Thursday, August 29, 2013

भ्रम र तनावको क्याराभान

सीमित स्रोतहरू छन्, अवसरहरू कतै देखा पर्दैनन् । आकांक्षा भने चुलिँदै जान्छन् । आर्थिक समृद्धि र भौतिक सुख सुविधाप्रतिका आसक्ति बढ्दै जान्छन् । आफ्ना उपलब्धिहरू र यथास्थिति महत्त्वाकांक्षाहरू अघिल्तिर पुड्का देखिन्छन् । निम्न मध्यम वर्गका सामान्य युवाको नियति यही नै हो सायद । 

यी जटिलताहरूबाट म पनि अछुतो छैन । यी सबलाई अलग्ग राखेर कुनै क्रान्ति गर्न अहिलेसम्म तम्सिएको पनि छैन । बरु बेलाकुबेला तिनैले पैदा गर्ने अनेक खुद्रा उल्झनहरूमाझ कैद भएर दिनौं बिताएको छु । कैयौंपटक निसासलाग्दो अकर्मण्यताको सिकार पनि भएको छु । यस्ता बेलामा अरूलाई केले त्राण दिन्छ मैले उति हेक्का राख्न भ्याएको छैन, मलाई भने लेखनमा बसेको अलिकति चाख र पत्रकारिताप्रतिको थोरै लगावले त्यो निसास बढ्न दिँदैन । नत्र कतिपटक डीभी भरिसकेको हुन्थें वा विद्यार्थी भिसाको बाटो गरी अमेरिका, अस्ट्रेलिया, वा क्यानडातिर लहसिइसकेको हुने थिएँ । तर जब जब यस्ता विचार मनमा खेल्न आइपुग्थे, असल पत्रकार र जिम्मेवार लेखक बन्ने सपनाका सिरानी लगाएर ती हलक्क बढी जाने आकांक्षाहरूलाई लठ्ठ सुताइदिन्थें । यसको गर्न मिल्ने केही स्पष्ट आधारहरू थिए, जस्तो देशमा राजनीतिक परिवर्तन द्रुततर गतिमा भइरहेको थियो, संविधानसभाको निर्वाचन भएर समावेशी चरित्रको आशालाग्दो संविधानसभा गठन भएको थियो । स्वतन्त्रता र सामाजिक न्यायका सुगन्धित फूलहरू फुलाएर नयाँ नेपालको स्वागत गर्ने दिन नजिकै देखापरेको भान थियो । संविधानसभा विघटित भयो, त्यो नजिकै देखिएको सुनौलो दिन मिराज भइदियो ।

संविधान नै नबनाई संविधानसभा विघटन भएको रात दुस्वप्न जस्तो लाग्छ । बिहान उठ्दा जीवनमा पहिलो पटक म आफूलाई सपनाविहीन पाउँछु । मेरा निजी सपना पनि कतै असमयमै तुहियो भन्ने अनुभूति हुन्छ । र कहिल्यै मन नअडिने सोचाइमा आज भने एक तमास घोरिन्छु, 'ज्या है ! यो देश त यस्तै रैछ, जाउँ कि क्या हो विदेशतिरै !' केही दिनसम्म यस्तै गोलचक्करमा घुमिरहन्छु । उदासीनता, तिक्तता र विषादको अमिलो मुखमा घरीघरी आइरहन्छ । आखिर समस्या के हो हाम्रो ? मनको तितो मेट्न र यस्तै प्रश्नका उत्तरको खोजी गर्न केही अन्तरंग बौद्धिक साथी र अग्रजहरूसामु जान्छु । सबैको अनुहार मलामीको जस्तो देख्छु । 

मैले भेटेका मध्ये एक हुन्छन् युग पाठक । सिर्जनात्मक लेखन छाडेर बीचमा केही समय अर्कै एक उद्यममा लागेका यी लेखक जिरह गर्छन्, 'यो समस्याको जरा समाजमा खोज्नुपर्छ, दुई चार नेताका हरकतमाथिको विमर्शले यो असफलताको जड पत्ता लाग्नेवाला छैन ।' उनी त त्यही दिन आफूले सुरु गरेको त्यस उद्यमको पनि मलामी गएर आएका रहेछन् । नेपाली समाजका भ्वाङहरू त्यस उद्यममा पनि राम्रैसँग रिफ्लेक्ट भएको देखेपछि उनले लेखनतर्फ र्फकने निधो गरेछन् । तर यस्तो बेला लेख्ने के त गुरु ? उनको तर्क थियो, 'केही साथीहरू मिलेर नेपाली समाजको विशद अध्ययन गर्ने र त्यसबाट प्राप्त निष्कर्षहरूका आधारमा एउटा गतिलो नन फिक्सन लेख्ने ।' 

उनीसँगको विमर्शपछि एकखाले शक्ति सञ्चार हुन्छ शरीरमा र दुवैले सल्लाह गरेर हिँड्छौं तीनदिने मोटरसाइकल यात्रामा । एन्टाइसरको स्टेरिङ समातेपछि हलुका हौसेका युगले हाम्रो लघु क्याराभानको नामकरण गर्छन्, 'अ जर्नी टु रिलिज स्ट्रेस ।'  

पालुङको बाटो हेटौंडातर्फ हिँड्छौं । बीचमा पर्ने साना बस्तीहरूमा स्कुल जान ठिक्क परेका तामाङ बच्चीहरूले कपाल कोर्दै हामीतिर हेरेर मुस्कुराउँछन् । खासगरी यिनका लागि भनेर गठन भएको संविधानसभा त्यस्सै सकियो । तिनीहरूलाई सोधी हेरूँ कि, एक बार सोचेको थिएँ मैले । तर आँट आएन । हेटौंडाका केही चोक र चिया पसलमा विभिन्न क्षेत्रका मानिसहरू भेट्दै हिँड्छौं । राजनीतिक कार्यकर्ता, कर्मचारी, मजदुर, पत्रकार । यी सबै प|mस्ट्रेसन पकाई बसेका छन् । पाकेर त्यो के बन्छ, अनुमान लगाउने जाँगर छैन । तर, ती मानिसहरूसँग गरेका सानातिना अन्तरक्रियाहरूबाट केचाहिँ प्रस्ट हुन्छ भने हाम्रो सोच्ने ढंग र काम गर्ने तरिकामा आधारभूत रूपमै केही गडबड छ । हाम्रा मागहरू के हुन् ? को को के के मागिरहेका छौं ? आफूलाई कसरी बुझिरहेछौं ? अरूलाई बुझ्ने कसी के बनाइरहेछौं ? यो मुलुकमा किन शिरदेखि पुछारसम्म दलाली मात्र स्थापित भयो र मुल्यको अतिशय क्षयीकरण भइरह्यो ? यी प्रश्नहरू पेचिला छन् । हो, उत्तर खोज्न सिंगो समाज पर्गेल्न जरुरी छ । मोटरसाइकल यात्रा थाल्नुअघिको युगको निष्कर्षमा बल पुग्छ । 

मनमा चलेको लू, कालोपत्रेमाथि अनवरत परेको ३८ डिग्री सेल्सियस घामबाट निःसृत ताप, र नेपाली समाजमाथिको हाम्रो असरल्ल विवेचनाको राप मिसिएर सिंगो वातावरण नै उकुमुकुस हुन्छ चितवन पुग्दा । उदय अधिकारी र भूपिन व्याकुललाई खोज्दै पुग्छौं । उदय साहित्यका गम्भीर अध्येता र शिक्षक हुन् । भूपिन राम्रो कवि र असल मान्छेे । यी दुईसँगको प्रेमपूर्ण सत्संग गर्न देवघाट पुगिन्छ । कालीगण्डकी र त्रिशूलीको दोभान हेर्छौं । साहित्य र राजनीतिको मोजाइक चित्र बगरमा कोर्छौं । नैराश्य र उदासीनतालाई पन्छाएर बालापनको याद गर्छौं । पातला ढुंगा खोजेर पानीको सतहमाथि कुदाएर 'गाई तार्ने' प्रतियोगितामा सहभागी हुन्छौं । 

नेपाली समाजलाई पनि पातलो ढुंगो सम्झेर सतहमा कुदाएर सजिलै पारि तार्न खोजिएछ कि क्या हो ? मैलेभन्दा अघि नै धेरै भोटा फटाइसकेका उदय, युग र भूपिन 'गाई तार्ने खेल'मा अब्बल देखिए पनि, उनीहरूले आजसम्म पढेका सारा किताबबाट नेपाली समाज नबुझेका निष्कर्ष निकाले । म बबुरो त पहिल्यैदेखि अलमलिएकै थिएँ । न मैले गाई नै तार्न सकें । 

जसै साँझ पर्छ, उही संविधानसभा विघटनको मुद्दा सतहमा आउँछ । हामी सबैमाझ अभिभावक व्यक्तित्व प्राध्यापक एलबी क्षेत्री हुनुहुन्छ । उहाँको फराकिलो बासस्थानमा हामी आ-आफ्ना तर्कका साँघुरा गल्लीहरू निर्माण गर्छौं । जातीय पहिचानसहितको संघीयता जायज वा नाजायाज, बहस यहाँ अड्छ । बुझाइका सीमितताहरू प्रकट हुन्छन् । संशय र सन्देहहरू पोखिन्छन् । केही यस्ता ठाउँहरूमा पुग्छौं जहाँ असहमतिहरू गाँठा पर्छन् । ती गाँठाहरू सहजै फुक्ने खालका होइनन् तर वातावरणमा कुनै असजिलोपना आउँदैन । भोलिपल्ट बिहान फेरि एकपटक आ-आफ्नो ठाउँबाट हामीले आफ्नै समाजका बारेमा सक्दो पढ्ने र विचार गर्ने सहमति गरेर छुट्छौं । 

lll

चितवनबाट फर्केलगत्तै पोखराको यात्रा गर्ने मेसो मिल्छ । नयनराज पाण्डेको पछिल्लो उपन्यास 'लू'को परिचर्चा कार्यक्रम राखेको रहेछ पोखराका पाठकहरूको एक समूहले । कार्यक्रममा सहभागी हुन उपन्यासकार पाण्डे, प्रकाशक मणि शर्मा र म माइक्रो चढ्छौं । माइक्रोमा यात्रा गर्दा होस् वा चिया पसलमा बसेर गफिँदा, हामी मात्र होइन, भेटिएका सबै राजनीतिप्रतिको विरक्ति पोख्छन् । 

संविधानसभा विघटन हुनु केही दिनअघि सडकमा जातका नाममा पोखिएको आक्रोशप्रति धेरै मानिसले चिन्ता व्यक्त गर्छन् । एकथरी बाहुन-क्षत्रीलाई लक्षित नारा थिए भने अर्काथरीमा के-के मिसिएको कथित समाजहरूले भजन र मन्त्र माइकमा घन्काएका थिए । पृथ्वीनारायण शाहकै पालाको अखण्ड नेपाल चाहियो भन्ने लिँडे ढिपी पनि उरालिरहेका थिए । सतहमा यसो हेर्दा लाग्थ्यो, साँच्चै जातीय दंगामा देश फँस्दै छ । धेरैले अनुमान लगाए अब यहाँ यो जात र ऊ जातका नाममा मारकाट चल्छ । यस्तै भयका सुस्केरा निकाले ।  

आफ्नो श्रममा आश्रति इमानदार मान्छेहरूमाझ यस्तो अवस्थाले ठूला विभ्रमहरू उत्पन्न गर्‍यो । सहरमा बस्ने शिक्षक, व्यापारी र सामान्य पढेलेखेका मान्छेलाई लाग्यो यो जातीयताको हुँदै नभएको मुद्दा झिकेर देश बर्बाद बनाइयो । तर, यो वर्षौंसम्म राम्ररी सम्बोधन नगरिएरपछि धकेलिएको मुद्दा थियो । कुनै एक दिन यसलाई सम्बोधन गर्न जरुरी थियो । जातकै कारण वर्षौंसम्म अलगाव भोगेका मानिसहरूलाई उनीहरूको पहिचान स्थापित गर्न र अधिकार सम्पन्न गराउन जरुरी थियो । माओवादीले जातीय पहिचानको मुद्दा झिक्यो, नराम्रो गरेन । तर पर्याप्त छलफल गरेन, समस्या त्यहाँ भयो । सर्वसाधारणलाई बुझाउने कोसिस गरेन । यस्तो संवेदनशील विषयलाई सडकमा हुत्याएर ऊ चुपचाप रमिता हेर्न थाल्यो । न प्राज्ञिक स्तरमा यससम्बन्धी घनीभूत डिस्कोर्स चल्यो न सर्वसाधारणमाझ यी विषयलाई लिएर छलफल गर्ने कसैले जाँगर देखायो । यसबीचमा सतही टिप्पणी र उग्रता मात्र अघिल्तिर आए । केही मान्छे धमिलो पानीमा माछा मार्ने दाउ हेरेर बसिरहे । 

त्रिवी केन्द्रीय विभागमा प्राध्यापन गर्ने रेशम थापा पनि पोखरामै भेटिन्छन् । उनी यहीँका स्थायी बासिन्दा हुन् । अहिलेका तमाम राजनीतिक प्रक्रियालाई नजिकबाट नियालिरहेका उनको पनि निष्कर्ष त्यही छ, नेपाली समाजको अध्ययन भएकै छैन । बाहिर देखिएका र सञ्चार माध्यममा विज्ञका परिचय लिएर छाइरहने अनुहारहरू यस मानेमा असफल नै हुन् भन्ने पनि आजसम्म उनीहरूले प्रकट गरेका विचारबाट नै पुष्टि भइसकेको छ । पामेको एक रेस्टुरेन्टमा बसेर खुम्चिँदै र नासिँदै गएको फेवा ताल हेर्दै थापाका अनुभव सुनिन्छ । उनका कथनबाट हाम्रो एकेडेमिया कति साँगुरो राजनीतिक छिनाझपटीमा अलमलिएको छ भन्ने बोध हुन्छ । एकेडेमिया यहाँ जे छ त्यसैलाई यता उता फर्काएर कक्षा कोठामा फलाकिइरहने ठाउँ मात्रै हो र ? कि नयाँको खोजी गर्ने भाइब्रेन्ट लोकेसन हो ? जसरी खुम्चिँदै छ फेवाताल, त्यसरी नै साँघुरो बन्दै छ हाम्रो विश्वविद्यालय । 

पोखरापछि बागलुङ र बन्दीपुर यात्रामा लेखक खगेन्द्र संग्रौलासँग भेट हुन्छ । माथिको प्रश्न उनका अघिल्तिर राखिन्छ । बागलुङ बजारमा रेमिटेन्सका पैसाले बेहिसाब ठड्याइएका कंक्रिटहरूलाई हेर्दै उनी भन्छन्, 'हरेक क्रान्तिले समाजका केही आधारभूत संरचनाहरू बदल्छ । तर हाम्रामा त सब ज्यूँका त्यूँ छन् । कर्मचारीतन्त्र उही, सुरक्षा संयन्त्र उही, न्यायपालिका उही । त्यसैले यहाँ छिट्टै गतिलो उपलब्धि हुने देखिँदैन ।' 'सुकर्म संगीत यात्रामा'संग्रौलाबाहेक विश्लेषक डा.जुगल भुर्तेलसँग पनि कुराकानी हुन्छ । सबैको चिन्ता एउटै भए पनि बुझाइ फरक छन् । समस्यालाई हेर्ने लेन्सहरू फरक छन् । भुर्तेल सबै राजनीतिक दलमा सैद्धान्तिक समस्या देख्छन् र बाहिरी हस्तक्षेपप्रति सशंकित देखिन्छन् । 

 भुर्तेल र संग्रौलासँग रापिलो घाममा बेगनास तालमा डुंगा चढ्दा एक सिरियस ठट्टा रचिन्छ । हामीले दुईटा डुंगा लिएका थियौं आधा घन्टाका लागि । एउटामा हामी तीन थियौं भने अर्को डुंगामा भुर्तेल श्रीमती शर्मिला र दुई छोरा हिमांसु र युगांसु । डुंगा खियाउने एकजना अधिकारी र अर्का कँडेल थरका रहेछन् । संग्रौलाले हाँस्दै भन्नुभो, 'हामी त सब आदिवासीहरू पो रहेछौं । नवआदिवासीहरू !' हाम्रा कुरा सुनेपछि डुंगा खियाएर दुःखले जीविकोपार्जन गरिरहेका ती दुईले अस्ति भर्खरै सडकमा पुगेर बाहुन-क्षत्रीको आन्दोलनलाई सघाउँदै चक्काजाम गरेको सुनाए । त्यसबेला कसैले केही प्रतिक्रिया जनाएनौं । 

तर, ती दुई नवआदिवासीहरूलाई वेगनासमै छोडेर हिँड्दा हाम्रा पछि केही ठूला प्रश्नहरू आइरहेका थिए । आखिर दुई छाक टार्न डुंगा खियाउनुपर्ने तिनलाई कसरी सडकमा गएर चक्काजाम गर्ने जाँगर भयो होला ? हुन सक्छ उनीहरूलाई लाग्यो, संघीयता भएपछि कुनै अर्को जातिको मानिस उनीहरूको गाउँको राजा हुन्छ र उनीहरू दासमा परिणत भइहाल्छन् । उनीहरूभित्र रहेका यस्ता सन्देहलाई कसैले सम्बोधन गरेको छ ? के उनीहरूमा रहेका यी सामान्य देखिने जटिल प्रश्नको उत्तर दिनु पर्दैन कसैले ? 

lll

सिद्धान्तको आइभोरी टावरमा बसेर अप्ठ्यारा जार्गनको तोपले हानेर समाजका समस्याहरू नष्ट गर्न नसकिने देखियो । खाँचो छ टावरबाट तल माटोमा झरेर समस्याको पहिचान गर्न र निरुपणका उपायहरू पत्ता लगाउन । 

पुस्तकका चिसा पृष्ठहरूभित्र 

पुतलीहरू च्यापिएझैं 

म च्यापिएको छु 

दर्शनका बोझिला किताबहरूबीचमा 

र मस्त निदाएको छु जीवनभरि 

ब्युँझने सपना देखेर ! 

ब्युँझन चाहन्छु म 

हजारौं वर्षको निद्राबाट । 

- भूपिन व्याकुल 



प्रकाशित मिति: २०६९ असार ९ १०:०४ (कान्तिपुर दैनिक )

0 comments:

Post a Comment