Sunday, February 2, 2014

झापाली पत्रिकाहरुमा बधाई र शुभकामनाका खहरे

कसैको मृत्युमा, कसैले कुनै पुरस्कार पाउँदा, कोही सामाजिक सरोकारका कुनै पदमा बढुवा हुँदा, नियुक्त हुँदा या निर्वाचीत हुँदा झापाका पत्रिकाहरुले बरु समाचार छाप्न बिर्सिन्छन् तर अनेक संस्था र व्यक्तिसंग जोड जबर्जस्ती गरि गरि ुबधाई र शुभकामनाु छापेर ती मान्छेका अनुहार थोत्रा बनाईदिन्छन् । झापाली पत्रिकाहरुले यस्तो संस्कार विकास गरेको धेरै भएको छैन । तर, पछिल्लो समयमा आएर यो क्रम दिक्दारलाग्दो गरि बढेको छ ।

जमाना विज्ञापनको छ । जुन चीजको विज्ञापन हुन्छ, त्यसको बजारमा माग र मुल्य अधिक हुन्छ । जुन कुराको विज्ञापन हुन सक्दैन, त्यसको न कतै माग हुन्छ, न त्यसको कुनै मूल्य हुन्छ । मान्छेका लागि जति महत्वको भए पनि यदि त्यो चीज छापा र टेलिभिजनहरुमा छैन भने, त्यसको अस्तित्व छ भन्ने कुरामै कोहि विश्वास गर्न तयार हुँदैन । र, कुनै चीज महत्वहीन छ या हानिकारक नै छ भने पनि मिडियामा त्यो छाईसकेपछि, त्यसले राम्रो भाउ पनि पाउँछ र माँग पनि बढ्दै जान्छ । त्यसैले जसलाई बिक्नु वा विकाउनु छ, उसले विज्ञापन गर्नु अनिवार्य हुन्छ । तर, के के बेच्नु हुन्छ ? को कसबाट बेचिनु हुन्छ या हुँदैन ? के कुराको मौद्रिक मूल्य हुन्छ र के के चाहिँ पैसाभन्दा माथि हुन्छ ? यी सबै प्रश्नहरुको उत्तर खोज्न यहाँ कसैलाई फुर्सद छैन । बेच्ने, बेचाउने र विक्रि हुने सानो र ओसिलो वृत्तमा कैद हुँदैछ हाम्रो मिडिया । र, झापाली छापाहरुका हकमा यसका वावजुद केही अरु रोचक कुरा पनि छन् ।

एउटा कुनै खानेपानी उपभोक्ता समिति जस्तो ठाउँमा कोहि आफ्नो वाड वा त्यस्तै सानो क्षेत्रका उपभोक्ताका मतले वीजयी भई अध्यक्ष वा कुनै पदमा निर्वाचित हुन्छ । निर्वाचनको नतिजा सार्वजनीक भएको भोलिपल्ट देखि लगभग १५ दिन सम्म त्यस नवनीर्वाचीत व्यक्तिलाई अरु अनेक थरि व्यक्ति र संस्थाले स्थानीय पत्रिकाहरुमा बधाई र शुभकामना दिन्छन् । बधाई र शुभकामनाको बाडी नै आउँछ । अरु महत्वका विषयहरु कत्ति छुटेका हुन्छन् तर साउनमा खहरे के उर्लिन्छ र, त्यति उर्लिन्छ बधाई र शुभकामना । एउटा पत्रिकाका सबै पानामा त्यस नवनीर्वाचीतको अनुहार छापिएको हुन्छ । शुभकामनाका ती एकै खाले शब्द र एउटै फोटो पचासौँ साना बक्सहरुमा टाँसिएको हुन्छ । यो क्रम कोहि पुरस्कृत हुँदा, सम्मानित हुँदा वा कसैको निधन हुँदा पनि दोहोरिने गर्छ ।लसतहमा हेर्दा यसमा केहीे खराबी देखिँदैन । अरु कसैको सफलतामा या शोकमा बधाई, शुभकामना वा समवेदना दिनु आँफैमा खराब काम होइन । तर, यसरी छापाहरुमा बाढी नै आउनुको रहस्य के हो ? त्यतापट्टि ध्यान दिनु जरुरी छ भन्ने लाग्दछ ।

आखिर यो सब कीन गर्छन मान्छे ? झापाका स्थानीय पत्रिकाहरुमा एउटा समवेदना, शुभकामना वा बधाई छापेको, ठाउँ र आकार हेरी, कम्तिमा पाँच सय देखि बढीमा पाँच हजारसम्म पर्न जाला । आजकलका मान्छेले अरुको सफलता मनाउन वा अर्कोको शोकमा साथ दिन मात्रै पैसा खर्च गर्छ भन्ने कुरामा पूरै विश्वास गर्न गाह्रो छ । त कसरी मान्छे कोहि उपभोक्ता समितिहरुमा र वाणिज्यसंघका शाखाहरुमा निर्वाचीत हुँदैमा, कसैले गाउँस्तरीय प्रतियोगिता जीत्दैमा वा कसैको निधन हुँदैमा पत्रिकामा पैसा तीर्न उद्यत हुन्छ ? र, यस्ता विज्ञापनहरु छपाउने व्यक्ति र संस्थाहरु धेरै दोहोरिने गर्छन, कीन ?

यो बधाई, शुभकामना र समवेदना दिने दिक्दारलाग्दो उपक्रमका केही कारणहरु छन् । कोहि कुनै सामाजिक सरोकारको पदमा आसिन हुन पुग्नु भनेको शक्तिशालि हुनु हो । उसले केही कामहरु गर्ने जीम्मेवारि वा अख्तियारि पाएको हुन्छ । यसलाई मानछेले ुअधिकारुका रुपमा बुझ्दछन् त्यसैले ऊ शक्तिशालि भएको देख्छन् । उसलाई पत्रिकामार्फत बधाइ र शुभकामना दिनु भनेको त्यो शक्तिको पूजा गर्नु हो । त्यसबाट केही लाभ लिन सकिन्छ भन्ने हेतु उसको महिमा मण्डन गर्दै पत्रिकामा उसका फोटो छापेर सनातनी बधाई र शुभकामना दिने गरिन्छ । यसमा पनि प्रतिष्पर्धा हुन्छ । एउटाले बधाई दिएपछि अब ऊ त्यस शक्तिको नजिक हुन्छ भन्ने भयले अर्कोले पनि अलि ठूलो फोटो र पत्रिकाको अलि राम्रो स्थानमा बधाईका शाब्दिक गुच्छाहरु अर्पण गर्छ । यस्तो प्रतिष्पर्धामा अरु पनि त्यसरी नै सामेल हुन थालेपछि, यो क्रम दिक्दारिलो ढंगले बीसौँ दिन लम्बिएर जान्छ । आफुले कसैलाई अहिले बधाई वा शुभकामना दिइराख्यो भने पछि आफ्नो पनि त्यस्तै बधाई खाने पालो आउँछ भनेर पनि कतिले यस्ता विज्ञापन छपाउने गरेका छन् । मान्छेको यहि लहडलाई समातेर अखबारका प्रकाशक र मार्केटींगका कर्मचारीहरुले कुनै निर्वाचन, अभिनन्दन् र कसैको निधन नछोडी कयौँ संस्था र व्यक्तिहरुलाई ुफलानोलाई बधाई नदिने? शुभकामना नछाप्ने ?वा फलानोको मृत्यु भएकोमा परिवारलाई समवेदना नदिने?ु भन्दै ताकेता गर्न थाल्दछन् । यस्तो ताकेताले पनि बीस पचास अरु बक्सहरु थपिहाल्छन् । यतिमा मात्रै यो कीस्सा टुंिगंइदैन । जो निर्वाचीत हुन्छ वा जो पुरस्कृत हुन्छ, उसले आँफै ुखोइ त मलाई बधाई दिएको ?ु भन्दै अरुबाट आफ्नो विज्ञापन गराउने गरेको पनि देखिएको छ । खासगरि यो रोग झापाका केही पत्रकारहरुमै व्याप्त छ । आफु पुरस्कृत हुन वा सम्मानित हुन कुनै प्रायोजीत समाचार वा लेख लेख्ने केही लोभीपापी पत्रकार छन् झापामा । तिनीहरु पुरस्कार पाउन केही सनातनी खालका, कसैलाई प्रशंसाले उचालेका वा कसैलाई अरुकै खातिर गालि बेइज्जति गरेका सामाग्री छापेर कुनै पुरस्कार वा सम्मान थाप्छन् । पुरस्कार पाइसकेपछि त्यसको प्रचार गर्दै अरु तस्कर, भ्रष्टाचारी वा पैसावालहरुसंग आफ्नै ुबधाईुको विज्ञापन माग्छन् र आफ्नै पत्रिकामा छपाएर कमिसन पनि असुल्छन् । यति मात्रै होइन, कोहि त यस्ता मान्छे पनि छन् हाम्रो जील्लामा, आफ्नो प्रचार कम भएको उनीहरुलाई महसूस भयो भने अमेरीका गएको छोरोको जन्मदिनमा यहाँको पत्रिकामा ुअमेरीकामा अध्ययन गर्दै गरेका हाम्रा सुपुत्रलाई जन्मदिनको शुभकामनाु लेखेर आफ्नै विज्ञापन गर्छन् । लाजको पसारो ।

अखबार चलाउनेहरुका केही अप्ठ्यारा, बाध्यता र आर्थीक कठिनाइहरु होलान् । यीनै अप्ठयारा र कठिनाईका कारण यस्ता खाले विज्ञापनमा भर पर्नु पर्ने पनि हुन सक्छ । तर, मिडियालाई विश्वशनिय बनाइराख्न आफ्ना अप्ठ्याराहरु टार्ने अरु नै उपाय खोज्नु मनासिब होला । हरेक निर्वाचन, हरेक सम्मान, पुरस्कार वा मान्छेका हरेक सफलता र शोकलाई ुमालुमा रुपान्तरण गर्ने यो घातक कर्मलाई मिडियाले प्रश्रय दिनु कति उचित हुन्छ ?

0 comments:

Post a Comment