Sunday, May 13, 2018

डुलुवा पत्रकारिताको उपलब्धि

उज्ज्वल प्रसाईं / माघ ९, २०७१-

पुस्तकालयमा बसेर गरिने अनुसन्धानलाई आर्मचेयर रिसर्च भनिन्छ । आराम कुर्सीमा ढल्केर पनि दुनियाँमा अनुसन्धान भएका छन् । त्यसरी गरिएका सैद्धान्तिक अनुसन्धानले महत्त्वपूर्ण निष्कर्ष निकालेका होलान्, कति नयाँ सिद्धान्तकै प्रतिपादन गरिएका होलान् । कुर्सीमा टाक्सिए पनि अनुसन्धानकर्मीलाई स्वैरकल्पनामा उडेर काल्पनिक कथा कथुर्ने छुट हुँदैन । काल्पनिकी अवश्य बलियो चाहिन्छ तर त्यसका जरा जमिनमै हुनुपर्छ । फिल्ड मा पुगेर, विषयका अनेकन् आयामलाई प्रत्यक्ष अनुभूत गरेर निकालिएका निष्कर्षहरू भने बढी विश्वसनीय हुन्छन् । प्राज्ञिक अनुसन्धान मात्रै होइन पत्रकारितामा पनि यी दुवै तरिका अपनाउन सकिन्छ । दुनियाँमा धेरैले कुर्सीबाट विरलै उठेर पत्रकारिता गरेका छन् । रोभिंग एडिटर भनिने एकथरी जहिल्यै डुलिहिँड्छन्, पत्रिकाको कार्यालयमा नआएरै अखबारमा सदैव नयाँ खबर र विश्लेषण लेख्छन् । यहाँ समीक्षा गरिएको पुस्तकका लेखक जनकराज सापकोटा कुर्सीमा कम, फिल्डमा बढी भेटिने पत्रकार हुन् ।


जीवन कतिपय उनको डुलुवा पत्रकारिताको परिणाम हो । उनका कतिपय जीवन सहरका गल्लीमा कचल्टिएका भेटिन्छन्, कतिपय जीवन शीतलहरले गाँजेका देहातमा जीवन नै बन्न नसकेर छटपटाएका भेटिन्छन् । सापकोटा डुलिहिंड्दा बडो मिहिनेतले अनेकन पात्रका दैनिकी अवलोकन गर्छन्, तिनका हाउभाउ र मनोदशा हेर्छन् । आफूले गरेका संवादहरू डायरीमा टिप्छन् । एकसरो डुलेर घर र्फकन्छन्, डायरीका पाना पल्टाउँछन् । त्यहाँ भएका सामग्रीलाई थोरै प्रशोधन गर्छन्, कल्पनाको मिहिन लेपन लगाउँछन्, आफ्ना निजी अनुभूतिको हलुका पाइन चढाउँछन् । त्यसो गर्दा जे बन्छ, त्यसलाई छोटा वाक्य र स्वादिलो भाषामा व्यक्त गर्छन् । जस्तो एकसरो सहर घुमेर फर्केको एक साँझ, उनले यस्तो लेखेका छन्, हाजमोला वा जडीबुटीको धूलो बेचेर एउटा साहुजी दमले थलिएका बाआमाका निम्ति एलोपेथिक औषधि खरिद गरिरहेको छ । तथ्यहरूको वर्णन विसंगतजस्तो लागे पनि सहरले यसलाई आफ्नो लयभित्र समेटिसकेको छ । (पृष्ठ १८६)

खबर टिप्न, फिचर बनाउन बारम्बार मधेस पुग्छन् जनक । तराईका सहरका होटलमा बास बस्छन् । लामखुट्टेसँग पौंठेजोरी खेल्छन् । सिलिङमा झुन्डिएको पंखा झरेर टाउको फुटाइदेला कि भन्ने भय सँगालेरै सपना देख्छन् । चोकमा उभ्याइएका जमिनदारका शालिक देख्छन््, त्यही सालिकले एकटक हेरिरहने मुसहरका बस्ती हेर्छन् । मुसहरका बस्तीमा हरेक वर्ष शीतलहरले दर्जनौंको ज्यान लिन्छ । उनी जाडोमा कठ्यांगि्रएर मर्नेको तथ्यांक टिप्छन् । अनि भर्खरै छोरो सेलाएर आहत बनेकी पुलमलाई मन अमिलो बनाएर प्रश्न सोध्छन् । पुलमको जवाफ पनि डायरीमा टिप्छन् । चिसोले नै मर्यो त्यो .... म भात खाँदै थिएँ, श्रीमान् सुँगुर चराउन जानुभएको थियो । उहाँ फर्केर आउँदा छोरो चिसो भइसकेको थियो । -पृष्ठ ५७) त्यति मात्रै होइन सरकारले पुलम र उनको श्रीमान्लाई थमाइदिएको सिफारिस पत्र पनि उनी डायरीमा टिप्छन् । त्यस पत्रमा जाडोले कठ्यांगि्रएर नै त्यस शिशुको मृत्यु भएको साँचो हो भनी ठहर गरिएको छ । उनले यी टिपोट निबन्धमा लेखेर बताउन खोजेको सत्य सपाट छ- जाडोले होइन, व्यवस्थाले लिएको हो मधेसीको ज्यान ।

नेपाली साहित्यमा नेपाली समाज नै लेखिन बाँकी छ । पत्रकार जनकले लेखेका साहित्यिक स्वादका निबन्धमा मधेसी दलितका दु:ख छन् जो हाम्रा साहित्यमा विरलै आएका छन् । पंक्तिकारलाई मधेसी दलितबारे लेखिएका नेपाली पुस्तक पढेको सम्झना छैन । यसरी सिमान्तका पात्रहरूका कथा मूलधारको साहित्यमा लेखिएर आउनु नयाँ पुस्ताका पाठकले आफ्नै समाज चिन्ने मौका पाउनु हो । दिनरात पसिना बगाएर आँसुका घुट्का निल्दै बाँचेका यो मुलुकका दु:खियाले आफ्ना दु:ख सधैंका निम्ति सिध्याउने कुनै दिन प्रण गर्न सक्छ भन्ने आँकलन हुन्छन किताब पढ्दा । पुस्तौंदेखि यसरी दु:खमा जेलिएका जीवनसँग आइन्दा सम्झौता नगर्ने यो समुदायले अठोट गरेको आँकलन् नयाँ पुस्ताले गर्न सक्यो भने, किताब सफल भएको माने हुन्छ । बिक्री वितरणबाट पाउने लेखकस्वले मात्रै किताबको सफलता मापन गर्ने जमानाले यो सत्यलाई अस्वीकार गर्नु बजारले सिर्जना गरेको बाध्यता मात्रै हो ।

जीवन कतिपय मा लेखकको वर्गीय र सांस्कृतिक धरातल र उनका पात्रहरू उभिएको धरातलबीचका भिन्नता मिहिन ढंगले हेर्दा देख्न सकिन्छ । निबन्धमा दयाभन्दा करुणाभावले दु:खी पात्र र तिनका कहरलाई पर्गेल्ने कोसिस अवश्य गरेका छन् लेखकले । तर, कोसिस सराहनीय भए पनि, सबै ठाउँमा सफल भएको छैन । त्यहाँ शक्ति संरचनाले पहिल्यै बनाइदिएको सम्बन्धले काम गरेको महसुस गर्न सकिन्छ । हेर्ने र हेरिनेबीच हुने पावर रिलेसन्स नठम्याउने हो भने, हेर्नेले पात्रहरूलाई कि पेट्रोनाइज गरेर फगत दयाको पात्र बनाउँछ, कि उसका विद्रुपतालाई उसैको भाग्यको परिणति हो भनेर असरल्ल छोडिदिन सक्छ । यसमा सजगता देखाउन खोजेकै हुन् जनकले, तर कतिपय निबन्धले सबल सैद्धान्तिक र वैचारिक दृष्टिकोणको माग गरेको छ ।

तर, उच्च जातको पढे-लेखेको निम्न मध्यमवर्गीय सहरिया नजरले मुसहरका विद्रुप दरिद्रता हेर्नु आफैंमा एउटा समस्या बन्न सक्छ भन्ने उदाहरणकै रूपमा अध्ययन गर्न सकिन्छ कतिपय निबन्ध । सांस्कृतिक शक्ति संरचना लेखनमा कसरी परावर्तित हुन्छ भनेर अध्ययन गर्न चाहने अध्येताका लागि पनि यी निबन्धहरू काम लाग्ने स्पेसिमेन बन्न सक्छन् ।

जनकको अभिव्यक्ति शिल्प बलियो छ । त्यसैले पढ्दा दिक्दार लाग्दैन । नचाहिँदा व्याख्यान नहुनु पाठकका लागि सुखद पक्ष नै हो । यस पुस्तक विमोचनमा बोल्दै लेखक खगेन्द्र संग्रौलाले निबन्धमा आएका हरेक विषय गतिला उपन्यास र कथा बन्नलायक छन् भनेका थिए । म संग्रौलाको टिप्पणीसँग सहमत छु । कथा र उपन्यासमा मात्रै होइन, किताबमा समेटिएका सबै विषयलाई विस्तारमा लेख्ने र ती विषयका राजनीतिक र सामाजिक नुआन्स अझ बढी उजागर गर्ने हो भने, अरू गतिला निबन्धहरू नै पनि उत्पादन हुन सक्छन् ।

जनक अझै फिल्डमा जाऊन्, नेपाली समाजका अरू पत्रहरू उजागर गरुन्, यसरी नै हम्मेस्सी नसुनिएका पात्र र घटनाहरू सतहमा ल्याउन् । साथै, पहिलेभन्दा अलि बढी समय कुर्सीमा बसेर अझ बढी चिन्तन् पनि गरुन् । अर्थात्, सधैं बाहिर हिंडिरहने लेखकले आफ्ना सामग्रीको प्रशोधनमा बढी समय दिए, हामी पाठक लेखकप्रति बढी कृतज्ञ हुन्थ्यौं ।

जीवन कतिपय
विधा : निबन्ध
लेखक : जनकराज सापकोटा
प्रकाशक : लिपि बुक्स


प्रकाशित : माघ १०, २०७१ ११:२७

कान्तिपुर दैनिक / https://www.kantipurdaily.com/koseli/2015/01/23/338639.html

0 comments:

Post a Comment