जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ ।

आक्रोशले उमालेको कफी

कम्तीमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा किताब र कफीलाई दिने सुबिस्ता सबैलाई पुगोस् भन्नका लागि मसँग नेपाली र अंग्रेजी दुईटा भाषा छन् । शासकहरूसँग कति नाले बन्दुक छन् ?

Thursday, August 29, 2013

अप्ठ्यारो धरातल

Book Review: Maobaadi Comradeharu Sanga by Arundhati Roy (Nepali Translation of Walking with Comrades)

अरुन्धती रोयले गुरेनीका पत्रिकालाई अन्तर्वार्ता दिँदा भनेकी थिइन्, 'तपाईं छत्तीसगढको कुनै एउटा गाउँमा बस्ने आदिवासी हो र तपाईंलाई वरपिरबिाट आठ सय प्रहरी घेरा हाली बस्तीमा आगो लगाउने र मान्छे मार्ने काम गररिहेका छन्, अब भन्नूस् तपाईं के गर्नुहुन्छ ? त्यस्तो अवस्थामा बाँचिरहेकालाई मैले अनशन बस्ने सल्लाह दिनू ? पहिल्यैदेखि भोकमा पिल्सिएर बसेकालाई अनशनको के अर्थ हुन्छ ? र, उनीहरूले भोक हडताल नै सुरु गरे भने पनि त्यो देख्ने र सुन्ने कसले ? त्यसैले म अप्ठ्यारो स्थितिमा छु। आफूले हतियार उठाउने हिम्मत नगरेकाले हिंसाको वकालत कसरी गरूँ ? तर, उनीहरूले जस्तो पीडा भोग्नु नपरेको मैले अहिंसाको मन्त्र जपिरहनु पनि उत्तिकै अनैतिक हुन्छ।' 

अन्तर्वार्तामा व्यक्त गरेको 'अप्ठ्यारो' धरातलमै उभिएर रोयले आउटलुक पत्रिकाका लागि दुईवटा लामा निबन्ध लेखिन्। माओवादी प्रभावित क्षेत्र दन्तेवाडाको यात्रा गरेपछि उनले 'वाकिङ् विथ कमरेड्स' शीर्षकमा निबन्ध लेखिन्, जो अत्यन्तै चर्चित भयो। त्यसको समर्थन र विरोधमा प्रतिक्रिया सेलाइनसक्दै ६ महिनापछि उनले अर्को उत्तिकै लामो आलेख तयार पारनि्। 'टि्रकलडाउन रभिोलुसन' शीर्षकको सो निबन्धले भारतीय लोकतन्त्रलाई असफल र मनमोहन सिंहको सरकार तथा 'कहिल्यै चुनावको सामना नगरी शासन गर्न पाउने सिंगो कर्मचारीतन्त्र र न्यायपालिका'को उछितो काढ्यो। अनेक पुस्तक, भाषण र प्रतिवेदनहरूको अध्ययनपश्चात् लेखिएको सो निबन्ध तार्किक त छँदै थियो, उत्तिकै कडा प्रतिक्रियाहरू जन्माउन सफल पनि ठहरयिो। 

यी दुवै निबन्ध नेपालीमा अनुवाद गरे, आन्विका गिरी र विकास बस्नेतले। भोगिराज चाम्लिङको सम्पादनमा यी दुई निबन्धको एउटा छरतिो संग्रह माओवादी कमरेडहरूसँग प्रकाशित भयो। अंग्रेजी भाषा र आउटलुकजस्ता पत्रिकामा पहँुच नभएका नेपाली पाठकका लागि सो संग्रह आउनु उपलब्धिपूर्ण मान्नुपर्छ। १० वर्षे माओवादी द्वन्द्व भोगेका नेपाली पाठकका लागि भारतीय माओवादी आन्दोलन चासोको विषय हुनु स्वाभाविक भएकाले सो संग्रहले हामीमाझ स्थान पाउनु स्वाभाविक हो। तर, रोयका निबन्धहरू अनुवाद गर्नु सजिलो काम भने होइन। 

उनका निबन्धहरू आक्रोशपूर्ण मात्रै हुँदैनन्, भाषिक दृष्टिकोण र प्रस्तुतिका हिसाबले अत्यन्तै सुन्दर पनि हुन्छन्। उनको भाषा कवितात्मक लाग्छ। गड अफ स्मल थिंग्सजस्तो चर्चित उपन्यासकी स्रष्टा रोयसँग घटनाको वर्णन गर्ने शील्प शक्तिशाली छ। आर्किटेक्चरकी विद्यार्थी उनले आफ्नो कालीगढी उपन्यास र निबन्धहरू डिजाइन गर्न पनि प्रयोग गरेको प्रतीत हुन्छ। आठ हजार शब्दसम्मका निबन्ध पढ्न झिँझो लाग्दैन। कारण, सूचनालाई प्रस्तुत गर्ने र तिनले उब्जाउने जटिल प्रश्नलाई कविताजस्ता लाग्ने पंक्तिमा लेखिएका आलेख पढिसकेको धेरै समयसम्म मस्तिष्कमा तरंग उत्पन्न गराउने सामथ्र्य राख्छन्। सो सामथ्र्य पहिचान गर्न सक्नेले मात्रै रोयका निबन्ध अनुवाद गर्न सक्छन्। गिरी र बस्नेतले यस सत्यलाई आत्मसात् गरेका छन्। यद्यपि, कतैकतै ठाडो -लिटरल) अनुवाद हुन पुग्दा प्रस्तुति भुत्ते पनि भएको छ।

 माथि संकेत गरएि अनुसार दुवै निबन्ध भाकपा माओवादीको वरपिर िघुमेका छन्। यसै मेसोमा भारतीय लोकतन्त्रका आइरोनी, सञ्चारमाध्यमहरूले बुनेका जटिल राजनीतिक समीकरण र सिंगो भारतको भविष्यमाथिको चिन्तन पनि निबन्धका विषयवस्तु हुन्। 

दन्तेवाडाको जंगलमा माओवादी छापामारसँग यात्रा गर्दाको विवरण परम्परागत यात्रा-निबन्धजस्तो छैन। छापामारहरूका जीवनशैली र उनीहरूले देखाउने व्यवहारको वर्णनका बीचबीचमा आउने पार्टीको इतिहास र आदिवासी जनताले भोगेका दर्दनाक कथालाई रोमाञ्चक त भन्न नसकिएला तर मन उद्वेलित पार्ने खालका छन्। लेखकले भेटेका छापामार पात्रहरू कतिले हामीले कल्पना मात्र गर्नसक्ने अप्ठ्याराहरू भोगेका कथा सुनाउँछन्। यी सबै वर्णनले छापामार युद्धलाई जायज ठहर्‍याउन पृष्ठभूमि तयार पाररिहेको जस्तो पनि भान पर्न सक्छ। तर, त्यस्ता आततायीपूर्ण घटनाहरू ती सोझा गरबि आदिवासीहरूका जिन्दगीमा नघट्दो हो त उनीहरूले भोको पेटमा एके-४७ भिर्ने रहर गर्ने थिएनन्। सहरयिा पठ्ठोले भारी मोटरबाइक कुदाउँदा देखाएको तुजुकजस्तो होइन ती आदिवासी तन्नेरीले भिरेका गह्रुँगा हतियारहरू। तिनका बारेमा रोयको धारणा यसरी व्यक्तिएको छ, 'यी मान्छेहरू आफ्ना सपनासँग बाँचेका छन्, बाँकी संसार भने आफ्नो दुःस्वप्नसँग बाँचेको छ।' 

तर, छापामार युद्धको वकालत गर्नु रोयको अभीष्ट होइन। त्यसो त उनले चारु मजुमदारको बुझाइ र बोलीमा रहेका कमजोरीहरूमाथि प्रश्न पनि उठाएकी छन्। मजुमदारपथकै अनुयायीका रूपमा पहिचान बनाएका भाकपा माओवादीले भन्ने गरेको दीर्घकालीन युद्धको वास्तविक अर्थ उनले दिएकी छैनन्। बरु, यस अवधारणामाथि उनले प्रश्नहरू गरेकी छन्। अर्थात्, उनी उत्तरहरू होइन, प्रश्नहरू लिएर निबन्धमा आएकी छन्। र, उनले उठाएका प्रश्नहरू केवल भारतीय संस्थापनपट्ट िमात्रै केन्दि्रत छैनन्। उनले माओवादीहरूलाई पनि प्रश्न गरेकी छन्। यद्यपि, उनी छापामारहरूप्रति सहानुभूति राख्छिन्। उनीहरूले कम्तीमा निमुखा जनतालाई आत्मसम्मान खोज्न सक्ने सामथ्र्य प्रदान गरेकामा खुसी व्यक्त गर्छिन्। 

दोस्रो निबन्धले भारतले ढोल पिट्ने गरेको आर्थिक वृद्धि केवल मुठ्ठीभर मान्छेको मात्रै उन्नतिको कथा हो भन्ने तथ्यलाई पुनः पुष्टि गरेको छ। यसै पृष्ठभूमिमा हिंसात्मक आन्दोलन चर्केको रोयको जिकिर छ। यो निबन्ध लेखिनुको मुख्य कारण भने युद्धविरामका बेला सरकारले षड्यन्त्रपूर्वक गरेको माओवादी नेता आजादको हत्या नै हो। भिडन्तमा मारएिको भनिएका आजादलाई अत्यन्तै नजिकबाट ताकेर गोली हानेको पुष्टि गर्दै आउटलुकले नै समाचार छापेपछि रोयले सो निबन्ध लेखेकी हुन्। 

'लोकतन्त्रको धराप' भनेर अनुवाद गरएिको पछिल्लो निबन्धमा रोयले मनमोहन सिंहलाई अन्तर्राष्ट्रिय मुद्रा कोषको खास मान्छे भनेकी छन्। पी चिदम्बरमलाई कर्पोरेटको बफादार कामदारका रूपमा चित्रित गरेकी छन्। उनले सप्रमाण यस्ता दाबीहरू पेस गरेकी छन्। यी दुईले चलाएको सरकारले आदिवासीहरू बसोबास गरेका जग्गा र जंगल सबै कर्पोरेटलाई बेचेर केही सीमित व्यक्तिलाई खर्बपति बनाउने खेल खेलेको बताएकी छन्। यसका लागि भारतका मूलधारका सञ्चारमाध्यमले पनि उत्तिकै ठूलो भूमिका निर्वाह गरेको पनि उनले भनेकी छन्। र, प्राकृतिक स्रोतसाधन केही खर्बपतिलाई अझ धनी बनाउन बेपर्वाह सौदा गर्ने शासकलाई केही प्रश्नहरू गरेकी छन्, 'नदीको पानी नदीमै रहन दिन्छौ ? रूख जंगलमै छाड्छौ ? पहाडभित्रको बक्साइट त्यहीँ रहन दिन्छौ ?'

यस निबन्धमा पनि उनले माओवादीका तर्फबाट भएका गम्भीर गल्तीहरूप्रति आँखा चिम्लेकी छैनन्। उनले भनेकी छन्, 'माओवादीको वैचारकि जडता, भिन्न मतलाई सहनै नसक्ने उनीहरूको चर्चित खूबी, अन्य राजनीतिक संगठनहरूसँग काम गर्न नसक्ने प्रवृत्ति र सबैभन्दा मुख्य उनीहरूको एकोहोरो सैन्य मनोविज्ञानले गर्दा अब बदलिने शक्ति सन्तुलनमा उनीहरूले शासन गर्न गाह्रो छ।' 

समग्रमा, रोयका निबन्ध पढ्नैपर्ने कोटीका छन्। (नेपाल साप्ताहिक)

सशक्त कविको सशक्त संग्रह

Book Review: 100 Poems by Faiz Ahmed Faiz (English Translation)

नयाँदिल्लीस्िथत जवाहरलाल नेहरू विश्वविद्यालय -जेएनयू)का बगैँचा डुल्दा त्यहाँका रंगीन भित्ताले ध्यानाकृष्ट गररिहन्छन् । आकर्षक कार्टुन चित्रका साथमा लेखिएका कविताका पंक्तिहरू त्यस प्राज्ञिक थलोको इज्जत उँचो बनाउने चिन्ह हुन् । ती चित्र र कविताका पंक्ति कुनै व्यावसायिक चित्रकारको ख्यातिका निम्ति लेखिएका होइनन् । बरु विश्वविद्यालयका विद्यार्थी संगठनहरूले विभिन्न मुद्दामा रहेका आफ्ना असहमति पोख्न त्यसरी भित्ता रंगाएका हुन् । आफ्ना विचार राख्न तिनले पाब्लो नेरुदा, अवतार सिंह पास, साहिर लुधियानवीलगायत कविका पंक्तिहरू उद्धृत गरेका छन्, भित्तामा । त्यहाँ उद्धृतमध्ये उर्दूका मूर्धन्य कवि फैज अहमद फैज पनि एक हुन् । 

हुन त फैजलाई धेरैले उद्धृत गर्छन् । उनका गजल पनि धेरैले गाएका छन् । पत्रपत्रिकामा फाट्टफुट्ट पढेका चोटिला कवितांशमार्फत नै फैजको परचिय पाएको हो यस पंक्तिकारले । अंग्रेजी म्यागेजिन हिमाल साउथ एसियाले गत वर्ष प्रकाशन गरेको फैज विशेषांक पढ्नुअघिसम्म उनका कविताका हरफ याद रहे पनि उनी को हुन् भन्ने स्पष्ट थिएन । फैज विशेषांक पढेलगत्तै उनको कवितासंग्रह खोजेर पढियो तर उर्दू भाषाको राम्रो ज्ञान नभएकाले सबै कविता बुझ्न कठिन भयो । त्यसैले खोजी थियो, अंग्रेजीमा अनूदित उनका कविता संग्रहको । जेएनयूका भित्तामा उनका पंक्ति पढेपछि दिल्लीमा अंग्रेजी अनुवाद खोज्दै जाँदा फेला पर्‍यो, हन्ड्रेड पोएम्स बाइ फैज अहमद फैज । 

सर्वत रहमानले उर्दूबाट अंग्रेजीमा अनुवाद गरेका फैजका एक सय कविता र गजलको संग्रह हो यो । तर, पुस्तकमा उर्दूमै पनि उनका कविता राखिएका छन् । सन् १९४१ देखि १९८१ सम्म प्रकाशन भएका उनका कवितासंग्रहहरूबाट छानेका कविता यसमा समावेश छन् । विभिन्न आठ संग्रहबाट लिइएका कविता रचना मिति अनुसार क्रमैसँग मिलाएर शृंखलाबद्ध गरएिका छन् । त्यसैलेे यो संग्रह पढ्दै गर्दा फैजको कविता लेखनको विकासक्रम पनि बुझिन्छ । उनी तन्नेरी हुँदा लेखेका कवितामा व्यक्त वैयक्तिक प्रेम र ऐकान्तिकताका विषयदेखि उनले आखिरी समयमा समग्र मानव जातिको हितका लागि लेखेका कविताका फरकपना पनि यस संग्रहबाट स्पष्ट हुन्छ । त्यसैले उर्दू वा हिन्दी भाषामा दखल नभएका तर अंग्रेजी बुझ्न सक्ने पाठकका लागि संग्रहणीय कृति हो, हन्ड्रेड पोएम्स बाइ फैज अहमद फैज । 

अनुवाद सधैँ फितलो हुन्छ । त्यसमाथि कविता अनुवाद गर्नु ठूलो चुनौती पनि हो । उर्दू र अंग्रेजी दुवै भाषामाथि पंक्तिकार पारंगत नभएकाले रहमानको अनुवादमाथि टिप्पणी गर्नु पनि झन् ठूलो चुनौती हो । त्यसैले अनुवादको स्तर मापन गर्नतिर नलागौँ । तर, 'फुटनोट' -पाद टिप्पणी)मा उर्दू शब्दका हिन्दी अर्थ दिइएका दुई संग्रह पढिसकेपछि अंग्रेजी अनुवाद पढ्दा भने अनुवाद नै पढ्न सजिलो भन्ने लाग्छ । यद्यपि, हिमाल साउथ एसियाको आलेखमा फैजका नाति अलि मदिह हास्मीले गरेको 'बोल' कविताको एउटा अंशको अंग्रेजी अनुवाद रहमानको भन्दा छरतिो र बढी स्वादिलो लाग्यो । यसरी हेर्दा कति कविता शाब्दिक अनुवादका सिकार भएका हुन् कि भन्ने प्रतीत हुन्छ । 

कुन कविता कत्तिको शाब्दिक अनुवादमा परेर बिगि्रयो भनेर खोज्नुभन्दा फैजका कविताको शक्ति महसुस गर्नु यस समीक्षाको ध्येय हो । उनले सुरुवातमा लेखेका कविता प्रेम, सौन्दर्य र प्रेमिकाको मुहार आदिमा केन्दि्रत थिए । सन् १९४१ मा प्रकाशित कृति नक्स ए फरियादीमा संग्रहित आधाभन्दा बढी कविता यिनै विषयवस्तुमा लेखिएका छन् । तिनै कवितामध्येको एक पंक्तिले उनले सुरुमा लेखेका कविताको परचिय दिन्छ ः 

लौट जाती है इधर को भी नजर क्या की जे 

अब भी दिलकश -आकर्षक) है तेरा हुँ मगर क्या की जे ?

तर, जसै उनको उमेर बढ्दै जान्छ, उनका कविताका विषयवस्तु फराकिला र गहन हुँदै जान्छन् । यसलाई पुष्टि गर्दै फैजका नाति हास्मीले फैज विशेषांकमा लेखेका छन्, 'गालिबले २० देखि ३० वर्षको हुँदासम्म लेखेका कविता सबभन्दा उम्दा छन् । तर, फैजले युवाकालमा लेखेका कविताको तुलनामा वयस्क भएर लेखेका कविता बढी खारएिका र शक्तिशाली छन् ।'

सन् १९३४, जुनबेला फैजले कलेजको पढाइ पूरा गरे, त्यसबेला कला कलाका लागि भन्ने दर्शनले कवि-साहित्यकारलाई निकै प्रभाव पारेको थियो । उक्त दर्शनको विरोध गर्दै स्थापना गरएिको प्रोग्रेसिभ राइटर्स एसोसिएसन -पीडब्लूए)को लखनउमा भएको सम्मेलनमा भाग लिएर फर्केपछि भने उनको कविताका विषयवस्तुले युवाकालको प्रेम र ऐकान्तिकताबाट 'बोल'जस्तो क्रान्तिकारी कवितामा छलाङ मारेको थियो । 'बोल' शीर्षक दिएर सन् १९३६ मा उनले लेखे ः 

बोल, के लब आजाद हैँ तेरे

बोल जबाँ अब एक तेरी है ।

...

बोल, येः थोडा वक्त बहुत है 

जिस्म ओ जबाँ की मौत से पहले 

बोल, केः सच जिँदा है अब तक 

बोल, जो कुछ कहना है कह ले ।

फैजका कवितामा आक्रोश, विद्रोह र व्यंग्य हुन्छन् । उनी परविर्तनका पक्षमा आवाज उराल्छन् । तर, उनी कुनै बोझिल शब्द वा 'जार्गन'को प्रयोग गर्दैनन् । कोमल विम्ब र मधुर लयमा उनेर आफ्ना कवितालाई शक्तिशाली बनाउनु नै फैजको विशेषता हो । उनका पंक्तिले सबभन्दा पहिले हृदयको तारलाई झङ्कृत तुल्याउँछ र सुस्तरी मस्ितष्कमा कम्पन छुटाउँछ । जस्तो ः सन् १९५३ मा अमेरकिी सरकारले जुलियस र एथेल रोजेनवर्ग नामका दुई जनालाई सोभियत संघले खटाएका सुराकी भएको आरोप लगाएर हत्या गर्‍यो । त्यसमाथि फैजले कविता लेखे । अन्यायको विरोधमा लेखिएको यो कवितालाई समेत उनले सुन्दर गीतको रूप दिए, मारएिकाहरूप्रति गम्भीर र कोमल भाव प्रकट गरे । उनले लेखे ः 

हम जो तारिक राहोँ मे मारे गए । 

इजरायली लडाकू हेलिकप्टरले जतिबेला निहत्था प्यालेस्टाइनी बालबालिकामाथि बम वषर्ा गर्‍यो, त्यसबेला पनि फैजले कविता लेखे । बमको बदलामा उनले इजरायली शासकलाई गाली बर्साएनन् । बरु लेखे ः 

मत रो बच्चे

रो रो के अभी 

तेरी अम्मी की आँख लगी है 

मत रो बच्चे 

कुछ ही पहले 

तेरे अब्बा ने 

अपने गम से रुखसत ली है ।

फैज केवल पाकिस्तानका कवि होइनन् । उनी सिंगो दुनियाँका कवि हुन् । त्यसैले जेएनयूका भित्तामा होस् या नेपालबाट प्रकाशित हुने पत्रिकामा, उनलाई यथेष्ट सम्मान दिने मान्छेको कमी छैन । उनलाई पढ्न नभ्याएका नेपाली पाठकका लागि उर्दूसमेत समावेश गरएिको हन्ड्रेड पोएम्स बाइ फैज अहमद फैज संग्रहणीय छ । (नेपाल साप्ताहिक)


सम्पादक-जीवनको रहस्य

Book Review: Lucknow Boy A Memoir by Vinod Mehta

भर्खरै बजारमा देखापरेको एक ट्याब्लोइड पत्रिकाका सम्पादकलाई कसैले दिग्गज भारतीय पत्रकार विनोद मेहताको आत्मकथा लखनउ ब्वाय उपहार दिएछ । उपहार पाउने कति खुसी भए, त्यसको लेखाजोखा राखिएन । तर, एक पाठकका नाताले यो पंक्तिकारचाहिँ गद्गद् छ । यी नयाँ सम्पादकले मेहतालाई पढेर डेबोनेयरजस्तो महिलाका नांगा तस्िबर छाप्ने पत्रिकालाई लुकाएर हेर्ने मात्र नभई पढ्न पनि सकिने कसरी बनाए भन्ने बुझ्नेछन् । रस्िकन बन्डजस्तो उँचो व्यक्तित्व भएको लेखकले समेत त्यस पत्रिकाका लागि लेखे भन्ने रोचक तथ्य थाहा पाउनेछन् । र, पत्रिकालाई यत्तिको स्तर प्रदान गर्नु सम्पादकको सफलता हो भन्ने पनि महसुस गर्नेछन् । ती नयाँ सम्पादकका लागि मेहताको यस्तो सफलता प्रेरणादायी हुनसक्छ ।

मेहता भारतका अत्यन्त चर्चित र सफल सम्पादक हुन् । पछिल्लो समय उनी १६ वर्षदेखि आउटलुक साप्ताहिकको सम्पादन गर्दै आएका छन् । यसअघि भने उनले डेबोनेयरलगायत सन्डे अब्जर्भर, इन्डिया पोस्ट, इन्डिपेन्डेन्ट र पायोनियरजस्ता पत्रिकाको पनि सम्पादन गरे । उनको आगमनपश्चात् यी सबै पत्रिकाको स्तरोन्नति भयो र ती पढ्नलायकको दर्जामा पुगे । तिनै मेहताको आत्मकथा लखनउ ब्वाय यी सबै सफलताका कथा हाल्छ । तर, सफलता पाउन उनले सामना गरेका चुनौती र बेहोरेका समस्याको फेहरस्ित पनि हो यो किताब । यसका अलावा उनको व्यक्तिगत जीवनका आरोहअवरोह, उनले नजिकबाट चिनेका केही खास व्यक्तित्वका शब्दचित्र साथै पत्रकारतिा पेसा अपनाउन चाहने नयाँ पुस्तालाई केही 'टिप्स' दिनु पनि यस पुस्तकको विश्ोषता हो ।

आत्मकथा बजारमा आउनुअघि नै आउटलुकको १५औँ वाषिर्कोत्सव मनाउन निकालिएको विशेषांकमा मेहताले आफ्नो सम्पादन यात्राबारे एक रोचक पंक्ति लेखेका थिए । 'आउटलुक सुरु गर्नुअघिका तीन वर्षभित्र मैले तीनवटा पत्रिकामा काम गरेर छोडिसकेको थिएँ । आउटलुकमा आएपछि पनि धेरैले मलाई कहिले छोड्ने भनेर सोधिरहे । म गिनिज बुकमा सबैभन्दा बढी जागिर गुमाउने सम्पादकका रूपमा दर्ज हुनका लागि कडा प्रतिस्पर्धी भइसकेको थिएँ । तर, आउटलुकमा १५ वर्ष बिताइसकेपछि भने अब कहिले सेवानिवृत्त हुने भनेर सोध्नेको संख्या बढ्न थालेको छ ।' अर्थात्, सम्पादनको जिम्मेवारी बहन गर्ने क्रममा उनले सफलता हासिल गरे पनि कतै असहमतिहरू चुलिए र कतै उनलाई लामो समय काम गररिाख्ने जाँगर भएन । चाहेजस्तो काम गर्न नपाएकै कारण उनले जागिर समाउने र छोड्ने गररिहे । बन्द हुन लागेको डेबोनेयरलाई थोरै परमिार्जन गरेर ब्यूँताए तर एकदिन उनलाई भारतीय जनता पार्टीका शीर्षस्थ नेता अटलबिहारी वाजपेयीले भने, "पत्रिका पढ्नलायक छ तर तकियामुनि लुकाएर राख्नुपर्ने बाध्यता छ ।" त्यति मात्रै होइन, उनलाई भेट्न आउने साथीले ती पत्रिकामा निर्वस्त्र छापिएका युवती उनका कोठामा छन् कि भनी कुनाकुना छान मारे । त्यसैले मेहतालाई यस्तो लुकाएर पढ्नुपर्ने र उत्ताउलो पत्रिकाको सम्पादक बनिराख्ने उत्साह भएन । अनि, उनले पृथक् स्वरूपको सन्डे म्यागेजिनको अवधारणा बनाएर सुरु गरे सन्डे अब्जर्भर । आफ्नै खुसीले सन्डे अब्जर्भर छाडेपछि उनले इन्डियन पोस्टलाई पुनःजन्म दिए । तर, पछिल्लोमा पनि धेरै दिन टिकेनन् । राजनीतिक दबाबका कारण राजीनामा दिए । र, आफ्नो दलबलसहित उनी इन्डिपेन्डेन्टतिर लागे । यसमा २९ दिन काम गरसिकेपछि विवाद सिर्जना भयो, उनले छाडे । अर्को पत्रिका पायोनियरमा उनी सम्पादक भए तर चार वर्ष मात्र उनका नाममा लेखिएको रहेछ । यसमा चाहिँ उनले प्रकाशकसँग जुँगाको लडाइँ लड्नु पर्‍यो । त्यसपछि अर्थात् सन् १९९५ मा राजन राहेजाले लगानी गरेको आउटलुकमा उनी सम्पादक बने र अद्यापि उनको जागिर बँचेको छ ।

गम्भीर पत्रकारतिालाई 'पपुलर' बनाउन सकिनेमा उनी विश्वस्त थिए । र, त्यसका लागि सनसनीपूर्ण हुन जरुरी छैन भन्ने पनि उनले बुझेका थिए । फलस्वरूप, उनले आउटलुकलाई इन्डिया टुडेजस्तो लामो इतिहास भएको स्थापित पत्रिकाको प्रतिस्पर्धीका रूपमा खडा गरेर देखाए । भारतमा उत्ताउलो नभई पपुलर बनेका थोरै पत्रिकामध्येको एक हो, आउटलुक ।

सम्पादन कर्मको सफलताका पछाडि उनको व्यावसायिक ज्ञान त हो नै तर एक असल मानिस भएका कारण पनि उनी बलिया भएका हुन् । आत्मकथाको परचिय पृष्ठमा उनले यस्तो चाहना व्यक्त गरेका छन्, 'मेरो मृत्युपछि साथीभाइले 'ही वाज अ डिसेन्ट फेलो' -उनी एक असल मानिस थिए) भनिदिऊन्, मलाई पुग्छ ।' उनले आत्मकथा लेख्न देखाएको इमानदारीले पनि उनी डिसेन्ट -असल) मान्छे हुन् भन्ने पुष्टि गरेको छ ।

तेस्रो श्रेणीमा बीए पास गरेर बेलायत गएका मेहताले कोलम्बो प्लानको छात्रवृत्तिका बारेमा थाहा नपाएकै कारण एउटी प्रेमिका गुमाएको प्रसंग धक नमानी वर्णन गरेका छन् । त्यति मात्रै होइन, उनले अर्की एक प्रेमिकालाई गर्भवती बनाएपछि विवाह गर्न इन्कार गरेको लुकाएका छैनन् । ती स्वीस प्रेमिकाले गर्भपतन गर्न नमानेर बच्चीलाई जन्म दिएको र अहिले लगभग ३५ वर्षको हाराहारीमा पुगेकी आफ्नी छोरीसँग कुनै सम्पर्क नभएको पनि उनले उल्लेख गरेका छन् । मेहतासँगै कुनै बेला काम गरेका एक पत्रकार उनको इमानदारीबाट प्रभावित हुँदै लेख्छन्, 'म चाहन्छु लखनउ ब्वाय स्वीट्जरल्यान्डमा पनि छापियोस् र मेहताकी छोरीले यो किताब पढेर बाबु भेट्न आऊन् ।'

लखनउमा हुर्केका मेहता सन् १९६२ मा लन्डन जान्छन् । तर, उनी त्यहाँ कुनै उच्च शिक्षा हासिल गर्दैनन् । सानातिना काम गर्नु र पत्रपत्रिका पढ्नु नै उनको दैनिकी हुन्छ । बेलायतमा चर्चित बनेका सबै पत्रिका उनी बडो गहिरोसँग अध्ययन गर्छन् र नियमित पुस्तकालय धाउँछन् । यस क्रममा उनका पुराना मान्यता भत्कन्छन् । लेखक समरसेट मम, कवि विलियम ब्लेक र नेता जवाहरलाल नेहरूबारेका उनका पुराना बुझाइहरूमाथि ठूल्ठूला प्रश्नचिन्ह उभिन्छन् । कहिलेकाहीँ सुनेको कार्ल माक्र्सका बारे उनी इच्छुक हुन्छन् र अध्ययन थाल्छन् । माक्र्स वा माक्र्सवादपट्ट िकुनै स्पष्ट झुकाव नबढी नै उनी माक्र्सको सालिक हेर्न पुग्छन् । विश्वविद्यालयको कुनै डिग्री होइन, बरु यस्ता अनुभव लिएर मेहता भारत फर्किन्छन् ।

पुस्तकमा उनको व्यक्तिगत जीवनबारेको वर्णन त्यति छैन, जति एक सामान्य पाठकले अपेक्षा गर्न सक्छ । लन्डनबाट फर्केपश्चात् सुरु भएको आफ्नो पत्रकारतिाको कथा हाल्ने क्रममा उनले व्यक्तिगत जीवनभन्दा बढ्ता भारतको केन्द्रीय राजनीति उधिन्नतिर बढी समय खर्चेका छन् । त्यस क्रममा राजनीतिक खेलाडीहरू अटलबिहारी वाजपेयी, सोनिया गान्धी, शरद पवारलगायतका नेताका रंगरूप राम्रैसँग उतारेका छन्, उनले ।

अत्यन्त मीठासपूर्ण भाषामा लेखिएको पुस्तकले गम्भीरता गुमाएको छैन । अनेकन् विषयमा मेहताले गरेका पेचिला टिप्पणी पनि स्वादिला लाग्छन् । भीएस नयपालजस्ता अप्ठ्यारा मानिस र सफल लेखकसँगको उनको अन्तरंग सम्बन्ध, सलमान रुस्दीसँगको उतारचढावयुक्त सम्बन्ध, अरून्धती रोयसँगको दोस्ती सबै गसिप हुन् । तर पनि ती प्रसंगहरू महत्त्वहीन भने छैनन् । अरू त अरू उनले आफ्नो कुकुरको नाम 'एडिटर' राखेको प्रसंगले पनि सोचमग्न नै बनाउँछ ।

पत्रिकाका सम्पादकहरूबारे पुस्तकमा उनले गरेको टिप्पणी यति सटीक छ कि पत्रकारहरूलाई मनन गर्न बाध्य तुल्याउँछ, जो नेपाली पत्रकारका हकमा पनि हुबहु लागू हुन्छ भन्दा फरक पर्दैन । मेहता लेख्छन्, 'केही सम्पादकहरू आफैँले मुलुक चलाइरहेको ठान्छन् । सिंगो मुलुकको मुख्य एजेन्डा आफैँले निर्धारण गरेको सम्भिmन्छन् । उनीहरूले लेखेका अत्यन्त शक्तिशाली सम्पादकीय वा लेखको आयु केवल ३० मिनेट हो भन्ने उनीहरू भुसुक्कै बिर्सिन्छन् ।' (नेपाल साप्ताहिक)

मुक्त गरिबको कथा

Book Review: A Free Man by Aman Sethi

भारतीय लोकतन्त्रलाई धेरैले विकलांग भन्छन्। सिसमहलमा बस्ने लोकतन्त्रले अघिल्तिर सडकपेटीको गरबिी देख्दैन रे ! करोडौँ भोका मान्छेका पेटमा आन्द्राले झुत्ती खेलेको आवाज पनि त्यसले सुन्दैन रे ! त्यसैले संस्थापनविरोधी लेखकहरू भारतीय लोकतन्त्रको उछित्तो काढ्छन् । अरुन्धती रोय ठाडो प्रश्न गर्छिन्, "मृत्योपरान्त जीवन छ कि छैन भन्ने भारतीय दार्शनिक मीमांसालाई अर्को जटिल प्रश्नले गौण बनाएको छ । के यो लोकतन्त्रपछि पनि भारतमा जीवन सम्भव छ ?" अन्तरधारमा यही प्रश्नलाई राखेर भारतका गरबिहरूका कथा भन्न केही वर्षअघि पत्रकार पी साइनाथले एभ्री बडी लभ्स अ गुड ड्रट लेखे । सन् २०११ मा भारतीय लोकतन्त्रकसामु सोही प्रश्न तेस्र्याउन अर्का युवा पत्रकार अमन सेठी अ फ्री म्यान नामको छरतिो किताब लिएर आए।

सवाल गरबिीकै हो । तर, रोयले जस् तो ठाडो प्रश्न गरेका छैनन् सेठीले । कसैलाई गालीको शैलीमा भन्दा नरम शैलीमा प्रस्तुत भएका छन् उनी । साइनाथले जस्तो खसोखास रपिोर्ताज पनि पस्केनन् । बरु यी तन्नेरी पत्रकारले साहित्यिक लेखनको शैली अपनाएर असली पात्रहरूका कथा भने । दिल्लीको सडकपेटीमा जिन्दगी गुजाररिहेको एउटा तन्नम भारतीय नागरकि र उसका केही साथीहरूका दैनिकी उतारे । दिल्लीको बाराटुटी भन्ने बजारको फिरन्ता मजदुर मोहम्मद अस्रफ सेठीको मूल पात्र छ यसमा । अ फ्री म्यानलाई कसैले उपन्यास सम्झेर पढ्यो भने उपन्यासको ट्रयाजिक हिरो हो, अस्रफ ।

बिहारको कुनै गरबिको घरमा जन्मेर ऊ पटना पुग्छ । गरबिीसँगै आउने अनेकन समस्यासँग जुध्दै ऊ मुम्बई, कोलकाता, हैदरावाद, सुरत र दिल्लीका सडकपेटीमा जिन्दगी जिउँछ । १९६६ मा जन्मेको अस्रफ एक जना भलाद्मीको सहयोगले स्कुलको पढाइ सकेर कलेजमा बायोलोजी पढ्न थाल्छ । उसलाई सहयोग गर्ने डाक्टर हुसेन नामका ती भलाद्मीको मृत्यु भएपछि उसको पढाइ टुट्छ । आमा र भाइलाई कोलकातामा छोडेर भागेपछि ऊ मजदुरी गर्न बाध्य हुन्छ । एक्लो र बेठेगानको मजदुरमा परीणत  बायोलोजीको विद्यार्थी मोहमद अस्रफ कहिले टेलिभिजन बनाउने, कहिले मासु काट्ने, कहिले सुटको कपडा काट्ने र कहिले घरमा रंग पोत्ने मजदुर भएर पेट भर्छ । दिल्ली आएपछि ऊ आफूजस् तै यायावर मजदुर लल्लु, रेहान र सतिशसँग दोस्ती गर्छ । उनीहरूसँग बसेर मदिरा पिउँछ, गाँजा खान्छ र बडा स्वादले गफ गर्छ । ऊ कविता जस्ता लाग्ने वाक्यहरू बेलाबेला भनिरहन्छ ः

कुछ तो मजबुरी होगी 

यँु आदमी बेवफा नही होता 

रात के इन्तजार कौन करेँ

दिन मे क्या क्या नही होता ! 

लेखक सेठीले अस्रफलाई दिल्लीको सदर बजारमा भेट्छन् । नजिकै डेरा जमाएर बसेका उनी अस्रफ र उसका साथीसँग संगत बढाउँछन् । बिहान सँगै बसेर चिया पिउँछन् । राती भट्टीम्ाा पसेर देशी सराब पनि उनीहरूसँगै पिउँछन् । यी गरबि मजदुरका अन्तर्वार्ता मात्रै गर्दैनन् सेठी, उनीहरूका हरेक सुखदुःखमा सामेल हुन्छन् । बिरामी पर्दा र बेखर्ची हुँदा पैसा दिएर सहयोग गर्छन् । ती मजदुरका जीवनशैली, जिन्दगी र यो दुनियाँबारेको उनीहरूका बुझाइ र उनीहरूले गर्ने रामरमाइलो सबैको प्रत्यक्ष भोक्ता भएर सेठीले लेेखेका छन्, अ फ्री म्यान उनका फ्री म्यानहरू हुन् अस्रफ, लल्लु र रेहान । भारतका करोडौँ फ्री म्यानहरूका प्रतिनिधि हुन्, यी सबै । 

द ब्लुएस्ट आई उपन्यासमा टोनी मरसिनले उनको पात्रलाई 'डेन्जरसली फ्री'  भनेकी छन् । मरसिनको पात्र जस्तै  'डेन्जरसली फ्री'  हो अस्रफ पनि। ऊ स्वतन्त्र छ तर डरलाग्दो गरी । कारण, उसलाई जे गर्न पनि छुट छ । मर्ने गरी मदिरा खान, बहुलाउने गरी गाँजाको सर्को तान्न, पेटीमा सुत्न, कामलीन र काम छोड्न । आफ्नो किड्नी बेच्न, क्रोधित हुन, दुःखी हुन, हाँस्न, रुन र आफन्त गुमाउन । यी सबै काम गर्न ऊ मुक्त छ । मरसिनको शब्दमा भन्ने हो भने अस्रफ एक्लो छ, उसका साथमा केही छन् भने उसका आफ्नै दृष्टिकोण र रुचिहरू । लल्लु, रेहान र अरु करोडौँ भारतीयहरू यसरी नै एक्लाएक्ला छन् । स्वतन्त्र छन् तर डरलाग्दो गरी । त्यही डरलाग्दोपन किताबको मुख्य मुद्दा हो । 

तर, यस मुद्दालाई उठाउने नाममा सेठी क्रान्तिकारी भएका छैनन् । लेखक कतै पनि बढ्ता भावुक भएको नदेखिनु उनको सफलता हो । नक्कले प्रगतिशीलता देखाउन र आफ्ना पात्रलाई आदर्शवादी बनाउनेतर्फ पनि उनी लागेका छैनन् । सबै पात्रका गुण र अवगुणहरू प्रशस्त लेखेका छन् उनले । तर, बिलकुल पर्यटक जस्तो बनेर तिनका दुःख हेर्ने र त्यसैलाई मसला बनाएर किताब लेख्ने ध्याउन्न मात्रै पनि छैन लेखकको । यस्तो सन्तुलन मिलाउन मुस्कल हुन्छ, जसमा सेठी सफल छन् । 

किताबमा कतैकतै रपिोर्ताज र तथ्यांकहरू पनि छन् ।  फ्री म्यानहरूका कथा भन्ने क्रममा सेठीले भारतको किड्नी व्यापारदेखि भ्रष्टाचारसम्मका पहेलीलाई थोरबहुत उधिन्ने प्रयास गरेका छन् । गरबि मजदुरहरूका किड्नी झिकेर व्यापार गर्ने हस्पटल र डाक्टरहरूको कथा सनसनीपूर्ण लाग्छ । दिल्ली सहरमा सरकारी स्वीकृतिबिना नियम मिचेर घरहरू कति बन्छन् र यसका पछाडि कत्रो कमिसनखोरी छ भन्ने रपिोर्टहरू पनि उति नै चाखलाग्दा छन् । 

 फ्री म्यान आख्यान होइन । तर, रूखो विषयमा लेखिएको बेस्वादे निबन्धहरूको संग्रह पनि होइन । उपन्यास प्रतीत हुने भाषामा लेखिएको भारतका गरबि मजदुरहरूको एक प्रतिनिधि पात्रको पोट्रेट चित्र हो । सरल भाषा र चुस्त सम्पादनका कारण किताब पढ्नलायक बनेको छ । (नेपाल साप्ताहिक)