Thursday, August 29, 2013

अनौठा तन्नेरीका अमूर्त कथा

Book Review: The Illicit Happiness of Other People by Manu Joseph

ब्ाबु ओसेप चाको असफल लेखक हो, अहिले मध्यम स्तरको स्थानीय पत्रिकामा कार्यरत छ । हाम्रा कवि भूपी शेरचनको शब्दमा भन्ने हो भने हरेक दिन ओसेपको घाम रक्सीको गिलासमा अस्ताउँछ । आमा मारिआम्माले अर्थशास्त्र पढेकी छ तर बेरोजगार, घरधन्दामा व्यस्त । उसका हर्कत कुनै अर्धपागलको भन्दा कम छैन । आफ्नो रक्स्याहा श्रीमान् मरेको कल्पनामा उसको जिन्दगीको ठूलै हिस्सा बितेको छ । सानो छोरो थोमा हरबखत डराएको छ र उमेरले आफूभन्दा जेठी केटीलाई मन पराउँछ । 

ठूलो छोरो हो उन्नी । ऊ सत्य भनेको मान्छेले आ-आफूमा भाग लगाएको भ्रम मात्र हो भन्नेमा विश्वास गथ्र्याे, कमिक बनाउँथ्यो । उसले आजभन्दा तीन वर्षअघि, १७ वर्षको उमेरमा, आफू बस्ने अग्लो घरको बरन्डाबाट भुइँमा हामफालेर आत्महत्या गर्‍यो । अहिले आएर उसले बनाएको अन्तिम तर अपूरो कमिक फेला परेको छ । त्यसमा आत्महत्याको कारण हुन सक्ने अनुमानका आधारमा बाबु ओसेप उन्नीका सबै साथीहरूसँग भेट्ने र लामो कुराकानी गर्ने ध्याउन्नमा लागेको छ । ओसेपले छोराको आत्महत्याको रहस्य उधिन्न गरेेको यात्रा नै मुख्य कथा हो उपन्यास 'द इलिसिट ह्यापिनेस अफ अदर पिपल'को । 

मनु जोसेफको यो पछिल्लो उपन्यास सन् ८० का पछिल्ला वर्षहरूको कथा हो । ठाउँ मद्रास हो जहाँ क्याथोलिकहरू, भर्खरै धर्म परिवर्तन गरेर बनेका क्रिस्चियन र हिन्दूहरूको बाक्लो उपस्थिति छ । मद्रासी साहित्य र पत्रकारिता बडो सुस्त गतिमा पाइला चाल्दै छन् । ओसेप चाको जस्ताहरूको दैनिकी त्यसै अत्यासलाग्दो सुस्ततामा सीमित साहित्य र पत्रकारिताको फेर समातेर घसि्ररहेको छ । त्यहाँका तन्नेरी ठिटा जाँचमा कसरी ९९ प्रतिशत अंक हासिल गर्ने, इन्जिनियर बन्ने र अमेरिका उड्ने भन्ने सूत्रको खोजीमा लागेका छन् । कुनै जाँचमा ९५ प्रतिशत मात्र अंक प्राप्त भयो भने, ओसेपबाहेकका त्यस ठाउँका हरेक बाबु छोरोलाई पेटी-धूलाइ गर्न ठिक्क परेर बसेका छन् । उनीहरूलाई छोराछोरीले खेल्न, कुद्न, रमाइलो गर्न पाउनुपर्छ भन्ने कुनै हेक्का छैन । 

अद्भुत स्वभाव भएको उन्नीले जिन्दगी र संसारलाई बुझ्ने आफ्नै खाले सिद्धान्तहरू बनाएको हुन्छ । ऊ मनोविज्ञानका अप्ठ्यारा किताब खोजेर पढिरहन्छ । मानिसले आफ्नो हिस्सामा परेको भ्रमलाई सत्य ठान्छ र त्यसैमा ऊ खुसी हुन्छ भन्ने उन्नीको मान्यता हो । कोही मान्छे नाखुस हुँदैन भन्ने पनि उसको जिकिर छ । उसले नजिकबाट संगत गर्ने एक साथीलाई कोटार्ड सिन्ड्रम भएको बुझ्छ । उक्त रोगबाट ग्रस्त मान्छेले आफ्नो अस्तित्व स्विकार्दैन । ऊ आफूलाई चल्ताफिर्ता लासभन्दा बढी केही सम्भिmँदैन । यस्ता किसिमका जटिल मनोवैज्ञानिक समस्या बुझ्न प्रयत्न गर्ने र बुझेअनुसार अनेक प्रयोग गर्ने यी भर्खर तन्नेरी बनेकाहरूको ध्याउन्न बडो रहस्यमयी लाग्छ । आफूलाई बाटोमा हिँडिरहेका सहस्र मानिसहरूभन्दा फरक ढंगले हेर्ने र भीडबाट अलग्ग बस्न चाहने यी साना ठिटाहरूका अनेक रहस्य खुल्दै जाँदा उपन्यासको कथा चाखलाग्दो बन्छ । मनोविज्ञानको अध्ययनमा प्रयक्त 'फल्ली अफ टु' जस्ता अनेक अवधारणाहरूका बारेमा पनि यिनै पात्रहरूले आफ्ना संवाद र क्रियाकलापमा देखाउँछन् । सो विषयमा दखल नभएका साधारण पाठकहरू उपन्यासका हरेक पानामा भेटिने एक नयाँ पहेलीबाट छक्क पर्दै उपन्यास पढिरहन्छन् । राम्रो मनोवैज्ञानिक ज्ञान भएकाहरूलाई भने आफ्नो ज्ञानको कसीमा घोटेर यी रहस्यहरू उधिन्नतिर लागिरहन्छन् । 

उपन्यासमा महिला पात्रहरूको समेत ठूलै भूमिका छ । उन्नीको आत्महत्याको रहस्य उसकी आमाले आफू सानो छँदा सुनाएको कथा र उसले संगत गरेकी एक छिमेकी केटीमा पुगेर टुंगिन्छ । 

कसैले उपन्यासको सार के हो भन्ने सपाट प्रश्नको उत्तर खोज्यो भने 'द इलिसिट ह्यापिनेस अफ अदर पिपल'लाई निहिलिज्म अर्थात् शून्यवादी दर्शनको पृष्ठपोषण भनेर एक लाइनमा यसको महत्त्वलाई सिध्याइदिन सक्छ । तर, केहीले यसलाई दर्शन, मनोविज्ञान, र सामाजिक टिप्पणीको मिश्रण पनि भनेका छन् । 

उपन्यास पढिसकेपछि मैले लेखक मनुलाई सोधेको थिएँ, के यो उपन्यास लेखिनुको उद्देश्य ऊबेलाको मद्रासको सामाजिक परिवेशमाथिको टिप्पणी गर्नु हो ? उनले ठाडो जवाफ दिए, 'कसैले गाईको प्रबन्ध लेख्दै छ भने त्यहाँ समाज हुन्छ कि हुँदैन, मलाई थाहा छैन । यदि यो आधुनिक समयमा आधारित कसैले उपन्यास लेख्छ भने, समाज नलेखिरहन सक्दैन । तर, मेरो उपन्यास समाजमाथिकै टिप्पणी भने होइन । म त्यस्तो कुनै टिप्पणी गर्नैका लागि उपन्यास लेख्दिनँ ।' त्यसो भए किन लेख्छन् त उनी उपन्यास ? उनले यसको पनि सोझै उत्तर दिए, 'मेरा लागि उपन्यास भनेकै त्यसका पात्रहरू हुन् । ती पात्रहरूले के गर्छन् र उनीहरूलाई के हुन्छ भन्ने नै मेरालागि मुख्य कुरा हो । अरू सबै त यी पात्रहरू उभिने पृष्ठभूमि मात्र हुन् ।'  

हो, उनका पात्रहरू मात्र पनि पाठकको मस्तिष्क हुँडल्न काफी छन् । उनीहरूले के गर्छन् र त्यसो किन गर्छन् भन्ने खोतल्ने हो भने, उनको उपन्यासको समाजशास्त्रीय र दार्शनिक अन्तरवस्तु हाम्रा अघिल्तिर देखा पर्छ । यो उपन्यासको केन्द्रमा वस्तुता र सत्यताको प्रकृति के हो भन्ने दार्शनिक प्रश्न छ भने यसका वरिपरि लैंगिक भेदको समाजशास्त्रीय सरोकार रहेको छ । तर, लेखक आफू कतै हावी भएर यी विषयहरूमाथि जटिल मीमांसा गरेका छैनन् । उपन्यासका पात्रहरूले सोच्ने र काम गर्ने तौरतरिकाबाटै यी माथिका प्रश्नहरू विश्लेषित हुन सक्छन् । अहिलेलाई यति भन्नु नै मुनासिब होला । 

तर, उपन्यास पढ्दै गर्दा मेरो मनमा अर्को एउटा हुटहुटी थियो । लेखक आफैं एक सफल पत्रकार हुन् र 'ओपन' जस्तो चलेको भारतीय साप्ताहिक पत्रिकाका सम्पादक पनि हुन् । उनले मद्रास, केरला वा उनले लामो समय बसेर नजिकबाट नियालेको मुम्बईको राजनीतिक कथा नलेखेर यो कमिक उपन्यास किन लेखे ? मेरो खुल्दुलीलाई उनले यसो भनेर सम्बोधन गरे, 'यो मैले आफूले भोगेको र नजिकबाट नियालेका मान्छेहरूकै कथा हो । यो मभन्दा टाढा छैन । तर अहिले यो कति आत्मकथा हो र यो कति अरूको जीवनी हो भन्ने म खुलाउन चाहन्नँ ।' त्यसो त उनी मद्रासमा हुर्किँदै गर्दा उनी पनि उपन्यासका ती अदभुत तन्नेरीहरूकै जस्तो एक समूहका सदस्य थिए । उनीहरूले मानिसको मस्तिष्कको अनुसन्धान गर्ने प्रयत्न ऊबेला पनि गर्ने गरेका थिए । उनी भन्छन्, 'हामी त्यसबेला अरूले सजिलै नबुझ्ने अमूर्त चीजहरू ख्ाोजेर पढ्थ्यौँ ।' 

केही समय उनलाई आफूले भोगेको कथालाई उपन्यासमार्फत सार्वजनिक गर्न अप्ठ्यारो लागेको थियो । तर, कतिन्जेल आफ्नो व्यक्तित्वको पिल्लर पछिल्तिर लुकेर साहित्य लेखिरहने ? उनलाई लाग्यो, 'अब मैले खुल्नुपर्छ ।' त्यसैले लेखे उन्नीको कथा । सायद उन्नीमा अलिअलि उनको आफ्नै बाल्यकालको व्यक्तित्व मिसिएको हुन सक्छ । वा, उनका ती बालसखामध्येको एक हुन सक्छ उन्नी । 

उनले आफ्नो मुख्य पात्र उन्नीलाई एउटा कार्टुनिस्टको रूपमा किन ल्याउन चाहे भन्ने पनि खुल्दुलीकै विषय थियो । त्यो उनको रुचि मात्रै नभएर उनी आफूलाई समेत औसत कार्टुनिस्ट नै ठान्दा रहेछन् । उनी नधकाई भन्छन्, 'मलाई चित्र कोर्न आउँदैन र त्यसको खासै ज्ञान पनि छैन तर मलाई कार्टुनभित्र हास्यचेत कस्तो हुनुपर्छ भन्ने थाहा छ । भारतमा त्यस्ता धेरै कार्टुनिस्ट छन् जो राम्रा चित्रकार त हुन् तर ह्युमरिस्ट होइनन् ।' तर, उनको पात्र उन्नी भने बडो सुन्दर चित्र बनाउँछ, रहस्यमयी कथा हाल्छ तर उसका कार्टुनका संवाद बाकस भने प्रायः खाली नै हुन्छन् । उसलाई ती बाकसहरू शब्दले भर्न अल्छी लाग्छ र अरू कसैलाई त्यसो गर्न खटाउँछ ।   

'सिरियस मेन' नामक पहिलो उपन्यासबाटै भारु ५ लाख बराबरको 'द हिन्दू फिक्सन अवार्ड' जितेका मनु जोसेफ पाठकहरूमाझ उपन्यासकारकै रूपमा बढ्ता चिनिन थालेका छन् । न्युयोर्क टाइम्समा 'लेटर प|mम इन्डिया' स्तम्भमा नियमित लेख्ने यी लेखकलाई कसैकसैले भीएस नयपालसँग पनि दाँज्न थालेका छन् । 

अघिल्लो उपन्यासमा उनले एक दलित पात्रको कथा भनेका थिए । तर, त्यो कुनै दयाको पात्र थिएन । अन्य गरिब दलितका समस्या उनको पात्र अइयन मनीसँग पनि छन् तर ऊ आफ्नो बौद्धिकता र क्षमताको प्रयोगबाट एउटा छलकारी दुनियाँको निर्माण गर्छ । ब्राह्मण खगोलशास्त्रीहरूको बाहुल्य भएको एक अनुसन्धान कार्यालयमा पियनको रूपमा काम गर्ने अइयन मनीले यी सबै ब्राह्मण वैज्ञानिकलाई गुमराहमा राखेर आफ्नो झूटको खेती फैल्याउँछ । जोसेफले यो दलित पात्रलाई उसका अप्ठ्यारा परिस्थितिका कारण ऊ अझ पनि सीमान्तकृत भएको तर उसको क्षमता र बौद्धिकताले सजिलै देशभरिका सञ्चार माध्यमलाई पछि लगाउन सक्ने खुबी भएको पात्रका रूपमा उभ्याए । अरू धेरै उपन्यासकारले जस्तो सहानुभूति र रुन्चे दयाको सिकार बनाएनन् यो दलितलाई । 

त्यसैगरी यो उपन्यासमा पनि अनौठा स्वभावका पात्रहरू भए पनि तिनका यावत् मानवीय कमजोरीहरू छन् । तीनका असलजस्ता लाग्ने रूपहरू पनि प्रकट भएका छन् । मीठासपूर्ण भाषा र तुकबन्दीजस्ता लाग्ने कैयौँ वाक्यका कारण पनि उपन्यास रसिलो बनेको छ । पढेर आनन्दित मात्र बन्न चाहने वा घन्टौँ घोत्लिन चाहने, दुवै खाले पाठकलाई गजबै खुराक बनेको छ 'द इलिसिट ह्यापिनेस अफ अदर पिपल ।

प्रकाशित मिति: २०६९ कार्तिक ४ १०:२१ (कान्तिपुर दैनिक )

0 comments:

Post a Comment