Thursday, August 29, 2013

मेची बगरमा कथार्सिस

एकताका कपाल लामो थियो मेरो। गुजुमुज्ज परेको कर्ली कपाल कुमभन्दा तलैसम्म लर्किने। धेरैजसो साधारण पहिरन र हाउभाउमा देखिने मलाई चिनारुले अचम्म मान्दै कपाल पाल्नुको रहस्य सोध्थे। नाथे जुल्फीमाथि मलाई कुनै मीमांसा गर्न मन लाग्दैन थियो र सजिलै भन्दिन्थेँ, "कुनै कारण छैन। यसै छाडेको यत्रो भइहाल्यो।" तर, आज आएर मेरै उमेरका र मभन्दा कम उमेरका तन्नेरीले कपाल पालेको देख्दा भने गम्न पुग्छु। लाग्छ, कपाल पाल्ने सो कर्म पनि केही फरक गर्ने जमर्को थियो होला मेरो। सयौँ छोटा कपालधारी केटाका बीचमा कुनै औसत पहिरन र हाउभाउले कसैको आफूप्रति ध्यानाकर्षण हुँदैन भन्ने बुझाइ मस्तिष्कमा कतै पछिल्तिर छिपेको थियो होला। तर, मैले कपाल पाल्नुमा मात्रै आफूलाई सीमित राखिनँ। सडकको भेडियाधसानबाट अलग्ग हुन अरू धेरै काम गरँे। त्यसै मेसोमा पुस्तकहरू पढ्न थालियो होला जस्तो लाग्छ। मेरो चिनारुको वृत्तिभित्रका मान्छेले नहेर्ने खाले सिनेमा हेर्न थालियो। गीत पनि त्यस्तै सुन्ने बानी बस्यो। सायद त्यही नयाँ केही गर्ने हुटहुटीले नै होला, डुली हिँड्ने बानी लागेको म कुनै एक दिन ओशो रजनीशका संन्यासीहरूसँग संगत गर्न पनि पुगेँ। 

ती माला लगाउने संन्यासीहरूका गफ मलाई बडो अनौठो लाग्यो। अरू धेरैले भन्दा यी फरक तरकिाले सोच्दा रहेछन् भन्ने अनुभूति भयो। रजनीशलाई भगवान् भनेर सम्बोधन गरेकामा कताकता अप्ठ्यारो महसुस गर्दै भए पनि मैले उनीहरूका दार्शनिक गफ र तर्कहरू ध्यानसँग सुनेँ। तिनले सुझाएका ओशोका प्रवचन भएका किताबहरू पढेँ। प्रवचनका अडियो रेकर्डहरू सुनेँ। म एकतमासले प्रभावित भएँ। कुनै चीज पढेर विश्लेषण गर्ने र आफूसँग भएका पूर्वसूचना वा ज्ञानको कसीमा घोटेर ठीक/बेठीक, गतिलो/अगतिलो खुट्याउने उति क्षमता थिएन। त्यसैले धेरै सन्देह नराखी रजनीशका कुरा पत्याउन थालेँ। तिनै पुस्तक र प्रवचनका कति किस्सा सापट लिएर मान्छेसँग अनेकन् विषयमा तर्क गर्न तम्सिन्थेँ। अरू धेरैलाई बेवकुफ देख्न थालेको थिएँ। घमण्ड चुलिएर आफू निकै कडा बौद्धिक भएको भ्रम पैदा हुन लागेको थियो। ऊ बेलाका मसँगै पढ्ने साथीहरू र खासगरी केटीहरू मेरा बाँगा कुरा सुनेर भन्ने गर्थे, "यसले जान्दछ अनेक कुरा। तर, यससँग बिहे गर्नेले दुःख पाउने पक्का छ। यस्तो अप्ठ्यारो मान्छेसँग कसरी संगत गर्नु जिन्दगीभर ?" यद्यपि, उनीहरूले लगाएको आरोप प्रमाणित वा खण्डित हुने बेला अहिलेसम्म आएको छैन। तर, अहिले पनि ती मेरा केटी साथीहरू सत्यको धेरै नजिक छन् भन्ने नै लाग्छ। 

यसै क्रममा एक घमाइलो दिनमा तिनै संन्यासीमध्येका केहीसँग घुम्न निस्केँ। कुनै खास योजना थिएन हामीसँग। उनीहरू त्यसै पनि मस्तराम हुन्छन्। काम गर्न योजना बनाउने भन्दा पनि जस्तो आउँछ, त्यस्तै बेहोर्ने बानी परेका ती आधुनिक साधुहरूमा वास्तवमै फकिर हौँ भन्ने भाव उत्पन्न हुन थालिसकेको थियो त्यसबेला पनि। म त उनीहरूको समूहमा नवागन्तुक थिएँ। ध्यानका केही सामान्य विधि उनीहरूबाटै सिकेर केही दिन अभ्यास गरेको पनि थिएँ। तर, नियमित गर्ने वा उनीहरूका संस्थाले आयोजना गर्ने कुनै शिविरमा भाग लिएको भने थिइनँ। मात्र संगत बढिरहेको थियो। 

अँ, म भन्दै थिएँ, हामी घुम्न निस्क्यौँ। हिउँदको बेला थियो तर जाडो बढिसकेको थिएन। घामको राप भने आङमा न्यानो हुन थालेको थियो। दुइटा बाइक लिएर निस्केका हामी चार जना झापाको काँकरभिट्टाभन्दा लगभग १० किलोमिटरमाथिको बाहुनडाँगीतर्फ हिँड्याँै। हिँड्दा हिँड्दै बीचैमा तय भयो, वर कतै बाइक राखेर मेची खोला पुग्ने। भारत र नेपाल स्पष्ट छुट्याएर बग्ने यो खोलो हिउँदमा सुसाउँछ। त्यही सुसाएको हेर्ने जाँगर पलायो अल्लारे संन्यासीहरूलाई। 

एउटा सानो घुम्तीअघि मोटरबाइक थन्क्याएर आलडाँगी भन्ने ठाउँबाट पूर्वतिर हानिएपछि हामी पुग्यौँ मेची खोला। गफिँदै हिँड्दा निकै पर पुगिएछ। भारतीय भूमि प्रवेश गरेर जंगल -फरेस्ट, जसलाई त्यतातिर फारस भन्छन्) कतिखेर आइपुगियो, हामीले थाहै पाएनौँ। जंगलतिर प्रवेश गर्ने ठाउँमा ढुंगाको अग्लो बाँध रहेछ। त्यही बाँधमाथि चढेर केहीबेर गफ गर्‍यौँ। हामीमध्येका एकले आफ्नो क्यामेराले केही तस्बिर खिचे। 

बगर निर्जन थियो, शान्त थियो वातावरण। हामी सबै चुप लाग्दा हावाले हल्लाइरहेका रूखका पातहरू सुस्तरी साउती मार्न थाल्थे। हिउँदको त्यो सानो खोलोमा सङ्लो पानी हाम्रो छेउबाट कुलुलु बगिरहेको थियो। चराहरूका हलुका चिरबिरले रोमान्टिक कविहरूका कविता सम्झाउँथे। 

समग्र वातावरण संन्यासीहरूका लागि ध्यानमा लीन हुन उपयुक्त थियो। हामी सबैले गफ गर्न छाडेर ध्यानमा बस्ने सल्लाह गर्‍यौँ। ध्यानका केही प्रकारहरू छन् र आ-आफ्नै विधि पनि छन्। एकखाले ध्यानका केही चरण पार गरेपछि हामी कथार्सिस गर्नतिर लाग्यौँ। ओशोका ध्यानविधि थाहा नपाएकाहरूलाई यो बडो अचम्मको लाग्छ। र, गैरसंन्यासीहरूले कथार्सिस गर्दै गरेको देखे भने ध्यान गर्नेहरूलाई पागल भन्छन्। यो विधिले मस्तिष्कमा हीनग्रन्थी ब्ाढाउन जम्मा भएका कुण्ठालाई बाहिर हुत्याउँछ भन्ने विश्वास गरन्िछ। कथार्सिस गर्दा कराउने, चिच्याउने, ठूलो स्वरले बर्बराउने, एकोहोरो हाँस्ने, ह्वाँ ह्वाँ रुने आदि क्रिया गरन्िछ। त्यो भारतीय जंगललाई साक्षी राखेर मेचीको निर्जन बगरमा हामी पनि कथार्सिस गर्न लाग्यौँ। अर्थात्, हामीमध्ये कोही चिच्याउन, कोही बर्बराउन, कोही रून र कोही एकोहोरो हाँस्न थाल्यौँ। 

त्यहाँ कोकोहोलो मच्चियो, जसको हामीलाई रत्तिभर हेक्का भएन। निर्जन बगरको शान्ति एकैछिनमा बिथोलिएर हाम्रो आवाज पर-परसम्म पुगेछ। अलि पर भएका मान्छेले हाम्रा आवाज सुन्दा धेरै अर्थ लगाउन सक्ने भएछन्। कोही ठूलो आपत्मा परेको हो वा दुर्घटना भएर एक्कासि कोही चिच्याएको हो भन्ने भान पर्नु स्वाभाविक नै हो। हामी चार जना ध्यानी जो थियौँ, कुनै मतलब नाइँ । हामी हाम्रो कथार्सिसमै झुमिइरह्यौँ, मस्त थियौँ। अरू तीन जना आँखा चिम्लेर आ-आफ्ना किसिमका क्रियामा मस्त देखेर म हाँस्ने कथार्सिसमा रमाउन थालेँ। सुरु गर्नेले सायद यसै गर्छ। कारण, अरूका हर्कत देखेर पहिले त हाँस उठ्ने नै भयो। तर, अचम्म के भने जति हाँस्यो, त्यति हाँसु हाँसु लाग्दै गयो। त्यहाँ कसैको र केहीको पर्वाह थिएन, म जोडजोडले हाँसिरहे। 

यसैबीच, हाम्रो ध्यान भंग हुनेगरी अलि परबाट केही मान्छे कराएको सुन्यौँ। सबैका आँखा त्यही आवाजपट्ट िकेन्दि्रत भए। हामीले देख्यौँ, खाकी बर्दी लगाएका केही भारतीय प्रहरीजस्ता मान्छे हामीतिर कुद्दै आइरहेका छन्। उनीहरू तीन जनामध्ये एक जनाको हातमा थ्री नट थ्री राइफल र अरूका हातमा कटबाँसका लौरा थिए। वनका सुरक्षाकर्मी होलान् भन्ने अनुमान गर्दै हामी चपुचाप उभियौँ। हामीले ठान्यौँ, हाम्रो क्रियाकलाप अनौठो देखेकाले सोध्न आएका होलान्। 

हामीनजिक आइपुगेपछि राताराता आँखा भएको एउटा अग्लो कालो सिपाहीले हप्काएर हिन्दीमा के गरेको भनेर सोध्यो। रीतेशले अघि बढेर हामी ध्यान गर्दै थियौँ भने। यी सायद हामीमध्ये सबभन्दा पुराना संन्यासी थिए। बुज्रुगले अघि बढ्नु स्वाभाविक थियो। तर, उनको उत्तर त्यस सिपाहीले बुझेन। ऊ त अझ रसिले आगो भयो। रीतेशलाई एक लौरो बजायो। 

हामीले ध्यान गरेको भनेर ती सिपाही पत्याउनेवालै थिएनन्। जिन्स पाइन्ट, टिसर्ट र स्पोर्ट्स जुत्ता लगाएका हामी उनीहरूका नजरमा कदापि साधु/संन्यासी हुनै सक्दैन थियौँ। त्यसमाथि हामीले गररिहेको काम कसरी ध्यान भन्न सुहाउँदो हुन्थ्यो र उनीहरूका लागि ? रीतेश आफू संन्यासी भएको र ध्यान गर्न आएको भनेर सम्झाउन खोज्दै थिए, त्यसले अझै लौर्‍याउन थाल्यो। त्यसपछि प्रज्ज्वलले माला देखाउँदै के भन्न खोज्दै थिए, अर्को एउटा खाकीवालाले उनको माला तानेर चुँडाइदियो। र, उनलाई पनि त्यही अग्लोचाहिँले ठटायो। त्यसपछि प्रवेशलाई कटबाँसले दुई-तीनपटक बजाइसकेपछि मतिर खनियो। सायद, मलाई अलि सानो देखेकाले होला, पहिले के गर्छस् भनेर सोध्यो। मैले म विद्यार्थी हुँ भनेपछि पहिले मेरो लामो जुल्फी समाएर 'हँु ! विद्यार्थी ?' भनेर कड्कियो। अनि, पिँडुलामा कसेर एक लौरो हानेर फेर िअरू संन्यासीहरूतिरै खनियो। मलाई कुट्न आउँदा थाहा पाएँ, त्यो राता आँखेले रक्सी खाएको रहेछ। जंगलको कुन कुनामा बसेर रक्सी खाइरहेका बेला हाम्रो आवाजले तर्सेर हामीलाई लघार्नै भनेर आएका रहेछन् तिनीहरू। 

हाम्रा कुनै कुरा सुन्न तयार थिएनन् ती। हामीले गरेको कामको कुनै अर्थ निकाल्न पनि उनीहरू सक्दैन थिए। आखिर गर्न खोजेको के भन्ने उनीहरूले बुझेनन्। नबुझ्नु भनेको आफू कमजोर हुनु हो। केही उरन्ठेउलाजस्ता देखिने केटाका अघिल्तिर कमजोर हुनु उनीहरूलाई सुहाउँदैन थियो। त्यसैले ठटाए। 

धेरै बेरपछि, ती तीन जनामध्ये एउटा खाकीवालाचाहिँ नेपाली मूलको जस्तो देखेर उनको शरणमा पुगियो। त्यस नेपाली अनुहार परेकालाई समातेर उनै बुज्रुग रीतेशले अनुनय/विनय गरेपछि तिनीहरू हामीलाई त्यहीँ छाडेर जंगलतिर लागे। प्रज्ज्वल आफ्नो चँुडिएको मालाबाट बालुवामा छरएिका काला दाना टिप्न थाले। हामी सबै पिँडुला सुमसुम्याउन थाल्यौँ। राता सुम्ला उठेछन् मेरा पिँडुलामा। धन्न तिनले हामीसँग भएका क्यामेरा देखेनन्।

हाम्रो कथार्सिस पूरा हुन नपाई टुंगियो। तर, निर्जन बगरमा ती वनका सिपाहीले चाहिँ बडो गजबको कथार्सिस गरे। कति दिनदेखि मान्छे कुट्न नपाएर तिनका दिमागमा जमेका हीनग्रन्थी हामीमाथि गरेको कथार्सिसले सायद सफा गरििदयो। आफ्नै मस्तिष्कका ल्याबिरन्िथमा मस्त हुन खोजिरहेका हामीलाई कटबाँसका चोटले एकैचोटि यथार्थताको त्यो तातो बालुवामा पछारििदयो। सञ्जीव उप्रेतीले दोस्रो जनआन्दोलनमा पुलिसको लौरो खाएपछि लेखेका थिए, यस्तो बेला सबै विम्ब र प्रतीक हराउँदा रहेछन्। सायद हामी पनि कुनै अलौकिक विम्बको खोजीमा कथार्सिस गर्न लागेका थियौँ, कटबाँसका ती लौराले एक्कासि हामीलाई यो बलौटे लौकिकतामा उतारििदयो। 

कुटाइ खाएर फर्किंदै गर्दा रीतेश भन्दै थिए, "संन्यासीलाई कुट्नेको भलो हुँदैन, हामीले कसको के बिगारेका थियौँ र यार ?" उनले भलो हुँदैन भन्दै गर्दा सायद ओशोलाई सम्झेका थिएनन्। मैले मनमनमा कल्पना गरेको थिएँ, यदि ओशोले यो दृश्य देख्थे भने के भन्थे होलान् ? कस्ता तर्क दिन्थे होलान् ? आफ्ना तन्नेरी चेलाको कामलाई जस्टिफाइ गर्थे कि ती प्रहरीले गरेको कथार्सिसको प्रशंसा ! मैले बुझ्न सकिनँ। तर, सायद त्यस घटनापछि ममा उमि्रन थालेको घमण्ड पनि बिस्तारै निस्तेज भयो। र, कुनै अलौकिक सत्य वा आनन्दको खोजीमा मस्तिष्कको अँध्यारो गुफामा पस्नेभन्दा पनि त्यही मस्तिष्क निर्माण गर्ने यो पदार्थको दुनियाँपट्ट िमैले बढी ध्यान केन्दि्रत गर्न थालेँ। 

जब एकान्तमा हुन्छु, म यो घटना बेलाबेला यसरी नै सम्झना गर्छु। अनि, खासगरी प्रवेशले बगरबाट हिँड्ने बेला भनेको एक वाक्य सम्झेर एक्लै हाँस्ने गर्छु। उनले भनेका थिए, "कुटाइ खाएको कुरा त कसैलाई पनि बताउनुहुँदैन, बेइज्जत हुन्छ।" 

1 comment: