Thursday, August 29, 2013

सशक्त कविको सशक्त संग्रह

Book Review: 100 Poems by Faiz Ahmed Faiz (English Translation)

नयाँदिल्लीस्िथत जवाहरलाल नेहरू विश्वविद्यालय -जेएनयू)का बगैँचा डुल्दा त्यहाँका रंगीन भित्ताले ध्यानाकृष्ट गररिहन्छन् । आकर्षक कार्टुन चित्रका साथमा लेखिएका कविताका पंक्तिहरू त्यस प्राज्ञिक थलोको इज्जत उँचो बनाउने चिन्ह हुन् । ती चित्र र कविताका पंक्ति कुनै व्यावसायिक चित्रकारको ख्यातिका निम्ति लेखिएका होइनन् । बरु विश्वविद्यालयका विद्यार्थी संगठनहरूले विभिन्न मुद्दामा रहेका आफ्ना असहमति पोख्न त्यसरी भित्ता रंगाएका हुन् । आफ्ना विचार राख्न तिनले पाब्लो नेरुदा, अवतार सिंह पास, साहिर लुधियानवीलगायत कविका पंक्तिहरू उद्धृत गरेका छन्, भित्तामा । त्यहाँ उद्धृतमध्ये उर्दूका मूर्धन्य कवि फैज अहमद फैज पनि एक हुन् । 

हुन त फैजलाई धेरैले उद्धृत गर्छन् । उनका गजल पनि धेरैले गाएका छन् । पत्रपत्रिकामा फाट्टफुट्ट पढेका चोटिला कवितांशमार्फत नै फैजको परचिय पाएको हो यस पंक्तिकारले । अंग्रेजी म्यागेजिन हिमाल साउथ एसियाले गत वर्ष प्रकाशन गरेको फैज विशेषांक पढ्नुअघिसम्म उनका कविताका हरफ याद रहे पनि उनी को हुन् भन्ने स्पष्ट थिएन । फैज विशेषांक पढेलगत्तै उनको कवितासंग्रह खोजेर पढियो तर उर्दू भाषाको राम्रो ज्ञान नभएकाले सबै कविता बुझ्न कठिन भयो । त्यसैले खोजी थियो, अंग्रेजीमा अनूदित उनका कविता संग्रहको । जेएनयूका भित्तामा उनका पंक्ति पढेपछि दिल्लीमा अंग्रेजी अनुवाद खोज्दै जाँदा फेला पर्‍यो, हन्ड्रेड पोएम्स बाइ फैज अहमद फैज । 

सर्वत रहमानले उर्दूबाट अंग्रेजीमा अनुवाद गरेका फैजका एक सय कविता र गजलको संग्रह हो यो । तर, पुस्तकमा उर्दूमै पनि उनका कविता राखिएका छन् । सन् १९४१ देखि १९८१ सम्म प्रकाशन भएका उनका कवितासंग्रहहरूबाट छानेका कविता यसमा समावेश छन् । विभिन्न आठ संग्रहबाट लिइएका कविता रचना मिति अनुसार क्रमैसँग मिलाएर शृंखलाबद्ध गरएिका छन् । त्यसैलेे यो संग्रह पढ्दै गर्दा फैजको कविता लेखनको विकासक्रम पनि बुझिन्छ । उनी तन्नेरी हुँदा लेखेका कवितामा व्यक्त वैयक्तिक प्रेम र ऐकान्तिकताका विषयदेखि उनले आखिरी समयमा समग्र मानव जातिको हितका लागि लेखेका कविताका फरकपना पनि यस संग्रहबाट स्पष्ट हुन्छ । त्यसैले उर्दू वा हिन्दी भाषामा दखल नभएका तर अंग्रेजी बुझ्न सक्ने पाठकका लागि संग्रहणीय कृति हो, हन्ड्रेड पोएम्स बाइ फैज अहमद फैज । 

अनुवाद सधैँ फितलो हुन्छ । त्यसमाथि कविता अनुवाद गर्नु ठूलो चुनौती पनि हो । उर्दू र अंग्रेजी दुवै भाषामाथि पंक्तिकार पारंगत नभएकाले रहमानको अनुवादमाथि टिप्पणी गर्नु पनि झन् ठूलो चुनौती हो । त्यसैले अनुवादको स्तर मापन गर्नतिर नलागौँ । तर, 'फुटनोट' -पाद टिप्पणी)मा उर्दू शब्दका हिन्दी अर्थ दिइएका दुई संग्रह पढिसकेपछि अंग्रेजी अनुवाद पढ्दा भने अनुवाद नै पढ्न सजिलो भन्ने लाग्छ । यद्यपि, हिमाल साउथ एसियाको आलेखमा फैजका नाति अलि मदिह हास्मीले गरेको 'बोल' कविताको एउटा अंशको अंग्रेजी अनुवाद रहमानको भन्दा छरतिो र बढी स्वादिलो लाग्यो । यसरी हेर्दा कति कविता शाब्दिक अनुवादका सिकार भएका हुन् कि भन्ने प्रतीत हुन्छ । 

कुन कविता कत्तिको शाब्दिक अनुवादमा परेर बिगि्रयो भनेर खोज्नुभन्दा फैजका कविताको शक्ति महसुस गर्नु यस समीक्षाको ध्येय हो । उनले सुरुवातमा लेखेका कविता प्रेम, सौन्दर्य र प्रेमिकाको मुहार आदिमा केन्दि्रत थिए । सन् १९४१ मा प्रकाशित कृति नक्स ए फरियादीमा संग्रहित आधाभन्दा बढी कविता यिनै विषयवस्तुमा लेखिएका छन् । तिनै कवितामध्येको एक पंक्तिले उनले सुरुमा लेखेका कविताको परचिय दिन्छ ः 

लौट जाती है इधर को भी नजर क्या की जे 

अब भी दिलकश -आकर्षक) है तेरा हुँ मगर क्या की जे ?

तर, जसै उनको उमेर बढ्दै जान्छ, उनका कविताका विषयवस्तु फराकिला र गहन हुँदै जान्छन् । यसलाई पुष्टि गर्दै फैजका नाति हास्मीले फैज विशेषांकमा लेखेका छन्, 'गालिबले २० देखि ३० वर्षको हुँदासम्म लेखेका कविता सबभन्दा उम्दा छन् । तर, फैजले युवाकालमा लेखेका कविताको तुलनामा वयस्क भएर लेखेका कविता बढी खारएिका र शक्तिशाली छन् ।'

सन् १९३४, जुनबेला फैजले कलेजको पढाइ पूरा गरे, त्यसबेला कला कलाका लागि भन्ने दर्शनले कवि-साहित्यकारलाई निकै प्रभाव पारेको थियो । उक्त दर्शनको विरोध गर्दै स्थापना गरएिको प्रोग्रेसिभ राइटर्स एसोसिएसन -पीडब्लूए)को लखनउमा भएको सम्मेलनमा भाग लिएर फर्केपछि भने उनको कविताका विषयवस्तुले युवाकालको प्रेम र ऐकान्तिकताबाट 'बोल'जस्तो क्रान्तिकारी कवितामा छलाङ मारेको थियो । 'बोल' शीर्षक दिएर सन् १९३६ मा उनले लेखे ः 

बोल, के लब आजाद हैँ तेरे

बोल जबाँ अब एक तेरी है ।

...

बोल, येः थोडा वक्त बहुत है 

जिस्म ओ जबाँ की मौत से पहले 

बोल, केः सच जिँदा है अब तक 

बोल, जो कुछ कहना है कह ले ।

फैजका कवितामा आक्रोश, विद्रोह र व्यंग्य हुन्छन् । उनी परविर्तनका पक्षमा आवाज उराल्छन् । तर, उनी कुनै बोझिल शब्द वा 'जार्गन'को प्रयोग गर्दैनन् । कोमल विम्ब र मधुर लयमा उनेर आफ्ना कवितालाई शक्तिशाली बनाउनु नै फैजको विशेषता हो । उनका पंक्तिले सबभन्दा पहिले हृदयको तारलाई झङ्कृत तुल्याउँछ र सुस्तरी मस्ितष्कमा कम्पन छुटाउँछ । जस्तो ः सन् १९५३ मा अमेरकिी सरकारले जुलियस र एथेल रोजेनवर्ग नामका दुई जनालाई सोभियत संघले खटाएका सुराकी भएको आरोप लगाएर हत्या गर्‍यो । त्यसमाथि फैजले कविता लेखे । अन्यायको विरोधमा लेखिएको यो कवितालाई समेत उनले सुन्दर गीतको रूप दिए, मारएिकाहरूप्रति गम्भीर र कोमल भाव प्रकट गरे । उनले लेखे ः 

हम जो तारिक राहोँ मे मारे गए । 

इजरायली लडाकू हेलिकप्टरले जतिबेला निहत्था प्यालेस्टाइनी बालबालिकामाथि बम वषर्ा गर्‍यो, त्यसबेला पनि फैजले कविता लेखे । बमको बदलामा उनले इजरायली शासकलाई गाली बर्साएनन् । बरु लेखे ः 

मत रो बच्चे

रो रो के अभी 

तेरी अम्मी की आँख लगी है 

मत रो बच्चे 

कुछ ही पहले 

तेरे अब्बा ने 

अपने गम से रुखसत ली है ।

फैज केवल पाकिस्तानका कवि होइनन् । उनी सिंगो दुनियाँका कवि हुन् । त्यसैले जेएनयूका भित्तामा होस् या नेपालबाट प्रकाशित हुने पत्रिकामा, उनलाई यथेष्ट सम्मान दिने मान्छेको कमी छैन । उनलाई पढ्न नभ्याएका नेपाली पाठकका लागि उर्दूसमेत समावेश गरएिको हन्ड्रेड पोएम्स बाइ फैज अहमद फैज संग्रहणीय छ । (नेपाल साप्ताहिक)


0 comments:

Post a Comment