डाका अदृश्य तारजालीमा जेलिए । सिंहदरबारको असली फोर्टिफिकेसन ज्युँ का त्युँ रह्यो, बरु त्यसलाई परख्न र बदल्न गएका धेरै क्रान्तिकारी आँफै बदलिए ।

एनेकपा माओवादीको गत वैशाखमा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनदेखि रेखा र भगवती जस्ता धेरै माओवादी नेता कार्यकर्ता सक्रिय राजनीतिबाट अलग हुन चाहे । कसैले तरकारी खेती रोजे, कसैले मझौला व्यापार । कतिपय खाडीका श्रमबजारमा भाग्य अजमाउन हिंडेका छन् । कारण, सिप सिक्ने वा उच्च शिक्षा लिने उमेर उनीहरुले युद्धमा बिताए । तिनका अघिल्तिर दुइ विकल्पमात्र छन्– पूर्णकालिन राजनीतिक कार्यकर्ता बन वा श्रमिक बनेर गरी खाऊ । राजनीति अक्करिलो बन्दै गयो, रोजगारीको सम्भावना छैन, ठूलो केही काम गर्ने सिप पनि छैन । रह्यो, खेती किसानी । ‘हामी किसान नै थियौं, अहिले फेरि त्यतै फक्र्यौं । हाम्रो चुनौती भनेको बजारबाट नठगिई कसरी अघि बढ्ने भन्ने हो ।’

रेखा र भगवतीले गत जेठदेखि १० रोपनी जग्गा वर्षको १ लाख तिर्ने गरी भाडामा लिएका छन् । त्यसमा आफु बस्नलाई सानो छाप्रो र दुई गाईका लागि एउटा गोठ छ । बाँकी जमिनमा अहिले काउली र बन्दा लगाएका छन् । ३५ वर्षको उमेर टेक्दै गरेका उनीहरुको १५ वर्षे योजनामा गर्नुपर्ने कामको सूची लामै छ । अग्र्यानिक तरकारीको बजारभाउ राम्रो भएकाले विस्तारै अग्र्यानिक तरकारी खेती गर्ने लक्ष्य राखेका छन् । ‘भोलिका दिनमा कृषिमै अनुसन्धान गर्न सक्षम हौं भन्ने सोच राखेका छौं,’ भगवतीले योजनाबारे थप स्पष्ट पारिन । भविष्यमा गाईको संख्या बढाउने, हाँस कुखुरा पाल्ने योजना पनि बुनेका छन् ।
 
एकैखाले उद्देश्य बोकेर एउटै पार्टीमा संलग्न दुई कमरेडहरुको भेट माओवादीले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीति अख्तियार गरेका बेला भएको थियो । काठमाण्डु वरपरका ठाउँ कब्जा गरेर अन्तमा टाउको अर्थात काठमाण्डु जित्ने नीतिलाई उनीहरुले त्यस्तो नाम दिएका थिए । कृषि फार्म सञ्चालन गर्ने उनीहरुको योजनाको पार्टीले सञ्चालन गर्ने भनिएको उत्पादन ब्रिगेडसँग कुनै सम्बन्ध छैन । तथापि उनीहरुले यो उद्देश्यलाई एउटा नाम दिएका छन्, ‘श्रममा टेकेर मस्तिष्कमा हान्ने ।’ अर्थात, आँफै उदाहरण बनेर श्रमको मूल्य स्थापित गर्ने, अरुलाई पनि हौसला दिने ।
  
अबको राजनीतिक बाटोबारे रेखा र भगवतीको निष्कर्ष छ, ‘अहिलेकै अवस्थामा रहने हो भने पार्टीले कुनै पनि मानेमा प्रगति गर्न सक्दैन । भइपरी आउँदा केही गरी टोपल्ने, अरुबेला सांगठनिक र वैचारिक काम नगर्ने तरिकाले पार्टी चल्दैन ।’ सक्रिय राजनीतिमा संलग्न नभएपनि पार्टीले चाहेमा उनीहरु पार्टीका लागि जस्तोसुकै सहयोग गर्न पनि तत्पर रहेको बताउँछन् । भन्छन्, ‘लसुन गोड्दै गर्दा पेरिस डाँडाको वैठकमा कसले के भने होलान् भन्ने अनुमान गर्दै गफ गर्छौं । गाइ दुहुँदा पार्टीलाई कसरी सुधार्न सकिएला भन्दै छलफल गर्छौं ।’

ठीक यसैबेला उनीहरुको पार्टी एनेकपा माओवादी संविधानसभामा कमजोर उपस्थितिका कारण सकसपूर्ण अवस्थामा छ । आफुले उठाएका एजेण्डा स्थापित नहुँदा राजनीतिक अस्तित्व नै धरापमा पर्ने सम्भावनाले तर्सेको छ । श्रमको मुल्य स्थापित गर्न खेतीको मोर्चामा डटेका रेखा र भगवती भने राज्य पुर्नसंरचना पुरा हुन सके मात्रै आफ्नो अभियानले पुर्णता पाउने बताउँछन् ।
 
रेकर्ड नेपालमा प्रकाशित / http://www.np.recordnepal.com/wire/63

0 comments:

Post a Comment