Thursday, August 29, 2013

बनारस, वाराणसी र काशी

उज्ज्वल प्रसाइ र देवेन्द्र भट्टराई

बीपी कोइरालाको 'आफ्नो कथा' र 'आत्मवृत्तान्त'बाट जानिएको बनारस । ताना शर्मा र बालकृष्ण पोख्रेलहरूका झर्रोवादको किल्ला भनी सुनिएको बनारस । कमरेड पुष्पलालहरूका जनवादी सूर्यको झुल्के उदाएको बनारस । बीएचयू अर्थात् बनारस हिन्दु विश्वविद्यालयमा संस्कृत पढ्दै गरेका साथीहरूले सुनाउने काशीगाथा । घरका ढोकामा बेलाकुबेला झुल्किने गेरुवस्त्रधारी साधुहरूका संस्कृत उच्चारणमा सुन्दै आएको वाराणसी । र, भारतीय उपन्यासकार पंकज मिश्राले आफ्नो उपन्यास 'रोमान्टिक्स'मा वर्णन गरेको बनारस । यी सबै कहावत र लिखतहरूले बनाएको कोलाज चित्र मस्तिष्कमा बोकेर काशी पुग्नु एउटा विचित्र अनुभव सँगाल्नु रहेछ ।

मिश्राको उपन्यासको मुख्य पात्रले बनारसबारे यसो भनेको छ, 'हिन्दुहरूले पुनर्जन्मको अटुट चक्रबाट मुक्ति पाएर स्वर्गमा आराम गर्ने मनसुवा राखेर सदियौंदेखि धाउँदै आएको यो तीर्थस्थल आजकल व्यापारिक कोलाहलले गुन्जायमान रहने सहरमा परिणत भएको छ ।' यद्यपि भारतीय नवउदारवादी आर्थिक नीतिबाट निःसृत नाफामुखी हल्ला र बाटाका छेउछाउमा पाक्ने बिरयानी सुगन्धका बीच पनि यो पुरानो तीर्थस्थल आफ्ना सबै मौलिक बान्कीहरू सजाएर अहिले पनि उत्तिकै भाइब्रेन्ट छ । साँघुरा गल्ली, पुराना घर र मोहल्ला, साँढेको ताँती, पान, चिया र मिठाई पाइने असंख्य कुनाहरू । सेता, पहेंला र राता धोतीकुर्तामा बेरिएर हिँड्ने पण्डा, पण्डित, पुरेत र धर्मगुरुहरू । यी सबैको निर्बाध यात्रा अहिले पनि उसरी नै जारी छ, जसरी हामीले वषौं पहिलेदेखि जनश्रुतिझैं सुन्दै आएका छौं । 

कुरा भाषासाहित्यको यात्राको सन्दर्भ नै साहित्यिक थियो । नेपालमा राणा शासन रहेका बेला बनारसबाट 'उदय' पत्रिका प्रकाशन गर्ने सम्पादक काशीबहादुर श्रेष्ठको शतवाषिर्की समारोह यात्राको मुख्य उद्देश्य थियो । कार्यक्रमको चाँजो मिलाउने दिल्लीस्थित साहित्य एकेडेमी र संयोजनको भूमिका निर्वाह गर्ने उनै काशीबहादुरका छोरा दुर्गाप्रसाद श्रेष्ठ थिए जो हाल 'उदय'का सम्पादक/प्रकाशक हुन् । 

दुईदिने कार्यक्रममा पेस भएका कार्यपत्रहरूले काशीबहादुरका कृतित्व र व्यक्तित्वलाई अनेकन् रंगमा पोते । हाम्रा लागि धूमिल कााशीबहादुर प्रस्ट भएर प्रकट भए । आफू सिकारु हुँदा नै 'उदय'मा छापिएका कविता र लेखका प्रसंग उल्लेख गरेर भावुक भएका बैरागी काइँला, ताना शर्मा र कमलमणि दीक्षित कार्यक्रमका आकर्षण थिए । आसामबाट हाम फालेर बनारस आइपुगेका केबी नेपाली र छविलाल उपाध्याय, टीकाराम उपाध्यायहरू पनि उचो स्वरमा नेपाली साहित्यको महिमा बताइरहेका थिए ।

वाराणसी विमानस्थलबाट बाहिरिँदै गर्दा साहित्यिक विषयवस्तुको अनुमान लगाइँदै थियो । अनुमान यस्तो थियो- सबभन्दा बढ्ता कुरा हुन्छ नेपाली भाषाको । नेपालभित्र नेपाली भाषा किलर-ल्यांग्वेज अर्थात् 'हत्यारो भाषा' भनी विश्लेषण हुन थालेको भए पनि आसाम, मणिपुर, दार्जिलिङ, सिक्किमलगायतका ठाउँमा छरिएर बसेका नेपालीभाषीहरूका लागि त यही भाषाकै कुरा सबभन्दा बढ्ता महत्त्वको हुन्छ । 

भाषाका बारे यस्तै केही सोच्दै गर्दा हामीसँगै रहेका पत्रकार गिरीश गिरी आफ्नो जन्मथलो वीरगन्ज र वनारसबीच समानता खोज्न थालेका रहेछन् । हावापानी मिलेकाले होला उनी नोस्टाल्जिक बने, कविझैं । त्यसमाथि हामी बसेको गाडी गुडाइरहेको चालकले फ्याट्ट भोजपुरी भाषा बोल्यो । गिरीशको नोस्टाल्जिया अझ बाक्लियो । उनी चालकसँग भोजपुरी भाषामा एकछिन गफिए । यो भाषा र ठाउँसँग जोडिएको एक सिरियस इपिसोड थियो । दोस्रो इपिसोड रचियो, होटल पुगेपछि । डायमन्ड होटल । होटलमा कोठा मिलाउने बेलामा आलोचक कुमार कोइराला अर्थात डा. कुकोले भने, 'भाइ हाम को अकेला सुत्ने का कमरा मिलादो । हाम ज्यादा घुर्ते हें, दुस्रोका डिस्टर्ब होगा ।' अब पर्‍यो फसाद । त्यो होटलवाला डा. कुकोलाई छक्क परेर हेर्न थाल्यो । कुरो कसरी गडबड भयो भने हिन्दीमा 'घुर्नु' भनेको एकोहोरो हेर्नु हो । त्यो बिचरो सोच्दो हो, यो नेपालबाट आएको कवि कस्तो होला जो रातभरि जागै बसेर सँगै सुतेको अर्कोलाई एकोहोरो हेरिरहन्छ । एकछिनपछि कसैले कुकोलाई ठीक शब्द सुझायो । उनले फेरि भने, 'हाम घुर्ते नही भइया, खर्राटे मार्ते है रातभर...।' हिन्दी लवज र भाषा बोल्नुपर्दा लिङ्गवाचक संज्ञाको बुझाइमा आफू कमजोर भएको स्विकार्ने अभि सुवेदी नजिकै मुसुमुसु मुद्रामा थिए । पछि दोबाटे आलुचप खाइरहेका बेला उनले ढुक्कको स्वरमा भने, मेरोजस्तै हिन्दी बोल्नुपर्दा डा.कुकोको पनि लिङ्गवाचक बुझाइ निकै कमजोर रहेछ । 

सारीको साइनो लखनउको भुलभुलैयाजस्तो लाग्ने बनारसका गल्लीहरूमध्ये पनि दिनरात भीड रहने दूधविनायकको एक चियापसलमा उभिएर चिया पिइरहेका बेला भेटिए, भुरेभाइ । बनारसमा जन्मे, हुर्केका बिहारी मूलका भुरेभाइलाई दोहोर्‍याएर सोध्दा पनि उनी भनिरहेका थिए, मेरो नामै भुरेभाइ !

प्रकाशित मिति: २०६८ कार्तिक १९ १०:५६ (कान्तिपुर दैनिक )

0 comments:

Post a Comment