Thursday, August 29, 2013

व्यवस्थाका चोट सुम्सुम्याउँदै

Book Review: Walls of Delhi by Uday Prakash

केही दिनअघि नरेन्द्र मोदीले दिल्ली विश्वविद्यालयका विद्यार्थीहरूका अघिल्तिर उभिएर विकासको मन्त्र जपे । विकास भन्ने शब्दको पूर्णतया मोदीमय व्याख्या दिए । उनका परिभाषामा छुटेका थिए, भारतका करोडौं गरिबहरू । तिनै छुटेका मान्छेप्रतिको सद्भाव लिएर जेएनयुका सहपाठीहरू मोदीका विरुद्ध प्रदर्शन गर्न दिल्लीका सडकमा पुगे । उता मेरा साथीहरू भुइँमान्छेका आवाज बोलिदिन हिँड्दै गर्दा म उदय प्रकाशले लेखेका लघु उपन्यासको संग्रह 'वाल्स अफ दिल्ली' पढ्न थालेको थिएा । तीन लघु उपन्यासहरू 'वाल्स अफ दिल्ली', 'मोहनदास' र 'मंगोसिल'का अंग्रेजी अनुवादको यो संग्रहमा पनि तिनै मोदीको विकासवादमा नपरेका मान्छेहरू थिए । सिकागो विश्वविद्यालयमा हिन्दी भाषा साहित्य अध्यापन गर्ने ज्यासन ग्रुनेबाउमले यी तीन लघु उपन्यासहरूको अंग्रेजी अनुवाद गरेका हुन् । 

सहरका सडक र बिल्डिङहरू सफा गर्ने रामनिभासले एउटा भित्तोमा लुकाइएको पैसाको थैलो भेट्छ । नाघ्नै नसकिने समस्याका पहाडका अघिल्तिर अलमलिएर उभिएका बेला उसले सो तिजोरी फेला पारेको हुन्छ । रामनिभास घरकी श्रीमतीलाई खुसी पार्न किनिदिनुपर्ने सौदापात र थोरै सुख सुविधाका सामल किनिदिएर उसकी प्रेमिका भए ठाउँमा पुग्छ । प्रेमिकालाई लिएर ताजमहल पुगेको स्विपर रामनिभास ताजमहलका मालिक सारजहाँभन्दा कम हुँदैन । गोजी गह्रुंगो पारेको उसले आफ्नी मुमताजलाई महँगो होटलमा राख्छ । दुःखको अर्को चक्र यहींबाट सुरु हुन्छ । कारण, रामनिभासजस्तो मान्छे महँगो होटलमा सुत्न पुग्नु व्यवस्थाका लागि सुखद होइन । रामनिभासका सुखका विरुद्धमा खटिएका व्यवस्थाका पालकहरू उसका पछि लाग्छन् । त्यसपछि स्थिर उभिने दुःखको पहाड होइन, बहुलाहा समुद्र बग्छ रामनिभासको जीवनमा । भित्तोमा भेटिएको खजानाको सुइँको पाएको 'वाल्स अफ दिल्ली'को सूत्रधार अहिले पनि एउटा छिनो बोकेर दिल्लीका अनेक पर्खाल कोट्याउँदै हिँडिरहेको छ । कथा पढ्दै गर्दा मलाई लागेको थियो, सायद यो सूत्रधार नरेन्द्र मोदीले खजाना लुकेको दिल्लीका भित्ताबारे केही सूचना देलान् भन्ने आशामा त्यतै कतै उभिएर मोदीलाई सुनिरहेको होला । 

'मोहनदास'को कथासँग नेपाली पाठक परिचित नै छन् । नेपालीमा अनुदित भइसकेको यस कृतिमा मध्यप्रदेशको एक गाउँमा मोहनदासको परिचय चोरिन्छ । आफ्नो नाम र दुःखले आर्जेको शिक्षाको प्रमाणपत्र चोरिएपछि त्यसका विरुद्ध ऊ संघर्षमा उत्रिन्छ । केही दयालुहरू उसका सहयोगमा जुट्छन् । अदालतबाट बडो मुस्किलले उसले न्याय त पाउँछ । तर, फिर्ता पाएको आफ्नै परिचय उसको गलपासो बनिदिन्छ । यहाँ पनि गरिब मोहनदासको दुःखका विरुद्धमा सिंगै व्यवस्था उभिन्छ । गरिबका लागि न्याय पाउनु नै हानिकारक छ । मोहनदासजस्ता लाग्ने पात्रहरू दिल्लीमा यदाकदा भेट्न थालेको छु, आजकल । तिनीहरूमध्येका धेरै त्यस दिन मोदीका विरुद्ध नारा लगाउन सडकमा पुगेका थिए होलान् ।  

गरिबी आफैंमा एउटा रोग हो । 'सबै गरिबलाई सिध्याए त गरिबी नै चट हुन्छ,' मोदीको विकासवादले कतै नेपथ्यमा यस्तै धुन बजाउँछ । तर, गरिबीले केही यस्ता अचम्म खाले रोग पनि निम्त्याउँदो रहेछ । त्यो थाहा पाउन उदय प्रकाशलाई नै पढ्नुपर्छ । सो अचम्मको रोगकै नाममा उदयले लेखेका छन् एउटा लघु उपन्यास- 'मंगोसील ।' 

एक प्रहरी निरीक्षकको नोकर चन्द्रकान्त र तिनै निरीक्षकले यौन शोषण गर्दै आएकी विवाहित महिला शोभा एक साँझ सबैका आँखा छलेर भाग्छन् । दिल्लीको जहाँगीरपुरीमा घर भन्न नसुहाउने सानो कोठामा गुजारा गर्न थाल्छन् । उनीहरूबाट जन्मेका धेरै बच्चा खेर जान्छन् । धेरै असफल प्रयासपछि उनीहरूले बडो यत्नले एउटालाई बाचाउन सफल हुन्छन् । सो बच्चा अप्राकृतिक ढंगले हुर्किन थाल्छ । उसको टाउको पनि बढ्दै जान्छ र शरीरले थाम्नै नसक्ने गह्रुंगो हुन्छ । बडो रहस्यमयी ढंगले उसको मस्तिष्क चल्न थाल्छ । उसले दुनियाँका जटिल विषयहरूको ज्ञान लिन थाल्छ । उसका उमेरका बच्चा कार्टुन हेरिरहँदा ऊ विश्व समाचार हेर्छ । इन्टरनेटबाट अनेक सूचना संग्रह गर्न लाग्छ । मंगोसिलले ग्रस्त बच्चाले यस कथाको कथावाचकलाई भन्छ, 'अंकल यो तेस्रो दुनियाँ भन्ने नै हुँदैन । यहाँ त केवल दुई खाले दुनिया छन् । एक त्यस्तो दुनिया जहाँ अन्यायका पृष्ठपोषकहरू बस्छन् । त्यहीं अन्याय सहनेहरूलाई भने अर्को दुनियामा राखिएको छ ।' -पृष्ठ ः २०४) यसो भन्दा सूर्यकान्त नामको यो बच्चो लगभग ८ वर्षको थियो । आफ्नै भारी टाउको सम्हाल्न नसक्ने यस्तो बच्चो यस्ता सूचना र ज्ञानका कारण व्यवस्थाका लागि हानिकारक नै हुन्छ । उसकै परिवार र समाजले उसलाई बुझ्न छोड्छ । त्यसैले यदि उसले आत्महत्या नगरेको भए, उसका लागि कसैले हेमलक बोकेर आउने नै थियो । 

मोदीको विकासवादमा नपरेका यी मान्छेहरूले उदय प्रकाशमार्फत त्यस दिन मेरा अघिल्तिर दुःखका कथा हाले । उनीहरूका कथा सुन्दा हाँसो लाग्थ्यो । तर हाँस्दा हाँस्दै कतिखेर आँखा रसाइसक्छ, पत्तै नहुने । ट्रयाजडी एकोहोरो भयो भने झिँझोलाग्दो हुन्छ भन्ने उदय प्रकाशलाई थाहा छ । त्यसकारण उनले हास्यरसमा घोलेर ती हजारौं मान्छेका दुःख सतहमा ल्याउँछन् जो अर्काका कारणले दुःखी भएका हुन् । 

यसो भन्दै गर्दा, यी लघु उपन्यासहरू पूर्णतया राजनीतिक भन्ने लाग्न सक्छ । हो, अराजनीतिक होइनन् यी कथाहरू । तर, कुनै दर्शनको बोझ बोकेका छैनन् यिनले । लेखनको शिल्प र कथा भन्ने नयाँ तकनिकीको प्रयोगले पाठकलाई आनन्द दिन्छन् । त्यसो त नरेन्द्र मोदीले नै पढ्ने फुर्सद निकाले भने, खरर पढ्लान् यी तीनवटै लघु उपन्यासहरू ।

समाजका यथार्थ आफ्ना सबै अवयवहरूसहित उपस्थित छन् उदयका उपन्यासमा । यथार्थलाई कति कलात्मक ढंगले लेख्न सकिन्छ भन्ने थाहा पाउन उदय प्रकाशलाई पढे पुग्छ । साथै लेखकले आफ्नो समाज र त्यहाँ बाँच्ने मान्छेलाई कति नजिकबाट नियाल्न जरुरी छ भन्ने थाहा पाउन पनि उनैलाई पढ्नुपर्छ । दिल्लीका बारे लेख्दा उनी अक्षरहरूमा दिल्ली देखाउँछन् । मध्यप्रदेशको गाउँ लेख्दा, उनी सोझै पाठकलाई गाउँमै उतार्न सक्छन् । दिल्लीका फोहोरी नाली ह्वास्सै गन्हाउँछ, वाल्स अफ दिल्लीमा । जब मोहनदासले मौवा अर्थात् लोकल रक्सी पिउँछ, त्यसको बेहोसीले पाठकलाई पनि छुन्छ । लेखनको सामथ्र्य सायद यसैलाई भनिन्छ । 

यी सबै उपन्यासहरूमा उदय आफू कतै न कतै देखा पर्छन् । मोहनदासमा त कथाको बहावलाई रोक्दै ठाउँठाउँमा पाठकलाई झस्काउन आइपुग्छन् । भारतको राष्ट्रिय राजनीति र त्यसलाई प्रभाव पार्ने विश्व व्यवस्थाका बारे रिपोर्ट गर्न उनी उपस्थित हुन्छन् । तर, लेखक आफैं उपस्थित भएर बोलेका यी अंश कतै झिकेर फाल्नुपर्ने लाग्दैनन् । नचाहिने झोला काँधमा जबर्जस्ती बोकाइदिएका छैनन् पाठकलाई उदयले । बरु, त्यस कथाको विश्वसनीयता र ऐतिहासिकतामा ती रिपोर्टले बल पुर्‍याएका छन् । अन्य कथामा कतै उनीजस्तै लाग्ने कथाकार पात्र उपस्थित छ भने कतै सूत्रधारजस्तो बनेको छ । 

दिल्ली र अन्य सहरमा पत्रकार र फिल्म निर्माता बनेर आफूभित्रको लेखकलाई जोगाउन संघर्ष गरेका उदयले यी सहरका धेरै रंगहरू आफ्नै आँखाले देखेका छन् । यहाँ बग्ने हावाका दिशा पत्ता लगाउने शक्ति भएकै कारण नेपथ्यमा खेलिने राजनीतिक दाउपेच उनी उधिन्न सक्छन् । साथै रिक्साचालक, फुटपाथ पसले र स्विपरहरूका कहर पनि दुरुस्त लेख्न सक्छन् । 

उनी हिन्दीमा लेख्छन् त्यसैले भारतको अंग्रेजी मात्र पढ्न थालेको नयाँ पुस्ताले उनका लेखनीहरू धेरै पढेका नहोलान् भन्ने मेरो सामान्य अनुमान हो । अहिलेसम्म अंग्रेजी भाषाका भारतीय लेखकले नलेखेका कथाहरू उदयले हिन्दीमा लेखेका छन् । उनका रचनाको अंग्रेजी अनुवाद आएपछि भने हिन्दी साहित्यलाई बेवास्ता गर्न थालेको पुस्ताले पनि गरिब भारतीयका दुःखलाई उदयका रचनामार्फत महसुस गर्नेछन् । 

अनुवादमा पनि उनकोे सामथ्र्यलाई साचारित गराउन सक्दो कोसिस गरिएको छ । वाल्टर बेन्जामिनले उनको चर्चित निबन्ध 'द ट्रान्सलेटर्स टास्क' मा भनेका छन्, मूल भाषाको ध्वनिलाई अनुवाद गरिने भाषामा ब्युँताउने काम नै राम्रो अनुवादकको मुख्य काम हो । ज्यासनले मूल भाषाको मर्मलाई जोगाउने ठूलो यत्न गरेको महसुस हुन्छ । यी लघु उपन्यासहरू अनुवाद हुन भन्ने थाहा नपाएको पाठकले पढ्यो भने पनि खल्लो महसुस गर्नेछैन । 

उनका यी तीन उपन्यासका सार उनकै एक कवितामा मुखरित भएको छ । 'व्यवस्था' शीर्षकको कविता यस्तो छ ः

दोस्त चिठ्ठी में

लिखता है-  

'मैं सकुशल हुँ ।'

मैं लिखता हुँ-

'मैं सकुशल हुँ ।'

दोनों आश्चर्यचकित हैं ।

प्रकाशित मिति: २०६९ फाल्गुन ५ ०९:४३  (कान्तिपुर दैनिक )

0 comments:

Post a Comment