Sunday, February 2, 2014

बाँझो नेपाली एकेडेमिया

'हाम्रामा बर्टान्ड रसेल, सारत्रे, एन्टोनियो ग्राम्सीहरूको खोजी गर्नु वा हर्बर्ट मार्कुज र नोम चोम्स्कीहरूको आविष्कार गर्न खोज्नु वा गलब्रेइथ र मार्सल मक्लुहानहरूलाई संस्थागत गर्छु भन्नु अर्थहीन हुन्छ। हामीसँग यो कदका विद्वान् कोही छैनन्। जति छन्, ती त केवल नेपाली समाज नामको पांग्रामा घुमिरहने सामान्य दाँत हुन्, जो निरन्तर विभेदरहित समाजको अपेक्षा गरेर बसेका छन्।' 

सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एन्ड एडमिनिस्ट्रेसन -सेडा), कीर्तिपुरमा सन् १९७० मा भएको भएको एक सेमिनारमा प्राध्यापक कमलप्रकाश मल्लले 'द इन्टिलेक्चुअल इन नेपाली सोसाइटी' शीर्षक कार्यपत्रमार्फत हाम्रा विद्वान्हरूबारे त्यसो भनेको चार दशकपछि यो पंक्तिकार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयभित्रको सेडा भवनमा पहिलोपटक प्रवेश गरेको थियो। उनले कुन ठाउँमा उभिएर हाम्रा विद्वान्बारे बोलेका थिए होलान्, त्यहाँ पुगेर कल्पना गर्न सम्भव थिएन। कारण, म पुग्दा भवन कुनै सेमिनार आयोजना गर्न लायक स्थितिमा थिएन। बाहिरबाट हेर्दा सुन्दर आर्किटेक्चरको नमुनाजस्तो देखिने भवनभित्र माकुराका असंख्य जालाहरू जेलिएका थिए। भाँचिएका फर्निचर, बिगि्रएका गिजर, गुम्सिएका कोठा, धुलाम्य र असरल्ल किताबहरूले भित्री भाग सिँगारेका थिए। त्यस खण्डहरबीच उभिएर अहिले कस्तो चिन्तन भइरहेको होला, थाहा छैन। बरू त्यहाँ पुगेका हामीले केही तमतमाइला ठट्टाचाहिँ गर्‍यौँ।

सेडा सिंगो नेपाली 'इन्टेलिजेन्सिया'को विरूप प्रतिच्छायाँ बनेको छ। नेपालका प्रायः विश्वविद्यालय हेर्नूस् वा हेर्नूस् साहित्य कला-प्रतिष्ठानहरू, मूल्यहीनताको गति सबैतिर तीव्र छ। अन्यत्र भवनहरू सग्लै होलान् तर जीवन्त छैनन्। 

प्राध्यापक मल्लले त्यस सेमिनारमा आफ्नो कार्यपत्र पढ्दा मुलुक राणाहरूबाट फुत्केर राजा महेन्द्रको कब्जामा पुगेको थियो। यद्यपि, शिक्षा, ज्ञान र प्रज्ञा हासिल गर्ने केही प्रयत्न बिस्तारै अघि बढ्दै थिए। महेन्द्रले आफ्नै खाले विकासवादी 'डिस्कोर्स' सुरु गर्न नै सायद सेडा बनाउन लगाएका थिए। पशुपतिशमशेर राणाहरू लागेर यसको स्थापना गरे, भवन बनाए। धेरै पछि मुलुक प्रजातन्त्रमा आइपुग्यो। महेन्द्रको पञ्चायतभन्दा राजनीतिक दलहरूको प्रजातन्त्र अग्रगामी थियो। यसमा सन्देह छैन। तर, सन्देह नहुनुभन्दा विडम्बनाहरूको रास हुनु दुःखदायी छ। त्यो अग्रगमन अधिकांश गरबि र पिछडिएका नेपालीका घरमा जस्तै सेडामा पनि आइपुगेनछ। दुःख यहाँ छ। सेडाहरूको बन्ध्याकरण गर्नुमा प्रजातन्त्रका हिमायतीहरूले आफ्नो सिद्धि देखेछन्, ताकि त्यहाँबाट कुनै नोम चोम्स्की जन्मेर आफूलाई अप्ठ्यारा प्रश्नहरू नसोधोस्। दुःख यहाँ छ। अर्को दुःख पनि भनौँ, म सेडा पुग्दा मुलुकमा गणतन्त्र आएको झन्डै आधा युग बित्न लागेको थियो। 

प्रश्न कुन भवनको उपयोग भयो या भएन भन्ने होइन। वा, प्रश्न सेडाजस्ता भवनहरू धमाधम बन्न थाल्नुपर्छ भन्ने पनि होइन। प्रश्न हामी नेपाली समाज जस्तो बनेको हेर्न चाहन्छौँ, त्यस्तो बनाउन विद्वता जरुरी छ कि छैन भन्ने हो। अर्थात्, लोकतन्त्रको उच्चतम प्रयोग गर्ने विभेदरहित समाज निर्माणका लागि प्राज्ञिक र बौद्धिक अभ्यास जरुरी छ कि छैन भन्ने हो। जरुरी छ भने सेडाजस्ता प्राज्ञिक अभ्यास हुने ठाउँमा स्वच्छ हावा बगोस्। त्यहाँ जीवन सञ्चारति होस्। भाँचिएका फर्निचर सग्ला बनून्। किताबमा लागेका धूलो टकटकिऊन्। माकुराका जालाहरू मिल्क्याइऊन्। बस्, चिन्ता यत्ति हो। 

तर, चिन्ता गरेर मात्रै समाधान निस्कँदैन। त्यसका लागि बलियो हस्तक्षेप चाहिन्छ। हस्तक्षेप गर्ने कसले ? बुद्धिजीवी, शिक्षक र विद्यार्थीहरूले। कुनै 'एक्टिभिज्म' नै चाहिन्छ भने पनि यसो हुनु आवश्यक छ। तर, यहाँ अर्को दुःख छ। एक्टिभिज्ममा उत्रिन जोकोही तयार हुँदैन। व्यक्तिगत स्वार्थका साँघुरा वृत्तमा कैद हुनु हाम्रा अधिकांश विद्वान्को दुःखद नियति हो। दालभातकै समस्या अब तिनलाई छैन। तर, छँदाखाँदाका पद र अवसरहरूबाट वञ्चित हुने भयले धेरैलाई कुण्ठित बनाएको छ। 

प्राध्यापक मल्लले सोही कार्यपत्रमा लेखेका छन्, 'पछिल्लो समय धेरै विद्वान्हरू सम्पर्क बढाउने, प्रभाव जमाउने र शक्तिको पूजा गर्ने मुसे दौडमा सामेल छन्।' मल्लको आशय यही मुसे दौडका कारण कोही पनि चोम्स्की वा म्याकलुहनका कदको विद्वान् बन्न नसकेको भन्ने छ। विडम्बना के भने चार दशकपछिका हाम्रा प्राज्ञिक कर्मवीरहरू उही साँघुरो स्वार्थको दौडमा अनवरत लागेका छन्। कसैलाई राजदूत हुने ध्याउन्न, कसैलाई आयोगहरूमा नियुक्ति पाउने रौँदालो। राजनीतिक विचारसँग नजिक हुनु वा कुनै दलमा आबद्ध हुनु आफैँमा कुनै अनुचित काम हुन सक्दैन। तर, मोलाहिजा र चाकरीको मेहेरोमा हरदम अलमलिनेले कस्तो प्राज्ञिक अभ्यास गर्छ ? त्यस्ताबाट माथि भनिएजस्तो हस्तक्षेपको कसरी आशा गर्न सकिन्छ ? 

कोही यस्ता पनि छन्, जो विद्वान्को भारी पगरी गुथेर टेलिभिजनमा बेला कुबेला झुल्किन्छन्। संसार गलत र आफू मात्र सही भएको दाबी दोहोर्‍याएर पेस गर्छन्। अर्काथरी विद्वान् गाइड बुक र टेक्स्ट बुक लेख्ने धन्दामा लिप्त। कोही त सातैपिच्छे पुस्तक प्रकाशन गर्ने कोटीका पनि छन्। पत्रपत्रिकामा छापिएका पुराना लेख भेला पार्ने वा पहिल्यै लेखिएका अनेक किताबबाट सारसंग्रह गरेर पुस्तक लेख्न पल्केका। बाँकी रहेकाले 'कन्सल्ट्यान्सी' गर्छन्, आफ्नो दुनो सोझ्याउँछन्। केही अपवाद नभएका भने होइनन्। यी अपवाद उही प्राध्यापक मल्लले भनेजस्तो समाजको पांग्रोमा भलादमी दाँत बनेर घुमिरहनुमा आफ्नो जिम्मेवारी पूरा भएको ठान्छन्। 

अनि, विद्यार्थी आन्दोलन ? विद्यार्थी आन्दोलन अब आन्दोलनको कोटीमै पर्छ कि पर्दैन, थाहा छैन। ठूला राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनहरू दिनप्रतिदिन स्खलित हुँदै पतनको बाटोमा छन्। विद्यार्थीका सरोकार वा राजनीतिका गम्भीर सवालहरूमा भन्दा गुटका उछलकुदमा बढ्ता समय र दिमाग लगानी गर्छन्। कलेजका आर्थिक स्रोतहरूमाथि छिनाझप्टी र अवैध विद्यार्थीहरूको जबरजस्ती भर्ना उनीहरूको अर्को मुख्य कर्म हो। उनीहरूबाट कुनै किसिमको बौद्धिक हस्तक्षेप भएको खबर अब बिलकुल अनौठो मानिनेछ। राजनीतिक परविर्तनका लागि सडकमा पुगेर नारा लगाउने वा ढुंगा हान्ने एकसरो काम पूरा भएपछि उनीहरू पुनः पुरानै थितिमा फर्के। गणतन्त्रको स्थापनापश्चात् उठेका तमाम मुद्दामा आफ्नो पनि बौद्धिक लगानी हुन सक्छ भन्ने विद्यार्थी संगठनहरूलाई लागेन। यस्तोमा मौजुदा विद्यार्थी संगठन र तिनका नेताबाट माथि भनिएजस्तो हस्तक्षेप कसरी हुन सक्ला ?

विश्वविद्यालयबाट बाहिर बसेर स्वतन्त्र रूपमा प्राज्ञिक कर्म गर्नेहरूले सोझै हस्तक्षेप गर्न सक्दैनन्। उनीहरूले समस्या पहिल्याइदिने हुन् वा भित्रकाले परविर्तनका लागि आवाज उठाए भने बाहिरबाट उनीहरूले होस्टेमा हैँसे गर्ने मात्र हुन्। तर, विश्वविद्यालयबाहिरका बुद्धिजीवी र विद्वान्हरूको अवस्था माथि भनिएभन्दा एकदमै भिन्न भने होइन। केही अपवादहरूलाई छाडेर, स्वार्थका साँघुरा वृत्तमा यी पनि उसै गरी कैद छन्। यी अपवाद धेरै कुरामा बौद्धिक हस्तक्षेप गर्न खोज्छन् तर सफल हुँदैनन्। जस्तो ः अनौपचारकि एक छलफलका क्रममा सीके लाल भन्दै थिए, 'खोइ हाम्रा नेताहरू मरसिकेका माक्र्स, लेनिन र माओका कुरा त सुन्छन् कि, थाहा छैन। तर, जिउँदाहरूले भनेको पटक्कै सुन्दैनन्।'

0 comments:

Post a Comment