Thursday, August 29, 2013

औपनिवेशिक पीडाको धुनमा

Book Review: The Sly Company of People who Care by Rahul Bhattacharya

"उ पन्यास होस् त यस्तो !" एउटा किताब देखाउँदै सहकर्मी अमिषराज मुल्मीले भनेका थिए। मुल्मीले हत्तपत्त कुनै किताबको प्रशंसा गर्दैनन्। राहुल भट्टाचार्यको द स्लाई कम्पनी अफ पिपल हु केयर भने उनलाई असाध्यै मन परेछ। मुल्मीका अनुसार पहिले क्रिकेटका बारेमा लेखेर चर्चित भइसकेका भट्टाचार्यको पहिलो उपन्यास रहेछ यो। राहुलको लेखनीबाट धेरै नै प्रभावित मुल्मीले उपन्यासको समीक्षा गर्दै लेखेको अझै सम्झना छ, 'यस्तो उपन्यास पढिसकेपछि लाग्छ, यसले पुरस्कारहरू जितोस् र यसको त्यति प्रशंसा होस्, जति एउटा उत्कृष्ट किताबले पाउनुपर्छ।' नभन्दै द काठमान्डु पोस्टमा सो समीक्षा छापिएको केही महिनाभित्रै राहुलले यस उपन्यासका लागि प्रतिष्ठित 'द हिन्दु लिटररी प्राइज' जिते। 

मुल्मीको समीक्षाका कारण पनि द स्लाई कम्पनी अफ पिपल हु केयर पढ्न हुटहुटी जाग्यो। भी एस नयपालको झल्को दिने भाषामा लेखिएको यो उपन्यास सम्भवतः दक्षिण एसियामा पछिल्लो समय लेखिएका उपन्यासहरूमा सबभन्दा उत्कृष्ट हो। यद्यपि, राम्रो भाषाले मात्रै उपन्यासलाई उत्कृष्ट बनाउँदैन। गुयाना भन्ने देशमा गरिएको भ्रमणका आधारमा लेखिएको यस उपन्यासमा गुयानाकै बास आउँछ। यो राहुलको सफलता हो। गुयाना कहिल्यै नदेखेको पाठकका आँखामा त्यहाँका खोला, नाला, नदी-किनार, जंगल र त्यहाँका मान्छेका आकृति नाच्न थाल्छन्। त्यसउपर लेखकले त्यस देशको वर्तमान लेख्ने क्रममा अंग्रेजले भारतबाट विस्थापित गराएर लगेका भारतीय मजदुरका इतिहास खोतलेका छन्। इस्ट इन्डियन भनेर चिनाइएका ती भारतीय मजदुरको इतिहास वर्तमान समाजको अन्तरधारमा बडो नमीठो ढंगले गढेको राहुलले देखाएका छन्। विस्थापनको पीडा त्यहाँका जनसंख्याको सबभन्दा ठूलो अंश ४३.५ प्रतिशत इस्ट इन्डियनका पगध्वनिमा अहिले पनि सुन्न सकिन्छ। उपन्यासभरि त्यो विरहको धुन कतै न कतै नेपथ्यमा बजिरहन्छ। 

उपन्यासमा एउटा बेनामे पात्रले गुयानाको भ्रमण गर्छ। त्यो पात्र भारतीय हो र बेलाबेला क्रिकेटको प्रसंग झिकिरहन्छ। यो पात्रमा लेखक राहुलको स्पष्ट छाप देख्न सकिन्छ। कताकता यात्रा संस्मरणजस्तो प्रतीत हुने यस उपन्यासमा त्यही पात्रले गहिरोसँग गुयाना र त्यहाँका मानिसका जिन्दगी नियाल्छ। उसले पहिलोपटक गरेको त्यस देशको भ्रमण ऊ पुगेका ठाउँ र त्यहाँ भेटिएका मान्छेका कथाहरू उनिँदै जाँदा यो सिंगो उपन्यास तयार भएको छ। यस क्रममा उसले पात्रहरूबीच बनेका सम्बन्धका अनेकन आयाम मात्र उक्काएको छैन, उनीहरूले भोगेको पहिचानको संकट र त्यहाँको औपनिवेशिक इतिहास पनि पर्गेलेको छ। यात्रामा भेटिएको एक इस्ट इन्डियनले भन्छ, 'हामीले भारत छोडेदेखि नै हामी दुःखी छौँ। त्यसै दिनदेखि हाम्रो हृदयमा परेको भ्वाङ अहिलेसम्म पुरिएको छैन। त्यसमाथि मेरो भाइ, भारतीयहरू हामीलाई भारतीय मान्न तयार छैनन्।'

गार्डियन पत्रिकाका समीक्षकले राहुलको लेखनीलाई क्यारेबियनका बारेमा प्रशस्त लेखेका नयपालसँग तुलना गर्दै लेखेका छन्, 'नयपाल अलग्ग बसेर ठाउँ र पात्रहरूलाई नियाल्थे र अत्यन्त तौलिएको भाषामा व्यक्त गर्थे भने राहुलले गुयानाको परविेशमा आफैँलाई समाहित गराएर लेखेका छन्।' नयपाल त क्यारेबियनमै हुर्केका मान्छे हुन्, त्यसकारण उनले अलग्ग बसेर लेख्दासमेत त्यहाँका पात्र र परिवेशलाई अन्याय हुँदैन। तर, राहुलको स्थिति फरक छ। उनी मुम्बईमा जन्मेका खास्सा भारतीय हुन् र उनले आफूलाई गुयानाको माटोमा लडीबुडी नखेलेको भए यति सफलतापूर्वक लेख्न सक्ने थिएनन्। यात्रामा आधारति उपन्यास लेख्नेहरूले प्रायः पर्यटकले परबाट हेरेर गरेको वर्णनजस्तो गरी मात्रै लेख्ने गरेका छन्। छिपछिपे बुझाइका भरमा लेखिएका त्यस्ता उपन्यास कमजोर मात्र हुँदैनन्, तिनले त्यहाँका मानिसलाई अन्यायसमेत गर्न पुग्छन्। सायद त्यस्ता कमजोर लेखनीबाट राम्रैसँग पाठ सिकेका राहुलले उपन्यासमा उनको मुख्य पात्रलाई गुयानीहरूको नजिकको आफन्त बनाइदिएका छन्। उनको मुख्य पात्रले एक ठाउँ भन्छ, 'यिनीहरूको भारतीयपन मेरोभन्दा प्रगाढ पाएँ। यिनीहरूका पुर्खाले भारतको माटोमा आफ्नो पसिना बगाए र त्यही पसिना पछि गुयानाको माटोमा पनि बगाए। त्यो माटोसँगको साइनो यिनीहरूको रगतमा छ।' 

न्युयोर्क टाइम्समा भने राहुलको पात्रलाई दाँतेको कमेडियाको मुख्य पात्रसँग दाँजिएको छ, जो अर्को देशमा जान्छ र बडो मिहिनेतले त्यहाँका कथाहरू टिपेर र्फकन्छ। राहुलले गुयानामा बोलिने बेग्लै प्रकारको अंग्रेजी भाषा -जसलाई पिड्गिन भनिन्छ)को अत्यन्त राम्ररी प्रयोग गरेका छन्। त्यहाँका पात्रले बोल्ने खालकै भाषा र उनीहरूकै टोनमा सामान्य अंग्रेजी जानेका समेतले बुझिने तरकिाले प्रयोग गर्न कठिन हुन्छ, जसमा राहुल सफल छन्। त्यहाँका पात्रहरूको बोलीमा सुनिने आफ्नो अस्तित्वको चिन्ता र विस्थापनको पीडालाई राहुलले बडो ध्यानसँग सुनेको उपन्यासबाट स्पष्ट हुन्छ। त्यहाँ विस्थापनको पीडामा भोग्ने भारतीय पछि अपि|mकीहरू हुन्। उनीहरूको छटपटीसमेत त्यहाँ बोलिने भाषामार्फत सतहमा ल्याइएको छ। लेखकको अर्को विशेषता के हो भने उनले चिन्ता, छटपटी र पीडाको कथा लेखेको भए पनि त्यो रुन्चे छैन। उनले हास्यरसलाई काफी प्रयोग गरेका छन्। र, उपन्यासमा त्यस्ता सयौँ पंक्ति छन्, जो सहजै मस्तिष्कमा छापिन्छन्। कतिपय ठाउँमा ती सुन्दर कविताका हरफजस्ता पनि लाग्छन्। 

पुरस्कार जितेलगत्तै एक पत्रकारले राहुललाई सोधे, 'तपाईंले गुयानाको भ्रमण गरेर सिकेको कुनै ध्रुवसत्य ?' सो प्रश्नको उत्तरमा उनले जे भने, उनको उपन्यासको सार पनि त्यही हो। उनले भने, 'अंग्रेजहरूले सबै सिध्याए। मैले बुझेको सत्य त्यही हो।' त्यही भ्रमणमा आधारति उपन्यासमा उनले आफ्नो सुन्दर कालीगडी प्रयोग गरेर ती इस्ट इन्डियनको पहिचान कसरी सिध्याए अंग्रेजले भन्ने स्पष्ट पारे। 

राहुलको लेखनी आरिसलाग्दो छ। यसरी लेख्न नसक्ने हो भने नलेखेकै वेश। पोखरीको डिलमा बसेर ढुंगा हान्दै त्यसले पैदा गर्ने तरंग हेरेर किताब लेख्ने जमाना गयो भन्ने पनि राहुलले प्रमाणित गरिदिएका छन्। हावामा तैरएिर होइन, जमिनमा ओर्लिएर कुनै लहडी मुडमा होइन, बरु पूरा होसमा र बडो मिहिनेत गरेपछि मात्रै लेखनमा सफलता हात लाग्छ। 

0 comments:

Post a Comment