Sunday, May 13, 2018

"मोफसलमा लेखक हुन गाह्रो"

उज्ज्वल प्रसाई-
फाल्गुन ३०, २०६७
झापा — सन् १९७६ मा उनले उत्तर बंगाल विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमए उत्तीर्ण गर्दा अहिले उनले एमएमा पढाउँदै गरेका अधिकांश विद्यार्थी जन्मिएकै थिएनन्।

मधुकर सुवेदीका जीवनका ३४ वर्ष अंग्रेजी साहित्य पढाएरै बितेको छ । तीन दशक चक र डस्टरसँग बितेपछि मात्रै सुवेदीले आफैं अंग्रेजी भाषामा केही लेख्ने सुर कसे । यसो केही लेखिहेरूँ न त भनेर सुरु गर्दा स-सानो उपन्यास तयार भयो । तर लेख्नुभन्दा अप्ठ््यारो किताब छपाएर पाठकहरूसमक्ष पुर्‍याउनु रहेछ भन्ने कुरो उनलाई तब मात्रै ज्ञात भयो, जब उक्त पान्डुलिपि धेरै दिनसम्म टेबलमै थन्किइरह्यो ।

'मैले भुँडीपुराण प्रकाशनका एक जना साथीको बाल उपन्यास अंग्रेजीमा अनुवाद गरेको थिएँ, त्यसै बेला उहाँले पाण्डुलिपि लिएर जानुभएको थियो,' सुवेदीले सुनाए, 'धेरै पछि छापेर पठाइदिनुभएछ ।'

तर, छापिनु मात्रै पनि ठूलो कुरा होइन रहेछ । सुवेदीको 'अ लिजेन्ड अफ द ओल्ड सिन्स' उपन्यासले पनि त्यही नियति बेहोर्नुपर्‍यो, जुन मोफसलका अधिकांश स्रष्टाका पुस्तकले बेहोर्ने गर्छन्। 'मैले मेरा विद्यार्थी र केही साथीभाइलाई पढ्न दिएँ, सबैले हौस्याए तर यो किताब आम पाठकसम्म भने पुग्न सकेन,' सुवेदीले थपे, 'मोफसलमा बसेर लेखकका रूपमा चर्चा पाउने सपना पाल्नु व्यर्थ छ ।' त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मेची बहुमुखी क्याम्पसका सहप्राध्यापक सुवेदी आफ्ना विद्यार्थीमा पुस्तक पढ्ने जाँगर भरिदिन नसकेकोमा दिक्दार छन्् । पढाइमा अब्बल भनेर चिनिएका विद्यार्थीले समेत त्यो उपन्यास लगेर नपढी थन्क्याएकोमा उनलाई कहिालेकाहीँ झोँक पनि चल्छ । यस्तो स्थिति सुधि्रँदै जानुको साटो विद्यार्थीहरूमा जाँच पास गर्ने मात्रै ध्याउन्न बढ््न थालेको देख्दा उनलाई 'खै के लेख्नु र हौ किताब' भन्ने पनि लाग्ने गर्छ ।

मोफसलमा बसेर पुस्तक लेख्नुको अर्को पीडा पनि छ । साधारणतया काठमाडौंवासी लेखकहरूको सञ्चार माध्यम र समीक्षकहरूसँग सजिलो पहुँच हुने गरेको र उनीहरूका पुस्तकले धेरै चर्चा पाउने गरेको सुवेदीको बुझाइ छ ।

'मैले यसबीच केही कथा लेखेको छु, एक दर्जनजति पुर्‍याएपछि भने प्रकाशकको खोजी सुरु गर्छु,' सुवेदीले योजना सुनाए ।

पश्चिमी साहित्यमा मात्रै होइन, पूर्वीय दर्शन, वेद र उपनिषद्हरूमा उत्तिकै चाख भएका सुवेदी अक्सर गम्भीर पाठकका लागि लेख्ने गर्छन्। उपनिषद्कै पात्रहरू उभ्याएर अघिल्लो उपन्यास लेखेका सुवेदीले आउँदा सृजनाहरूमा भने आफ््नै वरिपरिका जीवन्त पात्रहरूका कथा भन्ने जमर्को गरेका छन्।

प्रकाशित : चैत्र १, २०६७ ०९:१६
कान्तिपुर दैनिक / https://www.kantipurdaily.com/printedition/2011/03/14/238443.html

0 comments:

Post a Comment