पछिल्ला केही प्रसँगमा आफुले उठाएका केही विषयहरुलाई फर्केर हेरेँ । राजनीतिक दल, विद्यालय, विश्वविद्यालय देखि केहि व्यक्तिहरु सम्मका धेरै विषयहरु लेखिएका रहेछन्, मेरा प्रकाशित त अप्रकाशित लेखहरुमा । सस्तो पैसाको कुरा उठेछ । घीनलाग्दो दलालीका विरुद्धमा केही लेखिएछ । कति शब्दहरु उपभोक्तावादका सम्बन्धमा खर्चिएछन् । केही सय शब्दहरु वातावरणका नाममा चढाईएछ । थुप्रै वाक्यहरु युवाका लागि पनि लगानी भएछन् । केही नारीहरुलाई लक्षित गरेर पनि लेखहरु तयार भएछन् । आफु हुर्केको ठाउँ काँकरभिट्टालाई बद्नाम गराउनेहरुका विरुद्धमा पनि केहि लेखिएछ । दुई एक विषयहरु पत्रकारिता क्षेत्रका पनि उठेछन् । अहिलेको विश्व परिवेश र नेपाली राजनीतिका केही पहेलीहरु खुट्याउने प्रयास भएछ । र, नेपाली र अङ्गरेजी साहित्यका कुरा पनि अलिकति गर्न भ्याईएछ ।
आफ्नो कामबाट खुशी हुनु स्वाभाविक हो । र, सायद यो धेरै राम्रो नभए पनि नराम्रो चाहिँ पक्कै होइन । यसलाई कसैले आत्मरति पनि भन्न सक्ला, मैले अन्दाज लगाएको छु । तर, मेरो चासोको विषय त्यो होइन । बरु, मैले बुझ्न चाहेको चाहिँ यी माथी उल्लिखित विषयहरु कति महत्वका हुन् ? के यी विषयहरु नलेखी नहुने हुन् ? के यी विषयहरुनै वर्तमान समयको पगध्वनी हुन् ? के यी सबैहरु लेख्न जरुरी थिए ? यदी यी सबै प्रश्नहरुका उत्तर सकरात्मक आए भने अर्को प्रश्न स्वतः उब्जन्छ । त्यो के भने– यदि यी विषयहरु महत्वपूर्ण हुन् भने, के यीनले ती मान्छे र संस्थाहरुबाट त्यति नै महत्व पाए जति पाउनु पर्ने हो ? पाएका छन् भने त्यसको असर कहाँ, कस्तो र कति देखियो ? वा, यी चीजहरुले महत्व पाउने र तीनका असर देखिने समय भएकै छैन ?
यी सबै प्रश्नहरु एकैसाथ गुटमुटिएर आउँदा मलाई अक्सर कवि केशव आचार्यका कविताका केही पंक्तिहरुका सम्झना हुने गर्छ । उहाँले यस्तै प्रश्नहरुले घेरेका बेलाको लेखकको अवस्थालाई बडो परिहासपूर्ण ढङ्गले व्यक्त गर्नुभएको छ ः
अब कसैलाई कसैको मृत्युमा पनि शोक छैन
सुन उम्रने माटोमा खुनैखुन छ
मात्र आँखाले सुन्दर सपना देखेर के हुन्छ ?
यस परिवेशमा
मेरो वा रंगलाल भन्नु हुन्छ–
ए केशे– तैँले कविता लेखेर के हुन्छ ?
यस कवितालाई मेरा मीत्र शैलेषले विपठन गरेर पढ्ने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘ए केशे– तैँले कविता नलेखेर चाहिँ के हुन्छ ?’ शैलेषजीको यो प्रश्नले मलाई पनि हौसला दिने गर्छ । ‘लेखेर के हुन्छ ?’ भनेर सोध्नेहरुलाई मैले यस्तै उत्तर दिने गरेको छु –‘नलेखेर चाहिँ के हुन्छ ?’
तर, यस्ता प्रश्नहरु अरुले साध्ने भन्दा पनि आँफैभित्र सल्बलाउने भएकाले यसउपर बढी चीन्ता गरिँदो रहेछ । हामीले भोगिरहेको समय यस्तो बन्दै गएको छ जसले महत्वका थुप्रै विषयहरुलाई नजरअन्दाद गरिदिन्छ । हामी कहाँ यस्ता मान्छे र संस्थाहरुको बाहुल्य बढ्दै गएको छ जसले महत्व दिनुपर्ने विषयहरुलाई बेवास्ता गर्दछन् । सामान्य मान्छेले उठाएका गम्भिर सवालहरुलाई कुल्चेर अगाडि बढ्ने गरिन्छ । एकजना वामपन्थी बुद्धिजीविले मलाई बडो दुःख मान्दै भनेका थिए – ‘हामीले केही फरक मत राख्यौँ भने वा कुनै गम्भिर विषय उठान ग¥यौँ भने नेतृत्वले अप्ठ्यारो मान्छ वा नेताका चाटुकारहरुले सुरुवाल मुत्न थाल्छन् र फत्तुर लगाउन थाल्छन्, शब्द जानेकै छन्, त्यत्तिकै प्याच्च पेट्टी बुर्जुवा भनेर पाखा लगाउँछन् ।’ अर्का एकजना अग्रज, हाम्रा आदरणीय लेखकले भनेको पनि सम्झन्छु– ‘म अमेरीका नगएकामा र डलर नकमाएकामा रिसाएका छन् मेरा घरका मान्छेहरु ।’ यी दुवै भनाईहरु सतहमा सामान्य देखिएलान् । तर, यी भनाईहरुमा ठूलो पीँडा लुकेको छ । यो कुनै एक पार्टी, व्यक्ति वा संस्थाको मात्रै अवस्था होइन । यस्तो रोगले सबैलाई ग्रसित पारेको छ । अरु त अरु जसका लागि भनेर लेख्ने, बोल्ने या केही काम गर्ने प्रयत्न गरिन्छ, तिनीहरुकै असहयोग खेप्नु पर्दछ । तिनीहरुले नै हामीले लेखेको, बोलेको या काम गरेको कुरालाई बेवास्ता गरिरहेका हुन्छन् । यसरी हाम्रो सिङ्गो संस्कृतिमा मूल्यको क्षयीकरण हुँदैछ । हामी मध्येकाले गरिरहेका केही राम्रा कामहरुले आफ्ना अर्थहरु गुमाउँदै गएका छन् ।
विस्लाबा शिम्बोस्र्काको एउटा कविता पंक्ति यहाँ प्रासँगिक लाग्छ ः
जस्तो कि तपाईँले देखिसक्नुभएको छ
त्यही हुन्छ
प्रत्येक पटक त्यही हुन्छ–
सबभन्दा महत्वपूर्ण प्रश्नलाई
सबभन्दा निरर्थक सावित गरिन्छ ।
यस्ता खाले पीँडालाई कविहरुले आफ्ना कवितामा बडो राम्ररी चित्रण गरेका हुन्छन् । एलेन गिन्सबर्ग नामका एक चर्चित अराजकतावादि अमेरीकी कविले पनि लेखकले भोग्ने यस्तै पीरलोलाई आफ्नो छोटो कविता ‘दीज टु’मा वीम्वात्मक प्रस्तुति दिएकाछन् ।
एउटा रुखले अर्कोलाई भन्यो–
यो कार मेरो मुन्तिर बसेको मलाई मनपर्दैन
यसको पेट्रोलको गन्ध मलाई मन पर्दैन ।
त्यो अर्को रुखले उसलाई भन्यो–
ए ! तँ जहिल्यै गनगन गर्छस्
तँ वीक्षिप्त छस्
थाहा पाउँदैनस् ? तँ आँफै त्यो कारपट्टि नीहुरिएको छस् ।
लेखकहरुलाई वीक्षिप्त ठान्ने गरिन्छ । लेखकहरुको कामै यो भएन र त्यो भएन भनेर गनगन गर्ने हो, मान्छेको साधारण बुझाई यस्तो छ । त्यसैले ‘लेखेर केही हुँदैन’ भन्ने लेखकहरुकै संख्या पनि ठूलो छ ।
सुन्दर सपना देख्ने र त्यसैको निर्माणका लागि निरन्तर लेखिरहने लेखकहरु वीक्षिप्त हुँदैनन् । र, उनीहरुका कुरा गनगन होइनन् । लेखकहरुलाई यस्ता फत्तुर तिनीहरुले लगाउँछन् जो लेखकका शब्द–सामथ्र्यदेखि डराउँछन् । कायर हुन्छन् तिनीहरु । त्यसो त लेखक हुँ भन्नेहरु नै पनि कति यहि कोटिका छन् । तर साँचो अर्थमा लेख्नेहरु जहिल्यै असल र बलिया मान्छेका खोजि गरिरहेका हुन्छन् । र, खोजेका जति सबै प्राप्य नभएपनि लेखकका मनमा आशाको दियो जलिइरहन्छ ः
हामीले सोचेका थियौँ
आखिर भगवान्लाई पनि
एउटा असल र बलियो मानिसमा
भरोसा गर्नुथियो,
तर अफसोच
यो शताब्दीमा मानिस असल र बलियो
एकैसाथ हुनै सकेन
–बिस्लावा शिम्बोस्र्का ।
0 comments:
Post a Comment