जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ ।

आक्रोशले उमालेको कफी

कम्तीमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा किताब र कफीलाई दिने सुबिस्ता सबैलाई पुगोस् भन्नका लागि मसँग नेपाली र अंग्रेजी दुईटा भाषा छन् । शासकहरूसँग कति नाले बन्दुक छन् ?

Sunday, February 2, 2014

कमेजको गोजीमा उहाँको नाम

भतिजोले बनाएको पक्कि घरको
तल्लो तलाको कुनै एउटाकोठामा
ढोका पछाडि ठोकिएको कुनै काँटिमा
उहाँको कमेज झुन्डिएको धेरै भयो ।

कमेजको गोजीमा एउटा कागजको खोस्टो छ,
जहाँ लेखिएको छ उहाँको नाम,
त्यसलाई तपाईँ नागरिकता पनि भन्न सक्नुहुन्छ ।
कमेजसंगै ढोका पछाडि सुरक्षित त्यस खोस्टोमा अंकीत
उहाँको नाम त्यसरी नै झुन्डिएको पनि बर्षौँ भयो ।

समय पत्रीएर उहाँको अनुहारमा खज्मजिएको छ,
बर्षौँ देखि झुल्किएका घामहरु उहाँका छालामा कालाम्य छन्,
छाना, छाता र घुमबाट चुहिएर उहाँलाई भीजाउने बर्षात
उहाँका आँखामा संचीत छन्, कहिलेकाहिँ तरर खस्छन्,
उहाँले हिँडेर आएको बाटो जस्तै उहाँको ढाड सीधा छैन,
उहाँले गरेका र नगरेका गल्तिका सजाय शरिरभरि
नीलडाम जस्तै भुक्क उठेका नशाहरु छन्,
उहाँको कपालमा पनि समय, घाम र पानी ‘सेडिमेन्ट्स’ बनिसकेका छन् ।

शहरका व्यस्त पसलहरुमा उहाँ अक्सर देखिनुुहुन्छ,
सादा गन्जी, घुर्मैलो रङ्गको हाफपाईन्ट र हात्तीछाप चप्पल
ती उहाँकै हुन्,
गोजीमा राखिएका पैसा र कीन्नु पर्ने सामानको फेहरिस्त,
ती अर्कैका ।
त्यसैले सामान किन्दा कहिलेकाहिँ पैसा अपुग भएमा
पसलेले उहाँको नाम सोद्धैन ।

उहाँ बस्ने घरमा उहाँको कोठा बाहेक घरभरि मान्छेहरु छन्,
कसैका दाजु, कसैका जेठाजु, कसैका बडाबा र कसैका बुढाबा,
घरबाहिर पनि त्यस्ता मान्छे छन्,
तीनलाई तपाईँ उहाँका आफन्त पनि भन्न सक्नुहुन्छ ।
उहाँले नै चील्लो दलेर सुकोमल बनाईदिएका कति आफन्तका हातहरु
उहाँका नशा निस्केका शरिर छाम्न अहिले हच्किन्छन् ।
काका, मामा, दाजु र बुढाबामा खण्डित उहाँको नाम
कमेजको खल्तिमा साँचिएको त्यस खोस्टो बाहेक
कुनै आफन्तको विवाहको निम्तो पत्रमा पनि छैन ।

उहाँका नाम बरु
उहाँले फुटालेका माटाको डल्लाहरुमा छन्,
उहाँका पसिनाले सिन्चित खेतबारी र कान्लाहरुमा छन्,
उहाँले स्याहारेका ती गाईबस्तुका आवाजमा तरङ्गीत छन् ।
ती माटा, खेतबारी, कान्ला र गाईबस्तु अर्कैका नाममा छन् ।
उहाँका नाम
कुनै रातो धनिपूर्जा वा पहाडे कागजमा छैनन्
कुनै पार्टीका कथित ‘टीकट’हरु मा पनि छैनन् ।

उहाँले केहि नजितेर सबै हार्नुभयो,
कुनै कम्युनिष्टको सर्वहारामा उहाँको नाम छैन ।
उहाँको पसिनाको मोल कसैले तिरेको छैन,
कुनै डेमोक्र्याटको सामाजीक न्यायमा उहाँको नाम छैन ।
उहाँको आवाज कतै सीमान्तमा टाङ्गिएको छ,
कुनै सीमान्तकृतहरुको फेहरिस्तमा उहाँको नाम छैन ।

भाइ, भतिजो, बुहारी, दाजु, नाति र नातिनिहरु
छिमेकी, पसले, पार्टी र संगठनहरु
यो भीडमाझ उहाँ पनि हुनुहुन्छ ।
तर,
ढोका पछाडि काँटीमा बर्षौँदेखि झुन्डिएको कमेजबाट नस्किएर
त्यो ‘चन्द्रशेखर’ कहिल्यै बाहिर आएको छैन ।

असल र बलियो मानिसको खोजि

लेख्नुअघि जहिले पनि केही प्रश्नहरु अघिल्तिर आएर उभिन्छन् । नलेखि नहुने त्यस्तो महत्वपूर्ण विषय के हो ? वर्तमानमा साधारण मान्छेका हितका हकमा उठाउनु पर्ने त्यस्तो अहम् प्रश्न के हो ? मेरो मस्तिष्कमा आउने पाठकका अनुहारहरुले यस स्तम्भमा उठाएका विषयहरुलाई कत्तिको महत्व दिएका होलान् ? वा, उनीहरुको जीवनका लागि तिनले केही अर्थ राखेका छन् या छैनन् ? र, जसका विरुद्धमा म सधैँ लेखिरहेको छु, उनीहरुले मेरो शब्द–सामथ्र्यको कस्तो अन्दाज लगाएका होलान ? वा, के तिनीहरुले यी शब्दहरुको प्रभाव महसूस गर्ने मौका पाएका छन् ? मैले यी मध्ये धेरै प्रश्नहरुका चित्तबुझ्दा उत्तर पाउन सकेको छैन । तथापी लेखिरहेको छु ।

पछिल्ला केही प्रसँगमा आफुले उठाएका केही विषयहरुलाई फर्केर हेरेँ । राजनीतिक दल, विद्यालय, विश्वविद्यालय देखि केहि व्यक्तिहरु सम्मका धेरै विषयहरु लेखिएका रहेछन्, मेरा प्रकाशित त अप्रकाशित लेखहरुमा । सस्तो पैसाको कुरा उठेछ । घीनलाग्दो दलालीका विरुद्धमा केही लेखिएछ । कति शब्दहरु उपभोक्तावादका सम्बन्धमा खर्चिएछन् । केही सय शब्दहरु वातावरणका नाममा चढाईएछ । थुप्रै वाक्यहरु युवाका लागि पनि लगानी भएछन् । केही नारीहरुलाई लक्षित गरेर पनि लेखहरु तयार भएछन् । आफु हुर्केको ठाउँ काँकरभिट्टालाई बद्नाम गराउनेहरुका विरुद्धमा पनि केहि लेखिएछ । दुई एक विषयहरु पत्रकारिता क्षेत्रका पनि उठेछन् । अहिलेको विश्व परिवेश र नेपाली राजनीतिका केही पहेलीहरु खुट्याउने प्रयास भएछ । र, नेपाली र अङ्गरेजी साहित्यका कुरा पनि अलिकति गर्न भ्याईएछ । 

आफ्नो कामबाट खुशी हुनु स्वाभाविक हो । र, सायद यो धेरै राम्रो नभए पनि नराम्रो चाहिँ पक्कै होइन । यसलाई कसैले आत्मरति पनि भन्न सक्ला, मैले अन्दाज लगाएको छु । तर, मेरो चासोको विषय त्यो होइन । बरु, मैले बुझ्न चाहेको चाहिँ यी माथी उल्लिखित विषयहरु कति महत्वका हुन् ? के यी विषयहरु नलेखी नहुने हुन् ? के यी विषयहरुनै वर्तमान समयको पगध्वनी हुन् ? के यी सबैहरु लेख्न जरुरी थिए ? यदी यी सबै प्रश्नहरुका उत्तर सकरात्मक आए भने अर्को प्रश्न स्वतः उब्जन्छ । त्यो के भने– यदि यी विषयहरु महत्वपूर्ण हुन् भने, के यीनले ती मान्छे र संस्थाहरुबाट त्यति नै महत्व पाए जति पाउनु पर्ने हो ? पाएका छन् भने त्यसको असर कहाँ, कस्तो र कति देखियो ? वा, यी चीजहरुले महत्व पाउने र तीनका असर देखिने समय भएकै छैन ? 

यी सबै प्रश्नहरु एकैसाथ गुटमुटिएर आउँदा मलाई अक्सर कवि केशव आचार्यका कविताका केही पंक्तिहरुका सम्झना हुने गर्छ । उहाँले यस्तै प्रश्नहरुले घेरेका बेलाको लेखकको अवस्थालाई बडो परिहासपूर्ण ढङ्गले व्यक्त गर्नुभएको छ ः 
               अब कसैलाई कसैको मृत्युमा पनि शोक छैन 
               सुन उम्रने माटोमा खुनैखुन छ 
               मात्र आँखाले सुन्दर सपना देखेर के हुन्छ ? 
               यस परिवेशमा 
               मेरो वा रंगलाल भन्नु हुन्छ– 
               ए केशे– तैँले कविता लेखेर के हुन्छ ? 

यस कवितालाई मेरा मीत्र शैलेषले विपठन गरेर पढ्ने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘ए केशे– तैँले कविता नलेखेर चाहिँ के हुन्छ ?’ शैलेषजीको यो प्रश्नले मलाई पनि हौसला दिने गर्छ । ‘लेखेर के हुन्छ ?’ भनेर सोध्नेहरुलाई मैले यस्तै उत्तर दिने गरेको छु –‘नलेखेर चाहिँ के हुन्छ ?’

तर, यस्ता प्रश्नहरु अरुले साध्ने भन्दा पनि आँफैभित्र सल्बलाउने भएकाले यसउपर बढी चीन्ता गरिँदो रहेछ । हामीले भोगिरहेको समय यस्तो बन्दै गएको छ जसले महत्वका थुप्रै विषयहरुलाई नजरअन्दाद गरिदिन्छ । हामी कहाँ यस्ता मान्छे र संस्थाहरुको बाहुल्य बढ्दै गएको छ जसले महत्व दिनुपर्ने विषयहरुलाई बेवास्ता गर्दछन् । सामान्य मान्छेले उठाएका गम्भिर सवालहरुलाई कुल्चेर अगाडि बढ्ने गरिन्छ । एकजना वामपन्थी बुद्धिजीविले मलाई बडो दुःख मान्दै भनेका थिए – ‘हामीले केही फरक मत राख्यौँ भने वा कुनै गम्भिर विषय उठान ग¥यौँ भने नेतृत्वले अप्ठ्यारो मान्छ वा नेताका चाटुकारहरुले सुरुवाल मुत्न थाल्छन् र फत्तुर लगाउन थाल्छन्, शब्द जानेकै छन्, त्यत्तिकै प्याच्च पेट्टी बुर्जुवा भनेर पाखा लगाउँछन् ।’ अर्का एकजना अग्रज, हाम्रा आदरणीय लेखकले भनेको पनि सम्झन्छु– ‘म अमेरीका नगएकामा र डलर नकमाएकामा रिसाएका छन् मेरा घरका मान्छेहरु ।’ यी दुवै भनाईहरु सतहमा सामान्य देखिएलान् । तर, यी भनाईहरुमा ठूलो पीँडा लुकेको छ । यो कुनै एक पार्टी, व्यक्ति वा संस्थाको मात्रै अवस्था होइन । यस्तो रोगले सबैलाई ग्रसित पारेको छ । अरु त अरु जसका लागि भनेर लेख्ने, बोल्ने या केही काम गर्ने प्रयत्न गरिन्छ, तिनीहरुकै असहयोग खेप्नु पर्दछ । तिनीहरुले नै हामीले लेखेको, बोलेको या काम गरेको कुरालाई बेवास्ता गरिरहेका हुन्छन् । यसरी हाम्रो सिङ्गो संस्कृतिमा मूल्यको क्षयीकरण हुँदैछ । हामी मध्येकाले गरिरहेका केही राम्रा कामहरुले आफ्ना अर्थहरु गुमाउँदै गएका छन् । 

विस्लाबा शिम्बोस्र्काको एउटा कविता पंक्ति यहाँ प्रासँगिक लाग्छ ः
              जस्तो कि तपाईँले देखिसक्नुभएको छ 
               त्यही हुन्छ 
               प्रत्येक पटक त्यही हुन्छ– 
               सबभन्दा महत्वपूर्ण प्रश्नलाई 
               सबभन्दा निरर्थक सावित गरिन्छ ।  

यस्ता खाले पीँडालाई कविहरुले आफ्ना कवितामा बडो राम्ररी चित्रण गरेका हुन्छन् । एलेन गिन्सबर्ग नामका एक चर्चित अराजकतावादि अमेरीकी कविले पनि लेखकले भोग्ने यस्तै पीरलोलाई आफ्नो छोटो कविता ‘दीज टु’मा वीम्वात्मक प्रस्तुति दिएकाछन् ।  
               एउटा रुखले अर्कोलाई भन्यो–
               यो कार मेरो मुन्तिर बसेको मलाई मनपर्दैन 
               यसको पेट्रोलको गन्ध मलाई मन पर्दैन ।
               त्यो अर्को रुखले उसलाई भन्यो– 
               ए ! तँ जहिल्यै गनगन गर्छस् 
               तँ वीक्षिप्त छस् 
               थाहा पाउँदैनस् ? तँ आँफै त्यो कारपट्टि नीहुरिएको छस् ।

लेखकहरुलाई वीक्षिप्त ठान्ने गरिन्छ । लेखकहरुको कामै यो भएन र त्यो भएन भनेर गनगन गर्ने हो, मान्छेको साधारण बुझाई यस्तो छ । त्यसैले ‘लेखेर केही हुँदैन’ भन्ने लेखकहरुकै संख्या पनि ठूलो छ । 

सुन्दर सपना देख्ने र त्यसैको निर्माणका लागि निरन्तर लेखिरहने लेखकहरु वीक्षिप्त हुँदैनन् । र, उनीहरुका कुरा गनगन होइनन् । लेखकहरुलाई यस्ता फत्तुर तिनीहरुले लगाउँछन् जो लेखकका शब्द–सामथ्र्यदेखि डराउँछन् । कायर हुन्छन् तिनीहरु । त्यसो त लेखक हुँ भन्नेहरु नै पनि कति यहि कोटिका छन् । तर साँचो अर्थमा लेख्नेहरु जहिल्यै असल र बलिया मान्छेका खोजि गरिरहेका हुन्छन् । र, खोजेका जति सबै प्राप्य नभएपनि लेखकका मनमा आशाको दियो जलिइरहन्छ ः 
               हामीले सोचेका थियौँ 
               आखिर भगवान्लाई पनि 
               एउटा असल र बलियो मानिसमा 
               भरोसा गर्नुथियो,
               तर अफसोच
               यो शताब्दीमा मानिस असल र बलियो 
               एकैसाथ हुनै सकेन 
                                               –बिस्लावा शिम्बोस्र्का ।  

बाँझो नेपाली एकेडेमिया

'हाम्रामा बर्टान्ड रसेल, सारत्रे, एन्टोनियो ग्राम्सीहरूको खोजी गर्नु वा हर्बर्ट मार्कुज र नोम चोम्स्कीहरूको आविष्कार गर्न खोज्नु वा गलब्रेइथ र मार्सल मक्लुहानहरूलाई संस्थागत गर्छु भन्नु अर्थहीन हुन्छ। हामीसँग यो कदका विद्वान् कोही छैनन्। जति छन्, ती त केवल नेपाली समाज नामको पांग्रामा घुमिरहने सामान्य दाँत हुन्, जो निरन्तर विभेदरहित समाजको अपेक्षा गरेर बसेका छन्।' 

सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एन्ड एडमिनिस्ट्रेसन -सेडा), कीर्तिपुरमा सन् १९७० मा भएको भएको एक सेमिनारमा प्राध्यापक कमलप्रकाश मल्लले 'द इन्टिलेक्चुअल इन नेपाली सोसाइटी' शीर्षक कार्यपत्रमार्फत हाम्रा विद्वान्हरूबारे त्यसो भनेको चार दशकपछि यो पंक्तिकार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयभित्रको सेडा भवनमा पहिलोपटक प्रवेश गरेको थियो। उनले कुन ठाउँमा उभिएर हाम्रा विद्वान्बारे बोलेका थिए होलान्, त्यहाँ पुगेर कल्पना गर्न सम्भव थिएन। कारण, म पुग्दा भवन कुनै सेमिनार आयोजना गर्न लायक स्थितिमा थिएन। बाहिरबाट हेर्दा सुन्दर आर्किटेक्चरको नमुनाजस्तो देखिने भवनभित्र माकुराका असंख्य जालाहरू जेलिएका थिए। भाँचिएका फर्निचर, बिगि्रएका गिजर, गुम्सिएका कोठा, धुलाम्य र असरल्ल किताबहरूले भित्री भाग सिँगारेका थिए। त्यस खण्डहरबीच उभिएर अहिले कस्तो चिन्तन भइरहेको होला, थाहा छैन। बरू त्यहाँ पुगेका हामीले केही तमतमाइला ठट्टाचाहिँ गर्‍यौँ।

सेडा सिंगो नेपाली 'इन्टेलिजेन्सिया'को विरूप प्रतिच्छायाँ बनेको छ। नेपालका प्रायः विश्वविद्यालय हेर्नूस् वा हेर्नूस् साहित्य कला-प्रतिष्ठानहरू, मूल्यहीनताको गति सबैतिर तीव्र छ। अन्यत्र भवनहरू सग्लै होलान् तर जीवन्त छैनन्। 

प्राध्यापक मल्लले त्यस सेमिनारमा आफ्नो कार्यपत्र पढ्दा मुलुक राणाहरूबाट फुत्केर राजा महेन्द्रको कब्जामा पुगेको थियो। यद्यपि, शिक्षा, ज्ञान र प्रज्ञा हासिल गर्ने केही प्रयत्न बिस्तारै अघि बढ्दै थिए। महेन्द्रले आफ्नै खाले विकासवादी 'डिस्कोर्स' सुरु गर्न नै सायद सेडा बनाउन लगाएका थिए। पशुपतिशमशेर राणाहरू लागेर यसको स्थापना गरे, भवन बनाए। धेरै पछि मुलुक प्रजातन्त्रमा आइपुग्यो। महेन्द्रको पञ्चायतभन्दा राजनीतिक दलहरूको प्रजातन्त्र अग्रगामी थियो। यसमा सन्देह छैन। तर, सन्देह नहुनुभन्दा विडम्बनाहरूको रास हुनु दुःखदायी छ। त्यो अग्रगमन अधिकांश गरबि र पिछडिएका नेपालीका घरमा जस्तै सेडामा पनि आइपुगेनछ। दुःख यहाँ छ। सेडाहरूको बन्ध्याकरण गर्नुमा प्रजातन्त्रका हिमायतीहरूले आफ्नो सिद्धि देखेछन्, ताकि त्यहाँबाट कुनै नोम चोम्स्की जन्मेर आफूलाई अप्ठ्यारा प्रश्नहरू नसोधोस्। दुःख यहाँ छ। अर्को दुःख पनि भनौँ, म सेडा पुग्दा मुलुकमा गणतन्त्र आएको झन्डै आधा युग बित्न लागेको थियो। 

प्रश्न कुन भवनको उपयोग भयो या भएन भन्ने होइन। वा, प्रश्न सेडाजस्ता भवनहरू धमाधम बन्न थाल्नुपर्छ भन्ने पनि होइन। प्रश्न हामी नेपाली समाज जस्तो बनेको हेर्न चाहन्छौँ, त्यस्तो बनाउन विद्वता जरुरी छ कि छैन भन्ने हो। अर्थात्, लोकतन्त्रको उच्चतम प्रयोग गर्ने विभेदरहित समाज निर्माणका लागि प्राज्ञिक र बौद्धिक अभ्यास जरुरी छ कि छैन भन्ने हो। जरुरी छ भने सेडाजस्ता प्राज्ञिक अभ्यास हुने ठाउँमा स्वच्छ हावा बगोस्। त्यहाँ जीवन सञ्चारति होस्। भाँचिएका फर्निचर सग्ला बनून्। किताबमा लागेका धूलो टकटकिऊन्। माकुराका जालाहरू मिल्क्याइऊन्। बस्, चिन्ता यत्ति हो। 

तर, चिन्ता गरेर मात्रै समाधान निस्कँदैन। त्यसका लागि बलियो हस्तक्षेप चाहिन्छ। हस्तक्षेप गर्ने कसले ? बुद्धिजीवी, शिक्षक र विद्यार्थीहरूले। कुनै 'एक्टिभिज्म' नै चाहिन्छ भने पनि यसो हुनु आवश्यक छ। तर, यहाँ अर्को दुःख छ। एक्टिभिज्ममा उत्रिन जोकोही तयार हुँदैन। व्यक्तिगत स्वार्थका साँघुरा वृत्तमा कैद हुनु हाम्रा अधिकांश विद्वान्को दुःखद नियति हो। दालभातकै समस्या अब तिनलाई छैन। तर, छँदाखाँदाका पद र अवसरहरूबाट वञ्चित हुने भयले धेरैलाई कुण्ठित बनाएको छ। 

प्राध्यापक मल्लले सोही कार्यपत्रमा लेखेका छन्, 'पछिल्लो समय धेरै विद्वान्हरू सम्पर्क बढाउने, प्रभाव जमाउने र शक्तिको पूजा गर्ने मुसे दौडमा सामेल छन्।' मल्लको आशय यही मुसे दौडका कारण कोही पनि चोम्स्की वा म्याकलुहनका कदको विद्वान् बन्न नसकेको भन्ने छ। विडम्बना के भने चार दशकपछिका हाम्रा प्राज्ञिक कर्मवीरहरू उही साँघुरो स्वार्थको दौडमा अनवरत लागेका छन्। कसैलाई राजदूत हुने ध्याउन्न, कसैलाई आयोगहरूमा नियुक्ति पाउने रौँदालो। राजनीतिक विचारसँग नजिक हुनु वा कुनै दलमा आबद्ध हुनु आफैँमा कुनै अनुचित काम हुन सक्दैन। तर, मोलाहिजा र चाकरीको मेहेरोमा हरदम अलमलिनेले कस्तो प्राज्ञिक अभ्यास गर्छ ? त्यस्ताबाट माथि भनिएजस्तो हस्तक्षेपको कसरी आशा गर्न सकिन्छ ? 

कोही यस्ता पनि छन्, जो विद्वान्को भारी पगरी गुथेर टेलिभिजनमा बेला कुबेला झुल्किन्छन्। संसार गलत र आफू मात्र सही भएको दाबी दोहोर्‍याएर पेस गर्छन्। अर्काथरी विद्वान् गाइड बुक र टेक्स्ट बुक लेख्ने धन्दामा लिप्त। कोही त सातैपिच्छे पुस्तक प्रकाशन गर्ने कोटीका पनि छन्। पत्रपत्रिकामा छापिएका पुराना लेख भेला पार्ने वा पहिल्यै लेखिएका अनेक किताबबाट सारसंग्रह गरेर पुस्तक लेख्न पल्केका। बाँकी रहेकाले 'कन्सल्ट्यान्सी' गर्छन्, आफ्नो दुनो सोझ्याउँछन्। केही अपवाद नभएका भने होइनन्। यी अपवाद उही प्राध्यापक मल्लले भनेजस्तो समाजको पांग्रोमा भलादमी दाँत बनेर घुमिरहनुमा आफ्नो जिम्मेवारी पूरा भएको ठान्छन्। 

अनि, विद्यार्थी आन्दोलन ? विद्यार्थी आन्दोलन अब आन्दोलनको कोटीमै पर्छ कि पर्दैन, थाहा छैन। ठूला राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनहरू दिनप्रतिदिन स्खलित हुँदै पतनको बाटोमा छन्। विद्यार्थीका सरोकार वा राजनीतिका गम्भीर सवालहरूमा भन्दा गुटका उछलकुदमा बढ्ता समय र दिमाग लगानी गर्छन्। कलेजका आर्थिक स्रोतहरूमाथि छिनाझप्टी र अवैध विद्यार्थीहरूको जबरजस्ती भर्ना उनीहरूको अर्को मुख्य कर्म हो। उनीहरूबाट कुनै किसिमको बौद्धिक हस्तक्षेप भएको खबर अब बिलकुल अनौठो मानिनेछ। राजनीतिक परविर्तनका लागि सडकमा पुगेर नारा लगाउने वा ढुंगा हान्ने एकसरो काम पूरा भएपछि उनीहरू पुनः पुरानै थितिमा फर्के। गणतन्त्रको स्थापनापश्चात् उठेका तमाम मुद्दामा आफ्नो पनि बौद्धिक लगानी हुन सक्छ भन्ने विद्यार्थी संगठनहरूलाई लागेन। यस्तोमा मौजुदा विद्यार्थी संगठन र तिनका नेताबाट माथि भनिएजस्तो हस्तक्षेप कसरी हुन सक्ला ?

विश्वविद्यालयबाट बाहिर बसेर स्वतन्त्र रूपमा प्राज्ञिक कर्म गर्नेहरूले सोझै हस्तक्षेप गर्न सक्दैनन्। उनीहरूले समस्या पहिल्याइदिने हुन् वा भित्रकाले परविर्तनका लागि आवाज उठाए भने बाहिरबाट उनीहरूले होस्टेमा हैँसे गर्ने मात्र हुन्। तर, विश्वविद्यालयबाहिरका बुद्धिजीवी र विद्वान्हरूको अवस्था माथि भनिएभन्दा एकदमै भिन्न भने होइन। केही अपवादहरूलाई छाडेर, स्वार्थका साँघुरा वृत्तमा यी पनि उसै गरी कैद छन्। यी अपवाद धेरै कुरामा बौद्धिक हस्तक्षेप गर्न खोज्छन् तर सफल हुँदैनन्। जस्तो ः अनौपचारकि एक छलफलका क्रममा सीके लाल भन्दै थिए, 'खोइ हाम्रा नेताहरू मरसिकेका माक्र्स, लेनिन र माओका कुरा त सुन्छन् कि, थाहा छैन। तर, जिउँदाहरूले भनेको पटक्कै सुन्दैनन्।'

एमालेको दौरा-सुरूवाल

एमालेले आफ्ना सभासदहरूलाई संविधानसभा-२ को पहिलो बैठकमा आउँदा सेता दौरा-सुरुवाल र नीलो कोट पहिरिन उर्दी जारी गर्‍यो । उक्त उर्दीर्को पुछारमा पहाडे बाहुन-क्षत्रीबाहेक अन्य जातिका लागि आफ्नै सांस्कृतिक पहिरन लगाउन छुट भएको बेहोरा पनि थियो । सतहमा हेर्दा एमाले-आदेशमा कुनै समस्या देखिँदैन । 'विविधतामा एकता'को सूत्रमा बाँधिएकै जस्तो देखिन्छ । तर दौरा-सुरुवालको अभीष्ट त्यति सामान्य छैन । नेपाली इतिहासको यो विन्दुमा एमालेले दौरा-सुरुवाल लगाउनैपर्ने आवश्यकता किन देख्यो ? कम्तीमा बाहुन-क्षत्रीले दौरा-सुरुवालमा ठाँटिएरै संविधानसभा हलमा प्रवेश गर्नुपर्नेमा ऊ किन दृढ भयो ? प्रश्नहरू सतहमा आएका छन् ।  
एमालेले दौरा-सुरुवालको निर्णय लिनुमा खास राजनीतिक पृष्ठभूमि छ । निर्वाचन परिणामले पहिचान पक्षधरहरूलाई कमजोर बनाइदियो, तर यो मुद्दा पुरै किनारा लाग्ने देखिँदैन । पहिचानको मागलाई राम्ररी सम्बोधन नगरिएको भन्दै एमालेबाट अशोक राई अलग्गिएका थिए । उनको संघीय समाजवादी पार्टी चुनावमा खरो उत्रन नसकेको भए पनि उनी फेरि पहिचानकै मुद्दालाई अघि सारेर राजनीति गर्ने ध्याउन्नमा छन् । त्यस्तै एमाओवादी, मधेसी लगायत धेरै राजनीतिक दलले पहिचानलाई गम्भीर मुद्दा मानेकै छन् । नेपाललाई पहाडे हिन्दु कुलिन बाहुन-क्षत्रीले लामो समयदेखि आफ्नो प्रभावमा राखेको र त्यसले जातीय-क्षेत्रीय विभेद निम्त्याएको यी पार्टीहरूको तर्क छ । यिनै विभेद अन्त्य गर्न भनेरै संविधानसभा-१ मा संघीयताको अवधारणा पनि अगाडि सारियो ।
त्यसबेला मधेस आन्दोलनको जोडबलले र माओवादीको प्रभावशाली उपस्थितिका कारण औपचारिक रूपमा संघीयता स्वीकार्न बाध्य भए पनि एमालेले पहिचानको मुद्दालाई पचाउनसकेको छैन । एमालेका अधिकांश नेताहरूमा संघीयताप्रति ठूलो संशय छ । विद्वान भनिएका एमाले नेताहरूलाई समेत संघीयता मूलतः विदेशी एजेन्डा हो र यसले देश टुक्र्याउँछ भन्ने लाग्छ । आफ्ना कार्यकर्ता र नजिकका मानिसहरूसँग उनीहरू यस्तो गुनासो गरिरहन्छन् । यी मनचिन्ता र क्रियाकलापको प्रभाव एमालेका तल्ला तहका कार्यकर्ताहरूसम्म पुगेको छ । धेरै एमाले कार्यकर्ता भन्ने गर्छन्, 'यो संघीयता भनेर देशलाई जग्गा प्लटिङ गरेर टुक्र्याए जस्तो टुक्र्याउन खोजिँदैछ ।' त्यसो त एमालेको चुनावी घोषणापत्रमै संघीयतालाई लिएर ठूलो अस्पष्टता थियो ।
यस पृष्ठभूमिमा हेरियो भने एमालेको दौरा-सुरुवालको राजनीति जातिवादी राजनीति नै हो । महेन्द्रको एक भेष र एक भाषाको नीतिअनुरुप दौरा-सुरुवाललाई राष्ट्रिय पोसाकका रूपमा स्थापित गरिएको थियो । खासगरी पहाडे बाहुन-क्षत्रीहरूले लगाउने दौरा-सुरुवाललाई सबै नेपालीको साझा पोसाकका रूपमा बुझाउने प्रयत्न भयो । सरकारी पोसाकका रूपमा पनि दौरा-सुरुवाल नै अहिलेसम्म स्थापित छ । हालका निख्खुर 'सरकारी' मन्त्रीहरूका पोसाक हेरे पुग्छ । केहीले आफ्नै खाले सांस्कृतिक पोसाक लगाए पनि धेरै 'सरकारी'हरूले दौरा-सुरुवालको परम्परा मानेरै आएका छन् । यस्तो अवस्थामा कमल थापालाई उछिनेर झलनाथ खनालले उर्दी नै जारी गर्नुपर्ने कुनै आवश्यकता थिएन । तर दौरा-सुरुवाल नलगाउने अनेक जातिका मानिसले 'हामी पनि नेपाली हौं, नेपाल हाम्रो पनि हो'
भन्ने दाबी गरिरहेको पृष्ठभूमिमा खनाल-आदेश जारी हुनुले एमालेको दोहोरो चरित्र दर्शाउँछ । एकातिर अरुलाई जातिवादीको आरोप लगाउने र आफू बाहुनवादी 'सिम्बोलिजम' प्रदर्शन गर्ने ? एमालेको माक्र्सवादमा महेन्द्रीय राष्ट्रवादको गहिरो छाप देखिन्छ ।
यसबीच 'ड्रेसकोड' विरुद्ध मलिनै भए पनि विरोधका केही स्वर उर्लिए । सामाजिक सञ्जालमा केही बहसहरू पनि भए । त्यसैको प्रभावले हुनसक्छ, दौरा-सुरुवालमै ठाँटिएर आएका सुवास नेम्बाङले लिम्बु भाषामा सपथ लिए । एमाले समर्थक बुद्धिजीवीहरू संघीयता र यससँग उठेका मुद्दाहरूप्रति कति नकारात्मक छन् भन्ने अर्को एक घटनाले देखाउँछ । एमाले नेता मोदनाथ प्रश्रतिको नाममा स्थापित प्रश्रति प्रतिष्ठानले माघ ४ देखि मेची-महाकाली सद्भाव यात्राको आयोजना गरेको छ । त्यसमा एमाले समर्थक साहित्यकार र बुद्धिजीवीहरूको सहभागिता छ । यात्राका सहभागीहरू मेचीको माटो बोकेर महाकाली हिँडेका छन् । विभिन्न ठाउँमा नेपाललाई अखण्ड राख्नुपर्ने सद्भाव कार्यक्रम गर्दै महाकाली पुग्ने र मेचीको माटो महाकालीको माटोमा मिसाउने उनीहरूको योजना छ । मेची-महाकालीको मिसिएको माटो अखण्ड नेपालको प्रतीक हुने उनीहरूको ठम्याइ छ । उनीहरूको सद्भाव यात्राको नारा नै 'अखण्ड नेपाल' छ, मानौं नेपाल अब चाँडै खण्डित हुँदैछ ।
प्रश्रति प्रतिष्ठान र त्यससँग सम्बन्धित एमाले लेखक-बुद्धिजीवीहरूको उक्त यात्राको संकेत के ? यसको राजनीतिक अर्थ के ? उत्तर प्रस्ट छ । संघीयताप्रति उनीहरूको अतिशय सन्देह नै यात्राले गरेको संकेत हो । संघीयताको अवधारणालाई आजका दिनसम्म माओवादी र मधेसी, अझ त्यसभन्दा अघि बढेर कथित विदेशीकोे एजेन्डा देख्ने उनीहरूको दृष्टिदोषले यसमा काम गरेको छ ।
निर्वाचनमा कांग्रेस पहिलो र एमाले दोस्रो भए पनि निर्वाचन परिणामलाई यी अखण्डतावादी बुद्धिजीवीले संघीयता र पहिचान विरोधीहरूको संयुक्त विजयका रूपमा लिएका रहेछन् । यसर्थ कांग्रेस-एमाले उनीहरूका लागि लगभग एउटै पार्टी हुन् । सम्भवतः त्यसै संयुक्त विजयको खुसी मनाउन यात्रामा निस्केका होलान् । उनीहरू कांग्रेस-एमालेलाई विजयी तुल्याउने नेपाली समाजलाई मिलेर बसेको अत्यन्त सद्भावपूर्ण देख्छन् । सतह मुन्तिर दबाइएका, पन्छाइएका असंख्य मानिसहरू अझै उस्तै छन् भन्ने उनीहरूलाई लाग्दैन । त्यसैले उनीहरू चाहन्छन्, नेपाली समाज जस्तो थियो, त्यस्तै रहोस् । नभए मेची र महाकालीको माटो केका लागि मिसाउने ? के मधेसीले हामीले अलगाव भोग्यौं, अब भोग्दैनौं भन्नु मेची-महाकाली छुट्याउनु हो ? कि जनजातिहरूले हामी कुनै खास जातको भएकै कारण पछि परिरहनु जायज छैन भन्नु बेठिक हो ?
केन्द्रमा दौरा-सुरुवालको राजनीति गर्नेर्, जिल्लाहरूमा अखण्डताबारे प्रवचन गर्दै हिँड्ने । मेची र महाकालीको माटो मिसाएर संघीयताको प्रतीकात्मक विरोध गर्ने । अरुलाई जातिवादीको आरोप लगाउने एमालेका यी नेता र बुद्धिजीवीले सबैभन्दा अघि बढेर जातिवादको पैरवी गर्न थालेको दृष्टान्त हो यो । नत्र एमालेको भागमा एकलौटी पर्न गएको र उसले मात्रै नेतृत्व गर्नसक्ने भनिएको 'वर्गसंघर्ष'को कुन माक्र्सवादी सूत्रमा 'फिट' हुन्छन् यी माथिका 'सुकर्म'हरू ?