जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ ।

आक्रोशले उमालेको कफी

कम्तीमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा किताब र कफीलाई दिने सुबिस्ता सबैलाई पुगोस् भन्नका लागि मसँग नेपाली र अंग्रेजी दुईटा भाषा छन् । शासकहरूसँग कति नाले बन्दुक छन् ?

Saturday, August 25, 2018

भान्सामा पाकेको आक्रोश

उज्ज्वल प्रसाईं / 

काठमाडौँ — सन् १९५९, जुलाई २४ का दिन मस्कोमा आयोजित ‘अमेरिकन नेसनल एक्जिबिसन’ उद्घाटन कार्यक्रममा तत्कालीन अमेरिकी उपराष्ट्रपति रिचर्ड निक्सन र सोभियत युनियनका नेता निकिता ख्रुस्चेवबीच रोचक संवाद भयो ।

प्रदर्शनीमा राखिएका भान्सामा प्रयोग हुने अत्याधुनिक सामान औंल्याउँदै निक्सनले भने, ‘अमेरिकामा हामी महिलाको जीवन सहज बनाउन खोजिरहेका छौं ।’ जवाफमा ख्रुस्चेवले भने, ‘महिलालाई हेर्ने तपाईंको पुँजीवादी नजर साम्यवादमा काम लाग्दैन ।’ विपरीत वैचारिक ध्रुवका यी दुई नेताबीच भएको ‘भान्सा–संवाद’ स्मरणीय छ ।

भान्सा राजनीतिमुक्त ठाउँ होइन । नेपाली घरका भान्सामा मूलत: दुई खाले राजनीति प्रतिविम्बित हुन्छन् । पहिलो, लैंगिक राजनीति । भान्सा त्यस्तो ठाउँ हो, जहाँ कैद गरेर महिलाको श्रम शोषण गरिन्छ । भान्सामा पुरुषले गरेको श्रमको मूल्य तोकिन्छ । श्रमिकका रूपमा भान्सामा पुगेका पुरुष व्यावसायिक कामदार हुन्छन् । नभए, भान्सा सम्हाल्नु उनीहरूको स्वतन्त्र चुनाव हुन्छ । महिलाका लागि भान्सा धेरैजसो बाध्यता हो, त्यहाँ उनीहरूले गरेको श्रमको उचित मूल्याङ्कन हुँदैन ।

दोस्रो, खाद्यान्न उत्पादन र उपभोगसँग जोडिएको राजनीति । कसका भान्सामा कस्ता उपभोग्य वस्तु पुग्छन् ? ती वस्तुको मात्रा र गुणस्तर केले निर्धारण गर्छ ? तिनको उत्पादन र वितरण प्रक्रिया बुझ्न खोज्नु अर्थराजनीति र सांस्कृतिक विमर्शमा प्रवेश गर्नु हो । कृषि, उद्योग, बजार र राज्यका अन्तरसम्बन्ध बुझ्न खोज्नु पनि हो । नेपाली भान्सामा प्रतिविम्बित भइरहेको यो दोस्रो राजनीतिबारे चर्चा गर्नु यो लेखको मुख्य ध्येय हो ।

कुशल लेखक, खराब मान्छे

उज्ज्वल प्रसाई /

भीएस नयपाल कुशल लेखक हो– धेरैले सन्देह गर्दैनन् । ऊ असल मानिस हो– कोही पनि खुलेर यसो भन्दैनन् । कुशल लेखक र असल मानिसको दोसाँधमा कुनै जमिन हुन्छ भने नयपाल लामो समयसम्म त्यहीँ उभिए । लेखकका रुपमा प्रशंसा चुलिँदा उनका राजनीतिक विचारको आलोचना सुरु भइसकेको थियो । मृत्युपछि उनका लागि छुट् याइएको विमर्शको धरातल पनि उही प्रशंसा र आलोचनाको मझधार नै भयो ।

लेखकका रुपमा नयपालको बिदाइमा सबैले अ हाउस फर मिस्टर विश्वास  सम्झिए ।  सरल वाक्य, घटनाको सचित्र वर्णन गर्ने शब्द–सामथ्र्य, समयलाई अक्षरमालामा खिप्ने खुबी एवं दु:खलाई व्यंग्य र हाँस्यरसमा व्यक्त गर्ने शिल्पको स्मरण गरे । त्यसमा उनले आफ्नै पिता सीप्रसाद नयपालको कथा लेखेका छन् । क्यारेबियन टापुमा बसेको भारतेली समाजमा बेलायती उपनिवेशका नंग्राले कोपरेर बनाएका सांस्कृतिक घाउका पाप्रा उप्काउादासमेत पाठक हाँसिरहे । सम्भवत: लेखनको यही विशिष्ट पहिचानका लागि नयपाल सधैँ प्रशंसित रहे ।

पुस्तकालय मरेको सहर

उज्ज्वल प्रसाई / २६ साउन २०७५ १२:२२:०० /

काँकरभिट्टामा अनौठो घटना भयो। बजारबीचको ठूलो भवनको माथिल्लो तलामा पुस्तकालय खुल्यो। पुस्तकालय भन्न सुहाउँदो फराकिलो कोठा थियो। कुनै दाताले दिएका अंग्रेजी किताबको डंगुर थियो। त्यहाँ सेक्सपियर र मार्क्स नभेटिएर के भो, किताबहरू थिए। साझा र प्रज्ञाप्रतिष्ठानले छापेका नेपाली साहित्यका कृतिहरूको संकलन थियो। दैनिक पत्रिका, गरिमा र समकालीन साहित्यका नयाँपुराना अंक थिए। तिनताक नाम कमाएको सहकारीको अगुवाइमा सो पुस्तकालय खुल्नु अनौठो घटना थियो।

दुई स्थानीय साहित्यकार, एक रैथाने नेता र निजी विद्यालयका दुई शिक्षक पुस्तकालयका नियमित पाठक थिए। सुरुमा त्यहाँ नियमित जाने विद्यार्थी सम्भवतः म एक्लो थिएँ। पुस्तकालयको हाजिरी रेकर्डमा सधैं यिनै आधा दर्जन मान्छेको नाम हुन्थ्यो। झुक्किएर वा एक झल्को हेर्ने रहरले पुग्नेहरू फर्केर जाँदैनथे। बजारका पसले फुर्सदमा बरु लुँडो खेल्थे, पुस्तकालय उक्लने जाँगर कहाँ ?

पुस्तकालयमा एकजना कर्मचारी थिए। नियमित आउने छजना मध्ये सधैं सबै जाँदैनथे। त्यसैले पुस्तकालय धेरैजसो रित्तो रहन्थ्यो। दिनभरि एक्लै धुमधुम्ती बस्नु परेकाले होला, पुस्तकालयमा मान्छे देख्दा उनी उज्याला हुन्थे। हम्मेसी बोल्न नपाएका उनले कोही गफिन लायक मान्छे भेटे भने घन्टौं छोड्दैनथे।

गरिमा गुमाएको विश्वविद्यालय

उज्ज्वल प्रसाई /  १५ साउन २०७५ ०७:३८:०० /

अन्नपूर्ण पोस्ट्मा छापिएको समाचारअनुसार नेपालका विश्वविद्यालयमा मानविकी संकाय संकटग्रस्त छ। सो संकायअन्तर्गतका केही विषयमा अति न्यून विद्यार्थी भर्ना हुन्छन् भने केही विषयका विभाग बन्द हुने तरखरमा छन्। यो खबर प्रकाशित भएको केही समयपछि, राजधानीका पुस्तकालयहरू बेहाल अवस्थामा रहेको समाचार पनि अन्नपूर्णले नै छाप्यो। पुस्तकालय जानुको उद्देश्य बदलिएको विषय सो समाचारमा उल्लेख थियो। पहिले बौद्धिक उन्नयनका लागि प्रयोग गरिने पुस्तकालय आजकल जागिरे परीक्षा पास गर्न बढी प्रयोग हुन थालेछन्। खबर सुखद् होइनन्, यी विषय समाचार–लायक देखिनु भने उचित हो।

चरम दलीयकरण नेपालका विश्वविद्यालयको मुख्य समस्या हो भनिन्छ। विश्वविद्यालयले आफ्नो गरिमा गुमाएकोमा चिन्ता गर्न थालिएको पनि धेरै भयो। विश्वविद्यालयको नेतृत्व गर्नेहरू पदीय जिम्मेवारीबाट विचलित भएकाले समस्या बढ्दै गएको बुझाइ व्याप्त छ। प्राज्ञिक अनुसन्धान र ज्ञानको उद्यम गर्ने थलो नभएर विश्वविद्यालय प्रमाणपत्र वितरक संस्था जस्तो बनेको आरोप लगाउने पनि उल्लेख्य छन्। प्राज्ञिक कर्मले सार्वजनिक पहिचान बनाएकाहरू आफू काम गर्ने विश्वविद्यालयको हालत कमजोर भएको आफैं स्वीकार्छन्। त्यसो त समस्याको अतिरञ्जना गर्दै ‘त्रिभुवन विश्वविद्यालयले मृत्युवरण गरिसकेको’ घोषणा गर्नेहरू पनि नभएका होइनन्।

डा. गोविन्द केसीको अनशनको सिलसिलाले पनि त्रिविजस्ता संस्थाका कमजोरी सतहमा ल्याएका हुन्। उनको अनवरत संघर्षको परिणामस्वरूप जस्ता सम्झौता भएका छन्, तिनको सफल कार्यान्वयन भएमा स्वास्थ्यशिक्षाको गुणस्तर र सहज उपलब्धतामा फरक पर्नेछ। तथापि माथि उद्धृत खबरअनुसार शिक्षाका उदात्त उद्देश्य प्राप्त गर्न, सोअनुरूपका संस्था र संस्कारको निर्माण गर्न भने अझै कठिन देखिन्छ।