Tuesday, February 13, 2018

त्यो सिनेमा, जसले किताबसम्म पुर्‍यायो

उज्ज्वल प्रसाईं

फिल्म अनुभूति

कथा र उपन्यासका केही पात्रहरु छन्, जसको बारम्बार सम्झना आइरहन्छ। कहिले ती आफूले देखेका वा संगत नै गरेका जस्ता पात्र हुन्छन्। कहिले ती समाजका यस्ता प्रतिनिधी पात्रहरु हुन्छन्, जसलाई सडक र महलहरुमा यदाकदा भेटिन्छ। अरु त अरु, हर्मन मेलभिल्लेको ‘बार्टलबी, द स्क्रिभनर’ कथाको बार्टलबी भन्ने अनौठो पात्रजस्ता मान्छे पनि भेटिन्छन्।

तर, महाश्वेता देवीका उपन्यास र कथाहरुमा भेटिने पात्रहरु भने सबैभन्दा धेरै सम्झनामा आइरहने पात्रहरु हुन्। द्रौपदी हुन् वा मास्टर साहेब वा चोट्टी मुन्डा नै किन नहन्, यी सबै पात्र मैले देखिरहेका पात्र जस्तै लाग्छन्। यिनले व्यहोरेका कहर, गरेका संघर्षहरु र हाम्रो समाजमा सीमान्तका मानिसहरुले भोगेको जिन्दगी मलाई उस्तै लाग्छन्। यस्ता जीवन्त मानिसहरुसँग परिचय गराउने महाश्वेतासम्म भने म सिनेमाको माध्यमबाट पुगेको हुँ। उनको उपन्यास ‘हजार चौरासीकी मा’लाई गोविन्द निहलानी जस्ता प्रतिभाशाली निर्देशकले सिनेमा बनाए। यो सिनेमा हेर्न नपुग्दो हुँ त मैले महाश्वेतालाई सम्भवतः अहिलेसम्म पढेको हुँदैन थिएँ।

सन् १९८० को दशकको पछिल्लो समय र ९० को दशकभरि झापाजस्तो तराईको जिल्लामा निम्न मध्यम परिवारमा हुर्केको मान्छेका लागि सिनेमाको सबभन्दा नियमित स्रोत के हुन्छ? भारतको सरकारी टेलिभिजन च्यानल दुरदर्शन अर्थात् ‘डिडि वान’ बाहेक अरु हुन सक्दैन। बुझ्ने भएपछि सबैभन्दा बढी सिनेमा त्यही च्यानलमा हेरियो। शुक्रबार र शनिबार रातरातभरि बसेर, लामा लामा ‘व्यापारिक विश्राम’ झेल्दै थुप्रै सिनेमा हेरियो। केही काम गर्दा बीचमा विश्राम लिनुप¥यो भने पनि ‘ब्रेक के बाद’ भन्ने बानी लाग्यो। धेरैपछि खुब एन्टेना हल्लाएर, धुमधाम बुस्टर जोडेर, ठूलो हैरानी व्यहोरेपछि मात्रै नेपाल टेलिभिजनको दर्शन पाइएको थियो। त्यसपछि एनटिभीमा शनिबार दिउँसो आउने हिन्दी सिनेमा हाम्रो रुटिनमा थप भएको थियो। त्यसरी सिनेमा हेर्न थालेपछि अमिताभ बच्चन, रेखा, जय भादुरी, धर्मेन्द्र, गोविन्दा जस्ता मानिसहरु आफ्नै परिवारका सदस्य जतिकै नजिकका लाग्न थाले। तिनले देखाएका बहादुरी हाम्रा पनि सपना बन्न थाले। समाजमा भेटिने अनेक मानिसहरुलाई तिनै हिरो र भिलेनहरुसँग दाँज्न थालियो। बोलिचाली, रहनसहन, व्यावहारिक जिन्दगी सिनेमाले नै निर्देशित गर्न थाले।

‘कुछ कुछ होता है’ सिनेमा रिलिज भएपछि, हाम्रा हातमा ‘फ्रेन्डसिप ब्यान्ड’ आइपुगे। ‘हम आप के है कौन’ चलेपछि विवाहमा सालीहरुले भिनाजु–बेहुलाका जुत्ता लुकाएर मोलमोलाई गर्न थाले। ९० को दशकमा बनेका फिल्ममा गुञ्जिने कुमार सानुको नाके स्वरमा भाका हाल्दै कुखुरे वैंश बिताएका मेरा थुप्रै दौंतरीहरुलाई यो संस्मरण आफ्नै संस्मरण जस्तो लागेको होला। अलि वर्षपछि मेरा केही साथीहरु उदित नारायणको स्वरमा स्वर मिलाएर प्रेम र विछोडका गीत गाउन थाले।

गोविन्द निहलानीसँग परिचित हुन धेरै समय लाग्यो। कलेज जान थालेपछि विद्यालयका मेरा गुरु सैलेश दाहाल मेरा सबैभन्दा हितैषी साथी भए। उनीसँगको संगतपछि मात्रै हो, फरक खाले सिनेमा हेर्न थालेको। तिनताका धेरै पत्र पत्रिका पढ्ने भइयो। नेपालका प्रायः सबै नेपाली पत्रिका पढ्ने, अंग्रेजीका ‘द काठमाण्डु पोष्ट’ र बंगालको ‘द स्टेट्सम्यान’ ल्याएर पढ्न थालियो। विस्तारै ‘अर्थ’, ‘फायर’, ‘पार’ जस्ता सिनेमाबारे पढ्न थालें। ती सबै सिनेमा सहजै उपलब्ध हुँदैनथे। डिडि वान र नेपाल टेलिभिजनले यस्ता सिनेमा देखाएको खासै सम्झना छैन। यदाकदा देखाए भने पनि, पट्यारलाग्दो भनेर पन्छाइयो होला। वा हेर्दाहेर्दै निदाइयो होला। समाजमा रहेका अनेक द्वन्द्व र तिनले सामान्य मान्छेको जीवनमा पारेको प्रभाव खुट्याउन सक्ने भएपछि मात्रै त्यस्ता सिनेमाको आस्वादन सम्भव हुन्छ होला।

जे होस्, साहित्य र अखबार पढाइको रफ्तार विस्तारै बढ्दै जाँदा, गैर–बजारु सिनेमामा रुचि जाग्न थालेको हो। त्यसै समयमा भारतको सिलिगुडीमा खुलेको संगीत र सिनेमाको चेन स्टोर ‘म्युजिक वल्र्ड’को नियमित ग्राहक भयौं, शैलेस सर र म। महिनाभरि पैसा जोहो गरेर केही किताब र सिनेमा खरिद गर्ने क्रम बढ्यो। पहिले घरमा सिनेमा हेर्नका लागि सिडी प्लेयर उपलब्ध थिएन, कतै भाडामा खोजेर वा अरुसँग मागेर त्यस्ता केही सिनेमा हेरेका थियौं। त्यसबेला सम्म पनि ‘हजार चौरासी की मा’ फेला पारिएनछ। वा, त्यसबारेमा कतै केही सूचना नपाएर हाम्रो छनौटमा त्यो सिनेमा परेन।

झापामा बी.ए. पढेर काठमाडौं आएपछि कुनै सन्दर्भमा ‘हजार चौरासी की मा’बारे सुनें। यहाँ सिनेमा खोज्दा पाइएन। तर, सो सिनेमाबारे लेखिएका प्रशस्त समीक्षा र केही गम्भीर आलेखहरु समेत पढें। विदामा घर गएका बेला उनै सैलेश सरसँग ‘म्युजिक वल्र्ड’ चाहारेर सो सिनेमाको सिडी खरिद गरियो। त्यसबेलासम्म डिभिडी चल्न थालिसकेको थियो तर, त्यहाँ सिडी नै फेला प¥यो। ठूलो प्रतीक्षा र मिहिनेतपछि मात्रै सो सिनेमा हेर्ने मेसो मिलेको थियो। सिनेमा हेरेपछि महाश्वेता देवी नामकी बंगाली लेखकबारे थप बुझ्ने र उनका रचना पढ्ने भोक जाग्यो। त्यसपछि फेला परेजति उनका किताबहरुका हिन्दी र अंग्रेजी अनुवादहरु पढ्न थालें। अहिले सम्झन्छु, बंगालको बोर्डरमा हुर्केर बंगाली भाषा सिक्ने किन कुनै हुटहुटी जागेन होला? नत्र देवीजस्ता राम्रा बंगाली लेखकका मूल कृति मजाले पढ्न सकिन्थ्यो। त्यसो त, राजवंशीहरुले बनाएको बस्तीमा हुर्केका हामीले राजवंशी भाषा नै सिक्ने चासो पनि कहाँ देखायौं र?

जे होस्, महाश्वेता देवीका कृतिहरुप्रति लगाव बढाउने काम सिनेमाले नै ग¥यो। एम.ए.को कोर्समा गायत्री चक्रवर्ती स्पिभाकले अनुवाद गरेको ‘द्रौपदी’ कथा पढ्दाको क्षण अहिले पनि झल्झली सम्झना आउँछ। ‘हजार चौरासी की मा’ले बंगालका किसानलाई वर्ग संघर्षमा होमेर उनीहरुलाई विभेदबाट मुक्त गर्ने सपना साकार पार्न संलग्न मध्यमवर्गीय मानिसहरुका कथामा मलाई रुचि जगायो। त्यसपछि मैले नक्सलवारी सम्बन्धी केही किताबहरु खोजेर पढें। त्यही क्रममा सुमन्त बेनर्जीजस्ता अंग्रेजी भाषामा लेख्ने बंगाली लेखकहरुसम्म पुगें।

यो फिल्म एक अर्थमा मध्यम वर्गीयको कथा हो। सतहमा सुखी देखिएको परिवारको छोरो बत्री आन्दोलनको क्रममा मारिएपछि, आमा सुजाताले गरेको खोजले विस्तारै मध्यम वर्गको ढोंगको बोक्रो उप्काउन थाल्छ। सुखसयल र उपभोगको सफेद पर्दाभित्र चटाचट छिन्न लागेका सम्बन्धहरुका जटिलता र पहेली बाहीर ल्याउँछ। त्यति सामान्य कथाबाट यतिविघ्न मिहिन सामाजिक सम्बन्धको गाँठो फुकाउन सकिन्छ भन्ने गतिलो उदाहरण रहेछ ‘हजार चौरासी की मा’। सिनेमाको पृष्ठभूमिमा नक्सलवारी आन्दोलन छ तर आन्दोलनको प्रभाव देखाउने नाममा सिनेमामा कुनै ‘लाउड’ दृष्यहरुको बलजफ्त प्रयोग गरिएको छैन। एकरेखीय जस्तो लाग्ने सिनेमाको प्लटले सामाजिक र आर्थिक व्यवस्थाले मानवीय सम्बन्धहरुमा पारेका मिहिन प्रभावका अनेक पत्र उजागर गरेको छ। मध्यम वर्गीय परिवारमा महिलाको अवस्थादेखि व्यक्तिको मानवीयताबाट पलायनको कथा भन्न भ्याउने यो सिनेमा हेरुञ्जेल उत्पात जटिल लाग्दैन। सरल कथाले सिनेमामा लगाव भएका दर्शकलाई विश्लेषण गर्ने र अर्थ खुट्याउने प्रशस्त ठाउँहरु छोडिदिएको छ। 

‘हजार चौरासी की मा’ जस्ता केही सिनेमा हेरेपछि लाग्यो, सजिलो सूत्रमा जीवनलाई ढाल्ने उपक्रमले मनोरञ्जनसम्म दिन सक्छ। त्यसले सामान्य मानिसहरुमा गहिरो प्रभाव पार्न सक्छ र बजार विस्तारलाई सघाउन पनि सक्छ। तर, दर्शकहरुको सोच्न सक्ने क्षमतालाई दोहन गर्न भने सक्दैन किनभने त्यस्ता सुत्रबद्ध सिनेमामा खासै सोच्नुपर्ने ठाउँ नै हुँदैन। एकै झलकमा सर्लक्क देखिने भित्ताको सपाट चित्र जस्तो मात्र हुँदो रहेछ सजिला सूत्रमा उनिएका सिनेमाहरु। एउटा ‘फ्रेन्डसिप ब्यान्ड’ले मित्रताका अनेक आयामबारे घोत्लिने लेठोलाई सजिलै पन्छाउँदो रहेछ। तर ‘हजार चौरासी की मा’की पात्र सुजाताले गरेको सामान्य खोजले सबै कुरा मुखर रुपमा भन्दैन, केही मौनताका विन्दुहरु यसै छोडिदिन्छ। तिनै ‘साइलेन्सेज’मा म जस्ता दर्शकले कथाको आड लिएर आफैंसँग र समाजसँग संवाद गर्ने छुट पाउँदो रहेछ।

यो सिनेमा हेरेको केही समयपछि काठमान्डुमा आयोजना गरिएको फिल्म फेस्टिभलमा निर्देशक गोविन्द निहलानी र यही फिल्ममा अभिनय गरेकी नन्दिता दासलाई सुन्ने मौका पाएँ। सिनेमाबारे मेरो बुझाईमा उनीहरुका विचारले केही स्पष्टता थपेको छ। त्यसपछि समाजसँगको मेरो संवादलाई नन्दिताले बनाएको ‘फिराक’ जस्ता फिल्मले अझै सघाइरहेको छ। त्यही जीवन्त संवादका लागि म निरन्तर महाश्वेता देवीका कथाहरु पढिरहेको छु, नन्दिताका लेख र भाषणहरुमा चाख मानिरहेको छु, र उनैले लेखक सहादत हसन मन्टोमाथि बनाएको सिनेमाको पर्खाइमा बसिरहेको छु।

प्रकाशित मिति: शनिबार, बैशाख १६, २०७४ ११:१२:०८

सेतोपाटी डिजिटल पत्रिकामा प्रकाशित

0 comments:

Post a Comment