जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ ।

आक्रोशले उमालेको कफी

कम्तीमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा किताब र कफीलाई दिने सुबिस्ता सबैलाई पुगोस् भन्नका लागि मसँग नेपाली र अंग्रेजी दुईटा भाषा छन् । शासकहरूसँग कति नाले बन्दुक छन् ?

Sunday, February 11, 2018

एउटा जीवनीको पूर्वकथा

उज्ज्वल प्रसाईं

‘म लोक सेवा आयोग पास गरेर बनेको माक्र्सवादी होइन ।’ यस्तो जिरह नै खगेन्द्र संग्रौलाको अनौठो वैचारिक अवस्थिति हुन पुगेको छ । यद्यपि, यो अनौठोपन नै उनको सग्लो परिचय भने होइन । खासगरी उनको लेखनलाई केही वर्षदेखि पढिरहेको म जस्तो पाठकले उनीबारे धेरथोर मेरो जस्तै धारणा बनाएको हुँदो हो । माथिको वाक्य टेलिफोनमा भएको पहिलो संवादमा उनले मलाई भनेका थिए । यो आजभन्दा लगभग आठ वर्षअघिको कुरा हो । अपरिचितसँग फोनमा लामो संवाद नरुचाउने उनले फोन संवाद टुंग्याउने हेतु भने, ‘कुनै दिन चियाको चुस्की लिँदै लामो बात मार्नु पर्छ यार ।’फोन संवादको लगभग तीन वर्षपछि ‘द काठमान्डु पोस्ट्’का लागि अन्तर्वार्ताको मेसो मिलाएर म पुग्छु चाबाहिल, ‘जस्ताको छानो र आँगनमा आरुको रूख’ भएको घर । गेट खोल्न आइपुगेका संग्रौलालाई देखेपछि मस्तिष्क त प्रश्नहरूको यस्तो मेहेरोमा फँस्छ, उनले ‘वेल्कम’ भन्दा धन्यवाद भन्न पनि नसकेर अल्मलिन्छु । उनले लेख्ने स्तम्भहरू र सबै किताबका अनुहारहरू मस्तिष्कमा छापिन्छन् । गफ कहाँबाट शुरु गर्ने ? पहिल्यै आक्कलझुक्कल देखेको भए पनि, दोहोरो कुराकानी गर्ने मनसुवाले गरिएको त्यो नै मेरो पहिलो भेट थियो ।

मैले उवेला लेख्ने पुन्टे पुस्तक वार्ताको सानो घेरामा सीमित हुन चाहान्नथेँ । त्यसैले के सोधौँ, के नसोधौँको अलमलमा पर्दै गर्दा तीजमा पाकेका मिष्ठान्नको हरक आइरहेको तल्लो तला
को एउटा कोठाको कुर्सीमा बस्न अह्राउँछन्, उनी । ‘दूध चिनी सबै चल्छ हैन ?’ भनेर चिया पिउने अफर गरेपछि, उनका अम्मलहरूबारे हुने चर्चा सम्झन्छु । पहिले याक चुरोट, अहिले सूर्य चुरोट । पहिले लोकल ठर्रा, अहिले ब्रान्डेड ह्विस्की । पहिले कडा साम्यवादी वामपन्थीको संगत, अहिले माओवादीदेखि मलुवा वामपन्थीसँगको साँझे रमझम । पहिलो भेटको पहिलो प्रश्न नै तामसी बनाउनु उपयुक्त लागेन । त्यसैले सोझो सपाट र साधु प्रश्न गरेँ, अहिले के पढ्दै हुनुहुन्छ ?टेबलमा राखेको नेपाली बृहत शब्दकोष जत्तिकै मोटो किताब देखाउँदै उनले भने,‘यो हात्ती किताब पढ्दैछु र जति जति पाना पल्टाउँदै जान्छु उति उति म गल्दै जान्छु ।’

किताबको नाम हेर्छु, माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य । मेरो सपाट प्रश्न त मैले सोचेजति कमजोर ठहरिएन । उनको उत्तरले संवादको पोयो राम्रैसँग फुकायो । अर्को प्रश्न गर्न नपाउँदै उनले थपे, ‘यो जनयुद्ध सम्बन्धि लेखिएका साहित्यिक कृतिका समिक्षाहरूको संग्रह हो । यहाँका सबै समिक्षक मलाई अमिन जस्ता लाग्छन्, ती एक एक वटा फीता बोकेर साहित्य नाँप्न उभिएका छन् । यहाँसम्म यो माक्र्सवादी, अलिकति उता पुगेपछि सम्सोधनवादी र त्यसभन्दा पर प्रतिक्रियावादी र अन्त चाहिँ भ्रष्टीकरणवादी भनेर पाण्डित्याईँ छाँट्छन् ।’

म गम्छु, जस्तो लेख्छन्, त्यस्तै बोल्दा रहेछन् यी बुढा । वा यस्तो चैँ हो, जस्तो बोल्छन्, त्यस्तै लेख्दा रहेछन् । जे होस्, उनले मसंग फोनमा कुरा हुँदा अधुरै राखेको प्रसंगलाई यही किताबसंग जोडेर यसरी प्रष्ट्याउन थाल्छन्,यी सबै समिक्षकले आफ्ना अघिल्तिर एउटा ठूलो पर्खाल उभ्याएका छन् । फराकिलो संसार त्यो पर्खाल बाहिर पर्छ । रमाइलो के भने, ती एकोहोरो भनिरहन्छन्, हाम्रो अन्तिम लक्ष्य भनेको त्यो बाहिर परेको संसार बदल्नु हो । उनका राजनीतिक टिप्पणीहरू नरुचाउने माओवादी इतरका उनका पाठकले उनलाई माओवादी पार्टीको बलियो समर्थक र लेखकका रुपमा उनले माओवादीको ‘प्रोपागाण्डा’ चलाएको आरोप लगाइरहेको बेला थियो त्यो ।

धेरैले अन्दाज गरेको भन्दा फरक ढंगले उनले माओवादी पार्टी आबद्ध लेखकहरूले गरेका साहित्य समालोचनाको आलोचना गरे । उनले भनेका अमिनहरूका नाम कल्पना गर्न थाल्छुः मोहन वैद्य, ऋषिराज बराल, दिनानाथ शर्मा, आदि । मैले किताब नहेरी नै त्यो अनुमान गरेको थिएँ । उनले अघि भनेका लोक सेवा आयोग पास गरेका माक्र्सवादीहरू यिनैलाई भनेका हुन् ?यत्ति कल्पना गर्न मलाई धेरै समय लागेको हुँदैन, चीयाको एक सर्को तानेर उनी हाँस्न थाल्छन् । अघिकै प्रसंगमा केही रमाइलो थपिने भो भनेर म कलमको टुप्पो नयाँ पानामा धस्छु । उनी भन्छन्, ‘अमीनहरूले जस्ता लेखनलाई प्रशंसाको माला भीराएका छन्, तीनको क्राफ्ट अत्यन्तै कमजोर छ । कलाका हिसाबले ती साहित्य नै होइनन् । तीनले जबर्जस्ति जखेका कुराले कुनै आर्टीस्टीक ट्रीटमेन्ट पाएका छैनन् ।’

बामपन्थीहरू साहित्यका नाममा नारा लेख्छन् भन्ने आरोपलाई फेरि एक पटक पुष्टि गरेकै हुन् त भन्ने मेरो ठाडो प्रश्नमा उनको उत्तर सैद्धान्तिक बन्छ । धेरै माक्र्सवादी भनिने लेखकहरमा स्टालीनकालिन जडसुत्रता र माओको साँस्कृतिक क्रान्तिकालिन उग्रताको फ्युजन हुने गरेको उनको ठहर छ । जस्तो यही अघिल्तिर राखिएको पुस्तकमा पनि अति शुद्धताको आग्रह भेटिन्छ । जसलाई आलोचकहरू प्रोपागाण्डा गरेको आरोप लगाउँछन्, उनैले मेरा अघिल्तिर प्रोपागाण्डा र साहित्यको फरक छुट्याइरहेका थिए । आफूलाई माक्र्सवादी दाबी गर्ने लेखकहरूमा कीन यस्तो भयो होला ? उनले बुँदागत कारणहरू बताएका थिए । नम्बर १ः जीवनजगतलाई हेर्ने संकीर्ण दृष्टिकोण, २ः लेखनमा अलचिलोपना, ३ः भिन्न विचारधाराप्रति असम्मान ४ः विचारधारा र आइडियोलोजीको अत्यन्त साँघुरो र यान्त्रिक बुझाई ।

१२ बुँदे सम्झौता गरेर शान्ति प्रक्रियामा फर्केपछि माओवादीले मुलधारीकरण गर्न खोजेका प्रगतिशील एजेण्डाहरूलाई नजरअन्दाज गर्न नसकिने उनको तर्क थियो। एकदिन संग्रौलाकै लेखनका बारे कुरा हुँदै गर्दा एक नेताले मसँग भनेका थिए, ‘खगेन्द्र सर, के तपाईँसंग उत्तरहरू पनि छन् ? शीर्षकमा एउटा लेख लेख्नु पर्नेछ ।’ त्यस्तो लेख कतै छापिएको मैले दखेको छैन । तर, संग्रौला जस्ता लेखकले प्रश्न वा टिप्पणी मात्रै गर्ने तर कहिल्यै कुनै विकल्प नदिने आरोप लगाउनेहरू धेरै छन् । मौका मीलेका बेला उनीसंग उत्तरहरू छन् की छैनन्, परख्न मन लाग्यो र सोधेँ,उसो भए कस्तो हुनुपर्छ त अबको लेखनी ? एकछिन गमेर छोटो उत्तर दिए । अबको युगलाई माक्र्स, गान्धी, र फ्रायड पनि उतिकै चाहिन्छ होला ।

यी तीन नामहरूको जपना चाहिन्छ भनेको होइन । यीनले दिएका केही अमूल्य चीजहरूलाई आलोचनात्मक ढंगले बुझ्ने र तिनले दिएका पद्धतीहरूको प्रयोगवाट आफ्नो समाजको अध्ययन गर्ने । माक्र्सले मानव मनोविज्ञान माथि काम गर्नै भ्याएनन्, त्यो फ्रायड र उनीपछि मनोविज्ञानमा काम गर्नेहरूसंग छ । र, गान्धीको परिवर्तनको सिद्धान्तले अहिँसामा जोड् दिन्छ । यो तीन चीजको फ्युजनले शायद हामीलाई बढी मानविय बनाउँछ । लेख्नेहरूले पनि यतापट्टि सोच्नु पर्यो । विपि कोइरालालाई पढ्नै नसक्ने संकीर्ण वामपन्थको कुनै अर्थ छैन ।

अघि गरेकै कुरामा फेरि जोड दिएर भनेः तर, साहित्य भनेको कन्टेन्ट र थीम मात्रै होइन । त्यसलाई कसरी ट्रीट गरिन्छ भन्ने पनि उतिकै ठूलो महत्व हुन्छ । अभिव्यक्ति शील्पको चेतना प्रचुर हुनुपर्‍यो । उनीसँग केही अस्पष्ट र केही स्पष्ट उत्तरहरू थिए । लेखकहरू फर्मुला बेच्ने व्यापारी पनि त होइनन् । त्यसैले उत्तरमा सबै समस्या सुल्झाउने फर्मुलाहरू होइन बरु केही प्रश्नहरू नै थिए । यी बाहेक मेरो अन्तरवार्ताका लागि चाहिने केहि प्रश्नहरू गरेँ । औपचारिक अन्तरवार्ता सकेपछि भने मैले उनीमाथि केहि मुद्धाहरू दर्ज गरेँ । जस्तो, तपाईँको अखबारी लेखन खासगरि राजनीतिक टीप्पणी पढ्न अलि एकोहोरा भए,‘जुनकीरिको संगीत’पछि तपाईँले गतिलो साहित्य लेख्नु भएको छैन, तपाईँले पहिला केही राम्रा कृतिहरू अनुवाद गर्नुभएको थियो, अब त त्यो काम पनि धिमा भयो ।

अखबारी लेखन गर्नु समयको माग थियो भन्ने उनको दाबी थियो । नेपाली समाज ठूलो उथलपुथलबाट अघ बडीरहेको थियो । दैनीक सूचना र घटनामा टीप्पणीबाट समाजलाई ओरिएन्ट गर्नु आफ्नो जीम्मेवारी ठानेको उनले बताउँदै भने, ‘पछि गएर यो मेरो जागिर भयो । मेरो लेख्नु बाहेक अर्को कुनै काम छैन । आर्थीक उपार्जनका लागि पनि म लामो समय अखबारी लेखनमा लागेको हुँ ।’ दोश्रो मुद्धामा उनको वकपत्रको मजबुन यत्ति हो, ‘हो, मैले अखबारी लेखन र साहित्य लेखनमा सन्तुलन मीलाउन सकिनँ । एउटा धेरै गरेँ र अर्को लगभग गरिनँ ।’ मेरो तेश्रो प्रश्नको उत्तर पनि दोस्रैले पूरा गरेको ठानेर होला, उनी चुप्प लागे । मेरा प्रश्नको सानो पेरुंगोका लगभग १० प्रतिशत मात्रै प्रश्नहरू खर्च भएका थिए । अझै एक दुई घण्टा समय भइदिएको भए पनि हुन्थ्यो जस्तो लागेको थियो । यत्तिकैमा उनले चुरोट हातमा लिएर बाहिर बसेर गफ गर्न आग्रह गरे । यसैलाई संवाद छोट्याउनु पर्ने उनको आग्रह सम्झेर, म बाटो लागें ।

खगेन्द्र संग्रौलालाई चिन्ने धेरैका लागि उनी स्वयं एक अप्ठ्यारो प्रश्न हुन् । जस्तो, उनी आफूलाई माक्र्सवादी भन्छन् तर कहिल्यै संगठित नभएको दाबी गर्छन्, किन ? के उनी अराजक लेखक हु्न् ? अराजक हुन् भने त्यसको माक्र्सवादसँग के साइनो छ ? द्न्द्वकालभरि माओवादीको आलोचना गरे तर शान्ति प्रक्रियापछि माओवादीको जबर्जस्त समर्थन गरे, त्यो कसरी सम्भव भयो ? राजनीतिलाई नै समाजको मियो मान्ने उनले आफ्नो उपन्यास जुनकीरिको संगीतमा राजनीतिक शक्ति होइन बरु एनजीओलाई समाज परिवर्तनको संवाहक शक्तिका रुपमा स्थापित गर्न खोजे, के त्यो उनको विश्वदृष्टिकोणसँग मेल खाने कुरा हो ? वर्गीय प्रश्नलाई केन्द्रमा राखेर लेख्ने उनले पछिल्लो समयमा पहिचानको सवाललाई किन महत्वपूर्ण ठाने ?आरुको रुखलाई हेर्दै उनको आँगनबाट बाहिरिँदा मस्तिष्कमा उनीसँग सोध्नु पर्ने यि बाहेक अरु सयौं प्रश्नहरूले मेरो मस्तिष्क हुँडल्दै थियो ।

उनीसँगको पछिल्लो समयको बाक्लो संगतले बाँकी रहेका केही प्रश्नहरूका उत्तर फेला पर्दै गए । खासगरी ति उत्तरहरू उनको जन्म, हुर्काई, अध्ययन, संगत, उनको लेखनी, र उनको एक्टिभिज्ममा भेट्न सकिन्थ्यो । त्यसैले लाग्यो, ‘जोसुकै उनीसँग असहमत हुनसक्छन् तर नजरअन्दाज गर्न सक्दैनन्’ भने यी लेखकको जीवनी किन नलेखौं ?

आइतवार, आश्विन ८, २०७४

अन्नपूर्ण टुडेमा प्रकाशित

फोटोः उमा विष्ट

उपयोगपछि रामवरण

उज्ज्वल प्रसाई

अमेरिकी समाजशास्त्री सी राइट मिल्सले ‘दी सोसियोलोजिकल इम्याजिनेसन’ पुस्तकमा व्यक्ति र समाजको सम्बन्ध बुझ्न इतिहास र जीवनीको सम्बन्ध केलाउनुपर्छ भनेका छन् । इतिहास अर्थात् त्यस्ता अनेक सामाजिक घटना, जसले सामाजिक मूल्य र विश्वासहरूको निर्माण गर्छन् । जीवनी अर्थात् कुनै खास समाजमा जीवनको ठूलो कालखण्ड बिताएको व्यक्तिको जीवन–अनुभवको संग्रह । व्यक्ति र समाजबीचको सम्बन्ध बुझ्ने उद्यममा लागेका समाजशास्त्रीहरूका लागि पूर्वराष्ट्रपति रामवरण यादव एक चाखलाग्दा व्यक्तित्व हुन सक्छन् । त्यसो त पुष्पकमल दाहाल, केपी ओलीदेखि कमल थापालगायत पात्रका जीवनीलाई नेपाली इतिहासको ठूलो फलकमा राखेर हेर्नु रोचक हुँदो हो ।

पूर्वराष्ट्रपति यादवको सिंगो जीवनीलाई खास ऐतिहासिक मोडमा उभ्याएर व्याख्या गर्न यहाँ सम्भव छैन । इतिहासका दुई घटनामा उनको उपस्थिति सम्झनु भने उपयुक्त हुन्छ । पहिलो मधेश आन्दोलन नेपाली इतिहासको अहिलेको कोर्स निर्धारण गर्ने र सिंगो समाजलाई खास तवरले तरंगित तुल्याउने घटना हो । अनेक समस्याबाट गुज्रँदै जारी भएको नेपालको संविधान २०७२ त्यस्तै महत्वको घटना हो । नेपाली इतिहासका यी दुई घुम्ती यादवको व्यक्तिगत जीवन र नेपाली समाजको सम्बन्धमा गुणात्मक परिवर्तन ल्याउने घटना हुन् । जीवनी र इतिहासको समाजशास्त्रीय विश्लेषणबाट नेपाली समाजका विशिष्टता अध्ययन गर्न यी दुई मोडमा यादवलाई उभ्याएर अध्ययन गर्न जरुरी छ ।

कांग्रेसको राजनीतिक मन्त्र संवैधानिक राजतन्त्रमा आफूलाई पूर्णतया समर्पित गरेका यादव औसत नेता हुन् । बीपी कोइरालालाई श्रद्धाले स्मरण गरिरहने यादव बीपीको वैचारिक परिकल्पनालाई गहन ढंगले बुझ्ने वा अथ्र्याउने सामथ्र्य भएका व्यक्ति होइनन् । कांग्रेसको सिंगो इतिहासलाई पारिवारिक योगदान र विरादरीको उपज ठान्ने कोइराला परिवारसँग नजिकको सम्बन्ध बनाएका यादव चुनावी खेलका कुशल प्रतिस्पर्धी हुन् भने सत्ताको हिसाबकिताब पहिल्याउन सक्ने नेता पनि हुन् । चिकित्सक पृष्ठभूमिका यादवले आफूलाई प्रतिस्पर्धी राजनीति र सत्ताको उपभोगका निम्ति तयार पारेका थिए । त्यसका लागि चाहिने तालिम र शिल्पको विकासमा उनी पछि परेका थिएनन् ।

गणतन्त्र नेपालको सबैभन्दा गरिमामय र आलंकारिक पद मानिएको राष्ट्रपतिका निम्ति उनले आफूलाई सम्भवतः कहिल्यै कल्पना गरेका थिएनन् । त्यसका लागि सम्भवतः उनी तयार पनि थिएनन् । नेपाली राजनीतिले मधेशलाई समाजको शक्तिशाली हिस्साका रूपमा स्वीकार्न बाध्य भएको त्यो समयको पदचापलाई सुन्ने यत्न गर्न नपाउँदै यादवले सो पदको जिम्मेवारी सम्हाल्नुपरेको थियो । जीवनमा संयोगको विचित्रताबारे गम खान यादवको उबेलाको मनस्थिति उधिन्न सके गजब हुन्थ्यो ।

परिवर्तनका जस्ता एजेन्डाको बलमा उनी राष्ट्रपति चुनिएका थिए, ती एजेन्डा उनले आफ्नो कार्यकालभरि आत्मसात् गरेनन् । त्यति मात्रै होइन, उनलाई त्यस्तो गरिमामय पदको जिम्मेवारी सुम्पने महत्वपूर्ण दस्तावेज अन्तरिम संविधान, २०६३ लाई आफ्नो कार्यकालमा मिचेको कुरा उनी गर्वसाथ व्यक्त गरिरहेका छन् । पत्रकार कनक दीक्षितका शब्दमा ‘नैतिकता र व्यवहारिकताविपरीत ठहरिने’ गरी प्रधानसेनापति भएका रुक्मांगद कटवालको पद थमौतीका लागि उनले संविधान मिचेका थिए । अन्नपूर्ण टुडेसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘सेनापतिको विषयमा मैले संविधानलाई इन्क्रोच गरेकै हुँ । तर त्यो बुझेर गरेको निर्णय थियो ।’ संविधान कुल्चन उचाल्ने तिनै ‘लोकतन्त्रवादी’ कुलीनहरूले दोस्रो संविधानसभाबाट संविधान जारी गर्ने बेला भने उनलाई उनको हैसियत चिनाइदिए ।

शिरमा टोपी, काँधमा गम्छा

अन्तरिम संविधानमा संघीयता सुनिश्चित नभएको कारण देखाएर २०६३ सालमा पहिलो मधेश आन्दोलन भयो । मधेशमा आन्दोलन तात्न थालेपछि हिंसा बढ्यो । प्रहरी गोलीले मधेशीहरूको ज्यान जान थाल्यो । संघीयताका लागि गरिएको सो आन्दोलनमा कांग्रेससम्बद्ध धेरै नेता/कार्यकर्ता संलग्न थिए । कतिपय नेता संलग्न हुन नसके पनि आन्दोलनलाई बद्नाम गर्न लागि परेका थिएनन् । काठमाडौंले ‘आयातीत समस्या’ भनेर गरेको चित्रणलाई उनीहरूले सहजै सकारेका पनि थिएनन् ।

यादव भने त्यस्ता मधेशी नेता थिए, जसले मधेश आन्दोलनको खुलेर विरोध गरे । मधेशको पहिचान झल्कने गरी दाबी गरिएको संघीय राज्यको मागलाई उनले ‘सद्भाव भड्काउने र विखण्डन ल्याउने’ मागका रूपमा चित्रण गरे । कांग्रेस नेतृत्वको अन्तरिम सरकारबाट गरिएका प्रहरी कारबाहीलाई सही ठहर्‍याउने यत्न गरिरहे । मधेशले आफ्नो पहिचान खोजिरहेका बेला उनले ढाकाटोपी र दौरासुरुवालको मोह त्यागेनन् । बरु समावेशी देखिने नाममा शिरमा टोपी र काँधमा गम्छाको ‘ककटेल’ चित्र प्रस्तुत गर्न खोजे ।

मधेशी हुनु आफैंमा नेपाली पनि हुनु हो भन्ने सत्यलाई हृदयंगम गर्न नसकेका काठमाडौंका कुलीनहरूले सोध्ने गरेको ‘तिमी पहिले मधेशी वा पहिले नेपाली ?’ जस्ता दुई तुके प्रश्नलाई उनले बारम्बार दोहोर्‍याइरहे । आफू पहिले नेपाली भएको बारम्बार प्रकट गरेर उनले काठमाडौंको मन जित्ने कोशिस गरे । त्यसो गर्दा उनले उबेलाका पार्टीका सर्वशक्तिमान नेता गिरिजाप्रसाद कोइरालाको विश्वास त जिते नै, काठमाडौंको सबैभन्दा प्रिय मधेशी नेता पनि उनै भए । उनका वक्तव्यहरूलाई मधेश आन्दोलनको अर्थहीनता पुष्टि गर्न सक्दो प्रयोग गरियो ।

मधेश आन्दोलनले एक हदको सफलता प्राप्त गर्‍यो । अन्तरिम संविधान संशोधन गरेर आन्दोलनको माग सम्बोधन गरियो । आन्दोलनको आडमा मधेशीहरू मुखर भएका थिए । उनीहरूले आफ्नो पहिचान धक नमानी दर्ज गर्न थालेका थिए । नेपाली राजनीतिमा समेत मधेश अलग पहिचानसहित स्थापित भएको थियो । संविधानसभाका लागि भएको पहिलो चुनावमा मधेशको उपस्थिति बलियो बन्यो ।

राजतन्त्रको औपचारिक अन्त्यपछि भएको राष्ट्रपति चुनावमा मधेश आन्दोलनको सामथ्र्य फेरि एकपटक सतहमा देखापरेको थियो । सहमतिबाट गिरिजाप्रसादलाई राष्ट्रपति बनाउँदा आफूलाई काम गर्न अप्ठ्यारो हुन्छ भन्ठानेर माओवादीले प्रतिस्पर्धा गर्ने नीति अख्तियार गर्‍यो । उसले ठूलो व्यक्तित्व भएका राजनीतिज्ञ रामराजाप्रसाद सिंहलाई अघि सार्‍यो । मधेशी कार्डको उपयोगलाई टक्कर दिन कांग्रेस–एमालेले मधेशी उम्मेदवार नै अघि सार्नुपर्ने बाध्यता आइलाग्यो । नत्र, सबै मधेशी मत उनै सिंहमा एकत्रित हुने खतरा थियो । त्यसैले समावेशिताको फेर समात्ने बाध्यताले कांग्रेसबाट यादव नै सहज छनोटमा परेका थिए । चुनावी जोडघटाउमा कांग्रेसले बाजी मार्‍यो । यादव राष्ट्रपति बने ।

समावेशिता स्थापित गर्ने आन्दोलनको विरोध गरेका, कुलीन राष्ट्रवादको दह्रो पैरवी गरेका उनै यादव पार्टीहरू समावेशी देखिने होडमा राष्ट्रपति बनेका थिए । पदासीन भएपछि पनि उनले पुरानो रवैया छाडेनन् । उही ‘मधेशी पहिला कि नेपाली’ जस्ता शब्दावली दोहो¥याएर काठमाडौंको प्यारो बन्ने उद्यममा अकन्टक लागिरहे । राष्ट्रपतिकाल नियाल्दा उनी कांग्रेसका औसत खेलाडीभन्दा अलग हुन नसकेको पुष्टि हुन्छ । नागरिक अभियन्ताको एउटा समूहसहित यो पंक्तिकारले शीतल निवासमा भेट्दा उनले प्रसंगवश भनेका थिए, ‘यस्तो पदका लागि ग्रुम गरिएको मान्छे होइन म ।’

खुम्चेको मन, झुकेको शिर

संविधान जारी गर्ने वेला मधेश आन्दोलित थियो । संघीयता, समावेशिता, नागरिकतालगायत मुद्दा उठाएर गरिएको संघर्षले जनआन्दोलनको स्वरूप ग्रहण गरिसकेको थियो । सतहमा मधेशी मोर्चाले नेतृत्व गरेको देखिए पनि कांग्रेसलगायत सबै दलका मधेशीहरूको सहभागिता थियो । पहिलो मधेश आन्दोलनको महत्व नबुझ्दै त्यसैको बलमा राष्ट्रपति बन्न पुगेका यादवले यसपटक भने राजनीतिक नेतृत्वलाई सचेत हुन आग्रह गरेका थिए । कांग्रेसका सबै प्रभावशाली नेतालाई उनले पटक–पटक भेटेर मधेशका मागको उचित सम्बोधनपछि मात्रै संविधान जारी गर्न भनेका थिए । उनको सल्लाह सुन्ने धैर्य कसैले देखाएन ।

त्यतिमात्रै होइन, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपति पदको गरिमासमेत नरहने गरी संविधानसभामा यादवलाई गिज्याए । ‘उहाँ हाम्रै पार्टीका मान्छे हुनुहुन्छ’ भन्दै सिटौलाले अत्यन्त हलुका ढंगले यादव मधेशी मोर्चा वा भारतको उक्साहटमा नलाग्नु भन्ने आदेश दिन खोजेका थिए । आफ्नो सल्लाह बेवास्ता गरेकोमा यादव बेखुशी छँदै थिए । सिटौलाले गिज्याएपछि झन् क्षुब्ध भए । काठमाडौंमा संविधान स्वागतमा चलिरहेको हर्कबढाईं र त्यही समय मधेशमा बगेको रगतको तालमेल नमिलेको देखेर उनी निरास पनि थिए ।

त्यस्तै अवस्थामा उनले संविधान जारी भएको घोषणा गरे । बेस्सरी मन खुम्च्याएर संविधानको ठेली पटक–पटक ढोगेर उनले जारी गरेका थिए । संविधानको ठेलीमा शिर झुकाउँदै गर्दा उनले बेहोरेको सकस अनुहारमा झल्कन्थ्यो । तिनताक उनले निकटस्थसँग पोखेका तिक्तताबारे गाइँगुइँ सुनिएको थियो, ‘मैले जेजति गरे पनि कुलीनहरूले अन्तिममा असली रूप देखाए ।’ त्यसो त उनले अन्नपूर्ण टुडे वार्तामा समेत त्यो तिक्तता पोखेका छन् ।

इतिहासमा रामवरण

शासकसँग लडेर होइन, उसको निगाहबाट प्राप्त भएको जतिसुकै गरिमामय पद वा बकस किन नहोस्, त्यसको हैसियत कमजोर हुन्छ । यादवले पाएको पदको जग बनाइदिने आन्दोलनप्रति उनी सकारात्मक बन्न सकेको भए उनले नैतिक बल प्राप्त गर्थे । कुलीनहरूका प्रतिनिधि जर्नेलको जागिर जोगाउने नाममा अरूले उचाल्दा नउचालिएर आफ्नो पदको गरिमा जोगाउन सकेको भए पनि उनले ठूलो नैतिक साहस बटुल्थे । अन्तिम घडीमा उनले दिएको सल्लाहलाई सोझै नकार्न नेतृत्वलाई केही सकस हुन्थ्यो ।

उनीहरूले नकारेको सन्देश बाहिर जाँदा उनको समुदायले त्यसलाई आफ्नो अपमानको रूपमा बुझ्थ्यो र आन्दोलित हुने ऊर्जा प्राप्त गथ्र्यो । आखिर राष्ट्रपतिका रूपमा उनले आफ्नो व्यक्तित्वमा कुनै ओज थप्न सकेनन् । उनी केवल कोइराला परिवार र काठमाडौंका कुलीनहरूका आवश्यक हितैषी मात्र बने । नेपाली इतिहासको यो सत्य बुझ्न यादवको जीवनी काम लाग्ने छ ।

आइतवार, भाद्र २५, २०७४

अन्नपूर्ण टुडेमा प्रकाशित

फोटोः नागरिक दैनिक डट कम

शहर बन्न नसकेका महानगर

उज्ज्वल प्रसाईं

झरीमय पोखरा गुलजार छैन, तर सुनसान पनि होइन । पोखराको सबैभन्दा चलायमान ठाउँ लेकसाइडमा पर्यटकहरूको चहलपहल ठीकै छ । फेवा किनारमा सेल्फी खिच्नेहरूको भीड भने उल्लेख्य छ । सेल्फी पर्यटनमा धेरैजसो चिनियाँ र नेपालीहरूको चाख देखिन्छ । स्वाद पस्कन खुलेका अनेक रेस्टुराँ भरिभराउ छैनन्, तर सबैमा एक दुई टेबल चलिरहेकै छन् । सराङकोट डाँडापट्टि हेर्‍यो भने चराझैं उडिरहेका प्याराग्लाइडर्स प्रशस्तै देखिन्छन् । पानी बोकेका बादलले हरदम ढाकेका हिमाल घाम लाग्दासमेत सतहमा देखिन सकेका छैनन् । हिमाल हेर्ने झिनो आशा बोकेर डाँडा उक्लनेहरू प्रशस्तै भेटिन्छन् । पोखराजस्ता शहरहरूमा सतहको झकिझकाउभन्दा भिन्न तस्बिर हेर्न छेउकुनाका साना चिया पसलहरू पुग्नुपर्छ ।

राष्ट्रबैंक चोकछेउको चिया पसलमा सबेरै एक स्थानीयले दुःख बेसाए, ‘धारोबाट खानेपानी होइन, लेदो झरिरहेको छ । खानलाई पानी नभएर जार खोज्न निस्केको ।’ पाँच दिनको पोखरा बसाइमा चिनारु सबैले यस्तै व्यथा सुनाए । हालसालै उपमहानगरबाट बढोत्तरी भएर महानगर बनेको पोखराले खानेपानीको समस्याबाट आफू महानगर बनेको बुझिने भाषामा उद्घोष गरेको छ । नगरमा खानेपानीको जति समस्या होला, पक्कै पनि त्योभन्दा बढी समस्या उपमहानगरमा हुन्छ । उपमहानगरलाई उछिन्नु महानगरको धर्म हो । यस मानेमा पोखरा खरो उत्रन थालेको छ ।

नत्र, पोखरा उपत्यकाको एउटा सानो भागभन्दा बाहिर पुग्यो भने शहरको भन्दा बढी गाउँको झल्को आउँछ । मोटरमा केही किमि दौडिए शहर विस्मृतिमा पुग्न थाल्छ । महानगरभित्रै पर्ने केही वडा यस्ता छन्, जसलाई दुर्गम नभन्नु अनुचित हुन्छ । त्यसैले महानगरको गरिमा धान्न पनि नेपालको अर्को महानगर अर्थात् काठमाडौंका केही गुण पोखराले आफूमा सजाउन थाल्नु आवश्यक छ । खानेपानीको धारोबाट त्यसको शुरुवात भएको छ ।

नगर बन्ने स्पर्धा

नेपालमा पछिल्लो समय धमाधम नगर, उपमहानगर र महानगर घोषणा भए । स्थानीय सरकार पुनर्संंरचना हुनु अघिदेखि नै दर्जनौं गाविसलाई नगरपालिका घोषणा गरिएको थियो । पुनर्संरचनाको प्रक्रिया शुरु भएदेखि नेपालका केही शहरवासीले आफ्नो ठाउँ भविष्यमा प्रदेश–राजधानी बन्छ भन्ने आशामा उपमहानगर र महानगर घोषित हुनुपर्छ भन्ने दाबी गरे । तोकिएका मानक पूरा नभए पनि त्यस्ता दाबीहरू जारी रहे । झापाका उत्साही स्थानीयले ‘दमक उपमहानगरपालिकामा तपाईंलाई स्वागत छ’ लेखिएको तुल नै झुण्ड्याउन भ्याए । दमकलाई उपमहानगर घोषणा गरिएन । झापाकै मेचीनगरमासमेत उपमहानगर बन्ने चाहना व्यक्त नगरिएको होइन ।

कतै स्थानीयको जोडबलले र कतै राज्यको अघोषित केही स्वार्थका कारण नेपाल अब नगरहरूको मुलुक भएको छ । केही वर्षअघि सम्म ९० प्रतिशत गाउँले भरिएको मुलुक भनेर चिनिने नेपालमा एकाएक शहरको बाहुल्य हुनुले हाम्रो नेतृत्वको अदूरदर्शी र हलुकापन दुवै प्रकट गर्छ । सामान्य व्यक्तिले कुनै ठाउँलाई शहर वा गाउँ भनेर चिनाउनुले ठूलो अर्थ राख्दैन । राज्यले कुनै ठाउँलाई गाउँ वा शहर भनेर अंकित गर्नुले ठूलो फरक पार्छ । यी दुई भिन्न ठाउँसँग राज्यले गर्ने व्यवहार नै भिन्न हुन्छन् । त्यसैले शहर वा गाउँ भनिने विषयलाई त्यति हलुका ढंगले सम्बोधन गर्नु मनासिब हुँदैन । केही वर्षअघि कांग्रेस नेता मीनेन्द्र रिजाल स्थानीय विकास मन्त्री हुँदा धमाधम नगरपालिका घोषणा भए ।

नगरको कुनै अवयव नभएका र गाउँ देहातको बाहुल्य भएका गाविसलाईसमेत नगरपालिका घोषणा गरेपछि डा. देवेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा ठट्टा गरे, ‘नेपाललाई विकसित मुलुक घोषणा गरिदिए भयो ।’ सरकारको त्यत्रो महत्वपूर्ण घोषणालाई डा. पाण्डेजस्ता व्यक्तित्वले त्यतिकै मजाक बनाउँदैनन् । मन्त्री रिजाल र तत्कालीन सरकारको विकास बुझाइमाथि उठाइएको गम्भीर प्रश्न थियो त्यो ।राज्यले कुनै घोषणा केवल घोषणाका लागि गर्न मिल्दैन । जनताप्रति अलिकति पनि संवेदनशील छ भने यस्ता घोषणा गर्नुअघि व्यापक गृहकार्य त गर्नुपर्छ नै, त्यसमा जनताको अपनत्व कति हुन्छ भन्नेमा समेत सचेत रहनुपर्छ ।

काठमाडौंको सिंहदरबार वा पोखराको तारा भिलेज रिसोर्टमा बसेर चापाकोटजस्तो दुर्गम ठाउँलाई महानगर घोषणा गर्नु जति सजिलो छ, चापाकोट वा सुरौदी खोलाले महानगरको पगरी धान्न त्यति नै अप्ठ्यारो छ । पोखरालाई महानगर घोषणा गर्नैका लागि मात्रै चापाकोट र सुरौदी खोलालाई पोखरा लेखनाथमा गाभिनु कति न्यायोचित ? चित्तबुझ्दो उत्तर कसैले दिन सकेको छैन । झापाको ज्यामिरगढी मेची नगरपालिकामा गाभिने चर्चा चल्दै गर्दा एक स्थानीय राजवंशीले भने, ‘मेरो दश बिघाभन्दा बढी जग्गा छ । तर, त्यो जग्गामा उब्जनी हुँदैन । हेर्दा ठूलो जग्गामा उब्जेको अन्नले मेरो आफ्नै परिवारलाई पुग्दैन । अब यो नगरपालिकाको कर कसरी तिर्ने होला भनेर म हैरान छु ।’ अर्थात् नगर घोषणासँगै आइपर्ने अनेक जिम्मेवारीलाई वहन गर्न सक्ने क्षमता त्यहाँका आधारभूत तहका नागरिकहरूमा कति छ भन्ने हेक्का राख्न जरुरी हुन्छ ।

मेची बगरको जग्गालाई सम्पत्ति मानेर र त्यसमा लाग्ने एकरूप कर नागरिकमाथि थोपर्न कति जायज हुन्छ भन्नेबारे गहिरोसँग बोध गर्नु र त्यसैअनुसार नीतिनियम तर्जुमा गर्नु लोकतान्त्रिक राज्यको चरित्र हुनुपर्ने हो । नगर बन्दा ती राजवंशीजस्ता सामान्य मानिसले पाउने फाइदाको लेखाजोखा पनि हुनुपर्छ नै । तर, आगामी १० वर्षसम्म त्यसको ठोस लाभ उठाउन पाइन्छ भन्नेमा त्यो तहका जनता ढुक्क थिएनन् । साथै, पुनर्संरचना गरिरहेको राज्यलेसमेत हुन सक्ने लाभबारे जनतालाई आश्वस्त तुल्याउन सकेको थिएन ।

झापाली राजवंशीलेजस्तै अन्योल र दुःख दाङको तुलसीपुर उपमहानगरपालिकामा पर्ने दुर्गम भेगका एक नागरिकले पंक्तिकारलाई सुनाएका थिए । प्रदेश पाँचको राजधानी बन्ने अति उत्साहका कारण उपमहानगर बन्ने दौडमा लागेका दंगाली टाठाबाठाले त्यस्ता नागरिकका दुःखको सुनुवाइ गरेनन् । विकासको काल्पनिक संकथनले जनता भुलाउन माहिर नेपाली राज्यसत्ताको चरित्र पञ्चायतको निरन्तरता हो ।

शहर वा ठूला गाउँ ?

महानगर दाबी गरिएका शहरलाई नियालेर हेर्‍यो भने, ती शहर होइन ठूला गाउँजस्ता देखिन्छन् । शहरको मध्यभाग नै ‘पेरी–अर्बन’ भनिने शहरोन्मुख गाउँजस्तो मात्रै प्रतीत हुन्छ । शहरवासीलेसमेत ग्रामीण जीवनका चरित्र सबै छोडिसकेका छैनन् । व्यवसायकै लागि धेरै कोठा निकालेर बनाइएको घर भाडामा दिनुभन्दा पहिले आफ्ना ग्राहकका थर र जात सोध्ने घरधनीहरू भएको काठमाडौंले ग्रामीण जीवनका त्यस्ता अनेक पछौटेपन समेटेर राखेको छ । ‘दी ट्रियम्फ अफ सिटी’ लेख्ने हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्री एड्वार्ड ग्लेइसर भारतको मुम्बईसम्म आइपुगेर शहरका सकारात्मक गुणबारे विस्तारमा चर्चा गरेका छन् । शहरलाई उनले अवसर र अन्वेषणको केन्द्र ठानेका छन् ।

केन्द्रीकृत सत्ताका कारण काठमाडौं अवसरको केन्द्र भएकोमा कसैको दुई मत छैन । तर, शहरको अन्वेषणात्मक क्षमता काठमाडौंले कति प्रदर्शित गर्न सकेको छ ? कालोपत्रे गरेर चिल्लो बनाएका बाटाको ६ महिना पनि उपभोग गर्न नपाउँदै झम्पल र फरुवा बोकेर ढल खन्न आउने मजदुरहरू सडकमा देखिन्छन् । तिनले ढल बनाएर छोपछाप पारिसकेका हुँदैनन्, माझ सडक फोडेर खानेपानीका नाला बिछ्याउन थालिन्छ । त्यसरी कालो पत्रे उप्काएका मध्य शहरका अनेकौं सडक अहिले धुलोका कारखाना बनेका छन् ।

जतिसुकै मास्क लगाएर हिँडे पनि सडकमा पैदल हिँडेर वा सडकछेउमा पसल गरेर बस्ने मानिसहरूको सम्भवतः श्वासनलीमा समस्या देखा पर्नेछन् । हुनसक्छ, धेरै दमका रोगी बन्न सक्नेछन् । त्यसरी धुलो र धुवाँ निलेर हुर्कने बालबालिकाको स्वास्थ्य कति खराब बनिरहेको छ भन्ने मापन हुन बाँकी नै छ । खानेपानीको संकटबारे धेरै लेख्न जरुरी नै छैन । मेलम्चीबाट खानेपानी ल्याउने उपाय आफंैमा गतिलो अन्वेषण होइन, प्रमाणित हुन धेरै समय नलाग्ला ।

शहरीया विमलाका दुःख

शहर बन्न नसकेका महानगरका दुःख शहरोन्मुख संसारका पेरी–अर्बन ठाउँका दुःखसँग मिल्दाजुल्दा हुँदा रहेछन् । भारतको राजधानी दिल्ली विस्तार हुँदै गएपछि वरपरका गाउँहरू शहरजस्ता बन्न थाले । जसै शहरीया झिलिमिली त्यस्ता ठाउँहरूमा प्रवेश ग¥यो, खानेपानी र फोहोर व्यवस्थापनका समस्याहरू विकराल बन्न थाले । त्यस्ता ठाउँहरूका अध्ययन गर्ने केही सराय डट नेटजस्ता परियोजना चलाइरहेको सेन्टर फर दी स्टडी अफ डेभलपिङ सोसाइटी (सीएसडीएस)ले प्रकाशन गरेको ‘दी वाटर कुकबुक’ नामको कमिक कथा हाम्रा लागि उचित अध्ययन सामग्री बन्न सक्छ ।

भगवती प्रसादले रचना गरेको सो किताबमा विमला नामकी पात्रको रमाइलो कथा छ । कामकाजी छोराछोरीको स्याहार गरेर बसेकी वृद्धा विमला प्रत्येक दिन बिहानका लागि राति नै उठेर पानीको जोहो गर्छिन् । कारण, कुनै खास समय नतोकिएको नगरपालिकाको पानी कहिले बिहान दुई बजे त कहिले तीन बजे धारोमा खस्छ । त्यसरी पानी भर्न उठ्नु विमलालाई नगरेको अपराधको सजाय भोगेसरह हुन्छ । हरेक वर्ष एउटा खास समयमा १५ दिन त्यसरी नगरपालिकाको पानी धारामा आउँदैन ।

पानी नआउने ती १५ दिन विमलालाई उपहारसरह हुन्छन् । जिन्दगीमा उनको खुशी भन्नु त्यही पन्ध्र दिन मात्रै हुन्छ । कारण, ती १५ दिन उनले मनग्य सुत्न पाउँछिन् । बिहानका राति उठ्नुपर्ने दुःखबाट उनी मुक्त हुन्छिन् । भगवती प्रसादले लेखेको यो कथा हाम्रो पनि कथा हो । हाम्रा विमलाहरू खोज्न शहरभन्दा पर वा चक्रपथबाहिर गइरहनु पर्दैन । शहरको मध्य भाग अर्थात् मैतीदेवी र घट्टेकुलोका गल्लीमा यस्ता दुःखी विमलाहरू कति भेटिन्छन् कति ।

आइतवार, भाद्र ११, २०७४

अन्नपूर्ण टुडेमा प्रकाशित

फोटो स्रोतः Stephan Geyer / Flickr.com

कोंगुभाषीको धुमिल चित्र

उज्वल प्रसार्इं

पुस्तक : वान पार्ट अफ वुमन
लेखक : पेरुमल मुरुगन
प्रकाशक : पेन्गुइन बुक्स
मूल्य : २९९ भारु

तमिल लेखक पेरुमल मुरुगनका दुई उपन्यास ‘वान पार्ट अफ वुमन’ र ‘पायर’ले तमिलनाडु राज्यका कोंगुभाषी क्षेत्रका साना गाउँहरूको चित्र खिच्छन् । गाउँ प्रकृतिको नजिक हुन्छ त्यसैले शान्त र सुन्दर देखिन्छ । हरिया जंगल र खेतका फाँटहरूले जीवनको रंग भरेर गाउँलाई जीवन्त देखाएका हुन्छन् । तर, सतहमा सुन्दर देखियो भन्दैमा गाउँ सग्लो सुन्दरताको प्रतीक नहुन सक्छ ।

भावुकतावश गाउँको महिमा गाउँदै गर्दा त्यो अन्धविश्वास, पछौटेपन र निरस एकोहोरोपनाको नमुना पनि हो भन्ने भुसुक्कै बिर्सन सकिन्छ । आधुनिक शिक्षाको प्रभावमा नपरेका निर्दोष र कुनै कपट नभएका मानिस हुन सक्छन्, गाउँमा । तर, त्यहाँ चर्को वर्गीय, जातीय र लैंगिक विभेद पनि सँगै हुन्छन् । यी दुवै उपन्यासमा गाउँको अनुहार सुन्दर देखिन्छ तर गर्भमा विभेदको अमानवीय कुरूपता उनिएको छ ।

‘वान पार्ट अफ वुमन’ मुरुगनको ‘मधुरोबागन’ नामको तमिल उपन्यासको अंग्रेजी अनुवाद हो । एउटा सानो गाउँका विवाहित जोडीको प्रेमको सुललित व्याख्यासँगै बच्चा पाउन नसकेका कारण उनीहरूले भोग्ने असीम पीडाको वर्णन उपन्यासको मुख्य पाटो हो । बच्चा जन्माउन नसक्नु महिलाको ठूलो अपराध हो र पत्नीलाई बच्चा पाउने बनाउन नसक्नु पुरुषको अक्षम्य कमजोरी हो भनेर बुझेको गाउँ आफै‌ प्रेमको विरोधी देखिन्छ । काली र पुन्नाबीच गहिरो प्रेम छ । तर, त्यसले मात्र उनीहरूको जीवन सुखमयी बन्न सक्दैन ।

रातदिनको टोकेसो र जुनसुकै सन्दर्भमा पनि त्यही ‘अक्षमता’माथि गरिने निरन्तर प्रहारले उनीहरूलाई थिलथिलो बनाउँछ । कसैगरी उनीहरू यो संकटबाट पार पाउन चाहन्छन् । र, बच्चा नपाउनु आफ्नो दोष नभएको निष्कर्षमा पनि बेला–बेलामा नपुग्ने होइनन् । तर, आफन्त, छरछिमेक र सिंगो समाजले गरेको अटुट प्रहारले उनीहरूको त्यो आत्मविश्वास भत्किन्छ । अन्धविश्वासी जालोले उनीहरूलाई बेस्सरी बेरेपछि गाउँका कुनै मन्दिर छाड्दैनन्, गलका कुनै देवतालाई प्रसाद चढाउन छुटाउँदैनन् ।

ज्यानै जाने खतरा मोलेर पनि तपस्या गर्छन् तर केही पार लाग्दैन । अन्ततः गाउँमा लगाइने ठूलो एक मेलामा पुन्नालाई पठाउने निर्णय गर्न पुग्छन्, उसकी आमा, सासू, र दाजु । मेलामा भेट हुने हरेक लोग्ने मानिस देवता हो र उसैसँग संसर्ग गरेपछि गर्भधारण हुन्छ भन्ने विश्वास गर्ने धर्मभीरु परिवारले पुन्नालाई त्यहा“सम्म पुर्‍याउँछ । यही विन्दुमा काली र पुन्नाबीचको सम्बन्धमा चिसोपन बढ्ने संकेत गरेर उपन्यास टुंगिन्छ । अर्थात्, सबैभन्दा नजिकका आफन्त र सिंगो समाजले कुरूप अन्धविश्वास र विभेदपूर्ण सामाजिक सम्बन्धलाई कायम राख्दै प्रेमको निरन्तरता भंग गरिदिन्छन् । अर्को उपन्यास ‘पायर’ तामिल मूलभाषामा ‘पोक्कुजी’ नाममा प्रकाशित छ, जसमा पनि काली र पुन्नाजस्तै एउटा जोडी छ, प्रेममा ओतप्रोत । यो अन्तर्जातीय प्रेम हो ।



पुस्तक : पायर
लेखक : पेरुमल मुरुगन
प्रकाशक : पेन्गुइन बुक्स
मूल्य : ३९९ भारु



गाउँबाट नजिकैको सानो शहरमा सोडा पसलमा काम गर्ने कुमारेसन र पसल छेउमा डेरा गरी बस्ने मोची परिवारकी छोरी सरोजाका बीच विस्तारै प्रेम झाँगिन्छ । पहिले यसो हेराहेर मात्रै हुन्छ । विस्तारै कुमारेसनमा सरोजालाई देख्ने उत्सुकता बढ्दै जान्छ । एकअर्काको धेरैपटक आँखा जुधेपछि, इसारामा कुराकानी हुन्छ । गर्दै, भन्दै जाँदा प्रेम सञ्चार हुन्छ । प्रेमले जातको जकडबन्दी मान्दैन । उनीहरू विस्तारै एकअर्कासँग अत्यन्तै नजिक हुन्छन् । एक दिन विवाह गर्ने निर्णय गर्छन् । कुमारेसनले सरोजालाई भगाएर गाउँ लैजाने र एक्ली आमासँगै राखेर जीवनयापन गर्ने निधो गर्छ । उनीहरू भागेर जसै गाउँ पुग्छन्, सिंगो गाउँले सरोजाको जात सोध्छ ।

असली जात बताउँदा कुमारेसन र सरोजाले सँगै जिन्दगी जिउने कल्पना पनि गर्न सक्दैनन् । जात ढाँटेर जिउने असफल प्रयास गर्छन् । अनेक हण्डरबीच उनीहरूको प्रेममा कमी आउँदैन । सिँगो गाउँले उनीहरूको परिवारसँग बोलीचाली र लेनदेन बन्द गर्छ । उनीहरूलाई पूरै एक्ल्याउँदा पनि कुमारेसन र सरोजा सँगसँगै बाँधिएर बस्छन् । एकअर्काबाट छुट्दैनन् । सरोजाले धेरैपटक असह्य भएर माइती फर्किने जिकिर गर्दा कुमारेसन विस्तारै सबैले स्वीकार्छन् भन्ने आशा देखाइरहन्छ । आमा दिनरात सरोजालाई सरापेर बस्छिन् ।

छोरासँगको सम्बन्धमा न्यानोपन घट्दै जान्छ । यति हुँदा पनि उनीहरू छुट्टिँदैनन् । विस्तारै असली जात पत्ता लाग्छ, लोग्ने घरमा नभएको मौका छोपेर गाउँभरिका पुरुष सरोजालाई मार्ने षडयन्त्र गरेर ऊमाथि प्रहार गर्न जम्मा हुन्छन् । गाउँको यो आपराधिक उपक्रममा सरोजाकी सासू साथमै हुन्छिन् । एकातिर, नपुंसकतालाई अपराध करार गरिएको छ, अर्कातिर अन्तरजातीय विवाहलाई वर्जित मानिएको छ । बाख्रा पालेर, सामान्य खेती किसानी गरेर बस्ने मानिस पितृसत्ता र जात व्यवस्थाले निर्धारित गरेको सामाजिक सम्बन्धमा नराम्ररी जेलिएका छन् ।

जात व्यवस्था कायम गर्न, अन्धविश्वासको रक्षा गर्न र पितृसत्तालाई बचाउन उनीहरू ठूला अपराध गर्न पछाडि हट्दैनन् । खास सम्बन्धभन्दा पर अंकुराएको प्रेमको बीउ मास्नु नै धर्म हो भन्ने बुझेका छन् र त्यसभन्दा फरक सोच्न सक्दैनन् । दुई उपन्यासमा देखिएका यी दुई गाउँ लगभग उस्तै छन्, तिनका दुःखहरू उस्तै छन्, तिनले आफ्नो गर्भमा बोकेको त्रासदी पनि उही हो । ती नेपालकै गाउँजस्ता लाग्छन् ।

पेरुमलले बडो सरल कथा भनेर गाउँको सामाजिक र सांस्कृतिक असमान सम्बन्धको पहेली खुट्याएका छन् । प्रेमको वर्णन गर्ने उनको जस्तो प्रतिभा धेरै लेखकमा हुँदैन । प्रेमबारे लेख्ने जिम्मा लिएको दाबी गर्ने बजारु चेतन भगतहरू सतहमा दौडिन्छन् । पेरुमलहरूले कोमलतासाथ प्रेमपूर्ण सम्बन्धको उहापोह देखाउन सक्छन् । जब, विभेद र अन्धविश्वासले सिर्जना गर्ने द्वन्द्वमा फँस्छन् उनका पात्र, तिनको छटपटी र पीडाको चित्रण गर्न पनि उनी उत्तिकै सफल छन् ।

शब्द खिपेर कोंगु क्षेत्रका गाउँमा कहिल्यै नपुगेका पाठकका आँखामा गाउँका दुरुस्तै चित्र उतार्ने सीपमा जोसुकै पोख्त हुँदैन । सामाजिक संरचनाका जटिलता उधिन्ने र बडो सरल भाषा र कथ्यमा ती जटिलतालाई भन्न सक्ने कौशल भएका पेरुमल आफैंमा तमिल साहित्यका अथक शोधकर्ता पनि हुन् । उनले त्यस विषयमा विद्यावारिधिसमेत गरेका छन् । समाजमा रहेका पछौटेपन र अन्धविश्वास कसरी प्रेमद्वेषी हुन्छन् भन्ने दुवै उपन्यासले उजागर गरेका छन् ।
‘मधुरोबागन’ उपन्यास लेखेकामा उनलाई हिन्दुवादीहरूले दिनुसम्म दुःख दिए । उनको उपन्यासले पुरस्कार पाएर चर्चा बढेसँगै अनेक धम्की आए । हिन्दु देवी, देवताको बद्नाम गरेको, हिन्दु समाजमा विकृति फैल्याएको जस्ता अनर्गल आरोप लगाएर घरै छाड्न बाध्य पारियो । आजित भएर उनले एकदिन फेसबुकमार्फत् लेखक पेरुमल मुरुगनको मृत्यु भएको र आइन्दा केही नलेख्ने घोषणा गरे । स्वतन्त्र लेखन र चिन्तनको समर्थन गर्ने सयौं लेखक र सिर्जनधर्मीहरूले उनको पक्षमा आवाज उठाए र अन्ततः उनले मुद्दा जिते । अहिले उनी लेखनमा फर्किएका छन् ।

बुधवार, बैशाख २०, २०७४

अन्नपूर्ण टुडेमा प्रकाशित