Thursday, August 29, 2013

मुक्त गरिबको कथा

Book Review: A Free Man by Aman Sethi

भारतीय लोकतन्त्रलाई धेरैले विकलांग भन्छन्। सिसमहलमा बस्ने लोकतन्त्रले अघिल्तिर सडकपेटीको गरबिी देख्दैन रे ! करोडौँ भोका मान्छेका पेटमा आन्द्राले झुत्ती खेलेको आवाज पनि त्यसले सुन्दैन रे ! त्यसैले संस्थापनविरोधी लेखकहरू भारतीय लोकतन्त्रको उछित्तो काढ्छन् । अरुन्धती रोय ठाडो प्रश्न गर्छिन्, "मृत्योपरान्त जीवन छ कि छैन भन्ने भारतीय दार्शनिक मीमांसालाई अर्को जटिल प्रश्नले गौण बनाएको छ । के यो लोकतन्त्रपछि पनि भारतमा जीवन सम्भव छ ?" अन्तरधारमा यही प्रश्नलाई राखेर भारतका गरबिहरूका कथा भन्न केही वर्षअघि पत्रकार पी साइनाथले एभ्री बडी लभ्स अ गुड ड्रट लेखे । सन् २०११ मा भारतीय लोकतन्त्रकसामु सोही प्रश्न तेस्र्याउन अर्का युवा पत्रकार अमन सेठी अ फ्री म्यान नामको छरतिो किताब लिएर आए।

सवाल गरबिीकै हो । तर, रोयले जस् तो ठाडो प्रश्न गरेका छैनन् सेठीले । कसैलाई गालीको शैलीमा भन्दा नरम शैलीमा प्रस्तुत भएका छन् उनी । साइनाथले जस्तो खसोखास रपिोर्ताज पनि पस्केनन् । बरु यी तन्नेरी पत्रकारले साहित्यिक लेखनको शैली अपनाएर असली पात्रहरूका कथा भने । दिल्लीको सडकपेटीमा जिन्दगी गुजाररिहेको एउटा तन्नम भारतीय नागरकि र उसका केही साथीहरूका दैनिकी उतारे । दिल्लीको बाराटुटी भन्ने बजारको फिरन्ता मजदुर मोहम्मद अस्रफ सेठीको मूल पात्र छ यसमा । अ फ्री म्यानलाई कसैले उपन्यास सम्झेर पढ्यो भने उपन्यासको ट्रयाजिक हिरो हो, अस्रफ ।

बिहारको कुनै गरबिको घरमा जन्मेर ऊ पटना पुग्छ । गरबिीसँगै आउने अनेकन समस्यासँग जुध्दै ऊ मुम्बई, कोलकाता, हैदरावाद, सुरत र दिल्लीका सडकपेटीमा जिन्दगी जिउँछ । १९६६ मा जन्मेको अस्रफ एक जना भलाद्मीको सहयोगले स्कुलको पढाइ सकेर कलेजमा बायोलोजी पढ्न थाल्छ । उसलाई सहयोग गर्ने डाक्टर हुसेन नामका ती भलाद्मीको मृत्यु भएपछि उसको पढाइ टुट्छ । आमा र भाइलाई कोलकातामा छोडेर भागेपछि ऊ मजदुरी गर्न बाध्य हुन्छ । एक्लो र बेठेगानको मजदुरमा परीणत  बायोलोजीको विद्यार्थी मोहमद अस्रफ कहिले टेलिभिजन बनाउने, कहिले मासु काट्ने, कहिले सुटको कपडा काट्ने र कहिले घरमा रंग पोत्ने मजदुर भएर पेट भर्छ । दिल्ली आएपछि ऊ आफूजस् तै यायावर मजदुर लल्लु, रेहान र सतिशसँग दोस्ती गर्छ । उनीहरूसँग बसेर मदिरा पिउँछ, गाँजा खान्छ र बडा स्वादले गफ गर्छ । ऊ कविता जस्ता लाग्ने वाक्यहरू बेलाबेला भनिरहन्छ ः

कुछ तो मजबुरी होगी 

यँु आदमी बेवफा नही होता 

रात के इन्तजार कौन करेँ

दिन मे क्या क्या नही होता ! 

लेखक सेठीले अस्रफलाई दिल्लीको सदर बजारमा भेट्छन् । नजिकै डेरा जमाएर बसेका उनी अस्रफ र उसका साथीसँग संगत बढाउँछन् । बिहान सँगै बसेर चिया पिउँछन् । राती भट्टीम्ाा पसेर देशी सराब पनि उनीहरूसँगै पिउँछन् । यी गरबि मजदुरका अन्तर्वार्ता मात्रै गर्दैनन् सेठी, उनीहरूका हरेक सुखदुःखमा सामेल हुन्छन् । बिरामी पर्दा र बेखर्ची हुँदा पैसा दिएर सहयोग गर्छन् । ती मजदुरका जीवनशैली, जिन्दगी र यो दुनियाँबारेको उनीहरूका बुझाइ र उनीहरूले गर्ने रामरमाइलो सबैको प्रत्यक्ष भोक्ता भएर सेठीले लेेखेका छन्, अ फ्री म्यान उनका फ्री म्यानहरू हुन् अस्रफ, लल्लु र रेहान । भारतका करोडौँ फ्री म्यानहरूका प्रतिनिधि हुन्, यी सबै । 

द ब्लुएस्ट आई उपन्यासमा टोनी मरसिनले उनको पात्रलाई 'डेन्जरसली फ्री'  भनेकी छन् । मरसिनको पात्र जस्तै  'डेन्जरसली फ्री'  हो अस्रफ पनि। ऊ स्वतन्त्र छ तर डरलाग्दो गरी । कारण, उसलाई जे गर्न पनि छुट छ । मर्ने गरी मदिरा खान, बहुलाउने गरी गाँजाको सर्को तान्न, पेटीमा सुत्न, कामलीन र काम छोड्न । आफ्नो किड्नी बेच्न, क्रोधित हुन, दुःखी हुन, हाँस्न, रुन र आफन्त गुमाउन । यी सबै काम गर्न ऊ मुक्त छ । मरसिनको शब्दमा भन्ने हो भने अस्रफ एक्लो छ, उसका साथमा केही छन् भने उसका आफ्नै दृष्टिकोण र रुचिहरू । लल्लु, रेहान र अरु करोडौँ भारतीयहरू यसरी नै एक्लाएक्ला छन् । स्वतन्त्र छन् तर डरलाग्दो गरी । त्यही डरलाग्दोपन किताबको मुख्य मुद्दा हो । 

तर, यस मुद्दालाई उठाउने नाममा सेठी क्रान्तिकारी भएका छैनन् । लेखक कतै पनि बढ्ता भावुक भएको नदेखिनु उनको सफलता हो । नक्कले प्रगतिशीलता देखाउन र आफ्ना पात्रलाई आदर्शवादी बनाउनेतर्फ पनि उनी लागेका छैनन् । सबै पात्रका गुण र अवगुणहरू प्रशस्त लेखेका छन् उनले । तर, बिलकुल पर्यटक जस्तो बनेर तिनका दुःख हेर्ने र त्यसैलाई मसला बनाएर किताब लेख्ने ध्याउन्न मात्रै पनि छैन लेखकको । यस्तो सन्तुलन मिलाउन मुस्कल हुन्छ, जसमा सेठी सफल छन् । 

किताबमा कतैकतै रपिोर्ताज र तथ्यांकहरू पनि छन् ।  फ्री म्यानहरूका कथा भन्ने क्रममा सेठीले भारतको किड्नी व्यापारदेखि भ्रष्टाचारसम्मका पहेलीलाई थोरबहुत उधिन्ने प्रयास गरेका छन् । गरबि मजदुरहरूका किड्नी झिकेर व्यापार गर्ने हस्पटल र डाक्टरहरूको कथा सनसनीपूर्ण लाग्छ । दिल्ली सहरमा सरकारी स्वीकृतिबिना नियम मिचेर घरहरू कति बन्छन् र यसका पछाडि कत्रो कमिसनखोरी छ भन्ने रपिोर्टहरू पनि उति नै चाखलाग्दा छन् । 

 फ्री म्यान आख्यान होइन । तर, रूखो विषयमा लेखिएको बेस्वादे निबन्धहरूको संग्रह पनि होइन । उपन्यास प्रतीत हुने भाषामा लेखिएको भारतका गरबि मजदुरहरूको एक प्रतिनिधि पात्रको पोट्रेट चित्र हो । सरल भाषा र चुस्त सम्पादनका कारण किताब पढ्नलायक बनेको छ । (नेपाल साप्ताहिक)

0 comments:

Post a Comment