Thursday, August 29, 2013

सिद्धान्तको हाडे ओखर

प्रजातन्त्रमा भोट हिँड्यो, जनता छुटे । समाजवादमा सिद्धान्त हिँड्यो, मान्छे छुटे,' एक असल राजनीतिकर्मीले अनौपचारिक गफगाफमा यो पंक्तिकारसित भनेका थिए । यो कथनमाथि प्रशस्त बहस हुनसक्छ । तथापि हिँड्नु र छुट्नुको विरोधाभास जीवन्त यथार्थ भने हो । यो छुटने मामलो शतप्रतिशत सही प्रतीत हुने ठाउँ र घटनाहरू धेरै छन् । तिनीहरूमध्ये त्रिभुवन विश्वविद्यालयमा सधैँ चर्चामा रहने र आफ्नो बेग्लै इतिहास बनाइसकेकोे अंग्रेजी विभागमा हिँड्ने र छुट्ने कथा आफ्नै खालको छ । उसो भए त्यहाँ के हिँड्यो र के 

छुट्यो त ? यो प्रश्नले परीक्षणको माग गर्छ र यो आलेखमा अंग्रेजी विभागमा महत्त्वका साथ पढाइने थ्योरी अर्थात् सिद्धान्तको व्यावहारिक पाटोको परीक्षण गर्ने प्रयत्न गरिनेछ ।   

प्रत्येक वर्ष त्रिविको अंग्रेजी केन्द्रीय विभाग र सम्बन्धन प्राप्त क्याम्पसबाट सयौँ विद्वान् र विदुषीहरू उत्पादन गरिन्छ । ठूला कारखानामा जस्तो यहाँ पनि 'एसेम्बली लाइन'को अवधारणाबाट विद्वान्हरू उत्पादन गरिन्छ । कर्पोरेट उद्योगबाट एकैपटक हजारौं समरूप वस्तुको उत्पादन भएझैं अंग्रेजी विभागबाट पनि उस्तै अनुहारका विद्वान्हरूको ठूलो संख्या उत्पादन गरिन्छ । अंग्रेजी साहित्यका यी विद्वान्, विदुषीहरू घोकेर कण्ठ पारिएका सैद्धान्तिक पहेलीहरूमा मख्ख देखिन्छन् । सिद्धान्तका नबुझिने चिजबीज हिँडिरहेछन् तर सिद्धान्तको गुह्य छुटिरहेछ । अधिकांशका मस्तिष्क अर्ध-शब्दकोशजस्ता लाग्छन्, जहाँ सयौँ जार्गनहरू लामबद्ध छन् । तर, छुटेका छन् तिनका अर्थहरू । प्रजातन्त्रमा भोट हिँडेर जनता छुटेजस्तो यी दुरूह जार्गनहरू गुदी नलागेका हाडेओखरजस्ता असरल्ल भेटिन्छन् जताततै । ती ओखरहरूको वषर्ा झेलेर आएका विद्वान्/विदुषीहरू विश्वविद्यालयको प्रांगणबाट बाहिर निस्कनासाथ त्यस्तै ओखरहरू वषर्ाउन तयार हुन्छन् । 

कीर्तिपूरका धेरै गल्ली र  चोकहरूमा, काठमाँडौँका धेरै सरकारी र प्राइभेट कलेज छेउका चिया पसल र स्टेसनरीहरूमा अनेकन् डेरिडा र फुकोका क्लोनजस्ता लाग्ने मान्छेहरू प्रशस्त भेटिन्छन् ।  कसैले उनीहरूका अघिल्तिर 'केन्द्र' भन्ने शब्द उच्चारण गर्‍यो भने, उनीहरू फ्याट्टै भन्छन्, 'उत्तर-संरचनावादी युगमा डेरिडाको उदयसँगै केन्द्र भत्केको कुरा दुनियाँले थाहा पायो,' या यस्तै केही । कसैले गल्तीले उनीहरूका मुखेन्जी 

'शक्ति'को कुरो झिक्यो भने एकपटक त्रिविका गुरुहरूका अनुहार सम्भिmएर, स्वर्गीय फुकोलाई तुरुन्त चिया पसलमा उतार्दै उनीहरू भन्छन्, 'शक्तिले सत्य निर्धारण गर्छ ।' सुन्ने सोझासीधा मानिसहरू यी विद्वान्ले बोलेको कुरो बुझ्न नसकेकोमा पछुतो मान्दै बाटो लाग्छन् । अरू उपाय पो के बाँकी रहन्छ र ? 

कीर्तिपुर डाँडोमा पाइने थ्योरीका गाइड बुकहरूको कमाल थाहा पाउनेहरू नाक खुम्च्याउँछन् । यस्ता विद्वान्हरूको कुरा सुन्दा उहिल्यै संस्कृत पढेर आउने बाजे-विद्वान्हरूले बोलेका वाक्यको सम्झना हुन्छः 'उत्तुंग हिमशैलका धवल प्रांगणमा निवास गर्दै पतितपावनी कल्मष-प्रक्षालन-कार्य-सुसम्पन्ना सरिता वागमतीको पवित्रोदक पान गर्दै पर्वत चूडामणि चन्द्रागिरिको नैकट्य पाएका काष्ठमण्डप निवासीहरू धन्य हुन् ।' अरू त अरू पत्रपत्रिकामा नबुझिने लेखहरू छापियो भने पनि 'अंग्रेजी विभागको भित्र्याँस देख्न भ्याएकाले सहजै अनुमान लगाउँछन्, 'यो लेख लेख्ने पक्कै सस्युर वा जेमिसनको नेपाली-मूलको नाति हुनुपर्छ ।' जसरी जन्ड माक्र्सवादी हुँ भन्नेले ५०० शब्दको लेखमा करिब १०० माक्र्सवादी जार्गन लादेको हुन्छ, हाम्रा अंग्रेजी साहित्यका विद्वान्हरू एस्थेटिसिज्मदेखि सबाल्टर्नसम्मका जार्गनहरू र इम्यन्युअल क्यान्टदेखि एडार्नोसम्मका नामहरू नहाली लेख पूरा गर्नै सक्दैनन् ।

शंकर लामिछानेले उबेला चर्चामा रहेका सम्भवतः सबै साहित्यिक सिद्धान्त र अरू वादहरू पढेका थिए होलान् । उनका निबन्धहरूमा त्यसको छनक पाइन्छ । अझ बढी त उनी अस्तित्ववादी चिन्तन र शून्यवादी दर्शनबाट प्रभावित थिए भन्ने कुरा गरिन्छ । तर, उनका निबन्धहरू 'सम्पादकलाई चिठी' पढ्दा होस् वा 'देउताको काम' माथि घोत्लिँदा होस्, कुनै सिद्धान्तकार वा बोझिल सैद्धान्तिक जार्गनहरू भेटिन्नन् । हो, दुई चारपटक नपढी उनका निबन्धहरू सहजै बुझिँदैनन् । तर, उनको लेखाइ स्वांगे हुँदैन । भूपी शेरचनको भाषा सापटी लिएर भन्ने हो भने, लामिछानेका निबन्धहरू 'नयाँ सडकको पेटीमा आफ्नो अस्तित्व बलजफ्त जताउन उभिएको कुनै टिनएजर्सले गरेको प्रयत्न' मात्रै पनि होइन । 'मैले थुप्रो पढेको छु' को भाव नाकका पोरामा सजाएर लेख्न बस्ने हाम्रा अंग्रेजी साहित्य र सिद्धान्तका विद्वान्हरूले यत्ति पनि बुझेका नहोलान् र ?

पत्रकार कृष्णज्वाला देवकोटाको एक लेखको शीर्षकको सम्झना हुन्छ, 'के वामपन्थीले बुझिने बोले माक्र्स रिसाउँछन् ?' हाम्रा आंगल भाषाका नेपाली विद्वान्हरूले बुझिने लेख्दा को रिसाउँछन् थाहा भएन । तर कुनै न कुनै गोप्य देवता उनीहरूले पक्कै स्थापित गरेका छन् जो बुझिने लेखे रिसाउलान् भन्ने पीर हुँदो हो । अझ गजबको कुरो त के हो भने पश्चिमबाट भित्र्याइएका थ्योरीहरू पश्चिममै काम नलाग्ने भइसकेपछि हाम्रो अंग्रेजी विभागमा आइपुग्छन् । अनि तिनै थ्योरीहरू घोकेर, बुझ्दै नबुझे पनि दोहोर्‍याएर यहाँ विद्वता प्रदर्शन गरिन्छ । थ्योरी दर्शनको छिद्रजस्तो मात्र हुन्छ । कुनै खास नामको थ्योरी सीमित सामग्रीको अध्ययनबाट निकालिएको सीमित निष्कर्षसम्म मात्र फिँजारिएको हुन्छ । तर दर्शनको त्यही छिद्र पश्चिमा विश्वविद्यालयहरूमा टालिइसकेपछि हाम्रोमा त्यही छिद्रबाट दुनियाँ हेर्ने असफल प्रयत्न गरिन्छ । ताज्जुबको कुरो त के भने यस्ता छिद्रहरू मृदुभाषी हुँदैनन्, बरु नबुझिने रहस्यका पोकाजस्ता हुन्छन् । तिनै छिद्रलाई केही जार्गनहरूको गायत्री मन्त्रजस्तो जपेर कुन बौद्धिकता स्थापित हुने होला ?

थ्योरीको सकारात्मक पक्ष पनि हुन्छ । जीवनका कैयन् नदेखिएका पत्रहरू उधिन्न साहित्य लेखिन्छ । पाठकलाई आनन्द प्रदान गर्न जीवनका यी लुकेका सत्यहरूलाई स्वादिला बनाइएका हुन्छन् । र, साहित्य बुझ्न र बुझाउन, यसभित्र छिपेेका पत्रहरू उजागर गर्न भनी हामीलाई विद्वान्हरूले विभिन्न सैद्धान्तिक औजारहरू उपलब्ध गराए । समाजमा जेलिएर रहेका समस्याहरू र सामाजिक सम्बन्धका विभिन्न पक्षहरूलाई पर्गेल्न भनी यी औजारहरू तयार गरिए । तर, यी औजार हाम्रो त्रिविमा आएर गाँठो खोल्ने होइन नबनिएको ठाउँमा गाँठो कस्ने यन्त्रमा परिणत भए । कारण, अंग्रेजी विभागमा पढाउने र पढेका अधिकांश लेखकले लेखेका साहित्य बुझिँदैन । उनीहरूले लेखेका अखबारी लेखहरू बुझिँदैन । उनीहरूका भाषण बुझिँदैन । न उनीहरूले कक्षा कोठामा पढाएकै केही बुझिन्छ । यसै विषयमा चर्चा भइरहेका बेला, त्रिवि अंग्रेजी विभागकै एक विद्यार्थीले स्वीकारोक्ति दिए, 

'एककाँधे झोला भिरेर आउने एक जना मोटा मास्टरले पढाएको त मैले कहिल्यै बुझिनँ तर उनले बोलेका छाडा कुरा मात्रै बुझेर सधैँ हाँसे । त्यतिका लागि म उनको कक्षामा बसेँ ।'  

एउटा सानो अन्तर्वार्ताका क्रममा त्रिवि केन्द्रीय विभागमा एमफिलका विद्यार्थीलाई पढाइरहेका अनिरुद्र थापाले भने, 'हाम्रा विद्यार्थीहरू क्रिटिकल एनालिसिसका परिभाषा र व्याख्याहरू लेखेर कापी भर्छन् तर कुनै पनि कुराप्रति क्रिटिकल हुन भने कहिल्यै सक्दैनन् ।' त्यसैले उत्तर-संरचनावाद र नव-माक्र्सवादका लामालामा परिभाषा घोक्न बाध्य पारिएका यी उत्पादित विद्वान्हरू आखिरमा कुनै पुँजीवादी कारखानाले बनाएका 'माल' भन्दा बढ्ता हुन नसक्ने स्थितिमा पुग्छन् । अंग्रेजी विभागबाट पास भएका अधिकांशले सो भाषामा एउटा सग्लो वाक्य पनि शुद्ध लेख्न नसकेका धेरै उदाहरण भेटिएका छन् । केही अपवादहरूबाहेक विभागको यति लामो इतिहासमा खासै गतिला लेखक र समालोचकहरूको जन्म भएको पनि देख्न पाइएको छैन । हो, त्रिविका आफ्नै राजनीतिक र प्रशासनिक जटिलता र सीमितताहरू होलान् तर यसो भनेर सयौँलाई मान्छेबाट सुगामा कति दिनसम्म परिणत गरिरहन्छ यो विभागले ? यत्तिका लागि यहाँ अंग्रेजी साहित्य पढाइएको हो भने, विभागकै औचित्यमाथि प्रश्न उठ्दैन र ?

प्रकाशित मिति: २०६८ असार १८ ०८:४९ (कान्तिपुर दैनिक)

0 comments:

Post a Comment