Saturday, August 25, 2018

पुस्तकालय मरेको सहर

उज्ज्वल प्रसाई / २६ साउन २०७५ १२:२२:०० /

काँकरभिट्टामा अनौठो घटना भयो। बजारबीचको ठूलो भवनको माथिल्लो तलामा पुस्तकालय खुल्यो। पुस्तकालय भन्न सुहाउँदो फराकिलो कोठा थियो। कुनै दाताले दिएका अंग्रेजी किताबको डंगुर थियो। त्यहाँ सेक्सपियर र मार्क्स नभेटिएर के भो, किताबहरू थिए। साझा र प्रज्ञाप्रतिष्ठानले छापेका नेपाली साहित्यका कृतिहरूको संकलन थियो। दैनिक पत्रिका, गरिमा र समकालीन साहित्यका नयाँपुराना अंक थिए। तिनताक नाम कमाएको सहकारीको अगुवाइमा सो पुस्तकालय खुल्नु अनौठो घटना थियो।

दुई स्थानीय साहित्यकार, एक रैथाने नेता र निजी विद्यालयका दुई शिक्षक पुस्तकालयका नियमित पाठक थिए। सुरुमा त्यहाँ नियमित जाने विद्यार्थी सम्भवतः म एक्लो थिएँ। पुस्तकालयको हाजिरी रेकर्डमा सधैं यिनै आधा दर्जन मान्छेको नाम हुन्थ्यो। झुक्किएर वा एक झल्को हेर्ने रहरले पुग्नेहरू फर्केर जाँदैनथे। बजारका पसले फुर्सदमा बरु लुँडो खेल्थे, पुस्तकालय उक्लने जाँगर कहाँ ?

पुस्तकालयमा एकजना कर्मचारी थिए। नियमित आउने छजना मध्ये सधैं सबै जाँदैनथे। त्यसैले पुस्तकालय धेरैजसो रित्तो रहन्थ्यो। दिनभरि एक्लै धुमधुम्ती बस्नु परेकाले होला, पुस्तकालयमा मान्छे देख्दा उनी उज्याला हुन्थे। हम्मेसी बोल्न नपाएका उनले कोही गफिन लायक मान्छे भेटे भने घन्टौं छोड्दैनथे।


एक्कासि प्रस्फुटित हुने उनको गफको फन्दाबाट जोगिएर पढ्न अनेक जुक्ति निकाल्नुपर्थ्यो। उनका लागि गफ गरिदिने कोही अर्को मान्छे साथमा लिएर जानु उत्तम हुन्थ्यो। पुस्तकालय जानुअघि म सधैं त्यस्तो स्थानीय साथीको खोजीमा हुन्थेँ जसलाई पढ्नमा कम, गफमा धेरै रुचि होस्। गफ गर्ने साथी पाउँदा कर्मचारी खुस, गफको फन्दाबाट जोगिएर केही बेर पढ्न पाउँदा आफू दंग।

पुस्तकालयबारे चासो राख्नेको संख्या अधिक हुँदैन। बिहान–बेलुका छाक जुटाउन धामा परेकालाई पुस्तकालय खुलेको घटनाले नछुनु के अनौठो भयो र ! आधारभूत तहका मानिसका अरू नै प्राथमिकता थिए। नागरिक समाज र राजनीतिक दलका अगुवालाई समेत पुस्तकालयको प्रयोजन स्पष्ट थिएन। कतिपय सोच्थे, किन चाहियो त्यतिका किताब जो आखिर विद्यार्थीले कोर्समा पढ्नुपर्ने होइन ! दुईचार साहित्यकारका लागि सहकारीले त्यत्रो लगानी गरेकोमा धेरैलाई चिन्ता थियो। ‘कविता भन्न त हाइस्कुलको चौर छँदैछ नि, बजारबीचको भवन किन ? ’

ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन गरेका थिए त्यस बेला। दलीय राजनीतिले खासै बिजिनेस पाएको थिएन। एक रैथाने नेताले पुस्तकालय आउन फुर्सद पाएका थिए। कुनै बिहान उनी र म पुस्तकालयमा थियौं। मिजासिला स्वभावका उनले सामान्य कुराकानी गरे, पत्रपत्रिका पढे। दुई घन्टा जति पुस्तकालयको बसाइपछि उनी र म सँगै बाहिर निस्क्यौं। बाहिर भेटिए उनकै पार्टीका अर्का रैथाने नेता। ज्यानदार र फूर्तिला तिनले हात माथि उठाएर अभिवादन गरे। पुस्तकालयबाट निस्कँदै गरेका कमरेडलाई देखेर तिनले स्वर उराल्दै भने, ‘हैन, अहिले यो उमेरमा आएर केको जाँच पास गर्नु परेको छ हौ कण ? सधैं धाएको सुन्छु।’

उनको यो भनाइ उनको मात्रै होइन। बरु त्यो प्रतिक्रियाले धेरैको बुझाइलाई प्रतिनिधित्व गथ्र्यो। स्वयं विद्यालय र कलेज पढाउने बहुसंख्यक शिक्षकहरूको त्यस्तै बुझाइ थियो। त्यसैले बजारबीच सेतो भवनको त्यो माथिल्लो तला धेरैका लागि अनौठो ठाउँ थियो।

जे सधैं अनौठो भइरहन्छ, त्यो परचक्री नै रहन्छ। स्थानीय राजनीतिको मियो समातेका बहुसंख्यक मान्छेलाई प्रयोजन स्पष्ट नभएकाले पुस्तकालय सधैं अनौठो भइरह्यो। त्यसैले त्यो टिकेन, बन्द भयो। सहकारी डुब्यो, पुस्तकालय जीवित रहन सकेन। पुस्तकालय बन्द भएकोमा कसैले खुइय्य गरेन, कसैले स्थानीय दैनिकमा एउटा लेखसमेत लेखेन। डुबेको सहकारीबाट फुत्काएर एउटा पुस्तकालय चलाउन नसकिने होइन तर कसैले चासो दिएन।

जसलाई पुस्तकालय चाहिएको थियो, तीसँग शक्तिको लगाम थिएन। स्रोतको कुनै मुहान थिएन। पुस्तकालय बन्द भएको सुनेपछि सम्भवतः अगुवा भनाउँदा धेरैले सोचे होलान्, ‘आखिर हामीलाई कुन परीक्षा दिनु छ र चाहियो त्यत्रो किताब ? केटाकेटीलाई स्कुलकै किताब पुग्दो छँदैछ !’

पुस्तकालय टिकाउन नसक्ने सहकारी आफैंमा समस्या होइन। सिंगो समाजले त्यसलाई आफ्नो भन्न नसक्नुमा समस्या छ। जे आफ्नो लाग्दैन, त्यो प्यारो लाग्दैन। जे प्यारो हुँदैन, त्यसलाई जोगाउने कुनै जाँगर हुँदैन। सम्भवतः पुस्तकप्रति प्रेम जगाउन नसक्ने शिक्षामा समस्या छ। पढाइको संकुचनमा भूमिका खेल्ने संस्थाहरूमा समस्या छ। राजनीतिलाई ज्ञानको उद्यमसँग नजोड्ने दलीय अभ्यास स्वयं पनि समस्याको मुहान हो।

कस्तो परीक्षा पास गर्ने ?

परीक्षा पास गर्न मात्रै पढ्नुपर्छ भन्ने बुझेका कमरेडले गलत बुझेका होइनन्। उनले थोरैतिनो जति शिक्षा पाए, त्यसले बुझाएको त्यति नै हो।

पढ्नु भनेको आउँदो बनाउनु हो। कविताका हरफ नहेरी भन्न सक्नु, अंकहरू भन्नु, बारका नाम भन्नु, महिना र सालहरू सम्झन सक्नु। विज्ञान र गणितका सूत्रहरू पनि त्यसरी नै कण्ठ गर्नु। शिक्षकले लेखाइदिएका प्रश्नोत्तर रटेर पानी बनाउनु। दुईचार पृष्ठका निबन्धसमेत मुखाग्र पार्नेको सर्वत्र प्रशंसा हुन्थ्यो। शब्दकोष रटेर सिध्याएका किस्सा सुनाउनेले मुख मिठ्याएको देख्दा डाहा लाग्थ्यो। परीक्षामा आएका हरेक प्रश्नले तिनै कण्ठ गर्न खोजिएका पृष्ठहरूका झलझली सम्झना गराउँथ्यो। जाँच पास गर्नु भनेको बेस्सरी घोकेका वाक्य एवं सूत्र सम्झेर लेख्न सक्नु मात्रै हो।

विद्यालयमा बिताएका एक युगमा खुब पढियो। पढ्नु भनेको ज्ञानको खोजी कम थियो। समस्याका समाधान आफैं पहिल्याउने सीपको सन्धान थिएन। बाल्यकालका थुप्रै त्यस्ता सुनौला दिन अर्काले लेखेका वा लेखाइदिएका निरस सूत्रहरू फलाकेर बित्यो। गणित सूत्रमै भ्याइयो, भाषाका व्याकरण सूत्रमै सिध्याइयो। शीतल बिहानी भनिएन, बाफिला रात भनिएन। बस्, पढियो मात्रै। पढेर आनन्दित भइएन, ज्ञानको उज्यालो सँगालेकोमा मक्ख परिएन। परीक्षाफलले ल्याउने स्याबासी पर्खनुबाहेक पढ्नुको कुनै अर्को आकर्षण थिएन। ठूलो मान्छे बनिएला भन्ने विश्वास नभए पनि सधैं त्यही भनिन्थ्यो।

‘सब्जेक्ट प्लस भर्ब प्लस इन्डारेक्ट अब्जेक्ट प्लस डाइरेक्ट अब्जेक्ट।’ यस्ता सयौं सूत्र मुखाग्र गरेकालाई अंग्रेजीको उस्ताद भनिन्थ्यो। सूत्र कण्ठस्थ भएका शिक्षकले ट्युसन नामको निजी कक्षाको ठूलो पसल चलाएका हुन्थे। गणित र विज्ञानका सूत्र मुखाग्र हुनेका पसल सदैव चलायमान रहन्थे।

तिनको महिमा सुन्दा लाग्थ्यो ती आफैंमा सेक्सपीयर र आइन्स्टाइन हुन्। तर, सूत्रले न सेक्सपियर बनाउन सक्थ्यो, न आइन्स्टाइन नै। सयौं सूत्र कण्ठस्थ बनाएकाले शुद्ध वाक्य लेख्न जान्दैनथे। सूत्र सम्झँदै खिपिएका वाक्य गलत भएनन् भने पनि स्वाभाविक र सुन्दर हुँदैनथे। सूत्रको कसीमा ठ्याक्क नमिल्ने समस्या आएमा गणित र विज्ञानका उस्तादहरूको बाह्र बज्थ्यो।

विद्यालयका पछिल्ला वर्षमा केही त्यस्ता विरला शिक्षक फेला परे जसले लेखाइमा मौलिकता रुचाए। तिनले भाषाको सामथ्र्य चिनाए, शब्दको ओज बुझाए। नयाँ शब्द जान्नु, भाषाका नयाँ शिल्प सिक्नु मेरा लागि रुचिको विषय बन्न थाल्यो। बुझेर निकालिएको गणितका समाधानले आनन्दित तुल्याउन थाल्यो। सिकाइका मौलिक तरिका अपनाउने सिर्जनात्मक शिक्षकले पढाएका कारण केमेस्ट्री र बायोलोजी पनि रमाएर पढ्न थालियो।

एसएलसी तयारी गर्ने बेलासम्म पुग्दा मुखाग्र बनाउने काम लगभग बन्द गरेँ। बुझेर पढ्ने, जति बुझिन्छ त्यसैमा आनन्दित हुने। विस्तारै यो क्रम बढ्न थाल्यो। फिजिक्स र गणित पढाउने शिक्षकले मेराबारे सधैं एउटै टिप्पणी गरिरहे, ‘मान्छे त असल हो तर इक्जाम–ओरिएन्टेड भएर पढ्न जानेन।’ उनको चिन्ता जायज थियो। कारण, परीक्षाले मौलिकता र समस्याका समाधान पहिल्याउने सिर्जनात्मकताको माग गर्दैनथ्यो। घोकाइ कम भयो त्यसैले परीक्षाफल चित्तबझ्दो आएन।

विद्यालयको पढाइ सकेर केही समय विज्ञान संकायको विद्यार्थी भएँ। विज्ञान संकायले घोकाइको महिमा झन् बलियोसँग स्थापित गरेको थियो। असाधारण क्षमता छ भने बुझ्न कोसिस गर्नु, औसतले लगातार घोक्नु। नघोक्नेले परीक्षा पास गर्न सक्दैन। सबैले सधैं यही सूत्र दोहोर्‍याइरहे। म असाधारण क्षमताको विद्यार्थी थिइनँ, औसतको भागमा परेको घोकन्ते उद्यममा टिक्न सकिनँ। विज्ञान छोडेर साहित्यको विद्यार्थी भएँ।

अंग्रेजी साहित्यको विद्यार्थी भएर पुग्दा पनि रटन्ते उद्यमको अन्त्य भएन। बस्ताकोटी नामका उद्यमीले लेखेका गाइड नभई पास गर्न सकिँदैन भन्थे सबै। शिक्षकले छोटा नोट लेखाउँथे। खासमा ती नोट भन्नु हरेक पाठलाई संक्षिप्तमा लेखिएका समरी मात्र हुन्थे। त्यहाँ कुनै गतिलो समीक्षा वा विश्लेषण हुँदैन थियो।

विषयवस्तुमा पकड भएका र भाषामा पनि उत्तिकै दम भएका शिक्षकलाई साहित्य पढाउने तरिका किन यस्तो भनेर सोधेँ। उनले भने, ‘अंग्रेजी भाषाको आधारभूत ज्ञान पनि नभएका सयौं विद्यार्थी अंग्रेजी साहित्य पढ्न आउँछन्। तिनले कहिले शुद्ध लेख्न सिक्नु, कहिले भाषामा पकड बनाउनु, कहिले दर्शन र सिद्धान्त बुझ्नु र कहिले साहित्यको समीक्षा गर्नु ? त्यता लागियो भने न कोर्स सकिन्छ, न तिनले जाँच पास गर्छन्। त्यसैले रटाउने हो, गरिबका छोराछोरीले गरिखाऊन् न।’

विद्यालय शिक्षा होस् वा उच्च शिक्षा, विज्ञान पढौं वा साहित्य, हाम्रो शिक्षाले अतिरिक्त अध्ययनको माग गर्दैन। जीवनका कठिन परीक्षामा उत्तीर्ण हुनु, दुनियाँले हर पाइलामा लिने परीक्षामा खरो उत्रिनुसँग शिक्षाको कुनै सरोकार रहेन। त्यसैले पुस्तकालय चाहिएन। अनेक काकतालीले विद्यालयको साँघुरो घेराभन्दा बाहिर गएर पढ्ने बानी बसेको मजस्ता अल्पसंख्यकका लागि कसले पुस्तकालय बनाइदिने ?

अझै खुलेन पुस्तकालय

अध्ययन, अनुसन्धान, लेखन र बौद्धिक अन्तरक्रियाको तुलनामा फुटबल, क्रिकेट र ब्याडमिन्टनका ठूला टुर्नामेन्ट आयोजना गर्ने काममा उस्ताद छ काँकरभिट्टा। क्रिकेट एकेडेमीमार्फत युवाहरूलाई राष्ट्रिय स्तरका खेलाडी बनाउन सफल भएको छ। ल्हाक्पा लामा, मनोज कटुवाल र रुबिना क्षेत्रीहरू काँकरभिट्टाले जन्माएका प्रतिभाशाली खेलाडीहरू हुन्। स्थानीय स्तरबाट खेलकुद र खेलाडीको प्रोत्साहनका लागि राम्रो सहयोग जुट्ने गरेको छ। सार्वजनिक शैक्षिक प्रतिष्ठान र सांस्कृतिक मञ्चले यतिको सहयोग पाउन असम्भवप्रायः छ।

ठूलो अभाव र समस्यामा गाँजिएर दुःखले चलेको छ सार्वजनिक विद्यालय। केवल परीक्षामा राम्रो अंक भिराएर पठाउन खुलेका आधा दर्जन निजी विद्यालयले विद्यार्थीलाई अतिरिक्त अध्ययनमा रत्याउन सकेका छैनन्। स्थानीय पत्रिकाले स्थानीय बजारबाट फाइदा उठाएको छ तर स्थानीय समाचारको उद्यम गरेको छैन। अनलाइनमा सजिलै पाइने समाचार, फिचर र लेखसमेत साभार गरेर दैनिक चार पाता निकाल्न कुनै सिर्जनात्मकता चाहिँदैन। यद्यपि असली स्थानीय पत्रकारिता गर्ने जमर्को ठ्याम्मै नभएको भने होइन। ती अपवादले गरेका गुणस्तरीय पत्रकारिताले निरन्तरता पाउन सकेका छैनन्। त्यसैले विद्यालयमा पुस्तकालय जरुरी मानिएन, सञ्चारमाध्यमलाई खाँचो महसुस भएन, पुस्तकालय धाउने राजनीतिक अगुवा आजकल व्यक्तिगत जोडघटाउमा व्यस्त छन्। कसले गर्ने सार्वजनिक पुस्तकालयको माग ?

काँकरभिट्टाले मरेका पुस्तकालय ब्यूँत्याउन सकेन। साहित्यिक र सांस्कृतिक प्रतिष्ठानहरूले पुराना शैलीका आसनग्रहण कार्यक्रम मात्र गर्छन्। त्यसभन्दा बढी गरे भने आफू अनुकूल समाचार लेखिदिने स्थानीय पत्रकारहरूलाई केही रुपैयाँको थैलोसहित पुरस्कृत गर्नतिर लाग्छन्। यसअघि ती संस्थाको अगुवाइमा लक्ष्मीप्रसाद देवकोटा र भानुभक्त आचार्यका मूर्ति स्थापनाको काम भएका छन्। हाल बन्द रहेको पुस्तकालयमा साप्ताहिक कविता वाचनलगायत कार्यक्रम गर्ने सुसेली साहित्य परिवारले भने वार्षिक रूपमा एउटा साहित्यिक संकलन प्रकाशन गर्ने काम दुःखसुख चलाउँदै आएको छ।

फुटबल र क्रिकेटको आवश्यकता जति गहिरो ढंगले महसुस गरियो, अध्ययन–अनुसन्धान र बौद्धिक अभ्यासमा भने समाजको रुचि त्यसको १० प्रतिशत पनि जाग्न सकेन। मनोरञ्जक क्रियाकलापमा धेरै मानिसको ध्यान जानु, तिनले आर्थिक उपार्जनमा मनग्गे सहयोग गर्नु र समाजका शक्तिशाली तप्काले जनसंख्याको ठूलो अंशलाई आफूतिर आकर्षित गर्न खेलकुद र मनोरञ्जनका उद्यमलाई सहयोग गर्नु सामान्य मानिन्छ।

पुस्तक पढ्छु, अनुसन्धान गर्छु वा बौद्धिक छलफल गर्छु भन्यो भने खुलेर सहयोग गर्न अग्रसर हुँदैनन्। कतिले त सामान्य सदाशयतासमेत पनि राख्दैनन्, बरु असहयोग गर्नेको ठूलो ताँती हुन्छ। समाजको प्रभावशाली तप्काले ती सबै कामको कुनै उपादेयता देख्दैन।

कुनै समूह बनाएर सामूहिक बौद्धिक काम गर्न खोज्यो भने सबभन्दा पहिले अगुवाइ गर्ने मान्छेको दलीय संलग्नताबारे चासो राखिन्छ। स्रोत जुटाउन सक्ने ठाउँमा बसेकाले आफू इतर पार्टीका मान्छेको अगुवाइ देख्यो भने सजिलै पन्छाउँछ। तटस्थता देखाउन खोज्दा कसैले आफ्नो ठान्दैन। बेहद पार्टीकरणले सिंगो समाजको वैचारिक धरातल कमजोर बनाइदिएको छ। एकताबद्ध हुनुपर्ने काम र अभियानमा विभाजन र विग्रह ल्याएको छ। पार्टी स्वयं कृपादाता र कृपापात्रहरूको सञ्जाल बनेकाले फरक सोच्न खोज्नु आफैं अवगालमा पर्नु हो।

पुस्तक पसलको भर

अध्ययनमा रुचि जाग्न थालेका बेला पुस्तकालय थिएनन्। विद्यालय र कलेजमा पचास–सय टेक्स्ट बुक बाहेकका पुस्तक खोज्नु हास्यास्पद हुन्थ्यो। माथि भनिसकियो, सार्वजनिक पुस्तकालयको आयु लामो भएन। त्यसपछि भर पर्ने एउटै ठाउँ रह्यो, पुस्तक पसल।

नजिकै भएका आधा दर्जन पुस्तक पसल नाम मात्रका थिए। ती पाठ्यसामग्री र स्टेसनरीका खुद्रा दुकानहरू हुन्। तिनैमध्येका एक पसलेले मेरो पढ्ने लालसा देखेर माया गरे। चाहेका किताब खोजेर ल्याइदिए, किस्तामा मूल्य असुलेर पढ्न दिए। त्यसो त उनी आफैं नेपाली साहित्यमा रुचि राख्थे। अंग्रेजी भाषाका पुस्तकहरूका लागि भने भारतीय सहर सिलिगुडीका सबै पुस्तक पसल चाहारियो। यसरी पुस्तक खरिद गर्न थालेको आज १७ वर्षभन्दा बढी भयो।

काँकरभिट्टाजस्ता साना सहरका यी दुःख नौला होइनन्। दक्षिण एसियाका सहरोन्मुख ठाउँहरूका चरित्र मिल्दाजुल्दा होलान्। शिक्षाको लामो इतिहास बनाइसकेको भारतका साना सहरहरूमा समेत बौद्धिक अभ्यास समृद्ध बन्न सकेको छैन। ठूलो संख्यामा विश्वविद्यालय र अध्ययन प्रतिष्ठानहरू भए पनि पश्चिम बंगालको हालत उम्दा छैन। यद्यपि ‘सेमिनार’ र ‘मन्थ्ली रिभ्यु’जस्ता जर्नल खरिद गर्न सिलिगुडीस्थित भारतीय कम्युनिस्ट पार्टी (भाकपा) मार्क्सवादीको पार्टी कार्यालय अझै जाने गर्छु।

१० वर्षपहिले काँकरभिट्टाबाट काठमाडौं आउँदा, मस्तिष्कमा यो ठाउँको अलग चित्र थियो। शक्ति र स्रोतको केन्द्र आफैंमा सांस्कृतिक र बौद्धिक केन्द्र होला भन्ने थियो। जति र जस्तो सोचियो, त्यस्तो पाइएन।

त्रिभुवन विश्वविद्यालयको ठूलो पुस्तकालयका गफ सुनिएको थियो। नेपाल–भारत पुस्तकालय, ब्रिटिस लाइब्रेरी, अमेरिकन लाइब्रेरी, रसियन कल्चरल सेन्टरका लाइब्रेरीजस्ता ठाउँका चर्चा सुनियो। तर, यी कुनै पनि पुस्तकालय भरपर्दा रहेनछन्। चाहिएका किताब समयमा भेटिँदैनन्। पुस्तकालयलाई अद्यावधिक गर्ने र पाठकमैत्री बनाउने कामसमेत गर्दा रहेनछन्। पुस्तकालय जाने र आउने समयमा खेप्नुपर्ने हैरानीले पनि पुस्तकालयको राम्रो उपयोग गर्न सकिएन। बौद्धिक छलफल गर्ने मार्टिन चौतारीजस्ता केही साना ठाउँ नहुँदा हुन् त काठमाडौंको बौद्धिकता अझ नाजुक हुने रहेछ।

काँकरभिट्टामा जस्तै काठमाडौंमा पनि पुस्तक पसलको भर परियो।

निजी पुस्तकालय  :  थप एउटा दुःख

पुस्तकालय नहुनुका दुःखले आफैंले किताब थुपार्न थालेँ। थुपारेका किताबको संख्या बढ्दै गएपछि समस्या थपिन थाल्यो। आफूसँग भएका पुस्तक हेर्दा र देखाउँदा गर्व महसुस हुन्छ। तर, पुस्तक थन्क्याउन, जोगाएर राख्न सहज छैन। सस्तो पनि छैन। भाडामा लिएको सानो ठाउँमा किताबको राखनधरन जिन्दगीको थप एउटा दुःख बन्छ।

पेसा र रुचि नै पढ्नेलेख्ने भएकाले संगृहीत पुस्तक बाँड्न सकिँदैन। दुःखले जोहो गरेको सम्पत्ति नै त्यही भएपछि लोभको मात्रा बढी हुने भयो। आज बाँडिए, ती भोलि आफैंलाई चाहिन्छन्। भेला पारिएका सबै किताब आफैंले पढिसकेका हुँदैनन्। त्यसैले केही दुःख सहेर निजी पुस्तकालयको बढोत्तरीमा ध्यान केन्द्रित नगरी सुख छैन। पछिल्लो समय डिजिटल किताब र ती किताब पढ्न सहज हुने डिभाइसको उपलब्धताले भने सहयोग पुगेको छ।

सिंगो समाज र राज्यले पुस्तकको महत्व बुझ्थ्यो भने व्यक्तिले घरघरमा पुस्तकालय बनाउन जरुरी थिएन। काँकरभिट्टाले पुस्तकालय जगेर्ना गर्ने र हुर्काउने काम गरेको भए मेरो भरपर्दो स्रोत त्यही बन्ने थियो। पठनमा रुचि भएका युवाको संख्या पक्कै बढ्ने थियो। बौद्धिक उन्नयनको प्रक्रिया पनि सजिलो हुँदो हो।

उच्च शिक्षाका लागि काठमाडौं आउँदा बाढीले कोसी ब्यारेज निलेको थियो। बा र बहिनीहरूले किताबका एक दर्जन कार्टुनका भारी फेरीमा राखेर तारेका कथा सुनाउँदा अहिले पनि रुन मन लाग्छ। काठमाडौं आइसकेपछि पनि किताबकै लागि भनेर छुट्टै कोठालाई भाडा तिर्ने कहर बेहोर्नु परेको छ। कुनै दिन काठमाडौं छोडेर अन्यत्र बसाइँ सर्नु परे ? किताबकै कारण त्यो सम्भव नहोला जस्तो लाग्छ। यद्यपि यो मेरो व्यक्तिगत लाभ–हानिको मात्र सवाल होइन।

अन्त्यमा,

ज्ञान उत्पादन र विस्तारमा समाज सहयोगी नबन्दा हाम्रा दुःख बढ्दै जान्छन्। विकास र समृद्धिको कथ्यमा ज्ञानको गुञ्जन सुनिएको छैन। व्यक्ति र साना समूहले गरेका प्रयत्नहरूलाई समाज र राज्यले सहयोग गरेनन् भने नेपाली समाज इज्जतिलो समाज बन्दैन। अध्ययनबिना न्याय, समता र लोकतन्त्र केही पनि सम्भव छैन।

काँकरभिट्टाले पुस्तकालय नहुँदा आफूलाई अपूरो महसुस गर्न थालोस्। अहिलेलाई यति भए पुग्छ।

मेरे यारो, हमारे वक्त का एहसास

बस इतना ही न रह जाए

कि हम धीमे–धीमे मरने को ही

जीना समझ बैठे थे

कि समय हमारी घडियों से नहीं

हड्डियों के खुरने से मापे जाए

–पाश

अन्नपूर्ण पोस्टमा प्रकाशित / http://annapurnapost.com/news/105268 

0 comments:

Post a Comment