Thursday, August 29, 2013

पाँचतारे पछिल्तिरको कुरूप तस्बिर

Book Review: Behind the Beautiful Forevers by Katherine Boo

नवउदारवादको भारतमा जति विरोध सायदै अन्यत्र कतै हुन्छ। तर, भारत जति स्वादले बजार अर्थतन्त्रलाई अँगाल्ने देश दक्षिण एसियामा सायदै अरू कुनै होलान्। जति विरोध हुन्छ, त्यति बलियो बन्दै गइरहेको छ भारतमा नवउदारवाद। वालमार्टलगायत बहुराष्ट्रिय कम्पनीहरूलाई भारत सरकारले भर्खरै ओछ्याइदिएको रातो कार्पेटले त्यतैतिर संकेत गर्छ। तर, नवउदारवादी चमकदमकसँगसँगै भारतका गरबिहरूको स्थिति झन्झन् नाजुक बन्दै गएको पनि सत्य हो। गरबि जनता कज्याउने बजारको विरोधमा नवउदारवाद र खुला बजार अर्थतन्त्रका विरोधीहरू बजारकै एक छेउ उभिएर नारा लगाइरहेको दृश्य हरेक दिन देखिन्छ भारतका ठूला सहरहरूमा। 

यही भारतमा छ मुम्बई र त्यहीँ छन् सम्भवतः दक्षिण एसियाकै ठूला स्लम अर्थात् गरबि सुकुमबासीहरूका अनगिन्ती छाप्राले बनेका ओसिला बस्ती। दिल्लीस्थित एक विश्वविद्यालयको छात्रावासमा बसेर तिनै ओसिला बस्तीमध्येको एक बस्तीका केही पात्रका कथा पढिरहँदा पनि यो पंक्तिकारको कानमा बाहिर भूमण्डलीकरणका विरुद्धमा लागेको नारा गुन्जिन्छ। जसै क्याथरिन बुले लेखेको बिहाइन्ड द ब्युटीफुल फरेभरमा '...यहाँका मान्छेले एक आधारभूत सत्य बुझिसकेका छन् कि यो दिनप्रतिदिन आधुनिक र समृद्ध बन्दै गएको सहरमा उनीहरूको उपस्थिति सहरका लागि लज्जाको विषय हो। तसर्थ, सानो ठाउँमा कुँजिएर बस्नु उनीहरूको नियति हो। उनीहरू मर्दा कसैलाई केही असर पर्दैन,' पढ्दै हुन्छु, बाहिर वामपन्थी विद्यार्थी संगठनको कुनै कार्यकर्ताले ठूलो स्वरमा भन्छ, 'कर्पोरेट लुट मुर्दावाद।' 

केही वर्षअघि सुकेतु मेहताले म्याक्सिमम सिटी नामको किताबमार्फत मुम्बईको जीवनी बाहिर ल्याएका थिए। उनका पनि अधिकांश पात्र ती तन्नम नै थिए, जसलाई बाल ठाकरेहरूजस्ता कट्टरपन्थीहरूले चाहिएका बेला प्रयोग गरे र आफूलाई खतरा महसुस भएपछि मारििदए। क्याथरिनले भने लोकतन्त्र भन्ने गरएिको भारतको चरम अव्यवस्थालाई मुम्बईको एयरपोर्ट नजिकै रहेको अन्नावादी नामको सुकुमबासी बस्तीको कथाबाट नियाल्ने कोसिस गरेकी छन्। 

अन्नावादी मुम्बई एयरपोर्ट नजिकैको बस्ती हो। अर्थात् मुम्बई पुगेकाहरूले एयरपोर्टबाट देख्ने झुग्गीझोपडी नै क्याथरिनले किताबमा उतारेको बस्ती हो। त्यहाँ एयरपोर्ट मात्र छैन, त्यो बस्तीलाई छायाँमा पार्ने पाँच तारे होटल पनि त्यहीँ छ। महँगो दाम तिरेर यात्रा गर्न सक्ने यात्रु र भारतका एक प्रतिशत जनताको मात्र पहँुच भएको झकीझकाउ पाँचतारेको पछिल्तिर आफ्ना सम्पूर्ण कुरूपता सम्हालेर बसेको छ अन्नावादी। त्यस बस्तीको अघिल्तिर सबैले देख्ने गरी एक इटालियन कम्पनीको टायल्सको विज्ञापन गरएिको ठूलो होर्डिङ् बोर्ड छ। त्यसमा लेखिएको छ, 'ब्युुटीफल फरेभर' अर्थात् सधैँ सुन्दर। त्यो बस्तीको कुरूपता र होर्डिङ् बोर्डले बचाएर राखेको सुन्दरतालाई टिपेर क्याथरिनले आफ्नो किताबको नाम राखेकी छन्, बिहाइन्ड द ब्युटीफुल फरेभर। त्यहाँ छन् अब्दुल, आशा, मन्जु, सुनीललगायतका पात्र। यी अनेक ठाउँबाट यहाँ थुप्रेका हुन्। गाउँमा भोकमरी लागेपछि, भएको थोरै जमिनमा उब्जनी नभएपछि वा गाउँका शोषकले लखेटेपछि अनेक दुःख, हन्डर सहँदै अझ दुःख झेल्न अन्नावादीमा आइपुगेका हुन्छन् यी दुखियाहरू। 

अब्दुललगायतका कलिला केटाको मुख्य काम भनेको कबाड भ्ोला पार्ने र जोखेर बेच्ने हो। उनीहरूको ध्याउन्न कहाँ कस्ता कबाड पाइन्छन् भनेर दिनरात खोजी गर्ने र भेला भएका चीजहरूबाट तिनका प्रकार अनुसार छुट्टयाउने र विभिन्न दरभाउमा बेच्ने। त्यहाँबाट प्राप्त चुनदामले जीविकोपार्जन गर्ने। अनेक रंगीबिरंगी टिन र स्टिलका बट्टामा प्याक गरेका वस्तु एयरपोर्टमा आउने यात्रु या पाँच तारे होटलमा आउने धनाढ्यहरूले प्रयोग गर्छन्। तिनैले नचाहिने भनेर फालेका फोहोर नै यी दुखियाहरूका जीवन चलाउने उद्यम बन्छ। जुन बेला यिनीहरूसँग बेच्नलाई कबाड हुँदैन वा अलिकति भेला पारेको पैसामा स्थानीय प्रहरीका भ्रष्ट दृष्टि ती चुनदाममा पर्छन्, उनीहरू भोकभोकै सुत्छन्। भोक सहन नसकेपछि मुसा वा भ्यागुता मार्छन्, फोहर नालीका किनारमा फलेका हरयिा घाँस ल्याउँछन् र पकाएर खान्छन्। त्यहाँ साना नानीहरू बिरामी हुन्छन्, तिनका बाबुआमासँग औषधी गर्ने पैसा हुँदैन। अलिकति आश हुन्जेल प्रयत्न गर्छन्, पैसा जोहो गर्ने कोसिस गर्छन्। नसकेपछि बाबुले उम्लँदै गरेको दाल वा तरकारीको भाँडोमा आफ्ना कलिला नानीहरू च्ाोबेर उनीहरूको हत्या गर्छन्। तर, त्यहाँ कोही मारनिुले कुनै किसिमको संवेदना कसैमा जन्माउँदैन। नियतिले ढुंगो भएर बाँच्न राम्रै गरी सिकाइसकेको छ अन्नावादीका यी गरबिहरूलाई।

एक दिन फतिमा भन्ने अपांग आइमाईले आफैँमाथि आगो लगाउँछे। ऊ जलिरहेकी हुन्छे, अरू सबै त्यहाँ रमिते बन्छन्। रक्िसा चालकले त्यो जल्दै गरेको शरीरलाई आफ्नो रक्िसामा राख्न मान्दैन। ऊ भन्छ कि 'मेरो रक्िसाको सिट पनि त्यसको शरीर सँगसँगै जल्छ।' त्यो जल्दै गरेकी अपांगलाई त्यत्तिकै मर्न छोडिदिएर सबै आफ्नो भात-भान्सामा लाग्छन्। बाँकी रहेका थोरै केटाकेटी त्यो आइमाईको शरीर जलेर कस्तो बन्छ भनेर हेर्न पर्खेर बसिरहन्छन्। नजिकैका प्रहरी घटना हुन्जेल देखा पर्दैनन्। सबै सकिएपछि त्यहाँ पुगेका उनीहरू चाहन्छन् यो आइमाईको हत्याको आरोप यही बस्तीका थोरै पैसा भएका कसैमाथि लागोस् ताकि त्यही नाममा पैसा दोहन गर्न पाइयोस्। नभन्दै अलिअलि पैसा कमाउन थालेको ठिटो अब्दुलमाथि हत्याको आरोप लगाइन्छ। भ्रष्ट प्रहरी उसका पछि लाग्छ। अब्दुल बस्ती छोडेर भाग्न थाल्छ।

क्याथरिनले यस्ता केही पात्रका व्यक्तिगत जीवन उतारेकी छन्। उनीहरूका दैनिकी लेखेकी छन्। अत्यन्त सुन्दर भाषामा बुनिएका कथाले उपन्यासको बान्की पाएका छन्। यस्ता किसिमका गैरआख्यान कृतिमा अक्सर लेखक आफैँ उपस्थित हुन्छ वर्णनमा। उसले प्रत्यक्ष भोगेको र ऊसँग पात्रहरूले गरेका कुराकानीलाई समेटेर लेखिएका हुन्छन् यस्ता कृतिहरू। तर, क्याथरिनले भने आफूलाई कतै उपस्थित गराएकी छैनन्। उनले सूत्रधारले जस्तो ती पात्रका कथा मात्रै भनेकी छन्। एउटा उपन्यासकारले म पात्र नराखी खुरुखुरु 'थर्ड पर्सन'मा कथा भने जस्तो गरी भनेको कथा पढ्दा उपन्यास पढेकै स्वाद आउँछ। पढ्दै गर्दा पाठकले क्याथरिनलाई उति सम्भिmँदैन पनि। कारण, त्यहाँका अन्य पात्रहरू नै उसका मस्तिष्क कब्जा गर्न आइपुग्छन्। तर, पढिसकेपछि पाठकले सोध्न सक्छन्, यी पात्रका जीवनलाई यतिको नजिकबाट नियाल्न कसरी सम्भव भयो ? 

यी पात्र र यहाँका बस्तीमा लामो समय नगुजारी यतिको कथा लेख्न सम्भव छैन। त्यहाँको गरबिीको एक भोक्ताजस्तो नभई, बाहिरबाट दूरबिनले हेरेर, त्यसको पीडा मापन गर्न सम्भव छैन। भारतको खुला बजार अर्थतन्त्र र नवउदारवादी नीतिले बनाएका घाउ अन्नावादीजस्ता ठाउँका रूपमा उकुच पल्टिएका छन्। त्यही संक्रमणकारी घाउ कति डरलाग्दो छ भन्ने देखाउन पनि त्यसलाई नजिकबाट नजाँची सम्भव हुँदैन। त्यसैले एउटा गतिलो किताब लेख्न कति मिहिनेत गर्नुपर्छ भन्ने जान्न पनि क्याथरिन  कृति पढ्न जरुरी छ। वासिंगटन पोस्ट र न्युयोर्करजस्ता पत्रिकामा काम गरसिकेकी क्याथरिन कम मिहिनेतले पुलिट्जर जस्तो प्रतिष्ठित पुरस्कार विजेता बनेकी होइनन्।  
(नेपाल साप्ताहिक)

0 comments:

Post a Comment