Saturday, August 25, 2018

प्रधानमन्त्रीलाई तीन किताब

उज्ज्वल प्रसाई / १९ असार २०७५ ०८:३७:०० /

केही अप्ठ्यारा प्रश्नको सामना गरिसकेपछि प्रधानमन्त्रीलाई आफ्नो ज्ञानको अथाह उचाइबारे नै नयाँ धारणा बनाउन सहज हुन्छ कि ?

प्रधानमन्त्री खड्गप्रसाद ओली कुशल वक्ता हुन्। उनको भाषण सुन्न अभ्यस्तहरू भन्छन्-एक घन्टाभन्दा बढी समय एकोहोरो बोल्दासमेत उनका स्रोताले थकान महसुस गर्दैनन्। त्यसैले उनको भाषणको पर्खाइमा बस्नेहरूको संख्या अधिक हुन्छ। उनका बोलीमा विश्वास गर्नेहरूको पक्कै कमी छैन। उनको अध्ययनप्रतिको रुचीबारे पनि चर्चा चल्ने गर्छ। मध्यरातसम्म नेपालका अखबारहरू पढ्ने र अनलाइन पोर्टलका सामाग्री पनि अक्सर नछुटाइ पढ्ने गरेको खबर सार्वजनिक भएको छ। सूचनासँग यति संगत नगरी मोहक भाषण गर्न सम्भव छैन।

केही दिनअघिको एक भाषणमा माक्र्सवादका आलोचकलाई उनले माक्र्सवादबारे केही नपढी आलोचना गरेको भने। तसर्थ, उनी आफूले माक्र्सवादबारे पुस्तकहरूको गहिरो अध्ययन गरेको हुनुपर्छ-उहिल्यैका लेनिनदेखि अहिलेका डेभिड हार्वेसम्म पढेको अनुमान गर्न सकिन्छ। सो अध्ययनकै कारण उनी आजपर्यन्त माक्र्सवाद सान्दर्भिक छ भन्नेमा ढुक्क देखिन्छन्। अध्ययनकै कारण उनले ‘पोलिटिकल कम्युनिज्म’ र ‘फिलोसोफिकल कम्युनिज्म’ बारे गम्भीर सिद्धान्त अघि सारेका छन्। त्यति मात्र होइन, उनीद्वारा प्रतिपादित सो सिद्धान्तका आधारमा अहिले आफूहरू पोलिटिकल कम्युनिस्ट भएको निचोड पनि निकालेका छन्।


अर्थात, पत्रिका मात्र नभएर पुस्तकमा समेत उनको उत्तिकै रुची छ भन्ने बुझिन्छ। त्यसो त उनका सबै भाषणहरू एक ठाउँ राखेर हे¥यो भने उनले नजानेका विषय कति होलान् र जस्तो भान हुन्छ। नेपालबाट मरुभूमिमा कसरी अक्सिजन पठाउने, कुन खाद्य पदार्थले नपुंसक हुने र केले त्यसबाट बचाउने, नेपालका जमिनमा कहाँ पेट्रोल छ र कहाँ छैन, शिक्षा प्रणाली सुधार्ने उपाय कस्ता हुनुपर्ने, समुद्रमा कुदिरहेका जहाज खोलामा चलाउने उपाय, अक्करिला भीरमा रेल दौडाउने तरिका, यी सबै क्षेत्रमा विशेषज्ञतासहित बोल्न सक्छन् उनी।

केवल अनुभवले वा परेर मात्र यसरी बोल्न सकिँदैन। सूचना र ज्ञान सञ्चित अनेकन् पोथ्रा नपल्टाई बुझाइको यो तह भेट्न गाह्रो छ। वर्षौंसम्मको स्वाध्ययन नभई यत्रो विशेषज्ञता हासिल गर्न सम्भव छैन। प्रधानमन्त्री केपी ओलीको जीवनको ठूलो समय पुस्तक अध्ययनमा व्यतित भएको छ। पुस्तकप्रतिको उनको यो रुची बुझेपछि यो स्तम्भमा प्रधानमन्त्रीका लागि केही पुस्तक छनौट गरिदिन मन लाग्यो। यद्यपि मेरो सीमित अध्ययनबाट पुस्तकहरू सिफारिश गर्नु आफैंमा एउटा अशोभनीय धृष्टता हुनसक्छ।

सन् १९९२ मा छापिएको ‘द डिभेलोप्मेन्ट डिक्सनरीः अ गाइड टु नलेज एज पावर’ नामक पुस्तक अहिले पनि उत्तिकै सान्दर्भिक छ। वोल्फग्याङ्ग स्यासले सम्पादन गरेको यो किताबमा परिचय खण्डसहित बीस निबन्ध छन्। सन् १९४९ मा अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुमेनले दक्षिणी गोलाद्र्धलाई अविकसित क्षेत्र घोषणा गर्दै, सो क्षेत्रको विकास आफूले गर्नुपर्ने भार अर्थात अर्को एउटा ‘ह्वाइट म्यान्स बर्डन’ उठाएपछि दुनियाँको अनुहार कस्तो भयो भनेर विभिन्न विद्वानहरूले आलोचनात्मक चिन्तन गरेका छन्। पश्चिमा पुँजीवादी विकासले गर्न खोजेको मानवीय मस्तिष्कको बन्ध्याकरण कति भयानक छ भनेर देखाउने प्रयत्न गरेका छन्। यस पुस्तकका लगभग १८ लेखकले विकासलाई प्राविधिक कर्म वा वर्गीय द्वन्द्वका रूपमा मात्र सीमित नगरी बरु विकास भन्ने अवधारणा नै कसरी खास दिमागी संरचना बन्न पुगेको छ भन्नेबारे विमर्श गरेका छन्।

प्रधानमन्त्री ओली आफैंमा समृद्धि अभियानका ‘माक्र्सवादी नायक’ भएकाले विकासका प्राविधिक पक्ष र यसका वर्गीय प्रश्नबारे कसैले उनलाई सम्झाउन जरुरी छैन। सबै समस्याका हल उनीसँगै छन्। तर अवधारणागत रूपमा विकासले यथार्थलाई कसरी खास आकारमा ढालेको छ, एउटा मिथकका रूपमा समाजलाई कसरी भुल्याएको छ र काल्पनिक उडानका रूपमा मान्छेमा कस्ता भावावेश सिर्जना गरेको छ भनेर बुझ्न यी निबन्धहरू सहयोगी हुन सक्छन्। उदाहरणका लागि गुस्ताभो एस्तेभा नामक मेक्सिकाली विद्वानले ‘डिभेलोप्मेन्ट’ शीर्षकको निबन्धमा अर्थशास्त्रका नियतबारे यसरी बताएका छन्, ‘जुन जुन समाजमा यो पुग्छ, अवधाराणगत संरचनाका रूपमा अर्थशास्त्रले सबैखाले समुदायगत अन्तक्र्रियालाई आफ्ना नियम र तर्कमा कैद गर्न खोज्छ। राजनीतिक रूपरेखाका रूपमा त्यो अर्थशास्त्रलाई केही समाजले आफ्नै सम्झेका छन्। तर खासमा आर्थिक इतिहास भनेको दमन र लुटको इतिहास हो।’

यो पुस्तक छापिएको पछिल्ला २५ वर्षमा ‘विकास’ लाई आलोचनात्मक ढंगले बुझ्ने धेरै पुस्तकहरू लेखिएका छन्। नेपालमा समेत नन्द आर श्रेष्ठ, डा. देवेन्द्र राज पाण्डे, दीपक ज्ञवाली, तात्सुरो फुजिकुरा, मल्लिका शाक्यलगायत थुप्रै विद्वानहरूले विकासका नेपाली अभ्यासमा भएका अनेकन् समस्या र सम्भावना औंल्याएर पुस्तक लेखिसकेका छन्। केही महिनाअघि मात्र पूर्व अर्थमन्त्री र अर्थ सचिवका रूपमा समेत काम गरिसकेका डा. देवेन्द्रराज पाण्डेले ‘इन्टेग्रिटी’ अर्थात निष्ठाबारे लामो दार्शनिक तथा सैद्धान्तिक विवेचना गरेर ‘द आइडिया अफ इन्टेग्रिटी’ नामको पुस्तक लेखेका छन्।

त्यसअघि जापानी अध्येता फुजिकुराले ‘विकास’ का कडा आलोचक एस्तेभा र आर्टुरो एस्कोबार जस्ता विद्वानका विचारमाथि चिन्तन गर्दै नेपालमा विकासका विभिन्न परियोजनाले प्रत्यक्ष असर पारेका सामान्य नागरिकका अनुभव अध्ययन गरेर ‘डिस्कोर्सेस अफ अवेरनेसः डिभेलोप्मेन्ट, सोसल मुभमेन्ट्स एन्ड द प्राक्टिसेस अफ फ्रिडम इन नेपाल’ नामको पुस्तक लेखेका छन्। विकासबारे नेपालमा उपलब्ध सबभन्दा नयाँ पुस्तकमा दीपक ज्ञवाली र अन्य विद्वानले सम्पादन गरेको ‘एड, टेक्नोलोजी एन्ड डिभेलोप्मेन्ट’ र मल्लिका शाक्यको ‘डेथ अफ एन इन्स्ट्री’ हो। वल्फग्यांग स्यासले सम्पादन गरेको अघिल्लो पुस्तक पढिसकेर नेपाली विकासका अनुभवबारे लेखिएका यी कृतिहरू पढियो भने विकास र समृद्धिको राजनीतिलाई अराजनीतिक हल्लाखल्लामा पतित तुल्याउनबाट जोगाउन सकिन्छ। समृद्धिको नारामा उभिएर सर्वसत्तावादी शासक हुनबाट आफूलाई बचाउन पनि यस्ता कृतिको अध्ययन कामलाग्दो हो। केही अप्ठ्यारा प्रश्नको सामना गरिसकेपछि प्रधानमन्त्रीलाई आफ्नो ज्ञानको अथाह उचाइबारे नै नयाँ धारणा बनाउन सहज हुन्छ कि ?

अध्ययनको ठूलो फलकबाट दीक्षित प्रधानमन्त्री ओलीले पढ्न छुटाएका छैनन् भने भारतीय लेखक निवेदिता मेननको ‘सिइङ लाइक अ फेमिनिस्ट’ पनि एकसरो हेरे उचित हुन्छ। नाम नै नारीवादी हेराइ छ भने पक्कै यो माक्र्सवादविरोधी छ भनेर लख काट्ने सम्भावना छ। प्रधानमन्त्री ओली र उनको पार्टी जस्तो खाँटी वर्गवादी कम्युनिस्ट नभए पनि यी लेखक कमजोर अध्येता होइनन्, त्यसैले पढ्दा समय खेर जाँदैन। यो पुस्तकबारे मैले केही भन्नुभन्दा लेखककै शब्दलाई यहाँ अनुदित गर्नु उपयुक्त होला।

‘जब नारीवादीले एकदमै सोचीसम्झी सिमान्तबाट ‘हेर्ने’ निर्णय गर्छन्, त्यो शक्तिको विपर्यास कदम हुन्छ। पहिले स्थिर र ठीकठाक देखिने सतहलाई यो हेराइले खलबल्याइदिन्छ। होमोजिनाइजेसन अर्थात सबै चीजलाई एउटै डालोमा हालेर भिन्नताहरू मेट्ने प्रवृत्तिलाई यसले इन्कार गर्छ। नारीवादी हेराइले सम्भावनाका ढोका बन्द गर्दैन, बरु खोल्छ। नारीवादी हुनु भनेको समाजमा ठूलो (डोमिनेन्ट) र सानो (सबओर्डिनेट) को उपक्रममा मिलाइएका अनेक पहिचानहरू (आइडेन्टिटिज) को उत्पादन भिन्न समय र स्थानमा भइरहेको हुन्छ भनेर बुझ्नु हो। सँगसँगै लैंगिक प्रक्रिया पनि चलिरहेको छ भनेर बुझ्नु पनि हो। लैंगिक प्रक्रिया भनेको विभिन्न नियम कानुनहरू लागू गरेर ‘खाँटी’ पुरुष र महिला उत्पादन गरिने प्रक्रिया हो।’

यस्ता प्रक्रिया बुझेका महिलाले ‘ट्याउँ ट्याउँ’ गर्न कुनै विदेशी मुद्राको लोभ गरिरहनुपर्दैन। ती कसैद्वारा सञ्चालित मान्छे भएर आफ्नो अधिकारका लागि बोलेका होइनन्। बरु आफ्नो ‘एजेन्सी’ प्रयोग गरेर आफू र आफ्नो समुदायको हितका लागि सोच्न र बोल्न सक्ने जीवन्त मानिसहरू भएकाले राजनीतिमा आफ्नो हिस्सा खोजेका हुन्। यति सत्य खुट्याइसक्दा पनि प्रधानमन्त्री ओलीले आफ्नो ज्ञानको उचाइमा धेरै सन्देह गरिहाल्नु पर्दैन।

अन्तिममा, ओलीलाई उनको पार्टीसम्बद्ध एक लेखकको पुस्तक सिफारिश गर्ने धृष्टता गर्दछु। विज्ञान, स्वास्थ्य, गर्विलो गोर्खाली इतिहास र समृद्धिबारे अनेक कृतिहरू पढ्ने क्रममा आफ्नै कार्यकर्ताले लेखेको किताब पढ्न छुटाएका होलान् भन्ने अनुमानमा सो किताब सम्झाउने यत्न गरिएको हो। अनेकन् काकतालीले अहिले ओलीका कार्यकर्ता बन्न पुगेका कवि भूपाल राईले आफूले लेखेका ३० कविताको संग्रह प्रकाशन गरेका छन्। सन् २०१५ मा प्रकाशित ‘आगोले जन्मोत्सव मनाउँदैन’ नामक संग्रह कवि राईको अब्बल कविता कृति मानिन्छ।

यस संग्रहमा कवि राईले जातीय र वर्गीय मुक्तिका लागि क्रान्तिको आगोले आफ्नो उपादेयता र सान्दर्भिकता नगुमाएको बताएका छन्। राष्ट्रगान, राष्ट्रिय झन्डा, राष्ट्रिय पोसाक, राष्ट्रिय जनावर र अन्य अनेकन् कथित ‘राष्ट्रिय’ हरूको साँघुरो साँचोमा बन्दी बनाइएको जनजातिको पहिचानलाई उत्खनन् गर्न र स्थापित गर्न त्यो आगो अझै जोहो गरिरहेको दलिल उनले कवितामा व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीलगायत उनको पार्टीले क्रान्तिको समापन गरेर समृद्धिको अभियान सञ्चालन गरिरहेको उद्घोष गरिसकेका छन्। पोलिटिकल कम्युनिम्जममा उनकै कार्यकर्ताले साँचेको यो आगोले कस्तो डढेलो लगाउला ? यस्ता अनुमान अहिले नै गरिएन भने समृद्धिको सपनामै डढेलो लाग्ने सम्भावना रहन्छ।

नेपाली राजनीतिमा पहिचान आफैंमा प्रगतिशील मुद्दा हो भनेर दाबी गर्दै आएका कवि भुपाल राईले आफ्नो राजनीतिक निष्ठा भुलेका नहोलान्। तर उनको पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओली पहिचानलाई विखण्डनको सूत्रभन्दा बढी केही देख्दैनन्। जीवनपर्यन्त गरेको अथाह अध्ययन र चिन्तनले अध्यक्ष ओलीलाई सो निश्कर्षमा पु¥याएको भान हुन्छ। कारण, उनी पहिचानको राजनीतिबारे कहिल्यै नरम भएका छैनन्।

पहिचानलाई महत्वपूर्ण राजनीतिक एजेन्डा मानेर आएका प्रचण्डसँग पार्टी एकता गरेर भूपाल राईहरूलाई कार्यकर्ता बनाइसक्दा पनि उनी पहिचानजन्य राजनीतिप्रति उति नै क्षुब्ध छन्, जति पहिले थिए। यो कविता संग्रहले अध्यक्ष ओलीको क्षुब्धतालाई कुनै न कुनै हिसाबले पक्कै सम्बोधन गर्ने छ। क्षुब्धता अरू बढेछ भने आफूले अद्यापि साँचेको आगोबारे कार्यकर्ता भूपाल राईहरूले के सोच्लान् ? जातीय र वर्गीय मुक्तिका खातिर साँचेको सो आगोबारे पुनर्विचार वा ‘पोलिटिकल कम्युनिज्म’ को फलकमा आफ्नो उपस्थितिबारे चिन्ता ?                   

प्रधानमन्त्री ओलीको अध्ययन र उनले सञ्चित गरेको सूचना र ज्ञानमाथि कुनै सन्देह छैन। तथापि थप विमर्शका लागि उपयोगी हुनसक्छ भनेर माथिका पुस्तकबारे चर्चा गरिएको हो। अन्तमा, प्रधानमन्त्री ओलीका लागि उनै भूपाल राईको क्षत्री ‘क्ष’ शीर्षक कविताबाट यी पंक्तिः

जीवनका ती प्रथम-प्रथम लय

जसलाई क्षेत्री ‘क्ष’ को हिज्जेसँगै

कुनै बर्जित राग झैं

जसरी मैले गाउन सकिनँ

सायद त्यहीँनेर गुमाएँ

मैले एउटा कलिलो साथी

गुमाएँ

जीवनको प्रथम संगीत।

अन्नपूर्ण पोस्टमा प्रकाशित / http://annapurnapost.com/news/101977 

0 comments:

Post a Comment