Sunday, February 11, 2018

कोंगुभाषीको धुमिल चित्र

उज्वल प्रसार्इं

पुस्तक : वान पार्ट अफ वुमन
लेखक : पेरुमल मुरुगन
प्रकाशक : पेन्गुइन बुक्स
मूल्य : २९९ भारु

तमिल लेखक पेरुमल मुरुगनका दुई उपन्यास ‘वान पार्ट अफ वुमन’ र ‘पायर’ले तमिलनाडु राज्यका कोंगुभाषी क्षेत्रका साना गाउँहरूको चित्र खिच्छन् । गाउँ प्रकृतिको नजिक हुन्छ त्यसैले शान्त र सुन्दर देखिन्छ । हरिया जंगल र खेतका फाँटहरूले जीवनको रंग भरेर गाउँलाई जीवन्त देखाएका हुन्छन् । तर, सतहमा सुन्दर देखियो भन्दैमा गाउँ सग्लो सुन्दरताको प्रतीक नहुन सक्छ ।

भावुकतावश गाउँको महिमा गाउँदै गर्दा त्यो अन्धविश्वास, पछौटेपन र निरस एकोहोरोपनाको नमुना पनि हो भन्ने भुसुक्कै बिर्सन सकिन्छ । आधुनिक शिक्षाको प्रभावमा नपरेका निर्दोष र कुनै कपट नभएका मानिस हुन सक्छन्, गाउँमा । तर, त्यहाँ चर्को वर्गीय, जातीय र लैंगिक विभेद पनि सँगै हुन्छन् । यी दुवै उपन्यासमा गाउँको अनुहार सुन्दर देखिन्छ तर गर्भमा विभेदको अमानवीय कुरूपता उनिएको छ ।

‘वान पार्ट अफ वुमन’ मुरुगनको ‘मधुरोबागन’ नामको तमिल उपन्यासको अंग्रेजी अनुवाद हो । एउटा सानो गाउँका विवाहित जोडीको प्रेमको सुललित व्याख्यासँगै बच्चा पाउन नसकेका कारण उनीहरूले भोग्ने असीम पीडाको वर्णन उपन्यासको मुख्य पाटो हो । बच्चा जन्माउन नसक्नु महिलाको ठूलो अपराध हो र पत्नीलाई बच्चा पाउने बनाउन नसक्नु पुरुषको अक्षम्य कमजोरी हो भनेर बुझेको गाउँ आफै‌ प्रेमको विरोधी देखिन्छ । काली र पुन्नाबीच गहिरो प्रेम छ । तर, त्यसले मात्र उनीहरूको जीवन सुखमयी बन्न सक्दैन ।

रातदिनको टोकेसो र जुनसुकै सन्दर्भमा पनि त्यही ‘अक्षमता’माथि गरिने निरन्तर प्रहारले उनीहरूलाई थिलथिलो बनाउँछ । कसैगरी उनीहरू यो संकटबाट पार पाउन चाहन्छन् । र, बच्चा नपाउनु आफ्नो दोष नभएको निष्कर्षमा पनि बेला–बेलामा नपुग्ने होइनन् । तर, आफन्त, छरछिमेक र सिंगो समाजले गरेको अटुट प्रहारले उनीहरूको त्यो आत्मविश्वास भत्किन्छ । अन्धविश्वासी जालोले उनीहरूलाई बेस्सरी बेरेपछि गाउँका कुनै मन्दिर छाड्दैनन्, गलका कुनै देवतालाई प्रसाद चढाउन छुटाउँदैनन् ।

ज्यानै जाने खतरा मोलेर पनि तपस्या गर्छन् तर केही पार लाग्दैन । अन्ततः गाउँमा लगाइने ठूलो एक मेलामा पुन्नालाई पठाउने निर्णय गर्न पुग्छन्, उसकी आमा, सासू, र दाजु । मेलामा भेट हुने हरेक लोग्ने मानिस देवता हो र उसैसँग संसर्ग गरेपछि गर्भधारण हुन्छ भन्ने विश्वास गर्ने धर्मभीरु परिवारले पुन्नालाई त्यहा“सम्म पुर्‍याउँछ । यही विन्दुमा काली र पुन्नाबीचको सम्बन्धमा चिसोपन बढ्ने संकेत गरेर उपन्यास टुंगिन्छ । अर्थात्, सबैभन्दा नजिकका आफन्त र सिंगो समाजले कुरूप अन्धविश्वास र विभेदपूर्ण सामाजिक सम्बन्धलाई कायम राख्दै प्रेमको निरन्तरता भंग गरिदिन्छन् । अर्को उपन्यास ‘पायर’ तामिल मूलभाषामा ‘पोक्कुजी’ नाममा प्रकाशित छ, जसमा पनि काली र पुन्नाजस्तै एउटा जोडी छ, प्रेममा ओतप्रोत । यो अन्तर्जातीय प्रेम हो ।



पुस्तक : पायर
लेखक : पेरुमल मुरुगन
प्रकाशक : पेन्गुइन बुक्स
मूल्य : ३९९ भारु



गाउँबाट नजिकैको सानो शहरमा सोडा पसलमा काम गर्ने कुमारेसन र पसल छेउमा डेरा गरी बस्ने मोची परिवारकी छोरी सरोजाका बीच विस्तारै प्रेम झाँगिन्छ । पहिले यसो हेराहेर मात्रै हुन्छ । विस्तारै कुमारेसनमा सरोजालाई देख्ने उत्सुकता बढ्दै जान्छ । एकअर्काको धेरैपटक आँखा जुधेपछि, इसारामा कुराकानी हुन्छ । गर्दै, भन्दै जाँदा प्रेम सञ्चार हुन्छ । प्रेमले जातको जकडबन्दी मान्दैन । उनीहरू विस्तारै एकअर्कासँग अत्यन्तै नजिक हुन्छन् । एक दिन विवाह गर्ने निर्णय गर्छन् । कुमारेसनले सरोजालाई भगाएर गाउँ लैजाने र एक्ली आमासँगै राखेर जीवनयापन गर्ने निधो गर्छ । उनीहरू भागेर जसै गाउँ पुग्छन्, सिंगो गाउँले सरोजाको जात सोध्छ ।

असली जात बताउँदा कुमारेसन र सरोजाले सँगै जिन्दगी जिउने कल्पना पनि गर्न सक्दैनन् । जात ढाँटेर जिउने असफल प्रयास गर्छन् । अनेक हण्डरबीच उनीहरूको प्रेममा कमी आउँदैन । सिँगो गाउँले उनीहरूको परिवारसँग बोलीचाली र लेनदेन बन्द गर्छ । उनीहरूलाई पूरै एक्ल्याउँदा पनि कुमारेसन र सरोजा सँगसँगै बाँधिएर बस्छन् । एकअर्काबाट छुट्दैनन् । सरोजाले धेरैपटक असह्य भएर माइती फर्किने जिकिर गर्दा कुमारेसन विस्तारै सबैले स्वीकार्छन् भन्ने आशा देखाइरहन्छ । आमा दिनरात सरोजालाई सरापेर बस्छिन् ।

छोरासँगको सम्बन्धमा न्यानोपन घट्दै जान्छ । यति हुँदा पनि उनीहरू छुट्टिँदैनन् । विस्तारै असली जात पत्ता लाग्छ, लोग्ने घरमा नभएको मौका छोपेर गाउँभरिका पुरुष सरोजालाई मार्ने षडयन्त्र गरेर ऊमाथि प्रहार गर्न जम्मा हुन्छन् । गाउँको यो आपराधिक उपक्रममा सरोजाकी सासू साथमै हुन्छिन् । एकातिर, नपुंसकतालाई अपराध करार गरिएको छ, अर्कातिर अन्तरजातीय विवाहलाई वर्जित मानिएको छ । बाख्रा पालेर, सामान्य खेती किसानी गरेर बस्ने मानिस पितृसत्ता र जात व्यवस्थाले निर्धारित गरेको सामाजिक सम्बन्धमा नराम्ररी जेलिएका छन् ।

जात व्यवस्था कायम गर्न, अन्धविश्वासको रक्षा गर्न र पितृसत्तालाई बचाउन उनीहरू ठूला अपराध गर्न पछाडि हट्दैनन् । खास सम्बन्धभन्दा पर अंकुराएको प्रेमको बीउ मास्नु नै धर्म हो भन्ने बुझेका छन् र त्यसभन्दा फरक सोच्न सक्दैनन् । दुई उपन्यासमा देखिएका यी दुई गाउँ लगभग उस्तै छन्, तिनका दुःखहरू उस्तै छन्, तिनले आफ्नो गर्भमा बोकेको त्रासदी पनि उही हो । ती नेपालकै गाउँजस्ता लाग्छन् ।

पेरुमलले बडो सरल कथा भनेर गाउँको सामाजिक र सांस्कृतिक असमान सम्बन्धको पहेली खुट्याएका छन् । प्रेमको वर्णन गर्ने उनको जस्तो प्रतिभा धेरै लेखकमा हुँदैन । प्रेमबारे लेख्ने जिम्मा लिएको दाबी गर्ने बजारु चेतन भगतहरू सतहमा दौडिन्छन् । पेरुमलहरूले कोमलतासाथ प्रेमपूर्ण सम्बन्धको उहापोह देखाउन सक्छन् । जब, विभेद र अन्धविश्वासले सिर्जना गर्ने द्वन्द्वमा फँस्छन् उनका पात्र, तिनको छटपटी र पीडाको चित्रण गर्न पनि उनी उत्तिकै सफल छन् ।

शब्द खिपेर कोंगु क्षेत्रका गाउँमा कहिल्यै नपुगेका पाठकका आँखामा गाउँका दुरुस्तै चित्र उतार्ने सीपमा जोसुकै पोख्त हुँदैन । सामाजिक संरचनाका जटिलता उधिन्ने र बडो सरल भाषा र कथ्यमा ती जटिलतालाई भन्न सक्ने कौशल भएका पेरुमल आफैंमा तमिल साहित्यका अथक शोधकर्ता पनि हुन् । उनले त्यस विषयमा विद्यावारिधिसमेत गरेका छन् । समाजमा रहेका पछौटेपन र अन्धविश्वास कसरी प्रेमद्वेषी हुन्छन् भन्ने दुवै उपन्यासले उजागर गरेका छन् ।
‘मधुरोबागन’ उपन्यास लेखेकामा उनलाई हिन्दुवादीहरूले दिनुसम्म दुःख दिए । उनको उपन्यासले पुरस्कार पाएर चर्चा बढेसँगै अनेक धम्की आए । हिन्दु देवी, देवताको बद्नाम गरेको, हिन्दु समाजमा विकृति फैल्याएको जस्ता अनर्गल आरोप लगाएर घरै छाड्न बाध्य पारियो । आजित भएर उनले एकदिन फेसबुकमार्फत् लेखक पेरुमल मुरुगनको मृत्यु भएको र आइन्दा केही नलेख्ने घोषणा गरे । स्वतन्त्र लेखन र चिन्तनको समर्थन गर्ने सयौं लेखक र सिर्जनधर्मीहरूले उनको पक्षमा आवाज उठाए र अन्ततः उनले मुद्दा जिते । अहिले उनी लेखनमा फर्किएका छन् ।

बुधवार, बैशाख २०, २०७४

अन्नपूर्ण टुडेमा प्रकाशित

0 comments:

Post a Comment