जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ ।

आक्रोशले उमालेको कफी

कम्तीमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा किताब र कफीलाई दिने सुबिस्ता सबैलाई पुगोस् भन्नका लागि मसँग नेपाली र अंग्रेजी दुईटा भाषा छन् । शासकहरूसँग कति नाले बन्दुक छन् ?

Thursday, August 29, 2013

पाँचतारे पछिल्तिरको कुरूप तस्बिर

Book Review: Behind the Beautiful Forevers by Katherine Boo

नवउदारवादको भारतमा जति विरोध सायदै अन्यत्र कतै हुन्छ। तर, भारत जति स्वादले बजार अर्थतन्त्रलाई अँगाल्ने देश दक्षिण एसियामा सायदै अरू कुनै होलान्। जति विरोध हुन्छ, त्यति बलियो बन्दै गइरहेको छ भारतमा नवउदारवाद। वालमार्टलगायत बहुराष्ट्रिय कम्पनीहरूलाई भारत सरकारले भर्खरै ओछ्याइदिएको रातो कार्पेटले त्यतैतिर संकेत गर्छ। तर, नवउदारवादी चमकदमकसँगसँगै भारतका गरबिहरूको स्थिति झन्झन् नाजुक बन्दै गएको पनि सत्य हो। गरबि जनता कज्याउने बजारको विरोधमा नवउदारवाद र खुला बजार अर्थतन्त्रका विरोधीहरू बजारकै एक छेउ उभिएर नारा लगाइरहेको दृश्य हरेक दिन देखिन्छ भारतका ठूला सहरहरूमा। 

यही भारतमा छ मुम्बई र त्यहीँ छन् सम्भवतः दक्षिण एसियाकै ठूला स्लम अर्थात् गरबि सुकुमबासीहरूका अनगिन्ती छाप्राले बनेका ओसिला बस्ती। दिल्लीस्थित एक विश्वविद्यालयको छात्रावासमा बसेर तिनै ओसिला बस्तीमध्येको एक बस्तीका केही पात्रका कथा पढिरहँदा पनि यो पंक्तिकारको कानमा बाहिर भूमण्डलीकरणका विरुद्धमा लागेको नारा गुन्जिन्छ। जसै क्याथरिन बुले लेखेको बिहाइन्ड द ब्युटीफुल फरेभरमा '...यहाँका मान्छेले एक आधारभूत सत्य बुझिसकेका छन् कि यो दिनप्रतिदिन आधुनिक र समृद्ध बन्दै गएको सहरमा उनीहरूको उपस्थिति सहरका लागि लज्जाको विषय हो। तसर्थ, सानो ठाउँमा कुँजिएर बस्नु उनीहरूको नियति हो। उनीहरू मर्दा कसैलाई केही असर पर्दैन,' पढ्दै हुन्छु, बाहिर वामपन्थी विद्यार्थी संगठनको कुनै कार्यकर्ताले ठूलो स्वरमा भन्छ, 'कर्पोरेट लुट मुर्दावाद।' 

केही वर्षअघि सुकेतु मेहताले म्याक्सिमम सिटी नामको किताबमार्फत मुम्बईको जीवनी बाहिर ल्याएका थिए। उनका पनि अधिकांश पात्र ती तन्नम नै थिए, जसलाई बाल ठाकरेहरूजस्ता कट्टरपन्थीहरूले चाहिएका बेला प्रयोग गरे र आफूलाई खतरा महसुस भएपछि मारििदए। क्याथरिनले भने लोकतन्त्र भन्ने गरएिको भारतको चरम अव्यवस्थालाई मुम्बईको एयरपोर्ट नजिकै रहेको अन्नावादी नामको सुकुमबासी बस्तीको कथाबाट नियाल्ने कोसिस गरेकी छन्। 

अन्नावादी मुम्बई एयरपोर्ट नजिकैको बस्ती हो। अर्थात् मुम्बई पुगेकाहरूले एयरपोर्टबाट देख्ने झुग्गीझोपडी नै क्याथरिनले किताबमा उतारेको बस्ती हो। त्यहाँ एयरपोर्ट मात्र छैन, त्यो बस्तीलाई छायाँमा पार्ने पाँच तारे होटल पनि त्यहीँ छ। महँगो दाम तिरेर यात्रा गर्न सक्ने यात्रु र भारतका एक प्रतिशत जनताको मात्र पहँुच भएको झकीझकाउ पाँचतारेको पछिल्तिर आफ्ना सम्पूर्ण कुरूपता सम्हालेर बसेको छ अन्नावादी। त्यस बस्तीको अघिल्तिर सबैले देख्ने गरी एक इटालियन कम्पनीको टायल्सको विज्ञापन गरएिको ठूलो होर्डिङ् बोर्ड छ। त्यसमा लेखिएको छ, 'ब्युुटीफल फरेभर' अर्थात् सधैँ सुन्दर। त्यो बस्तीको कुरूपता र होर्डिङ् बोर्डले बचाएर राखेको सुन्दरतालाई टिपेर क्याथरिनले आफ्नो किताबको नाम राखेकी छन्, बिहाइन्ड द ब्युटीफुल फरेभर। त्यहाँ छन् अब्दुल, आशा, मन्जु, सुनीललगायतका पात्र। यी अनेक ठाउँबाट यहाँ थुप्रेका हुन्। गाउँमा भोकमरी लागेपछि, भएको थोरै जमिनमा उब्जनी नभएपछि वा गाउँका शोषकले लखेटेपछि अनेक दुःख, हन्डर सहँदै अझ दुःख झेल्न अन्नावादीमा आइपुगेका हुन्छन् यी दुखियाहरू। 

अब्दुललगायतका कलिला केटाको मुख्य काम भनेको कबाड भ्ोला पार्ने र जोखेर बेच्ने हो। उनीहरूको ध्याउन्न कहाँ कस्ता कबाड पाइन्छन् भनेर दिनरात खोजी गर्ने र भेला भएका चीजहरूबाट तिनका प्रकार अनुसार छुट्टयाउने र विभिन्न दरभाउमा बेच्ने। त्यहाँबाट प्राप्त चुनदामले जीविकोपार्जन गर्ने। अनेक रंगीबिरंगी टिन र स्टिलका बट्टामा प्याक गरेका वस्तु एयरपोर्टमा आउने यात्रु या पाँच तारे होटलमा आउने धनाढ्यहरूले प्रयोग गर्छन्। तिनैले नचाहिने भनेर फालेका फोहोर नै यी दुखियाहरूका जीवन चलाउने उद्यम बन्छ। जुन बेला यिनीहरूसँग बेच्नलाई कबाड हुँदैन वा अलिकति भेला पारेको पैसामा स्थानीय प्रहरीका भ्रष्ट दृष्टि ती चुनदाममा पर्छन्, उनीहरू भोकभोकै सुत्छन्। भोक सहन नसकेपछि मुसा वा भ्यागुता मार्छन्, फोहर नालीका किनारमा फलेका हरयिा घाँस ल्याउँछन् र पकाएर खान्छन्। त्यहाँ साना नानीहरू बिरामी हुन्छन्, तिनका बाबुआमासँग औषधी गर्ने पैसा हुँदैन। अलिकति आश हुन्जेल प्रयत्न गर्छन्, पैसा जोहो गर्ने कोसिस गर्छन्। नसकेपछि बाबुले उम्लँदै गरेको दाल वा तरकारीको भाँडोमा आफ्ना कलिला नानीहरू च्ाोबेर उनीहरूको हत्या गर्छन्। तर, त्यहाँ कोही मारनिुले कुनै किसिमको संवेदना कसैमा जन्माउँदैन। नियतिले ढुंगो भएर बाँच्न राम्रै गरी सिकाइसकेको छ अन्नावादीका यी गरबिहरूलाई।

एक दिन फतिमा भन्ने अपांग आइमाईले आफैँमाथि आगो लगाउँछे। ऊ जलिरहेकी हुन्छे, अरू सबै त्यहाँ रमिते बन्छन्। रक्िसा चालकले त्यो जल्दै गरेको शरीरलाई आफ्नो रक्िसामा राख्न मान्दैन। ऊ भन्छ कि 'मेरो रक्िसाको सिट पनि त्यसको शरीर सँगसँगै जल्छ।' त्यो जल्दै गरेकी अपांगलाई त्यत्तिकै मर्न छोडिदिएर सबै आफ्नो भात-भान्सामा लाग्छन्। बाँकी रहेका थोरै केटाकेटी त्यो आइमाईको शरीर जलेर कस्तो बन्छ भनेर हेर्न पर्खेर बसिरहन्छन्। नजिकैका प्रहरी घटना हुन्जेल देखा पर्दैनन्। सबै सकिएपछि त्यहाँ पुगेका उनीहरू चाहन्छन् यो आइमाईको हत्याको आरोप यही बस्तीका थोरै पैसा भएका कसैमाथि लागोस् ताकि त्यही नाममा पैसा दोहन गर्न पाइयोस्। नभन्दै अलिअलि पैसा कमाउन थालेको ठिटो अब्दुलमाथि हत्याको आरोप लगाइन्छ। भ्रष्ट प्रहरी उसका पछि लाग्छ। अब्दुल बस्ती छोडेर भाग्न थाल्छ।

क्याथरिनले यस्ता केही पात्रका व्यक्तिगत जीवन उतारेकी छन्। उनीहरूका दैनिकी लेखेकी छन्। अत्यन्त सुन्दर भाषामा बुनिएका कथाले उपन्यासको बान्की पाएका छन्। यस्ता किसिमका गैरआख्यान कृतिमा अक्सर लेखक आफैँ उपस्थित हुन्छ वर्णनमा। उसले प्रत्यक्ष भोगेको र ऊसँग पात्रहरूले गरेका कुराकानीलाई समेटेर लेखिएका हुन्छन् यस्ता कृतिहरू। तर, क्याथरिनले भने आफूलाई कतै उपस्थित गराएकी छैनन्। उनले सूत्रधारले जस्तो ती पात्रका कथा मात्रै भनेकी छन्। एउटा उपन्यासकारले म पात्र नराखी खुरुखुरु 'थर्ड पर्सन'मा कथा भने जस्तो गरी भनेको कथा पढ्दा उपन्यास पढेकै स्वाद आउँछ। पढ्दै गर्दा पाठकले क्याथरिनलाई उति सम्भिmँदैन पनि। कारण, त्यहाँका अन्य पात्रहरू नै उसका मस्तिष्क कब्जा गर्न आइपुग्छन्। तर, पढिसकेपछि पाठकले सोध्न सक्छन्, यी पात्रका जीवनलाई यतिको नजिकबाट नियाल्न कसरी सम्भव भयो ? 

यी पात्र र यहाँका बस्तीमा लामो समय नगुजारी यतिको कथा लेख्न सम्भव छैन। त्यहाँको गरबिीको एक भोक्ताजस्तो नभई, बाहिरबाट दूरबिनले हेरेर, त्यसको पीडा मापन गर्न सम्भव छैन। भारतको खुला बजार अर्थतन्त्र र नवउदारवादी नीतिले बनाएका घाउ अन्नावादीजस्ता ठाउँका रूपमा उकुच पल्टिएका छन्। त्यही संक्रमणकारी घाउ कति डरलाग्दो छ भन्ने देखाउन पनि त्यसलाई नजिकबाट नजाँची सम्भव हुँदैन। त्यसैले एउटा गतिलो किताब लेख्न कति मिहिनेत गर्नुपर्छ भन्ने जान्न पनि क्याथरिन  कृति पढ्न जरुरी छ। वासिंगटन पोस्ट र न्युयोर्करजस्ता पत्रिकामा काम गरसिकेकी क्याथरिन कम मिहिनेतले पुलिट्जर जस्तो प्रतिष्ठित पुरस्कार विजेता बनेकी होइनन्।  
(नेपाल साप्ताहिक)

व्यवस्थाका चोट सुम्सुम्याउँदै

Book Review: Walls of Delhi by Uday Prakash

केही दिनअघि नरेन्द्र मोदीले दिल्ली विश्वविद्यालयका विद्यार्थीहरूका अघिल्तिर उभिएर विकासको मन्त्र जपे । विकास भन्ने शब्दको पूर्णतया मोदीमय व्याख्या दिए । उनका परिभाषामा छुटेका थिए, भारतका करोडौं गरिबहरू । तिनै छुटेका मान्छेप्रतिको सद्भाव लिएर जेएनयुका सहपाठीहरू मोदीका विरुद्ध प्रदर्शन गर्न दिल्लीका सडकमा पुगे । उता मेरा साथीहरू भुइँमान्छेका आवाज बोलिदिन हिँड्दै गर्दा म उदय प्रकाशले लेखेका लघु उपन्यासको संग्रह 'वाल्स अफ दिल्ली' पढ्न थालेको थिएा । तीन लघु उपन्यासहरू 'वाल्स अफ दिल्ली', 'मोहनदास' र 'मंगोसिल'का अंग्रेजी अनुवादको यो संग्रहमा पनि तिनै मोदीको विकासवादमा नपरेका मान्छेहरू थिए । सिकागो विश्वविद्यालयमा हिन्दी भाषा साहित्य अध्यापन गर्ने ज्यासन ग्रुनेबाउमले यी तीन लघु उपन्यासहरूको अंग्रेजी अनुवाद गरेका हुन् । 

सहरका सडक र बिल्डिङहरू सफा गर्ने रामनिभासले एउटा भित्तोमा लुकाइएको पैसाको थैलो भेट्छ । नाघ्नै नसकिने समस्याका पहाडका अघिल्तिर अलमलिएर उभिएका बेला उसले सो तिजोरी फेला पारेको हुन्छ । रामनिभास घरकी श्रीमतीलाई खुसी पार्न किनिदिनुपर्ने सौदापात र थोरै सुख सुविधाका सामल किनिदिएर उसकी प्रेमिका भए ठाउँमा पुग्छ । प्रेमिकालाई लिएर ताजमहल पुगेको स्विपर रामनिभास ताजमहलका मालिक सारजहाँभन्दा कम हुँदैन । गोजी गह्रुंगो पारेको उसले आफ्नी मुमताजलाई महँगो होटलमा राख्छ । दुःखको अर्को चक्र यहींबाट सुरु हुन्छ । कारण, रामनिभासजस्तो मान्छे महँगो होटलमा सुत्न पुग्नु व्यवस्थाका लागि सुखद होइन । रामनिभासका सुखका विरुद्धमा खटिएका व्यवस्थाका पालकहरू उसका पछि लाग्छन् । त्यसपछि स्थिर उभिने दुःखको पहाड होइन, बहुलाहा समुद्र बग्छ रामनिभासको जीवनमा । भित्तोमा भेटिएको खजानाको सुइँको पाएको 'वाल्स अफ दिल्ली'को सूत्रधार अहिले पनि एउटा छिनो बोकेर दिल्लीका अनेक पर्खाल कोट्याउँदै हिँडिरहेको छ । कथा पढ्दै गर्दा मलाई लागेको थियो, सायद यो सूत्रधार नरेन्द्र मोदीले खजाना लुकेको दिल्लीका भित्ताबारे केही सूचना देलान् भन्ने आशामा त्यतै कतै उभिएर मोदीलाई सुनिरहेको होला । 

'मोहनदास'को कथासँग नेपाली पाठक परिचित नै छन् । नेपालीमा अनुदित भइसकेको यस कृतिमा मध्यप्रदेशको एक गाउँमा मोहनदासको परिचय चोरिन्छ । आफ्नो नाम र दुःखले आर्जेको शिक्षाको प्रमाणपत्र चोरिएपछि त्यसका विरुद्ध ऊ संघर्षमा उत्रिन्छ । केही दयालुहरू उसका सहयोगमा जुट्छन् । अदालतबाट बडो मुस्किलले उसले न्याय त पाउँछ । तर, फिर्ता पाएको आफ्नै परिचय उसको गलपासो बनिदिन्छ । यहाँ पनि गरिब मोहनदासको दुःखका विरुद्धमा सिंगै व्यवस्था उभिन्छ । गरिबका लागि न्याय पाउनु नै हानिकारक छ । मोहनदासजस्ता लाग्ने पात्रहरू दिल्लीमा यदाकदा भेट्न थालेको छु, आजकल । तिनीहरूमध्येका धेरै त्यस दिन मोदीका विरुद्ध नारा लगाउन सडकमा पुगेका थिए होलान् ।  

गरिबी आफैंमा एउटा रोग हो । 'सबै गरिबलाई सिध्याए त गरिबी नै चट हुन्छ,' मोदीको विकासवादले कतै नेपथ्यमा यस्तै धुन बजाउँछ । तर, गरिबीले केही यस्ता अचम्म खाले रोग पनि निम्त्याउँदो रहेछ । त्यो थाहा पाउन उदय प्रकाशलाई नै पढ्नुपर्छ । सो अचम्मको रोगकै नाममा उदयले लेखेका छन् एउटा लघु उपन्यास- 'मंगोसील ।' 

एक प्रहरी निरीक्षकको नोकर चन्द्रकान्त र तिनै निरीक्षकले यौन शोषण गर्दै आएकी विवाहित महिला शोभा एक साँझ सबैका आँखा छलेर भाग्छन् । दिल्लीको जहाँगीरपुरीमा घर भन्न नसुहाउने सानो कोठामा गुजारा गर्न थाल्छन् । उनीहरूबाट जन्मेका धेरै बच्चा खेर जान्छन् । धेरै असफल प्रयासपछि उनीहरूले बडो यत्नले एउटालाई बाचाउन सफल हुन्छन् । सो बच्चा अप्राकृतिक ढंगले हुर्किन थाल्छ । उसको टाउको पनि बढ्दै जान्छ र शरीरले थाम्नै नसक्ने गह्रुंगो हुन्छ । बडो रहस्यमयी ढंगले उसको मस्तिष्क चल्न थाल्छ । उसले दुनियाँका जटिल विषयहरूको ज्ञान लिन थाल्छ । उसका उमेरका बच्चा कार्टुन हेरिरहँदा ऊ विश्व समाचार हेर्छ । इन्टरनेटबाट अनेक सूचना संग्रह गर्न लाग्छ । मंगोसिलले ग्रस्त बच्चाले यस कथाको कथावाचकलाई भन्छ, 'अंकल यो तेस्रो दुनियाँ भन्ने नै हुँदैन । यहाँ त केवल दुई खाले दुनिया छन् । एक त्यस्तो दुनिया जहाँ अन्यायका पृष्ठपोषकहरू बस्छन् । त्यहीं अन्याय सहनेहरूलाई भने अर्को दुनियामा राखिएको छ ।' -पृष्ठ ः २०४) यसो भन्दा सूर्यकान्त नामको यो बच्चो लगभग ८ वर्षको थियो । आफ्नै भारी टाउको सम्हाल्न नसक्ने यस्तो बच्चो यस्ता सूचना र ज्ञानका कारण व्यवस्थाका लागि हानिकारक नै हुन्छ । उसकै परिवार र समाजले उसलाई बुझ्न छोड्छ । त्यसैले यदि उसले आत्महत्या नगरेको भए, उसका लागि कसैले हेमलक बोकेर आउने नै थियो । 

मोदीको विकासवादमा नपरेका यी मान्छेहरूले उदय प्रकाशमार्फत त्यस दिन मेरा अघिल्तिर दुःखका कथा हाले । उनीहरूका कथा सुन्दा हाँसो लाग्थ्यो । तर हाँस्दा हाँस्दै कतिखेर आँखा रसाइसक्छ, पत्तै नहुने । ट्रयाजडी एकोहोरो भयो भने झिँझोलाग्दो हुन्छ भन्ने उदय प्रकाशलाई थाहा छ । त्यसकारण उनले हास्यरसमा घोलेर ती हजारौं मान्छेका दुःख सतहमा ल्याउँछन् जो अर्काका कारणले दुःखी भएका हुन् । 

यसो भन्दै गर्दा, यी लघु उपन्यासहरू पूर्णतया राजनीतिक भन्ने लाग्न सक्छ । हो, अराजनीतिक होइनन् यी कथाहरू । तर, कुनै दर्शनको बोझ बोकेका छैनन् यिनले । लेखनको शिल्प र कथा भन्ने नयाँ तकनिकीको प्रयोगले पाठकलाई आनन्द दिन्छन् । त्यसो त नरेन्द्र मोदीले नै पढ्ने फुर्सद निकाले भने, खरर पढ्लान् यी तीनवटै लघु उपन्यासहरू ।

समाजका यथार्थ आफ्ना सबै अवयवहरूसहित उपस्थित छन् उदयका उपन्यासमा । यथार्थलाई कति कलात्मक ढंगले लेख्न सकिन्छ भन्ने थाहा पाउन उदय प्रकाशलाई पढे पुग्छ । साथै लेखकले आफ्नो समाज र त्यहाँ बाँच्ने मान्छेलाई कति नजिकबाट नियाल्न जरुरी छ भन्ने थाहा पाउन पनि उनैलाई पढ्नुपर्छ । दिल्लीका बारे लेख्दा उनी अक्षरहरूमा दिल्ली देखाउँछन् । मध्यप्रदेशको गाउँ लेख्दा, उनी सोझै पाठकलाई गाउँमै उतार्न सक्छन् । दिल्लीका फोहोरी नाली ह्वास्सै गन्हाउँछ, वाल्स अफ दिल्लीमा । जब मोहनदासले मौवा अर्थात् लोकल रक्सी पिउँछ, त्यसको बेहोसीले पाठकलाई पनि छुन्छ । लेखनको सामथ्र्य सायद यसैलाई भनिन्छ । 

यी सबै उपन्यासहरूमा उदय आफू कतै न कतै देखा पर्छन् । मोहनदासमा त कथाको बहावलाई रोक्दै ठाउँठाउँमा पाठकलाई झस्काउन आइपुग्छन् । भारतको राष्ट्रिय राजनीति र त्यसलाई प्रभाव पार्ने विश्व व्यवस्थाका बारे रिपोर्ट गर्न उनी उपस्थित हुन्छन् । तर, लेखक आफैं उपस्थित भएर बोलेका यी अंश कतै झिकेर फाल्नुपर्ने लाग्दैनन् । नचाहिने झोला काँधमा जबर्जस्ती बोकाइदिएका छैनन् पाठकलाई उदयले । बरु, त्यस कथाको विश्वसनीयता र ऐतिहासिकतामा ती रिपोर्टले बल पुर्‍याएका छन् । अन्य कथामा कतै उनीजस्तै लाग्ने कथाकार पात्र उपस्थित छ भने कतै सूत्रधारजस्तो बनेको छ । 

दिल्ली र अन्य सहरमा पत्रकार र फिल्म निर्माता बनेर आफूभित्रको लेखकलाई जोगाउन संघर्ष गरेका उदयले यी सहरका धेरै रंगहरू आफ्नै आँखाले देखेका छन् । यहाँ बग्ने हावाका दिशा पत्ता लगाउने शक्ति भएकै कारण नेपथ्यमा खेलिने राजनीतिक दाउपेच उनी उधिन्न सक्छन् । साथै रिक्साचालक, फुटपाथ पसले र स्विपरहरूका कहर पनि दुरुस्त लेख्न सक्छन् । 

उनी हिन्दीमा लेख्छन् त्यसैले भारतको अंग्रेजी मात्र पढ्न थालेको नयाँ पुस्ताले उनका लेखनीहरू धेरै पढेका नहोलान् भन्ने मेरो सामान्य अनुमान हो । अहिलेसम्म अंग्रेजी भाषाका भारतीय लेखकले नलेखेका कथाहरू उदयले हिन्दीमा लेखेका छन् । उनका रचनाको अंग्रेजी अनुवाद आएपछि भने हिन्दी साहित्यलाई बेवास्ता गर्न थालेको पुस्ताले पनि गरिब भारतीयका दुःखलाई उदयका रचनामार्फत महसुस गर्नेछन् । 

अनुवादमा पनि उनकोे सामथ्र्यलाई साचारित गराउन सक्दो कोसिस गरिएको छ । वाल्टर बेन्जामिनले उनको चर्चित निबन्ध 'द ट्रान्सलेटर्स टास्क' मा भनेका छन्, मूल भाषाको ध्वनिलाई अनुवाद गरिने भाषामा ब्युँताउने काम नै राम्रो अनुवादकको मुख्य काम हो । ज्यासनले मूल भाषाको मर्मलाई जोगाउने ठूलो यत्न गरेको महसुस हुन्छ । यी लघु उपन्यासहरू अनुवाद हुन भन्ने थाहा नपाएको पाठकले पढ्यो भने पनि खल्लो महसुस गर्नेछैन । 

उनका यी तीन उपन्यासका सार उनकै एक कवितामा मुखरित भएको छ । 'व्यवस्था' शीर्षकको कविता यस्तो छ ः

दोस्त चिठ्ठी में

लिखता है-  

'मैं सकुशल हुँ ।'

मैं लिखता हुँ-

'मैं सकुशल हुँ ।'

दोनों आश्चर्यचकित हैं ।

प्रकाशित मिति: २०६९ फाल्गुन ५ ०९:४३  (कान्तिपुर दैनिक )

व्यक्ति : सिक्किमको नयाँ लेखक

Profile: Prajwal Parajuly, the author of The Gurkha's Daughter

योजनाका ठोस बुँदाहरू पछ्याउँदै हिँड्दैन जिन्दगी । जिन्दगीका योजनाहरूको त्यस्तो फाइल पनि हम्मेसी राखिँदैन जसलाई घरी घरी पल्टाएर हेरिरहुँ । प्रज्वल पराजुलीको जिन्दगीले पनि अनिश्चित र बांगोटिंगो बाटो समाएर हिँड्नुपर्ने नियति भोग्यो । सोझो रेखामा खुरुखुरु हिँड्थ्यो भने यी पराजुली ठिटाकोे कथा लेख्ने जाँगर सायद हुँदैन थियो । भारतमा चलेका सबैजसो ठूला पत्रिकाले उनका फोटो टाँस्ने र उनले बोलेका शब्दलाई छाप्ने लेठो सायदै गर्थे । तर आज भने यी सिक्किमेली ठिटालाई भ्याइनभ्याइ छ । कति पत्रकारलाई अन्तरवार्ता दिन भ्याउँदिन भन्नुपर्दा उनी चुकचुकाउँदैछन् । उनैलाई सुन्न कार्यक्रम आयोजना गर्छु भन्ने शुभेच्छुकहरूलाई समय छैन भन्नुपर्दा खल्लो महसुस गरिरहेका छन् । पराजुली भर्खरै प्रकाशित कथासंग्रह 'गुर्खाज डटर'का लेखक हुन् । लन्डनमा कोर्कसले र भारतमा पेन्गुइनले सो संग्रहको प्रकाशन गरेका हुन् । 

पुस्तक लोकार्पण गर्न दिल्ली आएका पराजुलीलाई भेट्न मित्र दिनेश काफ्ले र म सिक्किम हाउस पुग्दा पनि उनी फोनमा व्यस्त थिए । मीठो सिक्किमे लवजमा उनले हामीसँग भने, 'मलाई नो भन्न कस्तो अप्ठ्यारो लाग्छ कि, तर टाइम मिलाउनु पनि त सक्दिन हो !' फरासिलो स्वभावका पराजुलीले शुद्ध नेपाली भाषामा बोल्ने ठूलो यत्न गर्दै हामीसँग लगभग डेढ घन्टा बिताए । अस्ति अक्टोबर २४ मा २८ वर्ष पुगेका उनले सिक्किमदेखि लन्डनसम्मका घटनापूर्ण यात्राको कथा हाले । अलिकति लेग्रो मिसिएको सिक्किमेली भाका र बीच बीचमा घुस्ने अंग्रेजी वाक्यहरूमा सुनिने खास्सा बि्रटिस लवजमा भनिएको उनका कथा सिक्किम हाउसको प्रख्यात प|mाइड मोमोभन्दा मीठो थियो ।   

सन् २०१० अपि्रलको कुनै एक दिनको कुरा हो । ज्वालामुखीको खरानी लन्डनको वायुमण्डलभरि उडिरहेका थिए । जहाज उडानहरू रद्द भएका थिए । बाटामा हिँड्नसमेत गाह्रो भइरहेको थियो । लन्डन बुक फेयरमा हिलारी मेन्टल बोल्न आउने कार्यक्रम थियो । प्रज्ज्वल झोला बोकेर निस्किए, मेन्टललाई सुन्न । त्यस बेला अक्सफोर्ड युनिभर्सिटीमा क्रिएटिभ राइटिङ पढ्न आवेदन दिएका थिए । उनलाई लाग्यो, मेन्टललाई सुन्दा अक्सफोर्डको प्रवेश परीक्षा उत्तीर्ण गर्न केही सहयोग नै पुग्ला । मेन्टललाई त सुने तर ज्वालामुखीको राखकै कारण बुक फेयरका अरू सबै कार्यक्रम रद्द भयो । राम्रा कार्यक्रमहरू हेर्न नपाएकाले दिक्क मान्दै फर्केकी एक महिलासँगै ट्रेनमा बस्न पुगे उनी । गफ गर्ने मेसोमा ती महिलाले आफूलाई लिटररी एजेन्ट भएको बताइन् । झोलामा बोकिराखेको आफ्नो एउटा कथा हेर्न भनी तिनै एजेन्टलाई थमाए उनले । त्यसबेला उनलाई हेक्का थिएन, यसै विन्दुमा उनको जिन्दगीले एउटा ठूलै मोड लिइसकेको थियो भन्ने । केही दिनपछि नै सुसन इयरउड भन्ने ती महिलाले उनका अरू कथा पढ्ने मन भएको बताइन् । अन्य केही कथा पठाइदिए । अक्सन चल्यो, कोर्कस जस्तो ठूलो प्रकाशन गृहले उनका कथाहरू छाप्ने निश्चय गर्‍यो । त्यति मात्रै हो र ? उनको अर्को उपन्यासका लागि पनि पाण्डुलिपि नै नहेरी उनलाई एड्भान्स दियो । अर्को वर्ष यसै समयमा उनको 'ल्यान्ड ह्वेर आई फ्ली' नामको उपन्याससमेत बजारमा आउनेछ । उनले लेख्ने काम सिध्याइसके । 

जसै यो खबर बाहिर आयो, एकपछि अर्को गर्दै भारतका सबै पत्रिकाले उनका बारे स्टोरी छापे । 'टाइम्स अफ इन्डिया'देखि 'दि हिन्दु'सम्मका पाठकले एक युवा लेखकको उदय हुँदै गरेको खबर पढे । कपाल नभएको टाउको सुम्सुम्याउँदै भने, 'त्यसपछि एक दिन बिहान उठेर फेसबुक खोल्दा त एकैपटक ७० भन्दा बढी पे|mन्ड रिक्वेस्ट आएको थियो । म त छक्कै परें नि !' 
उनले थपे, 'ला..किताब आएकै छैन, यत्रो हाइप भइसकेछ । अलि अलि डर पनि लाग्यो हो । तर पढ्नेहरूले राम्रो भनेका थिए ।' आफ्नै भाकामा उनले खुलेर त्यस बेलाको अनुभूति सुनाए । पश्चिमका र भारतका समेत अंग्रेजी भाषा पढ्ने पाठकलाई उनले आफ्ना कथाहरू मार्फत नयाँ संसारको परिचय दिएका छन् । पूर्वाेत्तर भारत, दार्जिलङ, भुटान र नेपालका नेपाली भाषीका कथा लेखेका छन् उनले । काठमाडौंका सासूबुहारीका सम्बन्धका पहेली, कालिम्पोङमा पसल गरेर गुजारा गर्ने मान्छेको दोधारे मनस्थिति, दार्जिलिङमा मनाइने हिन्दु चाडमा भएको मारकाट, नेपाली भाषी भुटानी शरणार्थीको व्यथा, गोर्खाली लाहुरेकी छोरीले उसकी बाबुलाई बुझ्न गरेको प्रयत्न लगायतका विषयहरू उनका कथामा छन् । यसअघि भारत र अन्य भेगमा रहेका नेपालीभाषी समुदायका कथाहरू बाहिरी दुनियाँमा बिरलै पुगेको छ ।      

अब यस संग्रहलाई नेपाली भाषामा अनुवाद गर्ने जमर्को गरेका छन् उनले । तर उनको नेपाली भाषामाथिको पकड अभ्यासको कमीले कमजोर हुँदै गएकाले अनुवादका लागि बा आमाको सहयोग लिएका छन् । बीसी शर्मा र सरला भट्टराई आजकल जोडतोडले छोराका अंग्रेजी कथालाई नेपालीमा अनुवाद गर्न लागेको उनले दंग पर्दै सुनाए ।

यो त भयो सन् २०१० पछि अग्लिएको उनको करियर ग्राफ । तर त्यहाँसम्म आइपुग्न उनले गरेको यात्रा कम रोमाञ्चक छैन । 

कालिम्पोङमा जन्मेर उनी सिक्किममा हुर्के । परिवार ठूलो थियो । काका काकी, हजुरबा, हजुरआमा, सबै भएको सगोल परिवार थियो । भात भान्सा एउटै, आर्थिक मामलो पनि सगोलमै । उनले सगोल परिवारको आफ्नो हुर्काइलाई एक वाक्यमा संश्लेषण गरे, 'इट टिचेस यु टु बी अ सर्भाइभर ।' अर्थात् जिन्दगीका जटिलतासँग परिचित हुँदै जिउन सिकाउँछ । त्यसैले होला, उनले सहजै सानी नोकर्नी, बूढी सासू, तरुनी विधवा, बूढा लाहुरे र अनेक किसिमका पात्रहरूको चित्रणमा आफूलाई खरो उतारेका छन् । तर, सबभन्दा रमाइलो त के भने उनको घरमा सबै पढन्तेहरू थिए । सबै लेख्नसमेत सक्ने ल्याकत भएका । बुबा न्यायाधीश, काका वकिल, काकी नेपाली भाषाकी समाचार वाचिका, दिदीहरूसमेत उत्तिकै लेख्न र पढ्ने रुचि भएका । उनले भने, 'म नेपाली र अंग्रेजी उत्तिकै लेख्न र बोल्न जान्दथें । स्कुलमा हुने दुवै भाषाका डिबेटमा बोल्थें ।' 

यी यावत् अनुभवहरू उनलाई लेख्ने क्रममा कतै न कतै काम लागे होलान् । तर, सानो हुँदा पढेका पुस्तकहरूका असरचाहिँ उनको लेखनीमा पटक्कै नभएको बताउँछन् । न अंग्रेजी न नेपाली, कुनै भाषामा पढिएका साहित्यको त्यस्तो स्पष्ट प्रभाव आफूमा नभएको जिकिर छ उनको । तर, उहिल्यै पढेका भानुभक्तका कविता उनलाई अझैसम्म मुखस्त छ । हाम्रा अघिल्तिर उनले 'भर जन्म घाँसतिर' भन्दै सुरु गरेर, भानुभक्तका दुइटा पूरै कविता सुनाए । उनले गुरुप्रसाद मैनालीको 'छिमेकी' कथाका पंक्तिहरू पनि खुरुखुरु भन्न थाल्दा दिनेशका आँखिभौं एक बित्ता माथि पुगेका थिए । देवकोटा, सुधपा, इन्द्रबहादुर राई, सानु लामा र वीरविक्रम गुरुङका लेखनीका कुरा गरेर आफ्ना वरिपरिका नेपालीभाषी लेखकहरूब्ाारे राम्रै जानकारी राखेको पुष्टि गरे । 

अघिल्लो साँझ भएको पुस्तक लोकार्पणमा उनले नेपाली भाषाबारे टिप्पणी गर्दै भनेका थिए, 'नेपाली भाषामा काफी साहित्य लेखिएको छ । अहिले त त्यो क्रम अझै बढेको छ । हरेकपटक घर जाँदा थुप्रै नयाँ लेखकहरू आफ्ना नयाँ कृति लिएर अगाडि आएको मैले देखेको छु । अंग्रेजी पढ्ने नयाँ पुस्तामा भने नेपाली भाषा जटिल भएको र लेख्न गाह्रो भएको भन्ने बुझाइ छ । त्यसैले यसलाई सजिलो बनाउनुपर्छ । ह्रस्व दीर्घको अनेक जटिल झन्झट लगाउनु हुँदैन ।' यति भनेर उनले आफ्नै कथाको नेपाली अनुवादबाट केही अंश पढेर सुनाएका थिए । इन्डिया इन्टरनेसनल सेन्टरको सेमिनार हलमा भेला भएका विभिन्न क्षेत्र र भाषाका दर्शकले ताली बजाएर उनको यो प्रयत्नको स्वागत गरे । 

१८ वर्षको उमेरदेखि अमेरिका बसेका उनले कम्युनिकेसन मेजर लिएर स्नातक गरे । त्यसपछि भने भिलेज भ्वाइस नामको पत्रिकामा विज्ञापन शाखामा काम गरे । तर न उनलाई आफूले अध्ययन गरेको विषयले चित्त बुझेको थियो, न उनले गर्ने कामले कुनै सन्तुष्टि दिन्थ्यो । काम झिंझोलाग्दो बन्न लागेपछि उनले अरू कुनै योजना नबनाई चटक्कै छाडिदिए । अब अगाडि के गर्ने भन्ने उनलाई कुनै हेक्का नभएको बेला, अमेरिकी रुममेट लिएर उनी भारत आए । भारतका विभिन्न सहर घुमे । घुम्ने क्रममा उनको रुममेट सन मोहिनी ह्यानले ब्लग लेख्न थाल्यो । साथीले लेख्न गरेको प्रयत्नबारे उनी भन्छन्, 'विचरा, एकाउन्टेन्ट मान्छे, कहिल्यै केही नलेखेको । तर जबरजस्ती भए पनि लेख्थ्यो उसले ब्लग । परिवार र साथीहरूलाई आफूले देखेको कुरा भन्न ।' त्यसै बेला उनले पनि आफ्ना अनुभूतिहरू लेख्न थाले । उनलाई लेखनका तकनिकीहरू थ्ााहा थियो । उनले राम्रैसँग आफ्ना अनुभवहरू फेसबुकमा लेख्न थाले । भारतका थुप्रै सहरहरू घुमेर उनको साथी फक्र्यो । भर्खरै जागिर छोडेका उनलाई फर्किन मन भएन । फेरि उनी मनालीतिर हानिए । कारण उनीसँग केही काम थिएन । र जसको जागिर वा अरू कुनै उद्यम छैन, त्यसैलाई मान्छेले तिमी के गर्दै छौं आजकल भनेर सोध्ने गर्छन् । त्यसउपर, कुनै आफन्तको केही सानातिना काम पर्‍यो भने, पहिल्यै सम्भिmने बेरोजगारलाई नै हो । यी सब भोगेपछि आफ्नो बेकामेपनलाई अरूका नजरबाट लुकाउन उनले लेख्ने विचार गरेर मनाली जाने निधो गरे । त्यसबेलासम्म त्यो लेखनको फिलिंगो उनको मस्तिष्कमा रापिलो बनिसकेको थियो । मुस्कुराउँदै भन्छन्, 'मैले लेख्न थालेर खासमा मेरो बेकामेपनलाई लेजिटिमाइज गरेको हुँ ।'  

मनालीमा राज नामको होटलमा बसे । एउटा कथा त्यहीँ लेखे । तर त्यस्तो जाडोमा नुहाउनलाई तातो पानी पनि नपाइने होटल थियो त्यो । उनले फेरि घर सम्झेछन् । 'होस बरु घरमै बसेर लेख्छु अरू कथाहरू भनेर ग्यांगटोक फर्किएँ ।' अरू केही कथाहरू घरमै बसेर लेखे । र एक दिन ती सबै कथाहरू झोलामा राखेर उनी हानिए लन्डन । यसपालि बेकामेपनलाई 'लेजिटिमाइज' गर्ने बहाना थियो अक्सफोर्डमा पढ्ने ।  

साहित्यिकहरूलाई आपसमा दाँज्ने चलन छ । 'गुर्खाज डटर' बाहिर आउन नपाउँदै प्रज्ज्वललाई पनि कसैले सलमान रुस्दीसँग त कसैले झुम्पा लाहिरीसँग दाँज्न भ्याइसकेका छन् । तर, उनलाई दाँज्ने मात्रै होइन खुलेर प्रशंसा गर्नेको पनि ओइरो नै लागेको छ । 'दि हिन्दु'ले त ठोकेरै लेखिदियो, 'पराजुली खस्किँदो साहित्यिक कथा विधालाई पुनरुत्थान गर्ने सामथ्र्य भएका लेखक हुन् ।' यो सब देखेर उनी रमाउनुभन्दा बढी आश्चर्यमा परेका छन् । 

प्रशंसाले चुलिएर हावामा तैरिनबाट जोगिएर उनी अहिले धर्तीमै रहने प्रयत्न गरिरहेका छन् । त्यसै गरेर भारतको नेपाली भाषी समुदायले उनलाई आफ्ना राजनीतिक मुद्दाहरू बोलिदिने प्रवक्ताका रूपमा समेत बुझ्न थाल्ने सम्भावना छ । उनीहरूको अपेक्षा हुनु त सामान्य हो । तर केही पत्रिकाहरूले समेत उनलाई त्यसै विषयमा प्रश्नहरू सोध्न थालेका छन् । उनलाई अहिले केवल लेखक हुने रहर छ । उनको स्पष्टोक्ति छ, 'एक्टिभिस्ट हुने वा राजनीति गर्ने भन्ने मैले सोच्दै नसोचेको कुरा हो । नेपाली भाषा बोल्नेहरू हिरो पनि छन्, भिलेन पनि छन्, मैले तिनीहरू सबैको कथा मात्रै लेख्ने हो ।'  

प्रज्वल लेखक नै बन्नलाई कुनै योजना बनाएर लामो यात्रामा निस्किएका होइनन् । उनका स्पष्टोक्तिहरूबाट थाहा लाग्छ, उनी कतै संयोगले र कतै उनको स्वभावले धकेलिएर लेखक बनेका छन् । भविष्यमा पनि लेख्नेबाहेक उनको केही योजना छैन । हामीसँगको संवादमा उनले एउटा वाक्य निकैपटक दोहोर्‍याए मानांै उनले लेख्ने दौरान सिकेको गुह्य त्यति नै हो- 'लेख्न सजिलो छैन ।' आफूभन्दा पछि आउने पुस्ताले पनि यति बुझिदेओस् भन्ने उनको चाहना रहेको बुझिन्थ्यो । उनलाई लाग्छ फेसबुकमा दुई चार मीठा वाक्य लेख्ने अनि लाइक गनेर बस्नेले लेखनमा उन्नती गर्न सक्दैन । अन्तिममा हामीले सोध्यौं, 'तपाईं त भाग्यमानी हुनुभयो, संयोगवश एजेन्टसँग भेट भयो र तपाईंको प्रकाशन हुने मौका जुर्‍यो । तर लेख्न चाहने अरू युवाले पछ्याउनुपर्ने कुनै खास बाटो छ ?' उनले मौलिक लवजमा ती लेखक बन्न चाहनेलाई भने, 'सबैलाई लेख्न सक्छु जस्तो लाग्छ तर लेखेर देखाउनु अप्ठ्यारो छ । मेरो परिवारका सबै सदस्यलाई आफू लेखक हुन सक्छु भन्ने लाग्छ । खै त कसैले लेख्दैन । काकीले एउटा कविता संग्रह निकाल्नुभयो अनि मैले लेखें । सबभन्दा पहिला लेख्नु त पर्‍यो नि हौ । सक्दो राम्रो लेख्नु, अनि सोच्नु अरू कुरा !' 

प्रकाशित मिति: २०६९ मंसिर १६ १०:२९ (कान्तिपुर दैनिक )

अनौठा तन्नेरीका अमूर्त कथा

Book Review: The Illicit Happiness of Other People by Manu Joseph

ब्ाबु ओसेप चाको असफल लेखक हो, अहिले मध्यम स्तरको स्थानीय पत्रिकामा कार्यरत छ । हाम्रा कवि भूपी शेरचनको शब्दमा भन्ने हो भने हरेक दिन ओसेपको घाम रक्सीको गिलासमा अस्ताउँछ । आमा मारिआम्माले अर्थशास्त्र पढेकी छ तर बेरोजगार, घरधन्दामा व्यस्त । उसका हर्कत कुनै अर्धपागलको भन्दा कम छैन । आफ्नो रक्स्याहा श्रीमान् मरेको कल्पनामा उसको जिन्दगीको ठूलै हिस्सा बितेको छ । सानो छोरो थोमा हरबखत डराएको छ र उमेरले आफूभन्दा जेठी केटीलाई मन पराउँछ । 

ठूलो छोरो हो उन्नी । ऊ सत्य भनेको मान्छेले आ-आफूमा भाग लगाएको भ्रम मात्र हो भन्नेमा विश्वास गथ्र्याे, कमिक बनाउँथ्यो । उसले आजभन्दा तीन वर्षअघि, १७ वर्षको उमेरमा, आफू बस्ने अग्लो घरको बरन्डाबाट भुइँमा हामफालेर आत्महत्या गर्‍यो । अहिले आएर उसले बनाएको अन्तिम तर अपूरो कमिक फेला परेको छ । त्यसमा आत्महत्याको कारण हुन सक्ने अनुमानका आधारमा बाबु ओसेप उन्नीका सबै साथीहरूसँग भेट्ने र लामो कुराकानी गर्ने ध्याउन्नमा लागेको छ । ओसेपले छोराको आत्महत्याको रहस्य उधिन्न गरेेको यात्रा नै मुख्य कथा हो उपन्यास 'द इलिसिट ह्यापिनेस अफ अदर पिपल'को । 

मनु जोसेफको यो पछिल्लो उपन्यास सन् ८० का पछिल्ला वर्षहरूको कथा हो । ठाउँ मद्रास हो जहाँ क्याथोलिकहरू, भर्खरै धर्म परिवर्तन गरेर बनेका क्रिस्चियन र हिन्दूहरूको बाक्लो उपस्थिति छ । मद्रासी साहित्य र पत्रकारिता बडो सुस्त गतिमा पाइला चाल्दै छन् । ओसेप चाको जस्ताहरूको दैनिकी त्यसै अत्यासलाग्दो सुस्ततामा सीमित साहित्य र पत्रकारिताको फेर समातेर घसि्ररहेको छ । त्यहाँका तन्नेरी ठिटा जाँचमा कसरी ९९ प्रतिशत अंक हासिल गर्ने, इन्जिनियर बन्ने र अमेरिका उड्ने भन्ने सूत्रको खोजीमा लागेका छन् । कुनै जाँचमा ९५ प्रतिशत मात्र अंक प्राप्त भयो भने, ओसेपबाहेकका त्यस ठाउँका हरेक बाबु छोरोलाई पेटी-धूलाइ गर्न ठिक्क परेर बसेका छन् । उनीहरूलाई छोराछोरीले खेल्न, कुद्न, रमाइलो गर्न पाउनुपर्छ भन्ने कुनै हेक्का छैन । 

अद्भुत स्वभाव भएको उन्नीले जिन्दगी र संसारलाई बुझ्ने आफ्नै खाले सिद्धान्तहरू बनाएको हुन्छ । ऊ मनोविज्ञानका अप्ठ्यारा किताब खोजेर पढिरहन्छ । मानिसले आफ्नो हिस्सामा परेको भ्रमलाई सत्य ठान्छ र त्यसैमा ऊ खुसी हुन्छ भन्ने उन्नीको मान्यता हो । कोही मान्छे नाखुस हुँदैन भन्ने पनि उसको जिकिर छ । उसले नजिकबाट संगत गर्ने एक साथीलाई कोटार्ड सिन्ड्रम भएको बुझ्छ । उक्त रोगबाट ग्रस्त मान्छेले आफ्नो अस्तित्व स्विकार्दैन । ऊ आफूलाई चल्ताफिर्ता लासभन्दा बढी केही सम्भिmँदैन । यस्ता किसिमका जटिल मनोवैज्ञानिक समस्या बुझ्न प्रयत्न गर्ने र बुझेअनुसार अनेक प्रयोग गर्ने यी भर्खर तन्नेरी बनेकाहरूको ध्याउन्न बडो रहस्यमयी लाग्छ । आफूलाई बाटोमा हिँडिरहेका सहस्र मानिसहरूभन्दा फरक ढंगले हेर्ने र भीडबाट अलग्ग बस्न चाहने यी साना ठिटाहरूका अनेक रहस्य खुल्दै जाँदा उपन्यासको कथा चाखलाग्दो बन्छ । मनोविज्ञानको अध्ययनमा प्रयक्त 'फल्ली अफ टु' जस्ता अनेक अवधारणाहरूका बारेमा पनि यिनै पात्रहरूले आफ्ना संवाद र क्रियाकलापमा देखाउँछन् । सो विषयमा दखल नभएका साधारण पाठकहरू उपन्यासका हरेक पानामा भेटिने एक नयाँ पहेलीबाट छक्क पर्दै उपन्यास पढिरहन्छन् । राम्रो मनोवैज्ञानिक ज्ञान भएकाहरूलाई भने आफ्नो ज्ञानको कसीमा घोटेर यी रहस्यहरू उधिन्नतिर लागिरहन्छन् । 

उपन्यासमा महिला पात्रहरूको समेत ठूलै भूमिका छ । उन्नीको आत्महत्याको रहस्य उसकी आमाले आफू सानो छँदा सुनाएको कथा र उसले संगत गरेकी एक छिमेकी केटीमा पुगेर टुंगिन्छ । 

कसैले उपन्यासको सार के हो भन्ने सपाट प्रश्नको उत्तर खोज्यो भने 'द इलिसिट ह्यापिनेस अफ अदर पिपल'लाई निहिलिज्म अर्थात् शून्यवादी दर्शनको पृष्ठपोषण भनेर एक लाइनमा यसको महत्त्वलाई सिध्याइदिन सक्छ । तर, केहीले यसलाई दर्शन, मनोविज्ञान, र सामाजिक टिप्पणीको मिश्रण पनि भनेका छन् । 

उपन्यास पढिसकेपछि मैले लेखक मनुलाई सोधेको थिएँ, के यो उपन्यास लेखिनुको उद्देश्य ऊबेलाको मद्रासको सामाजिक परिवेशमाथिको टिप्पणी गर्नु हो ? उनले ठाडो जवाफ दिए, 'कसैले गाईको प्रबन्ध लेख्दै छ भने त्यहाँ समाज हुन्छ कि हुँदैन, मलाई थाहा छैन । यदि यो आधुनिक समयमा आधारित कसैले उपन्यास लेख्छ भने, समाज नलेखिरहन सक्दैन । तर, मेरो उपन्यास समाजमाथिकै टिप्पणी भने होइन । म त्यस्तो कुनै टिप्पणी गर्नैका लागि उपन्यास लेख्दिनँ ।' त्यसो भए किन लेख्छन् त उनी उपन्यास ? उनले यसको पनि सोझै उत्तर दिए, 'मेरा लागि उपन्यास भनेकै त्यसका पात्रहरू हुन् । ती पात्रहरूले के गर्छन् र उनीहरूलाई के हुन्छ भन्ने नै मेरालागि मुख्य कुरा हो । अरू सबै त यी पात्रहरू उभिने पृष्ठभूमि मात्र हुन् ।'  

हो, उनका पात्रहरू मात्र पनि पाठकको मस्तिष्क हुँडल्न काफी छन् । उनीहरूले के गर्छन् र त्यसो किन गर्छन् भन्ने खोतल्ने हो भने, उनको उपन्यासको समाजशास्त्रीय र दार्शनिक अन्तरवस्तु हाम्रा अघिल्तिर देखा पर्छ । यो उपन्यासको केन्द्रमा वस्तुता र सत्यताको प्रकृति के हो भन्ने दार्शनिक प्रश्न छ भने यसका वरिपरि लैंगिक भेदको समाजशास्त्रीय सरोकार रहेको छ । तर, लेखक आफू कतै हावी भएर यी विषयहरूमाथि जटिल मीमांसा गरेका छैनन् । उपन्यासका पात्रहरूले सोच्ने र काम गर्ने तौरतरिकाबाटै यी माथिका प्रश्नहरू विश्लेषित हुन सक्छन् । अहिलेलाई यति भन्नु नै मुनासिब होला । 

तर, उपन्यास पढ्दै गर्दा मेरो मनमा अर्को एउटा हुटहुटी थियो । लेखक आफैं एक सफल पत्रकार हुन् र 'ओपन' जस्तो चलेको भारतीय साप्ताहिक पत्रिकाका सम्पादक पनि हुन् । उनले मद्रास, केरला वा उनले लामो समय बसेर नजिकबाट नियालेको मुम्बईको राजनीतिक कथा नलेखेर यो कमिक उपन्यास किन लेखे ? मेरो खुल्दुलीलाई उनले यसो भनेर सम्बोधन गरे, 'यो मैले आफूले भोगेको र नजिकबाट नियालेका मान्छेहरूकै कथा हो । यो मभन्दा टाढा छैन । तर अहिले यो कति आत्मकथा हो र यो कति अरूको जीवनी हो भन्ने म खुलाउन चाहन्नँ ।' त्यसो त उनी मद्रासमा हुर्किँदै गर्दा उनी पनि उपन्यासका ती अदभुत तन्नेरीहरूकै जस्तो एक समूहका सदस्य थिए । उनीहरूले मानिसको मस्तिष्कको अनुसन्धान गर्ने प्रयत्न ऊबेला पनि गर्ने गरेका थिए । उनी भन्छन्, 'हामी त्यसबेला अरूले सजिलै नबुझ्ने अमूर्त चीजहरू ख्ाोजेर पढ्थ्यौँ ।' 

केही समय उनलाई आफूले भोगेको कथालाई उपन्यासमार्फत सार्वजनिक गर्न अप्ठ्यारो लागेको थियो । तर, कतिन्जेल आफ्नो व्यक्तित्वको पिल्लर पछिल्तिर लुकेर साहित्य लेखिरहने ? उनलाई लाग्यो, 'अब मैले खुल्नुपर्छ ।' त्यसैले लेखे उन्नीको कथा । सायद उन्नीमा अलिअलि उनको आफ्नै बाल्यकालको व्यक्तित्व मिसिएको हुन सक्छ । वा, उनका ती बालसखामध्येको एक हुन सक्छ उन्नी । 

उनले आफ्नो मुख्य पात्र उन्नीलाई एउटा कार्टुनिस्टको रूपमा किन ल्याउन चाहे भन्ने पनि खुल्दुलीकै विषय थियो । त्यो उनको रुचि मात्रै नभएर उनी आफूलाई समेत औसत कार्टुनिस्ट नै ठान्दा रहेछन् । उनी नधकाई भन्छन्, 'मलाई चित्र कोर्न आउँदैन र त्यसको खासै ज्ञान पनि छैन तर मलाई कार्टुनभित्र हास्यचेत कस्तो हुनुपर्छ भन्ने थाहा छ । भारतमा त्यस्ता धेरै कार्टुनिस्ट छन् जो राम्रा चित्रकार त हुन् तर ह्युमरिस्ट होइनन् ।' तर, उनको पात्र उन्नी भने बडो सुन्दर चित्र बनाउँछ, रहस्यमयी कथा हाल्छ तर उसका कार्टुनका संवाद बाकस भने प्रायः खाली नै हुन्छन् । उसलाई ती बाकसहरू शब्दले भर्न अल्छी लाग्छ र अरू कसैलाई त्यसो गर्न खटाउँछ ।   

'सिरियस मेन' नामक पहिलो उपन्यासबाटै भारु ५ लाख बराबरको 'द हिन्दू फिक्सन अवार्ड' जितेका मनु जोसेफ पाठकहरूमाझ उपन्यासकारकै रूपमा बढ्ता चिनिन थालेका छन् । न्युयोर्क टाइम्समा 'लेटर प|mम इन्डिया' स्तम्भमा नियमित लेख्ने यी लेखकलाई कसैकसैले भीएस नयपालसँग पनि दाँज्न थालेका छन् । 

अघिल्लो उपन्यासमा उनले एक दलित पात्रको कथा भनेका थिए । तर, त्यो कुनै दयाको पात्र थिएन । अन्य गरिब दलितका समस्या उनको पात्र अइयन मनीसँग पनि छन् तर ऊ आफ्नो बौद्धिकता र क्षमताको प्रयोगबाट एउटा छलकारी दुनियाँको निर्माण गर्छ । ब्राह्मण खगोलशास्त्रीहरूको बाहुल्य भएको एक अनुसन्धान कार्यालयमा पियनको रूपमा काम गर्ने अइयन मनीले यी सबै ब्राह्मण वैज्ञानिकलाई गुमराहमा राखेर आफ्नो झूटको खेती फैल्याउँछ । जोसेफले यो दलित पात्रलाई उसका अप्ठ्यारा परिस्थितिका कारण ऊ अझ पनि सीमान्तकृत भएको तर उसको क्षमता र बौद्धिकताले सजिलै देशभरिका सञ्चार माध्यमलाई पछि लगाउन सक्ने खुबी भएको पात्रका रूपमा उभ्याए । अरू धेरै उपन्यासकारले जस्तो सहानुभूति र रुन्चे दयाको सिकार बनाएनन् यो दलितलाई । 

त्यसैगरी यो उपन्यासमा पनि अनौठा स्वभावका पात्रहरू भए पनि तिनका यावत् मानवीय कमजोरीहरू छन् । तीनका असलजस्ता लाग्ने रूपहरू पनि प्रकट भएका छन् । मीठासपूर्ण भाषा र तुकबन्दीजस्ता लाग्ने कैयौँ वाक्यका कारण पनि उपन्यास रसिलो बनेको छ । पढेर आनन्दित मात्र बन्न चाहने वा घन्टौँ घोत्लिन चाहने, दुवै खाले पाठकलाई गजबै खुराक बनेको छ 'द इलिसिट ह्यापिनेस अफ अदर पिपल ।

प्रकाशित मिति: २०६९ कार्तिक ४ १०:२१ (कान्तिपुर दैनिक )